शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४१० - उत्प्रेषणको आदेश जारी गरी पाउं

भाग: २२ साल: २०३७ महिना: पौस अंक:

निर्णय नं. १४१०  ने.का.प. २०३७

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

सम्वत् ०३६ सालको रिट नम्बर १२५१

आदेश भएको मिति :  २०३७।९।११।५ मा

निवेदक : भक्तपुर जिल्ला भ.पु.न.पं.वार्ड नं. १२ लाकोलाछे बस्ने नानीमाया सुवाल्नी

विरूद्ध

विपक्षी : ऐ ऐ. वार्ड नं. १२ बस्ने मोतीबहादुर सुवालसमेत

विषय : उत्प्रेषणको आदेश जारी गरी पाउं

(१) गुठी संस्थान ऐन, २०३३ को दफा ६२ मा यस ऐनमा अन्यथा गरिएकोमा बाहेक संस्थान वादी वा प्रतिवादी भएको मुद्दामा शुरू कारवाही र किनारा गर्ने अधिकारक्षेत्र अञ्चल अदालतको हुनेछभन्ने व्यवस्था भएको पाइन्छ । उक्त गुठी संस्थान उपर अञ्चल अदालतमा मुद्दा दायर गर्नसक्ने अन्य उपचारको बाटो भएकै देखिँदा रिट निवेदनपत्र खारेज हुने ।

(प्रकरण नं. ८)

आदेश

        न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरी विपक्षी गुठी संस्थान कार्यालयको मिति ०३६।९।८ को निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति ०३६।१२।१२।३ मा दर्ता भएको रहेछ ।

        २.  संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : भैरवनाथ गुठीको मोहियानी नामसारी गर्ने बारे मिति ०३६।८।२७ को पत्र साथ प्राप्त टिप्पणीं पेश हुँदा भक्तपुर भैरवनाथको पूजा गुठी लगतमा दर्ता भएको मेरो नाउँमा भू.सु.नापी हुँदा कटुन्जे पञ्चायत वडा नं. ७(ख) कि.नं. २६६ अं.रोपनी ६ रोपनी ३० जोतमा र पोतमा नापी भएको सो जग्गा साविक लगतमा स्वर्गीय लोग्ने मुक्तिनाथ सुवालको नाउँमा दर्ता भएकोले नाउँसारी गरिपाउँ भनी भ.पु.न.पं.को नाता प्रमाणित गराई नानीमैयाँ सुवालनीले दरखास्त दिएको र हकदार बुझ्ने ७ दिने म्यादमा म छोरा हुँ उक्त जग्गा ०२१ साल भन्दा अघि देखि नै मैले नै जोती आएको छु भनी उजूरी दिई बाबु मुक्तिनाथ ०७२६ मा परलोक भएका हुन् भनी भक्तपुर नगरपञ्चायतबाटै नाता प्रमाणित गराई पेश गरेको पनि देखियो । उल्लिखित कित्ता नं. को जग्गा कसले जोती आएको छ भनी सम्बन्धित कटुन्जे गा.पं.मा गुठी लगतले सोधनी गरी पठाएकोमा विवादास्पद जग्गा ०२१ साल अघि देखि नै अहिलेसम्म मुक्ति भन्ने मोतीबहादुर सुवालले जोती आएको छ भनी चौतर्फी सँधियार समेतले सरजमीन गरी दिएको उक्त सरजमीन मुचुल्का रहेछ । नानीमैयाँले जोतपोत नै नाउँसारी गरिपाउँ भनी भनेकोमा भक्तपुर नगरपञ्चायतले नाता प्रमाणित गरी पठाएको ०३६।१।१८ को नानीमैयाँको र मिति ०३६।२।२ को मोतीबहादुरको सम्बन्धको पत्रबाट दुईजना हकदार देखिएकोले दर्ताको हक पनि एकजना दरखास्तवालाको नाउँमा दर्ता गरी दिन नमिल्ने, छूट अमानति राजगुठी जग्गामा ०२९ सालको गुठी संस्थान ऐन प्रारम्भ भएपछि ०२९ साल देखि मात्र जोताहामा मोहियानी हक प्राप्त हुने कानुनी व्यवस्था देखिएको र कानुनी अधिकार प्राप्त नभएको अवस्था ०२१ सालमा जोताहाले खाएको प्रमाणित मान्न नमिल्ने जोताहा हक प्राप्त हुने ऐन, ०२९ प्रारम्भ भएपछि विवादास्पद उल्लिखित ०२१ साल अघि देखि नै मृतक मुक्तिनाथ सुवालको छोरा मोतीबहादुर अर्थात मोतीबहादुरले जोती आएको छ भनी चौतर्फी सँधियार समेतले सरजमीन लेखी दिएको देखिनाले जोताहा मोतीबहादुरलाई नै मान्नुपर्ने देखिँदा नानीमैयाँ सुवालनीको दरखास्त अनुसार नामसारी गर्न मिल्दैन भनी गुठीसंस्थान केन्द्रीय कार्यालयले ०३६।९।८।१ मा निर्णय गरेको रहेछ ।

        ३.  विपक्षी गुठी संस्थानले आफ्नो अधिकारक्षेत्रलाई राम्ररी बुझ्नु पर्दछ । गुठी संस्थान ऐन, ०३३ को दफा १७ मा संस्थानको काम कर्तव्य तथा अधिकारको व्यवस्था गरिएकोछ । ऐ. ऐनको दफा ६० मा दफा ५४,५५,५६,५७ र ५८ बमोजिम कारवाही गर्दा मात्र अदालतलाई भएसरहको व्यवस्था गरेको छ । ऐ. ऐनको दफा २७ मा मोहियानी सम्बन्धमा व्यवस्था गरिएको छ र जसमा गुठी जग्गामा खास जोताहा किसानले प्रचलित कानुन बमोजिम मोहियानी हक पाउने छ भनी लेखिएको छ निवेदिका नानीमैयाँले लोग्नेको नामबाट तत्कालिन लगतमा दर्ता भएको दर्ता हक मेरो नाउँमा नामसारी गरिपाउँ भनी सबूत प्रमाण सहित पेश गरेकोमा उपरोक्त विपक्षी गुठी संस्थानको निर्णयले विपक्षी मोतीबहादुर सुवाललाई मोही कायम गरिएको छ । विपक्षी गुठी संस्थानले गरेको निर्णय अधिकारक्षेत्र नाघी गरेको प्रष्ट छ । माहियानी हक फलानाको हो भनी छुट्याउने अधिकार विपक्षी गुठी संस्थानलाई नभएको हुँदा उक्त निर्णय अ.बं.३५ नं. बमोजिम बदरभागी छ । मोही कायम गर्दा प्रचलित कानुन बमोजिम गर्नुपर्ने कुरा दफा २७ ले प्रष्ट गरेको छ ।

        ४.  विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने सिंगलबेञ्चको मिति ०३६।१२।२१।५ का आदेशानुसार प्राप्त हुनआएको लिखितजवाफ निम्न प्रकार छन् :

        ५.  नामसारी गर्न मिलेन भनी भएको निर्णयमा गुठी संस्थान ऐन, ०३३ को दफा २७ को मनसायले विपरीत नहुनुको साथै सबूत प्रमाणको मूल्याङ्कन गरी गरेको निर्णयमा कुनै पनि कानुनी त्रुटि नभएको हुँदा रिटनिवेदन खारेजगरिपाउँ भन्नेसमेत गुठीसंस्थान के.का.।

        ६.  संवैधानिक हकको प्रश्न नै छैन र यो कानुनको त्रुटि भयो भन्ने समेत रिट निवेदनपत्रमा खुलेको छैन पुनरावेदन सरहको निवेदन जिकिर हुनाले रिट निवेदनपत्र खारेज गरी पाउन अनुरोध गर्दछु भन्ने समेत मुक्तिबहादुर भन्ने मोतीबहादुर सुवाल ।

        ७.  तारेखमा रहेका निवेदक नानीमाया सुवाल्नीको वारेस विष्णु वासुकला र विपक्षी मोतीबहादुर सुवालको वारेस नारायण कायस्थलाई रोहवरमा राखी निवेदिकातर्फका विद्वान अधिवक्ता श्री विश्वकान्त मैनालीको र विपक्षी गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौं तथा मोतीबहादुर सुवालसमेत तर्फका विद्वान अधिवक्ता श्री शोभाकर उपाध्यायको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा निवेदकका माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनुपरेको छ ।

        ८.  यसमा लोग्ने मुक्तिनाथ सुवालको नाउँमा दर्ता भएको जग्गा नाउँसारी गरिपाउँ भन्ने निवेदक भएकोमा विपक्षी मोतीबहादुरले कमाइआएको छ भनी सरजमीन समेतले लेखिदिएको देखिनाले जोताहा मोही मोतीबहादुरलाई मान्नुपर्ने देखिँदा नानीमाया सुवाल्नीको निवेदन अनुसार नामसारी गर्न मिल्दैन भनी गुठी संस्थान केन्द्रीय कार्यालयले निर्णय गरेको देखिन्छ । प्रस्तुत केशतर्फ विचार गर्दा निवेदकले मोहियानी हक हनन् भयो भनी कानुनी हकको विषय लिई रिट निवेदनपत्र दर्ता गरेकोमा गुठी संस्थान ऐन, ०३३ को दफा ६२ मा यस ऐनमा अन्यथा गरिएकोमा बाहेक संस्थान वादी वा प्रतिवादी भएको मुद्दामा शुरू कारवाई र किनारा गर्ने अधिकारक्षेत्र अञ्चल अदालतको हुनेछभन्ने व्यवस्था भएको पाइन्छ । उक्त गुठी संस्थान उपर अञ्चल अदालतमा मुद्दा दायर गर्नसक्ने अन्य उपचारको बाटो भएकै देखिँदा प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ । नियम बमोजिम फाइल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. त्रैलोक्यराज अर्याल

 

इति सम्वत् ०३७ साल पौष ११ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु