शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २८६४ - सवारी दुर्घटनाबाट मृत्यु भएको ज्यान

भाग: २८ साल: २०४३ महिना: पौस अंक:

निर्णय नं. २८६४     ने.का.प. २०४३      अङ्क ९

संयुक्तइजलास

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४३ सालको साधक नं. १०१

फैसला भएको मिति : २०४३।९।२३।४ मा

 

वादी : दिलकुमारी गुरुङको जाहेरीले श्री ५ सरकार

विरुद्ध

प्रतिवादी : महेशकुमार ताम्राकार

 

मुद्दा : सवारी दुर्घटनाबाट मृत्यु भएको ज्यान

 

(१) मानिस मार्छु नै भन्ने नियतले गाडी नहाँके तापनि मानिस मर्न सक्छ भन्ने सम्भावनालाई जानी जानी लापरवाही गरी गाडी हाँकेको मान्नु पर्ने हुन्छ । तसर्थ मानिस मार्ने मेरो नियत थिएन भन्ने इन्कारी जिकिरलाई सफाइको पर्याप्त आधार मान्न नमिल्ने ।

(प्रकरण नं. १६)

 

फैसला

न्या.हरिहरलाल राजभण्डारी : पूर्वाञ्चल क्षेत्रीय अदालतबाट साधक निकासाको लागि आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ ।

२. मिति ०४०।१२।४ गते बेलुकी खाना खाई छोरा डेरामा सुताई गर्मी भएकोले म बाहिर गफ गरी बसेको अवस्थामा महेशकुमार ताम्राकारले पूर्वाञ्चल कम्पनीको अ.ख. १६६ को गाडीको बत्ति पनि डिम गरी हर्न नबजाई ल्याई मेरो डेराभित्र घुसाई मेरो छोरो किचाई भाग्न लाग्दा राजेश राई समेतका व्यक्तिहरूले पक्राउ गरी समयमै प्रहरीमा दाखिल गरेको हुँदा कानुन बमोजिम कारवाही गरी सजायँ गरी पाउँ भन्ने दिलकुमारीको जाहेरी दर्खास्त ।

३. उक्त गाडीको म खलासी हुँ । ०४०।१२।५ गते बिहान धनकुटा जानको लागि गाडी स्टेण्डमा राखी ड्राइभर सुत्‍न जानु भएकोले साथीहरूको सल्लाह अनुसार दुर्गा श्रेष्ठको घरमा रक्सी खाएर करिब ११.३० बजे बस स्टेण्डमा आउँदा विनोद बान्तवाले मलाई पुर्‍याई देउन भनेकोले निजलाई र लालबहादुरलाई गाडीमा राखी गाडी हाँकी लग्दा स्पीड बढी भएकोले कन्ट्रोल गर्न नसकी खहरे खोलाको पिलरमा ठोकियो । त्यसपछि बारमा ठोकियो घरभित्र पसेकोले म ओर्ली भाग्न लाग्दा पक्राउ गरी ल्याएका हुन् । मेरो गाडी चलाउने लाइसेन्स छैन । म ड्राइभर नहुँदा गाडी स्टेण्डमा लाने, तेल राख्‍न लाने समेत मैले गर्ने गरेको हो भन्ने समेत ०४०।१२।६।२ मा महेशकुमारले प्रहरीमा गरेको बयान ।

४. दश (१०) वर्षको सन्तोषकुमार गुरुङ सुतिरहेको अवस्थामा गाडीले किची मारेको हो मलाई खुट्टामा मामुली घाउ लागेको छ भन्ने शेरबहादुर कार्कीले प्रहरीमा गरेको बयान ।

५. को.अ.ख. १६६ को गाडी मैले चलाउने गरेको ०४०।१२।४ गते राती महेशकुमारले गाडी चोरी भगाउँदै लगी दुर्घटना गरी मानिस समेत मारेको भन्ने गाडी चालक होमबहादुर ताम्राकारको जाहेरी दर्खास्त ।

६. खलासी महेशकुमारले रक्सी खाई गाडी दुर्घटना गरी मानिस मारेको हो । मेरो आदेशले गाडी चलाएको होइन भन्ने महेन्द्र बुढाथोकीले प्रहरीमा गरेको कागज ।

७. महेशकुमारले रक्सी खाई लापरवाही साथ गाडी एक्सीडेन्ट गरी मानिस किची मारेको भन्ने समेत व्यहोराको ०४०।१२।२३ को सरजमीन मुचुल्का ।

८. क्रिया खर्च र क्षतिपूर्ति बापतको रकम २०४०।१२।१० मा मृतकको आमा दिलकुमारीले र अरु घर नोक्सान भएको क्षतिपूर्ति बापतको रकम पासाड्ड लामा र हस्तबहादुर राईले ०४०।१२।२० मा चालकतर्फबाट बुझी लिएको कागजबाट देखिएकोले सो तर्फ दावी नलिने सन्तोष गुरुङको मृत्यु भएको तर्फ आफ्नो कर्तव्यको कारणबाट मानिस मर्छ भन्ने जानी जानी सवारी धनीको इजाजत बिना सवारी चलाउने प्रमाणपत्र नै नभएको व्यक्तिले रातको समयमा अनियमित तिव्र गतिमा गाडी हाँकी ज्यान मारेकोमा मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँको दावी लिएको छ भन्ने समेत स.स.अ.तथा जि.प्र.सुन्सरी समेतको संयुक्त प्रतिवेदन ।

९. महेन्द्र बुढाथोकीले ठेक्कामा लिएको पूर्वाञ्चल कम्पनीको को.अं.अ. १६६ नं. को मिनीबसको खलासी हुँ । ०४०।१२।४ गते राती साथीहरू मिली दुर्गा श्रेष्ठको घरमा रक्सी खाई ११.३० मा बस स्टाण्डमा सुत्‍न आएको विनोद र लालबहादुर गाडीको पछाडी सिटमा बसी मैले गाडी हाँकी नारायण चोकतर्फ लग्दा खहरे खोलाको पिलरमा गाडी ठोकिई त्यसपछि बारमा ठोकियो र घरभित्र पस्न गई ठोकिएकोले ओर्ली भाग्न लाग्दा गाडीले मानिस किच्यो भनी मलाई पक्री प्रहरीमा ल्याएका हुन्  ज्यादा रक्सी खाएर गाडी हाक्दा घरभित्र पस्न गई मानिस मर्न गएको हो र जानी जानी मानिस मारेको होइन । सवारी चालकको लाइसेन्स मेरो छैन भन्ने समेत प्र.महेशकुमार ताम्राकारले ०४०।१२।३० मा अदालतमा गरेको बयान ।

१०. ०४०।१२।३० को आदेश अनुसार पूर्पक्ष निमित्त निज महेशकुमार ताम्राकार थुनामा गएको ऐ.मितिको आदेश अनुसार प्रतिवादीका साक्षी शिव जोशी, जगतबहादुर श्रेष्ठ, समेत २ को ०४१।२।३० मा बकपत्र भएको र जाहेरवाला र सरजमीनको मानिस उपस्थित हुनसकेको रहेनछ ।

११. प्रतिवादी महेशकुमार ताम्राकारलाई मुलुकी ऐन ज्या.सं.को १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको सजायँ गर्दा चर्को सजायँ हुने देखिन्छ । किनभने निज अभियुक्तले अनुमति पत्र बेगरै बस हाँकेको, सडकमा बसले सिधै किची वा ठक्कर लागि सन्तोषकुमार मर्न गएको नभई घटनास्थलको विवरणबाट पिलरमा ठक्कर लागेपछि बस गाडी अनियन्त्रित भई घरभित्र पसी सन्तोषकुमारको मृत्यु भएको प्रष्ट हुन्छ । प्रहरी प्रतिवेदनको दावीमा मर्ने सन्तोषकुमारको आमा दिलकुमारी गुरुङले चालकबाट क्षतिपूर्ति बापत कृया खर्च बुझी लिएको साथै घर क्षति हुने अरु पासाड्ड र हस्तबहादुर राईले पनि नोक्सानी भएको क्षतिपूर्ति बुझी सकेको देखिन्छ । यो कुराहरू समेतले गर्दा अभियुक्त महेशकुमार ताम्राकारले चालकको अनुमतिपत्र नपाई बस हाँकी दुर्घटना समेत भई त्यसबाट सन्तोषकुमारको मृत्यु भएको मिसिलबाट स्पष्ट हुन आयो । यसर्थ निज महेशकुमारलाई ज्या.सं.महलको १६(३) बमोजिमको कसूरमा सजायँको दावी गरेको प्रहरी प्रतिवेदनसंग असहमति हुन नमिल्ने हुँदा महेशकुमारलाई सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । तर निज महेशकुमारले हाँकेको बस जुन तरिकाबाट दुर्घटना भई सन्तोषकुमारलाई किचिने गरी बस घरमा घुस्यो सो अवस्थालाई र मृतकको आमाले कृया खर्च बापतको क्षतिपूर्ति लिएको र अन्य घर क्षति हुने पासाड्ड लामा र हस्तबहादुर राईले घर भत्केको नोक्सानी बापत पनि रकम बुझी लिएको हुँदा त्यसतर्फ पनि दावी लिइरहन परेन भन्ने समेत कुरा उल्लेख गरेको दृष्टि गोचर गर्दा सर्वस्वसहित जन्मकैद गर्न चर्को सजायँ हुन जाने र मनासिब पनि पर्ने नदेखिनाले निज महेशकुमार ताम्राकारलाई कैद वर्ष २ मात्र गर्ने गरी मुलुकी ऐन अ.बं.१८८ नं. बमोजिम राय प्रस्तुत गरी मुलुकी ऐन अ.बं.१८६ नम्बर बमोजिम जाहेरी गरी दिइएको छ भन्ने समेत व्यहोराको शुरु सुनसरी जिल्ला अदालतको फैसला ।

१२. शुरु सुनसरी जिल्ला अदालतको मिति ०४१।९।६ को जाहेरी फैसला साधक निकासाको लागि पेश भएकोमा सुनसरी जि.अ.को इन्साफ मनासिब छ छैन भनी विचार गर्दा ।

१३. वारदातको घटनाक्रम विचार गर्दा मानिस मर्छ भन्ने जानी जानी लापरवाही गरी गाडी हाँकेको होइन कि त भन्न आशंका उत्पन्न हुने स्थिति देखिन्छ । तर सम्पूर्ण घटना विवरण हेर्दा निज महेशकुमार बसको खलासी मात्र भएको, चालकको प्रमाणपत्र नदेखिँदा बस जस्तो भारी गाडी हाँक्ने क्षमता निजसंग भई नसकेको साथै निजले रक्सी समेत टन्न खाएको देखिन्छ । खहरे जस्तो उकालो ओरालो बाटोमा बढी स्पीडले गाडी हाँक्नाले निज आफ्नो काबु बाहिरको स्थितिमा रहेको मान्नु पर्दछ । यसरी मानिस मार्छु नै भन्ने नियतले गाडी नहाँके पनि मानिस मर्न सक्छ भन्ने सम्भावनालाई जानी जानी लापरवाहीले गाडी हाँकेको मान्नु पर्दछ । मानिस मार्ने मेरो नियत थिएन भन्ने इन्कारी जिकिरलाई सफाइको पर्याप्त आधार मान्न नमिल्ने हुँदा ज्या.सं.को १३(३) अनुसार कसूर ठहर्‍याएको शु.जि.अ.को इन्साफ मनासिब ठहर्छ । अ.बं.१८८ नं. अनुसार कैद वर्ष दुई गर्ने राय प्रकट गरे तर्फ पनि शु.जि.अ.को राय मनासिब नै देखिन्छ भन्ने समेतको पू.क्षे.अ.को ०४३।१।६ को फैसला ।

१४. शुरु सुनसरी जि.अ.ले गरेको फैसला उपर साधक निकासाको लागि पू.क्षे.अ.मा गई पू.क्षे.अ. बाट शुरु फैसला सदर गरी गरेको फैसला उपर साधक निकासाको लागि आएको ।

१५. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दाको मिसिल समेत अध्ययन गरी हेर्दा उक्त पू.क्षे.अ.को फैसला मनासिब बेमनासिब के रहेछ भन्ने कुराको निर्णय दिनु पर्ने हुन आयो ।

१६. निर्णयतर्फ विचार गर्दा सवारी चलाउँदा सडकमा नै सिधै बसले किची वा ठक्कर लागी सन्तोषकुमारको मृत्यु भएको नभए तापनि चालकको अनुमतिपत्र बेगर नै अभियुक्तले साथी भाइहरूसंग बसी टन्न रक्सी खाई बसलाई बढी स्पीडमा हाँकी कन्ट्रोल गर्न नसकी दुघर्टना गराई सन्तोषकुमारको मृत्यु हुन गएको भन्ने कुरा मिसिल संलग्न सबूद प्रमाण समेतबाट प्रष्ट हुन आयो । यसरी मानिस मार्छु नै भन्ने नियतले गाडी नहाँके पनि मानिस मर्न सक्छ भन्ने सम्भावनालाई जानी जानी लापरवाही गरी गाडी हाँकेको मान्नु पर्ने हुन्छ । तसर्थ मानिस मार्ने मेरो नियत थिएन भन्ने इन्कारी जिकिरलाई सफाइको पर्याप्त आधार मान्न नमिल्ने नै हुँदा ज्या.सं.को १३(३) अनुसारको कसूरदार ठहर्‍याएको पू.क्षे.अ.को इन्साफ मनासिब नै ठहर्छ । अ.बं.१८८ नं. अनुसार सर्वस्वसहित जन्मकैद गर्दा सजायँमा चर्को पर्ने हुनाले कैद वर्ष २ सजायँ गर्नेछ भनी राय प्रकट गरेको हकमा अभियुक्त महेशकुमार गाडीको चालक नभई खलासी मात्र भएको र घटनास्थलको विवरणबाट सडकमा बसले सिधै किचेको वा ठक्कर लागी सन्तोषकुमारको मृत्यु हुन गएको नभई पिलरमा ठक्कर लागेपछि बस गाडी अनियन्त्रित भई घरभित्र पसी सन्तोषकुमारको मृत्यु हुन गएको देखिन्छ । तापनि चालकको प्रमाणपत्र बेगर नै खहरे जस्तो ओरालो बाटोमा टन्न रक्सी समेत खाई बस गाडी चलाउँदा दुर्घटना भई मानिस मर्न सक्छ भन्ने सम्भावनालाई जानी जानी लापरवाही गरी बस जस्तो भारी गाडी हाँकी दुर्घटना गराई सन्तोषकुमारको मृत्यु हुन गएको प्रष्ट भएकै हुँदा मृतकको आमाले कृया खर्च बापत र अन्य घर क्षति हुनेले नोक्सानी बापत रकम लिएको भन्दै निज अभियुक्तलाई दुई वर्ष मात्र कैद गर्ने राय प्रकट गरेको मिलेको देखिएन । निज अभियुक्तलाई तजविजी कैद वर्ष ५ हुने ठहर्छ । सो ठहर्नाले निजलाई जन्मकैद गर्ने गरी राखेको लगत काटी कैद वर्ष ५ को लगत कायम राख्‍न शुरु सुनसरी जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.प्रचण्डराज अनिल

 

इतिसम्वत् २०४३ साल पौष २३ गते रोज ४ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु