निर्णय नं. २१८० - जालसाजी

निर्णय नं. २१८० ने.का.प. २०४१ अङ्क ११
डिभिजन बेञ्च
इजालश
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४० सालको फौ.पु.नं. ४०१
मुद्दा : जालसाजी
पुनरावेदक/वादी : जिल्ला पर्सा विरगंज न.पं. वा.नं. ७ बस्ने राजेन्द्रप्रसाद वर्नवाल
विरूद्ध
विपक्षी/वादी : ऐ.ऐ. बस्ने शशीभुषणप्रसाद वर्नवाल
ऐ ऐ बस्ने दमयन्ती देवी बर्नवाल
जि. सर्लाही मौजे मुसौनी हाल जि. पर्सा विरगंज न.पं. वार्ड नं. ५ बस्ने महेश्वर झा ब्राह्मण
ऐ ऐ वा.नं. ६ बस्ने रामदयाल राउत वरै
ऐ ऐ वा.नं. १४ बस्ने राम दयाल प्रसाद गोड
ऐ ऐ वा.नं. ९ बस्ने राम बहादुर विष्ट
फैसला भएको मिति : २०४१।१०।२३।३ मा
§ कीर्ते कागजको १ नं. बमोजिम काम भए गरेको मितिले २ वर्षभित्र नालेश नदिए लाग्न नसक्ने ।
(प्रकरण नं. १२)
पुनरावेदक वादीतर्फबाट : विद्वान अधिबक्ता श्री प्रभु नारायण चौधरी
विपक्षी प्रतिवादी तर्फबाट : विद्वान अधिबक्ता श्री पिताम्बर सिलवाल
उल्लेखित मुद्दा : x
फैसला
न्या. बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षे.अदालतको इन्साफमा चित्त नबुझी पुनरावेदक वादी राजेन्द्रप्रसाद वर्नवालले यस अदालतमा पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनबाट पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत जालसाजी मुद्दाको संक्षिप्त विवरण यस प्रकार छन् ।
२. विपक्षी शशीभूषणसँगको अंश मुद्दामा वीरगञ्ज पशुपति आर्दशनगरको ०–०–१० जग्गा श्रीमतीको दाइजो पेवाको जग्गा भनी विपक्षीहरूले मेरो अंश मार्न दाइजो पेवाको रुपैयाँ घरसारमा विपक्षी महेश्वरले बुझी लिए भनी झुठ्ठा व्यहोरा लिखतमा लेखी लेखाई जालसाज गरेकोले विपक्षीहरूलाई सजाय गराई पाउँ भन्ने समेत राजेन्द्रप्रसादको फिराद ।
३. वादीले दावी लिनुभएको जग्गा मेरो पिताले दिनुभएको दाइजो पेवाको रुपैयाँ र इष्टमित्रहरूबाट पाएको रुपैयाँ समेत गरी जग्गा खरीद गरेको छु । सगोलको सम्पत्तिबाट खरीद गरेको र जालसाज गरेको होइन फिराद खारेज हुनुपर्ने भन्ने प्र.दमयन्तीदेवीको प्रतिउत्तर ।
४. मेरो श्रीमती दमयन्तीले आफ्नो दाइजो पेवाबाट जग्गा खरीद गरेकी हुन् । सगोलको आर्जनबाट खरीद गरेको नहुँदा हामीले जालसाजी गरेको होइन भन्ने समेत शशीभूषण समेतको प्रतिउत्तर ।
५. वादीले दावा लिएको उक्त कार्य जालसाजीको परिभाषाभित्र पर्ने देखिन नआएको र ०२८ सालमा पास भएको राजीनामाको लिखितका हकमा जालसाजीमा उजूर गर्ने हदम्याद ०३६ साल सम्म रहन्छ भन्न पनि नमिल्ने भएकोले समेतबाट वादी दावा खारेज हुने ठहर्छ भनी पर्सा जिल्ला अदालतले गरेको फैसला रहेछ ।
६. घर जग्गा सगोलबाट खरीद गरी भोगी आएकोमा लिखत नक्कल सारी लिँदा जालसाज गरेको थाहा पाई लिखतको नक्कल सारी लिएको मितिले २ वर्षभित्रै परेको फिराद खारेज गर्ने गरेको शुरू पर्सा जिल्ला अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत वादी राजेन्द्रप्रसादको पुनरावेदन ।
७. सगोलको आर्जनबाट खरीद भएको भन्ने सबूतको अभावमा अंश दर्ता बदर मुद्दा वीरगञ्जको ०–०–१० जग्गा दमयन्तीदेवीको दाइजो पेवा कायम गरी शुरूले गरेको फैसला मनासिव ठहरी यसै बेञ्चबाट फैसला भएको र त्यस्तो दमयन्तीदेवीको दाइजो पेवाको सम्पत्ति सगोलको आर्जनको सम्पत्तिलाई दाइजो पेवाको सम्पत्ति गराउन जालसाज गरे भन्ने वादी दावी पुग्न सक्ने नदेखिँदा वादीको फिराद दावी खारेज हुने ठहराएको शुरूको इन्साफ मनासिव छ भनी मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला ।
८. म.क्षे.अ.ले गरेको इन्साफमा चित्त नबुझी निवेदक वादी राजेन्द्रप्रसाद वर्नवालको यस अदालतमा निवेदन परी पेश हुँदा निवेदक मानबहादुर लिम्बु समेत विपक्षी गञ्जलाल लिम्बु भएको लेनदेन जालसाजी मुद्दामा यस अदालतले भोगको मितिबाट नै जालसाजीमा उजूर गर्ने हदम्याद शुरू हुन्छ भनी प्रतिपादितभएको सिद्धान्तकोबिपरीत हुनुको साथै के कतिकारणले कीर्तेकागजको ३ नम्बरको परिभाषाभित्र नपरेको हो त्यो खुलेकोनदेखिँदा म.क्षे.अ.को निर्णय त्रुटिपूर्ण देखिएकोले न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत डिभिजन बेञ्चको ०४०।६।१३ को आदेश रहेछ ।
९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी राजेन्द्रप्रसाद वर्नवाल र विपक्षी प्रतिवादी शशीभुषणलाई रोहवरमा राखी पु.वादी राजेन्द्रप्रसाद वर्नवालको तर्फबाट विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी र विपक्षी प्रतिवादीका तर्फबाट विद्वान अधिवक्ता श्री पिताम्बर सिलवालको बहस समेत सुनियो ।
१०. प्रस्तुत जालसाजी मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव बेमनासिव के रहेछ निर्णय दिनुपरेको छ ।
११. यसमा दमयन्तीदेवीले दाइजो पेवाको रुपैयाँबाट वीरगञ्ज पशुपति आदर्शनगरको ०–०–१० जग्गा लिएको भनी झुठ्ठा व्यहोरा लेखी जालसाज गरेको भनी वादीले दावी लिएकोमा सगोलको आर्जन सम्पत्तिबाट उक्त जग्गा खरीद गरेको र जालसाज गरेको नभई आफ्नो दाइजो पेवाबाट जग्गा खरीद गरेको भन्ने समेतको दमयन्तीदेवीको प्रतिवाद भएकोमा ०२८ सालमा पास भएको राजीनामाको लिखत जालसाजीमा उजूर गर्ने हदम्याद ०३६ सालसम्म रहन्छ भन्न नमिलेबाट सगोलको आर्जनबाट खरीद भएको भन्ने सबूतको अभावमा सगोलको आर्जनको सम्पत्तिलाई दाइजो पेवाको सम्पत्ति गराउन जालसाज गरे भन्ने वादी दावी पुग्न सक्ने नदेखिँदा फिराद दावी खारेज हुने ठहराएको शुरूको इन्साफ मनासिव छ भनी मध्यमाञ्चल क्षेत्रीय अदालतले निर्णय गरेको पाइन्छ ।
१२. प्रस्तुत जालसाजी मुद्दाको तथ्य र दे.पु.नं. १९७९ को निवेदक मानबहादुर लिम्बु समेत विपक्षी गजलाल लिम्बु भएको नि.नं. ८१४ को लेनदेन जालसाजी मुद्दाको परिस्थिति र तथ्यसँग मेल भएको देखिँदैन । वादी राजेन्द्रप्रसाद वर्नवालले दमयन्तीदेवीले दाइजो पेवाबाट खरीद गरेको वीरगञ्ज पशुपति आदर्शनगरको ०–०–१० जग्गालाई सगोलको आर्जनको सम्पत्तिबाट खरीद गरेको भनी प्रस्तुत मुद्दाको संलग्न मिसिलबाट प्रमाण गुज्रन सकेको पनि देखिँदैन । विवादको वीरगञ्ज पशुपति आर्दशनगरको ०–०–१० घर जग्गा ०३६।१२।१५।६ मा भूमिप्रशासन कार्यालय पर्सा रजिष्ट्रेशनबाट राजीनामा गरी प्रतिवादीको श्रीमती दमयन्तीदेवीको नाउँमा खरीद भएको भन्ने कुरामा विवाद छैन । उक्त जग्गा खरीद भई घर बनेको कुरा पनि वादी राजेन्द्रप्रसादलाई थाहा भएकोमा त्यस उपर ०३८।५।२३।३ मा जालसाजी मुद्दा पुनरावेदकले दायर गरेको पाइन्छ । कीर्ते कागजको १ नं. बमोजिम काम भए गरेको मितिले २ वर्षभित्र नालेश नदिए लाग्न नसक्ने भन्ने कानुनी व्यवस्था भएकोमा उक्त २ वर्षको म्यादभित्र नालेश परेको देखिन आएन । शुरू जिल्ला अदालतले वादी दावी पुग्न नसक्ने देखिँदा फिराद दावी खारेज गर्ने गरेको इन्साफ मनासिव ठहर्याई मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव ठहर्छ । तपसील बमोजिम गरी मिसिल बुझाई दिनु ।
तपसील
पुनरावेदक वादी राजेन्द्रप्रसाद वर्नवालके माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ. को इन्साफ सदर हुँदा पु.वा. राजेन्द्रप्रसाद वर्नवालले दोस्रो पटक पुनरावेदन गरेबापत शुरूले जरिवाना नगरेको हुँदा म.क्षे.अ.ले अ.बं. २०३ को दफा ७ नं. ले तजबिज रू. १। एक रू.जरिवाना गरेकोमा अ.बं. २०३ को दफा २ ले दसौंदका दरले रू. ।१० पैसा जरिवाना हुन्छ । असूल गर्नु भनी पर्सा जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु.......... १
उक्त रायमा म सहमत छु ।
न्या. हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४१ साल माघ २३ गते रोज ३ शुभम् ।