निर्णय नं. १४०९ - लुटपिट

निर्णय नं. १४०९ ने.का.प. २०३७
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री हेरम्बराज
सम्वत् २०३६ सालको फौ.पु.नं. १५५
फैसला भएको मिति : २०३७।९।४।५ मा
पुनरावेदक : बारा जिल्ला कलैया आदर्श गाउँ पञ्चायत वडा नं. ८ बस्ने ऋषिकुमार अग्रवाल
विरूद्ध
विपक्षी : ऐ ऐ. बरेवा गा.पं.नं. ८ बस्ने रामानन्दप्रसाद चौरसियासमेत
मुद्दा : लुटपिट
(१) माटो काट्न लगाई खाल्डो पारेको र सो कारणबाट नोक्सान पारी दिएकोले नोक्सानी बिगोपाउँ भन्ने लुटपिटको १ नम्बर...परिभाषाभित्र नपर्ने ।
(प्रकरण नं. १२)
पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा
फैसला
न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छन् : भवानीपुर गा.पं.वार्ड नं. ६ पदम रोडदेखि दक्षिण कलैया बरेवारी देखि पश्चिम प्रमुख जि.अ.को कार्यालय कम्पाउण्डदेखि पूर्व कौशिलादेखि शिवचन्द्रको जग्गा देखि उत्तर कि.नं. १४४ को ज.बि.०–२–१३ देवकीलाल धर्मशालाको जिर्णो भई धर्मशाला बन्न हुने विचार गर्दा पदम रोड धर्मशालानेर १४ मिटर चौडा राख्न नक्कल पास स्वीकृति भई बनाएकोमा सो घरको जग्गामा माथि पापामाचि समेत फलामे डण्डी समेत कसैको छत बनाउन बाँकी अवस्था ०३०।२।९ गते सो घर नै ढाल्ने नियत लिई मेरो देवालको जग्गाको माटो विपक्षीहरूले काट्न लगाई काटी खाल्डो पार्न लागेको रोख्दा नमानेकोले सो देवाल ढली रु.१५४४५। खर्च लागी बनेको नोक्सान गरी दिएकोले सो बिगो रु.१५४४५। विपक्षीहरूबाट दिलाई भराई सजाय समेत गरिपाउँ भन्ने समेत ऋषिकुमार अग्रवालको फिराद ।
२. रामचन्द्र समेतको भनाई बमोजिम रामचन्द्र, शिवचन्द्रले धर्मशाला बनी रहेको देवालनेरको माटो काटन लगाएबमोजिम बच्चेलाल सुकदेवले काटेको माटो काटेको भन्ने समेत दशैं राउत, अकल रजमूल्लाको प्रतिउत्तर ।
३. विपक्षीले हामीलाई बोलाई नोक्सान पारी दिएको भनेको घर दक्षिण पट्टि लिई गए अरू २ जना पनि कोदालो लिई बसेका र काटेको माटोको छैट्टा बच्चालालको ठाउँको बोकाउन लगाई म सुकदेवलाई एता फर्क भनी फोटो लिए भन्ने समेत सुकदेव, बच्चेलालको प्रतिउत्तर ।
४. वादीको लेखाई बमोजिम माटो काट्न लगाई जग्गा खाल्टो पारेको र सो कारणबाट ढली नोक्सान पारेको समेत छैन । ७५ फिट सडक राखेको विपक्षीले मिची बनाउन लागेको निवेदन दिई रोक्का रहेकोले सरकारतर्फबाट पछि हटाई फाल्छन् भए राम्रो गरौंला भनी अग्लो जग्गामा आफ्नो जग्गा नछाडी कम जग्गा राखी कच्चा किसिमबाट बनाएको हो । म शिवचन्द्रको जग्गा होचो खाल्टोमा हुनाले वर्षादबाट देवाल ढलेको हो । करीब २०००। खर्च लगाई बनाएको धेरै दावी गरेको भन्ने समेत व्यहोराको रामचन्द्र, रामानन्द, शिवचन्द्र, जयचन्द्र समेतको प्रतिउत्तर ।
५. साक्षी समेतको बकाईबाट ढलेको गारोको रु.१२०००। सम्म नोक्सानी बिगो भराउन मुनासिव देखिँदा रु.१२०००। घरको देवालको जग्गाको माटो काट्न लगाउने मुखे प्रतिवादी । रामचन्द्र, शिवचन्द्र, रामचन्द्र समेतबाट भरी पाउने र वादीले रु.३४४५। बढी बिगो दावी गरेको छ र देवाल भत्कने गरी नोक्सान पारी सबै प्रतिवादीले लुटपिटको १ नं. कसूर गरेको समेत ठहर्छ भन्ने समेत बारा जिल्ला अदालतको फैसला ।
६. रु.१२०००। बिगो भराउने भन्ने समेत व्यहोराको फैसलामा चित्त बुझेन भन्ने रामानन्दप्रसाद, शिवचन्द्रप्रसाद, जयचन्द्रप्रसाद, छोटेलाल महतो, नगीना महतो, ज्ञानचन महतोको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।
७. दावीबमोजिम भरी पाउनुपर्नेमा रु.१२०००। मात्र भराउने भएको फैसलामा चित्त बुझेन भन्ने वादी ऋषिकुमारको मध्यमाञ्चल क्षे.अदालतमा परेको पुनरावेदनपत्र ।
८. प्रतिवादीले माटो काट्न लगाई जग्गा खाल्टो पारेको र सो कारणबाट नोक्सान पारी दिएकोले नोक्सानी बिगो भराई पाउँ भन्ने दावी भएकोले उक्त लुटपिटको १ नं. को परिभाषाभित्र परेको नदेखिएकोले खारेज गर्नुपर्नेमा शुरू जि.अ.ले इन्साफ गरेको मिलेन । सो फैसला गल्ती भई दावा खारेज हुने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
९. उक्त इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने पुनरावेदक वादी ऋषिकुमार अग्रवालको यस अदालतमा परेको पुनरावेदनमा पुनरावेदनको अनुमति पाएको रहेछ ।
१०. लुटपिटको १ नं. मा वारदातको रूपबाट चोरीको महल बमोजिमको अपराध ठहर्ने बाहेक अरू यसै महलका नम्बर नम्बरमा लेखिएका रूपबाट उठान भई सोही जरियाबाट झगडा कुटपिट सम्म भई वा सो केही नभई अर्काको हकको वा जिम्माको नगदी जिन्सी धनमाल दोपाया, चौपाया जग्गाको बाली समेत हात हाली जवरजस्ती खोसी लैजान वा कुनै किसिमसँग नोक्सान गराई समेत हुँदैन, गरे लुटपिट ठहर्छ भन्ने उल्लेख भएको पाइन्छ । साथै उक्त महलको ६ नं. मा यसै महलको ३।४।५ नम्बरमा लेखिए देखि बाहेक अरू तरहसँग लुटपिट गरेमा लिने खाने नोक्सान पारी दिनेबाट बिगो भराई निजलाई सोही बिगोको सयकडा पच्चीस जरीवाना गर्नु पर्छ भन्ने व्यवस्था भएको देखिन्छ । उक्त दुवै नम्बरहरूको संयुक्त अध्ययनबाट झगडा वा जवरजस्तीको तत्त्व विद्यमान नभए तापनि चल वा अचल सम्पत्ति नोक्सान पार्ने क्रिया लुटपिटको परिभाषाभित्र पर्न जाने देखिन्छ । यस स्थितिमा क्षेत्रीय अदालतले उक्त कानुनी व्यवस्थाहरूको विश्लेषण नै नगरी वादीको दावी लुटपिटको परिभाषाभित्र नपर्ने भनी मुद्दा खारेज गर्ने गरेको सार्वजनिक महत्त्व विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि देखिएकोले न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको २०३६।१।४।३ को आदेश ।
११. तारेखमा रहेका पुनरावेदक वादी ऋषिकुमार अग्रवालको वारेस ओमकारमान र विपक्षी प्रतिवादी रामानन्दप्रसाद चौरसिया समेतको वारेस झलकबहादुरलाई रोहवरमा राखी पुनरावेदक वादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठको र विपक्षी प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री गणेशराज शर्माको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मुनासिव या बेमुनासिव के रहेछ निर्णय दिनुपरेको छ ।
१२. यसमा प्रतिवादीले माटो काट्न लगाई खाल्टो पारेको र सो कारणबाट नोक्सान पारी दिएकोले नोक्सानी बिगो भराई पाउँ भन्ने समेत वादी दावी भएकोले लुटपिटको १ नम्बरको परिभाषाभित्र परेको नदेखिएकोले खारेज हुने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतले निर्णय गरेको देखिन्छ । उक्त मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय विचार गर्दा लुटपिटको १ नम्बरमा वारदातको रूपबाट चोरीको महल बमोजिमको अपराध ठहर्ने बाहेक अरू यसै नम्बर नम्बरमा लेखिएका रूपबाट उठान भई सोही जरियाबाट झगडा कुटपिट सम्म भई वा सो केही नभई अर्काका हकको वा जिम्माको नगदी जिन्सी धनमाल दोपाया चौपाया जग्गाको बाली समेत हातहाली जवरजस्तीसँग खोसी लैजान वा कुनै किसिमसँग नोक्सान गराइदिन समेत हुँदैन गरे लुटपिट ठहर्छ भन्ने उल्लेख भएको छ । वादीको फिराद उक्त परिभाषाभित्र नपर्ने देखिन्छ । तसर्थ वादी ऋषिकुमार अग्रवालको दावी खारेज गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । तपसील बमोजिम गरी नियम बमोजिम मिसिल बुझाई दिनु ।
तपसील
पुनरावेदक वादी ऋषिकुमार अग्रवाल के माथि इन्साफ खण्डमा लेखिएबमोजिम वादी दावी खारेज भएकोले अ.बं.१८० नं. को दफा १ ले बिगो रु.१५४४५। को लुटपिटका ६ नं. ले सयकडा रु.२५। ले रु.३८६१।२५ जरीवाना लाग्नेमा सो नठहरे दण्डसजायका १८ नं. ले त्यसको आधि रु.१९३०।६३ लाग्नेमा मुद्दा खारेज हुने ठहरेकाले त्यसको पनि सयकडा ५ ले जम्मा रु.९६।५४ छयानब्बे रुपैयाँ चौवन्न पैसा जरीवाना हुन्छ खारेज हुँदा लगत कसी असूल गर्नु भनी वारा जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु...................१
उक्त रायमा म सहमत छु ।
न्या. हेरम्बराज
इति सम्वत् २०३७ साल पौष ४ गते रोज ५ शुभम् ।