निर्णय नं. २८६८ - घर उठाई जग्गाखिचोला छुट्याई चलन चलाई पाउँ

निर्णय नं. २८६८ ने.का.प. २०४३ अङ्क ९
संयुक्तइजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४२ सालको दे.पु.नं. ७५२
फैसला भएको मिति : २०४३।९।१०।५ मा
पुनरावेदक/वादी : जि.पर्सा धोरे गा.पं.वा.नं.७ बस्ने मखुलाल राउत वरै
विरुद्ध
विपक्षी/प्रतिवादी : वीरगञ्ज न.पं.वा.नं.१३ बस्ने बिजुलीप्रसाद प्रधानसमेत
मुद्दा : घर उठाई जग्गाखिचोला छुट्याई चलन चलाई पाउँ
(१) मोही जग्गालाई साविक जग्गाधनीले बेच्न सक्ने कुनै कानुनी अधिकार समेत देखिन नआएको अतिरिक्त प्रतिवादीका लिखत जेठो देखिएको अवस्थामा केवल सर्भे कि.नं.को आधारमा मात्र वादीको विवादीत जग्गामा हक कायम गराउन नमिल्ने ।
(प्रकरण नं. १२)
पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री चूडामणीराज सिंह मल्ल
फैसला
न्या.प्रचण्डराज अनिल : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादीले यस अदालतमा दिएको निवेदनमा अनुमति प्राप्त गरी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको छ :
२. मेरो नाउँमा दर्ता रहेको जिल्ला पर्सा श्रीपुर गा.पं.वा.नं.७ कि.नं.१२८ को जग्गा सहितको ज.वि.०–०–१५ नक्शा जाँच गर्दा ज.वि.०–१–५ कायम भई मेरो नाउँमा दर्ता कायम भएको उक्त जग्गामा विपक्षीले ०३५।३।९ गते नक्शा पास नगराई जबरजस्ती घर बनाउन लागेकोमा मनाही गर्दा नमानेकोले नालेश दिएको चलीरहेको छ । उक्त झगडा परेको जग्गामा टुङ्गो नलागी हाल विपक्षीहरूले उक्त फुसको घर बिगारी पक्की घर बनाउन लागेको देखी रोक्का समेत गराउँदा भएको रोक्का समेत नमानी विपक्षीहरूले बेगर नक्शा पासमा मेरो जग्गा मध्ये पूर्व दक्षिण कुनाबाट उत्तर दक्षिण लामो फुट ३२–६ “पूर्व पश्चिम चौडाई १५–७” भएको जग्गामा जबरजस्ती पक्की १ तले घर ०३७।५।१५ गते तैयार गरेकोले मोल रु.१५५६।– जाने माथि लेखिएको पक्की घर हटाई चलन समेत चलाई पाउँ भन्ने फिराद दावी ।
३. फिरादीको जग्गा श्रीपुर गा.पं.अन्तर्गतको र हाम्रो जग्गा वीरगञ्ज नगर पञ्चायत अन्तर्गतको भई विरौटी समेत तिरी आएको ०२९ सालदेखि नै जग हाली पक्की र फुसको घर बनाई आएकोमा ०३६।१२।२६ गते आगलागी भई जलेपछि ०३६ साल चैत्र देखि पूरानै जग माथि घर बनाउन शुरु गरी बैशाख लागे पछि तैयार गरी बसोबास गरी आएका छौं । ०३७।५।१५ गते देखि घर तैयार पारेको भन्ने वादीको लेखाई झुठ्ठा हो भन्ने समेत प्रतिउत्तर ।
४. यही जग्गा सम्बन्धमा यिनै वादी प्रतिवादी बीच चलेको जग्गाखिचोला घर हटाई चलन मुद्दामा वादी दावी पुग्न नसक्ने ठहरी आजै फैसला भएको र प्रस्तुत मुद्दा पनि उही जग्गाको सम्बन्धमा देखिन आएकोले समेत वादी दावा पुग्न सक्दैन भन्ने समेत शुरु पर्सा जिल्ला अदालतको फैसला ।
५. सो फैसलामा चित्त बुझेन फिराद दावी बमोजिम गरी पाउँ भन्ने समेत वादीको नारायणी अञ्चल अदालतमा परेको पुनरावेदन ।
६. विवाद उठाएको जग्गामा वादीको हक कायम भई दे.पु.नं. २१४ को मुद्दामा आजै निर्णय भएकोले सो मुद्दा चल्दा चल्दै यस मुद्दामा विवादको घर बनाएको समेतमा वादी आएकोमा दावी नपुग्ने भनी भएको शुरुको इन्साफ मिलेको नदेखिँदा बदर हुने ठहर्छ । दावी बमोजिम बनाएको भनिएको घर हटाई चलन पाउने ठहर्छ भन्ने नारायणी अञ्चल अदालतको फैसला ।
७. सो फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने प्र. को म.क्षे.अ. मा निवेदन पर्दा पुनरावेदनको अनुमति दिइएको छ भन्ने म.क्षे.अ.को आदेश ।
८. वादीले दावी लिएको पक्की घर भएको सो जग्गामा अघि फुसको घर प्र.ले जबरजस्ती बनाएकोले सो घर उठाई खिचोला मेटाई चलन चलाई पाउँ भनी वादीले दिएको दे.पु.नं. ५९६ को मुद्दामा भइरहेको नक्शा तथा वादी प्रतिवादी राजीनामा लेखत समेतको आधारमा जग्गामा वादीको हक कायम नहुने गरी आजै फैसला भएकोले सोही आधारमा यसमा पनि वादी दावी पुन सक्दैन भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
९. उक्त म.क्षे.अ.को फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादीले यस अदालतमा निवेदन दिएकोमा विवादको कि.नं.१२८ को ४ किल्ला तीन किल्ला प्रतिवादीको राजीनामाको किल्लासंग भिडेको भनी प्रमाणको सही मूल्याङ्कन नगरी वादी दावी नपुग्ने ठहर्याएको म.क्षे.अ.को इन्साफमा रजिष्ट्रेशनको १६ नं. र प्रमाण ऐन, ०३१ को दफा ५४ को त्रुटि देखिएको हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजनबेञ्चको आदेश ।
१०. नियम बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र झिकाइएका प्रतिवादीतर्फबाट बहसमा उपस्थिति हुनुभएको विद्वान अधिवक्ता श्री चूडामणीराज सिंह मल्लले गर्नुभएको बहस जिकिर समेत सुनियो । मुख्यतया म.क्षे.अ.ले गरेको फैसला मिले नमिलेको के रहेछ सोको निर्णय दिनु पर्ने हुन आयो ।
११. निर्णयतर्फ विचार गर्दा यसमा फत्तेबहादुरसंग २०३२ सालमा राजीनामा पारित गरी लिएको श्रीपुर गाउँ पञ्चायत वडा नं.७ को कि.नं.१२८ को जग्गामा खिचोला गरी बनाएको फुसको घर हटाई जग्गाखिचोला मेटाई चलन चलाई पाउँ भन्ने समेत वादीको फिराद पर्दा चलन चलाउन नमिल्ने भन्ने गरेको शुरु जिल्ला अदालतको फैसला नारायणी अञ्चल अदालतले बदर गरे उपरमा मध्यमाञ्चल क्षेत्रीय अदालतले अञ्चल अदालतको ठहर बदर गरी, शुरु जिल्ला अदालतको फैसला नै सदर गरेकोमा वादीको यस अदालतमा पुनरावेदनको अनुमतिको निवेदनमा अनुमति प्राप्त गरी पेश भएको पाइन्छ । प्रस्तुत मुद्दामा मुख्यतया मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मिले नमिलेको के रहेछ सो को निर्णय दिनु पर्ने हुनआएको छ ।
१२. विवादीत जग्गाको दाता फत्तेबहादुर गुरुङ भएकोमा कुनै विवाद देखिन आएको छैन । कागज प्रमाण र वादी प्रतिवादी समेतले सो कुरा स्वीकार गरेको पाइन्छ । वादी र प्रतिवादीहरूको लिखत हेर्दा वादीको लिखतमा श्रीपुर गाउँ पञ्चायत वडा नं.७ कि.नं.१२८ र प्रतिवादीको लिखत वीरगञ्ज नगर पञ्चायत वडा नं.९ कि.नं.५८१ जनिएको पाइन्छ । साविक जग्गावाला फत्तेबहादुरसंग प्रतिवादीले मिति ०२८।३।२४ मा र वादीले ०३२।६।२ मा जग्गा खरीद गरी लिएकोमा पनि विवाद छैन । वादीले आफ्नो लिखतमा देखाएको किल्ला र विवादीत जग्गाको किल्ला समेत मिल्न भिड्न नआएको अतिरिक्त प्रतिवादीको जिकिरको जग्गा यो यस्तो ठाउँमा छ, भनेर देखाउन सकेको पाइँदैन । प्रतिवादीले आफ्नो प्रतिवादमा देखाएका जग्गाको विवादीत जग्गाको चारकिल्ला जिल्ला अदालतबाट भएको मिति ०३७।१०।६ मा भएको नक्शामा मिल्न भिड्न आएको छ । यसप्रकार विवादीत कित्ता जग्गा वादी र प्रतिवादीले लिएकोमा एकपटक ०२८।३।२४ मा प्रतिवादीले लिई घर समेत बनाई चलन गरी रहेको अवस्थामा मोही जग्गालाई साविक जग्गाधनी फत्तेबहादुरले बेच्न सक्ने कुनै कानुनी अघिकार समेत देखिन नआएको अतिरिक्त प्रतिवादीका लिखत जेठो देखिएको अवस्थामा केवल सर्भे कि.नं.को आधारमा मात्र वादीको विवादीत जग्गामा हक कायम गराउन नमिल्ने हुँदा वादी जिकिर पुग्न नसक्ने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको बुँदा प्रमाण समेतबाट इन्साफ मध्यमाञ्चल क्षेत्रीय अदालतको सदर हुने ठहर्छ । कोर्टफी लागी पुनरावेदन दर्ता भएको हुँदा कसैलाई केही गरी रहन परेन । नियमानुसार गरी मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. सुरेन्द्रप्रसाद सिंह
इतिसम्वत् २०४३ साल पौष १० गते रोज ५ शुभम् ।