शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २२१५ - डाँका

भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२

निर्णय नं. २२१५ ने.का.प. २०४१             अङ्क १२

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४१ सालको डि.फौ.पु.नं. ५५७

मुद्दा : डाँका

पुनरावेदक/प्रतिवादी : जि.रौतहट पिपरा पोखरिया गा.पं. वडा नं. १ बस्ने शुभनारायण भन्ने कइल राय यादव

विरूद्ध

विपक्षी/प्रतिवादी : कुलदिप साहूको जाहेरीले श्री ५ को सरकार

फैसला भएको मिति : २०४१।१२।९।६ मा

§  चोरीको १४(४) मा डाँका वारदातको जतिसुकै पटकको लागि सजायको व्यवस्था गरिएको छ । दोस्रो पटक डाँका गरेकोलाई हुने जरिवाना र सजाय भनेर सो नं. मा दोस्रो पटकको लागि मात्र छुट्टै व्यवस्था गरेको पाइँदैन । यस्तो स्थितिमा एकै मितिमा एकै रातमा एउटै वारदातको सिलसिलामा डाँका भएको देखिएकोले दोस्रो पटक डाँका गरेको कायम गर्न मिल्ने देखिन आएन ।

(प्रकरण नं. २१)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्याय

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार

उल्लेखित मुद्दा : x

फैसला

          न्या. पृथ्वीबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४०।६।१६ को फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।

          २.   ०३४।१२।१३ को रात लाठी फराठा लिएका अन्दाजी १२१३ जना नचिनेका डाँकाहरू आई लाइट बाली मेरो बाकस रहेको धनमाल डाँका गरी लगे मैले अमरूल्लाह, तुफनी ठाकुर शुभनारायण समेतलाई चिने बिगो रू. ३४७ डाँका गरेको हुँदा सो दिलाई सजाय समेत गरिपाउँ भन्ने व्यहोराको ब्रम्हदेव राउत समेतको जाहेरी दर्खास्त ।

          ३.   राम असिस, तुफानी ठाकुर, ब्रम्हदेव, इसहाक, गलीदास, नगरनाथ, सुकुदेव, सरज समेत भई डाँका गरेको हो भन्नेसमेतको शुभनारायण भन्ने कइल राय यादवको प्रहरीमा भएको कागज।

          ४.   ०३४।१२।१३ मा अन्दाजी १२ जना डाँकाले जाहेरवालाको घरमा डाँका गरेका हुन् । शुभनारायण भन्ने कइल राय, सुरूज राय र लक्ष्मी मियाँलाई चिनेको भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

          ५.  ०३४।१२।१३ मा राति डाँकाहरू आई कुटपीट गरी कुलदिप ब्रम्हदेव र मेरो घरमा समेत धनमाल डाँका गर्दा शुभनारायण सुरज राय, जगरनाथ, लक्ष्मीलाई चिनेका हौं । निजहरूलाई पक्राउ गरी धनमाल फिर्ता दिलाई सजाय गरिपाउँ भन्ने रामा महतो, फूलमतिया चमार, सिरामन चमार समेतको कागज ।

          ६.   मैले जाहेरवालाको घरमा डाँका गरेको छैन म उपर झुठ्ठा पोल गरेका हुन् भन्ने पैदीप बिक्रम शाहले प्रहरीमा गरेको कागज ।

          ७.  प्रदीप बिक्रमलाई मुद्दा नचलाई जमानीमा छाडिदिने, अन्य शुभनारायण, सुरज राय, डाँका गरेमा सावित भई पोलिएका जगरनाथ, राम असिस, तुफानी, इसहाक, ब्रम्हदेव, सुकदेव लक्ष्मी अमरूल्लालाई सावितीले नपोले पनि मौका देख्ने जाहेरवाहरूले दर्खास्तमा दावी गरेको र निजहरू लुकीछिपी बसेको हुँदा निजहरूले बिगो रू. ३२४८ को धनमाल डाँका गरेको हुँदा चोरीको १४(४) बमोजिम कारवाही सजाय गरी बिगो दामासाहीले भराई दिनुहुन भन्ने प्रहरी प्रतिवेदन ।

          ८.   प्रहरीमा भएको बयान राजीखुशीबाट भएको हैन । वारदातको दिन म मामा घरमा थिएँ भन्ने समेतको प्र.सुरज रायको अदालतमा भएको बयान ।

          ९.   वारदातको दिन म दिदी घरमा थिएँ । मैले डाँका गरेको होइन भन्ने समेत शुभनारायण भन्ने कइल रायको बयान ।

          १०.  मैले डाँका गरेको हैन भन्ने समेत जगरनाथ, लक्ष्मी मियाँ, राम असिस, तुफानी डाकुर, सुकदेव राय र लंगर भन्ने राम असिसको अदालतमा भएको छुट्टाछुट्टै बयान ।

          ११.  कुलदीपको घरमा डाँका गर्ने सुदन राय कइल रायलाई चिनेकोछु भन्ने समेतको पवित्री कमिनीको बकपत्र ।

          १२.  अन्य साक्षीहरूको समेत बकपत्र भएको ।

          १३.  प्रतिवादी मध्ये प्र. इसहाक मियाँ, ब्रम्हदेव र गलीदास चमार हाजिर नभई फरार रहेको ।

          १४.  सरजमीनका धेरै जसो व्यक्तिले शुभनारायण भन्ने कइल र सुरूजलाई देखे चिने भनेकोले जाहेरवाला कुलदीप र ब्रम्हदेवको घरमा निजहरूले डाँका गरेको ठहर्छ । सो बाहेक रामा महतो फूलमति, मिरा भन्नेको घरमा निजहरूले पनि डाँका गरेको नदेखिँदा फरार हुने बाहेक अरू प्रतिवादीले सफाई पाउने ठहर्छ भन्ने समेतको मिति ०३७।३।९ को र सावितीको पोल परेको प्र. इसहाक मियाँ र ब्रम्हदेव डाँका वारदात गरेमा इन्कार रहे तापनि इन्कारीको सबूत दिन नसकेको समेतबाट जाहेरवाला कूलदीप र ब्रम्हदेवको घरमा पहिलो र दोस्रो पटक डाँका गरेको ठहर्छ भन्ने समेतको ०३७।९।२३ को रौ.जि.अ.को फैसला ।

          १५.  प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजाय गरिपाउँ भन्ने समेतको श्री ५ को सरकारको र सो फैसला बदर गरी सफाई पाउँ भन्ने व्यहोराको शुभनारायण भन्ने कइल राय यादव१ ब्रम्हदेव हजारा दुसाध१ इसहाक मियाँ १ को म.क्षे.अ. मा पुनरावेदन परेको ।

          १६.  ब्रम्हदेव र इसहाक मियाँले सफाई पाउने ठहर्छ शुभनारायणले डाँका गरेको ठहर्‍याएको र अरू प्र.हरूलाई सफाई दिने ठहर्‍याएको इन्साफ सदर हुन्छ भन्ने समेतको म.क्षे.अ.को फैसला ।

          १७.  उक्त फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी प्र.शुभनारायण भन्ने कइल रायको यस अदालतमा निवेदन परी डिभिजन बेञ्च समक्ष पेश हुँदा यसमा एउटै मितिका विभिन्न वारदातका सम्बन्धमा डाँका मुद्दा चलेकोमा सजाय गर्दा दुई पटक डाँका गरेको मान्न नहुनेमा मानेको चोरीको १४(४) नं. को त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत आदेश भई पुनरावेदनमा दर्ता भई पेश हुन आएको ।

          १८.  नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्यायले एउटै मितिको वारदातलाई दुई वटा मान्न नहुने भन्ने समेत र विपक्षी श्री ५ को सरकार तर्फबाट खटिई उपस्थित हुनुभएको विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमारले म.क्षे.अ.को इन्साफमा कुनै त्रुटि छैन भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।

          १९.  प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ मनासिव बेमनासिव के छ भन्ने कुराको निर्णय दिनुपरेको छ ।

          २०.  निर्णयतर्फ विचार गर्दा यसमा पुनरावेदक प्रतिवादी शुभनारायण भन्ने कइल राय यादवले डाँका गरे नगरेको तर्फ हेर्दा निज आफूले डाँका गरेमा अधिकार प्राप्त अधिकारी समक्ष साविती भएको देखिन्छ । त्यस्तो सावितीलाई पुष्ट्याइँ हुने गरी जाहेरवाला ब्रम्हदेव राउत वैरको साथै सरजमीनको पवित्री कमिनी समेतले अदालत समक्ष उपस्थित भई बकपत्र गरी दिएको देखिन्छ । यस्तो स्थितिमा पुनरावेदक प्र.शुभनारायण भन्ने कइल राय यादव घटनास्थलमा रहेनछ भन्ने मिलेन अतः निजले डाँका गरेको ठहर्‍याएको म.क्षे.अ.को इन्साफ मनासिव ठहर्छ ।

          २१.  अब प्र.शुभनारायण भन्ने कइल राय यादवले दोस्रो पटक डाँका गरेको ठहर्ने वा नठहर्ने भन्ने तर्फ विचार गर्दा मौकामा परेको जाहेरी दर्खास्त हेर्दा एकै मितिमा एकै रात डाँका गरेको भन्ने देखिन्छ । प्रहरी प्रतिवेदन दावीमा पनि दोश्रो पटक पारी डाँका गरेको भनी स्पष्ट माग नगरी डाँका गरेकोले चोरीको १४(४) नं. बमोजिम सजाय गरिपाउँ भन्ने उल्लेख भएको पाइन्छ । चोरीको १४(४) मा डाँका वारदातको जतिसुकै पटकको लागि सजायको व्यवस्था गरिएको छ । दोश्रो पटक डाँका गरेकोलाई हुने जरिवाना र सजाय भनेर सो नं. मा दोस्रो पटकको लागि मात्र छुट्टै व्यवस्था गरेको पाइँदैन । यस्तो स्थितिमा एकै मितिमा एकै रातमा एउटै वारदातको सिलसिलामा डाँका भएको देखिएकोले दोस्रो पटक डाँका गरेको कायम गर्न मिल्ने देखिन आएन । प्र.शुभनारायण भन्ने कइल राय यादवले पहिलो पटक डाँका गरेको ठहरेकोले निजलाई चोरीको १४(४) नं. बमोजिम बिगोको डेढी बढाई जरिवाना र ६ वर्ष कैद हुने ठहर्छ दोश्रो पटक डाँका गरेको कायम गरी ९ वर्ष कैद हुने ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ त्यति हदसम्म उल्टी हुने ठहर्छ । तपसील बमोजिम गर्नु ।

 

तपसील

प्र. शुभनारायण भन्ने कइल राययादव के पहिलोडाँका गरेको ठहरेकोले इन्साफ खण्डमा लेखिए बमोजिम निजलाई ६ वर्ष कैद र जरिवाना रू. १४५२ लाग्ने हुन्छ । लगत कसी असूर उपर गर्नु भनी शुरू रौतहट जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु................१

मिसिल नियम बमोजिम गरी बुझाई दिने......................१

केही उल्टीमा म.क्षे.अ. का मा.न्या. द्वय श्री रूद्रबहादुर सिंह र मेघराज बहादुरको रेकर्ड राख्नु................१

 

उक्त रायमा म सहमत छु । ]

 

न्या. हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४१ साल चैत्र ९ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु