शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २१७२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११

निर्णय नं. २१७२   ने.का.प. २०४१           अङ्क ११

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४० सालको रिट नं. १६९५

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

निवेदक : जि.मोरङ ढुकुवा गा.पं. वा.नं. ६ बस्ने घमण्डीलाल राजवंशी

ऐ ऐ बस्ने मामलासरी

ऐ ऐ बस्ने मोतिलाल

ऐ ऐ बस्ने सत्य नारायण

विरूद्ध

विपक्षी : जिल्ला कार्यालय भूमिप्रशासन शाखा मोरङ

कोशि अञ्चल अदालत धरान

आदेश भएको मिति :   २०४१।११।२७।१ मा

§  अन्य व्यक्तिको हक सृजित भई लामो अवधिसम्म विलम्ब गरी पर्न आएको प्रस्तुत रिट निवेदनमा यस अदालतको असाधारण अधिकार क्षेत्रको प्रयोग गर्नु उपयुक्त नहुने ।

(प्रकरण नं. ९)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल

उल्लेखित मुद्दा : x

आदेश

          न्या. धनेन्द्रबहादुर सिंह : विपक्षीका निर्णय फैसला बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ ।

          २.  जि.मोरङ अमरदह गा.पं. वार्ड नं. ६(क) र ६ को घमण्डीलाल दर्ताको जग्गा बिगहा ९७० को ७ नं. फाँटवारी पेश गरेको सम्बन्धमा छानविनको सिलसिलामा परिवारमा मोतिलाल सत्यनारायण मामला गरी उल्लेख गरेको छोरा सदानन्द नित्यानन्दले फाँटवारी छुट्टै पेश गरेका छन् भन्ने गलत तर्क र अनुमानका आधारमा उपरोक्त जग्गा मध्येको बिगहा ३५ भू.सं. ऐन, ०२१ को दफा १५ बमोजिम प्राप्त हुने ठहर्छ भनी विपक्षी भू.प्र.शाखा मोरङ्गबाट ०३४।६।२६।४ मा निर्णय गरियो । सो निर्णय बदर गरिपाउँ भनी अञ्चल अदालतमा पुनरावेदन गरेकोमा घमण्डीलालले दाखिल गरेको र मामलासरीले पेश गरेको ७ नं. फाँटवारीका जग्गा एकै वा बेगल के हुन त्यसतर्फ छानविन गर्न पुनः भू.प्र.का.मा मिसिल पठाएको भू.प्र.का. बाट पुनः निर्णय भएउपर पुनः अञ्चल अदालत कोशीमा पुनरावेदन गरेकोमा कोशी अञ्चल अदालतबाट शुरू निर्णय सदर गरी ०३९।१२।७।२ मा हामीलाई हराई फैसला भयो । उक्त फैसला भूमिसम्बन्धी ऐन, ०२१ को दफा ७(४) तथा ऐ. नियम समेतको त्रुटिपूर्ण छन् ।

          ३.  हामी सबैका मूल पूर्खा म घमण्डीलालका बाबु पुष्पलाल नै हुन् र पुष्पलालको मृत्यु पछि उक्त अचल सम्पत्तिको जग्गा त्यस अवस्थाको जेठोपाको तथा घरको मुख्यकै नाउँमा नामसारी भै आउनु स्वाभाविकै हो । सबैको हक लाग्ने हुँदा सोही बमोजिम ७ नं. फाराम भरेको हो । अंशियारले ऐनले राख्न पाउने लिखित भन्दा घटी जग्गालाई पनि हदबन्दी भन्दा बढी भनी अर्थ गर्न मिल्ने होइन । म घमण्डीलालका छोराहरूकै नाउँको जग्गा जोड्दा पनि अधिकतम हदबदी भन्दा बढी हुन नसक्नेमा छोरा भनिएका सदानन्द नित्यानन्दको छुट्टै फाराम र छुट्टै दर्ता समेत भएकोले तत्सम्बन्धी प्रश्न उठाएको पनि त्रुटिपूर्ण छ । अतः विपक्षीका निर्णय फैसला उपरोक्त कानुनी त्रुटिपूर्ण र संविधान प्रदत्त हक समेत प्रतिकूल हुँदा उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरी उक्त निर्णय फैसला बदर गरिपाउँ र अन्तिम किनारा नभएसम्म उक्त जग्गा प्राप्ति बिक्री वितरण समेत केही नगर्नलाई अन्तरीम आदेश समेत जारी गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर ।

          ४.  विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको ०४०।८।११।१ को आदेश ।

          ५.  रिट निवेदकले आफ्नो निवेदनमा जे जति कुरा लेखी दावी गर्नु भएको छ । ती सम्पूर्ण निराधार तथा कानुनी छैनन । शुरूमा पेश गरेको फाँटवारीमा देखाइएका परिवारहरूको दावी लिइएकोमा ती परिवारहरूको आफ्नाफ्ना भागको जग्गाको ७ नं. फाँटवारी शुरूमा नै दाखिल गरी सर्भे नापीमा समेत आफ्नै नाउँमा नापी दर्ता गराई घमण्डीलाल र निजका भाइबुहारी भतिजाहरू बेगल भई खति उपति आफ्नो गरेको देखिँदा र घमण्डीलालको फाँटवारीको जग्गा र भैमलासरीको फाँटवारीको जग्गा अलगअलग हो भनी खुलाई दिएको समेतबाट दावी अनुसार घमण्डीलालको परिवारमा निजको भाइ बुहारी भैमलासरी तथा भतिजाहरू समेत समावेश हुन नसकी फाँटवारी अनुसार घमण्डीलालको दावी नपुगी १ परिवार मात्र गणना भई बढी जग्गा प्राप्त गर्ने गरी गरेको निर्णय कानुन अनुरूप भएको छ । अतः भूमिसुधारबाट भएको निर्णय कानुनी त्रुटिपूर्ण नभएकोले रिट खारेज हुन अनुरोध छ भन्ने समेत भूमिसुधार मन्त्रालय, जिल्ला समिति मोरङ्गको लिखितजवाफ ।

          ६.  घमण्डीलालका छोराहरूको पनि हदबन्दी भन्दा बढी जग्गा देखिइसकेको मिसिलबाटै बोध हुन्छ । यिनै सबूतबाट उक्त जग्गामा घमण्डीलालको भाइ बुहारी र भतिजाहरूको समेत माग रहेको भन्ने कुरा साँचो देखिन आउँदैन । हदभन्दा बढी जग्गामा प्र.घमण्डीलालको स्वामित्व कायम रहन नसकी श्री ५ को सरकारलाई प्राप्त हुने कानुनी व्यवस्था हुँदा पुनरावेदन जिकिर पुग्न नसक्ने ठहरी निर्णय भएको कानुन र न्यायसंगत हुँदा निवेदन दावी खारेज हुन अनुरोध छ भन्ने समेत कोशी अञ्चल अदालतको लिखितजवाफ ।

          ७.  रिट निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री हरिहर दाहालले सबैको हक लाग्ने जग्गा एकै व्यक्तिको मानी हदभन्दा बढी भएको भनी प्राप्त गर्ने गरेको भू.प्र.कार्यालयको निर्णय सदर गरेको कोशी अञ्चल अदालतको निर्णय समेत त्रुटिपूर्ण हुँदा बदर हुनुपर्छ भन्ने समेत र विपक्षी तर्फबाट रहनुभएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले घमण्डीलाल र निजका भाइ बुहारी भतिजाहरू बेग्लै भई खती उपती आफ्नो गरी बसेका र मामलासरी र घमण्डीलालले पेश गरेका फाँटवारीको जग्गा अलगअलग हो भनी खुलाई दिएको समेतबाट एक परिवार मात्र गणना गरी हदबन्दी भन्दा बढी भएको जग्गा प्राप्त गर्ने गरी भए गरेको निर्णयमा कुनै त्रुटि छैन । रिट खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

          ८.  प्रस्तुत विषयमा रिट निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

          ९.  यसमा निर्णयतर्फ हेर्दा रिट निवेदक स्वयंले भूमिप्रशासन शाखा मोरङ्गको निर्णय उपर कोशी अञ्चल अदालतमा पुनरावेदन गरेको देखिन्छ । उक्त अञ्चल अदालतबाट ०३९।१२।७ मा निर्णय भएको छ । कसैको निर्णयले आफ्नो हकमा आघात परेमा असाधारण अधिकारक्षेत्र प्रयोग गराई माग्नेले समयमै अदालतमा आउनु पर्ने हुन्छ । तर सो अञ्चल अदालत समेतको निर्णय बदर गरिपाउँ भनी उक्त निर्णय भएको करिब ७ सात महीना भन्दा बढी समय पछि अर्थात् ०४०।८।५।२ मा मात्र यो रिट निवेदन पर्न आएको छ । त्यसरी विलम्ब गरी रिट निवेदन दिनुपर्ने मनासिव माफिकको कारण रिट निवेदनमा खुलाउन सकेको पाइँदैन । भूमिसुधार मन्त्रालय जिल्ला समिति मोरङ्गको लिखितजवाफबाट उक्त निर्णय बमोजिम प्राप्त भएको जग्गा बिक्री वितरण भइसकेको भन्ने उल्लेख भएको पाइन्छ । यसरी अन्य व्यक्तिको हक सृजित भई लामो अवधि सम्म विलम्ब गरी पर्न आएको प्रस्तुत रिट निवेदनमा यस अदालतको असाधारण अधिकर क्षेत्रको प्रयोग गर्नु उपयुक्त नहुने हुँदा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन विलम्बको सिद्धान्त बमोजिम खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।  

 

न्या. हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०४१ साल फाल्गुण २७ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु