शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २१५३ - दर्ता बदर हक फिर्ता

भाग: २६ साल: २०४१ महिना: माघ अंक: १०

निर्णय नं. २१५३   ने.का.प. २०४१           अङ्क १०

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४० सालको दे.पु.नं. ५७२

मुद्दा : दर्ता बदर हक फिर्ता

पुनरावेदक/वादी : जि.मोरङ दादर वैरिया गा.पं. वार्ड नं. ३ बस्ने गुलावसरी राजवंशीनी

विरूद्ध

विपक्षी/प्रतिवादी : जि. मोरङ विराटनगर न.पं. वार्ड नं. १४ बस्ने शिवरत्न साहु तेली

ऐ दादर बैरिया वार्ड नं. ३ बस्ने उमेश कुमार राजवंशी

फैसला भएको मिति :   २०४१।१०।१२ मा

§  अंशियारले आफ्नो ज्ञान वा सीप या प्रयासबाट निजी आर्जन गरेको भनी पक्का रूपले प्रमाणित नभएसम्म संग बसेका अंशियारले बढेबढाएको सम्पत्तिलाई निजी आर्जनको भनी अंशियारलाई भाग लाग्दैन भन्न मिल्दैन ।

 (प्रकरण नं. ११)

पुनरावेदक वादीतर्फबाट : विद्वान अधिबक्ता श्री यादव खरेल

विपक्षी प्रतिवादी तर्फबाट: विद्वान अधिबक्ता श्री विश्व राज पाण्डे

उल्लेखित मुद्दा : x

फैसला

          न्या. गजेन्द्रकेशरी बास्तोला :     पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०४०।१।२९ को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी यस बेञ्च समक्ष पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

          २.  विपक्षी मध्येका उमेशकुमार राजवंशी मेरो पति हुनुहुन्छ निजका नाउँमा गुठी संस्थान अन्तर्गत भोजे दादर वैरियाको हाल सर्वे हुँदा दादर वैरिया गा.पं. वार्ड नं. ८(क) कि.नं. १०२ को २१२१० कि.नं. १५२ को ०  कि.नं. १५३ को ०० कि.नं. १५४ को ०१७, कि.नं. १५५ को ०१७, कि.नं. १५७ को ०० समेत जग्गा बिगहा २१७६ दर्ता भएको थियो । उक्त जग्गा पैतृक सम्पत्तिबाट आर्जन भई सगोलबाट भोग चलन गरेको ०३६।९।२८ मा विपक्षी मध्ये शिवरतनले उक्त जग्गाको धानबाली खमार भई आई तिम्रो जग्गा मध्ये ०१७६ मेरो हक भएको छ बाली मलाई दिनुपर्छ, तिम्रो पतिले ०३३ सालमा रू. ४१००। मा राजीनामा लिखत गरिदिएकोले भने मतिलाई सोद्धा जवाफ नदिँदा ०३६।१।१९ मा मालपोत कार्यालयबाट राजीनामा नक्कल लिई हेर्दा ०३३।११।२६ गते पति उमेशकुमारले शिवरतनलाई नं. १५२, १५३, १५४, १५५ र १५७ को सिमर कि.नं. १०२ को २१२१० मध्ये ०० समेत ०१७६ राजीनामा लिखत गरी नालिशबाट ०३६।४।३० मा पास भई विपक्षीका नाउँमा दर्ता भएछ मेरो मञ्जूर नलिई बिक्री गरेको मेरो हक जति आधा ०१३ दर्ता बदर गरी फिर्ता पाउँ भन्ने समेत वादी ।

          ३.  विपक्षीको लोग्ने उमेशकुमारको आफ्नो आर्जनको ०१७६ जग्गा रू. ४१००। मा ०३३।११।२६ मा राजीनामा लिखत गरिदिई पास गरी नदिँदा पास मुद्दा परी पास हुने ठहरी पासपूर्जा अनुसार ०३६।५।२९ मा पारित भएको हुँदा बदर हुनु नपर्ने भन्ने समेत प्रतिवादी ।

          ४.  पैतृक सम्पत्ति नदेखिनाले फिरादीको भाग जतिको जग्गामा फिरादीको हक कायम हुने र सो हक कायम हुने गरी जग्गाको दर्ताबदर हुने ठहर्छ भन्नेसमेत शुरू मो.जि.अ.को ०३७।३।९ को फैसला ।

          ५.  उक्त फैसलामा चित्त बुझेन भनी प्रतिवादीको को.अं.अ.मा परेको पुनरावेदनपत्र ।

          ६.  प्रस्तुत मुद्दामा निजी आर्जनको नठहराई वादी दावीको आधी जग्गाको लिखत बदर हुने ठहर्‍याएको मो.जि.अ.को इन्साफ मनासिव छ भन्ने समेतको अं.अ.को ०३८।३।१० को फैसला।

          ७.  उक्त फैसला उपर प्रतिवादीको पू.क्षे.अ.मा परेको पुनरावेदन । उमेशकुमारले शिवरतनलाई बिक्री गरेको जग्गामा मेरो हक जति आधी बदर गरिपाउँ भन्ने वादी दावीबाट प्रस्तुत मुद्दामा कारवाही चलेको देखिन्छ । सो जग्गा उमेशकुमारको निजी आर्जनको हो र निजी आर्जन आफूखुशी गर्न पाउने हुँदा लिखत बदर हुनुपर्ने होइन भन्ने प्र.शिवरतन तर्फको प्रतिवाद रहेको छ । पैतृक सम्पत्तिको आर्जनबाट खरीद भएको हो निजी आर्जन होइन भन्ने वादीको कथन देखिन्छ । पैतृक सम्पत्तिबाट नै खरीद गरिएको हो भन्ने कुराको प्रमाणको आधार केही छैन । विवादित लिखतको जग्गा उमेशकुमारले वोलसरीबाट ०३२।६।२६ मा राजीनामा लिएको देखिँदा उमेशकुमारको आर्जनकै जग्गा निजले बिक्री गरेको देखिन आयो । आफ्नो पालामा आर्जन गरेको जग्गा अंशबण्डाको १९ नं. को १ दफाले समेत बिक्री गर्न प्रतिबन्ध लगाइएको सीमाभित्र प्रस्तुत विवाद परेको देखिँदैन । माथि लेखिए अनुसार उमेशकुमारले बोलीसरीबाट राजीनामा गरी लिएका जग्गा नै शिवरतन साहुलाई बिक्री गरेको देखिँदा वादी गुलावसरीको मञ्जूरी लिनुपर्ने भन्न मिलेन । वादी दावी पुग्न सक्तैन कोशी अं. अ.को इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेतको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।

          ८.  पूर्वाञ्चल क्षेत्रीय अदालतको उक्त फैसलामा गम्भीर कानुनी त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने यस अदालत समक्ष पर्न आएको निवेदनमा प्रतिवादी उमेशकुमार राजवंशीको निजी आर्जनको सबूत प्रमाणको अभावमा निज उमेशकुमारको नाउँमा हुन आएको जग्गा तत्कालीन अंशबण्डाको १८ नं. अनुसार सगोलकै सम्पत्ति मान्नुपर्ने भई यस्तो सम्पत्ति लेनदेन व्यवहारको १० नं. अनुसार वादी दावी बमोजिम बदर गर्नुपर्नेमा पूर्वाञ्चल क्षेत्रीय अदालतले बदर नगर्ने गरी गरेको ०४०।१।२९ को फैसलामा उक्त उल्लिखित अंशबण्डाको १८ नं. र लेनदेन व्यवहारको १० नं. को त्रुटि गरेकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेतको डिभिजन बेञ्चको आदेश ।

          ९.  नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री यादव खरेलले पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी कोशी अञ्चल अदालतको इन्साफ सदर हुनुपर्छ भन्ने र विपक्षी प्रतिवादीका तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री विश्वराज पाण्डेले पू.क्षेत्रीय अदालतको इन्साफमा कुनै त्रुटि नहुँदा सोही फैसला सदर कायम हुनुपर्छ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।

          १०.  प्रस्तुत मुद्दामा पू.क्षे.अ.को इन्साफ मिलेनमिलेको के रहेछ सोकुराको निर्णय गर्नुपर्ने हुन आएकोछ ।

          ११.  यसमा वादी दावीमा विवादको जग्गा पैतृक सम्पत्तिबाट आर्जन भई सगोलमै भोग चलन भएको भन्ने जिकिर लिएको देखिन्छ । यस कुराको प्रमाणयुक्त खण्डन प्रतिवादी शिवरतन साहुतेलीका प्रतिउत्तर पत्रबाट भएको देखिँदैन । केवल यो सम्पत्ति उमेशकुमारको निजी आर्जनको हुँदा वादी दावी नपुग्ने भन्ने सम्म जिकिर लिएको पाइन्छ । अंशबण्डाको १८ नं. मा मानो नछुट्टिई सँग बसेका अंशियार छन् भने जुनसुकै अंशियारले सगोलको सम्पत्तिबाट वा सगोलको खेती उद्योग व्यापार व्यवसायबाट बढे बढाएको सगोलको आर्जन र लेनदेन व्यवहारको महलको ८ नं. बमोजिम लगाएको ऋण सबै अंशियारलाई भाग लाग्दछ भन्ने व्यवस्था गरेकोबाट स्पष्ट रूपले सो बाहेक अन्य किसिमले अर्थात अंशियारले आफ्नो ज्ञान वा सिप वा प्रयासबाट निजी आर्जन गरेको भनी पक्का रूपले प्रमाणित नभएसम्म संग बसेका अंशियारले बढे बढाएको सम्पत्तिलाई निजी आर्जनको भनी अंशियारलाई भाग लाग्दैन भन्न मिल्दैन । कोशी अञ्चल अदालतको इन्साफ उल्टी गर्दा पूर्वाञ्चल क्षेत्रीय अदालतले प्रस्तुत विवाद अंशबण्डाको १९ नं. को १ दफाको सीमाभित्र परेको भन्ने पनि तर्क लिएको पाइन्छ । उक्त कुरा प्रतिवादी उमेशकुमारले प्रतिउत्तर नै नफिराई प्रतिवादै नगरेको र प्रतिवादी शिवरतनले प्रतिवादमै जिकिर लिन नसकेकोमा क्षेत्रीय अदालतले यस कुरालाई बिना आधार प्रमाण आधार बनाएको उचित देखिँदैन ।

          १२.  तसर्थ उपरोक्त कारणहरूबाट यो सम्पत्तिलाई निजी आर्जनको भन्न मिलेन उमेश राजवंशीले उक्त जग्गा सगोलको सम्पत्तिबाट आर्जन गरेको नभई आफ्नो ज्ञान सिपका प्रयासबाट वा बक्स अपुताली समेतबाट पाएको भन्ने कुनै प्रमाण देखिँदैन भन्दै निजी आर्जनको ठहर्‍याई वादी दावीको आधि जग्गाको लिखत बदर हुने ठहराएको जिल्ला अदालतको इन्साफ मनासिव ठहर्‍याएको अञ्चल अदालतको इन्साफ मनासिव हुँदा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी भई कोशी अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ । तपसीलको कलममा तपसील बमोजिम गर्नु ।

 

तपसील

पुनरावेदक वादी गुलावसरी राजवंशी के माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावीको भाग जति ०१७६ लेखी जग्गा वादी पुनरावेदक गुलावसरीका नाउँमा दर्ता गरिदिनु भनी सम्बन्धित कार्यालयमा पठाउन शुरू मोरङ जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु.................... १

पुनरावेदक वादी गुलावसरी राजवंशीको माथि इन्साफ खण्डमा लेखिए बमोजिम पूर्वाञ्चल क्षेत्रीय अदालतमा इन्साफ उल्टी ठहरेकोले शुरू मोरङ जिल्ला अदालत तथा कोशी अञ्चल अदालतमा राखेको कोर्टफीहरू प्रतिवादीहरूबाट वादीको ऐनको म्यादभित्र दर्खास्त पर्न आएमा कानुन बमोजिम पुनरावेदक वादी गुलावसरी राजवंशीलाई कानुन बमोजिम भरी भराई दिनुभनी सम्बन्धित अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु................. २

ऐ.ऐ. के माथि इन्साफ खण्डमा लेखिए बमोजिम पूर्वाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन दायर गर्दा राखेको कोर्टफी रू. १५।३० यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रू. १६।८० समेत जम्मा र ३२।१० प्रतिवादीहरूबाट वादी गुलावसरी राजवंशीलाई भरी भराई दिनु ......................३

 

उक्त रायमा म सहमत छु ।  

 

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४१ साल माघ १२ गते रोज शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु