शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २१७३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११

निर्णय नं. २१७३ ने.का.प. २०४१             अङ्क ११

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४० सालको रिट नं. १९४०

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

निवेदक : का.जि.का.न.पं. वडा नं. १७ क्षेत्रपाटी ढल्को टोल बस्ने बद्रीमान नकर्मी

विरूद्ध

विपक्षी : बागमती अञ्चल अदालत काठमाडौं

जिल्ला अदालत विगो फाँट काठमाडौं

नेपाल बैंक लिमिटेड क्षेत्रपाटी शाखाका प्रवन्धक हिरण्य केशर बज्राचार्य

आदेश भएको मिति : २०४१।११।२७।१ मा

§  रिट निवेदकले ऋण लिँदा लेखेको वतनलाई नै देखाई प्रत्यर्थी बैंकले फिराद गरेको र फिरादमा लेखिएको वतनमा म्याद तामेल भएको पाइन्छ । रिट निवेदकले ऋण लिँदा नधल क्वाडो वतन लेखिएको होइन भन्न सकेको देखिन्न । यस स्थितिमा रिट निवेदकको जिकिर सारयुक्त छ भन्न मिलेन ।

(प्रकरण नं. ११)

निवेदक तर्फबाट :   

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार तथा विद्वान अधिवक्ता श्री कमलप्रकाश घिमिरे

उल्लेखित मुद्दा : x

आदेश

          न्या. धनेन्द्रबहादुर सिंह : बागमती अञ्चल अदालतको ०३८।७।७ को फैसला बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार छ ।

          २.   सावाँब्याज जम्मा रू. १,५२,६७५।९४ वाणिज्यबैंक ऐन, ०३९ को दफा ४७, ४७(क) बमोजिम बैंकको थैली असूल उपर गरी गराई पाउँ भनी विपक्षमध्येको हिरण्यकेशर बज्राचार्यले फिराद दिनु भएकोमा का.जि.का.न.पं. वडा नं. १७ क्षेत्रपाटी ढल्को बस्ने म प्रतिवादीलाई वतन फरक पारी का.जि.का.न.पं. वडा नं. २८ नधल क्वाडो स्थित नकर्मी मेकानिक्स वक्र्सका प्रोपाइटर बद्रीमान नकर्मी भनी समाव्हान म्याद तामेल गराउँदा मानिस फेला नपर्दा सोही ठाउँको पाटीमा टाँस गरी दिनु भनी तामेल भएको रहेछ । तत्पश्चात म्यादमा प्रतिउत्तर नदिई गुजारी बसेकोबाट बुझाउन मञ्जूर भएको भन्न पर्ने हुँदा प्रतिवादीबाट वादीले भरी पाउने ठहर्छ भनी बा.अं.अ.ले ०३८।७।७।६ मा फैसला गर्नुभयो । बिगो कोर्टफी दाखिल गर्न ल्याउनु भन्ने विपक्ष मध्ये जि.अ.बाट ३५ दिन म्याद जनाउँ ०४०।१०।५ मा बुझी लिएकोले स्पष्ट भयो ।

          ३.   मलाई प्रतिवाद गर्ने मौका नदिई वतनै फरक पारी दिएको वादी दावी अनुसार नधल पाटीमा वेपत्ते भनी तामेल गरेकोलाई अ.बं. १३३ नं. बमोजिम खुलाई म निवेदक बसेको वतनमा पुनः म्याद जारी गरी तामेल गर्नुपर्ने तामेल नगरी प्रतिवाद दिने मौका नदिई फैसला गरेकोले उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरी बा.अं.अ.को ०३८।७।७ को फैसला बदर गरिपाउँ भन्ने समेत निवेदन जिकिर ।

          ४.   विपक्षीसँग लिखितजवाफ लिई पेश गर्नु भन्नेसमेत सर्वोच्च अदालत सिंगलबेञ्चको आदेश ।

          ५.  बिगो भरी भराउ गरी दिने कारवाईको सिलसिलामा बिगो कोर्टफी दाखिल गर्न ल्याउनु भनी जारी गरेको जनाउ प्र.ले बुझी लिएको कानुन नियम बमोजिम भए गरिएको हुँदा रिट खारेज हुन अनुरोध छ भन्ने काठमाडौं जिल्ला अदालतको लिखितजवाफ ।

          ६.   विपक्षी निवेदकले शुरू म्याद तामेल बेरीत भयो भन्ने मुख्य दावी लिएको हकमा तामेल भई आएको म्याद हेर्दा अ.बं. ११२ नं. को रीत पुगी टाँस भएको तामेली म्यादबाट देखिँदा विपक्षीको रिटनिवेदन खारेज गरिपाउँ भन्नेसमेत बागमती अञ्चल अदालतको लिखितजवाफ ।

          ७.  विपक्षीले कर्जा लिएकै होइन, नकर्मी मेटालिकको प्रोप्राइटर म होइन, रकम तिर्नुपर्ने होइन भन्ने कुनै कुराको दावी छैन । विपक्षी स्वयंले बैंक कर्जा लिँदा आफ्नो ठेगाना नधल क्वाडो भनी लेखेको छ । तसर्थ बैंकले र अदालतले समेत रीतपूर्वक गरेको कार्यबाट विपक्षीको कुनै हक हनन नभएको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत नेपाल बैंक लिमिटेड साविक क्षेत्रपाटीको हाल किर्तिपुर शाखाका शाखा प्रबन्धकको लिखितजवाफ ।

          ८.   निवेदकको वारिस उपेन्द्रधर सुवेदीले रिट निवेदकको वतन क्षेत्रपाटी ढल्को हो । कुरा विपक्षीले बिगोमा दर्खास्त दिँदा लेखेको वतनबाट प्रष्ट छ । तसर्थ नधल क्वाडो वतन लेखी नालिश गरेकोबाट जारी भएको म्यादको वेपत्ते भई तामेल भएकोबाट भएको फैसला बदर हुनुपर्छ भन्ने र प्रत्यर्थी अदालत तर्फबाट बहस गर्न उपस्थित विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमारले म्याद रीतपूर्वक तामेल भएको छ । कुनै कानुनी त्रुटि छैन । रिट खारेज हुनुपर्छ भन्ने र प्रत्यर्थी नेपाल बैंक तर्फबाट बहस गर्न उपस्थित विद्वान अधिवक्ता श्री कमलप्रकाश घिमिरेले निवेदकले बैंकसँग ऋण लिँदा नधल क्वाडोको वतन लेखिएको छ । सोहि वतन लेखी रीतपूर्वक म्याद तामेल भई निर्णय भएको हुँदा रिट खारेज हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

          ९.   प्रस्तुत मुद्दामा निवेदकका माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

          १०.  यसमा निर्णयतर्फ हेर्दा तामेल भएको इतलायनामाको म्यादमा प्रतिउत्तर नदिई गुजारी बसेको बाट प्रतिवादीबाट वादीले भरी पाउने ठहर्छ भनी प्रत्यर्थी बा.अं.अ.बाट निर्णय गरेको देखिन्छ ।

          ११.  सरकारी अधिवक्ताले बेञ्च समक्ष देखाएको मिसिलबाट रिट निवेदकले बैंकसँग ऋण लिँदा गरेको तमसुकमा रिट निवेदकले आफ्नो वतन नधल क्वाडो भन्ने लेखिएको देखिन्छ । त्यसरी रिट निवेदकले ऋण लिँदा लेखेको वतनलाई नै देखाई प्रत्यर्थी बैंकले फिराद गरेको र फिरादमा लेखिएको वतनमा म्याद तामेल भएको पाइन्छ । रिट निवेदकले ऋण लिँदा नधल क्वाडो वतन लेखिएको होइन भन्न सकेको देखिन्न । यस स्थितिमा रिट निवेदकको जिकिर सारयुक्त छ भन्न मिल्ने अवस्था नहुँदा निवेदकको माग अनुसारको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

         

उक्त रायमा म सहमत छु ।

 

न्या. हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०४१ साल फाल्गुण २७ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु