शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २१८९ - कर्तव्य ज्यान

भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११

निर्णय नं. २१८९ ने.का.प. २०४१             अङ्क ११

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०४० सालको फौ.पु.नं. ४४१

मुद्दा : कर्तव्य ज्यान

पुनरावेदक/वादी : शा.अ. कृष्णधर श्रेष्ठ समेतको जाहेरीले श्री ५ को सरकार

विरूद्ध

विपक्षी/प्रतिवादी : जिल्ला ओखलढुंगा देउराली गा.पं. वार्ड नं. ८ बस्ने टंकबहादुर खत्री

फैसला भएको मिति : २०४१।११।१३।१ मा

§  तथ्ययुक्त ठोस सबूत प्रमाणको अभावमा केवल शंकाको भरमा कसूरदार ठहराउन नमिल्ने।

(प्रकरण नं. २०)

पुनरावेदक/वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्ट

विपक्षी प्रतिवादी तर्फबाट : x

उल्लेखित मुद्दा : x

फैसला

          न्या. पृथ्वीबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ ।

          २.   जि.का.सि.प्र.शाखा नाम्चेका पि.टिकाबहादुर मिति २०२६।१२।९ गते खाना खाई सुतेको थियो । राति के कुन समयमा अगाडि ढोका बाहिर झुण्डी मरेको देखेकोले जाहेर गरेको छु भन्ने समेत शा.अ.कृष्णधरको जाहेरी दर्खास्त ।

          ३.   मेरो दाजु टिकाबहादुर बस्नेत झुण्डी मरेको खबर पाई आई हेर्दा कर्तव्य गरी मारी झुण्ड्याएको देखिएकोले सो घरमा शा.अ.ख.नविन, मु.टंकबहादुर बाहेक कोही पनि नबस्ने गरेको र वारदातको दिन भित्रबाट ढोका समेत लागेको बुझिएकोले कर्तव्यवालालाई कारवाही गरिपाउँ भन्ने समेत नरेन्द्रकुमार बस्नेतको डोर मुकाममा परेको निवेदन ।

          ४.   मृतक टिकाबहादुरको घाँटीमा रातो नाइलनको डोरी सुर्काने पारी सरामा बाँधिएको, टाउको अगाडि भूइँतिर झुकेको, आँखा चिम्लिएको, नाक, मुखबाट रगत बगेको, जिब्रो टोकिएको, दुवै हातमा रगत लागेको, लास रहेको ठाउँमा रगत पोतिएको, डोरीमा एकहात जति रगत लागेको, लासको पछाडिबाट रगत झरेको लासदेखि २ फिटमा रगत लागेको, नाँगो खुकुरी रगत पुछिएको खबर कागज, लास उत्तानो पारी हेर्दा घाँटीमा घोक्रो कलनासो छिनेको अं. २ इन्च जति गहिरो अं.३ इन्च लामो घाउ भएको देखिएको भन्ने लासप्रकृति मुचुल्का ।

          ५.  २०३६ चैत्र ९ गते बेलुका १२ बजे म मादक पदार्थ सेवन गरी डेरामा आएँ । ख.नविनले ढोका खोल्नु भयो म ओछ्यानमा गई सुतेँ । सुतेपछि पिउन टिकाबहादुरले अगाडि देखी मलाई अ.त.हो भनी हाकिमलाई कुरा लगाएकोले मैले टिकाबहादुरलाई मार्ने विचार गरी सिरानको खुकुरी बोकी भान्छा कोठामा आई सलाई कोरी हेर्दा पि.टिकाबहादुर उत्तानो परी सुतिरहेको रहेछ । र खुकुरीले एक फेर जोडले रेटी दिएँ । निज उफ्रन थालेपछि घुँडाले छातीमा १०।१५ मिनेटसम्म थिची उफ्रन छोडेपछि झुण्डाई दिएको हुँ । मार्नेमा अरू कोही छैन भन्ने अभियुक्त टंकबहादुरले डोर मुकाममा गरेको कागज ।

          ६.   २०३६ चैत्र ९ गते नागरिकता बाँधेर ल्याएको रातो नाइलनको डोरी टंकबहादुरलाई राख्न दिएको थिएँ । बेलुका खाना खाई हामी सुत्यौं । टंकबहादुर आएको थिएन । राति कुन समयमा आई पि.टिकाबहादुरलाई मारी सो डोरीले झुण्डाएछ । मार्नेमा खास टंकबहादुर मात्र छ भन्ने समेत शा.अ. कृष्णधरले डोर मुकाममा गरेको कागज ।

          ७.  उक्त दिन खाना खाई सुत्यौं । पि.टिकाबहादुर छिडी कोठामा सुत्न झर्‍यो सो समयसम्म टंकबहादुर आएको थिएन । अं. १२ बजेतिर टंकबहादुर आई बोलायो ढोका खोली हेर्दा रक्सी खाई मातेको थियो । खाना खाने भन्दा रक्सी खाएको छु के खानु र भन्यो । कोठमा बत्ती बालेको थिएन, विस्तरामा छामछुम गर्दै थियो । केही बेरपछि ओर्ली भान्छा कोठामा गल्र्याम गुर्लुम आवाज आयो । त्यसपछि टंकबहादुर बाहिर गएको आवाज सुनेँ कतिखेर आएर सुत्यो थाहा छैन । भोलिपल्ट शा.अ.ज्यूले उठाएपछि हेर्दा टिकाबहादुर झुण्डिई मरेको देख्दा बेलुकाको घटनाको याद आयो । टीकबहादुरले अ.त.भनी बेला बेलामा बाजी रहन्थे सोही इवीबाट टंकबहादुरले मारी झुण्ड्याएको हुनुपर्दछ भन्ने समेत नवीनप्रसादले डोरमा गरेको कागज ।

          ८.   घटनास्थलको अवस्था, लासको प्रकृति र सोही कार्यालयका व्यक्तिहरूको भनाई समेतबाट टिकाबहादुरलाई टंकबहादुरले मारी झुण्डाएको रहेछ भन्ने समेत सरजमीन मुचुल्का ।

          ९.   अ.टा.मु.टंकबहादुरलाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सजाय गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।

          १०.  पि.टिकाबहादुरलाई मैले कर्तव्य गरी मारी झुण्ड्याएको होइन । प्रहरीमा भएको कागज खुसीराजीले भएको होइन, कुटपीट गरी गराएको हो भन्ने समेत प्र.टंकबहादुरले अदालतमा गरेको बयान ।

          ११.  म समेत भई टीकाबहादुरलाई कर्तव्य गरी मारेको होइन । टंकबहादुरले मारेमा शंका लाग्छ भन्ने समेत ख.नवीनप्रसादले अदालतमा गरेको बयान ।

          १२.  हामीहरू भई टीकाबहादुरलाई मारेको होइन, टंकबहादुरले मात्र मारेकोमा शंका लाग्छ भन्ने समेत प्र.शा.अ.कृष्णधर श्रेष्ठले अदालतमा गरेको बयान ।

          १३.  प्र.कृष्णधर श्रेष्ठ र प्र.नवीनप्रसाद पराजुलीले सफाई पाउने ठहर्छ । प्र.टंकबहादुरले टीकाबहादुरलाई कर्तव्य गरी मारेको ठहर्छ भन्ने समेत सोलुखुम्बु जिल्ला अदालतको ०३७।९।२९ को फैसला ।

          १४.  उक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्र.टंकबहादुरको पुनरावेदन ।

          १५.  शंकाको आधारमा ठहर भएको देखिँदा अ.बं. २०२ नं. र क्षे.अ.नि. बमोजिम पू.क्षे.अ.को कार्यालयलाई सूचना दिई पेश गर्नु भन्ने समेत पू.क्षे.अ.सिंगलबेञ्चको आदेश ।

          १६.  प्रत्यक्ष प्रमाणको अभावमा दोषी ठहर गर्न नमिल्ने हुँदा प्र.टंकबहादुरले सफाई पाउने ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको २०३९।१२।१६ को फैसला ।

          १७.  सो फैसलामा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकारको पुनरावेदन ।

          १८.  पुनरावेदक वादी श्री ५ को सरकारतर्फबाट उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्टले शा.अ.कृष्णधरले अभियुक्तलाई राख्न दिएको डोरीले लास झुण्ड्याएको छ । पहिलेदेखि मृतक र अभियुक्त बीच झगडा भइरहेको पुष्टि भएको छ । यस्तो अवस्थामा सफाई दिने गरेको मिलेको छैन भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

          १९.  अब प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिव वा बेमनासिव के रहेछ सो कुरामा निर्णय दिनुपरेको छ ।

          २०.  निर्णयतर्फ विचार गर्दा यसमा मृतक टीकाबहादुरको मृत्यु कर्तव्यबाट भएकोमा विवाद छैन । प्रतिवादी शा.अ. कृष्णधर श्रेष्ठ र ख.नवीनप्रसादले सफाई पाएकोमा पुनरावेदन जिकिर नभएबाट त्यसतर्फ बोली रहन परेन । अब प्रतिवादी टंकबहादुर खत्रीको हकमा विचार गर्दा शुरूमा किटानी जाहेरी परेको छैन । प्रहरीमा बयान गर्दा सावित भए पनि सो साविती बयानलाई पुष्ट्याइँ गर्ने स्वतन्त्र प्रमाण केही छैन । अदालत समक्ष इन्कारी बयान गरेको देखिन्छ । सरजमीनले पनि निज उपर तथ्य साथ किटान गर्न नसकी केवल शंकासम्म व्यक्त गरेका छन् । शंकाको सुविधा अभियुक्तले नै पाउने हुन्छ । यिनै प्रतिवादीले कसूर गरेको हो भनी शंकारहितरूपमा प्रमाणित हुने निश्चयात्मक एवं भरपर्दो ठोस सबूत प्रमाण र प्रत्यक्षदर्शी कोही छैन । तथ्ययुक्त ठोस सबूत प्रमाणको अभावमा केवल शंकाको भरमा कसूरदार ठहराउन नमिल्ने हुन्छ । तसर्थ निज प्रतिवादी टंकबहादुर खत्रीलाई आरोपित कसूरबाट सफाई दिने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिव ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार बुझाई दिनु ।

         

उक्त रायमा म सहमत छु ।

 

न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इति सम्वत् २०४१ साल फाल्गुण १३ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु