निर्णय नं. १३८३ - लेनदेन

निर्णय नं. १३८३ ने.का.प. २०३७
फुल बेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०३७ सालको दे.फु.नं. ४३
फैसला भएको मिति : ०३७।६।१४।३ मा
निवेदक : चितवन जिल्ला हाजिपुर गा.पं.वडा नं. ५ बस्ने नाबालक ईन्द्रराज महतो समेत
विरूद्ध
विपक्षी : जि. चितवन पिठुवा पञ्चायत वार्ड नं. ६ पिठुवा बस्ने एकबहादुर भण्डारी क्षेत्री
मुद्दा : लेनदेन
(१) वादीको आफ्नो पहिलेको पारित हुन नपाई कपाली भएको भनेको वादी दावीको लिखतको थैली बाँकी राखी अर्को छुट्टै थैली दिई आफ्नो अघिको लिखत भित्रकै जग्गा समेतको जग्गा आफ्नो नाबालख छोराका नाउँमा पास गरी लिने स्थिति नै नहुँदा वादीले पछि छुट्टै अर्को रु.१३०१। थैली दिई आफ्नो नाबालख छोराका नाउँमा जग्गा पारित गराइलिएको भन्ने पत्यारलायक देखिन नआउने हुनाले वादीको अघिको ०२८।६।१ कै लिखत थैली रु.१३०००। मै वादीको छोराको नाउँमा जग्गा राजीनामा गरी ०२९।१२।१४ मा पारित गरी लिएको भन्ने देखिन आएकोले वादी दावी झुठ्ठा ठहर्ने ।
(प्रकरण नं. १०)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल
फैसला
न्या. सुरेन्द्रप्रसाद सिंह : प्रस्तुत मुद्दामा म.क्षे.अ.को इन्साफ दोहर्याई हेरी पाउँ भन्ने निवेदकको निवेदनमा इन्साफ जाँची कानुन बमोजिम गरी छिनी दिनु भन्ने बक्स भइआएको हुकुम प्रमांगी बमोजिम डिभिजन बेञ्चबाट निर्णय हुँदा सो बेञ्चका माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी राय बाझी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ ।
२. मुद्दाको विवरण यस प्रकार छ : विपक्षीले मसँग रु.१३,०००। लिई विपक्षी इन्द्रराजको हकको जि.हाजिपुर गा.पं.वसीको ज.बि.१द्र१।। जमीन ६ महीनाभित्र पास गरी दिने गरी विपक्षी इन्द्रराज नाबालक भएकोले एकाघरका विपक्षी झ्याउरा र छुट्टी भिन्न भएको काका भन्दै महतो समेतले सहिछाप परी ०२८।६।१ मा राजीनामा गरी दिएको म्यादभित्र पास गरी नदिई म्याद गुजारी राजीनामा कपाली गरी दिनुभएकोले सावाँ रु.१३,०००। र ब्याज तथा कोर्टफी समेत विपक्षीहरूबाट भराई दिलाई पाउँ भन्ने समेत एकबहादुर भण्डारी क्षेत्रीको ०३१।३।५ को फिरादपत्र ।
३. प्र.मध्येका इन्द्रराजका हकको ज.बि.१।।द्र को रु.१३,०००। मा राजीनामा गरी दिएकोमा विपक्षीले मसँग भनेको सो थैलीमा मेरो छोरा ज्ञानेन्द्रबहादुरका नाउँमा गराई दिनु भनेकोले जि.हाजिपुर वार्ड नं. ५ कि.नं. ८ मध्येको ज.बि.१द्र एक र ऐ. को कि.नं. ४ मध्ये ज.बि.०–२–५ समेत जम्मा जग्गा बिगहा १–२–५ को थैली रु.१३,००१। मिति ०२९।१२।१४ मा मकवानपुर मालबाट पास गरी दिएको हुँ सो तमसुक फिर्ता फट्टा गरी दिनु हवस् भन्दा तमसुक फेला परेन भनी भर्पाई गरी दिएको सो भर्पाई रामनाथलाई राख्न दिएको निजबाट ०३१।२।१ मा लुटपिट गरी म समेतका उपर झुठ्ठा नालेश गरेको हो वादी दावीको रूपैयाँ तिर्नुपर्ने स्थिति छैन भन्ने समेत झ्याउरा र इन्द्रराज महतोको प्रतिउत्तर ।
४. पहिलो राजीनामा साहू मात्र बदली त्यही थैलीमा रु.१। बढाई छोराका नाउँमा वादी नै प्रतिवादीबाट ०२९।२।१४ मा जग्गा राजीनामा गरी लिएको भई वादी प्रतिवादीको ०२८।६।१ को कपाली थैली मिलाएको देखिन आएकोले उक्त ०२८।६।१ को लिखत बमोजिमको रूपैयाँको सावाँ ब्याज भराई पाउँ भन्ने वादी दावा पुग्न सक्तैन वादी दावा झुठ्ठा ठहर्छ भन्ने चितवन जिल्ला अदालतको ०३१।१२।२१ को फैसला ।
५. सो फैसलामा चित्तबुझेन भन्नेसमेतको वादी एकबहादुर भण्डारी क्षेत्रीको पुनरावेदन।
६. राजीनामा लिखतमा अघि भएको व्यहोराको थैली गाभिएको भन्ने जनाएको नदेखिएको र आसामीले भर्पाई छ भनी प्रतिवाद गरेका तर भर्पाई पेश हुन नआएको भर्पाई लुटपिट नठहरेको हुँदा चितवन जि.अ.को इन्साफ उल्टी हुन्छ भन्ने समेत ०३३।३।३२ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला र सावाँ रु.१३,०००। र ब्याज रु.८८८३।३० भराई दिनु भनी लगत दिने भन्ने समेत ०३३।७।२ को संशोधन आदेश ।
७. यसमा ०२८।६।१ मा वादीलाई प्र.इन्द्रराजले राजीनामा लिखत गरी दिएमा सावितै भएको सो राजीनामा लिखत फट्टा गरी सोही थैलीमा वादीका छोरालाई ०२९।१२।१४ मा रजिष्ट्रेशन पास गरी जग्गा राजीनामाको लिखत गरी दिएको भन्ने उक्त पास भएको लिखत व्यहोराबाट देखिन नआएको यो दावीको राजीनामाको थैलीमा पछि ०२९।१२।१४ मा राजीनामा गरी दिएको भए सो अगाडिको घरसारको ०२८।६।१ को राजीनामा फट्टा दरपीठ गराई लिन सक्नुपर्ने सो परी नसकेको तमसुक फेला नपरेकोले पछि फेला परेमा दरपीठ गरी दिनेछु भनी भर्पाई गरी दिएको छ भन्ने प्रतिवादीहरूले जिकिर लिएको देखिन्छ । तर भर्पाई पेश हुन नआएको सो भर्पाई रामनाथ सिंलाई राख्न दिएको निजबाट ०३१।२।१ मा लुटी लगे भन्ने भनाई भएको रामनाथले उक्त भर्पाई लुटपिट गरे भनी फिराद पत्र दिएकोमा वादीले ०३१।८।४ गतेको तारेख गुजारेकोबाट सो भर्पाई लुटपिट मुद्दा ०३१।११।१ मा चितवन जिल्ला अदालतबाट डिसमिस फैसला भई अन्तिम भइराखेको सो ०२८।६।१ को कपाली भएको राजीनामा तमसुक बमोजिमको थैली तिर्नु नपर्ने भन्ने कुनै सबूत प्रमाण प्रतिवादीहरूबाट पेश हुन नसकेकोले सबूत प्रमाणको अभावमा तमसुक बमोजिमको थैली तिर्नु पर्दैन भन्ने नमिल्ने हुँदा इन्साफ मध्यमाञ्चल क्षेत्रीय अदालतको मनासिव ठहर्छ भन्ने माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय विपक्षी वादी एकबहादुरले इन्द्रराजबाट मिति ०२८।६।१ मा रु.१३,०००। मा राजीनामा लिखत गराई लिई कपाली हुन आएपछि सो लिखतमा लेखिए मध्येकै ११ कित्ता जग्गा समेत जम्मा जग्गा बिगहा १द्र२। रु.१३००१। मा आफ्नो ७ वर्षको छोराका नाउँमा ०२९।१२।१४ मा राजीनामा लिखत पारित गराएको देखिन आउँछ । यस्तो व्यवहारको स्थितिमा अघिको कपाली रूपैयाँ बाँकी राखी पछि राजीनामा गर्दा छुट्टै थैली दिने अवस्था मिल्दो र मानवीय प्रकृतिको अनुरूप मान्न नसकिने हुन्छ व्यवहार प्रचलन समेत नभएको हुँदा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको देखिन आएन । वादी दावी झुठ्ठा ठहराएको शुरू चितवन जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठहर्छ भन्ने मा.न्या. श्री घनानाथ पन्तको राय भई ०३६।१२।७।५ मा डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ ।
८. यसमा निवेदक प्रतिवादी झ्याउरा महतो समेतको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीको र विपक्षी वादी एकबहादुर भण्डारी क्षेत्रीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा सावाँ ब्याज भराई दिने गरेको म.क्षे.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको र सावाँ ब्याज पाउँ भन्ने वादी दावी झुठ्ठा ठहराएको शुरू चितवन जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने माननीय न्यायाधीश श्री घनानाथ पन्तको राय भई रायमा बाझी निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दा देखियो ।
९. मुख्यतः प्रस्तुत मुद्दामा मसँग रु.१३०००। लिई ०२८।६।१ गते राजीनामा गरी दिएको लिखित पारित हुन नसकी कपाली भएकोले सावाँ ब्याज भराई पाउँ भन्ने वादी सोही रूपैयाँमा छोरा ज्ञानेन्द्रबहादुरको नाउँमा गरिदिनु भनेकोले ०२९।१२।१४ मा जग्गा पास गरी दिएको छु भन्ने प्रतिवादी जिकिर भएकोले उक्त ज्ञानेन्द्रबहादुरलाई पारित गरिदिएको भनेको रजिष्ट्रेशन पारित भएको लिखत हेर्दा राजीनामा गरिदिएको पारित हुन नपाई कपाली हुनगएका भनेको वादीलाई लेखिदिएको लिखतमा लेखिएकै जग्गा मध्येको १ कित्ता जग्गा समेत जम्मा १द्र२। जग्गा रु.१३००१। मा निज वादीकै छोरा ज्ञानेन्द्रबहादुरलाई राजीनामा पारित गरी दिएको देखिन आएको छ ।
१०. वादीको ०२८।६।१ गतेको राजीनामाको थैली वादी दावी बमोजिम बाँकी नै रहेको छ कि भनी सम्झनलाई सो लिखतको थैली भन्दा रु.१ बढी गरी थैली रु.१३००१। मा आफ्नो एकाघर सँगको नाबालख छोरा ज्ञानेन्द्रबहादुरको नाउँमा प्रतिवादीबाट राजीनामा लिखत पारित गराइलिएको देखिन्छ त्यसरी लिखत पारित गर्दा वादीको आफ्नो पहिलेको पारित हुन नपाई कपाली भएको भनेको वादी दावीको लिखतको थैली बाँकी राखी अर्को छुट्टै थैली दिई आफ्नो अघिको लिखतभित्रकै जग्गा समेतको जग्गा आफ्नो नाबालख छोराका नाउँमा पास गरी लिने स्थिति नै नहुँदा वादीले पछि छुट्टै अर्को रु.१३००१। थैली दिई आफ्नो नाबालख छोराका नाउँमा जग्गा पारित गराई लिएको भन्ने पत्यारलायकको देखिन नआउने हुनाले वादीको अघिको ०२८।६।१ कै लिखतका थैली रु.१३०००। मै वादीको छोराको नाउँमा जग्गा राजीनामा गरी ०२९।१२।१४ मा पारित गरी लिएको भन्ने देखिन आएकोले समेत वादी दावी झुठ्ठा ठहराएको चितवन जि.अ.को इन्साफ सदर गरी सावाँ ब्याज भराइदिने गरेको म.क्षे.अ.को इन्साफ उल्टी गर्ने ठहराएको डिभिजन बेञ्चका माननीय न्यायाधीश श्री घनानाथ पन्तको राय मनासिव ठहर्छ तपसीलको कलममा तपसील बमोजिम गरी मिसिल नियम बमोजिम बुझाई दिनु ।
तपसील
वादी एकबहादुर भण्डारी कै म.क्षे.अ.को ०३३।३।३२ को फैसला र ०३३।७।२ को संशोधन आदेशले देहायको कलममा देहाय बमोजिम गर्ने गरेकोमा हाल सो बमोजिम गर्नु परेन व्यहोरा जनाई सो लगत काटी दिनु भनी चितवन जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा कानुन बमोजिम लगत दिनु.................... १
शुरू फैसलाले लाग्ने गरेको कोर्टफी रु.६८४।३० प्र.झ्याउरा महतो १, इन्द्रराज महतो १ बाट बराबरका दरले भराई दिने गरेको कलम.१
वादीले पुनरावेदन गर्दा राखेको कोर्टफी रु.१०२।६५ पुनरावेदन साथ ०३३।२।२२ मा दाखिल गरेको फिर्ता दिने गरेको कलम...................२
साँवा रु.१३०००। र ब्याज रु.८८८३।३० समेत जम्मा रु.२१८८३।३० प्रतिवादीबाट भराई दिने गरेको कलम.............................३
म.क्षे.अ.को ०३३।३।३२ को फैसलाले चितवन जि.अ.को जि.न्या. ज्ञानेन्द्रबहादुर श्रेष्ठको रेकर्ड राख्ने गरेकोमा हाल सो बमोजिम गर्नु परेन...४
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या. त्रैलोक्यराज अर्याल
न्या. बब्बरप्रसाद सिंह
इति सम्वत् ०३७ साल आश्विन १४ गते रोज ३ शुभम् ।