निर्णय नं. २१६९ - जग्गाबाली

निर्णय नं. २१६९ ने.का.प. २०४१ अङ्क ११
फुल बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४० सालको दे.फु.नं. ६७
मुद्दा : जग्गाबाली
निवेदक/प्रतिवादी : का.जि.का.न.पं. वा.नं. ३१ बस्ने केशरबहादुर के.सी.
विरूद्ध
विपक्षी/वादी : भीमलाल हुमागाइँको मु.स. गर्ने जि.सुनसरी विष्णु पाठका गा.पं. वा.नं. ५ बस्ने नरेन्द्रप्रसाद हुमागाइँ
जि. मोरङ विराटनगर न.पं. वार्ड नं. ४ बस्ने रुद्र बहादुर हुमागार्इ
ऐ ऐ बस्ने राम प्रसाद हुमागार्इ
फैसला भएको मिति : २०४१।११।४।६ मा
§ आफूले पाएको जग्गा अरू व्यक्तिहरूलाई हक छोडी दिइसकेपछि ती जग्गाहरूमा त्यस्तो हक छाडी दिने व्यक्तिको हक अधिकार रहने स्थिति नै पर्दैन ।
(प्रकरण नं. ३१)
निवेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री शुशीलकुमार पन्त तथा विद्वान अधिवक्ता श्री सुधानाथ पन्त
विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती, विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी तथा विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल
उल्लेखित मुद्दा : x
फैसला
न्या. त्रिलोकप्रताप राणा : सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. ७९ सालमा आवाद गर्न खुलेको झोरा मध्ये मोरङ प्र.बेली मौजे वकलौरीको साविक दर्तावाला रैती मरी भागी जग्गा विरान हुँदा कसैले कबोल सकार नगरी सालसालै पोत मिनाहा भइरहेको गरेको जग्गा मध्ये १८ नं. रैती अम्मरबहादुरका नाउँमा ज.बि. ३१। ।४.१ वर्ष ३ माफी खाने र २००४ सालदेखि लाग्ने मालपोत तिर्ने गरी मैले मो.वि.माल मार्फत कबूल सकार गरी लिई मेरा नाउँमा दर्ता गराई तिरो भोग समेत गरी आएकोमा सो जग्गा मध्ये केही जग्गा पर्ति भई आवाद गर्न रहेको बाँकी जग्गा ०११ सालका बालीमा मैले आवाद गर्न लाग्दा अन्यायी मध्येका केशरबहादुर बाहेक जम्मै प्रतिवादीहरूले जोत आवाद गर्न नदिई हलो फुकाई चलन गर्न नदिई मेरो चलन हटक गरी २०११ साल श्रावण २ गतेदेखि माथि लेखिएको मेरो जग्गा मध्ये कि.नं. ४० दुवीयाही जाने पैन सो उत्तर अर्ध ११२ तुल ९० को ज.बि. २०–०–४ मध्ये पश्चिम तर्फबाट ज.बि. ७।। ने. ३७ जंगल सो दक्षिण अर्ध ६२ तुल ४२ को ज.बि. ६।।.४ मध्ये पश्चिमतर्फबाट ज.बि. १।। समेत दुवै कित्ताको गरी ज.बि.९ जोत आवाद गरी आखिरी ०११ सालमा लगाइएको धान बाली समेत अन्यायीहरूले नै खाने खुवाउने गरेको र गत ०१२ साल बैशाख १ गतेदेखि हाम्रो जग्गा अझै पुग्दैन भन्ने अत्तो थापी जबरजस्ती कि.नं. ४० बाट ज.बि.४।।, र कि.नं. ३७ बाट ज.बि. १।।. र यो साल समेत पश्चिमतर्फबाट चापी दखल गरी लिएको समेत गरी कि.नं. ४० बाट जम्मा ज.बि. १२ र कि.नं. ३७ बाट जम्मा ज.बि. ३ समेत दुवै कित्ताको जम्मा ज.बि. १५–०–० मा प्रतिवादीहरूले खिचोला गरे । माथि लेखिए बमोजिम ज.बि. ९ को ०११ सालमा हुने धान बाली २७० मन मध्ये धनी बुटी धान मन १३५ दिए धानै र नदिए त्यसको हुने मोल रू. १,०००। बाली खाने केशरबहादुरबाट दिलाई भराई तिरो रू. ७५।।। लाग्ने ज.बि.१५–०–० खिचोला गरेकोले खिचोला मेटाई मेरो सदर गरी चलन समेत चलाई प्रतिवादीहरूलाई सजाय समेत गरिपाउँ भन्ने समेत फिरादपत्र ।
३. वादी दावी बमोजिम खिचोला गरेको छैन । बकलौरी मौजामा मेरो जग्गा पनि छैन बकलौरी मौजासँग साँध जोडिएको जमरोकी झोरा मौजाको मोठबन्दी भित्रको नम्बरी मध्ये नं. २६,२७,२८,२९,३०,३१,३२ नं. समेत ७ कित्ताको ज.बि.२४–२–१ मेरा नाउँमा दर्ता नम्बरी हक भोग तिराको जग्गा छ । वादीले झुठ्ठा फिराद गरेको हो । मेरो १० कर्मको बाली लुट्यो भन्न नसकी पर्ति जग्गा आवाद गरी बाली खायो भन्ने वादी लेख छ । पर्ति जग्गा आवाद गरेकोमा आवाद गर्न रैतीले ३ साल माफी पाउने व्यवस्था भएकोमा आवाद गरेका सालको नै बाली माग्न ऐन सवालले मिल्दैन । ३७।४० नं. को जग्गा आवाद गरी नसकी पर्ति नै रहेकोमा बालीमा दावी गर्न नसक्ने र जग्गा आवाद हटक गरेमा सो मितिले ३५ दिनभित्र बाली लुटी खाएमा लुटी खाएका मितिले ३ महीनाभित्र फिराद गर्नुपर्नेमा सो नगरी म्याद नघाई फिराद दायर भएकोले खारेज हुनुपर्ने र निर्णय भएमा पनि झुठ्ठा वादी दावीबाट फुर्सद पाउँ भन्ने समेत केशबहादुर के.सी.को प्रतिउत्तर पत्र ।
४. प्रतिवादी मध्ये बौंका, बिरू, मंगले, खसु, प्रतापबहादुर, प्रतापकुमारी, कृष्णबहादुर समेतले इतलायनामाको म्याद गुजारी प्रतिउत्तर नदिई बसेको रहेछन् ।
५. केशरबहादुरले खिचोला गरेको भनी लेख्न नसकेको र अरू प्रतिवादीहरूले जग्गा दखल गरी केशरबहादुरलाई बाली खुलाए होलान् भन्न पत्यारलायक नदेखिएको जग्गाको साँध जोडिएको देखिए पनि बेग्ला–बेग्लै मौजाको भई एक मौजाको रैतीले दोस्रो मौजाको जग्गा खिचोला गर्यो होला भन्न पत्यारलायक नहुने, वादी लेखबाटै जग्गा पुरानो नभई बाँझो उघार्दै लगेको देखिँदा जग्गा घटी बढी हुन सक्ने र यही जग्गा मध्येको केही जग्गा केशरबहादुर समेतले खिचोला गरे भनी दावी लिएको जग्गा मुद्दामा वादीको उजूरी झुठ्ठा ठहरी आजै फैसला भएको समेतबाट वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत विराटनगर इलाका अदालतको फैसला ।
६. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन ।
७. केशरबहादुर बाहेकका प्रतिवादीले म्याद गुजारेको भन्ने उल्लेख भएको तर म्याद रीतपूर्वक तामेल नभएकोले शुरूको फैसला बदर हुन्छ रीतपूर्वक म्यादतामेल गरी किनारा गरी अपील परे अपील किनारा गर्न पठाउनु भनी मिसिल शुरूमा पठाई दिने भन्नेसमेत को.अं.अ.को फैसला ।
८. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्र.केशरबहादुर के.सी. को पुनरावेदन पत्र।
९. म्याद रीतपूर्वक नपुगेको भनी शुरू फैसला बदर गर्ने गरेको इन्साफ मनासिव छ । शुरू कारवाही गर्ने हकमा धेरै पुरानो मुद्दा देखिएकोले न्यायप्रशासन (विविध व्यवस्था) ऐनको दफा ५(क) बमोजिम अञ्चल अदालतबाटै जो गर्नुपर्ने कारवाही गरी किनारा गर्नु भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको २०२६।८।२३ को फैसला ।
१०. प्र.केशरबहादुरले यो मितिमा खिचोला गरे भनी लेख्न नसकेकोले अरूले जग्गा दखल गरी बाली केशरबहादुरलाई खुवाए होला भन्न पत्यारलायक नदेखिने भई आएको नक्सामा साविक मोठ बन्दीमा ४ किल्ला खुलेको भन्न र लेख्न वादीले नसकेको, प्रतिवादीले कुन–कुन कित्ताबाट कति–कति खिचोला गरे सो समेत लेख्न नसकेकोले नालिश खारेज हुने ठहर्छ भन्ने समेत कोशी अञ्चल अदालतको ०३०।१।१३ को फैसला ।
११. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादी भिमलाल हुमागाईंको पुनरावेदन पत्र।
१२. सर्वोच्च अदालतको २०२६।८।२३ को फैसला बमोजिम ठहर किनारा गर्नुपर्नेमा सो नगरी खारेज गरेको को.अं.अ.को फैसला बदर गरी दिएको छ । ऐन बमोजिम किनारा गर्नु भनी मिसिल को.अं.अ.मा पठाई दिने भन्ने समेत पूर्वाञ्चल क्षे.अदालतको ०३१।११।१६। को फैसला ।
१३. न.नं. ४ को झगडा जनिएको मध्येको जग्गा समेत पर्ने जग्गा धनकुमारीसँग ०२४।१।८।६ मा रजिष्ट्रेशन गरी लिई भोगी आएको मेरो जग्गा हो । हाल सर्भेमा भरौल कालाबंजर गा.पं. वार्ड नं. ९(ख) कि.नं. ४५, ४८, ६६, ६७।६८।६९।८०, ८२, ८८, ९०, ९१, ९३, ९४ र ९(घ) मा कि.नं. १ मा नापी भएको छ भन्ने समेत बुझिएको भन्ने समेत रेणुकादेवीको बयान ।
१४. झगडा जनिएको न.नं. ५ को जग्गा समेतको जग्गा मानकुमारीसँग २०२४।८।८ मा राजीनामा पारित गरी भोगी आएकोछु भन्नेसमेत बुझिएको उमादेवीको बयान । न.नं. ५ को झगडा जनिएको जग्गा मालतीदेवीसँग २०२४।३।७ मा राजीनामा पास गरी लिएको मेरो जग्गा हो । सो जग्गा सर्भेमा भर्रोल कालाबंजर गा.पं. वार्ड नं. ९(ख) कि.नं. ६५, ७०, ७९, ८१, ८३, ८४, ८५, ८६, ९६, ९७ मा नापी भएको छ । नं. ६५, ७०, ७९, ८१, ९६, ९७ मा झगडा जनिएको छैन । अरूमा वादीले झगडा जनाएको छ । मेरो जग्गा सदर थामिपाउँ भन्नेसमेत बुझिएको देवकुमारीको बयान ।
१५. झगडा जनिएको मध्यको न.नं. ३ को जग्गा केशरबहादुरले मेरो छोरा भवन चौधरीलाई ०१८ सालमा १।। बिगहा पास गरी दिएको हो । सो जग्गा छोराकै नाउँमा भरौल कालाबंजर गा.पं. वार्ड नं. ९ कि.नं. १०५ मा नापी भई छोरा मरेकोले मैले भोग गर्दैछु । भोग सदर थामिपाउँ भन्ने समेत रक्सु चौधरीको बयान ।
१६. झगडा जनिएको मध्ये न.नं. ७ को जग्गा रणबहादुरसँग २०२६।२।१० मा राजीनामा पास गरी लिई भोग गरी आएको हुँ । हाल सर्भेमा कालाबंजर गा.पं. वार्ड नं. ९(ख) मा कि.नं. ९८, ९९ मा नापी भएको छ । मेरो जग्गा सदर थामिपाउँ भन्ने समेत भिमबहादुरको बयान ।
१७. वादीले दावी गरेको जग्गाको हद भई आएको नक्साबाट मिले भिडेको देखिएन । यो चौहद्दी भित्रको जग्गा दावी खिचोला गरे भनी ४ किल्ला समेत खुलाई फिराद गर्न सकेको छैन । साथै मेरा बकलौरी मौजाको साँध मिची प्रतिवादीहरूले आफ्नो जम्टोको मौजामा यो कित्ता नम्बरमा यति–यति घुसाई दर्ता खिचोला गरे भनी लेख्न समेत सकेको छैन । पक्का सबूत प्रमाण बेगर झगडा जनिएको न.नं. ३,४,५,६,७ को जग्गाहरू बकलौरी मौजाको हो र सो जग्गामा प्रतिवादीहरूले बाली समेत लगाई खिचोला गरेको हो भनी ठहर्याउन न्याय चित्त नहुँदा वादी दावी नपुग्ने ठहराएको शुरूको इन्साफ मनासिव ठहर्छ भन्ने समेत कोशी अञ्चल अदालतको ०३४।१।१५ को फैसला ।
१८. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादी भिमलाल हुमागाईंको पुनरावेदन पत्र।
१९. प्रतिवादीको जग्गा नरबढी र वादीको जग्गा नरघटी भन्ने प्रमाणिक श्रेस्ताको अभावमा विवादित जग्गा प्रतिवादीको ठहराउन नमिल्ने हुँदा वादी दावी नपुग्ने ठहराएको कोशी अञ्चल अदालतको इन्साफसँग सहमत हुन सकिएन । अ.बं. २०२ नं. र क्षेत्रीय अदालत नियमावली, २०३६ बमोजिम पेटबोलीबाट प्रतिवादी कायम भएको समेत प्रतिवादीहरूलाई छलफलको निमित्त झिकाउनु भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।
२०. वादी भिमलाल हुमागाईंले २००६।२।६ मा विराटनगर मालबाट पाएको चलन पूर्जिमा बकलौंरी मौजाको नं. ३७ को ६–१०–४ र नं. ४० को २५–४–० समेत जम्मा ३१–१४–४ मध्ये ०–१–२ जग्गा कोशी नहरमा परी कायम हुन आएको ३१–१३–२ जग्गा देखिन्छ । सो जग्गा मध्ये विभिन्न कित्तामा गरी वादीको श्रीमती तथा छोराहरूले अंशबाट पाई सर्भेमा समेत दर्ता गरी भोगी रहेको जम्मा जग्गा हिसाब गर्दा जम्मा ज.बि. २१–०–१५ मात्र देखिन्छ । यसबाट १०–१२–६–
जग्गा मात्र साविक श्रेस्ता बमोजिम वादीको नपुग भएको पाइन्छ । प्रतिवादी केशरबहादुरको लेखाईबाट जम्टोकी मौजामा निजको जम्मा ज.बि. २४–७–६ रहेको र जम्टोकी र बकलौरी मौजाको सीमाना कायम गर्न सकिने श्रेस्ता प्राप्त हुन आएको छैन । प्रतिवादीको जग्गा बढी र वादीको घटी हुने भन्ने तथ्य सबूत नभएपछि नरबढी जति जग्गा जम्मै प्रतिवादीको हो भन्ने सबूत प्रमाणको अभावमा मिलेन । तसर्थ जिल्ला डोरबाट भई आएको नक्सामा वादीको पनि देखाइएका बाहेकका जग्गाहरू सो न.नं. ८–९ को जग्गादेखि पश्चिम हाल समेतको कि.नं. ९९, ९८, १०५ र ९४ मध्ये पूर्वतर्फबाट ३–५–१७–
समेत जम्मा ज.बि. १०–१२–६–
मा प्रतिवादीहरूले खिचोला गरेको ठहर्छ । खिचोला गरेको नठहराएको सम्म को.अञ्चल अदालतको फैसला उल्टी हुन्छ । बालीका हकमा वादी लेखबाटै जग्गा पर्ति बाँझो भन्ने देखिँदा बाली नभराउने गरेको समेत अरूमा कोशी अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३७।८।१७।३ को फैसला ।
२१. उक्त निर्णय उपर इन्साफ जाँचको लागि हुकुम प्रमांगी भई यस अदालतमा आएको रहेछ ।
२२. प्रतिवादीहरूको जग्गा बढी देखिएको मात्र आधारमा वादी दावी बमोजिम प्रतिवादीहरूले खिचोला गरेको ठहर्याई फैसला भएको देखिन्छ । तर वादीले आफ्नो दावी सबूत प्रमाणका आधारमा खम्बीर गर्न नसकेकोले अ.बं. २०२ नं. बमोजिम वादीहरूलाई झिकाई आएपछि पेश गर्नु भन्ने डिभिजन बेञ्चको आदेश ।
२३. निर्णयार्थ डिभिजन बेञ्च समक्ष पेश हुँदा वादीको बकलौरी मौजा र प्रतिवादीको जम्टोकी मौजाको प्रष्ट सीमाना छुट्टिने वादी प्रतिवादीबाट कुनै सबूत पेश भएको देखिँदैन । वादी प्रतिवादीको ४ किल्ला देखिने साविक दर्ता उतार सुनसरी मालबाट झिकाउने यस अदालत डि.बे.को ०४०।९।११ को आदेश बमोजिम मालपोत कार्यालय सुनसरीमा लेखी पठाउँदा चार किल्ला खुलेको श्रेस्ता नदेखिएको भन्ने जवाफ प्राप्त भएको देखिन्छ । वादी प्रतिवादीको जग्गा साँध जोडिएको भन्ने कुरामा दुवै पक्षले स्वीकार गरेको र साविक कित्ता नं. बाट वादी प्रतिवादी दुबैतर्फ कित्ताफोड भई सर्भे नापीबाट नयाँ कित्ता कायम भई विभिन्न व्यक्तिका नाउँमा दर्ता रहेको हालको जग्गाको क्षेत्रफल हिसाब गर्दा हुन ठहर्न आएको जग्गालाई नै कायमी जग्गा मान्नुपर्ने हुँदा सोहीबाट वादीको जग्गा साविक भन्दा कम भई प्रतिवादीको साविक श्रेस्ताभन्दा जग्गा बढी देखियो । वादीको जग्गा प्रतिवादीकोमा घुसेको प्रष्टै हुँदा कि.नं. ९९, ९८, १०५ र कि.नं. ९४ मध्येबाट पूर्वतर्फ ३–५–१७ समेत जम्मा जग्गा बिगहा १०–१२–६
प्रतिवादीले खिचोला गरेको ठहराएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय ।
२४. वादी दावीको साविक ३७ नं. ढोडे जंगल से पश्चिमको ज.बि. ६–१०–४ र कि.नं. ४० को दुवियाही जाने पैनी से उक्त ज.बि.२–४–० समेतबाट भएको नक्सामा दुवियाही जाने पैनी से दक्षिण उत्तरको न.नं. ३,४,५,६,७ को जम्मा झगडा जनिएको र सोदेखि पूर्व कोशी नहर रहेको देखिन्छ । वादीको साविक कि.नं. ४० को जग्गा कोशी नहरमा परेको भएपछि कोशी नहरदेखि पश्चिम दुवियाही जाने पैनी से दक्षिण उत्तर वादीको साविक कि.नं. ४० को जग्गा रहेछ भन्ने मान्नुपर्ने हुन आएको छ ।
२५. पू.क्षे.अ.बाट जम्मा १०–१२–६ जग्गा प्रतिवादीले खिचोला गरेको ठहर भएको देखियो । नक्सा ट्रेस र फिल्ड उतारबाट कोशी नहरबाट पश्चिम दुवियाही जाने पैनदेखि उत्तरको जग्गामा १०८, १०९, १११, ११३, ११४ नं. का कित्ता जग्गाहरू पनि देखिन्छ । क्षेत्रीय अदालतको फैसलाबाट कोशी नहरमा वादी दावीको साविक कि.नं. ४० को जग्गा मध्येको जग्गा परेको भन्ने स्वीकार गरेपछि बीचको जग्गाहरूको सम्बन्धमा पनि निरोपण गरी निर्णय गर्नुपर्नेमा सो नगरी हचुवा किसिमले वादीका स्वास्नी छोराहरूको नाउँमा रहेको जग्गाको हिसाब गरी नपुग जग्गा प्रतिवादीबाट कट्टा गरी वादीलाई दिने भनिएको ठहर नक्सा प्रमाणको वास्ता नगरी त्रुटिपूर्ण निर्णय गरेको देखिँदा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टो हुन्छ । वादी दावी नपुग्ने ठहराएको कोशी अञ्चल अदालतको इन्साफ मनासिव छ भन्ने समेत माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई ०४०।१२।८ मा निर्णय भएको रहेछ ।
२६. निवेदक वादी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री सुशिल कुमार पन्त एवं श्री सुधानाथ पन्तले विपक्षी वादीको जग्गा र निवेदक प्रतिवादीको जग्गा सँगसँगै छ । दुवै मौजाहरू जोडिएका छन् । वादीले आफ्नो जग्गा बिक्री गरी हाल प्रतिवादीको जग्गालाई पक्रेको हो । वादी दावी अनुसार वादीको बकलौरी मौजाको जम्मा जग्गा बिगहा ३१–१४–४ मध्ये बिगहा ०–१–२ जग्गा कोशी नहरमा परेपछि वादीको जग्गा कोशी नहरसँग जोडिएकोमा विवाद छैन । यस्तो अवस्थामा कोशी नहरदेखि टाढा पश्चिममा रहेको पु.क्षे.अ.को निर्णय बमोजिम ठहर भएको वादीको जग्गा त्यहाँ रहनुपर्ने अवस्थै छैन ।
२७. वादी दावीको किल्लाभित्र कि.नं. १०८, १०९, १११, ११३ र कि.नं. ११४ को जग्गाहरू पर्दछन् । ती जग्गाहरूको विषयमा पु.क्षे.अ.को फैसलामा विवेचना भएको छैन । ती जग्गाहरू वादीकै हुन र ती कित्ता जग्गाहरू वादीको छँदाछँदै कि.नं. ९८, ९९, १०५ को जग्गा र कि.नं. ९४ मध्ये ३–५–१७ वादीको ठहराएको पु.क्षे.अ.को फैसला मिलेको छैन । वादी दावी नुपग्ने ठहराएको कोशी अञ्चल अदालतको इन्साफ सदर गरेको माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मनासिव हुनुपर्छ भनी र वादी विपक्षी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती, श्री प्रभुनारायण चौधरी तथा श्री सिन्धुनाथ प्याकुरेलले प्रतिवादी निवेदकको जग्गा बिगहा २४–१–२ हो । ती सबै जग्गाहरू प्रतिवादी केशरबहादुरले विभिन्न व्यक्तिहरूलाई बकसपत्र दिई सक्नुभएको छ । ती जग्गाहरू सर्भे नापीमा नापी हुँदा नरबढी हुन गई बिगहा ४७–४–१
हुन गएको र बकस पाउने व्यक्तिहरूले आफ्नो–आफ्नो नाममा नापी दर्ता समेत गराएका छन् । प्रतिवादी केशरबहादुर के.सी.को जग्गा नरबढी हुन गए पनि तत्कालीन जग्गा मिच्नेको ५ नं. बमोजिम दश प्रतिशत सम्म पाउन सक्ने स्थिति छ । कोशी नहरदेखि पश्चिम वादीको मात्र जग्गा पर्दैन । अन्य व्यक्तिहरूको पनि जग्गा पर्दछ । सो कुरा मिसिल सामेल रहेको १९९३ साल चैत्रको सरजमीनबाट समेत देखिन्छ । फिल्डबुक उतार हेरेमा कोशी नहर पश्चिम सर्भेको नक्सामा रहेको कि.नं. १०८ को जग्गा नरबदादेवीको कि.नं. १०७, को जग्गा पर्ति कि. नं. १०९ र कि.नं. १११ को जग्गा यज्ञकुमारीको, कि.नं. ११३ को जग्गा कौशल्यादेवी र कि.नं. ११४ को जग्गा खड्गमायाको देखिनाले ती जग्गाहरूलाई वादीको भन्न मिल्दैन । पु.क्षे.अ.ले कि.नं. १०५, कि.नं. ९८ र कि.नं. ९९ र कि.नं. ९४ मध्ये ३–५–१७
मा खिचोला ठहरिएको जग्गा प्र.केशरबहादुरको नाउँमा सर्भे नापीमा दर्ता नभई क्रमशः रक्सु चौधरी, भिमबहादुर दाहाल र रेणुकादेवीका नाउँमा नापी दर्ता छन् । यी रक्सु चौधरी समेतका व्यक्तिहरू पू.क्षे.अ.को फैसला बदर गराउन आएनन् । उक्त निर्णयबाट प्र.केशरबहादुर के.सी. लाई कुनै प्रतिकूल असर परेको छैन । अतएव वादीको जग्गा प्र.हरूले खिचोला गरेको ठहराएको पु.क्षे.अ. को निर्णय मनासिव ठहराएको माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिव हुनुपर्छ भनी बहस गर्नुभयो ।
२८. दुवै पक्षका विद्वान अधिवक्ताहरूले गर्नु भएको बहस सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णय तर्फ विचार गर्दा कि.नं. ९९ कि.नं. ९८ कि.नं. १०५ को जग्गा र कि.नं. ९४ मध्ये पूर्वतर्फबाट जग्गा बिगहा ३–५–१७ समेत गरी जम्मा ज.बि. १०–१२–६
मा प्रतिवादीहरूले खिचोला गरेको पू.क्षे.अ.बाट ठहर भएको पाइन्छ ।
२९. कि.नं. ९८ र कि.नं. ९९ को जग्गा भीमबहादुर दाहाल, कि.नं. १०५ को जग्गा रक्सु चौधरी र कि.नं. ९४ को जग्गा रेणुकादेवीका नाउँमा सर्भेमा नापी दर्ता भएको मिसिल सामेल रहेको क्षेत्रीय किताबको उतारबाट देखिन्छ । यी भीमबहादुर दाहाल, रक्सु चौधरी र रेणुकादेवीलाई अदालतले प्रतिवादी सरह बुझेकोमा निजहरूले तत् तत् कित्ता जग्गाहरू आफ्नो हो भनी अदालतमा समेत बयान गरेको पाइन्छ । तर पु.क्षे.अ. को निर्णयबाट प्रतिकूल असर पर्ने कि.नं. ९८ र कि.नं. ९९ को जग्गाको जग्गाधनी भीमबहादुर कि.नं. १०५ को जग्गाको जग्गाधनी रक्सु चौधरी कि.नं. ९४ को जग्गाको जग्गाधनी रेणुकादेवी पु.क्षे.अ.को निर्णय बदर वातिल गराउने तर्फ यस अदालतमा आएको देखिन्न । अदालतबाट भएको मिति ०२९।१०।७ को नक्सा र सर्भे नक्सा समेतलाई हेर्दा कोशी नहर पश्चिम विवादको जग्गा बाहेक कि.नं. १०० कि.नं. १०१ कि.नं. १०२ कि.नं. १०३ कि.नं. १०४ कि.नं. ११० कि.नं. ११२ कि.नं. ११५ कि.नं. ११६ कि.नं. १०७ कि.नं. १०८ कि.नं. १०९ कि.नं. १११ र कि.नं. ११४ को जग्गा देखिन्छ । क्षेत्रीय किताबको उतारबाट कि.नं. १०७ कि.नं. १०८ कि.नं. १०९ कि.नं. १११ कि.नं. ११३ कि.नं. ११४ को जग्गा वादीको नाउँमा नापी दर्ता भएको नदेखिई कि.नं. १०७ को जग्गा पर्ति कि.नं. १०८ को जग्गा नरबदादेवी कि.नं. १०९ र १११ को जग्गा यज्ञकुमारीको नम्बरी कि.नं. ११३ को जग्गा कौशल्यादेवी र कि.नं. ११४ को जग्गा खड्गमायाको नाउँमा नापी दर्ता भएको पाइन्छ ।
३०. कि.नं. १०० कि.नं. १०१ कि.नं. १०२ कि.नं. १०३ कि.नं. १०४ कि.नं. ११० कि.नं. ११२ कि.नं. ११५ कि.नं. ११६ को जग्गा सम्म सर्भे नापीमा वादी एवं निजका परिवारको नाममा नापीदर्ता भएको र उक्त जग्गाहरूको जम्मा क्षेत्रफल २१–०–१५ कायम भएको र उक्त कुरा लाई पू.क्षे.अ. ले आफ्नो निर्णयमा बोलेकोमासमेत प्रतिवादी निवेदकले विवाद उठाएको देखिन्न ।
३१. ती कित्ता जग्गा बाहेक वादीको बकलौरी मौजाको जग्गा कोशी नहरमा परेको बाहेक जम्मा जग्गा बिगहा ३१–१३–२ देखिन्छ । वादीले आफ्नो बकलौरी मौजाको जग्गा बिक्री गरी प्रतिवादी केशरबहादुर के.सी. को जग्गा पक्रन आएको भन्ने प्रतिवादी निवेदक तर्फका विद्वान अधिवक्ताको बहस भएकोमा वादीको उपरोक्त बकलौरीको उपरोक्त कित्ता बाहेक अन्य कित्ता जग्गा अन्यत्र रहे भएको नत प्रतिवादीले देखाउन सकेको छ नत वादीले आफ्नो बकलौरी मौजाको जग्गा अन्य व्यक्तिलाई हक छोडेको भनी सो सबूत प्रमाण दिन सकेको छ । साविकको श्रेस्ताबाट जग्गा बिगहा १०–१२–६ वादीको पुगेको पाइन्न । प्र.केशरबहादुर के.सी.को जम्टोकी मौजामा साविक श्रेस्ताबाट जग्गा बिगहा २४–७–३ रहेकोमा विवाद देखिन्न । उक्त कुरालाई स्वयं केशरबहादुर के.सी.ले आफ्नो प्रतिउत्तरमा स्वीकार गर्नु भएको छ । ती सम्पूर्ण जग्गालाई प्र.केशरबहादुर के.सी.ले ०१८।१।१६।६ मा पदमबहादुर श्रेष्ठ समेतका विभिन्न व्यक्तिहरूलाई बकसपत्र गरी दिनुभएको श्रेस्ता कागजात वादी पक्षबाट बेञ्च समक्ष पेश भएकोमा सो होइन भन्ने निवेदक प्रतिवादीको बहस भनाई भएन । ती जग्गाहरू सर्भे नापीमा सम्बन्धित तत्तत् व्यक्तिहरूको नाउँमा नापी दर्ता भएको र त्यस्तो जग्गा बढी हुन आएको समेत देखिन्छ । आफूले पाएको जग्गा अरू व्यक्तिहरूलाई हक छोडी दिई सकेपछि ती जग्गाहरूमा त्यस्तो हक छाडी दिने व्यक्तिको हक अधिकार रहने स्थिति नै पर्दैन ।
३२. जग्गाको क्षेत्रफलको हिसाब गर्दा प्र.केशरबहादुर के.सी.बाट पाएको विभिन्न व्यक्तिहरूको जग्गा समेत सर्भे नापीमा बढ्न गई प्र.केशरबहादुर के.सी.ले पाउने भएको जग्गा बिगहा २४–७–३ को क्षेत्रफल बढ्न गएको र वादीको क्षेत्रफल घट्न गएको समेत देखिन्छ । अतएवं विवादको कि.नं. ९८, ९९, १०५ को जग्गा र कि.नं. ९४ मध्ये पूर्वतर्फबाट जग्गा बिगहा ३–५–१७ समेत जम्मा जग्गा बिगहा १०–१२–६
मा प्रतिवादीहरूले खिचोला गरेको ठहराएको पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिव ठहराएको माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिव ठहर्छ । इन्साफ जाँचको लागि आएको हुँदा केही गरिरहनु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामी सहमत छौं ।
न्या. महेशरामभक्त माथेमा,
न्या. हरिहरलाल राजभण्डारी
इति सम्वत् २०४१ साल फाल्गुण ४ गते रोज ६ शुभम् ।