निर्णय नं. ४६७९ - अंश
निर्णय नं.– ४६७९ ने.का.प. २०५० (क) अङ्क १
पूर्ण इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
सम्वत् २०४६ सालको दे.पु.इ.नं.– ७५
फैसला मिति :– २०४९–९–९
बिन्तिपत्रवाला/प्रतिवादी : जि. वारा गन्ज भवानीपुर गा.वि.स. वार्ड नं. ८ बस्ने मिश्रीलाल शाह कानू ।
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ. बस्ने मटुक शाह कानू ।
मुद्दा :– अंश ।
(१) लिखतबाट चल र अचल वण्डा भएको भन्ने देखिए पनि अचल वण्डा हुन लिखत पास हुन पर्ने, सो नभएमा दाखेल खारेज नामसारी भोग तिरो हुनुपर्ने, सो लिखतमा बांकी अचल सम्पत्ति के कुन हो, ती सम्पति शेखपोख मिलाई वण्डा भएको भन्ने कुरा खुलाउन नसकेकाले उक्त लिखतका आधारमा अचल सम्पत्ति वण्डा भएको भन्न अंशवण्डाको ३० नं. को पूर्व शर्त पालित भएको नदेखिने ।
(प्र.नं. १३)
(२) लिखत पास नगरेको भन्नेसम्म फिरादमा उल्लेख गरेको देखिंदा चल सम्पति वण्डा गर्नको लागि पास गर्न नपर्ने हुंदा लिखत भएको मुख मिलेको अवस्था समेत हुंदा वण्डा भएको मात्र मिल्ने नै देखिन आउने ।
(प्र.नं. १४)
(३) वण्डा भन्नाले चल वा अचल दुवै वा कुनै एक प्रकारको सम्पत्ति अंशियार बीच वांडिएकोलाई जनाउने ।
(प्र.नं.१५)
(४) जुनसुकै प्रकारको वण्डा भएपछि मानो पनि स्वतः त्यसै वखत देखि छुटिने हुन आउंछ । किनकि वण्डा कार्यभित्र मानो छुट्टिने कार्य पनि स्वतः अन्तरभूत हुन आउंदछ । मानो मात्र छुट्टिएर सम्पत्ति बण्डा नगरिरहन सक्दछ तर वण्डा गरी मानो नछुट्टिइ रहन नसक्ने ।
(प्र.नं.१५)
(५) चल सम्पत्ति वण्डा भएको वा मानो छुट्टिएको मिति यो हो भन्ने र सो कुरा प्रमाणित गर्न आधार नभएकाले लिखत भएका मितिलाई नै मानो छुट्टिएको मान्नु पर्ने युक्तिसंगत हुन आउंदछ ।
(प्र.नं.१५)
(६) लिखतमा हामीहरूको एकासगोलमा बस्न चित्त नमिली कलह झगडा भइरहने गरेको भन्ने उल्लेख हुँदा सो लिखत मानो छुट्टिई अलग बस्ने तात्पर्यले भएको भन्ने देखिन आउने ।
(प्र.नं.१५)
(७) सगोलमा चित्त मिलेका, कलह झगडा नभएका अवस्थामा बस्ने अवस्था पर्दछ । त्यस्तो अवस्था परेमा पछि वण्डा गर्ने गरी चूलो मानो अलग गरी बस्न सकियोस भनी मानो छुट्टिने सम्बन्धी कानूनी व्यवस्था भएको देखिने ।
(प्र.नं.१५)
(६) मानो छुट्टिएको प्रमाण नभएको अवस्थामा मात्र फिराद परेको अघिल्ला दिन मानो छुट्टिएको मिति कायम गर्ने गरी आएको देखिंदा चलवण्डा भएको लिखत भएको कुरा स्वीकार गरेको, चल सम्पति वण्डा गर्दा लिखत पास गर्ने वाध्यात्मक व्यवस्था नभएको, चलवण्डा भएमा पनि सो हदसम्म वण्डा मान्न पर्ने हुंदा २०२९।१।१७ गते मानो छुट्टिएको मिति कायम हुने ठहर्छ । फिराद परेको अघिल्लो दिन मानो छुट्टिएको ठहर गरेको नमिल्ने ।
(प्र.नं.१५)
(७) मानो छुट्टिएपछि आर्जन गरेको सम्पत्ति बाहेक सो मिति अघिका अचल सम्पत्ति वण्डा हुने ।
(प्र.नं.१५)
विन्तिपत्रवाला तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस
फैसला
न्या. लक्ष्मण प्रसाद अर्याल
१. मिति २०४३।११।३ को सर्वोच्च अदालत संयुक्त इजलासको फैसला पूर्ण इजलासबाट दोहोर्याई हेरी दिनु भनी श्री ५ महाराजधिराजबाट हुकूम बक्सेको छ भनी मौसूफ सरकारको तत्कालीन विशेष जाहेरी विभागबाट लेखी आए बमोजिम पूर्ण इजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।
२. बलदेवका २ छोरा जेठो म फिरादी मटुक शाह र कान्छो विपक्षी मिश्रीलाल शाह कानू भएको बाबु बलदेव र आमा जसोदीया अघि पछि गरी स्वर्गवास हुनु भएको धेरै वर्ष व्यतित भै सक्यो । बाबु आमाको स्वर्गवास पछि पनि विपक्षी र म फिरादी एकसाथ सगोलमा रही बसी सगोलमै सबै सम्पत्ति जोड्दै दाजु भाईले भोग चलन गर्दै आएकोमा दुवै भाइका सल्लाहले २०२९ सालमा घरसारमा वण्डापत्रको कागज लेखिएकोमा फेरी दुबैको सल्लाहले बण्डापत्र पास नगर्ने भनी पास भएन र सगोलमा नै बसी श्री सम्पत्ति भोग गर्दै श्री सम्पत्ति बढाई आएकोमा यता एक वर्ष देखि विपक्षीले परिवारमा समानता नदेखाई आफ्नो परिवारमा बढी खर्च गर्न थालेकोले मनमुटाव भै केही महीना देखि बराबर अंश माग्दा नदिएकोले नालिस परेका अघिल्ला दिन सम्मको सम्पूर्ण चल अचल श्री सम्पत्तिको ऐन बमोजिम तायदाती फाँटवारी विपक्षीबाट लिई २ खण्डको १ खण्ड मेरो अंश भाग विपक्षीबाट छुट्याई मेरो नाउँमा दर्ता समेत गरी पाउँ भन्ने समेत व्यहोराको मटुक शाह कानूको मिति २०४०।१।५ को फिराद पत्र ।
३. बाबु आमाको स्वर्गवास भएपछि घरको मुख्य व्यक्ति विपक्षी दाजु नै हुनुहुन्थ्यो ।
४. विपक्षी दाजुले नै मिति २०२९।१।१७ मा घरसारमा वण्डापत्र खडा गरी अंश वापतमा निजले आफ्ना नाउँ दर्ताको जि. बारा गंज भवानीपुर गा.पं. वडा नं. ९ को कि.नं. ६४ को जग्गामा बनी राखेके खपडाको छाना भएको घर जग्गा ०–०–१४ मध्ये पूर्व तर्फबाट ज.वि. ०–०–७ तथा ऐ.ऐ. वडा नं. ९ को कि. नं. २० को ०–११–० मध्ये पूर्व तर्फबाट ०–५–१० तथा ऐ.ऐ वडा नं. ९ को कि.नं.६८ को ०–३–१० मध्ये पूर्व तर्फबाट ०–१–१५ समेत जम्मा ज.वि. ०–७–१२ मिति २०२९ सालकै बाली देखि मलाई दी भिन्न गरी दिनु भएकोमा मैले पाएको उक्त जग्गा दाजुकै नाउँमा राखी भोग चलन गरी आइरहेको छु । हाम्रो बीच भएको मिति २०२९।१।१७ को वण्डापत्र लिखत अंशवण्डाको ३० नं. ले सदर हुने प्रष्ट छ । मानो जोडिएको लिखतको अभावमा हामी सगोलमा रहेबसेको भनी मान्न सकिने अवस्था छैन । विपक्षी दाजुले राम वृक्ष शाहकानूसँग मिति २०३४।१।१९ मा रु. २०००।– ऋण लिंदा गरेको लिखतमा निज ऋणीको भिन्न बसेको भाइ भनी म समेत साक्षी बसेको छु । त्यसबाट पनि म सगोलको भन्ने विपक्षको कथन झूठ्ठा देखिन्छ । हामी मिति २०२९।१।१७ मा नै भिन्न भैसकेको हुँदा विपक्षीको दाबी अंशवण्डाको ३० नं. समेतको विपरित हुँदा झूठ्ठा दावीबाट फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको मिश्रिलाल कानूको प्रतिउत्तर पत्र ।
५. आफ्नो जिम्मा नाउँको सम्पत्ति प्रतिबादीलाई दिएपछि वण्डापत्रको सम्पत्ति भोगचलन वादीले गर्न नपाउने कुनै अवस्था नभएको र दुवै पक्षले राजीखुसी बाट बण्डापत्र गरेपछि पुनः सगोलमै बसेको भन्ने वादीको जिकिर तर्फ समर्थनमा कुनै ठोस सबुद प्रमाण वादी पक्षबाट गुजार्न सकेको पाइदैन । यस्तो स्थितिमा अंशवण्डा गरी पाउँ भन्ने वादीको दावी पुग्न सक्ने कुनै अवस्था नदेखिंदा अंशवण्डा पाउँ भन्ने वादीको दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु बारा जिल्ला अदालत बाट मिति २०४०।८।२८ मा भएको फैसला ।
६. बारा जि.अ. को फैसलामा चित्त बुझेन फिराद दाबी अनुसार आधा अंश दिलाई पाउनु पर्ने समेत हुँदा शुरुको फैसला उल्टाई पाउँ भन्ने समेत व्यहोराको वादी मटुक शाह कानूको मध्यमाञ्चल श्रेत्रीय अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
७. निजी आर्जनको सबुद पेश गर्न मौका दिंदा पनि प्रतिवादी पक्षबाट निजी आर्जनको ठोस सबुद प्रमाण पेश गर्न सकेको देखिएन । सगोलको अंशियार मध्ये जुनसुकै अंशियारको नाउँमा दर्ता श्रेस्ता रहेको अचल सम्पत्ति भए पनि सगोलको मान्नु पर्ने कानूनी व्यवस्था रहेकोले वादी दावी बमोजिम नरम गरम मिलाई २ खण्डको १ खण्ड अंश वादीले पाउने र सो सम्पत्ति दर्ता समेत हुने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।१।७ को फैसला ।
८. मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा कानुनी त्रुटी विद्यमान भएकोले पुनरावेदनको अनुमति पाउँ भनी यस अदालतमा पर्न आएको पुनरावेदक प्रतिवादी मिश्रीलाल साहूको मिति २०४३। २।६ को निवेदन ।
९. २ खण्डको १ खण्ड अंश वादीले र सो सम्पत्ति दर्ता समेत हुने ठहराएको म.क्षे.अ.को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको त्रुटी भएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजन बेन्चका मिति २०४३। ३।१८ को आदेश ।
१०. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट सुरुको इन्साफ उल्टी गरी २ खण्डको १ खण्ड अंश पाउने ठहर्याएको फैसला मिलेकै हुँदा मनासिव ठहर्छ भन्ने समेतको यस अदालत संयुक्त इजलासको मिति २०४३।११।३ को फैसला ।
११. उक्त फैसला पूर्ण इजलासबाट दोहोर्याई हेरी दिनु भन्ने हुकुम प्रमाङ्गी बक्स पाउँ भनी विन्तिपत्रवालाले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा विन्तिपत्र चढाउँदा यो मुद्दा पुर्ण इजलासबाट दोहोर्याई हेरी दिने हुकुम प्रमाङ्गी बक्स भएको व्यहोरा विशेष जाहेरी विभागबाट लेखी आई तत्कालीन सम्माननीय प्रधान न्यनयधीशज्यू समक्ष पेश हुँदा पूर्ण इजालसको लगतमा दर्ता गर्ने आदेश भएको रहेछ ।
१२. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा विन्तिपत्रवाला प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शंभु थापाले वादीनै घरका मुख्य हुन् निजले मिति २०२९।१।१७ मा घरसारमा अंशवण्डा गरी मलाई भिन्न गरी दिनु भएको हो । अंश वण्डा १ पटक हुन्छ, पटक पटक हुँदैन । बादी प्रतिवादी बीच अंश भइसकेको हुनाले प्रतिवादीबाट अंश पाउन सक्ने होईन । बादी प्रतिवादीको ७ नं. फाँटबारी छुट्टा छुट्टै छ । सर्भे नापीमा आ–आफ्नो नाउँमा दर्ता गराएको व्यवहार प्रमाणबाट छुट्टी भिन्न भईसकेको मान्नु पर्दछ । २०३४।१।१९ गतेको बादीले रामवृक्ष शाहबाट लिएको रु. २०००/– को लिखतमा प्रतिवादी साक्षी बसेको छ । उक्त कागजमा भिन्न बसेको भाई भन्ने उल्लेख भएबाट समेत भिन्न भएको स्पष्ट छ । २०२९ सालको कागजबाट पनि बादी प्रतिवादी बेग्लै बसी खेती उपति आफै गरी खाएको प्रमाणित हुन्छ भन्ने समेत र विपक्षी बादीका तर्फबाट उपस्थित बिद्धान अधिवक्ता श्री शिवानन्द दास सरसले वादी प्रतिवादीका नाउँमा जग्गा भएपनि बादीका नाउँमा १९ कठ्ठामात्र छ तर प्रतिबादीको नाउँमा २२ विगाहाको ७ नं. फारम भरेको छ । २०३४।९।२७ भन्दा अघि जुनसुकै किसिमबाट प्राप्त सम्पत्तिमा वण्डा लाग्छ । चलबण्डा गर्ने पास गर्न पर्दैन । यदी बादीले अंश लिएकोमा विपक्षको भागमा परेको सम्पत्ति निजले बिक्री गर्न सक्ने स्थित पर्दैनथ्यो । यसै गरी २०२९ सालको कागज बमोजिम दर्ता नामसारी दा.खा. केही भएको छैन । तसर्थ बादी दाबी बमोजिम अंश पाउन पर्ने हो भन्ने समतेको बहस प्रस्तुत गर्नु भयो ।
१३. आज निर्णय सुनाउने तारेक तोकी पेश भएको प्रस्तुत मुद्दामा निर्णय तर्फ बिचार गर्दा यसमा निवेदक मिश्रीलाल र बिपक्षी मटुक शाह कानू दुई अंशियार भएकोमा बिबाद देखिंदैन । यसै गरी यी बादी प्रतिवादी बीच २०२९।१।१७ मा घरसारमा बण्डापत्रको कागज खडा गरेकोमा पनि दुवै पक्षको सहमती देखिन्छ । उक्त लिखतमा एका सगोलमा बस्न चित्त नमिलेकोले बराबर कलह भईरकेको नगद जिन्सी कसम तमन् भाँडा कुडा गाई गोरु समेत अघि नै आपसमा मिलि बण्डा गरी लिया दियाको र बाँकी अंशवण्डा रहेको रु १४०० ।– मोल जाने तपसीलमा लेखिएको घर जग्गा २०२९ सालको बाली देखि वण्डा गरी लिए दिएका छौं भन्ने उल्लेख भएको पाइन्छ । उक्त लिखतबाट चल र अचल वण्डा भएको भन्ने देखिए पनि अचल वण्डा हुन लिखत पास हुन पर्ने, सो नभएमा दाखेल खारेज नामसारी भोग तिरो हुन पर्ने, सो लिखतमा बाँकी अचल सम्पत्ति के कुन हो, ती सम्पत्ति रोख पोख मिलाई वण्डा भएको भन्ने कुरा खुलाउन नसकेकोले उक्त लिखतको आधारमा अचल सम्पत्ति वण्डा भएको भन्न अंशवण्डाको ३० नं.को पूर्व शर्त पालित भएको देखिएन । तसर्थ अचल वण्डा नभएको ठहर्याएको संयुक्त इजलासको इन्साफ सो हदसम्म मनासिब नै देखिन्छ ।
१४. उपरोक्त लिखत भएको तथ्य तर्फ बादीले स्वीकार न गरेको देखिन्छ । लिखत पास नगरेको भन्ने सम्म फिरादमा उल्लेख गरेको देखिँदा चल सम्पत्ति बण्डा गर्नका लागि पास गर्न नपर्ने हुँदा लिखत भएको मुख मिलेको अवस्था समेत हुँदा वण्डा भएको मान्न मिल्ने नै देखिन आयो । तसर्थ चल सम्पत्ति वण्डा भएको ठहर्याउन पर्नेमा चल सम्पत्ति पनि वण्डा हुने ठहर्याएको हदसम्म संयुक्त इजलासको इन्साफ मिलेको देखिएन ।
१५. अब मानो छुट्टिएको मिति फिराद परेको अघिल्लो दिन ठहर्याएको मिलेको छ छैन भनी बिचार गर्दा बण्डा भन्नाले चल वा अचल दुवै वा कुनै एक प्रकारको सम्पत्ति अंशियार बीच वाडिएकोलाई जनाउँछ । जुनसुकै प्रकारको वण्डा भएपछि मानो पनि स्वतः त्यसै बखत देखि छुटिने हुन आउँछ । किनकी बण्डा कार्य भित्र मानो छुट्टिने कार्य पनि स्वतः अन्तरभूत हुन आउँदछ । मानो मात्र छट्टिएर सम्पत्ति वण्डा नगरी रहन सक्दछ तर वण्डा गरी मानो नछुट्टिई रहन सक्दैन । तसर्थ चल सम्पति वण्डा भएको वा मानो छुट्टिएको मिति यो हो भन्ने र सो कुरा प्रमाणित गर्न आधार नभएकाले लिखत भएको मिति २०२९।१।१७ लाई नै मानो छुट्टिएको मान्नु पर्ने युक्तिसंगत हुन आउँदछ । उक्त लिखतमा हामीहरूको एकासगोलमा बस्न चित्त नमिलि कलह झगडा भइरहने गरको भन्ने उल्लेख हुँदा सो लिखत मानो छुट्टिई अलग बस्ने तात्पर्यले भएको भन्ने देखिन आउँदछ । सगोलमा चित्त मिलेका, कल झगडा नभएका अवस्थामा बस्ने अवस्था पर्दछ । त्यस्तो अवस्था परेमा पछि वण्डा गर्ने गरी चुलो मानो अलग गरी बस्न सकियोस भनी मानो छुट्टिने सम्बन्धी कानूनी व्यवस्था भएको देखिन्छ । मानो छुट्टिएको प्रमाण नभएको अवस्थामा मात्र फिराद परेको अघिल्लो दिन मानो छुट्टिएको मिति कायम गर्ने गरी आएको देखिदा चलबण्डा भएको लिखत भएको कुरा स्वीकार गरेको, चल सम्पत्ति बण्डा गर्दा लिखत पास गर्ने वाध्यात्मक व्यवस्था नभएको, चलवण्डा भएमा पनि सो हदसम्म वण्डा मान्न पर्ने हुँदा ०२९।१।१७ गते माने छुट्टिएको मिति कायम हुने ठहर्छ । फिराद परेको अघिल्लो दिन मानो छुट्टिएको ठहर गरेको मिलेन । उपरोक्तानुसार मानो छुट्टिएपछि आर्जन गरेको सम्पति बाहेक सो मिति अघिका अचल सम्पत्ति बण्डा हुने ठहर्छ । सो हदसम्म संयुक्त इजलासको इन्साफ मनासिब ठहर्छ अरु तपसीलका कलममा तपसिल बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम मिति २०२९।१।१७ गते मानो छुट्टिएको मिति कायम भएकोले उक्त मिति भन्दा अगाडिका अचल सम्पत्तिमा बादी प्रतिवादी बीच २ भाग लगाई बादीले १ खण्ड खंश पाउने देखिएकोले ऋणको हकमा साहुको उजूर परेको बखत ठहरे बमोजिम हुने हुँदा वादी प्रतिवादीबाट दाखेल भएको देहाय बमोजिमको तायदातीमा देखाएको सम्पत्तिबाट आफ्नो हकभाग छुट्याई पाउँ भनी वादीले दण्ड सजायको ४६ नं. बमोजिम दर्खास्त दिन आए नरम गरम मिलाई अंश भाग छुट्याई दर्ता समेत गर्न पूर्जी गरी दिनु भनी बारा जि.अ. मा लेखि पठाई दिनु का.जि.अ.त. शाखामा गलत दिनु –––––––– १
प्रतिवादी दुवैले पेश गरेको तायदाती बमोजिम बण्डा हुने
जिल्ला गा.वि.स. वा.नं. कि.नं. क्षेत्रफल मोल विंगो
बारा गंजभवानीपुर ८ ६४ ०–०–१४ ७००
” ” ८ ६८ ०–३–१० ७००
” ” ९ २० ०–११–० १६५०
” ” ८ ६४ मा भएको २५ लम्बाई हात चौडाई हात २० को खपडाको घर–१ ३०००
प्रतिवादीका तायदाती बमोजिम बण्डा हुने
जिल्ला गा.वि.स. वा.नं. कि.नं. क्षेत्रफल मोल
बारा समही ६ १०२ ०–१४–१५ ३६८७।५०
” ” ६ १०६ ०–११–१५ २९३७।५०
” ” ६ १०७ ०–१२–२ ३०२५।–
” ” ६ १११ ०–१२–१५ ३१८७।५०
” ” ८ १०८ १–६–१० ६६२५।–
” ” ८ १०९ १–११–१० ७८७५।–
” ” ८ ११६ ०–९–१० २३७५।–
” ” ८ ११७ ०–१३–० ३२५०।–
” सिहोर्वा ७ (ख) ९४ ०–६–१० १६२५।–
” ” ६ क ११ ०–३–१५ ९३७।५०
” ” ८ (क) ५० ०–१४–५ ३५६२।५०
” ” ” ६१ ०–१०–१५ २६८७।५०
” ” ” ६२ ०–१३–८ ३३५०।–
” ” ९ ६५ ०–१८–० ४५००।–
” ” ९ १३१ १–७–१९ ६९८७।५०
” ” ९ १३२ ०–१८–१५ ४६८७।५०
मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या. गजेन्द्रकेशरी वास्तोला
न्या. केशव प्रसाद उपाध्याय
इति सम्बत् २०४९ साल पौष ९ गते रोज शुभम्