निर्णय नं. ९१५८ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह
माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की
फैसला मिति : २०७०।१०।१५।४
०६७–CR–१३१५
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादी : जिल्ला तेह्रथुम, ओयाक्जुङ गा.वि.स. वडा नं. ४ घर भई हाल कारागार कार्यालय, तेह्रथुममा थुनामा रहेका खोमनाथ दाहाल
विरुद्ध
प्रत्यर्थी/वादी : गणेशप्रसाद दाहालको जाहेरीले नेपाल सरकार
§ अपराध गर्नुभन्दा धरै पहिले अथवा अपराध गरी सकेपछि मानसिक रोग लागेको कारणले कसुरदारले कसुरबाट उन्मुक्ति वा छुट पाउन नसक्ने
(प्रकरण नं. ४)
§ स्वयम् प्रतिवादीले, मौकामा बुझिएका व्यक्तिहरूले तथा सहप्रतिवादी एवम् निजकै श्रीमतीसमेतले निज प्रतिवादीको मानसिक स्थिति ठीक नभएको भनी कहिं कतै भन्न नसकेको स्थितिमा केवल पुनरावेदन जिकीर लिएकै भरमा मात्र आफूले गरेको आपराधिक क्रियाको प्रकृति र परिणाम थाहा नपाउने गरी प्रतिवादीको मानसिक स्थिति ठीक नभएको भन्न नमिल्ने ।
(प्रकरण नं. ५)
§ दण्ड सजायको १ नं. को कानूनी व्यवस्थाबमोजिम घटना घटेको समयमा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी प्रतिवादीको मानसिक स्थिति ठीक नभएको भन्ने कुराको प्रमाण पुर्याउने दायित्व निज प्रतिवादीमा नै रहने हुन्छ । तर निजले सो कुराको तथ्युक्त र विश्वसनीय प्रमाण पेस गर्न सकेको नदेखिँदा दण्ड सजायको महलको १ नं. बमोजिम सजायबाट छुट पाउने स्थिति र अवस्था नदेखिने ।
(प्रकरण नं. ६)
§ गाउँ विकास समितिको कार्यालयको सिफारिसपत्र र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सिफारिसपत्रमा प्रतिवादी मानसिक असन्तुलन भएको भन्ने व्यहोरा उल्लेख गरिएको भए पनि गाउँ विकास समितिको कार्यालय र नेपाल कम्युनिष्ट पार्टी (एमाले) व्यक्तिको शारीरिक/मानसिक स्वास्थ्य जाँच गर्ने आधिकारिक निकाय नभएकोले त्यस्ता अधिकार विहीन निकायहरूले दिएका सिफारिसको प्रामाणिक महत्व नरहने हुँदा त्यस्ता सिफारिसका आधारमा यी पुनरावेदक मुद्दाको वारदात हुँदाका बखतमा मानसिक सन्तुलन गुमाएका व्यक्ति भन्न नमिल्ने ।
(प्रकरण नं. ७)
§ विशेषज्ञले मानसिक अवस्थाको सम्बन्धमा वैज्ञानिक परीक्षण गरी कारणसहित राय दिएको अवस्थामा मात्र त्यस्तो राय विश्वसनीय हुन्छ र प्रमाणको रूपमा ग्रहण गर्न सकिने हुन्छ । वैज्ञानिक परीक्षण गरी दिएको भन्ने कुरा खुल्न आएको नदेखिएको उल्लिखित रायलाई विश्वसनीय प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने ।
(प्रकरण नं. ८
पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक कानून व्यवसायी अधिवक्ता श्री हरिशंकर कर्ण
प्रत्यर्थी/वादीका तर्फबाट :
अवलम्बित नजीर : नेकाप २०६५, नि.नं. ८०२९, ८०३९
सम्बद्ध कानून :
§ मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३), अ.बं. १८८ नं.
§ प्रमाण ऐन, २०३१ को दफा ९(१), १०(१)(क)
§ मुलुकी ऐन, दण्ड सजायको महलको १ नं.
सुरू तहमा फैसला गर्ने :–
मा.जि.न्या. श्री गुणराज ढुङ्गेल
पुनरावेदन तहमा फैसला गर्ने :–
मा.न्या. श्री गोविन्दकुमार उपाध्याय
मा.न्या. श्री टेकराज नेपाल
फैसला
न्या. ज्ञानेन्द्रबहादुर कार्की : न्याय प्रशासन ऐन, २०४८ को ९(१)बमोजिम पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यस प्रकार छ :–
मिति २०६५।६।१७ गते दिनको १२:०० बजेको समयमा मेरी श्रीमती देवमाया दाहाल आफ्नै घरमा बसेको अवस्थामा निजकै कान्छी देउरानीबीच घरायसी कुरामा सामान्य भनाभन भएकोमा मेरी कान्छी छोरी इन्दिरा दाहालले सम्झाएर पठाई सबै व्यक्ति काममा गएकोमा मेरी श्रीमती र कान्छी छोरीमात्र घरमा भएको मौकामा बीना दाहालले आफ्नो श्रीमान्लाई अनेक पोल सुनाई मेरी श्रीमती देवमाया दाहाललाई घरायसी काम गर्न लाग्दा खोमनाथ दाहाल र बीना दाहाल आई टाउको, अनुहारसमेतमा हतियार प्रहार गरी गम्भीर चोटपटक पारेका र सोही चोटबाट निज देवमाया दाहालको मृत्यु भएको हुँदा खोमनाथ दाहाल र बीना दाहाललाई कानूनबमोजिम कारवाही गरी पाउँ भन्नेसमेत व्यहोराको जाहेरी दरखास्त ।
जिल्ला तेह्रथुम, ओयाक्जुङ गा.वि.स. वडा नं. ४ शेर्मास्थित पूर्वमा नरबहादुर श्रेष्ठको धानखेती, पश्चिममा तुलसीप्रसाद दाहालको घर, उत्तरमा नरबहादुर श्रेष्ठको धानखेत, दक्षिणमा गणेशप्रसाद दाहालको धानखेती यती ४ किल्लाभित्र मृतकको घर रहेको; सो घरको पछाडि उत्तरतर्फ धान माडिएको, सोही धानखेतीमा मिति २०६५।६।१७ गते दिनको १२ बजेको समयमा खोमनाथ दाहालले देवमाया दाहाललाई धारिलो हतियार जस्तोले अनुहार र मुखमा पटकपटक प्रहार गरी रगताम्मे बनाई पूर्व टाउको, पश्चिम गोडा रही अनुहार केही कोल्टे अवस्थामा उत्तर फर्किएको अवस्थामा लास रहेको भन्नेसमेत व्यहोराको घटनास्थल तथा लासजाँच मुचुल्का ।
मृतक मेरी भाउजू देवमाया दाहाल र मेरी श्रीमती बीना दाहाल पानी थाप्ने निहुँमा बेलाबेलामा झै झगडा वादविवाद गर्दथे । यस्तैमा मिति २०६५।६।१७ गते दिनको १२ बजेको समयमा म आफ्नो घरमा रहेको बेला आँगनमा आइमाईहरू रुवाबासी गरेको हल्ला सुनी गई हेर्दा मेरी श्रीमतीलाई भाउजू देवमाया र भतिजी इन्दिराले कपालमा समाती लडाई घिसार्दै गरेको देखी यसो नगर्नुहोस् भनी छुट्याउन खोज्दा मलाई पनि विभिन्न किसिमले गाली बेइज्जती गरेका हुँदा तत्काल आवेशमा आई भतिजी इन्दिराले हातमा बोकेको फलामको कुटो खोसी भाउजू देवमायालाई लखेटी घरपछाडि धानवारीमा पुर्याई सोही कुटोले भाउजू देवमायाको अनुहारमा पटकपटक प्रहार गरी ज्यान मारेको हुँ । मैले भाउजू देवमायालाई हतियार प्रहार गर्दा मेरी श्रीमती बीना दाहाल घटनास्थलमा थिइनन्, निजले सो अवस्थामा देवमायालाई कुनै किसिमले हतियारले प्रहार गरेकी छैनन् । मैले मात्र जाहेरवालाकी श्रीमती देवमायालाई धारिलो हतियार प्रहार गरी ज्यान मारेको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी खोमनाथ दाहालले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६५।६।१७ गते दिनको ११/१२ बजेको समयमा जर्किन लिई घर नजिकैको धारामा पानी लिन जाँदा पानी थापेको जर्किन मृतककी कान्छी छोरी इन्दिरा दाहालले आफ्नो घरतिर लगेकीले मैले जर्किन कहाँ लगेको भन्दा निज इन्दिरा दाहालले तेरो जर्किन भन्दै मृतक देवमाया र निजकी छोरी इन्दिरा भएर मलाई एक्कासी केश, शरीरसमेतमा समाती लछार पछार गरी गाली गलौज गर्दै कुटपीट गरिरहेको अवस्थामा मेरो श्रीमान्ले थाहा पाई इन्दिरा दाहालले हातमा बोकेको कुटो खोसी मृतक देवमाया दाहाललाई धानखेतमा लडाई अनुहारमा कुटोले प्रहार गर्न थाले । श्रीमान्ले मलाई पनि कुट्छन् भन्ने डरले म सो ठाउँबाट भागी गएकी हुँ । मृतक देवमायाले मलाई बीनाकारण बारम्बार गाली गलौज गर्ने, कुटपीट गर्ने हुँदा सोही कारणले मेरो श्रीमान्ले देवमायालाई मारेको हुनुपर्छ । मैले मृतकलाई समाउने, छेकथुन गर्ने कार्य गरेको छैन भन्नेसमेत व्यहोराको प्रतिवादी बीना दाहालले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
जिल्ला तेह्रथुम, ओयाक्जुङ, गा.वि.स. वडा नं. ४ स्थित पूर्वमा अग्लो डाँडा, पश्चिममा गहिरो भीर र इमेक वन उत्तिससमेतको रुख, उत्तर र दक्षिण जलजले जाने गोरेटो बाटो यति ४ किल्लाभित्र रहेको इमेक वनको भिरमा प्रतिवादी खोमनाथले कुटो फालेको भनी देखाएको ठाउँमा गई खोजतलास गर्दा अति नै विकट भीर भएकोले तत्कालको साधन स्रोतसमेतबाट उक्त भीर तल झरी खोजी गर्ने सम्भावना नरहेको हुँदा उक्त हतियार बरामद गर्ने अवस्था नदेखिएकोले बरामद हुन नसकेको भन्नेसमेत व्यहोराको बरामदी नभएको मुचुल्का ।
मिति २०६५।६।१७ गते दिनको १२ बजेको समयमा काकी बीना दाहालले धारामा पानी थाप्न भनी जर्किन राख्नुभएको कुरामा आमा देवमाया र काकी बीनाका बीच विवाद भई हात हालाहाल भएकोले मैले छुट्याई दिएँ । सोपछि एक्कासी काका खोमनाथ दाहाल आई मैले हातमा बोकेको कुटो खोसी मेरी आमा देवमायालाई घरपछाडि धानबारीमा पुर्याई धारिलो हतियार प्रहार गरी ज्यान मारी भागे । त्यसपछि मैले हल्ला खल्ला गरी गाउँलेहरूलाई भेला जम्मा गराएकी हुँ । मेरी आमा देवमायालाई काकी बीना दाहालको मिलेमतोमा काका खोमनाथ दाहालले धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारेका हुन् । अन्य व्यक्तिहरूको यस वारदातमा संलग्नता छैन भन्नेसमेत व्यहोराको इन्दिरा दाहालले अनुसन्धान अधिकारीसमक्ष गरेको कागज ।
मिति २०६५।६।१७ गते म खेतमा घाँस काटी रहेको अवस्थामा इन्दिरा दाहालले ज्यान मार्र्यो भनी कराएकी हुँदा के भएछ भनी घटनास्थलमा गई हेर्दा देवमाया दाहालको लासको अनुहारमा घाउचोट रही रगतपक्षे अवस्थामा धानबारीमा उत्तानो परी लडेको अवस्थामा देखेका हौं । बीना दाहालको संलग्नतामा खोमनाथ दाहालले देवमायालाई धारिलो हतियारले अनुहारमा पटकपटक प्रहार गरी कर्तव्य गरी मारेको हुन् भन्नेसमेत व्यहोराको भोलानाथ दुलालसमेतले एकै मिलानमा लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।
मृतकको मृत्युको कारण “Subdural/extradural hemorrhage in brain” भन्ने व्यहोराको मृतक देवमाया दाहालको शव परीक्षण प्रतिवेदन ।
मिति २०६५।६।१७ गते दिनको अपरान्ह १२ बजेको समयमा धारामा पानी थापेको जर्किनको निहुँमा मृतक देवमाया र बीना दाहालबीच कुटपीट भएको अवस्थामा खोमनाथ दाहाल आई कुटोले देवमाया दाहालको शरीरमा यत्रतत्र प्रहार गरी कर्तव्य गरी मारेको भन्ने मिसिल संलग्न रहेका प्रमाण कागजबाट पुष्टि भएको देखिँदा प्रतिवादी खोमनाथ दाहाल र बीना दाहालले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३ (३) नं. को कसुर अपराध गरेको देखिँदा प्रतिवादीमध्ये खोमनाथ दाहाललाई सर्वस्वसहित जन्मकैद र अर्का प्रतिवादी बीना दाहाललाई जन्मकैदको सजाय गरी पाउँ भन्ने व्यहोराको अभियोगपत्र ।
मिति २०६५।६।१७ गते दिनको अपरान्ह १२ बजेको समयमा खाना खाई भाँडा माझ्नको लागि पानी लिन जर्किन लिई घरदेखि मुनिको कुवामा गई पानी लिएर आएकी थिएँ । घरमा भएको पानीको जर्किन नदेखेकीले खोजी गर्दा मृतक देवमाया दाहाल र इन्दिरा दाहालले मलाई गालीगलौज गरी कुटपिट गर्न लागेपछि मेरो श्रीमान् खोमनाथ दाहाल हातमा सानो कुटो लिएर आई मलाईसमेत सो कुटोले हान्न खोजेको हुँदा म भागें । त्यसपछि मृतक र इन्दिरा दाहाललाई कुटो हातमा लिई देखाउँदै हुनुहुन्थ्यो । १२:३० बजेतिर घर आउँदा खेतमा देवमाया लडेकी छन् भनी गाउँलेले भन्दा थाहा पाएकी हुँ । अगाडिदेखि नै मेरा श्रीमान् र निज मृतकका परिवारबीच खेतीवालीसम्बन्धी झै झगडा पर्दै आएको थियो । सोही रिसइबीको कारणले कुटोले हानी देवमायालाई मारेको हुन सक्छ । मैले मारेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी बीना दाहालले अदालतमा गरेको बयान ।
मिति २०६५।६।१७ गतेका दिन मेरी श्रीमती बीना दाहाल र मेरी भाउजू देवमाया दाहालबीच पानी थाप्ने, घाँस पानी आदि विषयमा वादविवाद झगडा भएछ । एक्कासी मान्छे कहालिएको आवाज आई के भएछ भनी हेर्दा भाउजू देवमाया र भतिजी इन्दिराले मेरी श्रीमतीलाई कपालमा समाई घिसारेको देखेपछि मलाई रिस उठी मृतककी छोरी इन्दिराले बोकेको कुटो खोसी सोही कुटोले मृतक देवमायालाई पटकपटक प्रहार गरें । त्यसपछि उनी भाग्दै धानवारीतिर पुगी उत्तानो परी लडिन् । त्यसपछि पनि सोही कुटोले मार्नु पर्र्यो भनी निजमाथि अन्धाधुन्ध प्रहार गरी मारेको हुँ भन्नेसमेत व्यहोराको प्रतविादी खोमनाथ दाहालले अदालतमा गरेको बयान ।
प्रतिवादी खोमनाथ दाहालले मृतकलाई मारेको कुरा स्वीकार गरी अनुसन्धान अधिकारी र अदालतमासमेत बयान गरेको हुँदा निजले मृतकलाई कुटोले प्रहार गरी मारेको भन्ने पुष्टि हुन आएकोले निजलाई अभियोग मागदावीअनुरुप ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । प्रतिवादी बीना दाहालउपरको अभियोग दावी पुष्टि हुन सकेको नदेखिँदा निज प्रतिवादी बीना दाहालले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ । प्रतिवादीले मृतकलाई मनसायपूर्वक, पूर्वतयारीका साथ मारेको नभई आफ्नी श्रीमतीलाई दुःख हैरानी दिएको निहुँमा तत्काल आवेशमा आई कुटो खोसी प्रहार गरेका कारणले मृतकको मृत्यु भएको र चिकित्सकले यी प्रतिवादी मानसिक रोगी भएको भन्ने खुलाएको देखिनुका साथै प्रत्यक्ष अवलोकनबाटसमेत यी प्रतिवादी सामान्य मान्छे जस्तो नभई मानसिक रोगी जस्तै देखिँदा वारदात हुँदाको अवस्था र प्रतिवादीको मानसिक स्थितिलाई विचार गरी हेर्दा ऐनबमोजिमको सजाय चर्को पर्ने हुँदा प्रतिवादी खोमनाथ दाहाललाई १०(दश) वर्ष कैद हुन अ.बं. १८८ नं. बमोजिम राय व्यक्त गरिएको छ भन्ने तेह्रथुम जिल्ला अदालतको मिति २०६६।९।२२ को फैसला ।
प्रतिवादी बीना दाहाल र मृतक देवमाया दाहालबीच पानी थाप्ने कुरामा झगडा भै कुटाकुटसमेत भएको, बीना दाहाल र खोमनाथ दाहाल आई सानो कोदालीले मृतक आमालाई प्रहार गरी मारेको भनी इन्दिरा दाहालले बकपत्रमा लेखाएको, बकपत्र गर्ने हरिप्रसाद सापकोटासमेतले देवमायालाई मार्नमा खोमनाथ र बीनाको संलग्नता रहेको भनी लेखाएको, प्रतिवादी बीना दाहाल पनि वारदात स्थलमा गएकी भनी प्रत्यक्षदर्शी इन्दिरा दाहालले लेखाई दिएको अवस्थामा प्रतिवादी इन्दिरा दाहालको इन्कारी बयानलाई आधार लिई निजलाई सफाइ दिएको तेह्रथुम जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला सो हदसम्म बदर गरी प्रतिवादी बीना दाहाललाई अभियोग दावीबमोजिम सजाय गरी पाउँ भन्नेसमेत व्यहोराको नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत, धनकुटामा परेको पुनरावेदनपत्र ।
म २०५६ सालदेखि मानसिक सन्तुलन गुमाएको मानसिक रोगी हुँ । मैले आरोपित कसुरमा सावित भई बयान गरेको कुरा मलाई थाहा छैन । मलाई परिवारले बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा परीक्षण गरी १ हप्ता भर्नासमेत भई उपचार गराएका थिए । उक्त कुराको धेरैजसो प्रमाण दाजुले घटनापश्चात् नष्ट गरेका भए पनि भएका केही प्रमाणहरू पेस गरेको थिएँ । अदालतको आदेशानुसार चिकित्सकबाट परीक्षण गर्दा गम्भीरखालको सिजोफ्रेनिया र मेनिया टाइपको मानसिक असन्तुलन भएको व्यहोराको प्रतिवेदन पेस भएको छ । तर उक्त प्रमाणको मूल्याङ्कन नगरी फैसला भएको छ । कानूनबमोजिम अपराध ठहरिने कुनै काम गर्ने व्यक्ति सो काम गर्दा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको रहेछ भने निजलाई खतबात लाग्दैन वा सजाय हुन सक्तैन भन्ने दण्ड सजायको १ नं. मा व्यवस्था भएको र सोसम्बन्धी प्रमाणहरू पेस गर्दासमेत सुनुवाइ नभई मलाई हराई सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहराएको तेह्रथुम जिल्ला अदालतको फैसला उल्टी गरी अभियोग मागदावीबाट दण्ड सजायको महलको १ नं. बमोजिम सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी खोमनाथ दाहालको तर्फबाट पुनरावेदन अदालत, धनकुटामा परेको पुनरावेदनपत्र ।
प्रतिवादी खोमनाथले मौकामा र अदालतमा गरेको बयानमा मृतकलाई आफू एक्लैले मारेको भन्ने व्यहोरा उल्लेख गरेको र प्रतिवादी बीना दाहालको संलग्नता रहेको कुरालाई वादी नेपाल सरकारले प्रमाणित गर्न नसकेको हुँदा प्रतिवादी बीना दाहाललाई सफाइ दिएको सुरू फैसला मिलेकै देखिन आयो । अर्का प्रतिवादी खोमनाथ दाहालको हकमा विचार गर्दा निजले गरेको कसुर दण्ड सजायको १ नं. भित्र परेको नपाइँदा निजलाई सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्याएको सुरूको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ ।
मृतकसमेतले अकारण श्रीमती बीनालाई लछार पछार गरेको र पहिले पनि त्यसो गर्ने गरेबाट यी प्रतिवादी क्षोभको अवस्थामा पुगेको देखिन्छ । यी प्रतिवादी भावुक र संवेदनशील भई मृतकले यी प्रतिवादीलाई एक्कासी आवेश, पीडा, हीनभाव आदिको संयुक्त अवस्थामा पुर्याएको कुरालाई विचार गर्दा तेह्रथुम जिल्ला अदालतले प्रतिवादी खोमनाथ दाहाललाई कैद वर्ष १० हुने भनी रायसमेत व्यक्त गरी मिति २०६६।९।२२ मा गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकार र प्रतिवादी खोमनाथ दाहाल दुबै पक्षको पुनरावेदन जिकीर पुग्न सक्तैन भन्ने पुनरावेदन अदालत, धनकुटाको मिति २०६७।९।१३ को फैसला ।
म पुनरावेदक २०५६ साल देखि नै मानसिक रोगी भएको कुरा गाउँ विकास समिति र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सिफारिस गरी दिएको छन् । मानसिक रोग लागेपश्चात् डाक्टरको सिफारिसमा Tab risdone, Tab pacitane, Tab intalith CR जस्ता औषधि सेवन गरेको थिएँ । मृतक भाउजू देवमाया दाहाललाई मार्नुपर्नेसम्मको कुनै रिसइबी र मनसाय थिएन । मानसिक रोगीलाई कसुरबाट उन्मुक्ति दिने भन्ने कानूनी व्यवस्था मुलुकी ऐन, दण्ड सजायको महलको १ नं. मा रहेको छ । तर पुनरावेदन अदालतको फैसला उक्त कानूनी व्यवस्था र यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत भएकोले सो फैसला बदर गरी आरोपित कसुरबाट अलग फुर्सद पाउँ भन्ने व्यहोराको पुनरावेदनपत्र ।
नियमबमोजिम दैनिक पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट विद्वान् वैतनिक कानून व्यवसायी अधिवक्ता हरिशंकर कर्णले प्रतिवादीको मृतकलाई मार्नेसम्मको पूर्वरिसइबी र मनसाय रहेको छैन । मानसिक रोगका कारणले आफूले गरेको कामको मतलब र परिणाम थाहा पाउन नसक्ने यी प्रतिवादीले आफ्नी श्रीमतीलाई मृतकसमेतले कुटपीट गरेका कारणले तत्काल आवेगमा आई मारेको भन्ने मिसिलबाट देखिन्छ । यी प्रतिवादी २०५६ सालदेखि नै मानसिक रोगी भएको भन्ने गाउँ विकास समितिसमेतले दिएको सिफारिसबाट देखिन्छ भने निजलाई गम्भीर खालको सिजोफ्रेनिया र मेनिया टाइपको मानसिक असन्तुलन भएको भनी जिल्ला स्वास्थ्य कार्यालयले दिएको मिति २०६६।२।४ को पत्रबाट देखिन्छ । यसरी यी प्रतिवादी मानसिक रोगबाट पीडित रहेका भन्ने तथ्य पुष्टि भएकोले निजलाई मुलुकी ऐन, दण्ड सजायको महलको १ नं. बमोजिम आरोपित कसुरबाट उन्मुक्ति दिनुपर्दछ भनी गर्नुभएको बहससमेत सुनियो ।
अब पुनरावेदन अदालतको फैसला मिलेको छ छैन र पुनरावेदकको पुनरावेदन जिकीर पुग्न सक्छ सक्तैन भन्ने सम्वन्धमा हेर्दा प्रतिवादीहरू खोमनाथ दाहाल र बीना दाहाललाई मुलुकी ऐन, ज्यान सम्वन्धीको महलको १३(३) नं. बमोजिम सजाय गरी पाउँ भन्ने अभियोग मागदावी रहेकोमा प्रतिवादीमध्येका बीना दाहालले आरोपित कसुरबाट सफाइ पाउने र अर्का प्रतिवादी खोमनाथ दाहाललाई अभियोग मागदावीबमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्याई अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैद हुन उपयुक्त हुने भनी तेह्रथुम जिल्ला अदालतबाट मिति २०६५।७।८ मा राय व्यक्त भएकोमा सो फैसलासहितको राय सदर हुने गरी पुनरावेदन अदालत, धनकुटाबाट मिति २०६७।९।१३ मा फैसला भई सो फैसलाउपर प्रस्तुत पुनरावेदन पर्न आएको छ ।
विद्वान् वैतनिक कानून व्यवसायीको बहस सुनी मिसिल अध्ययन गरी प्रस्तुत मुद्दामा निम्न प्रश्नको निरोपण हुनुपर्ने देखिन आयो :–
क) प्रतिवादीको कर्तव्यबाट मृतकको मृत्यु भएको हो होइन ?
ख) प्रतिवादीले मुलुकी ऐन, दण्ड सजायको महलको १ नं.बमोजिम सजायमा छुट पाउन सक्छ सक्तैन ?
(ग) पुनरावेदन अदालतको फैसला मिलेको छ छैन ?
(घ) प्रतिवादीलाई १० वर्ष कैद हुने भनी पुनरावेदन अदालतबाट व्यक्त राय कायम हुन सक्छ सक्तैन ?
२. सर्वप्रथम पहिलो प्रश्नतर्फ विचार गर्दा प्रतिवादी कसुरजन्य कुरामा अनुसन्धान अधिकारी तथा अदालतमा समेत सावित रहेका छन् । निजको उक्त बयान प्रमाण ऐन, २०३१ को दफा ९(१) बमोजिम प्रमाणमा लिन मिल्ने हुन्छ । यस्तै निजको सो साबिती बयानलाई सहप्रतिवादी तथा निजकी श्रीमती बीना दाहालले अनुसन्धान अधिकारी एवम् अदालतसमेतमा गरेको बयानले समर्थन गरेको छ । मौकामा बुझिएकी प्रत्यक्षदर्शी मृतककी छोरी इन्दिरा दाहालले अनुसन्धान अधिकारीसमक्ष कागज गर्दा प्रतिवादी खोमनाथ दाहालले मृतकको शरीरका विभिन्न भागमा कुटोले प्रहार गरी मारेको भन्ने व्यहोरा लेखाई सो व्यहोरालाई समर्थन हुने गरी अदालतमा बकपत्रसमेत गरी दिएको देखिन्छ । निजले गरेको उक्त बकपत्र पनि प्रमाण ऐन, २०३१ को दफा १०(१)(क) बमोजिम प्रमाणयोग्य रहेको छ । मृतकको नाक, आँखा, मुखसमेतमा काटिएका घाउ चोट रहेको भन्ने मिति २०६५।६।१७ मा भएको घटनास्थल लास जाँच मुचुल्का र मिति २०६५।६।१८ को शव परीक्षण प्रतिवेदनबाट देखिएको छ भने शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण “टाउकामा गहिरो घाउ चोट” (Subdural/extradural hemorrhage in brain) भन्ने उल्लेख भएको छ ।
३. यसरी प्रतिवादीको साबिती बयान, प्रत्यक्षदर्शी इन्दिरा दाहालको अनुसन्धान अधिकारीसमक्षको कागज र अदालतमा भएको बकपत्र, घटनास्थल तथा लास जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदन, सहप्रतिवादी बीना दाहालको बयानसमेतका प्रमाणहरूबाट यी प्रतिवादीले कुटो प्रहार गरी मृतकलाई मारेको पुष्टि हुन आउँछ ।
४. अब, दोश्रो प्रश्नतर्फ विचार गर्दा आफूले मृतकलाई मारेको भए पनि आफू मानसिक रोगी भएका कारणले मुलुकी ऐन, दण्ड सजायको महलको १ नं. बमोजिम आरोपित कसुरबाट उन्मुक्ति पाउनुपर्छ भन्ने पुनरावेदकको पुनरावेदन जिकीर रहेको छ । उक्त नं.मा “कानूनबमोजिम अपराध ठहरिने कुनै काम गर्ने व्यक्ति सो काम गर्दा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा बौलाएको रहेछ भने निजलाई खतबात लाग्दैन वा कुनै प्रकारको सजाय हुन सक्तैन” भन्ने व्यवस्था रहेको छ । उक्त कानूनी व्यवस्थाबमोजिम मानसिक रोग लागेका कारणले अपराधगर्दाको अवस्थामा आफूले गरेको अपराधको प्रकृति र परिणाम थाहा पाउन नसक्ने व्यक्तिले मात्र कसुरबाट उन्मुक्ति पाउने हुन्छ । अपराध गर्नुभन्दा धरै पहिले अथवा अपराध गरी सकेपछि मानसिक रोग लागेको कारणले कसुरदारले कसुरबाट उन्मुक्ति वा छुट पाउन सक्ने हुँदैन ।
५. यी प्रतिवादीले आफूले गरेको आपराधिक क्रियाका सम्बन्धमा सबै तथ्य खुलाई अनुसन्धान अधिकारी र अदालतमासमेत कसुर स्वीकार गरी बयान गरेका छन् । निजले आफूलाई मानसिक रोग लागेको कुरा अनुसन्धान अधिकारी र अदालतमा बयान गर्दासमेत खुलाउन नसकी आफ्नी श्रीमतीलाई मृतक देवमाया दाहाल र मृतककै छोरी इन्दिरा दाहालसमेतले कुटपीट गरेका कारणले रिस उठी इन्दिरा दाहालको हातमा रहेको कुटो खोसी मृतकलाई पटकपटक प्रहार गरी मारेको भनी अदालतमासमेत कसुर स्वीकार गरेका छन् । निजको सो साबिती बयानलाई प्रत्यक्षदर्शी इन्दिरा दाहालले गरेको बकपत्र तथा निजकै श्रीमती बीना दाहालले गरेको बयानले पुष्टि गरेको छ । स्वयम् प्रतिवादीले, मौकामा बुझिएका व्यक्तिहरूले तथा सहप्रतिवादी एवम् निजकै श्रीमतीसमेतले निज प्रतिवादीको मानसिक स्थिति ठीक नभएको भनी कहिं कतै भन्न नसकेको स्थितिमा केवल पुनरावेदन जिकीर लिएकै भरमा मात्र आफूले गरेको आपराधिक क्रियाको प्रकृति र परिणाम थाहा नपाउने गरी प्रतिवादीको मानसिक स्थिति ठीक नभएको भन्न मिलेन ।
६. प्रमाण ऐन, २०३३ को दफा २७(१) मा “प्रचलित नेपाल कानूनबमोजिम सजायमा कमी वा छुट हुने वा सजायबाट रिहाई पाउने कुनै कुराको जिकीर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्याउने भार निजको हुनेछ” भन्ने व्यवस्था रहेको छ । प्रतिवादीले आफूलाई मानसिक रोग लागेकोले दण्ड सजायको महलको १ नं. बमोजिम सजाय हुनु नपर्ने भनी जिकीर लिएको छ । उक्त कानूनी व्यवस्थाबमोजिम घटना घटेको समयमा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी प्रतिवादीको मानसिक स्थिति ठीक नभएको भन्ने कुराको प्रमाण पुर्याउने दायित्व निज प्रतिवादीमा नै रहने हुन्छ । तर निजले सो कुराको तथ्युक्त र विश्वसनीय प्रमाण पेस गर्न सकेको नदेखिँदा दण्ड सजायको महलको १ नं. बमोजिम सजायबाट छुट पाउने स्थिति र अवस्था देखिन आउँदैन ।
७. गाउँ विकास समितिको कार्यालय, ओयाक्जुङ तेह्रथुमको मिति २०६५।५।२९ को सिफारिसपत्र र नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी, तेह्रथुमको २०५६।५।३२ को सिफारिसपत्रमा यी प्रतिवादी मानसिक असन्तुलन भएको भन्ने व्यहोरा उल्लेख गरिएको भए पनि गाउँ विकास समितिको कार्यालय र नेपाल कम्युनिष्ट पार्टी (एमाले) व्यक्तिको शारीरिक/मानसिक स्वास्थ्य जाँच गर्ने आधिकारिक निकाय नभएकोले त्यस्ता अधिकारविहीन निकायहरूले दिएका सिफारिसको प्रामाणिक महत्व नरहने हुँदा त्यस्ता सिफारिसका आधारमा यी पुनरावेदक प्रस्तुत मुद्दाको वारदात हुँदाका बखतमा मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन् भन्न मिल्दैन ।
८. जिल्ला स्वास्थ्य कार्यालय, तेह्रथुमको मिति २०६६।२।४ को पत्रमा यी प्रतिवादीलाई “गम्भीर खालको सिजोफ्रेनिया र मेनिया टाइपको मानसिक असन्तुलन भएको” भन्ने व्यहोरा उल्लेख भएको छ । तर पनि निजलाई सो रोग कहिलेदेखि लागेको हो वारदात मितिमा निजलाई रोग लागेको थियो थिएन भन्ने कुरा उक्त पत्रमा उल्लेख भएको देखिँदैन । सो पत्रमा दस्तखत गर्ने डा.एकराज गौतम मानसिक रोग विशेषज्ञ हुन् भन्ने देखिँदैन भने प्रतिवादीको स्वास्थ्य परीक्षण के कुन विधि र प्रक्रियाबाट गरिएको भन्ने कुरा पनि सो पत्रमा खुलेको छैन । विशेषज्ञले मानसिक अवस्थाको सम्बन्धमा वैज्ञानिक परीक्षण गरी कारणसहित राय दिएको अवस्थामा मात्र त्यस्तो राय विश्वसनीय हुन्छ र प्रमाणको रूपमा ग्रहण गर्न सकिने हुन्छ । तर सो पत्रमा उल्लिखित राय वैज्ञानिक परीक्षण गरी दिएको भन्ने कुरा खुल्न आएको नदेखिएकोले उक्त पत्रमा उल्लिखित रायलाई विश्वसनीय प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने देखिएन ।
९. यसै सन्दर्भमा “सजायबाट उन्मुक्ति पाउनको लागि घटना हुनुभन्दा अघिको अभियुक्तको मानसिक अवस्था, पूर्व आचरण र व्यवहार, असामान्य क्रियाकलाप, रोगबारे निदान र उपचार गराएको भए सोको तथ्यपूर्ण आधार र प्रमाण तथा घटनापश्चात् निजको व्यवहार र आचरण, तत् सम्बन्धमा मानसिक रोग विशेषज्ञले निजको मानसिक अवस्थाबारे पर्याप्त जाँच र अनुसन्धान गरी दिएका तथ्यपूर्ण एवम् वैज्ञानिक कारणसहितको प्रतिवेदनसमेतलाई विचार गर्नुपर्ने” भनी सुदर्शन अर्याल विरुद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दा (नेकाप २०६५, माघ, नि.नं. ८०२९, पृ.१२७९) मा यस अदालतको संयुक्त इजलासबाट सिद्धान्त प्रतिपादन भएको छ ।
१०. प्रस्तुत मुद्दाको घटना घट्नुअघि यी प्रतिवादी खोमनाथ दाहालको मानसिक अवस्था, आचरण र व्यवहार सामान्य रहेको देखिएको छ । घटना घट्नुअघि निजको मानसिक अवस्थाको जाँच गराएको भन्ने कुरा जाहेरवाला, प्रत्यक्षदर्शी इन्दिरा दाहाल तथा मौकामा बुझिएका व्यक्तिहरूले अनुसन्धान अधिकारी र अदालतमा बकपत्र गर्दासमेत खुलाउन सकेका छैनन्, न त प्रतिवादी स्वयम्ले नै अनुसन्धान अधिकारी र अदालतमा बयान गर्दा सो कुरा भन्न सकेका छन् ।
११. यसरी घटना घट्नुअघि र घटना घटी सकेपछिको प्रतिवादीको आचरण, व्यवहार र क्रियाकलाप सामान्य देखिनुका साथै घटनाअघि र पछि निजको मानसिक रोगको उपचार गराएको भन्ने पनि नदेखिएको स्थितिमा जिल्ला स्वास्थ्य कार्यालय, तेह्रथुमले दिएको पत्रका आधारमा निज प्रतिवादी घटना हुँदाका अवस्थामा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा पाउन नसक्ने किसिमको मानसिक रोग लागेका व्यक्ति रहेछन् भन्न मिलेन ।
१२. अब तेस्रो प्रश्नतर्फ विचार गर्दा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा पाउन सक्ने स्वास्थ्य मानसिक अवस्थाका प्रतिवादी खोमनाथ दाहालले मृतक देवमाया दाहाललाई मृतकको टाउको, कनपट्टासमेतमा कुटोले पटकपटक प्रहार गरी मारेको भन्ने प्रतिवादीले अदालतमा समेत स्वीकार गरी बयान गरेको र निजको सो बयानलाई जाहेरवाला, मौकामा बुझिएका प्रत्यक्षदर्शीलगायतका व्यक्तिहरूको बकपत्र र सहप्रतिवादी एवम् प्रतिवादीकी श्रीमतीको बयानसमेतले समर्थन गरेको देखिन आएकोले निज प्रतिवादी खोमनाथ दाहाललाई ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्म कैदको सजाय हुने ठहर्याएको तेह्रथुम जिल्ला अदालतको मिति २०६६।९।२४ को फैसलालाई सदर गरेको पुनरावेदन अदालत, धनकुटाको मिति २०६७।९।१३ को फैसला मिलको देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्तैन ।
१३. प्रतिवादीलाई अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैद हुने भनी जिल्ला अदालतले व्यक्त गरेको राय सदर हुने भनी पुनरावेदन अदालतको राय मनासिब छ छैन भन्ने अन्तिम प्रश्नतर्फ सम्वन्धमा हेर्दा “भवितव्य हो कि भन्न हुनेसम्मको शङ्काले” वा “अपराध गरेको अवस्था विचार गर्दा कसुरदारलाई ऐनबमोजिम सजाय दिँदा चर्को हुने भई घटी सजाय हुनुपर्ने चित्तले देखेमा” न्यायकर्ताले अदालती बन्दोवस्तको १८८ नं. बमोजिम सजाय घटाउन सक्दछ । प्रस्तुत मुद्दामा भवितव्य हो भन्ने शङ्काको स्थिति रहेको छैन । प्रतिवादीलाई ऐनबमोजिमको सजाय बढी हुने हो होइन भन्ने सम्वन्धमा हेर्दा घटना हुँदाका बखतमा यी प्रतिवादी मानसिक रोगी नरहेको भन्ने कुरा माथिका प्रकरणबाट पुष्टि भई सकेको छ । प्रतिवादीले मृतकलाई पानी भर्ने धाराबाट धानबालीतर्फ लखेटी मृतकको टाउको, कनपट्टासमेतका संवेदनशील अङ्गमा कुटो जस्तो जोखिमी हतियारले पटकपटक प्रहार गरी क्रूरतापूर्वक मृतकलाई मारेको अवस्था छ । अदालतले अ.बं. १८८ नं. बमोजिम सजाय घटाउने राय व्यक्त गर्दा प्रतिवादीले मृतकउपर प्रयोग गरेको हतियारको प्रकृति र मृतकका शरीरमा परेको चोटपटकलाई पनि विचार गर्नुपर्छ । जोखिमी हतियारले संवेदनशील अङ्गहरूमा क्रूरतापूर्वक पटकपटक प्रहार गरी ज्यान मारेमा त्यस्तो कार्य गर्नेले अ.बं. १८८ नं. को सुविधा पाउन सक्तैन । प्रतिवादीले कुटोजस्तो जोखिमी हतियारले मृतकको टाउको, कनपट्टा जस्ता संवेदनशील अङ्गमा पटकपटक प्रहार गरी क्रूर तरिकाले मृतकलाई मारेको अवस्था र स्थिति विद्यमान रहेको हुँदा निजको कसुर अ.बं. १८८ नं. बमोजिम सजाय घटाउने अवस्था र परिस्थितिको रहेको देखिँदैन ।
१४. यसै सन्दर्भमा अ.बं. १८८ नं. को प्रयोग गरी सजाय घटाउँदा अदालतले ज्यान मर्न गएको कारण, अवस्था र परिस्थिति, अपराधको तयारी योजना तथा अभियुक्त र पीडितका बीच पूर्वरिसईबी, सम्बन्ध, अपराधमा संलग्न अभियुक्तहरूको सङ्ख्या, प्रयोग गरिएको हतियार, मर्नेको शरीरमा देखिएको घाउचोट, ज्यान मारिएको ठाउँ, अवस्था, घटनास्थल र समय, अभियुक्तको चरित्र तथा आपराधिक रेकर्डसमेतका कुरा र अवस्थाहरूलाई ध्यान दिनुपर्ने भनी गोबिन्दबहादुर कार्की विरुद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दा (नेकाप २०६५, फागुन, नि.नं. ८०३९, पृ. १३६९) मा यस अदालतबाट भएको व्याख्या प्रस्तुत मुद्दामा पनि सान्दर्भिक देखिन आउँछ ।
१५. तसर्थ, प्रतिवादी खोमनाथ दाहालले मृतकलाई पानी भर्ने धाराबाट धानबालीतर्फ लखेटी कुटो जस्तो जोखिमी वस्तुले मृतकको टाउकोलगायतका संवेदनशील अङ्गमा पटकपटक प्रहार गरी क्रूरतापूर्वक मारेको देखिन आएकोले अ.बं. १८८ नं. बमोजिम भएको कानूनी व्यवस्था र यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतका आधारमा निजलाई अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैद सजाय हुन व्यक्त गरिएको तेह्रथुम जिल्ला अदालतको राय र सो रायलाई समर्थन गरेको पुनरावेदन अदालतको रायसमेत मिलेको नदेखिँदा उक्त रायसँग सहमत हुन सकिएन । प्रतिवादी खोमनाथ दाहाललाई सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । अरुमा तपसिलबमोजिम गर्नू ।
तपसिल
प्रतिवादी खोमनाथ दाहालको माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्म कैदको सजाय हुने ठहर्याएको तेह्रथुम जिल्ला अदालत र पुनरावेदन अदालत, धनकुटाको फैसला सदर भई १० वर्ष कैदको सजाय गर्ने गरी अ.बं. १८८ नं. बमोजिम व्यक्त राय कायम रहन नसक्ने भएकोले निज प्रतिवादीलाई सर्वस्वसहित जन्मकैदको लगत कसी सो सजाय असुल गर्नु भनी तेह्रथुम जिल्ला अदालतमा लेखी पठाउनू ..........१
फैसलाको जानकारी प्रतिवादीलाई दिई दायरीको लगत कट्टा गरी मिसिलनियमानुसार बुझाई दिनू .................१
उक्त रायमा सहमत छु ।
न्या. रामकुमार प्रसाद शाह
इति सवंत् २०७० साल माघ १५ गते रोज ४ शुभम्
इजलास अधिकृत : किशोर घिमिरे