निर्णय नं. २१८२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. २१८२ ने.का.प. २०४१ अङ्क ११
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४० सालको रिट नं. २१८३
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
निवेदक : जि.रौतहट गौर गा.पं. वडा नं. ७ बस्ने सत्रुघनलाल दास समेत
विरूद्ध
विपक्षी : भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय गौर
जि. रौतहट गौर गा.पं. वा.नं. ७ बस्ने गफुर मियाँ धुनिया
आदेश भएको मिति : २०४१।११।३।५ मा
§ विवादको कित्ता जग्गा आफ्नो बाबु बाजेका पालादेखि मोहीमा नकमाई भोग लखबन्धक रहे भएको अवस्था लखबन्धक साहुबाट कमाउन पाएको देखिँदा भोगबन्धकी दिनुभन्दा अगावैदेखि विवादको कित्ता जग्गा मोहीमा कमाएको भन्ने स्थिति रहेन ।
(प्रकरण नं. ८)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री जयकान्तलाल दास
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार सिंह र विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी
उल्लेखित मुद्दा : x
आदेश
न्या. त्रिलोकप्रताप राणा : प्रस्तुत रिट निवेदनपत्र नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. तथ्य यस प्रकार छ : सम्वत् १९६८ सालमा नापी हुँदा मौजे पुरेनवा गुठीको कि.नं. १५८४ अंकुर सो दक्षिण पश्चिम १–०–० बिगहा रत्नपतिलालको पिता निरसलालको नाउँमा नापी भएको थियो । पिताको स्वर्गवास भएपछि सम्वत् १९९८ सालमा मेरो नाउँमा उल्लिखित जग्गा समेत नामसारी दर्ता भई मैले भोग गरी आएकोमा ०१४।६।३।५ का दिन केदार साहुलाई २४९ मा रजिष्टर गराई भोगबन्धकी लेखी दिएको थियो । सोही जग्गा केदार साहुले ७४६ मा रजिष्टर गराई लक्ष्मीमाया सुवालनीलाई २०१८।१०।२३।२ मा लखबन्धकी लेखी दिनुभएकोमा २०३७।३।२५ का दिन निखनी लिएँ । सर्भे नापी हुँदा उल्लिखित जग्गा रौतहट पुरेनवा गा.पं. वा. नं. ४को कि.नं. ४४० को ०–१६–५ धुर कायम गरेकोमा हामी निवेदकहरूका बीच रजिष्ट्रेशन गराई अंशबण्डा हुँदा कित्ता फोर्ड भई कायम हुन आएको कि.नं. ७६६ मा ०–८–३ धुर रत्न पतिको नाउँमा र कि.नं. ७६७ मा ०–८–२ धुर कमलाकान्त, सत्रुघनलाल र बलभद्रको नाउँमा संयुक्त दर्ता कायम हुन आएको लक्ष्मीमाया सुवालनीको भोग रहेको अवस्थामा भू.सं. ऐन, २०२१ लागू हुँदा भोगबन्धकीबाट मोही जोत्न पाएको व्यहोरा जनाई १ नं. अनुसूची भराई २ नं. प्रकाशित भई ४ नं. जो.अ.नि. समेत पाएको मैले ०३७।३।२५ मा भोगबन्धकीबाट जग्गा निखनी लिएको हुनाले आफ्नो जोत पोतमा रहेको जग्गा लखबन्धकी लिनेले मोही कायम गराई दिएको हुनाले ऐनको दफा २५(३) अन्तर्गत मोही लगत कट्टा गरी पाउँ भनी निवेदन दिएँ । प्रतिरक्षीले जीवनकालदेखि जोती आएको हुनाले मोही लगत कट्टा हुने होइन भनी मुद्दा प्रतिवाद गरेको केदार साहु बुझ्दा हामीहरूले र निज केदार साहुले भोगी आएको भनी कागज गरी दिनुभएको भू.सु.अ.ज्यूले सम्बद्ध गा.पं. मा सरजमीन नगराई लाग दावी नै नभएको व्यक्तिको भर्पाई समेतको आधारमा मोही लगत कट्टा नहुने भनी ०४०।१२।२१ मा निर्णय गर्नुभयो । जहाँसम्म प्रतिरक्षीले पेश गरेको २००८।१०।१० र २०११।७।२० को श्री भगवान साहुको भर्पाइलाई निर्णयार्थ बनाएको छ त्यसको हकमा विचार हुने हो भने उल्लिखित जग्गा १९९८ सलामा नापी हुँदा चारकिल्ला उल्लेख भई कि.नं. १५८४ को कित्ता कायम भएको र बाबु बाजेको शेषपछि १९९८ सालमा रत्नपतिको नाउँमा नामसारी दर्ता भई अंश बण्डाबाट कित्ता फोर्ड भए बाहेक कसैको नाउँमा स्वामित्व गएको छैन २०१४।६।३ र ०१८। १०।२३ मा भोगबन्धकी बाहेक र लखबन्धकी अन्य कुनै पनि व्यक्तिको हकदैया नभएको हुनाले असम्बद्ध व्यक्ति नारायण साहुको नाउँमा दर्ता देखाई निजको छोरा भगवान साहुबाट लिएको भर्पाई मेरा विरूद्धमा प्रमाण लाग्ने अवस्थै छैन । १९६८ सालमा नापी हुँदा चारकिल्ला उल्लेख भई दर्ता कायम भएको र साविक कि.नं. १५८४ रहेको हुनाले दुवै भर्पाइको चारकिल्ला दर्ताको किल्लासँग भिड्न सक्दैन श्री अधिकारी ज्यूबाट नेपाल कानुन तथा नेपालको संविधानको व्यवस्था बिपरीत भएको निर्णयले उल्लिखित कानुनी अधिकारहरू तथा संविधानको धारा १५ द्वारा प्रत्याभूत मौलक हकमा आघातित हुनगएको र आघातित हकहरूको प्रचलन गराइपाउँ भनी मुख्य निवेदन जिकिर ।
३. विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने ०४१।१।२४।१ को सिंगलबेञ्चको आदेश ।
४. साविक जग्गाधनी त्रिवेणीप्रसाद र नारायणप्रसादका पालादेखि नै गफूर मियाँको परिवारले जोती आएको भन्ने गा.पं.को सिफारिश र मुचुल्का सरजमीन समेतबाट देखिन्छ र वादी प्रतिवादीहरूको घर गौर गा.पं. मा नै परेको हुँदा गा.पं. को सिफारिश मुचुल्का सरजमीन समेत प्रमाण नलाग्ने होइन गफुर मियाँले कूत धरौट राखेकोमा ०३१।६।१८ का दिन जग्गाधनीबाट कूत धरौट फिर्ता लिएकोबाट जग्गा गफुर मियाँले कमाई आएको भन्ने कुरा प्रष्ट हुन्छ । सर्भे नापी नक्सा भन्दा पहिले जग्गा कस्को स्वामित्वमा थियो सो कुरा जग्गाधनीले प्रमाणबाट देखाउन सकेको छैनन् नक्सा हुनुभन्दा धेरै वर्ष अघि सो जग्गा त्रिवेणीप्रसाद र नारायणप्रसादको थियो भने निजको छोराले दिएको भर्पाइको मान्यता छैन भन्न सकिँदैन । २००८।२०११ सालको भर्पाईबाट बन्धकी लिनुभन्दा अगावैदेखि जग्गा जोती कमाई आएको देखिन्छ भोगबन्धकी ०३७।३।२५ मा बुझेपछि पनि विपक्षी मोहीले जग्गा जोती कमाई आएको देखिनाले २०४०।१२।२१ को निर्णय ऐन कानुन अनुसार भएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने भू.सु.अ.भूमिसुधार कार्यालय रौतहट गौरको लिखितजवाफ ।
५. रौ.जि.पुरेनवा गा.पं. वार्ड नं. ४ को कि.नं. ७६६ को ०–८–३ बिगहा जग्गा रत्नपतिलालका नाउँमा र ऐ.ऐ. को कि.नं. ७६७ को ०–८–२ जग्गा कमलकान्तलाल सत्रुघनलाल बलभद्रलालको नाउँमा दर्ता भएको जग्गाले प्रत्यर्थीका बाबु बाजेका पालादेखि अटूट रूपमा जोतकोड गरी कमाउँदै आएको छु । रत्नपतिको नाउँ निरसलालले १९८३।४।२७।४ मा भगवान साहुका कान्छा बाजे रामधारी साहुका नाउँमा दा.खा. भई गएको रहेछ । अंशबण्डा हुँदा उल्लिखित जग्गा नारायण साहुको नाउँमा दा.खा. भई निज नारायण साहु मरेपछि छोरा भगवान साहुले २०१४।६।३।५ मा रत्नपतिले रू. ९३५। बुझाई छोडपत्र गराई लिनुभएको रहेछ । सो जग्गा बाबु बाजेले हुण्डामा जोती आएको थियो भोगबन्धकीवाला साहु वा बन्धकीवाला साहुले मलाई जोत्न दिएको छैन । जुन कुरा साविक दर्तावाला नारायण साहुको छोरा भगवान साहुले बाली बुझी गरी दिएको २००८, २०११ सालको भर्पाईले पुष्टी गर्छ उक्त रसिदलाई जालसाजी भनी रिट निवेदनमा भने पनि सो कुराको जिकिर लिई सक्षम निकाय अदालतबाट बदर गराउन सकको छैन १९९८ सालमा जग्गा सोझै आएको नभई निरसलालको नामबाट रामधारीको नाममा अंशबापत नारायण साहुको नाममा निज मरी छोरा भगवान साहुबाट रत्नपतिको नाउँमा छोडपत्र भई तत्पश्चात मात्र भोगबन्धकीमा दिएको हो जुनकुरा ०१४।६।३।४ को पारित छोडपत्रको लिखतबाट स्पष्ट देखिन्छ । गा.पं.का सीमा हेरफेर हुँदा गा.पं. का चुनाव हुनु अघि विवादित जग्गा साविक पुरैदवा गा.पं. बाट गौर गा.पं.को वा.नं. ५ मा परेको थियो । स्थानीय पञ्चायतको सिफारिश एवं सरजमीनलाई बुझी भएको निर्णयमा कुनै त्रुटि विद्यमान छैन तसर्थ विपक्षीको रिट निवेदन खारेज गरिपाउँ भन्ने गफुर मियाँ धुनियाको लिखितजवाफ ।
६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक तर्फबाट उपस्थित हुनुभएको विद्वान अधिवक्ता श्री जयकान्तलाल दासले भगवानदासले दिएको भर्पाई जालसाज छ बुझियोस् भनेकोमा बुझिएन २००८ र ०११ सालको भर्पाई जालसाज हो करदार साहुले आफैंले जोती आएको भनेको लक्ष्मीमायाबाट बटैयामा लिएको भनेबाट १ नं. लगतमा किसानको व्यहोरामा हुँदा अघिबाट जोतेको भन्न मिल्दैन भन्ने र विपक्षी कार्यालयको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री बलिरामकुमार सिंहले विपक्षीले निखने पछि उसैले जोती आएको छ भन्ने र विपक्षी गफुर मियाँको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले ०१४ सालको लिखत यस रिट निवेदन साथ पेश छैन भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
७. प्रस्तुत विषयमा रिट निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो वा होइन सो तर्फ नै मुख्य निर्णय गर्नुपर्ने हुन आएको छ ।
८. यसमा जि.रौतहट प्र.दक्षिण पुरेनवाको साविक कि.नं. १५८४ को जग्गा बिगहा १–०–० मिति २०१४।६।३ मा केदार साहु हलुवाइलाई भोगबन्धकी दिएकोमा सो जग्गा लक्ष्मीमाया सुवालनीले २०१८।१०।२३ मा लखबन्धकी लिएकोमा भोगबन्धकी बारे जि.भू.सु.गौरबाट २०२२।५।७ मा हिसाब हुँदा भा.रू. ८७६। बाँकी ठहरेको मध्ये वार्ड समितिमा जम्मा हुने भा.रू. २०० र साहुले पाउने भा.रू. ६७६। असामीले तिर्न पर्ने रुपैयाँ तिरेपछि जग्गा खान पाउने निर्णय भएको र सर्भे नापीमा उक्त जग्गा कि.नं. ४४० क्षेत्रफल ०–१६–५ कायम भएको हामी निवेदकको आपसमा अंशबण्डा हुँदा कि.नं. ४४० कित्ताफोड भई कि.नं. ७६६ ज.बि. ०–८–३ निवेदक रत्नपतिलालको नाउँमा र कि.नं. ७६७ ज.बि. ०–८–२ निवेदक कमलदासको नाउँमा नियुक्त दर्ता हुन आएको जग्गा उक्त लखबन्धकी रुपैयाँ लखबन्धकीवाला साहु स्वर्गे भई निजको छोरा बुद्धिसिंहलाई बुझाई लिखत फट्टा फिर्ता गरेको र लखबन्धकी साहुले आफूले सो जग्गा नकमाई गफुर मियाँलाई मोहीमा कमाउन दिँदा निजले मोही लेखी दिएकोमा बन्धकीको अवस्थामा मोही कायम नहुने हुँदा मोहीको लगत कट्टा गरिपाउँ भनी रत्नपति र कमलाकान्तले जि.भू.सु.का. रौतहटमा निवेदन दिएकोमा गफुर मियाँले उक्त जग्गा लखबन्धकी साहुले मलाई कमाउन नदिई विवादको कित्ता जग्गाहरू बाबु बाजेको पालाबाट कमाएको र मोहीको १ नं. लगत समेत भएकोले मोहीको जग्गा कट्टा हुनुपर्ने होइन भनी प्रतिवाद गरेकोमा २००८।२०११ सालका भर्पाईबाट र गा.पं.को सिफारिश र सरजमीन मुचुल्का बन्धकी लिनुभन्दा अगावैदेखि जग्गा जोती कमाई आएको देखिँदा मोही लगत कट्टा गरिपाउँ भन्ने दावी खारेज हुन्छ भनी २०४०।१२।२१ मा निर्णय भएको पाइन्छ । २००८।२०११ सालको भर्पाई विपक्षी गफुर मियाँले मसँग छ भनी आफ्नो प्रतिउत्तरमा भन्न र सो भर्पाई पेश समेत गर्न सकेको देखिन्न यिनै विपक्षी गफुर मियाँले मोहीको १ नं. लगत भर्दा किसानको व्यहोरामा यो जग्गा केदार साहु हलुवाईलाई भोगबन्धकी लिई लक्ष्मीमायालाई लखबन्धकी दिएको र लक्ष्मीमायाबाट बटैयामा लिएको भनी किसानको व्यहोरामा लेखेको देखिँदा विपक्षी गफुर मियाँले विवादको कित्ता जग्गा आफ्नो बाबु बाजेका पालादेखि मोहीमा नकमाई भोग लखबन्धक रहे भएको अवस्था लखबन्धक साहुबाट कमाउन पाएको देखिँदा भोगबन्धकी दिनुभन्दा अगावैदेखि विवादको कित्ता जग्गा मोहीमा कमाएको भन्ने स्थिति रहेन ।
९. लखबन्धकी साहुले जग्गा कमाउन दिएको नाताबाट लखबन्धकी निखनी लिएपछि विवादको कित्ता जग्गामा मोहियानी हक कायम हुन नसक्ने हुँदा मोही लगत कट्टा गरिपाउँ भन्ने दावी खारेज गरेको भूमिसुधार कार्यालय रौतहटको मिति २०४०।१२।२१ को निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब पुनः कानुन बमोजिम निर्णय गर्नु भनी उक्त कार्यालयका नाउँमा परमादेशसमेत जारी हुनेठहर्छ । जानकारीको निमित्त यो आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन म.न्या. का.मा पठाई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४१ साल फल्गुण ३ गते रोज ५ शुभम् ।