शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २१७१ - लेनदेन

भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११

निर्णय नं. २१७१ ने.का.प. २०४१             अङ्क ११

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४१ सालको दे.पु.नं. ७९२

मुद्दा : लेनदेन

पुनरावेदक/वादी : का.जि.का.न.पं. वडा नं. ११ त्रिपुरेश्वर बस्ने कुशकुमार खनाल

विरूद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने हिमाम्सुकुमार शर्मा

फैसला भएको मिति : २०४१।११।२१।२ मा

§  कानुन अनुरूप नभएको त्यस्तो लिखतको आधारमा नालिश सुनी इन्साफ गर्न कानुनसंगत नहुने ।

(प्रकरण नं. १३)

पुनरावेदक तर्फबाट :

विपक्षी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास

उल्लेखित मुद्दा : x

फैसला

          न्या. धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी निवेदन परेकोमा पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार रहेछ ।

          २.   विपक्षीले ०३२ सालदेखि मसँग भाइ नाताको हैसियतले सापटी र ऋण लिने गर्नुहुन्थ्यो । विपक्षी र मेरो योगेन्द्रनाथ अर्जेल समेत बीच ०३२।७।२० मा घरायस सर्तनामा कागज भएको थियो । ०३२ सालको मध्यसम्ममा विभिन्न सरकारी अड्डाको समेत गरी १७।१८ लाखको ठेक्का सम्बन्धी काम लिइराखेको थियो । विपक्षी हिमाम्सुकुमारले ०३२।७।३ का दिन मेरो घर बैठकमा मसँग रू. ८०,०००। भर्पाई गरी सापट दिएको छमहीनाभित्र सावाँ ब्याज एकमुष्ट बुझाउँला भनेको आजसम्म नदिनु भएकोले सावाँ रू. ८०,०००। असीहजार र ब्याज रू. १६,३७४।५२ समेत एकमुष्ट र बिगो भरी पाउने दिनसम्मको फैसला भएसम्मको ब्याज हरहिसाब गरी विपक्षीबाट दिलाई भराई पाउँ भन्ने समेत कुशकुमार खनालको फिराद ।

          ३.   वादीबाट मैले कुनै रकम कर्जा लिएको छैन । वादी माथि मैले दायर गरेको लेनदेन मुद्दाको इवीबाट प्रस्तुत फिराद दायर गरेको तथ्य र वादीको लेखबाटै झुठ्ठा व्यहोरा हो भन्ने देखिन्छ । कुन हिसाबले भर्पाई खडा गरेको हो सक्कल भर्पाई हेरेको बखत नामाकरण गर्ने छु भन्ने समेत हिमांसुकुमार शर्माको प्रतिउत्तर ।

          ४.   मैले निजलाई लेखेको पत्रहरू मध्येको कुनै पत्रका ठाउँ खाली रहेको जतिलाई काटी मेरो हस्ताक्षरले हिमांसु दाइ भनी लेखेको भाग माथि यो कीर्ते भर्पाई खडा गरेको हो । भर्पाई साँचो व्यहोराबाट मैले लेखेको होइन भन्ने समेत हिमांसुकुमारको बयान ।

          ५.  कागज सद्दे हो, कीर्ते भनेमा वादीलाई नै सजाय गरिपाउँ भन्ने समेत कुशकुमारको बयान ।

          ६.   प्रतिवादीले वादीबाट मेरासामुन्ने रुपैयाँ लिएको हो भन्ने समेत पुरूषोत्तम अधिकारीको बकपत्र ।

          ७.  प्रतिवादीले ८० हजार रुपैयाँ बुझी भर्पाई गरिदिनु भएको मलाई थाहा छैन भन्ने शिवप्रसाद अधिकारीको बकपत्र ।

          ८.   वादीसँगबाट पेश भएका सक्कल लिखतको व्यहोरा वादी स्वयंले लखेको भन्ने कुरामा वादी सहमत हुनुहुन्छ तसर्थ सही मात्र सद्दे भए पनि कानुनले प्रमाण लाग्ने व्यहोरा लेखिएको विवादास्पद लिखत नहुँदा जालसाज कीर्तेतर्फ निर्णय दिइरहनु परेन र शरण दिने मान्छेले ऋण दिएको भर्पाई सम्म पनि प्रतिवादीबाट लेखाउन सकेको देखिएन । खाली सहीमात्र प्रतिवादीको भएको भरमा वादी दावी बमोजिमको रकम प्रतिवादीले वादीसँग लेनदेन गरेको होला भनी मान्न लायक सबूत वादीले गुजार्न नसकेकोले वादी दावी नपुग्ने ठहर्छ भन्नेसमेत का.जि.अ.को फैसला ।

          ९.   वादीलाई कीर्ते कागजको ७ नं. बमोजिम सजाय गरिपाउँ भन्ने समेत प्रतिवादीको र वादी दावीबमोजिमको रुपैयाँ भराई पाउँ भन्ने समेत वादीको दोहोरो पुनरावेदन मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेकोमा वादीले प्रमाणमा पेश गरेको कागज रीत नपुगी प्रमाणमै नलाग्ने अवस्थाको देखिन आएकोले त्यस्तो रीत नपुगेको कागजको आधारमा नालिश लिई अ.बं. ७८ नं. बमोजिम सद्दे कीर्तेमा सुनाई कारवाही गरी ठहर निर्णय गरेको काठमाडौं जिल्ला अदालतको फैसला बदर हुने र वादीको नालेश खारेज हुने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

          १०.  उक्त फैसला कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमतिपाउँ भनी वादीको यस अदालतमा निवेदन परेकोमा कागज जाँचको ८ नं. अनुसार रू. २०। सम्म जरिवाना गरी इन्साफ गर्नुपर्नेमा म. क्षे.अ.ले दावी खारेज गर्ने गरेकोमा उक्त ८ नं. को त्रुटि देखिएकोले पुनरावेदनको अनुमति दिएको छ भन्नेसमेत यस अदालत डिभिजन बेञ्चको ०४१।२।३।४ को आदेश ।

          ११.  पुनरावेदकका वारिस नरहरि घिमिरेलाई बेञ्चबाट नियमानुसार नाम पुकारी बोलाउन लगाउँदा उपस्थित हुनु नभएको र विपक्षी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री कमलनारायण दासले कानुनको रीत नपुगेको लिखतको आधारमा दायर भएको नालिश खारेज गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कुनै कानुनी त्रुटि छैन भन्ने समेत गर्नु भएको बहस समेत सुनियो ।

          १२.  प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव बेमनासिव के रहेछ सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

          १३.  यसमा निर्णयतर्फ हेर्दा वादीले प्रमाणमा पेश गरेको कागज कागजजाँचको महलको ८ नं. को रीत नपुगी प्रमाण नै नलाग्ने अवस्थाको देखिन आएकोले सद्दे कीर्तेमा सुनाई कारवाही गरी ठहर निर्णय गरेको काठमाडौं जिल्ला अदालतको फैसला बदर हुन्छ । वादीको नालिश खारेज हुन्छ भनी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भएको देखिन्छ । मिसिल सामेल रहेको वादीबाट पेश भएको लिखतको प्रकृति हेरिएमा करीब डेढ इन्चीको कागजको टुक्रामा भर्पाई दादै तिमि भाइ कुशसँग ८०,०००। बुझी लिएँ आजका ६ महीनाभित्र सावाँ ब्याज समेत तिमीलाई बुझाउँला भनी लेखिएको देखिन्छ । सो लिखतको व्यहोरामा रुपैयाँ बुझी लिनेको नाम, थर, वतन समेत केही खोलिएको पाइँदैन । त्यस्तो कागज कानुन अनुरूपको भन्न सकिने अवस्था देखिन्न । कानुन अनुरूप नभएको त्यस्तो लिखतको आधारमा नालिश सुनी इन्साफ गर्न कानुनसंगत नहुने हुँदा नालिश नै खारेज गर्ने गरेको म.क्षे.अदालतको इन्साफमा कुनै परिवर्तन गरिरहनु पर्ने अवस्था नदेखिँदा पुनरावेदन जिकिर पुग्न सक्दैन । मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । कोर्टफी लागी दायर भएको मुद्दा कसैलाई केही गरिरहनु परेन । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

 

म सहमत छु ।

 

न्या. हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०४१ साल फाल्गुण २१ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु