निर्णय नं. २८५६ - दर्ता गरी पाउँ

निर्णय नं. २८५६ ने.का.प. २०४३ अङ्क ९
संयुक्तइजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४२ सालको दे.पु.नं. ५८०
फैसला भएको मिति : २०४३।९।३०।४ मा
पुनरावेदक/प्रतिवादी : आशाको छोरा का.जि.का.न.पं.वार्ड नं. ३० असन टोल बस्ने वर्ष ७७ को कान्छारत्न तुलाधरसमेत
विरुद्ध
विपक्षी/वादी : का.जि.का.न.पं.वार्ड नं. ३० असन भोटाहीटी दगु बहाल बस्ने मायादेवी तुलाधर
मुद्दा : दर्ता गरी पाउँ
(१) सनातनदेखि चली आएको आँगन देवताको गुठीको जेथामा गुठीयारको हक गुठीको सनातनदेखि चली आएबमोजिमको धर्म पूजाआजा चलाई राखी सामूहिक रुपले स्थिति बन्देज अनुसार भोगचलन गर्न पाउने सम्म मात्र हो एकलौटी कसैको हक हुने कुरा हुँदैन, मास्न नास्न कसैलाई हक छैन ।
(प्रकरण नं. १९)
(२) मुलुकी ऐन गुठीको महलको ३ नं. अनुसार आफ्नो हक छाडी गुठी राखेकोमा सो गुठी राख्ने वा उनका सन्तान वा हकदारले गुठीको दानपत्र सिलापत्र समेतका लिखत बमोजिम काम चलाई शेष जगेडासम्म मात्र खान पाउने लेखिए बाहेक बेच विखन दानदातव्य वा कुनै किसिमले हक हस्तान्तरण गर्न पाउँदैन भनी प्रष्ट उल्लेख गरेको हुँदाहुँदै प्रस्तुत विवादीत घर पसलमा वादीको एकलौटी हक भएको भन्ने क्षेत्रीय अदालतले उठाएको तर्क २००८।४।१६।३ को दानपत्र बकसपत्र तथा गुठीको ३ नं. समेतले त्रुटियुक्त देखिँदा मिलेको देखिएन ।
(प्रकरण नं. १९)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोतिकाजी स्थापित विद्वान अधिवक्ता श्री केदार चरण राय
विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोला : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार रहेछ ।
२. स्वर्गीय आयुदेवी तुलाधरले वहाँको जो भएको घर चल अचल श्रीसम्पत्ति अष्टलीहथ गैह् म समेतले खान बेहोर्न पाउने गरी २००८।४।१५।२ मा शेषपछिको बकसपत्र तथा २००८।४।१७।४ मा रजिष्ट्रेशन पास गरिदिनु भएको दानपत्र समेत बमोजिमको मेरो हक भई मैले दिव्यरत्न तुलाधरलाई बहालमा दिई भोगचलन गरी आएको बहाल भराई पसल चलन चलाई पाउँ भन्ने मुद्दा पर्दा बा.अं.अ.बाट मैले जिती पाएको का.जि.असन टोल धारा गाडेदेखि मुनिको पूर्व गल्ली बाटो पश्चिम सडक र आशालाला बसेको पसल उत्तर मूल सडक दक्षिण बाबुकाजिको घर यति ४ किल्ला भित्रको कूल देवता रहेको आँगन घर मध्ये छिंडी तलाको उत्तर पश्चिम मोहडा भएको १ नाले पसल ३ र सो पसलले चर्चेको लगापात समेत मेरो एकलौटी एक भोगचलनको हो । सो पसल माथिको घर म समेतले देवताको पूजा गर्ने आँगन घर हो सो घर जग्गा मेरो नाममा नापजाँच दर्ता गराई माग्न मैले र विपक्षीहरूले निवेदन दिई कारवाही चलेकोमा कि.नं.११९७ को पसल आँगन देवताको घर देखिएकोले जग्गाधनीमा आँगन देवी गुठी जनाई कैफियत महलमा सो कि.नं.कवल पसल मायादेवीले चलन भोग गरेको र त्यसबाहेक अरु जम्मै घर जग्गा कान्छा रत्न र रत्नविर सिंह, केशवरत्न तुलाधरहरूको भोग छ भनी जनाई दिने ३ नं. नापी गोश्वाराबाट निर्णय गरेकोले अन्याय परेको छ । स्वः आयूदेवीले मलाई र दिदी प्रेमदेवीलाई बकसपत्र र दानपत्र गरी दिनु भएको आयुदेवीको स्याहार सम्हार र काज कृया पिण्ड समेत मैले दिएको साथै दिदी प्रेमकुमारी पनि परलोक भई मैले नै पिण्ड पानी समेत दिई निजको हक खाने कोही नहुँदा अपुतालीबाट दिदीको हक मेरै हुनआएको पसल मेरो मात्र एकलौटी हकको र घर पसलमा भोग सञ्चालन मेरो भन्ने र घरमा कान्छारत्न समेतको मात्र भनी गरेको निर्णयमा चित्त नबुझेबाट पसलमा मेरो एकलौटी दर्ता र घरमा म समेतको साझा नाउँमा दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको ०३७।१।२ को फिरादपत्र ।
३. फिरादीको फिरादपत्रबाटै विवादीत घर गुठीको भन्ने देखिएको पुर्खेउली बंशजका आँगन गुठी भन्ने कुरामा विपक्षीले मानेकै छन् । आफ्नो वंशको मात्र कूल देवताको आराधना पर्व पूजाआजा गर्ने चलाउने समेत गरी स्थापना भएको कूलको आँगन देवतामा अरु वंशज कूलका जातिले पूजाआजा गर्न पाउने अधिकार हुँदैन निज हाम्रो कूल वंशजको हो भन्ने निजले भन्न सकेकी छैनन् । दानपत्र भनेको कस्तो हो सो हामीले देखे थाहा पाएको पनि छैन त्यसबाट समेत त्यस्तो आँगन गुठी पसल निज विपक्षीको एकलौटी हक पुग्ने होइन । अतः झुठ्ठा दावीबाट अलग गरी पाउँ भन्ने समेत व्यहोराको कान्छा रत्न १ रत्नविर सिंह १ केशवरत्न १ समेतको संयुक्त प्रतिउत्तरपत्र ।
४. विवादीत कि.नं.११९७ को गुठीको पालो बुबा त्रिरत्नले चलाएको वहाँ पछि ४ पालो मध्ये २½ पालो मैले चलाई आइरहेको हाल सर्भे नापी हुँदा मेरो नाउँ छुटाई विपक्षी प्रतिवादी बनाएका कान्छारत्न समेतले आफ्नो नाउँमा लेखाएकोमा उल्लिखित घर पसल जग्गा गुठी जनाइएकै हुँदा ४ पालोको २½ पालोको गुठीयार म भएको मेरो नाउँमा समेत दर्तामा समावेश गरी पाउँ भनी २०३६ साल चैत्रमा यसै अदालतमा फिराद गरेको छु । विपक्षीको यो फिराद ०३७।१।२ मा परेको एउटै उल्लिखित गुठीयार जग्गाको दर्ता सम्बन्धी भएकोले पछि परेको यो फिराद अ.बं.८९ नं. समेतले दायर हुन नसकी वातिल हुने, साथै पसल घर विपक्षीको एकलौटी दर्ता हुन नसक्ने हुँदा झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको स्वयंभू रत्नको प्रतिउत्तरपत्र ।
५. मिति २००८।४।१७।४ को दानपत्रको कागज पढी वाची सुनाउँदा सुनिपायें सो कागजकै व्यहोराबाट आँगन देवताको पूजाआजा गरी चलाउनु पर्ने भन्ने उल्लेख भएबाट आयूदेवीको मात्र एकलौटी हक नहुने साथै सोही लिखतमा म समेतले चलाउनु पर्ने भन्ने उल्लेख भएकोले अरु व्यक्तिहरूले पनि चलाउनु पर्ने आयूदेवी आफैंले गुठीमा राखेको आफूखुस गर्न पाउने होइन साथै गुठीको ३(१)(२) बमोजिम बेच्न नहुने आँगन देवतामा अन्य वंशजले आई पूजा गर्न नपाउने, बेगल कूलका यो वादीलाई आफ्नो एकलौटी हक नै नभएको घर पसलमा कूल बंशजमा आघात पार्न नभएको झुठ्ठा कुरा भए गरेको भनी लिनु दिनु लिखत खडा गरेको कीर्ते कागजको ३ नं.बमोजिम जालसाज गरेको देखिएकोले सो दानपत्रको लिखत जालसाजी हो भन्ने समेत व्यहोराको प्र.कान्छारत्न रत्नवीर सिंह केशव रत्नको वा.पुरुषोत्तमप्रसाद श्रेष्ठको बयान ।
६. २००८।४।१७।४ को दानपत्रको कागज सद्दे हो, दिने लिने दुवैको मञ्जूरीले भएको र रजिष्ट्रेशन पास समेत भएको हुँदा जालसाजी होइन जालसाजी भनी झुठ्ठा बयान गरे बापत सजायँ गरी पाउँ भन्ने समेत व्यहोरा वादीको वा.बालकृष्ण महर्जनको बयान ।
७. वादी मायादेवी र प्र.दिव्यरत्न तुलाधर भएको पसलबाट उठाई चलन चलाई पाउँ भन्ने मुद्दामा म.क्षे.अ.बाट ०३७।२।२१।३ मा भएको फैसलामा यही विवादको घर पसलको बहाल सम्बन्धमा प्रतिवादी पसलबाट उठी दिनु पर्ने र चलन समेत पाउने भनी बा.अं.अ.बाट भएको फैसलामा परिवर्तन गरिरहन नपर्ने भनी ठहर फैसला भई अदालतले प्रष्ट हकभोग मायादेवीको हो भनी निर्णय गरिसकेकोबाट विवादको पसल वादीको एकलौटी हकभोग भित्रको हुँदा नापीले भोगको आधारमा भनी गरेको निर्णय नमिलेको हुँदा सो निर्णय बदर हुन्छ । अरुको हकमा नापीको निर्णय कायम रहने ठहर्छ भन्ने समेत व्यहोराको शुरु का.जि.अ.को मिति ०३८।७।२० को फैसला ।
८. शुरु जि.अ.को फैसलामा अ.बं.१९२ समेतले त्रुटिपूर्ण हुँदा बदर गरी मेरो प्रतिउत्तर जिकिर बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको स्वयंभू रत्न तुलाधरको बा.अं.अ.मा परेको पुनरावेदन ।
९. शुरु जि.अ.को फैसलामा अ.बं.१८४, १८५ को त्रुटि भएको हुँदा बदर गरी मेरो प्रतिउत्तर जिकिर बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको प्र.कान्छारत्न समेतको बा.अं.अ.मा परेको पुनरावेदनपत्र ।
१०. जालसाजीतर्फ निर्णय नगरी शुरु जि.अ.ले फैसला गरेको देखियो अतः सबै विवाद ग्रस्त प्रश्नहरूमा निर्णय नभएकोले सो फैसला बदर हुन्छ पुनः कानुन बमोजिम फैसला गर्नु भनी मिसिल शुरु जि.अ.मा पठाई दिने भन्ने समेत व्यहोराको बा.अं.अ.को मिति ०३९।३।२३ को फैसला ।
११. २००८ सालको दानपत्र लिखत नापीमा नै पेश भएकोमा प्रतिवादीहरूले थाहा जानकारी पाएपछि मौकैमा उजूर गरी दावी लिन नसकेको दाता आयुदेवीको पसलको हकमा कुनै हक नभएको भन्ने नदेखिँदा लिखित जालसाजी भन्ने प्रतिवादी जिकिर मनासिब देखिएन ।
१२. गुठीयार मध्येकै व्यक्ति वादी भन्ने नदेखिँदा लिखतबाट पाएको वादीले लिखत बमोजिम पूजाको काम चलाई खान व्यहोर्न पाउने कुराले भोगाधिकार सम्म पसलको हकमा वादीको देखिने र दानपत्रबाट आँगन घरमा वादीको दावी पुग्न सक्ने अवस्था नदेखिँदा वादी दावी पुग्न नसकी झुठ्ठा ठहर्छ भन्ने समेत व्यहोराको शुरु का.जि.अ.को मिति ०४१।३।२६ को फैसला ।
१३. शुरु का.जि.अ.को फैसलामा प्रमाण ऐनको दफा ५४ को त्रुटि भएको हुँदा सो फैसलामा चित्त बुझेन वादी दावी बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको वादी मायादेवी तुलाधरको म.क्षे.अ.मा पुनरावेदन परेको रहेछ ।
१४. जालसाजी नठहर्याई गरेको शुरु का.जि.अ.को फैसला नमिलेको हुँदा चित्त बुझेन भन्ने समेत व्यहोराको प्र.स्वयंभुरत्नको म.क्षे.अ.मा पुनरावेदन परेको रहेछ ।
१५. पुनरावेदक वादीले २००८ सालमा आयुदेवी तुलाधरबाट पाएको दानपत्र र बकसपत्रबाट हक हुन आई भोगचलन गरी दिव्यरत्नबाट बहाल बुझिलिएको भर्पाई समेत भएको र निजसंग बहाल भराई पसलबाट उठाई पाउँ भन्ने मुद्दामा म.क्षे.अ.लगायतबाट वादीले मुद्दा जिती अन्तिम भई बसी चलन पुर्जी समेत पाएकोमा विपक्षी प्रतिवादीहरूले कानुन बमोजिम उजूर गरी बदर गराएको नदेखिँदाबाट उक्त घर पसलमा वादीको एकलौटी हक भएको देखिएको र गुठीयार आयुदेवीको दानपत्रबाट पाएको हक भएकोले नापीले पसलमा भोगाधिकार मात्र ठहर्याएको निर्णयलाई मनासिब ठहर्याएको शुरुको फैसला मिलेको नदेखिँदा शुरुको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४२।७।२० को फैसला ।
१६. म.क्षे.अ.को फैसलामा गुठीमा आउन नपाउने पूजा चलाउन नपाउने व्यक्तिलाई आयुदेवीले दानपत्र गरिदिएको गुठीको ३ र ४ नं.ले र दानबकसको १ नं.ले हक नपुग्ने दानबकस गर्न नपाउनेलाई दानबकस गरिदिएको हुनाले गुठीको हक मेटाई यस्तो हकै नपुग्ने गुठी दानपत्र गरिदिएको कीर्ते कागजको ३ नं. बमोजिम जालसाजी गरेको हुँदा सो दानपत्र बदर हुनुपर्नेमा जालसाजी नठहर्याएको म.क्षे.अ.को इन्साफ त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरू कान्छारत्न, रत्नवीर र केशवरत्नको यस अदालतमा संयुक्त निवेदन पर्न आएको रहेछ ।
१७. मिति ००८।४।१७।४ मा पारित भएको दानपत्रलाई प्रमाणमा नलिई विवादको आँगन घर र पसल समेत वादीको ठहर्याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा प्रमाण ऐनको दफा ५४ को त्रुटि देखिएको हुँदा पुनरावेदन गर्न अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत डिभिजनबेञ्चको मिति ०४२।९।१७ को आदेश रहेछ ।
१८. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको शुरु मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मोतिकाजी स्थापित र विद्वान अधिवक्ता श्री केदारचरण रायले र विपक्षी वादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले गर्नुभएको बहस समेत सुनियो । यसमा स्व. यादुदेवीले २००८ सालमा गरिदिएको दानपत्र बकसपत्र बमोजिम मेरो एकलौटी हकभोगको पसल हुँदा मेरो एकलौटी दर्ता र घरमा म समेतको साझा नाउँमा दर्ता गरी पाउँ भन्ने वादी दावी र विवादको पसल आँगन गुठीको हुँदा वादीको एकलौटी हकको होइन भन्ने प्रतिवादी भएकोमा उक्त पसलमा वादीको एकलौटी हक कायम हुने र घर साझा हकको ठहर्याएको म.क्षे.अ.को फैसला मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
१९. यसमा तत्कालीन देवानी अदालतको मिति १९६४।११।४ को फैसला र तत्कालीन भारदारीको मिति १९६५।५।१० को फैसलाको फोटोकपी र देवानी अदालत पहिला फाँटको मिति १९८४।६।५ को फैसलाको फोटोकपी मिसिल सामेल रहेको छ । यसै विवादीत घर पसलको सम्बन्धमा १९६४ मा वादी दानरत्न तुलाधर र प्रतिवादी बुद्धिमान तुलाधर समेतका बीच अंश मुद्दा परी तत्काल देवानी अदालतबाट विवादीत पसलको सम्बन्धमा हर्षरत्नहरूबाट गराई लिएको कागजबाट समेत खास गुठीकै देखिएको सो गुठीको पसलै मैले बेच बन्धक राखे एकलौटी गर्नु भन्ने हर्षमानले हर्षरत्नका बाबु चक्रधरलाई १९४४ सालमा कागज लेखिदिएको भन्ने ठहर खण्डमा र आँगन गुठीको पसल मो.रु.२।५० तिरो तिरी एकलौटी गरी खान पाउने भई बेचबिखन गर्न बन्धक राख्न नपाउने भन्ने तपसील खण्डमा उल्लेख भएको र सो देवानी अदालतको निर्णयलाई नै भारदारी अदालतबाट सदर गरेको देखियो । साथै वादी जोगमाया तुलाधरनी र प्रतिवादी धर्मरत्न तुलाधरका बीच चलेको धर्मलोप मुद्दामा देवानी अदालत नेपालका पहिलो फाँटको मिति १९८४।६।५ को फैसलामा सो पसल गुठीको ठहरी बुद्धरत्न र तेजरत्नले धर्मलोप गरेको ठहरी फैसला भएको देखिएको हुनाले सो गुठी विर्ता वा गुठी भन्नेमा इन्साफ गर्नु नपर्ने भन्ने समेत उल्लेख भएबाट विवादको घर पसल आँगन देवीको गुठी हो भन्ने देखिन आयो । अर्कोतर्फ वादीले जुन २००८ सालको दानपत्र बकसपत्रको आधारमा विवादीत घर पसलमा एकलौटी हकको हो भनी दावी लिएका छन् सोही लिखतलाई नै हेर्दा श्री कूल देवता रहेको आँगन घर मध्ये मेरो हकको छिंडी तलाको उत्तर र पश्चिम मोहडा भएको १ नाले पसल कवल ३ र सो पसलले चर्चेको लगापात समेतको बहाल साल एकको रु.६०।– रुपैयाँ आउने सो बहाल आयस्ताबाट सालवसाल मार्ग सुदी दशमीका दिन र ज्येष्ठ सुदी दशमीका दिन श्री रातो मछेन्द्रनाथको घ.माछिपको दिनमा समेत पर्व पर्वमा दिसी पूजा गर्न गराउन गुठीमा अर्पण गरी राखेको दानपत्र सिलापत्र केही नभएको हुनाले सो बमोजिम सो पसलको बहाल पूजा आयस्ताबाट सालबसाल पर्व पर्वमा आँगन देवताको पूजा काम म जीवित छउञ्जेल म समेतले मेरो शेषपछि गुरु पुरोहित बज्राचार्यद्वारा तिमीहरूले सो पर्व पूजाको काम चलाई नातीहरू तिमी २ जनाले खान बेहोर्न पाउने गरी दानपत्र लेखिदियाँ भन्ने ००८।४।१६।३ को दानपत्रमा उल्लेख भएबाट प्रस्तुत विवादको घर पसल आँगन देवताको गुठी घर पसल हो भन्ने कुरामा कुनै शंका देखिएन । साथै लिखतको व्यहोराबाटै आँगन देवताको पूजा आजा गर्नको लागि अन्य आयश्रोत नभएको हुँदा देवताको पूजाआजाको लागि लाग्ने खर्च पसलको बहालबाट चलाउने भन्ने कुरा पनि स्पष्ट देखिन्छ । अतः विवादीत घर पसलको सम्बन्धमा १९६४ देवानी अदालतबाट १९६५ मा भारदारी अदालतबाट १९८४ मा देवानी अदालत नेपाल पहिला फाँट समेतबाट आँगन देवताको गुठी भनी बोलिएको समेतबाट सो सनातन देखि चली आएको गुठी भन्ने प्रष्ट देखिन्छ । यस्तो सनातन देखि चली आएको आँगन देवताको गुठीको जेथामा गुठीयारको हक गुठीको सनातन देखि चली आएबमोजिमको धर्म पूजाआजा चलाई राखि सामुहिक रुपले स्थिति बन्देज अनुसार भोगचलन गर्न पाउने सम्म मात्र हो एकलौटी कसैको हक हुने कुरा हुँदैन, मास्न नास्न कसैलाई हक छैन । मध्यमाञ्चल क्षेत्रीय अदालतले निर्णय गर्दा प्रस्तुत विवादीत पसलको सम्बन्धमा दिव्यरत्नबाट पसलको बहाल भराई पसलबाट उठाई पाउँ भन्ने मुद्दामा बहाल भराई उठाई चलन समेत पाउने गरी म.क्षे.अ.समेतबाट प्रस्तुत मुद्दामा वादीले जिती अन्तिम भई चलन पुर्जी समेत पाएको देखिँदा विवादीत घर पसलमा वादीका एकलौटी हक भएको देखियो भनी तर्क उठाएको देखियो । यसमा सो पसलमा वादीले बहाल भराई पाउने तथा चलन समेत पाउने भनी ठहर्याएबाट पसलमा वादीको एकलौटी हकभोग भएको भन्न मिल्दैन । बहाल भराउने र पसलबाट उठाउने कुरामा मात्र यो निर्णय भएकोे हो त्यसबाट घर पसलमा वादीको अरु गुठियार वा आँगन देवतासंगको हकमा असर परेको र तेरो मेरोको प्रश्न उठेको समेत भन्न मिल्दैन । परम्परादेखि चलिआएबमोजिम गुठी देवताको पूजाआजा चलाई चलन गर्न पाउने भोगाधिकारको सम्म मात्र हक भएको भन्ने कुरा २००८ सालको दानपत्र बकसपत्रमा पसल र पसलले चर्चेको लगापात समेतको बहालबाट गुठीको पर्व पूजाको काम चलाई तिमीहरूले खान बेहोर्न पाउने गरी लिखत गरी दियाँ भनेकोबाट स्पष्ट हुन्छ । साथै मुलुकी ऐन गुठीको महलको ३ नं. अनुसार आफ्नो हक छाडी गुठी राखेकोमा सो गुठी राख्ने वा उनको सन्तान वा हकदारले गुठीको दानपत्र सिलापत्र समेतका लिखत बमोजिम काम चलाई शेष जगेडासम्म मात्र खान पाउने लेखिए बाहेक बेचबिखन दानदातव्य वा कुनै किसिमले हक हस्तान्तरण गर्न पाउँदैन भनी प्रष्ट उल्लेख गरेको हुँदाहुँदै प्रस्तुत विवादीत घर पसलमा वादीको एकलौटी हक भएको भन्ने क्षेत्रीय अदालतले उठाएको तर्क २००८।४।१६।३ को दानपत्र बकसपत्र तथा गुठीको ३ नं. समेतले त्रुटियुक्त देखिँदा मिलेको देखिएन ।
२०. अब प्रस्तुत मुद्दाको उठानतर्फ विचार गर्दा नापीमा विवादीत घर पसलको सम्बन्धमा तेरो मेरोमा विवाद पर्न गई हक बेहकमा अदालतमा उजूर गर्न जानु भनी नापी विभागबाट सुनाए उपर वादीले शुरु जि.अ.मा नालेश उजूर गरेको देखिन्छ । ३ नं. नापी गोश्वारामा मायादेवीले दिएको निवेदनमा उत्तर छिंडी तलाको पसल मेरो हकको हुँदा मेरो स्ववासी दर्ता गरी पाउँ भनी उल्लेख भएबाट पसलको हकमा मात्र दावी लिएको र सो सम्बन्धमा हक बेहकको लागि अदालतमा नालेश उजूर दिनु भनी नापीले सुनाए उपर का.जि.अ.मा फिराद दिएको देखिन्छ । तर प्रस्तुत फिरादमा नापीमा विवाद नै नउठेको घरमा समेत साझा हक कायम गराई पाउँ भनी दावी लिएको देखिन्छ । अतः पसलमा बाहेक घरमा वादीले शुरु दावी नै नलिएको कुरा नापीमा वादीले दिएको निवेदन व्यहोरा र नापीको कारवाही मिसिलबाट प्रष्ट हुन आयो ।
२१. अतः माथि उल्लेख गरे बमोजिम वादीले लिखित बमोजिम पूजाको काम चलाई खान व्यहोर्न पाउने कुराले पसलको हकमा वादीको भोगाधिकार सम्म मात्र देखिन्छ र आँगन घर समेत उपर साझा र पसलमा एकलौटी दर्ता गरी हक कायम गरी पाउँ भन्ने वादी दावी पुग्न सक्ने देखिएन । अतः आँगन घरमा साझा र पसलमा एकलौटी हक कायम हुने ठहर्याएको म.क्षे.अ.को इन्साफ नमिलेको हुँदा उल्टी भई शुरु का.जि.अ.को इन्साफ मनासिब देखिन्छ । तपसीलका कुरामा तपसील बमोजिम गरी मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने हुँदा पु.वे.प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा कोर्टफी रु.५००।६८ दाखेल गरेको देखिँदा विपक्षी वादीबाट भराई पाउँ भनी ऐनका म्यादभित्र दर्खास्त दिन आएमा कानुन बमोजिम भराई दिनु भनी शुरु का.जि.अ.त.मा लगत दिनु.....................................१
माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.को इन्साफ उल्टी हुँदा पु.वे.प्रतिवादीहरूबाट शुरुमा राखेको कोर्टफी रु.३८००।– र म.क्षे.अ.मा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.५८०।५० समेत जम्मा रु.४४५०।५० वादीलाई भराई दिने गरी म.क्षे.अ.ले कायम गरेको लगत कायम राख्नु नपर्ने हुँदा कट्टी गरी दिनु भनी का.जि.अ.त.मा लगत दिनु........................................२
माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.को इन्साफ उल्टी हुँदा मा.न्या.श्री हिरण्येश्वरमान प्रधान र मा.न्या.श्री हरीप्रसाद शर्माको उल्टीमा लगत राख्न स.अ.प्रशासन शाखामा लगत दिनु....................................३
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इतिसम्वत् २०४३ साल पौष ३० गते रोज ४ शुभम् ।