निर्णय नं. १३८१ - लिखित पास कीर्ते

निर्णय नं. १३८१ ने.का.प. २०३७
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३५ सालको दे.वि.नं. ४८
फैसला भएको मिति : २०३७।५।२४।३ मा
निवेदक : जि. सप्तरी राजविराज न.पं.वार्ड नं. ८ बस्ने न्हुछेकुमारी उपाध्याय
विरूद्ध
विपक्षी : जि. सप्तरी गा.पं.रायपुर वा.नं. २ मौजे प्रिपाही बस्ने रामप्रसाद शाह हलुवाई
मुद्दा : लिखित पास कीर्ते
(१) सक्कल लिखतमा अक्षर अंक थपी कीर्ते नगरेको भनी क्षेत्रीय अदालतले ठहर गरेको रहेछ, त्यसमा सक्कल लिखत हेर्दा तपसीलमा लेखेको जग्गा थप गरेको भन्ने हकमा जग्गा पेटबोलीमा लेखेकै हुनाले केही थपेको भन्न भएन किनारामा निवेदकको पतिले हस्ता र ल्याप्चे समेत सहिछाप गरेको कुरामा रूपैयाँ नखाई लिखत मात्र खडा गरेको भनी ठहर्याउन नमिल्ने ।
(प्रकरण नं. ११)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणप्रसाद सुवेदी
फैसला
न्या. हेरम्बराज : पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०३५।२।४।४ को निर्णयको इन्साफ जाँची कानुन बमोजिम गरी दिनु भन्ने व्यहोराको बक्स भइआएका हुकुम प्रमांगी बमोजिम इन्साफ जाँच निमित्त पेश हुनआएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा यस प्रकार रहेछ :
२. प्रतिवादीका नाउँमा दर्ता रहेको सप्तरी प्रगन्ना जगधर मौजे आधाखालको साविक कि.नं. ४६० को जग्गा बिगहा ।४।। नं. ११४७ को ।।.।। पिप्राहीको नं. १४९ को ऽ२।। समेत १ऽ२।। जग्गा रु.५३३१। मिति ०२७।६।१ गते राजीनामा लिखत गरी दिएको पास गरी दिएन पास गरी गराई पाउँ भन्ने समेत वादी ।
३. पिप्राहीको ऽ२।। जग्गा रु.३३१ मा राजीनामा गरी दिएको छु अरू जग्गा राजीनामा गरी दिएको छैन लिखत हेरी पाउँ भन्ने समेत प्रतिवादीको प्रतिउत्तर ।
४. लिखत बमोजिमको रूपैयाँ लिई लिखत बमोजिमको जग्गा राजीनामा गरी दिएको होइन । ३३१ को अगाडि ५ को अंक थपी १ बिगहा जग्गा पछि थपी कीर्ते गरेको हो भन्ने समेत प्रतिवादीको बयान ।
५. रूपैयाँ लिई लिखत बमोजिमको राजीनामा गरी दिएकोले कीर्ते जालसाज गरेको होइन भन्ने समेत वादी तथा लिखतका साक्षीहरूको बयान ।
६. वादी दावीको लिखत कीर्ते गरेको देखिँदा पास हुन सक्तैन भन्ने मिति २०३०।११।२३।४ को शुरू सप्तरी जिल्ला अदालतको फैसला ।
७. उक्त फैसलामा चित्तबुझेन भन्ने वादीको पुनरावेदन रहेछ ।
८. शुरू जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने मिति २०३३।३।४ को अञ्चल अदालत राजविराज बेञ्च सगरमाथाको फैसला ।
९. उक्त अञ्चल अदालतको फैसला त्रुटिपूर्ण छ पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने वादीको निवेदनमा अनुमति पाई थपिएको भनेको जग्गाको नम्बर चौहद्दीहरू लेखिएका अक्षरहरू पछि थपिएको भन्ने आभाषसम्म हुने किसिमको मसीको भिन्नता र लिपिको फरक पनि केही देखिन आउँदैन । लिखत लेख्ता कतै मसी केही गाढा र कतै मसी फिका हुन सक्तैन भन्न मिल्दैन । सोही लिखतमा रहेको वादीले आपत्ति नउठाएको अक्षरहरूमा पनि कतै कतै मसी गाढा देखिन्छ । थपिएको भनिएको अंक अक्षरको टाँका लिपि मिलेको देखिन्छ । लिखतको तपसीलमा ठाउँ खाली राखेको भन्ने सम्बन्धमा विचार गर्दा जग्गा कित्ता समेत थप्ने गरी लिखतमा तपसीलमा ठाउँ छाडिएको खाली ठाउँ ऋणी प्रतिवादी लेखपढ गर्न जान्ने निजको सगोलको पति समेत दुवैले थाहा नपाउने गरी दुवै प्रति लिखतमा ठाउँ खाली राखी लिखत भयो होला भन्न र राख्न सकिने अवस्था पनि देखिँदैन । त्यस्तो अवस्था भएको प्रतिवादी तर्फबाट देखाउन सकेको देखिँदैन । लिखत साक्षीहरूले कीर्ते होइन भनी बयान गरेको र अनुमानको आधारले मात्र कीर्ते भन्न नमिल्ने हुँदा, वादीले दावी गरेको लिखत कीर्ते गरेको देखिएकोले सो लिखत पारित हुन सक्तैन भन्ने शुरूको फैसला अञ्चल अदालतले सदर गरेको कानुन अनुरूप नहुँदा उक्त फैसलाहरू बदर हुने ठहर्छ । वादी दावीको लिखत कीर्ते नठहरेकाले वादी दावी बमोजिमको लिखत पारित हुने ठहर्छ भन्ने मिति ०३५।२।४ को पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला रहेछ ।
१०. गराइएको लिखित कीर्ते भन्ने कुरा सबूत प्रमाणको आधारमा २ तहबाट ठहर भइआएकोमा यो कानुनी त्रुटि भयो भनी किटी देखाउन नसकी हदमुनीको मुद्दामा तथ्य प्रमाणको भरमा मात्र विशेषज्ञ नजँचाई निर्णय गरेको त्रुटिपूर्ण हुनुको साथै ठाडै अन्यायपूर्ण पनि हुँदा पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०३५।२।४ को फैसलाको इन्साफ जाँच गरी दिनु भन्ने सर्वोच्च अदालतका नाउँमा हुकुम प्रमांगी पाउँ भन्ने बिन्तिपत्रमा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट छिनिएको लिखत पास मुद्दाको मिसिल झिकी त्यस अदालतबाट इन्साफ जाँची कानुन बमोजिम गरी छिनिदिनु, निवेदकलाई जनाउ दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको भनी विशेष जाहेरी विभाग मार्फत यस अदालतका नाउँमा मिति २०३५।४।११।४ मा लेखी आएको उपरोक्त हु.प्र.सहितको निवेदनपत्र दे.वि.नं. ४८ को लगतमा मिति २०३५।४।३२।४ मा दर्ता भई डिभिजन बेञ्च समक्ष पेश हुँदा वादीले पास गरिपाउँ भनी दावा लिएको लिखत वादीले नै मिति २०३६।१।२५।३ मा बुझी लिइसकेको मिसिलबाट देखिएकोले सो लिखत लिई उपस्थित हुनु भनी वादी रामप्रसाद शाह हलवाईलाई सात दिने म्याद जारी गरी झिकाई सक्कल लिखत दाखिल गराई नियम बमोजिम गरी पेश गर्नु भन्ने २०३६।९।३०।२ को डिभिजन बेञ्चको आदेश रहेछ ।
१०. तारेखमा रहेका वादीका वारेस दिनेश्वरप्रसाद सिंहलाई रोहवरमा राखी (निवेदक प्रतिवादीका वा.हाजिर नरहेको) निवेदकतर्फका विद्वान अधिवक्ता श्री लक्ष्मणप्रसाद सुवेदिको बहस समेत सुनी पू.क्षे.अ.को निर्णय मनासिव वा गल्ती के हो निर्णय दिन परेको छ ।
११. यसमा क्षेत्रीय अदालतबाट छिनिएको लिखत पास मुद्दाको मिसिल झिकी इन्साफ जाँची कानुन बमोजिम गरी छिनी दिनु भनी ०३५।४।११।४ मा लेखी आएको श्री ५ महाराजाधिराजबाट हुकुम बक्से बमोजिम झिकाइआएको मिसिल हेर्दा सक्कल लिखतमा अक्षर अंक थपी कीर्ते नगरेको भनी क्षेत्रीय अदालतले ठहर गरेको रहेछ । त्यसमा सक्कल लिखतमा हेर्दा तपसीलमा लेखेको जग्गा थप गरेको भन्ने हकमा जग्गा १द्र२।। पेटबोलीमा लेखेकै हुनाले कही थपेको भन्न भएन । किनारामा न्हुच्छेकुमारीको पति विष्णुनाथ उपाध्यायले हस्ता र ल्याप्चे समेत सहिछाप गरेको कुरामा रुपियाँ नखाई लिखत मात्र खडा गरेको भनी ठहर्याउन नमिलेकोले क्षेत्रीय अदालतबाट भएको फैसला मनासिव छ । इन्साफ जाँच निमित्त आएको हुँदा केही पर्न परेन नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०३७ साल भाद्र २४ गते रोज ३ शुभम् ।