निर्णय नं. १३८० - लेनदेन

निर्णय नं. १३८० ने.का.प. २०३७
डिभिजन बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३६ सालको दे.फु.नं. २०१
आदेश भएको मिति : २०३७।५।१८।४ मा
पुनरावेदक : जि. बारा रामपुर गा.पं.वार्ड नं. ४ बस्ने अजिज मियाँ
विरूद्ध
विपक्षी : श्री बाँसबारी छाला जुत्ता कारखाना प्रा.लि.बाँसबारी काठमाडौं
मुद्दा : लेनदेन
(१) बुझाउन बाँकी ठहराएको रकम बुझाउन नपर्ने अथवा बुझाइसकेको भन्ने देखिने तथ्य सबूत प्रमाण पुनरावेदक प्रतिवादीबाट आएको नदेखिएकोले प्रतिवादीले बुझाएको देखिएको रसिद भर्पाईको रकम कट्टी गरी अरू बाँकी रकम र त्यसको ब्याज समेत भराई दिने गरेको म.क्षे.अ.को इन्साफ मनासिव ठहर्ने ।
(प्रकरण नं. ११)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा
फैसला
प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत मुद्दामा क्षेत्रीय अदालतबाट भएको निर्णय उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी पुनरावेदक प्रतिवादी अजिज मियाँले दिएको निवेदनमा डिभिजन बेञ्चबाट पुनरावेदन गर्ने अनुमति प्राप्त भई पुनरावेदनको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ ।
२. मुद्दाको विवरण यस प्रकार छ : विपक्षसँग भएको ०२२।११।१६ का कबूलियत अनुसार विपक्षीले ०२५ साल भाद्र मसान्त तक वर्ष २ महीना १० को निमित्त बारा, पर्सा, रौतहट, चितवन समेत ४ जिल्लाको गनिकिस्ता बुझाउने गरी चर्सा रकमको ठेक्काको कटकीनदारी लिने गरी सम्झौता गरेका हुन् उक्त सम्झौता अनुसार बुझाउनुपर्ने किस्ता समय–समयमा नबुझाई प्रत्येक समयको कम–कम बुझाएको र आखिरमा आई ०२३।१२।२९ का दिन रु.४४३।७३ को रकम जम्मा भए गरेको र ताकेता गर्दा समेत बुझाउनुपर्ने रकम नबुझाएको र जम्मा बुझाउनुपर्ने रकम रु.६३३३४।३७ मध्ये पटक–पटक बुझाएको छाला र नगद प्राप्त भएको रु.२०६४५।८० कट्टा गरी बाँकी हुनआएको रु.४२६८८।५७ र सुद समेत बुझाउन ल्याउनु र ०२४।३।३० गते देखि सम्झौता तोडीयो भन्ने समेत व्यहोराको पत्र विपक्षीलाई ०२४।४।१ मा पठायो ।
३. सम्झौता अनुसार निजले बुझाउनुपर्ने छाला मध्ये निजले पटक–पटक बुझाएको छाला थान १४०६ कट्टा गर्दा बाँकी लिनुपर्ने छाला थान ११३७४। हुनआएकोले प्रत्येक छालाको रु.२। का दरले कम्पनीलाई हानी हुनगएको नोक्सानी हर्जना रु.२२७४८। र किस्ताको रकम रु.६३३३४।३७ मध्ये पटक–पटक आएको नगद र सापटबाट कट्टी भएको रु.२०६४५।८० कट्टी गरी बाँकी लिनुपर्ने रु.४२६८८।५७ र आजसम्मको सयकडा १० ले हुने ब्याज रु.१९७४६ र अन्तिम निर्णय हुँदाको बखत सम्मको हुने ब्याज समेत विपक्षीबाट दिलाई भराई पाउँ भन्ने समेत फिराद।
४. उक्त ठेक्का रकम मध्ये मैले नगद बुझाएको २२८०१।०१ र नुनको रु.१७०। रिडी तेलको रु.४५१६।८७ चमडाहरूको मोल दाखिल भएको भनी कारखानाले देहायको रु.५९९६।५४ कारखानामा खसीको छाला थान ७०। को रु.५६०। र गाई भैसीको छालाको रु.३४४६। के रु.१३७४४। छाला दाखिल भई मिन्हा मोजरा नभएको रु.१४३०४। समेत भर्ना रु.४७७८८।४२ र रौतहटतर्फको ०२२ पौष १ गतेदेखि ०२३।९।१० गते तक वर्ष १ दिन १० को दामासाहीले सालको रु.१०,०००। का दरले अमानत पालादेखि चलान गर्न नपाएको रु.१०२७७।७८ र मिति ०२३ आषाढ मसान्त तक वर्ष १ महीना ७ को दामासाहीले साल १ को रु.१०००। को दरले १५८३३।३४ समेत कारखानाको र मेरो कागजात भिडाएमा मेरै फाजिल रु.१०५६५।१७ मैले नै पाउनुपर्नेमा मसँग बाँकी नै नरहने बाँकी म उपर वारेण्ट पक्राउ जायजात रोक्का समेत गर्ने लेखापढी गरेमा ना.अं.अ.मा निषेधाज्ञा जारी गरिपाउँ भन्ने निवेदन गरेको छु भन्ने समेत प्रतिउत्तर ।
५. वादीबाट पेश भएको कागजहरू प्रतिवादीलाई र प्रतिवादीबाट पेश भएको काजगहरू वादीलाई सुनाएको वादी प्रतिवादीहरूको बयान ।
६. ०२४।४।१ मा सम्झौता तोडेको सूचना दिएको भन्ने वादी लेखबाटै देखिनाले वादीले सम्झौता तोडेको भन्ने स्पष्ट हुँदा हर्जना दिलाई पाउँ भन्नेतर्फ हर्जना दिलाउन मिलेन । अब सावाँ ब्याज भराई पाउँ भन्नेतर्फ बारा, पर्सा, रौतहट समेत ३ जिल्लाको हकमा शर्त भएका मितिले ०२३।९।१० गतेसम्मकै पाउने चितवनतर्फको हकमा दावी मध्ये चितवन जिल्ला झिकिएको मिति देखि पछिको ३ महीना १ दिनको नपाउने हुँदा सो कट्टा गरी बाँकी सावाँ ४२०५६।६३ को सयकडा १० ले हुने ब्याज रु.१९२८७।६१ समेत जम्मा सावाँ ब्याज रु.६१३४४।२४ वादीले प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्नेसमेत शुरू काठमाडौं जिल्ला अदालतको ०३०।३।२८ को फैसला ।
७. उक्त काठमाडौं जिल्ला अदालतको उक्त फैसला उपर इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन ।
८. वादी दावी बमोजिम हर्जनातर्फको रु.२२७४८। को हकमा शुरूले दिलाउन नपर्ने ठहराएकोमा वादीको पुनरावेदन नपरेकोले त्यसतर्फ केही विचार गर्न परेन अब बुझाउनुपर्ने रकम रु.६३३३४।३७ मध्ये पटक–पटक प्रतिवादीले बुझाएको रु.२०६४५।८० कट्टी गरी बाँकी लिनुपर्ने रु.४२६८८।५७ भन्ने वादी र पटक–पटक वादीलाई नगद बुझाएको भन्ने प्रतिवादीको जिकिर भएकोमा प्रतिवादीबाट पेश भएको ०२२।११।१४ को नं. २८५ को रसिदले बुझाएको रु.१३३३४।३४ मध्ये रु.३३३३।३३ मिति ०२२।११।१६ मा वापस लिई बाँकी बुझाएको रु.१०००१।१ र मिति ०२२।१२।१० को च.नं. १५२ को रसिद भर्पाईबाट बुझाएको रु.७४८।३८ र ०२२।१२।१० मा नं. २९४ को रसिदबाट बुझाएको रु.८८००। र ०२३।५।६।२ को नं. ३८९ को रसिद भर्पाईबाट बुझाएको रु.४०००। समेतको रसिद भर्पाईहरू प्रतिवादीबाट पेश भएको सो रसिद भर्पाईहरू वादीलाई सुनाउँदा सो रसिद भर्पाईहरू साँचो हो भनी वादी पक्षबाट स्वीकार गरी बयान गरेको देखिनाले प्र.वादीले पटक–पटक वादीलाई बुझाएको रकमहरू मध्ये मिति ०२२।१२।१० को च.नं. १५२ रसिद भर्पाईबाट बुझाएको रु.७४८।३८ कट्टा गर्नुपर्ने गरेको नदेखिनाले सो कट्टी गर्नुपर्ने रु.७४८।३८ कट्टा नगरेकोसम्म शुरूको इन्साफ नमिलेको र अरू शुरूको इन्साफ मनासिव छ । सावाँ रु.४१३०८।२५ कायम हुन आउने र ब्याजको हकमा शुरूको फैसलाले ब्याज कायम गरेको रु.१९२८७।६१ मा सो कट्टा भएको रु.७४८।३८ को दामासाहीले कट्टी हुने ब्याज रु.३४२।६९ कट्टा गरी हुन आउने सावाँ ब्याज जम्मा रु.६०२५३।१७ प्र.बाट वादीले भरी पाउने ठहर्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३५।२।२७ को फैसला ।
९. ०३२।११।१६ मा कबूलियत सम्झौता गरेकोमा ०२४।३।३० गते देखि सम्झौता तोडिदिएको भनी हर्जना र ब्याजमा ०२८।११।१९ गते वादीको फिराद परेको छ मुलुकी ऐन लेनदेन व्यवहारको ४० नं. मा व्यवस्था भएअनुसार सम्झौता तोकिएको मितिबाट २ वर्षभित्र फिराद गर्नुपर्नेमा सो नगरी म्याद नघाई परेको फिरादबाट इन्साफ तहकिकात गरी प्रतिवादी अजिज मियाँबाट दिलाउने भराउने गरेको निर्णयबाट लेनदेन व्यवहारको ४० नं. को त्रुटि हुनगएको देखिन्छ र उक्त त्रुटि सार्वजनिक महत्त्वको समेत देखिँदा पुनरावेदनको अुनमति दिइएको छ भन्ने ०२६।८।२३ को डिभिजन बेञ्चको आदेश ।
१०. यसमा पुनरावेदक प्रतिवादी अजिज मियाँतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलको र विपक्षी वादी बाँसवारी छाला जुत्ता कारखाना प्रा.लि.तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री अनुपराज शर्माको समेत बहस सुनी निर्णयतर्फ विचार गर्दा प्रतिवादीले चर्सा रकमको ठेक्काको कटकिनदारी लिने गरी सम्झौता गरेका हुन् उक्त सम्झौता अनुसार बुझाउनुपर्ने किस्ता कम–कम बुझाउदै गएकोले हानी हुनगएकोले हानी हुनगएको नोक्सानी हर्जना रु.२२७४८। बाँकी लिनुपर्ने रु.४२६८८।५७ र आजसम्मको सयकडा १० ले हुने ब्याज रु.१९७४६।७६ र अन्तिम निर्णय हुँदाको वखत सम्मको हुने ब्याज समेत दिलाई भराई पाउँ भन्ने विपक्षी वादी बाँसबारी छालाजुत्ता कारखाना प्रा.लि.को पुनरावेदक प्रतिवादी अजिज मियाँ उपर फिराद दावी भएको प्रस्तुत मुद्दामा वादी दावी बमोजिमको हर्जनातर्फको हकमा शुरूले दिलाउनु नपर्ने ठहराएकोमा वादीको पुनरावेदन नपरेकोले केही विचार गर्नु परेन प्रतिवादीबाट पेश भएको रसिद भर्पाई वादीलाई सुनाउँदा साँचो हो भनी स्वीकार गरी बयान गरेको बुझाएको रकम मध्ये मिति ०२२।१२।१० को च.नं. १५२ को रसिद भर्पाईबाट बुझाएको रु.७४८।३८ कट्टा नगरेकोसम्म शुरूको इन्साफ नमिलेको अरू शुरूको मनासिव छ सो कटाउनुपर्ने रकम रु.७४८।३८ नकटाएको कटाउँदा सावाँमा रु.४१३०८।२५ कायम हुन आउने र दामासाहीले कट्टी हुने ब्याज कट्टा गरी हुन आउने सावाँ ब्याज रु.६०२५३।१७ प्र.वादीबाट वादीले भरी पाउने ठहर्छ भन्ने क्षेत्रीय अदालतबाट निर्णय भएको देखियो ।
११. मुख्यतः प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीबाट पेश भएको वादीलाई बुझाउनुपर्ने रकम बुझाएको रसिद भर्पाईको रकमहरू हरहिसाब गरी सो रकम कट्टा गरी अरू बुझाउन बाँकी रहेको रकम भराई दिने गरेको देखिएको सो बुझाउन बाँकी ठहराएको रकम बुझाउन नपर्ने अथवा बुझाइसकेको भन्ने देखिने तथ्य सबूत प्रमाण पुनरावेदक प्रतिवादीबाट आएको नदेखिएकोले प्रतिवादीले बुझाएको देखिएको रसिद भर्पाईको रकम कट्टी गरी अरू बाँकी रकम र त्यसको ब्याज समेत भराई दिने गरेको म.क्षे.अ.को इन्साफ मनासिव ठहर्छ । पुनरावेदन गरे बापत लाग्ने कोर्टफी दाखिल भएको देखिएकोले अरू केही गर्नु परेन मिसिल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०३७ साल भाद्र १८ गते रोज ४ शुभम् ।