निर्णय नं. १३७५ - अंश जग्गा दर्ता

निर्णय नं. १३७५ ने.का.प. २०३७
डिभिजन बेञ्च
सम्मानीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३७ सालको देवानी विविध नं. ४९
फैसला भएको मिति : २०३७।५।२।२ मा
निवेदक : जि.सि.गा.पं. पोरताहा वार्ड नं. ३ मौजे खरिहानी बस्ने रघुनाथ यादवसमेत
विरूद्ध
विपक्षी : जि.सि.मौजे खरिहानी ऐ. ऐ. गा.पं. बस्ने लडुवती यादवनी
मुद्दा : अंश जग्गा दर्ता
(१) अंश हकको जग्गा वादी प्रतिवादीका नाउँमा अलग–अलग दर्ता रही आ–आफ्नो भाग भोगी आएको भएपछि, वादीले कानुनले नै अंशमा दावा लिन नपाउने ।
(प्रकरण नं. १४)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी
फैसला
न्या. सुरेन्द्रप्रसाद सिंह : हुकुम प्रमांगीबाट दोहरिई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिमको छ ।
२. मूल पुर्खा फेकनको २ छोरा मध्ये जेठा रामी र कान्छा ऐठहवा रामीको छोरा विलट, विलटको छोरा हितलाल, र हितलालकी श्रीमती म फिरादी हुँ । ऐठहुको छोरा सगम र सगमको छोरा विपक्षहरू हुन विपक्षहरू र म फिरादी ४ पुस्ता टाढाका हौं तापनि रामीको मृत्यु भएको हुनाले देवर जेठाज्यू ऐठसँग विवाह गरी विलट र सगम एउटै आमाबाट जन्मेका हुन् । पति हीतलाल छउन्जेल सबै सँगोलमा थियो, निजको मृत्युपछि ०२४ सालमा मंसीर १ गते देखि मानो छुट्टिई बेगल बसेका छौं चल अचल श्रीसम्पती भागबण्डा गरी नदिएकाले २ भागको १ भाग दिलाई दर्ता समेत गराई पाउँ भन्ने समेत लडुवती यादवनीको फिरादपत्र रहेछ ।
३. १९७५ सालमै विपक्षीका ससुरा रामी र हाम्रा बाजे ऐठहुँ छुट्टिई बेगल भई बसेका हुन् विपक्षको दावाअनुसार हामीले अंश दिनुपर्ने होइन भन्नेसमेत प्रत्युत्तरपत्र रहेछ ।
४. दावी प्रतिवादीहरूका बीच अंशबण्डा भई बसेको भन्ने कुरा प्रतिवादीबाट पेश दाखिल भएको १ र ७ नं. फाराम समेतबाट देखिएको र जग्गा पनि वादी प्रतिवादीको नाउँमा छुट्टाछुट्टै दर्ता भएको समेत देखिएकोले प्रतिवादी उपर अंश दिलाई पाउँ भन्ने दावा पुग्न नसक्ने ठहर्छ भन्ने समेत सिराहा जिल्ला अदालतको फैसला रहेछ ।
५. सिराहा जिल्ला अदालतको इन्साफमा चित्त बुझेन अंश दिलाई पाउँ भन्ने लडुवती यादवनीको पुनरावेदन पत्र रहेछ ।
६. अ.बं.२०२ नं. बमोजिम विपक्षी झिकाउने भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चको र प्रतिवादीबाट तायदाती लिनु भन्ने डिभिजन बेञ्चको आदेश रहेछ ।
७. विपक्षी प्रतिवादीको जिकिर अनुसार पुनरावेदक अघि नै बण्डा लिई छुट्टिइसकेको भए सो को कानुनी रीत पुगेको लिखत अथवा प्रमाण अनिवार्य रूपले पेश गर्नसक्ने पर्ने थियो, सो देखिन आएन, परिवारका सदस्यहरूमा, जग्गा बेगल–बेगल दर्ता भएको कारणले मात्र अंशबण्डा भइसकेको भनी शुरूले दावी नपुग्ने ठहराएको कानुनसंगत भएन, कारण जग्गा अलग भएको कारणले मात्र छुट्टिई भिन्न भएको ठहर्याउन कानुनले नै नमिल्ने हुँदा पुनरावेदक वादीले दाखिल भएको तायदातीबाट आधा अंश पाउने ठहर्छ भन्ने समेत ०३३।९।५।१ गतेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला रहेछ ।
८. सो उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत रासलाल यादवको निवेदन परेकोमा कानुन बमोजिम गर्नु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०३४।९।२६।३ को आदेश रहेछ ।
९. सो उपर इन्साफ जाँच गरिपाउँ भनी निवेदक प्रतिवादी रासलाल समेतले श्री ५ महाराजाधिराजका हजूरमा विशेष जाहेरी विभाग मार्फत चढाउनुभएको बिन्तिपत्रमा व्यहोरा साँचो भए पूर्वाञ्चल क्षेत्रीय अदालतबाट ०३३।९।५ मा छिनिएको अंश मुद्दाको मिसिल झिकाई त्यस अदालतबाट इन्साफ जाँची कानून बमोजिम गरी छिनी दिनु निवेदकहरूलाई जनाउ दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भन्ने मुख्य पदाधिकारी विशेषजाहेरी विभागको ०३३।१२।२२।३ को प्रमाणित छाप र दस्तखत ।
१०. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको नदेखिँदा अ.बं.२०२ नं. बमोजिम विपक्षी वादीलाई झिकाई पेश गर्नु भन्ने समेत ०३६।१२।१४।५ को डिभिजन बेञ्चको आदेश ।
११. नियम बमोजिम दैनिक कजलिष्टमा चढी यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाका वा.स.निवेदक रासलाल यादव र विपक्षी वादी लडुवतीको वा.बजनन्दन रायलाई रोहवरमा राखी निवेदक तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान अधिवक्ता यादवप्रसाद खरेल र विपक्षी वादीको तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान अधिवक्ता होराप्रसाद जोशीले प्रस्तुत गर्नुभएको बहस समेत सुनियो ।
१२. यसमा १९७५ सालमा नै विपक्षका ससुरा रामी र हाम्रा बाजे ऐठहुँ छुट्टिई बेगल भई बसेका हुन्, हाम्रो अंशको जग्गा बाजे ऐठहुँ त्यसपछि पिता सगम त्यसपछि म रासलालको नाउँमा दर्ता रही आएको र वादीको लोग्ने हितलालको नाउँमा निजको अंश हकको जग्गा दर्ता रही विपक्षी वादी समेतले भोग चलन गरी आएको र २००४ सालको सर्भे नापीमा विपक्षको लोग्ने हितलाल र प्रतिवादी म रासलालको नाउँमा आ–आफ्नो अंश भागको जग्गाको जग्गा दर्ता भएको भन्ने प्रतिवादी जिकिर भएको र मिसिलमा पेश भएकै १ नं. ७ नं. फारामको महलबाट पनि वादीको लोग्ने हितलाल वादी लडुवती यादवनी प्रतिवादी रासलाल यादव समेतको नाउँमा जग्गा बेग्ला बेग्लै दर्ता भएको देखिएबाट वादी प्रतिवादी दुवै पक्षले आ–आफ्नो अंश भागको जग्गा भोगी आइरहेको देखिन्छ वादी प्रतिवादीहरूको नाउँमा जग्गा अलग–अलग दर्ता रहेको कुरा वादीले समेत फिराद लेखमा स्वीकार गरेको पाइन्छ ।
१३. मुलुकी (सातौं संशोधन) ऐन, २०३४ द्वारा संशोधित अंशबण्डाका ३० नं. मा अंशबण्डा गर्दा साक्षी राखी कानुन बमोजिम बण्डा छुट्याई बण्डापत्रको कागज खडा गरी लिने दिने र साक्षीको समेतको सहिछाप गरी रजिष्ट्रेशन गर्नुपर्नेमा सो गरी राख्नुपर्छ सो बमोजिम नभएको बण्डा सदर हुँदैन । तर यो ऐन प्रारम्भ हुँदा सम्ममा बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नो–आफ्नो हिसाब भाग शान्ति बमोजिम आफ्नो–आफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बण्डा भइसकेको ठहरेमा पछि बण्डापत्र रजिष्ट्रेशन भएको छैन वा बण्डा घटी बढी असल कमसल भयो भन्न पाउँदैन, रजिष्ट्रेशन नभए पनि बण्डा भएको सदर हुन्छ भन्ने समेत व्यवस्था भएको पाइन्छ ।
१४. उपरोक्त व्यवस्थाबाट २००४ सालमा नै अंश हकको जग्गा वादी प्रतिवादीका नाउँमा अलग–अलग दर्ता रही आ–आफ्नो भाग भोगी आएको भएपछि, वादीले कानुनले नै आंशमा दावा लिन नपाउनेमा पनि, छुट्टिइसकेको भए कानुनको रीत पुगेको लिखत अथवा प्रमाण प्रतिवादीहरूले पेश गर्नुपर्ने सोको अभावमा कानुनले बण्डा भएको मान्न नमिल्ने भनी विपक्ष वादीलाई अंश दिने गरी शुरूको फैसला बदर गरी भएको पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३३।५।९ को फैसला मिलेन, वादीको अंशमा दावा नपुग्ने ठहराएको शुरू सिराहा जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफखण्डमा लेखियाबमोजिम क्षे.अदालतको फैसला बदर हुने ठहरेकाले सो फैसलाले प्रतिवादीहरूबाट वादीलाई दिलाई दिने गरेको कोर्टफी रु.१०६३।६४ दिलाउनु नपर्ने हुनाले व्यहोरा जनाई लगत कट्टा गर्नु भनी शुरू सिरहा जिल्ला अ.मा लेखी पठाउन का.जि.अ.मा लेखी पठाउनु.................... १
माथि इन्साफ खण्डमा लेखिया बमोजिम क्षेत्रीय अदालतको फैसला बदर भई शुरूको इन्साफ बदर हुने ठहरेकाले पूर्वाञ्चल क्षेत्रीय अदालतका फैसलाले इन्साफ उल्टीमा तत्कालीन सिराहा जिल्ला अदालतका जि.न्या. प्रेमप्रसाद उपाध्यायको रिकर्ड राख्ने गरेको रिकर्ड राख्न पर्दैन भनी व्यहोरा जनाई राख्न पू.क्षे.अ.प्रशासन शाखालाई लेखी पठाउन स.अ.प्रशासन शाखामा लगत दिनु........................ २
मिसिल नियम बमोजिम गरी बुझाई दिनु........................ ३
मेरो सहमति छ ।
प्र.न्या. नयनबहादुर खत्री
इति सम्वत् २०३७ साल भाद्र २ गते रोज २ शुभम् ।