शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २८६९ - जालसाजी

भाग: २८ साल: २०४३ महिना: पौस अंक:

निर्णय नं. २८६९     ने.का.प. २०४३      अङ्क ९

संयुक्तइजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४१ सालको फौ.वि.नं. ८८

फैसला भएको मिति : २०४३।९।७।२ मा

 

पुनरावेदक/प्रतिवादी : जि.संखुवासभा मादी रामदेवी गा.पं.वार्ड नं. २ बस्ने लक्ष्मीप्रसाद दाहालको हकमा र आफ्नो हकमा समेत ऐ.ऐ.वडा नं.७ बस्ने तुलसीप्रसाद दाहाल

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ.वार्ड नं. ५ बस्ने यमुनादेवी उपाध्याय

 

मुद्दा : जालसाजी

 

(१)         वादीको जग्गामा प्रतिवादीले घर बनाएको भए घर बनाउनेको महल अन्तर्गत उजूर गरी आफ्नो हक कायम गराउन सक्नु पर्ने ।

(प्रकरण नं. १४)

 

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल

विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने विद्वान अधिवक्ता श्री शिवराज अधिकारी

 

फैसला

न्या.रुद्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी निवेदक प्रतिवादी लक्ष्मीप्रसाद दाहालको हकमा र आफ्नो हकमा समेत श्री ५ महाराजाधिराज सरकारको जुनाफमा बिन्तिपत्र जाहेर हुँदा इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु प्रमांगीको जनाउ बिन्तिपत्रवालालाई दिनु भन्ने हुकुम बक्स भई आएकोमा विविधको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ ।

२. विर्ता उन्मूलन ऐन अनुसार रैकरमा परिणत भई मेरा नाउँमा ३। कोदाले गरी जम्मा तिरो रु.२।४७।२ मा मेरो नाउँमा दर्ता भई मेरो हकमा भएको जग्गा मध्ये मादी विर्ता विर्ता गा.पं.वार्ड नं. ५ मा पर्ने मूल बाटो माथिको कोदाले तिरो रु.८२।२ लाग्ने ओखरे ½ बारीको दक्षिण तेर्‍हथुम जाने मूल सडक पर्ने हुनाले २०२० सालमा मूल सडकमा साइड मिलाई लम्बाई हात १७ चौडाई हात ९ को ढुड्डे गारो फुसको छानो २ तल्ला  छापेको घर मैले बनाई लक्ष्मीप्रसादलाई दोकान गर्न प्रतिवर्ष भाडा रु.२४०।मा २०२३।३।१ देखि १० वर्षको लागि बहालमा दिएको गोपालप्रसादलाई भन्दा बारी र घर समेत लक्ष्मीप्रसादले मेरा पिता तुल्सीप्रसादलाई राजीनामा दिई हक भइसकेको छ । छाडदिनु भन्दा छाड्दिन भनेकोले अन्यायीहरूले लिनुदिनु गरेको नक्कल ०३३।३।९ गते सराई ल्याई हेर्दा मेरो हकको बारी मध्ये मूलबाटो पूर्व तेर्सो धारा जाने बाटो पश्चिम २ वाटा जोडेको उत्तर मूलबाटोको भ्यागुते ढुड्डाको दक्षिणतर्फको मुडको साझो दुदिलाको रुख बुटातक दक्षिणको बारी म जमुनाबाट ०१९।१।१ मा राजीनामा लिई घर बनाएको भनी बिक्री गर्ने लक्ष्मीप्रसाद लिने तुल्सीप्रसाद साक्षी बस्ने गायत्रीप्रसाद जगन्नाथ भई रु.५२००।को अंक राखी ०३३।२।२१ गते राजीनामा पास गरेछन् मेरो जग्गा विपक्षीहरूले जालसाजबाट लिनु दिनु गरेको रु.५२००।को लेखत बदर गरी जालसाजी गरेमा सजायँ गरी पाउँ भन्ने समेतको जमुनादेवीको फिराद दावी ।

३. मैले २०२० सालमा घर बनाई भोगी आएको भाडा लिएको होइन । मैले गोपालप्रसादलाई भाडामा दिई राखेकोमा तुल्सीप्रसादले किन्न मागेकोले रु.५२००।लिई ०३३।२।२१ मा जग्गा राजीनामा गरी दिएको छु । वादीले लिखत गरी दिई वादीका लिखतबाट पिता लक्ष्मीप्रसादका हक भई भोगेको जग्गा घर पिता लक्ष्मीप्रसादले तुल्सीप्रसादलाई राजीनामा गरी दिनु भएकोले हामी जगन्नाथ गायत्री साथ साक्षी बसेका हौं । जालसाज गरेको भन्ने वादी लेख झुठ्ठा हो भन्ने समेत व्यहोराका प्रतिवादी लक्ष्मीप्रसाद समेतको एउटै प्रतिउत्तरपत्र ।

४. प्रतिवादी लक्ष्मीप्रसादले तुल्सीप्रसादलाई राजीनामा गरी दिएको ०३३।२।२१ को राजीनामा अनुसार बिक्री भएको हकमा वादीले मैले घर बनाई भाडामा दिएको हो भन्ने प्रमाण पेश गर्न नसकेको हुँदा तुल्सीप्रसादलाई बिक्री गरेको उक्त घर बिक्री सदर कायम रहने र जग्गामा वादी जमुनाको हक छुटाई लिएको प्रमाण प्र.तुल्सीप्रसादले पेश दाखेल गर्न नसकेको हुँदा लिखत अनुसार घरले चर्चेको बाहेक २ रोपनी मध्येको जग्गासम्म वादी दावी अनुसार प्रतिवादीहरूले जालसाजबाट बिक्री गरी लिनु दिनु गरेको ठहर्छ भन्ने समेत व्यहोराको शुरु संखुवासभा जिल्ला अदालतको फैसला ।

५. शुरु संखुवासभा जि.पं.को फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको वादी जमुनादेवी र प्रतिवादी तुल्सीप्रसाद उपाध्याय लक्ष्मीप्रसाद उपाध्यायको को.अं.अ.मा परेको दोहोरो पुनरावेदनपत्र ।

६. अ.बं. ७२ ले फिरादपत्र दिँदा देवानी र फौज्दारी मुद्दाको छुट्टाछुट्टै लिनु पर्ने व्यवस्था भएकोमा वादीले दावी लिएको जालसाजतर्फ कीर्ते कागजको १० नं. बमोजिम सजायँ गरी लिखत बदर गरी पाउँ भनी दावी लिएको देखिन्छ । जालसाजी मुद्दा अ.बं.९ नं.बमोजिम फौज्दारी र लिखत बदर मुद्दा अं.ब.९ नं. बमोजिम फौज्दारी र लिखत बदर मुद्दा कोर्ट फी ऐन, २०१७ को दफा ६ बमोजिम कोर्ट फी रही दायर हुने देवानी मुद्दा हो यसप्रकार देवानी र फौज्दारी मुद्दाको छुट्टाछुट्टै फिराद गर्नु पर्ने अ.बं.७२ नं.को प्रष्ट व्यवस्था भएपछि सो भए गरेको नदेखिँदा फौज्दारी र देवानी दुवै कुराको दावी लिएको देखिँदा, ऐनले दायर नहुने मुद्दा दायर गरी इन्साफ गरेको शुरुको फैसला उल्टी भई वादी दावी नै खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको को.अं.अ.को ०३५।३।२१ को फैसला ।

७. उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने वादी जमुनादेवीको निवेदन परी पु.क्षे.अ.बाट अनुमति प्राप्त भएको रहेछ ।

८. जिल्ला अदालतको फैसला उपरको प्रतिवादीको पुनरावेदनको कुनै ठहर निर्णय नगरी खारेज गरेको को.अं.अ.को फैसला मिलेको नदेखिँदा सो फैसला बदर गरी दिएको छ । प्रतिवादीको परेको पुनरावेदनमा कानुन बमोजिम जो जे बुझ्नु पर्ने बुझी ठहर निर्णय गर्नु भनी  तारेखमा रहेका दुवै पक्षलाई तारेख तोकी मिसिल को.अं.अदालतमा पठाई दिनु भन्ने पु.क्षे.अ.को फैसला रहेछ ।

९. आफ्नो स्वामित्व नभई जमुनादेवीको स्वामित्व कायम भइराखेको जग्गा आफ्नो स्वामित्व कायम गरी बिक्री गरेको हदसम्म लिखित जालसाज ठहर्‍याएको शुरु संखुवासभा जि.अ.को इन्साफ मनासिब छ भन्ने समेत व्यहोराको ०३८।८।१।२ को को.अं.अ.को फैसला ।

१०. को.अं.अको मिति ०३८।८।१।२ को निर्णयमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको जमुनादेवी उपाध्यायको पू.क्षे.अ.मा निवेदन परी अनुमति प्रदान गरिएको रहेछ ।

११. अं.अ.बाट जग्गामा प्रतिवादीहरूले जालसाज गरी लिनु दिनु गरेको ठहर गरेकोमा प्रतिवादीहरूको निवेदन परेको देखिएन । प्रतिवादी लक्ष्मीप्रसादले जग्गा सट्टा पट्टा गरी लिएकोमा सो सट्टा पट्टाको लिखत पारित भएको देखिएन । यस्तो लिखतबाट जग्गामा हक पुग्ने भएन । यस्तो हक नपुग्ने जग्गामा घर बनाउन पाउने नहुँदा बनाएको घर समेत बिक्री गरेको व्यहोरा सद्दे भन्न मिलेन प्रतिवादीहरूले वादीको हकको घर जग्गा जालसाजी गरी बिक्री गरेको ठहर्छ भन्ने समेत पू.क्षे.अ.को फैसला ।

१२. पू.क्षे.अ.को फैसलामा चित्त बुझेन दोहर्‍याई हेरी दिनु भन्ने समेत स.अ.का नाउँमा हुकुम प्रमांगी पाउँ भनी प्रतिवादी तुल्सीप्रसाद समेतले श्री ५ महाराराजाधिराज सरकारका जुनाफमा बिन्तिपत्र दिएकोमा यसमा बिन्तिपत्रको व्यहोरा साँचो भए पू.क्षे.अ.बाट मिसिल झिकाई इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भएको रहेछ ।

१३. मुलुकी ऐन घर बनाउनेको ४ नं.बमोजिम हक नपुग्ने जग्गामा कसैले घर बनाएकोमा सोही महलको ११ नं.मा भएको व्यवस्था बमोजिम उजूर गर्नु पर्नेमा सो गरेको पनि नदेखिएकोले यस्तो स्थितिमा घर बिक्री गरेको समेत जालसाजी ठहर्‍याई गरेको पू.क्षे.अ.को इन्साफ मिलेको नदेखिँदा छलफलको लागि विपक्षीलाई अ.बं.२०२ नं.बमोजिम झिकाउनु भन्ने समेत यस अदालत डिभिजनबेञ्चको मिति २०४३।५।१५ को आदेश ।

१४. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी वादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने र शिवराज अधिकारीले गर्नुभएको बहस समेत सुनियो । यसमा मेरो जग्गा र घर समेत विपक्षीहरूले जालसाजबाट लिनु दिनु गरेको लिखत बदर गरी जालसाजी गरेमा सजायँ गरी पाउँ भन्ने मुख्य वादी दावी भएकोमा आफ्नो हक नपुग्ने जग्गामा घर बनाई घर समेत जालसाजबाट बिक्री गरेको ठहर्छ भनी गरेको पू.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने देखिन आयो । घरले चर्चेको बाहेक २ रोपनी जग्गामा ०१९।१।१ को सट्टाको लिखत पारित नभएकोबाट वादी जमुनादेवीकै हक पुग्नेमा सो जग्गा सम्मको लिनु दिनु गरी बिक्री गरेको जालसाजी ठहराएको शुरुको इन्साफ सदर गरेको कोशी अञ्चल अदालतको फैसला उपर प्रतिवादीहरूले चित्त बुझाई बसेको देखिन आयो । २०१९।१।१ को सट्टा पट्टाको लिखतमा मूलबाटो पूर्व तेस्रो धारा जाने बाटो पश्चिम २ वटा जोडको उत्तर मूलबाटोको भ्यागुते ढुंगाको दक्षिण मुडका सोझो दुधिलाको बुटा तकदेखि दक्षिण यति ४ किल्ला भित्रको वखरबोटे बारी मात्र लेखिएको देखिन्छ । यदि उक्त जग्गामा लिखत गर्नु अगाडि नै घर बनेको भए सो समेत उल्लेख हुनुपर्ने थियो । यसरी सट्टा पट्टाको लिखतमा घरको उल्लेख नभएबाट वादीले सट्टा पट्टाको लिखत लेख्दाको अवस्थामा घर बनाएको देखिँदैन । २०२० सालमा घर बनाएको हो भन्ने कुरामा दुवै पक्षको मुख मिलेको देखिन्छ । २०२० सालमा घर बनाई प्रतिवादी लक्ष्मीप्रसादलाई घर भाडामा दिएको भन्ने कुराको पुष्टिको लागि वादीले कुनै कबूलियत पेश गर्नसकेको छैन र वादीका साक्षीहरूले निज वादीले नै घर बनाएको भन्ने कुराको तथ्ययुक्त रुपमा समर्थन गरी बकेको पनि देखिँदैन । प्रतिवादी लक्ष्मीप्रसादका साक्षीहरूबाट प्रतिवादीले नै घर बनाएको हो भन्ने कुराको पुष्टि भएको पाइन्छ । अतः प्रस्तुत विवादीत घर वादीले बनाएको नभई प्रतिवादीले नै बनाएको देखिन आयो । यदी वादीको जग्गामा प्रतिवादीले घर बनाएको भए घर बनाउनेको महल अन्तर्गत उजूर गरी आफ्नो हक कायम गराउन सक्नु पर्ने सो गराउन सकेको पनि देखिएन । तुल्सीप्रसादलाई राजीनामा दिएको तमसुकमा २ रोपनी बारी समेत भन्ने उल्लेख भएको हुँदा जमुनाबाट हक टुटाई लिएको रीतपूर्वकको लिखत आफूसंग नभई आफूले बनाएको घर बिक्री गर्दा आफ्नो स्वामित्वमा नरहेको २ रोपनी जग्गा समेत जमुनादेवीको हक मेटाई लिनु दिनु गरेको सम्म वादी दावी बमोजिम जालसाजी गरेको देखियो । यस स्थितिमा घर समेत जालसाजी गरेको ठहर्‍याएको पू.क्षे.अ.को फैसला मिलेको नदेखिँदा केही उल्टी हुन्छ । घर बाहेकको जग्गामा आफ्नो स्वामित्व नभई वादी जमुनाको स्वामित्व कायम भइराखेको जग्गामा आफ्नो स्वामित्व कायम गरी बिक्री गरेको हदसम्म लिखत जालसाज ठहर्‍याएको शुरुको सदर गरेको कोशी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ । तपसीलका कुरामा तपसील बमोजिम गरी मिसिल बुझाई दिनु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम पू.क्षे.अ.को इन्साफ केही उल्टी हुने भई वादी जमुना देवीलाई शुरुले गर्ने गरेको ज.रु.३२५। र अं.अ.ले गर्ने गरेको रु.३२।५० समेत जम्मा ज.रु.३५७।५० वादीलाई फिर्ता दिने गरी पू.क्षे.अ.ले कायम गरेको लगत कायम राख्‍नु परेन । शुरु र अं.अ.को फैसला बमोजिम नै असूल उपर गर्नु भनी शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु माथि इन्साफ खण्डमा लेखिए बमोजिम पू.क्षे.अ.को इन्साफ केही उल्टी हुँदा मा.न्या.श्री प्रचण्डराज अनिल र मा.न्या. श्री मोहनप्रसाद शर्माको केही उल्टीमा रेकर्ड राख्‍न स.अ.प्रशासन शाखामा लगत दिनु १

 

उक्त रायमा म सहमत छु ।

न्या. गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०४३ साल पौष ७ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु