निर्णय नं. २१६५ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

निर्णय नं. २१६५ ने.का.प. २०४१ अङ्क ११
फुल बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४० सालको रि.फु.नं. ४९
विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
निवेदक : का.जि.का.न.पं. वडा नं. ३३ ज्ञानेश्वर बस्ने राजीव दाहाल उपाध्याय
विरूद्ध
विपक्षी : का.जि. भद्रकाली स्थित गुठी लगत तथा तहसील कार्यालय
आदेश भएको मिति : २०४१।१।१०।९।३ मा
§ आफूले बकसपत्र पाई आफ्नो हक हुन आएको जग्गासँग सम्बन्धित विषयको कुनै पनि कागजातको नक्कल लिन पाउने हक नेपालको संविधानको धारा ११ को उपधारा २(ङ) तथा धारा १५ ले सुरक्षित गरेको छ ।
(प्रकरण नं. ७)
निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री बैद्यनाथ उपाध्याय
विपक्षी तर्फबाट : x
उल्लेखित मुद्दा : x
आदेश
न्या. धनेन्द्रबहादुर सिंह : डिभिजन बेञ्चबाट मिति ०४०।४।२९।१ मा भएको उपरोक्त मुद्दाको निर्णय नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहर्याई दिनु भन्ने हु.प्र.बक्स भई आए बमोजिम यस फुल बेञ्चको लगतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :
२. त्रिपुरेश्वर महादेवस्थानमा नित्य भजन गर्ने गुठीको रूपमा लगत कायम भई मोही गंगामान महर्जन जनिएको का.जि.का.न.पं. वडा नं. १० वानेश्वर साविक वडा नं. ८(क) का कि.नं. ६९ को जग्गा रोपनी १–९–२ मध्ये ०–१२–३ जग्गा म निवेदकले काठमाडौं मालपोत कार्यालयबाट मिति ०३९।५।१८।६ मा निज गंगामान महर्जनबाट हालैदेखिको बकसपत्र लिई रजिष्ट्रेशन पारित गराई भोग चलन गरी आएको छु । उक्त जग्गा छुट्याई मोही लगत कायम गर्न र सोही बमोजिम कित्ताकाट गरी जग्गाधनी प्रमाणपूर्जा समेत मलाई दिनको लागि मालपोत कार्यालयका नाउँमा सिफारिश गरी दिन म निवेदकले श्री अध्यक्ष गुठी संस्थानलाई ०३९।६।२२ मा निवेदन दिएकोमा नियमानुसार आवश्यक कारवाहीको लागि उक्त निवेदन विपक्षी गुठी लगत तथा तहसील कार्यालयमा गएकोमा सो सम्बन्धी कारवाहीको सम्बन्धमा आज भोलि भनी बराबर मलाई झुलाई आएको र के कस्तो कारवाही भयो वा भएन वा हुने भएको छ मलाई कुनै जानकारी नै नदिएकोले म निवेदकले मालपोत कार्यालयबाट विधिवत रजिष्ट्रेशन पास गराई लिएको जग्गा सम्बन्धी कुरा मेरो सरोकारको कुरा हो सरोकारवालालाई नक्कल दिनुपर्ने बाध्यता प्रत्यर्थीलाई अ.बं. २.११ नं. ले गरेको छ । तसर्थ प्रत्यर्थीको काम कारवाहीले अ.बं. २११ नं. को त्रुटि भई म निवेदकको संविधानको धारा १०(१) को समानताको हक धारा ११(२)(ङ) तथा १५ अन्तर्गतको सम्पत्ति विषयक मौलिक हकहरू समेतको हकहरूको चलनमा अवरूद्ध गरेको हुनाले उत्प्रेषणको वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी प्रत्यर्थीको उपरोक्त त्रुटिपूर्ण कार्य बदर गरी म निवेदकलाई कानुन बमोजिम नक्कल दिनु भन्ने परमादेशको आदेश, आज्ञा वा पूर्जि जारी गरी पाउँ भन्ने समेत ०३९।७।२६।६ को रिट निवेदन जिकिर रहेछ ।
३. विपक्षीबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने मिति ०३९।८।६।१ को सिंगलबेञ्चको आदेश ।
४. निवेदकले अध्यक्ष कहाँ दिएको भनेको निवेदनपत्र नै गुठी लगत तथा तहवील कार्यालयमा प्राप्त भएको नुहँदा निवेदकलाई झुलाउने स्थिति नै थिएन र झुलाएको समेत हैन । सरोकारवालालाई नक्कल दिने कानुनमा व्यवस्था भएको र निवेदक त्यस बखत माग गरेका प्रतिलिपि दिन मिल्ने प्रकृतिको देखिन नआउने भएको हुँदा प्रतिलिपि दिन नमिल्ने स्थिति दर्शाई दरपीठ गरिएको हो । तसर्थ निवेदकका माग बमोजिमको आदेश जारी हुनुपर्ने प्रकृतिको कुनै पनि काम कार्यवाही नगरिएको हुँदा निवेदनपत्र खारेज गरिपाउँ भन्ने मिति ०३९।१०।२० को विपक्षी गुठी लगत तथा तहवील कार्यालयको लिखितजवाफ ।
५. अदालती बन्दोबस्तको २११ नम्बरमा मुद्दा हेर्ने अड्डामा रहेको मिसिल कागजपत्रको नक्कल सरोकारवाला जो सुकैले मागे पनि दिनुपर्छ भन्ने उल्लेख भएको पाइन्छ । गुठी लगत तथा तहसील कार्यालय मुद्दा हेर्ने अड्डा हो भनी निवदेकले भन्न सकेको देखिएन । यस्तो स्थितिमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने देखिँदा प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ भन्ने मिति ०४०।४।२९।१ को यस अदालत डिभिजन बेञ्चको आदेश।
६. डिभिजन बेञ्चले गरेको उक्त निर्णय नेपालको संविधानको धारा ७२(ख) बमोजिम फुल बेञ्चबाट दोहोर्याई हेरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भई आए बमोजिम निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदकका तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्यायले गर्नु भएको बहस समेत सुनियो ।
७. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा रिट निवेदन खारेज हुने ठहर्याएको मिति ०४०।४।२९।१ को आदेश मिलेको छ छैन हेर्नु परेको छ । यसमा निवेदकले गंगामान महर्जनबाट बकसपत्र मिति ०३९।५।१८।६ मा पारित गरी पाएको त्रिपुरेश्वर महादेव स्थानमा नित्य भजन गर्ने गुठीको रूपमा लगत कायम भएको का.जि.का.न.पं. वडा नं. १० वानेश्वर साविक वडा नं. ८ (क) को कि.नं. ६९ को ०–१२–३ जग्गासँग सम्बन्धित कागज पत्रको नक्कलहरू पाउँ भनी गुठी लगत तथा तहसीलकार्यालयमा निवेदनगरेकोमा उक्तकार्यालयले यसकार्यालयको लगतमा नियमानुसार नामसारी भई कि.का. गरी तपाईको नाममा जग्गाधनी प्रमाणपूर्जा बनेको समेत नदेखिँदा हाल माग बमोजिमको नक्कल दिन नसकिने भनी दरपीठ गरेको कानुनी त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने मुख्य निवेदन जिकिर लिएको पाइन्छ । रिट निवेदक राजिव दाहाललाई आफूले बकसपत्र पाई आफ्नो हक हुनआएको जग्गासँग सम्बन्धित विषयको कुनै पनि कागजातको नक्कल लिन पाउने हक नेपालको संविधानको धारा ११ को उपधारा २(ङ) तथा धारा १५ ले सुरक्षित गरेको छ । अतः विपक्षी गु.ल.तथा त.कार्यालय, भद्रकालीले हाल निवेदकको नाम बमोजिमको नक्कल दिन नमिल्ने भनी दरपीठ गरिएबाट रिटनिवेदकको संविधानको उक्त धाराहरूद्वारा प्रदत्त मौलिक हकमा हनन् हुन गएकोछ । त्यसकारण नेपालको संविधानको धारा ७१ ले यस सर्वोच्च अदालतलाई प्रदान गरिएको असाधारण अधिकारक्षेत्रको प्रयोग गरी उक्त विपक्षी गु.ल.तथा तहसील कार्यालयले मिति ०३९।६।२९ मा गरेको दरपीठ उत्प्रेषणको आदेश जारी गरी बदर गरिएको छ र निवेदकले माग गरेअनुसारको नक्कलहरू कानुनबमोजिम दिनु भनी विपक्षी गुठी लगत तथा तहसील कार्यालयको नाउँमा परमादेशको आदेशसमेत जारी हुनेठहर्छ । मिसिल नियमबमोजिम गरी गर्नु ।
उक्त रायमा हामी सहमत छौं ।
न्या. गजेन्द्रकेशरी बास्तोला,
न्या. हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४१ साल माघ ९ गते रोज ३ शुभम् ।