शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २१९१ - ज्यानमार्ने उद्योग

भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११

निर्णय नं. २१९१    ने.का.प. २०४१           अङ्क ११

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४० सालको फौ.पु.नं. ४४४

मुद्दा : ज्यानमार्ने उद्योग

पुनरावेदक/प्रतिवादी :    भक्तपुर जिल्ला, भक्तपुर न.पं. वार्ड नं. २ जलोटोल बस्ने इश्वरीराज बोहजु

विरूद्ध

विपक्षी/वादी : आशाबहादुरको जाहेरीले श्री ५ को सरकार

फैसला भएको मिति :   २०४१।९।२६।४ मा

§  चक्कु खोसी छुट्याएको भन्ने कुरा स्पष्ट देखिन आएको हुँदा प्रयोग गरेको हतियार र चोटको किसिमबाट मनसाय भएको पुष्टि हुने ।

(प्रकरण नं. १९)

पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ तथा विद्वान अधिवक्ता श्री सुभाष नेम्वाङ

विपक्षी वादी तर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा तथा विद्वान सरकारी अधिबक्ता श्री राजेन्द्रराज पन्त

उल्लेखित मुद्दा : x

फैसला

          न्या. गजेन्द्रकेशरी बास्तोला : म.क्षेत्रीय अदालतको ०४०।१२।१५ गतेको निर्णय त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भनी निवेदन पर्न आएकोमा यस अदालत डिभिजन बेञ्चबाट पुनरावेदनको अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा यस प्रकार छ ।

          २.  २०३८।७।१४ गतेका दिन मेरो कान्छो छोरा रामेश्वर बोहजुलाई भ.पु.जि.ताथली गा.पं. वार्ड नं. ८ मा आइरहेको अवस्था माहिलो छोरा इश्वरीराजले मार्ने मनासयले चक्कुले हानेको घाइतेलाई अस्पतालमा भर्ना गरेको छु ज्यान मार्ने नियमतले चक्कु प्रहार गरी मार्ने इश्वरीराज बोहजुलाई प्रहरीद्वारा खोजतलास गरी कारवाही गरिपाउँ भन्ने समेत आशाबहादुरको जाहेरी दर्खास्त ।

          ३.  ०३८।७।१४ का दिन भाइ रामेश्वर समेत १०।१५ जना खेततर्फ जान लागेको, धानको विषयमा भनाभन भई भाइले नोलले हिर्काए पछि नाम थाहा नभएको व्यक्तिको हातबाट चक्कु खोसी भाइलाई भुँडीमा रोपी, निजका साथमा रहेका व्यक्तिहरूले लछार पछार गरेकोले कुनकुन ठाउँमा हिर्काए थाहा भएन, भागी आउँदा हुलले घेरी राखेको अवस्था प्रहरीले पक्राउ गरी हस्पिटल लगी ०३८।७।१५ गते डिस्चार्ज भएको हो भन्ने समेत इश्वरीराज बोहजुको प्रहरी समक्ष गरेको कागज ।

          ४.  खेतमा गएको बखत इटुमरी भन्ने ठाउँमा मसँग नारायणभक्त, हरिबहादुर, विषलाल, कृष्णराज, विश्वनाथ थिए । इश्वरीराज घर फर्कन लागेका रहेछन् निजले मसँग कुस्ती खेल्ने मानिस को छ ? भनी भन्दा हामीले कोही पनि छैन जाउ हामी हाम्रो काममा जान्छौं भनी म साथीहरू अलि अघि र म पछि थिएँ, त्यसै अवस्थामा इश्वरीराजले एक्कासि मेरो पिठ्युँमा चक्कु हाने, त्यसपछि पेटमा पाखुरामा हानेपछि विषलाल समेतले चक्कु खोजे, म बेहोस भएँ अरू थाहा पाइँन भन्ने समेत घाइते रामेश्वर बोहजुको कागज ।

          ५.  हामी खेतमा फर्की जाँदा इश्वरीराज घरतिर जान लागेका रहेछन् हामीसँग रामेश्वर पनि थिए । जाँदैका बखत निजले मसँग कुस्ती खेल्ने मानिस को छ भनी भन्दा तिमीसँग कुस्ती खेल्ने कोही छैन तिमी तिम्रो बाटो जाउ हामी हाम्रो काममा जान्छौ भनी हामी अघि अघि लाग्यौं रामेश्वर हाम्रो पछाडि थियो निजहरू भनाभन गर्दै थिए । त्यसैबखत इश्वरीराजले चक्कुले हानेछ रामेश्वरको कराएको आवाज सुनी फर्की हेर्दा चक्कुले धमाधम हानी रहेको देखी म समेतलाई डर लागी के गरेको भनी भन्दा इश्वरीराज बोहजुको चक्कुको चोटबाट रामेश्वर भुइँमा लडे, निजको हातको चक्कु खोस्दा मेरो हातमा घाउ लाग्यो भन्ने समेत विषलालको र सोही मिलानको रामेश्वर बोहजु साथ रहेका नारायणभक्त बोहजु विश्वनाथ, कृष्णराम, हरिबहादुर समेतको प्रहरी समक्ष गरेको कागज ।

          ६.  इश्वरीराजले रामेश्वरलाई चक्कु हान्दा निज भुइँमा ढलेको थियो । रामेश्वरका साथीहरूले इश्वरीको हातमा भएको चक्कु खोसपछि निज घटनास्थलबाट भागे, रामेश्वरलाई इश्वरीले चक्कु रोपेको हो भन्नेसमेत व्यहोराको रत्नलाल कवाव समेतले गरी दिएको सरजमीन मुचुल्का ।

          ७.  रामेश्वरलाई इश्वरीराजले ज्यानमार्ने उद्योग गरेकोले निज उपर ज्यानसम्बन्धीको १५ नं. बमोजिम कारवाही गरि पाउन माग दावी भएको प्रहरी प्रतिवेदन ।

          ८.  मैले रामेश्वरलाई ज्यानमार्ने उद्योग गरेको होइन भन्ने समेत इश्वरीराजले अदालतमा गरेको बयान ।

          ९.  ०३८।७।२६ म जि.प्र.का. भक्तपुरमा गरी दिएको बयान राजीखुसीले गरेको हो सोही बमोजिमको बयानलाई कायम गरी पाउँ सो बाहेक अरू भन्नु बाँकी छैन भन्ने समेत हरिबहादुर गाइजु समेतका देख्ने चस्मदिद गवाह जना ५ ले अदालतमा गरेको बकपत्र ।

          १०.  अघि इश्वरीराज बोहजु झगडा गर्ने खालको मानिस होइन झगडा गरेको मलाई थाहा छैन भन्ने समेत प्रतिवादीका साक्षी ब्रहमकोजु समेत ३ जनाको बकपत्र ।

          ११.  सरजमीनमा लेखाएको व्यहोरा सुनेँ सोही बमोजिम बकपत्र कायम गरिपाउँ भन्ने समेत सरजमीनका मानिस कृष्णकुमार कोजु समेतको बकपत्र ।

          १२.  मार्ने नियत विद्यमान नरहेमा प्र.लाई कुटपीटको महल अन्तर्गत सजाय हुने देखिनाले ज्यानसम्बन्धीको १२ नं. बमोजिम जाहेरवाला समेतलाई झिकाई कुटपीटको महल अन्तर्गत मुद्दा चलाएका बखत ठहरे बमोजिम हुने गरी हाल तामेलीमा राखी दिने ठहर्छ भन्ने समेत भक्तपुर जि.अ.को ०३९।६।३ को फैसला ।

          १३.  ज्यानमार्ने उद्योग वारदात कायम भई प्रतिवादी समेतले स्वीकार गरेको वारदातलाई कुटपीटमा परिणत गरी गरेको भक्तपुर जि.अ.को इन्साफ न्यायसँगत नहुँदा बदर गरी वादी दावी बमोजिम गरिपाउँ भन्ने समेत वादी श्री ५ को सरकार तर्फबाट ०३९।१०।१२ मा म.क्षे.अ.मा पुनरावेदन ।

          १४. केश फारामबाट रामेश्वरलाई पेटमा चोट लागेको देखिएको प्रतिवादीले उक्त चोट प्रहार गर्दा विषलाल समेतका मानिसले देखी छुट्याएको देखिएको घटनास्थलमा प्रयोग भएको ८को चक्कु बरामद भएको र अरूले नछुट्याएको भए रामेश्वरको ज्यान मर्नेसम्मको घटनास्थलको स्थिति समेत देखिँदा प्रतिवादी इश्वरीराज बोहजुले ज्यानमार्ने उद्योग गरेको आरोपबाट सफाई दिएको भक्तपुर जि.अ.को इन्साफ नमिलेको देखिँदा उल्टी हुन्छ । प्र.इश्वरीराज बोहजुलाई ज्यानसम्बन्धीको १५ नं. बमोजिम १० वर्ष कैद हुने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४०।१२।१५ गतेको फैसला ।

          १५. मार्ने सम्मको कार्य र स्पष्ट मनसायपूर्वक मार्ने नियत राखेर गरेको कार्य ज्यानसम्बन्धीको १५ नं. अन्तर्गत पर्छ, यी दुवै अन्तरवस्तुहरू मेरो हकमा विद्यमान छैनन् अदालत समक्ष बयान गर्दा छुरी हिर्काएमा इन्कार रही आफू माथि कुटपीट भई भएको व्यहोरा जिकिर लिएको छु जुन तथ्य अन्य प्रमाणको साथ एकजना प्रहरीको प्रतिवेदनबाट पुष्टी भएको छ । यो कुरालाई विचारै नगरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ज्यानसम्बन्धीको १५ नं. बमोजिम सजाय गर्ने गरेको निर्णय ज्यानसम्बन्धीको १५ नं. अ.बं. १८४, १८५ प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को गम्भीर कानुनी त्रुटिपूर्ण फैसला गरेको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादी इश्वरीराज बोहजुको ०४१।४।१७ मा यस अदालतमा दिएको निवेदन ।

          १६.  प्रस्तुत मुद्दामा घाइते हुने रामेश्वर बोहजु र प्रतिवादी इश्वरीराज बोहजुका बीचमा भिडन्त, कुटपीट भएको कुरा विवादरहित देखिन्छ, प्र.इश्वरीराज बोहजुले प्रहरी समक्ष मिति ०३८।७।१४।२ गते बयान गर्दा आफू समेत सख्त घाइते भई प्रहरीले उठाई हस्पिटल लगी भर्ना गरी ०३८।७।१५ गते बेलुका डिस्चार्ज भएको हुँ भनेबाट दोहरो कुटपीट भएकै कुरा सिद्ध हुन्छ प्र.इश्वरीराज उक्त घटनास्थलमा एक्लै भएको र पिडित पक्षपट्टि घटीमा ६ जना भएको कुरामा विवाद छैन । यस्तो अवस्थामा प्र.इश्वरीराजले मार्ने उद्देश्यले रामेश्वरलाई छुरी प्रहार गरेको भन्ने भनाई युक्तिसंगत देखिन्छ । साथै वारदातमा प्रयोग भएको छुरी अदालतबाट सनाखत नहुनुको अतिरिक्त प्र.इश्वरीराजले उक्त छुरी अर्का पक्षका मानिसबाट खोसी लिई आफू उनीहरूको पिटाइबाट बँच्न प्रहार गरेको हुँ भनी बयान गरेको देखिएको समेत हुँदा यस्तो स्थितिमा प्र.इश्वरीराज बोहजुले रामेश्वरलाई मार्ने नियतले छुरी प्रहार गरेको भन्नु न्यायसंगत नहुँदा ज्यानमार्ने उद्योग गरेको ठहर्‍याई ज्यानसम्बन्धीको १५ नं. बमोजिम १० वर्ष कैदको सजाय गर्ने गरेको म.क्षे.अ.को फैसलामा ज्यान सम्बन्धीको १५ नं. को त्रुटि भई न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान देखिँदा पुनरावेदन गर्ने अनुमति दिइएकोछ भन्ने यस अदालत डिभिजन बेञ्चको ०४१।३।२९ को आदेश ।

          १७. पुनरावेदक प्रतिवादी इश्वरीराज बोहजुलाई नियमानुसार पुकार गरी बोलाउन लगाउँदा उपस्थित नभएको, निज तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ तथा विद्वान अधिवक्ता श्री सुभाष नेम्वाङले ज्यानमार्ने उद्योगका लागि हुनुपर्ने आवश्यक शर्तहरूको प्रस्तुत मुद्दाको घटनामा अभाव छ, आफूलाई बचाउन अर्को व्यक्तिका हातबाट खोसी ल्याएको छुरी घुमाउँदा लाग्न गएको र निज प्रतिवादी इश्वरीराज माथि कुटपीट हुँदा आफ्नो सुरक्षाको लागि कार्य गरेको हुँदा मार्ने सम्मको कार्य र मार्ने उद्देश्यको अभावमा ज्यानसम्बन्धीको १५ नं. आकर्षित हुने होइन । अतः म.क्षे.अ.ले प्र.इश्वरीराज बोहजुलाई ज्यानसम्बन्धीको १५ नं. लगाई १० वर्ष कैद गर्ने गरेको फैसलामा ज्यानसम्बन्धीको १५ नं. को त्रुटि विद्यमान हुँदा बदर गरी शुरू भक्तपुर जि.अ.को इन्साफ सदर हुनुपर्ने भन्ने र जाहेरवाला तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्माले प्रतिवादी इश्वरीराज बोहजुले रामेश्वर बोहजु माथि चक्कु प्रहार गरी ज्यान मार्ने सम्मको उद्योग गरेको हुँदा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर हुनुपर्ने भन्ने र वादी विपक्षी श्री ५ को सरकारतर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री राजेन्द्रराज पन्तले प्रतिवादी इश्वरीराज बोहजुले मार्ने मनसायले घातक हतियार र लामो चक्कु प्रहार गरी रामेश्वर बोहजुलाई मार्ने सम्मको क्रिया गर्दा विषलाल समेतका मानिसले छुट्याएको हुँदा मार्ने मनसाय प्रतिवादीको नरहेको भए चक्कु प्रहार गर्ने आवश्यक नै छैन । अतः म.क्षे.अ.को इन्साफमा कुनै त्रुटि नहुँदा सदर हुनुपर्ने भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

          १८.  प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के छ सो कुरामा निर्णय दिनुपर्ने हुन आएको छ ।

          १९.  यसमा निर्णयतर्फ विचार गर्दा प्रतिवादी इश्वरीराज बोहजुले रामेश्वर बोहजुलाई मार्ने मनसायले चक्कुले हानी भागेकोले जाहेर गरेको छु भनी आसाबहादुरको किटानी जाहेरी परेको देखिन्छ । प्रतिवादी इश्वरीराज बोहजुले प्रहरी समक्ष बयान गर्दा घटनाक्रम समेतलाई स्पष्ट गर्दै दाजुभाइको बीचमा झगडा हुँदा भाइ रामेश्वरले नोलले हानेपछि ८लामो धारिलो चक्कुले भूँडीमा रोपेको हुँ म माथि लछार पछार हुँदा अन्यत्र कहाँकहाँ लाग्यो भनी जाहेरी दर्खास्त साथ दाखिल भएको चक्कुलाई सनाखत गर्दै आरोपित कसूर गरेमा सावित भएको पाइन्छ । पेश भएको घा जाँच केश फारामबाट बायाँ पेटको कोखा निरको आन्द्राहरूको झिल्ली प्वाल परेको भन्ने देखिएको छ । घटनास्थलमा रहे भएका प्रत्यक्षदर्शी भनिएका विषलाल, नारायणभक्त बोहजु, विश्वनाथ, कृष्णराम र हरिबहादुर समेतले प्रहरी समक्ष बयान गर्दा इश्वरीराज बोहजुले रामेश्वर बोहजुलाई धमाधम चक्कुले हानेको देखेको र इश्वरीराज बोहजुको हातबाट चक्कु खोसी छुटाएको हो भनी किटानी गरी कागज गरेको र निजहरू अदालतमा उपस्थित भई बकपत्र गर्दा प्रहरीमा गरेको बयानलाई नै समर्थन गरेको देखिन्छ । बुझिएका सरजमीनका मानिसले पनि प्र.इश्वरीराज बोहजुले रामेश्वर बोहजुलाई चक्कु प्रहार गरेको देखेका हौं भनी किटानी साथ सरजमीनमा लेखाई अदालतमा समेत सोही कुरालाई समर्थन गरी बकपत्र गरेको पाइन्छ । प्र.इश्वरीराजले अदालत समक्ष बयान गर्दा रामेश्वर बोहजु माथि चक्कु प्रहार गरेमा इन्कार रहे तापनि घटना स्थलमा वारदात गरेको कुरालाई स्वीकार गरी बयान गरेको देखिन्छ । प्र.इश्वरीराजले चक्कु रामेश्वर बोहजु माथि प्रहार गरेमा अदालतमा इन्कार रहे पनि घाउ जाँच केश फारामबाट देखिएको रामेश्वरको पेटमा लागेको घाउ चोट कसरी लाग्यो सो भन्न सकेको पाइँदैन । यस स्थितिमा अदालतमा बयान गर्दा घाइते रामेश्वर बोहजुलाई चक्कुप्रहार गरेको होइन भन्ने प्रतिवादी इश्वरीराजको इन्कारी पत्यारलायक देखिन आएन । घटनास्थलमा प्रयोग भएको ८इन्च लामो चक्कु बरामद भई आएको देखिएको प्र.इश्वरीराज बोहजुले मार्ने समेतको धम्की दिएको भनी जाहेरवालाको ०३४।७।२४ र ०३४।८।१२ मा जि.का. मा निवेदन दिएको देखिएको रामेश्वर बोहजु माथि सामान्य भनाभनको स्थितिमा ज्यान मार्ने मनसायपूर्वक धारिलो इन्च बराबरको घातक हतियार चक्कु घाइतेको पेटमा तथा शरीरको अन्य भागमा समेत प्रहार गरी मार्नेसम्मको क्रिया गरी रहेको अवस्थामा निज प्र.बाट विषलाल समेतले चक्कु खोसी छुट्याएको भन्ने कुरा स्पष्ट देखिन आएको हुँदा प्रयोग गरेको हतियार र चोटको किसिमबाट मनसाय भएको पुष्टी हुन्छप्रतिवादी इश्वरीराज बोहजुले घाइते रामेश्वर बोहजुलाई चक्कु प्रहार गरी ज्यानमार्ने उद्योग गरेको ठहर्‍याई निजलाई ज्यानसम्बन्धीको १५ नं. बमोजिम १० वर्ष कैदको सजाय गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । प्रतिवादी इश्वरीराज बोहजुको पुनरावेदन जिकिर पुग्न सक्तैन । अरूमा तपसील बमोजिम गर्नु ।

         

तपसील

पुनरावेदक वादी इश्वरीराज बोहजुको माथि इन्साफ खण्डमा लेखिए बमोजिम मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर भएकोले मध्यमाञ्चल क्षेत्रीय अदालतले निजलाई गर्ने गरेको कैद वर्ष १० मा निजले पहिलो पुनरावेदन गरेबापत अ.बं. २०३ बमोजिम १० प्रतिशतले हुने कैद वर्ष १ थप कैद हुन्छ । बेरूजु हुँदा लगत कसी असूल गर्नु भनी भक्तपुर जिल्ला अदालतमा लगत दिन काठमाडौं जि.अ.मा लेखी पठाउने..................... १

पुनरावेदक प्रतिवादी इश्वरीराज बोहजुले यस अदालतमा अनुमतिको निवेदन गर्दा राखेको धरौटी रू. ५४००। यस अदालतको मिति ०४१।१।७ को पत्र साथ काठमाडौं जिल्ला अदालतमा पठाएको देखिँदा निज पक्राउ परेका बखत उक्त धरौटी रकम कानुनको रीत पुर्‍याई फिर्ता दिनु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु  ........................... २

मिसिल नियम बमोजिम गरी बुझाई दिनु

 

उक्त रायमा म सहमत छु ।  

 

न्या. धनेन्द्रबहादुर सिंह

 

इति सम्वत् २०४१ साल फल्गुण २६ गते रोज ४ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु