शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १३५० - जालसाजी

भाग: २२ साल: २०३७ महिना: जेष्ठ अंक:

निर्णय नं. १३५० ने.का.प. २०३७

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री मिनबहादुर थापा

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०२८ सालको फौ.पु.नं. ८४९

फैसला भएको मिति : २०३५।१।२४।१ मा

पुनरावेदक : का.जि.बानेश्वर बस्ने गणेशदास श्रेष्ठ समेत

विरूद्ध

विपक्षी : ऐ घर भई भनी लेखिएको का.जि.पकनाजोल माइतीघर बस्ने सखलादेवी श्रेष्ठ

मुद्दा : जालसाजी

(१) मुलुकी ऐन अंशबण्डाको १ नम्बर अनुसार अंशबण्डा गर्दा बाबु आमा स्वास्नी छोराहरूको जिय जियको अंश लाग्नेमा अंशियार वादीको मञ्जूरी बेगर एउटा घर बुहारीको दाइजो र कुनै जेथा अंश बापत भनी लिनु दिनु गरी पास भएको लिखतबाट वादीको हक मेटिने अंश भाग सम्पत्ति नोक्सान पार्ने गरी लिने दिने काम भएकै कीर्ते कागजको ३ नं. ऐनले जालसाजी ठहर्ने भई सोही महलको १० नं. ले सजाय लाग्ने हुनाले त्यस्तो लिखत कायम रहन नसक्ने बदर हुने ।

(प्रकरण नं. १३)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रोहिणीराज सिग्देल

फैसला

        न्या. मिनबहादुर थापा : गोकुलदासको पहिलेकी पत्नी मेरी सौतातर्फबाट धर्मदास, चनकदास, गणेशदास, भक्तिदास, कृष्णदास जम्मा ५ छोराहरू मध्ये भक्तिदास र कान्छा कृष्णदास २०१७२०१८ सालमा भिन्न भई बसेका र अरू सबै सगोलमा बसी आएको अवस्थामा २०२० साल माघ २७ गते मलाई गोकुलदासले जातको रीत अनुसार विवाह गरी ल्याई सगोलमा बसी आएकामा निज पतिले ०२४ साल पौष २१ गते मलाई कुटपिट गरी घरबाट निकाला गरेकोले अंश पाउँ भनी निजहरूको नाउँमा फिराद गरेको र सगोलमा रहेको अवस्थामा नै उक्त लोग्ने छोरा धर्मदास, चनकदास, गणेशदास चार जना आगे भई ४ जना बाहेक अरू अंश दिन पर्ने अंशियार कोही नभएको भन्ने उल्लेख गरी म अंशियारको नाम नै उल्लेख नगरी अंशबाट वञ्चित गराउने उल्लेख गरिएको जो भएको श्रीसम्पत्ति दाजु धर्मदास बाबु गोकुलदास समेतसँग मिली बस्न हामी चनकदास, गणेशदास मञ्जुर नभएबाट चल धनमाल घरसारमा लिई दिइसकेका अरू बण्डा गर्नुपर्ने अचल बण्डा गरी लिनुपर्ने हो तापनि सो गर्न असजिलो परेकोले चनकदासको स्वास्नी कृष्णकुमारीको दाइजो पेवा धनबाट हामीहरू अंशियार ४ जना सगोलमा छँदाछँदै म चनकदासले मोहनलालसँगै २०२२।११।१८ मा फार्छे गरी लिएका घर भाउजू बुहारीको दाइजो धन भन्ने उल्लेख गरी म समेतको अंश लाग्ने सगोलको धनबाट खरीद भएकोमा सो घरमा मेरो पनि हक दावी अंश लाग्ने अचलमा पनि हामी चनकदास र गणेशदासले तपसीलको घरमा अंश भाग बापत छुट्टाछुट्टै लिनुदिनु भन्ने व्यहोरा पारी जालसाजी कागज ०२४।६।७।५ को घरसारको मिति पारी ०२४।९।२३।१ मा पास गरी उक्त ४ जना र पति गोकुलदासको छोरी ज्वाई भानिज समेत साक्षी राखी गराएको लिखत बदर गरी सजाय समेत पाउँ भन्ने समेत सखलादेवीको वादी ।

        २.  बण्डा पत्र गरी छुट्टिएकोलाई सगोल भन्न नमिल्ने वादी २०।१०।२७ मा विवाह गरी वा टिपुवा गरी ल्याएको थाहा छैन, घरमा आई बसेका पनि छैन कुटपिट गरी निकालेको पनि छैन, बाबुले दिएको लिई छोडपत्र गरी दिएको हुँदा वादीले पाउनुपर्ने भए बाँकी भए बाँकीबाटै पाउनुपर्ने हुँदा दबाउने अवस्था नै छैन । वास्तवमा विवाह भएको भए लोग्नेले दबाउनु नपर्ने र अंशियारमा नाम हुनुपर्ने नभएबाट साथै अंशबण्डाको १९(४) ले आफ्नो हकको र अंशबण्डा नभए पनि लेखी दिनु पाउने हुँदा अरूले लेखिदिएकोमा वादी १ जनाको उजूरमा अरूका हकमा दावी अ.बं.८२ नं. ले पुग्न नसक्ने हुँदा समुच्चै लिखत बदर गरिपाउँ भन्ने र जालसाजी गर्‍यो भन्न वादीले कानुनी हक नभएकाले खारेज गरी झुठ्ठा दावी लिएकोले सजाय समेत गरिपाउँ भन्ने समेतको गणेशदास चनकदासको संयुक्त प्रतिउत्तर पत्र र सोही मिलानका धर्मदासको प्रतिउत्तर पत्र ।

        ३.  वादीलाई ससुरा गोकुलदासले विवाह गरी ल्याएको वा त्यसै ल्याएको थाहा छैन, निजको घरमा आई बसेको समेत थाहा छैन, अंश बापत छोडपत्र गराई लिने ससुरा गोकुलदास जेठाज्यू धर्मदास छोडपत्र गर्ने साला चनकदास गणेशदास हुँदा लेनदेन व्यवहारमा साक्षी बस्न हुन्छ भन्ने कानुन थाहा नभएकोले अन्तर साक्षी बसेको हुँ लिने दिने मञ्जूर भई सहिछाप गरी दिइसकेपछि अन्तर साक्षी बस्नेले जालसाज गरी साक्षी हुनुपर्ने कारण छैन भन्ने समेतको चन्द्रकृष्ण श्रेष्ठको प्रतिउत्तर पत्र ।

        ४.  वादीलाई मैले रीत अनुसार विवाह गरी ल्याएको मेरो कान्छी श्रीमती हुन्, मैले जालसाजी गर्न वा गर्न लगाउने कारण छैन जेठीपट्टीको छोराहरूले तपाईको शेषपछि कान्छी आमाले दुःख देलिन श्री सम्पत्ति वादी समेतले खाने गरी कागज गरी दिनुपर्‍यो भनेबाट म ६९ वर्षको वृद्ध आँखाले पढ्न पनि नसक्ने हुँदा सहिछाप गरी दिएका हुन् । वादीले पछिबाट रजिष्ट्रेशनबाट कागज सारी ल्याउँदा यस किसिमको कागज खडा गरेको हो भन्ने थाहा पाएँ मैले कुन किसिमको जालसाज गरेको छैन भन्ने समेत गोकुलदासको प्रतिउत्तरपत्र ।

        ५.  मामा गोकुलदासले निज वादीलाई विवाह गरी ल्याएको वा त्यसै ल्याएको समेत मलाई थाहा छैन विवाह गरी ल्याएको भए अंशियारमा उल्लेख गर्नुपर्ने उल्लेख भएको छैन विवाह गर्नसक्ने मानिसलाई जालसाज गरी झुक्याई कागज गराएको हो भन्ने न्यायसंगत नहुने गराएकै भए करकाप उजूर हुनुपर्ने सो उजूर नभएबाट फिराद खारेज हुनुपर्ने र दुवैको लिनुदिनु भइसकेपछि अन्तरसाक्षी बसेको हुन् भन्ने समेतको रामकृष्ण श्रेष्ठको प्रतिउत्तरपत्र र सोही मिलानको गोविन्द डंगोल र रामनाथसमेतको संयुक्त प्रतिउत्तरपत्र ।

        ६.  वादीलाई प्रतिवादी गोकुलदासले जातको रीत पुर्‍याई घरमा ल्याए राखेकी स्वास्नी हुन जेठी पट्टिको छोरा गणेशदास धर्मदास चनकदासले झुक्याई कागज गराएको हो भनी प्रतिवादीमा लेखाएको देखिएकोले प्रतिवादी धर्मदास गणेशदास चनकदासले वादी हाम्रो कान्छी आमा होइनन् भन्ने प्रतिवाद भएकोमा दुवैको भनाई मिल्न आएन २०२४।९।२३ मा रजिष्ट्रेशन पास भएको प्रतिवादीहरूले लिनुदिनु गरेको अंश छोडपत्र लिखतमा प्रतिवादी गोकुलदास, धर्मदास चनकदास गणेशदास ४ जनाले आफू ४ जनामात्र अंशियारको अंश भएको र सो लिखतबाट वादीको हक छुटाएको र वादी अंशियार हुन भन्ने समेत उक्त छोडपत्रको लिखतमा नदेखाएको हुँदा यस्तो लिखत अंशबण्डाको १९ नं. को देहाय २ दफाले कायम रहन नसक्ने हुँदा बदर गरी दिने ठहर्छ भन्ने समेत का.जि.अ.को फैसला ।

        ७.  का.जि.अ.ले गरेको फैसलामा चित्त बुझेन हक इन्साफ गरिपाउँ भन्ने समेतको पुनरावेदकहरूको बा.अं.अदालतमा पुनरावेदन ।

        ८.  सबूत प्रमाणबाट वादी गोकुलदासको स्वास्नी देखिन आउँछ र लिखत हुँदाको अवस्थामा वादीलाई अंशियार नदेखाई ४ जनाको हक मात्र देखाई गरेको छोडपत्र र दाइजो पेवाबाट खरीद भएको भनी देखाएको घर पनि कृष्णकुमारी पुनरावेदक भएको हक कायम गरिपाउँ भन्ने मुद्दामा आजै दाइजो पेवाको धनबाट खरीद भएको नठहरी फैसला भएकोमा कीर्ते कागजको ३ दफाले जालसाजी गरेकै देखिने हुँदा विपक्षका दावी बमोजिम प्र.हरूले जालसाजी गरेकै सम्म ठहर्छ । सो लिखत बदर वातिल गरिपाउँ भन्ने वादी भएको शुरू जि.अ.ले सो लिखतलाई अ.बं.१९(२) ले कायम नरहने हुँदा बदर हुने भनी दावी भन्दा बढी लेखेकोसम्म ठहर्छ जालसाजी गरेकै देखिएकोले समेत लिखत बदर हुने ठहर्छ । पुनरावेदकको अरू पुनरावेदन जिकिरतर्फ विचार गरिरहनु परेन भन्ने समेतको बा.अं.अ.को फैसला ।

        ९.  अं.अदालतले गरेको फैसला चित्त बुझेन हाम्रो पुनरावेदन जिकिर हेरी हक इन्साफ गरिपाउँ भन्ने समेतको पुनरावेदन जिकिर ।

        १०. यसमा ०२४ साल पौष २३ गते चनकदास र गणेशदासले अंश बापत केही लिई छोडपत्र गरी रजिष्ट्रेशन पास गरेको रहेछ अंशबण्डा पत्रसँग बेगल रूपले छोडपत्र खडा हुने र गोश्वारा अंशियारहरूमध्ये कुनै अंशियारलाई केही लिई छोडपत्र गरेकोमा घरको मुख्य जानकार बाबु गोकुलदासको सहिछाप परी लिखत खडा भएकोमा सो लिखत सदर हुन आई जालसाजी भन्ने सखलादेवीको दावी नपुग्ने हुँदा छलफल निमित्त २०२ नं. र स.अ.नियमावली बमोजिम सखलादेवीलाई झिकाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने ०२९।७।२४।४ को सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेश ।

        ११. पुनरावेदक गणेशदासको वारेस भई आफ्ना हकमा समेत तारेखमा रहेको चनकदास र झिकाइआएका विपक्षी वादी सखलादेवीलाई रोहवरमा राखी पुनरावेदकहरूतर्फका विद्वान अधिवक्ता रोहिणीराज सिग्देलले बहस गर्नुभएको प्रस्तुत मुद्दामा निम्न विषयको निर्णय गर्नु परेको छ ।

(१) प्र.चनकदासहरू समेत सगोलका एकाघरमा छँदै वादी र गोकुलदासको स्त्री पुरुष सम्बन्ध भइसकेको थियो थिएन ?

(२) ०२४।९।२३ को अंश छोडपत्र लिखित बदर हुने नहुने के हो ?

        १२. पहिलो प्रश्नतर्फ २०२०।१०।१७ मा गोकुलदासले मलाई विवाह गरेको भन्ने वादीले लेखेको कुरालाई प्रतिवादी गोकुलदासले स्वीकार गरेको र निज गोकुलदासको जेठीतर्फका छोरा पुनरावेदकहरूले सो कुरा स्वीकार नगरी वादीलाई बाबु गोकुलदासले स्वास्नी ल्याएकै थाहा छैन भए पनि लिखत बदर नहुने भनी प्रतिउत्तरमा गोलमटोल लेखाई भई अंश मुद्दातर्फको पुनरावेदनमा बण्डापत्र छोडपत्र भइसकेपछि स्वास्नी ल्याई यो मुद्दा गरेको हो भनी चनकदासले लेखेको र दुवै पक्षका साक्षीहरूको बकपत्रबाट समेत स्त्री पुरुषको सम्बन्ध भएको भन्ने वादीको दावी साँचो हुनआएको र पुनरावेदकहरू अंश छुट्टिई लिखत रजिष्ट्रेशन पास भई सकेपछि मात्र वादी अंशियार हुनआएको भन्ने प्रतिवादी सौतिनी छोराहरूको भनाईलाई निजहरूका साक्षीले बकपत्र गर्दा ०२४ साल माघ २ गते वादीलाई गोकुलदासले स्वास्नी ल्याएको हो भनी अञ्चल अदालतले साक्षीहरू झिकाई बुझ्दा बकपत्र गरेको हुनाले त्यसपछि दिएको पुनरावेदनमा मात्र सौतिनी आमा हुन भनी स्वीकार गरेकोबाट भरसक अंशियारै होइनन् भन्न खोजेमा अब मितिकोसम्म जिकिर लिए पनि प्रतिवादीका साक्षीले ०२४ साल माघ २ गते ल्याएको भनेको ०२४।९।२३ मा लिखत पास भएको र ०२४।१०।२१ मा यो फिरादपत्र दायर भएको हुँदा प्रतिवादीको साक्षीको भनाई साँचो भनी मानिएमा लिखत पास भएको १० दिनपछि स्वास्नी हुन आएकी र १९ दिनेकी दुलही वादीले लोग्ने र सौतेनी छोराहरू उपर विवाह भइआएँदा आउँदै अंशबण्डा बदर गराउन मुद्दा चलाई दिएकी रहिछन् भन्नुपर्ने हुन्छ त्यसकारण प्रतिवादीका साक्षीका भनाई मितिलाई मान्यता दिनु नहुने भई विवाह गर्ने दुलाहा गोकुलदासको भनाई मिलान २०२० सालमै विवाह भएको हो भनी बकपत्र गर्ने वादीको साक्षीको भनाई साँचो देखिन आएकोले वादी र गोकुलदासको वैवाहिक सम्बन्ध भएको मिति २०२० साल माघ २७ गते कायम गरेको शुरू र अञ्चल अदालतको ठहर मिलेकै छ ।

        १३. लिखत बदर गरिपाउँ भन्ने वादी दावीतर्फ ०२४।९।२३ मा रजिष्ट्रेशन भएको लिखतमा परिवारमा भएसम्मका सबै व्यक्तिहरूको नाम उल्लेख हुनुपर्ने गोकुलदासको कान्छी श्रीमती वादी सरवलादेवी छन् भन्नेसम्म पनि नजनाई जेठी रत्नमायातर्फका छोराछोरी र गोकुलदासको मात्र परिवारमा नाम र अंश भाग देखाएको छ । मुलुकी ऐन अंशबण्डाको १ नम्बर अनुसार अंशबण्डा गर्दा बाबु आमा स्वास्नी छोराहरूको जिय जियको अंश लाग्नेमा अंशियार वादीको मञ्जुरी बेगर एउटा घर बुहारीको दाइजो र कुनै जेथा अंश बापत भनी लिनु दिनु गरी पास भएको लिखतबाट वादीको हक मेटिने अंश भाग सम्पत्ति नोक्सान पार्ने गरी लिने दिने काम भएकै कीर्ते कागजको ३ नं. ऐनले जालसाजी ठहर्ने भई सोही महलको १० नं. ले सजाय लाग्ने हुनाले त्यस्तो लिखत कायम रहन नसक्ने बदर हुने कुरा स्पष्ट छ ।

        १४. घरको मुख्य मालिक गोकुलदास र छोरा धर्मदासले जेठीतर्फको छोरा चनकदास गणेशदासलाई रजिष्ट्रेशन पास गरी दिएको सो लिखत वादीको मञ्जुरी नभए पनि पूरै लिखत सदर हुने भन्ने र सो लिखत गरी दिने कारणीहरूको अंश भाग जति मात्र पाउने छोरा बुहारीहरूको हक हुने गरी लिखत आंशिक रूपमा सदर हुने हो भनी तर्क उठइएकोमा अंशबण्डा नभएको सगोलको जेथामध्ये केही जेथा कुनै अंशियारलाई भागबण्डा दिँदा अंश नभइसँग बसेका त्यस सम्पत्तिमा अंश पाउने अरू अंशियारको मञ्जुरी नलिई भाग बण्डा वा छोडपत्र गरी बकसपत्र दिएको अंशबण्डाको २८ नं. बमोजिमको रीत नपुग्ने र एकभन्दा बढी स्वास्नी हुनेले मन परेकोलाई मात्र बकसपत्र समेत केही व्यहोराले दिएको अंशबण्डाको १९ नं. को २ दफाले सदर नहुने सगोलका छोरा चनकदासको नामबाट खरीद भएको घर र सौतेनी छोरा चनकदास गणेशदासको अंश भाग भनी लिए दिएका जेथाबाट समेत वादीले अंश भाग पाउने हुँदा कीर्ते कागजको ऐन अन्तर्गत फौजदारी मुद्दा दायर भई जालसाजी ठहरेको लिखत समूचा वा आंशिक रूपमा पनि सदर कायम राख्न मिल्ने देखिँदैन ।

        १५. तसर्थ प्रतिवादीहरूले ०२४।९।२३ मा रजिष्ट्रेशन गरेको अंश छोडपत्रको लिखत बदर गरी जालसाजीमा सजाय गर्ने ठहराई काठमाडौं जिल्ला अदालतले छिनेको सदर गरी बागमती अञ्चल अदालतले फैसला गरेको मनासिव छ । पुनरावेदन गरेमा चनकदास गणेशदास श्रेष्ठके जनही शुरू जरीवाना रु.५०। को अदालती बन्दोबस्तको २०३ नं. ले सयकडा ५ ले जनही रु.२।५० दुई रूपैयाँ पचास पैसाका दरले थप जरीवाना हुन्छ गणेशदासको वारेस र चनकदास रुजू हुँदा ऐन बमोजिम असूल गर्न का.जि.अ.त.फाँटमा लगत दिई नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०२९ साल मार्ग १२ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु