निर्णय नं. १३२२ - लुटपिटबाट उठेको हक बेहक, छोरा कायम

निर्णय नं. १३२२ ने.का.प. २०३७
फुल बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०३५ सालको फौ.पु.नं. १३
फैसला भएको मिति : २०३७।१।३।३ मा
पुनरावेदक : का.जि.न.पं.वडा नं. १० वटुटोल बस्ने बेगमविवि मुसलमान समेत
विरूद्ध
विपक्षी : ल.पु.जि.न.पं.वडा नं. २० टफालोह बस्ने नैनकुमारी थापा क्षेत्रीसमेत
मुद्दा : लुटपिटबाट उठेको हक बेहक, छोरा कायम
(१) वैवाहिक सम्बन्ध कायम रहकै अवस्थामा ९८ सालमा अब्दुल रहीमको जन्म भएको भन्ने मिसिलबाट देखिएको अन्यथा प्रमाणित हुन नआएकोले अब्दुल रहीम सो ऐसाको लोग्ने अब्दुल रेहमानकै सन्तान हो भनी प्रमाण ऐन, ०३१ को दफा ६ अनुसार अदालतले अनुमान गर्नुपर्ने ।
(प्रकरण नं. २७)
(२) ९८ सालमा अब्दुल रहीम जन्मेको भन्ने हुँदा ९७ सालको बकसपत्रमा छोरा नभएको भन्ने उल्लेख भएको कुराले त्यसभन्दा पछिको अवस्थाको कुरालाई कुनै असर पुर्याउन नसक्ने ।
(प्रकरण नं. २७)
प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
फैसला
न्या. धनेन्द्रबहादुर सिंह : अब्दुल रहमान मियाँले राजीनामा गरी दिएको जग्गामा मैले १० कर्म गरी लगाएको बाली बाबुलाल समेतले लुटपिट गरी लगेकोले बिगो भराई पाउँ भन्ने समेत व्यहोराको नैनकुमारीको वादी ।
२. वादीले जग्गा किनेको थाहा छैन जग्गा वेगम विविको र अस्मा विविको हो म मोही भई कमाएको हुँ भन्ने समेत व्यहोराको लालचा र बाबुलाल दिपीको प्रतिवादी ।
३. बाबुकी जेठी श्रीमतीतर्फका आस्मा र वेगम विवि २ छोरी र मेरी आमाबाट मेरो जायजन्म भएकोले जग्गा मैले बिक्री गरी दिएको हो भन्ने समेत व्यहोराको अब्दुल रहीमको प्रतिवादी ।
४. वादीको दाता हामीहरूको बाबुको छोरा होइन ३ पूस्ता भित्रका हकदार कोही नभएकोले हामीहरूको हक भएको जग्गा बाबुलाललाई कमाउन दिएको हो भन्ने समेत व्यहोराको आस्मा र बेगमको बयान ।
५. लिखत बदरमा उजूर नपरेकोले जग्गा वादीको ठहर्छ भन्ने समेत व्यहोराको ल.पु.जि.अ.को फैसला ।
६. १९९७।६।११ मा कान्छी आमा समेतलाई बाबुले पास गरी दिएको बकसपत्र समेतबाट अरू सन्तान नदेखिएकोले जिल्ला अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको आस्मा र बेगमको पुनरावदेन ।
७. १९९७।६।१६ गतेको बकसपत्रको लिखतबाट अब्दुल रेहमानको पुनरावेदक बाहेक अरू सन्तान नदेखिएकोले जग्गा नैनकुमारीको हक ठहराएको शुरूको इन्साफ गल्ती ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको ०२६।९।१० को फैसला ।
८. उक्त फैसला उपर चित्त बुझेन इन्साफ जाँच गरिपाउँ भन्ने व्यहोराको नैनकुमारी थापा क्षेत्रीको निवेदन पेश हुँदा इन्साफ जाँची दिनु भन्ने स.अ.इष्टेन्डिङ्ग कमिटिको निर्णय आदेश । वादी दावीको जग्गामा प्रतिवादीहरूको हक भएको प्रमाण प्रतिवादी तर्फबाट पेश हुन नसकेको वादी दावी झुठ्ठा ठहर्याएको बा.अं.अ.को ठहर नमिलेकोले छलफलको लागि अ.बं.२०२ र सर्वोच्च अदालत नियमावली बमोजिम प्रतिवादीहरूका नाउँमा नोटिस म्याद दिई झिकाई आएपछि वा अवधि नाघेपछि नियमबमोजिम गरी पेश गर्नु भन्ने आदेश ।
९. यसमा जग्गा बिक्री गर्ने अब्दुल रहिम मियाँ रहेमन राकीको छोरा हैन भन्ने प्रतिवादी बेगम असमान समेतको जिकिर देखिनाले जग्गा बिक्री गर्ने अब्दुल रहिम कसको छोरा हुनुहुन्छ त्यसतर्फ निर्णय नगरिएमा पुनरावेदन निर्णय गर्न मिल्ने देखिएन न्यायप्रशासन विविध व्यवस्था ऐन, २०१८ को दफा ५ अनुसार सो कारवाही किनारा गर्न, बागमती अञ्चल अदालतलाई यो आदेशद्वारा सौंपिएको छ निज अब्दुल रहीम मुसलमान रहमानको छोरा नभए कसको छोरा हुनुहुन्छ प्रतिवादी बेगम विवि मुसलमान असमान विवि मुसलमान समेतलाई सोधी बयान गराई प्रतिवादी र साक्षी प्रमाण समेत ऐन कानुन बमोजिम बुझी किनारा गरी त्यसतर्फ पुनरावेदन परे सो पुनरावेदन साथ र पुनरावेदन नपरे यस अदालतमा परी रहेको पुनरावेदन किनारा गर्न मिसिल पठाइदिनु भनी हाजिर रहेका पक्ष विपक्षलाई बागमती अञ्चल अदालतमा हाजिर रहने तारेख तोकी मिसिल बागमती अञ्चल अदालतमा पठाइदिनु भन्ने सर्वोच्चअदालत डिभिजन बेञ्चको ०२८।८।६ को आदेश ।
१०. अब्दुल रहीम मियाँ अब्दुल रेहमानको छोरा हैन हामी छोरी बाहेक अरू छोरा सन्तान कोही छैनन् कसको छोरा हुन् हामीलाई थाहा छैन । किन कसरी जग्गा बेचे निजै जान्लान् भन्ने समेत व्यहोराको आस्मा वेगम विवि समेतलाई पास गरी दिएको बकसपत्रबाट अब्दुल रेहमानको छोरा नदेखिएको सबूत प्रमाणको अभावमा म्याद गुजारी बस्ने अब्दुल रहीम अब्दुल रेहमानको छोरा हो भन्न नमिल्ने ठहर्छ भन्ने समेत ०२९।७।२७ को बा.अं.अ.को फैसला ।
११. बागमती अञ्चल अदालतबाट जारी भएको अब्दुल रहीमका नाउँको म्याद घर–द्वार मानिस छैन भनी अब्दुल रेहमानका नाउँमा तामेल भइआएकोले रिटको म्यादको आधारबाट बा.अं.अ.ले गरेको फैसला मिलेको देखिएन सो फैसला बदर हुन्छ सर्वोच्च अदालतका ०२८।८।६ को आदेश बमोजिम गरी पठाउनु भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३१।२।२७।१ को फैसला ।
१२. आमा आस्मा विवि मियाँ र बाबु अब्दुल रेहमानका वीर्यबाट गर्भ रही १९९८ सालमा धर्महिनामा जन्मेको हुँ बाबुको नाम अब्दुल रेहमान राखी मेरो अब्दुल रहिम मुसलमान रोधिर मुसलमान एउटै हो बाबु २००४ सालमा परलोक भए आमा २००९ सालमा परलोक हुनुभयो । बाबु आमाको शेषपछि दिदी आस्माकहाँ लगी पालनपोषण गरेको, बाजेको नाम इसलाम राकीको २०२० सालमा नेपालगञ्ज बस्ने रिवाक मुसलमानसँग विवाह गरेको निज परलोक भएकोले ०२४ सालमा राधाकुमारी क्षेत्रीनी ल्याएको हुँ ४ चार छोराछोरी जन्मेका छन मस्जिदमा नवाज पढ्न जान्दिन भन्ने समेत व्यहोराको अब्दुल रहिम मियाँको बयान ।
१३. साक्षी बुझी पेश गर्नु भन्ने यस अदालतको आदेश ।
१४. अब्दुल रहमानको छोरा हैन निजको कान्छी स्वास्नीबाट जायजन्म भएको अब्दुल रहिमले छोरा हुँ भनी किन दावा गरी आए थाहा छैन भन्ने समेत व्यहोराको बेगम विवि समेतको साक्षी कदिमुदिन मियाँले गरेको बयान ।
१५. अब्दुल रहिम मियाँको बाबु साबुन बेच्ने पसले हुन् साहू भनी बोलाउने गर्ने नाम थाहा भएन निज साबुन पसलेको छोरा अब्दुल रहिम हैन थर मुसलमान भन्ने थाहा छ । निजको आमालाई चिन्दछु नाम भने निजको पनि थाहा भएन भन्ने समेत व्यहोराको अब्दुल रहिमको साक्षी चकचा कसाईको बकपत्र ।
१६. अब्दुल रहिम मियाँ अब्दुल रेहमानको छोरा होइन जेठी स्वास्नीबाट आसमान वेगम जन्म भएपछि परलोक भएकोले कान्छी सकिना विविसँग विवाह भएको निजबाट छोरा सन्तान कोही नभएकोले अब्दुल रेहमानको छोरा हुँ भनी किन आए निजै जान्लान् कसको छोरा हुन् भन्ने समेत व्यहोराको आस्मा समेतको साक्षी नाफीस आलमको बकपत्र ।
१७. अब्दुल रहमानको जेठी स्वास्नीबाट २ छोरी मात्र जायजन्म भएको कान्छीबाट छोरा सन्तान कोही नभएको अब्दुल रहीमको कुन मनसायले अब्दुल रेहमानको छोरा हुँ भनेको होलान् सम्पत्तिमा चैन गर्ने उद्देश्यले होला भन्ने समेत व्यहोराको आस्मा समेतको साक्षी हाजिनवडिन मियाँको बकपत्र ।
१८. अब्दुल रहिमको बयान प्रमाण र बन्दमा उल्लेख गरिएको मोटर लाइसेन्स लिएको भनेको सक्कलै लिई अब्दुल रहिमलाई उपस्थित गराउनु भनी निजको वा. सूर्यबहादुरलाई तारेख तोकी पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको आदेश ।
१९. इजलासमा देखाएको मोटर लाइसेन्स नं. ८८७९ कुन मितिमा त्यहाँ दर्ता भएको रहेछ बुझी पेश गर्नु भन्ने आदेश ।
२०. बुझिएका वादीका साक्षी सुकचा कसाई समेत जना २ ले यो नाम गरेको मानिस छोरा हो भनी नाम किटानी साथ भन्न नसकी साबुन पसलेको छोरा हो भनी भनेको यसको छोरा हो भनी नाम किटानी नभएको साक्षीको बकाईलाई आधार मानी प्रमाण लिन मिल्दैन प्रतिवादीका साक्षी नदिस आलम समेत जना ३ ले वादी अब्दुल रहिम अब्दुल रेहमानको छोरा नै हैन भनी किटान साथ बकी लेखिदिएको र वादीले बयानमा मोटर चलाउने लाइसेन्स नागरिकताको प्रमाणपत्र लिएको छु भनेको इजलासमा मोटर चलाउने लाइसेन्स देखाएको छ तापनि प्रस्तुत मुद्दा पर्नुभन्दा पछि लिएको देखिएको, मुद्दा परिसकेपछि लिएको कागजलाई मान्यता दिँदै छोरा ठहर्याउन न्यायोचित नहुँदा अब्दुल रहिम अब्दुल रेहमान राकीको छोरा ठहर्दैन भन्ने समेत व्यहोराको ०३३।१।२२।२ को बागमती अञ्चल अदालतको फैसला ।
२१. बागमती अञ्चल अदालत ०२६।९।१० को फैसला उपर इन्साफ जाँची दिनु भन्ने समेत व्यहोराको सर्वोच्च अदालत स्टेन्डिङ्ग कमिटिको निर्णय आदेश ।
२२. बागमती अञ्चल अदालतको ०३३।१।२२ को फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको अब्दुल रहिम मियाँको पुनरावेदन ।
२३. यसमा बाबु ९० सालमा परलोक भएको भन्ने वेगम विवि मुसलमाननीको वा.बाबुलालले २० साल भाद्र ८ गते तत्कालीन इलाका अदालत ललितपुरमा बयान गरेको बकपत्र ९७ सालमा निजको बाबु अब्दुल रेहमानले गरी दिएको देखिएको अब्दुल रहिम अब्दुल रेहमानको छोरा नभएको कसको छोरा हो सो कुरा खुलाई आस्मा विवि र वेगम विवि समेतको वा.कुतुव मियाँले ०२९ साल श्रावण १२ गते बागमती अञ्चलमा गरेको बयानमा खुलाई भन्न नसकेको हुँदा छलफल निमित्त विपक्षीहरूलाई अ.बं.२०२ नं. र क्षेत्रीय अदालत नियमावली बमोजिम झिकाई आएपछि पेश गर्नु भन्ने आदेश ।
२४. वेगम विवि र आस्मा विविका वारेस कुतुव मियाँले अब्दुल रहीम अब्दुल रेहमानको छोरा नभए कसको छोरा हो खुलाई बयान गर्नुपर्नेमा सो खुलाउन नसकेकोले दावी प्रमाणित गर्ने दायित्व पूरा गर्नसकेको छैन ०१८।१२।२९ मा अब्दुल रहीमले घर पसल बिक्री गरिदिएको त्यसमा उजूर नपरेकोले समेत अब्दुल रहीम अब्दुल रेहमानको छोरा ठहर्छ भन्ने समेत मध्माञ्चल क्षेत्रीय अदालतको फैसला ।
२५. अब्दुल रहिमको साक्षी सुकुचा कसाही र जितबहादुर खड्गी समेतले निज अब्दुल रेहमानको छोरा हुन् भनी बकपत्र गरेको र धनी रहिम खाँ ऋणी अब्दुल रहिम भएको रजिष्ट्रेशन पास भएको ०१८।१२।२९ को पेश गरेको फार्छे राजीनामाको नक्कलबाट समेत अब्दुल रहिम अब्दुल रेहमानको छोरा देखिन आएकोले समेत उपरोक्त आधार प्रमाणबाट मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्रको राय।
२६. यसमा अब्दुल रेहमानले अब्दुल रहिम मियाँको आमा भनेको ऐसा विविलाई गरी दिएको १९९७।६।११ को बकसपत्र लिखतको व्यहोराबाट अब्दुल रहिमको पिताको नाम शेखर कटमियाँ भन्ने लेखेको देखिन्छ । प्रतिवादी अब्दुल रहिमले नैनकुमारीलाई गरी दिएको ०१७।२।१० को पारित राजीनामा लिखतमा बाजेको नाम इस्लाम राकी भनी लेखेको देखिन आएको छ । यदि अब्दुल रहिम मियाँ अब्दुल रेहमानको छोरा भए बाजेको नाम शेखकट भनी उल्लेख गर्नसक्नुपर्नेमा इस्लाम राकी भन्ने उल्लेख गरेकोबाट प्रतिवादी अब्दुल रहिम मियाँ अब्दुल रेहमानको छोरा रहेनछ भन्ने प्रष्ट हुन्छ । सोही बकसपत्रको व्यहोरामा अब्दुल रेहमानले कान्छी श्रीमती ऐसा विविबाट छोराछोरी नभएको भन्ने उल्लेख भइरहेकोले पनि अब्दुल रहिम मियाँ अब्दुल रेहमानको छोरा रहेनछ भन्ने प्रष्ट हुनआउँछ भन्नेसमेत माननीय न्यायाधीश श्री घनानाथ पन्तको राय ।
२७. माथि लेखिएअनुसार यस अदालतमा डिभिजन बेञ्चमा माननीय न्यायाधीशहरूको राय नमिली बाझिन गएकोले सर्वोच्च अदालत नियमावलीको नियम ३३(क) अनुसार यो मुद्दा यस बेञ्च समक्ष पेश हुनआएको छ । नियमानुसार दैनिक मुद्दा पेशी सूचीमा चढी छलफलको लागि पेश हुनआएको यस मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीले अब्दुल रेहमानले आफ्नो घर जग्गा आफ्नी कान्छी श्रीमती ऐसा विविलाई १९९७ सालमा बकसपत्र गरी दिँदा आफ्नो छोरा नभएको उल्लेख छ । निज अब्दुलको उमेर पनि ७६ वर्षको भएको अब्दुल रहिमले आफ्नो बाबु बाजेको नाम पनि ठीक बताउन नसकेकोले अब्दुल रहीम अब्दुल रेहमानको छोरा होइन भनी बहस गर्नुभएको छ । विपक्षी वादीतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले ०१८ सालमा यही अब्दुल रहीमले रेहमान राकीको छोरा भनी घर पसल बिक्री गरेको अदालतको फैसला अनुसार रजिष्ट्रेशन पास समेत भई कसैको उजूरबाजूर नपरी अन्तिम भइरहेको छ भन्ने समेतको बहस प्रस्तुत गर्नुभएको छ उक्त बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा वादी नैनकुमारीलाई जग्गा बिक्री गरी दिने अब्दुल रहिम मियाँ अब्दुल रेहमानको छोरा हो, होइन भन्ने मुख्य ठहर गर्नुपर्ने विषय हुनआएको छ । वादी खडा भई बयान गर्न छोरी आस्मा विवि र वेगम विविको वारेस कुतुव मियाँले अदालतमा बयान गर्दा अब्दुल रहीम राकी अब्दुल रेहमानको छोरा होइन निजको छोरो छैन केवल दुई छोरी मात्र छन् भनी बयान गरेको छ तर निजले आफ्नो बयानमा अब्दुल रहीमलाई ऐसा विविको छोरा होइन भन्नसकेको छैन अब्दुल रेहमान ऐसा विविको छोरा हो भन्ने कुरामा दुवै पक्षको मुख मिलेको छ । ऐसा विवि अब्दुल रेहमानकी श्रीमती भई १९९७ सालमा आफ्नो घर जग्गा निज ऐसालाई बकसपत्र दिएको छ । कुतुव मियाँले ऐसा विवि अब्दुल रेहमानको सत्य डगाई अरूसँग पोइल गएको भनी आफ्नो बयानमा उल्लेख सम्म पनि गर्नसकेको छैन । यसबाट अब्दुल रहिम अब्दुल रेहमानको छोरा होइन भनी प्रमाणित गर्नुपर्ने प्रमाण ऐन, ०३१ बमोजिमको दायित्व पूरा हुनआउँदैन । बाबु २००४ सालमा र आमा २००९ सालमा परलोक भएको भन्ने अब्दुल रहीमको बयान हुँदा ऐसा विवि र अब्दुल रेहमानको वैवाहिक सम्बन्ध कायम रहेको कुरामा कुनै शङ्का गर्ने ठाउँ छैन पति पत्नी वैवाहिक सम्बन्ध कायम रहेकै अवस्थामा ९८ सालमा अब्दुल रहीमको जन्म भएको भन्ने मिसिलबाट देखिएको र अन्यथा प्रमाणित हुन नआएकोले अब्दुल रहीम सो ऐसाको लोग्ने अब्दुल रेहमानकै सन्तान हो भनी प्रमाण ऐन, ०३१ को दफा ६ अनुसार अदालतले अनुमान गर्नुपर्ने हुनआएको छ, ९८ सालमा अब्दुल रहीम जन्मेको भन्ने हुँदा ९७ सालको बकसपत्रमा छोरा नभएको भन्ने उल्लेख भएको कुराले त्यसभन्दा पछिको अवस्थाको कुरालाई कुनै असर पुर्याउन समर्थ हुँदैन । तसर्थ ९७ सालको बकसपत्रमा छोरा नभएको भन्ने कुराले केही महत्त्व राख्दैन ।
२८. अब्दुल रहीमले आफू रहमानको छोरा भएको दावी लिएको छ र यसको आधारतर्फ विचार गर्दा प्रमाण निमित्त आएको रहीम खाँ मियाँको र अब्दुल रहीम राकीको लिखत पारित मुद्दा पेश भइरहेको ०१८ साल चैत्र २९ गतेको राजीनामाबाट मंगलबजारको पसल बाबु रहमान राकी मरी आमा ऐसा विविको हक हुनआएको निज आमा पनि मरी मेरो हक हुनआएको भनी निज अब्दुल रहीम राकीले राजीनामा लेखी दिएको छ १९९७ सालको लिखतमा उल्लेख गरिएका नामसँग ०१८ सालको लिखतमा अब्दुल रहीमले उल्लेख गरेका बाबु बाजेका नाम मिल्न नआए तापनि ती दुई लिखतमा चित्रण गरिएको परिस्थिति मिल्न भिड्न आएको छ, उक्त दुवै लिखतबाट अब्दुल रहमान मरेपछि सम्पत्तिको स्वामित्व ऐसा विविमा रहेको भन्ने देखिन आएको छ उक्त ०१८ सालको लिखत पारित गरिपाउँ भनी रहीम खाँको फिराद परी अदालतबाट समेत पारित हुने ठहरी फैसला भएको देखिन आएको छ ०१८ साल चैत्रमा सो लिखत लेखिएको भए तापनि आमा ऐसा विविले अगाडि देखिन लिँदै आएको कर्जा गाभी लिखत भएको र त्यस राजीनामा लिखत उपर कसैको दावी उजूर पनि नभएको हुँदा बाबु मरेपछि बाबुका हकबाट आएको पसल जग्गा समेत बिक्री व्यवहार यिनै अब्दुल रहीमले गर्दैआएको देखिन्छ वादी नैनकुमारीको राजीनामा लिखत उपर पनि कुनै प्रकारको उजूर दावी नभएको हुनाले अब्दुल रेहमान राकीको छोरा अब्दुल रहीम राकी रहेछ भन्ने देखिन आएको छ ।
२९. वारेस कुतुवले अब्दुल रेहमानको छोरा होइन भनी बयान गर्दा अब्दुल रहीम मियाँ १, करी मुहिन मियाँ १ दुईजना साक्षी दिएको छ सो मध्ये बकपत्र गर्ने साक्षी हेर्दा नसीफ मियाँले बकपत्र गरेको देखिन्छ तर कुतुवको बयानमा साक्षी दिँदा नसीफको नाउँ नै उल्लेख छैन वर्ष ४९ को अब्दुल रहीम मियाँ भनी साक्षीको नाउँ उल्लेख भएकोमा वर्ष ३६ को नसीफ आलमलाई ल्याई बकपत्र गराएकोमा त्यस्तो नामै नमिल्ने साक्षीको बकपत्र गराउन ऐनले नमिल्ने हुँदा सो बकपत्रलाई प्रमाणमा लिन मिलेन अर्को बकपत्र गर्ने साक्षी करीमुदिनले पनि अब्दुल रेहमानको छोरा होइन सम्म भनेकै छ र कुनै आधार प्रमाण खुलाई बकपत्र गर्न नसकेको हुँदा सो साक्षीको बकाईको मात्र भर गर्न मिल्ने अवस्था भएन । अब्दुल रहीमका साक्षीले निजलाई अब्दुल रेहमानको छोरा हो भनी बयान गरेकै छन् माथि उल्लिखित सबूत प्रमाण एवं कानुनी आधारबाट समेत अब्दुल रहीम राकी अब्दुल रेहमान राकीको छोरा कायम हुने ठहराएको र बाली लुटपिट गरेको ठहर्याएको समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको माननीय न्यायाधीश ईश्वरीराज मिश्रको राय मनासिव छ अरू केही गर्नु परेन मिसिल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा हामी सहमत छौं ।
न्या. त्रैलोक्यराज अर्याल
न्या. बब्बरप्रसाद सिंह
इति सम्वत् २०३७ साल बैशाख ३ गते रोज ३ शुभम् ।