शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८९२० - भरेङ बाटो कायम गरिपाऊँ ।

भाग: ५४ साल: २०६९ महिना: फागुन अंक: ११

ने.का.प. २०६९,            अङ्क ११

निर्णय नं. ८९२०

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री भरतराज उप्रेती

०६३CI१२४८

फैसला मितिः २०६९।३।१९।३

 

मुद्दा : भरेङ बाटो कायम गरिपाऊँ 

 

पुनरावेदक प्रतिवादीः भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं १ घर भई हाल काठमाडौँ जिल्ला       काठमाडौँ महानगरपालिका वडा नं ३१ वागवजार वस्ने वर्ष ५७ को चन्द्रमान नाञ्जू समेत

विरुद्ध

प्रत्यर्थी वादीः भक्तपुर जिल्ला भक्तपुर नगरापालिका वडा न. १ सूर्यमढी टोल वस्ने वर्ष ६२ को     कृष्णभक्त खयरगोली समेत

 

शुरु  फैसला गर्नेः

मा.न्या.श्री प्रेमवहादुर के.सी.

पुनरावेदन  फैसला गर्ने :

मा.न्या.श्री हरिराम कोइराला

मा.न्या.श्री हरिवहादुर वस्नेत

 

§  जग्गाको प्रकृति वा क्षेत्रफलबाट विवादित भर्‍याङ्ग लिखतभित्रको देखिन आएतापनि घर जग्गामा रहेको बाटोघाटो भर्‍याङ्ग निकास दुवै पक्षले प्रयोग गरी आएको स्थितिमा त्यस्तो निकास बाटोलाई एक पक्षको मात्रै कायम गरेमा सम्पत्ति उपभोगयोग्य नहुने हुन्छ । दुवै पक्षले साझा बाटोको रूपमा प्रयोग गरी आएको भर्‍याङ्गलाई एक पक्षले मात्रै प्रयोग गर्न पाउने भन्नलाई समन्यायको दृष्टिबाट नमिल्ने 

(प्रकरण नं.२)

§  विधिशास्त्रीय मान्यतामा स्वामित्वको अभाव भए पनि निकासको सुविधाको दृष्टिले निरन्तर रूपमा भोग चलन गरिरहेको बाटो, र्‍याङ्ग आदिलाई विशेषाधिकार (Servitude) को रूपमा लिइने हुँदा कुनै वस्तु एकाको स्वामित्वमा भएपनि निकास आदिमा सो वस्तुउपर अरुको कायम रहेको भोगाधिकारको हक सुनिश्चित् हुने 

(प्रकरण नं.३)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय विश्वप्रकाश सिग्देल र सुरेशकुमार थापा

प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता विश्वप्रकाश भण्डारी

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

 

फैसला

            न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत पाटनबाट मिति २०६३।९।१७।२मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालत समक्ष पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :

            भक्तपुर नगरपालिका वडा नं १ को कि.नं. ३४० को घर हामी फिरादीमध्येका कृष्णभक्तका नाउँमा मालपोत कार्यालयमा दर्ता भएको घर हो । जुन हामीले अविछिन्न भोगी आएका छौ । सो पूर्जाको कैफियतमा कि.नं. ३४० को दक्षिण मोहडामा पश्चिमतर्फ पु.प.चौडाई १.८०, उत्तर दक्षिण ल. १८० तेस्रो तल्लामा फिरादी विकुबहादुरको भाग पर्छ । सो कि.न.को घरको चोटा तेस्रो तल्ला वाहेक अरु सम्पूर्ण घर फिरादी कृष्णभक्तले र सो कि.न को चोटा तल्ला विकुबहादुरले भोगी आएका छौ । फिरादी सहोदर दाजुभाई हौ । कि.नं. ३४३ को घर वुद्धिनारायण नागाजूका नाउँमा दर्ता कायम छ । विपक्षी प्रतिवादी चन्द्रमानको कि.नं. ३४१ मा वसेको घर सवै जोडिएका साझा बाटो र भर्‍याङ्ग खण्ड फिरादीसमेतको साझा भै अनवरत भोग चलन गरी प्रयोग गरी आएको हुँदा चोटासम्म जाने भर्‍याङ्ग साझा बाटो कायम नभएसम्म नक्सा पास रोक्का गरी पाउन फिरादी कृष्णभक्त र विकुबहादुरको उजूरी परी भक्तपुर नगरपालिकाबाट विवादित स्थान के कसको हक स्वामित्व को हो प्रमाण मूल्याङ्कन नगरी निर्णय दिने अधिकार भ.न.पा. को नहुँदा अधिकारप्राप्त अदालतबाट अन्तिम ठहरेबमोजिम हुने गरी फिराद गर्न जानु भनी सुनाएकोले यो फिराद गर्न आएको छु । कि.नं. ३४१ मा रहेको बाटो साझा कायम गरी भर्‍याङ्ग बाटो साझा रूपमै उपभोग गर्न पाऊँ । सो भर्‍याङ्ग बाटो वादी प्रतिवादीले संयुक्त रूपमा भोगी आएको छ । प्रतिवादी वुद्धनारायण, चन्द्रमान र तिर्थनारायणबीच भ.न.पा.मा मिति २०५७।१२।२६ मा मिलापत्रको लागि संयुक्त दरखास्त पर्दैमा फिरादी समेतको साझा भर्‍याङ्गबाटो हक छोड्न छोडाउन पाईने होइन । विपक्षीले हामीलाई अन्याय गरेको निर्विवाद रूपमा पुष्टि भएको छ । हामी फिरादीको कि.नं. ३४० मा जान कि.नं. ३४१ को छिँडीदेखि चोटासम्मको भर्‍याङ्ग बाटोलाई साझा कायम गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको फिराद दावी 

            विपक्षीको फिराद दावी गलत र निराधार हो । कि.नं. ३४३ को घर जग्गा मेरो हक भोगको हो भन्ने कुरामा विवाद  छैन । नापीअनुसार  कायम गर्न सहमति भएकै हुँदा अन्यथा भनिरहन आवश्यक छैन । मैले विपक्षीहरूको घरमा जान आउन कुनै पनि बाटो बन्द गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी वुद्धिनारायण नागाजुको प्रतिउत्तर पत्र 

            विपक्षीहरूको कि.नं. ३४० मा जान मेरो कि.नं. ३४१ घरमुनिबाट १ मीटरको बाटो रहेको छ । सो कुरा ३ नं नापी गोश्वराबाट मिति २०४२।५।२२ मा प्रमाणित गरी दिएको स्ववासी घर जगगाको अस्थायी प्रमाणपत्रमा उल्लेख छ । सो सम्बन्धमा वादीहरूको म्यादभित्रै  फिराद पर्न सकेको छैन । मेरो हक भोग नै नभएको सम्पत्तिको विषयमा मलाई विपक्षी वनाएको फिराद स्वतः खारेजभागी छ भन्ने समेत व्यहोराको प्रतिवादी चन्द्रमान नाञ्जूको प्रतिउत्तर पत्र 

            भक्तपुर शहरी नापीमा कायम भएको भ.न.पा. वडा नं. १, कि.नं. ३४१ को जग्गा र सोमा वनेको घर चन्द्रमान नाञ्जू र चन्द्रमाया नाञ्जूका नाउँमा दर्ता कायम रहेकोमा निज दर्तावालाहरूबाट मैले सो कित्ताको घर जग्गा मिति २०५८।३।१८ मा राजीनामाद्वारा कायम भै एकलौटी रूपमा भोग चलन गरी आएको छु । मेरो कि.नं. ३४१ मा प्रवेश गर्ने र ३४१ को छिडी बाटो हुँदै पुनः वादीहरूको कि.नं. ३४० मा प्रवेश गर्ने नापीमा कायम भएको साझा छिँडी बाटो सम्म छ  भन्ने समेत व्यहोराको अ.व. १३९ नं. बमोजिम वुझिएका तिर्थनारायण प्रजापतीले गरेको बयान 

            साझा भर्‍याङ्ग बाटो कि.नं. ३४१ मा रहेको देखिएको समेतबाट तथ्ययुक्त सबूद प्रमाणको अभावमा वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत शुरु भक्तपुर जिल्ला अदालतको मिति २०६२।१।१९ को फैसला 

            शुरु फैसलामा चित्त वुझेन । नापी टोलीको मिति २०४०।५।२६ को निर्णयबाट कि.न. ३४१ हुँदै ३४० र ३४१ मा जाने बाटो देखिएकोमा साझा भर्‍याङ्ग बाटो कायम नगरेको शुरुको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी शुरु फिराद दावीअनुसार गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावदेन  अदालत पाटनमा परेको पुनरावेदन पत्र 

            यसमा शुरु फैसला फरक पर्न सक्ने देखिंदा विपक्षी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत पाटनको आदेश 

            शुरु अदालतबाट भई आएको मिति २०६१।३।२१ को नक्सा विवरण हेर्दा वादीको कि.नं ३४० र भर्‍याङ्ग बाटो कायम गरिपाऊँ भनिएको कि.नं ३४१ को जग्गाको बीचमा बाटो रहेको र बाटोबाट पूर्वपश्चिम कि.नं. ३४० र ३४१ को घर अलगअलग रहेको देखिन्छ । नगरपालिकाको स्थलगत निरीक्षण प्रतिवेदनसमेतबाट विवाद देखाइएको न.नं. १३ को भर्‍याङ्ग कि.नं. ३४० र ३४१ को घर जग्गाले साझा रूपमा प्रयोग भएको भन्ने देखिंदा शुरु भक्तपुर जिल्ला अदालतको मिति २०६२।१।१९ को फैसला उल्टी भई नक्सा नं. १३ को भर्‍याङ्ग बाटो साझा कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०६३।९।१७।२ को फैसला 

            पुनरावेदन अदालतको फैसलामा मेरो कि.नं. ३४१ को घरको भर्‍याङ्ग विना कागज प्रमाण साझा रूपमा प्रयोग गरेको भनी उल्लेख गरेको छ । नगरपालिकाको निर्णय पर्चामा उजूर गर्न जानु भनी सुनाइएको अवस्थामा विपक्षीहरूको फिराद पर्न सकेको छैन । २०४० सालमा भएको नगर नापीका वखत विपक्षीहरूले कि.नं. ३४१ मा रहेको घरको भर्‍याङ्ग निजहरूको कि.नं. ३४०मा रहे को घरमा जान प्रयोग हुने गरेको भनी नापी व्यहोरा लेखाउन सकेका छैनन । विपक्षीहरूको घरको उत्तर तर्फ रहेको पेटीको बाटोबाट विपक्षीहरू आफ्नो घरमा आवत जावत गर्ने  गर्दछन । सो कुराले विवादित भर्‍याङ्ग बाटो साझा भन्ने कुरा खण्डित भईरहेको छ । यस्तो अवस्थामा शुरु को फैसला सदर गर्नु पर्नेमा उल्टी गरी भर्‍याङ्ग साझा ठहर गरेको पुनरावदेन अदालत पाटनको फैसला तथ्य र कानूनसमेतको प्रतिकूल छ । त्यसैले उक्त फैसला वदर गरी शुरु अदालतको फैसलालाई सदर हुने गरी न्याय पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको तर्फबाट दायर हुन आएको पुनरावेदन पत्र 

            यसमा २०६१।३।२१ को नक्सा मुचुल्कामा कि.नं. ३४० को घरमा जाने छुट्टै बाटो भनी न.न. १३ को उल्लेख भएको तथा न.नं. १०, ११, १२ मा साझा बाटो हुँदा हुदै न.न.१३ को साझा भर्‍याङ्ग भनी गरेको निर्णयमा प्रमाणको मूल्याङ्कन सम्बन्धी त्रुटि भई पुनरावेदन अदालत पाटनको मिति २०६३।९।१७ को फैसला फरक पर्ने देखिएकोले विपक्षी झिकाई आएपछि वा अवधि पुगेपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतबाट भएको मिति २०६६।४।२५।१ को आदेश 

            नियमबमोजिम मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय विश्वप्रकाश सिग्देल र सुरेशकुमार थापाले प्रतिवादीको मात्रै हक लाग्ने जग्गाको भर्‍याङ्ग साझा हुनै सक्दैन । १३९ नं बमोजिम वुझेको कारणले तीर्थ नारायणलाई असर गर्ने गरी निर्णय गर्न मिल्दैन । घर पूर्व पश्चिम र बाटो उत्तर दक्षिण भई बीचमा छ । कि.नं ३४०को घरमा जाने छुट्टै बाटो छ । वादीको घरलाई छुट्टै बाटो हुँदाहुँदै नक्सामा नदेखाएको भन्ने मात्रै आधारमा कि.नं ३४१ को भर्‍याङ्ग बाटोलाई साझा भन्न मिल्दैन । नक्सा वदर तर्फ विपक्षीहरूको उजूर पर्न सकेको छैन । यस्तो अवस्थामा शुरुको फैसला सदर गरी पुनरावेदन अदालतको फैसला वदर हुनुपर्छ भनी वहस गर्नुभयो । प्रत्यर्थी वादीको तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री विश्वप्रकाश भण्डारीले पहिलो र दोस्रो तल्लामा जानको लागि विवादित साझा भर्‍याङ्ग वाहेक अर्को कुनै बाटो छैन । तेस्रो तल्लामा जानको लागि मात्र आआफ्नै भर्‍याङ्ग छ । त्यसै कारण  पहिलो र दोस्रो तल्लाको लागि विवादित भर्‍याङ्ग नै साझा रूपमा प्रयोग भईरहेको हुँदा पुनरावेदन अदालतबाट भएको फैसला न्यायपूर्ण नै हुँदा सदर हुनुपर्छ भनी वहस गर्नुभयो 

            उल्लिखित वहस जिकीर सुन्नुका साथै मिसिल संलग्न प्रमाण कागजहरूको अध्ययन गरियो ।  प्रस्तुत मुद्दामा वादी दावी नपुग्ने गरी भएको शुरुको फैसला उल्टी गरी वादी दावीको भर्‍याङ्ग साझा कायम हुने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ, छैन ? र प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्छ, सक्दैन ? भन्ने सम्बन्धमा ईन्साफ दिनुपर्ने देखियो 

            यसमा प्रतिवादी चन्द्रमानको कि.नं. ३४१ को घर जग्गामा रहेकोे भर्‍याङ्ग बाटो फिरादीसमेतले प्रयोग गरी आएको हुँदा साझा कायम गरिपाऊँ भन्ने वादीको फिराद जिकीर रहेको र विपक्षी वादीको कि.नं. ३४० मा जान मेरो कि.नं ३४१ को घरमुनिबाट १ मीटरको छुट्टै बाटो छ । वादीको लागि छुट्टै बाटो हुँदा कि.नं ३४१ को भर्‍याङ्ग साझा हुनै सक्दैन भन्ने समेत व्यहोराको प्रतिवादीपक्षको प्रतिउत्तर जिकीर भएकोमा शुरुले वादी दावी पुग्न नसक्ने ठहर्‍याएको फैसलालाई पुनरावेदन अदालतले उल्टी गरी वादी दावीको भर्‍याङ्गलाई साझा कायम हुने ठहर्‍याएको देखिन्छ । सो इन्साफमा चित्त वुझेन भनी प्रतिवादी पक्षको यस अदालतमा पुनरावेदन पर्न आएको देखियो 

            २. ईन्साफतर्फ विचार गर्दा, शुरु भक्तपुर जिल्ला अदालतबाट मिति २०६१।३।२१ मा भएको नक्सा मुचुल्काको न.नं. १३ मा कि.नं ३४१ को भर्‍याङ्ग देखाई सोमा विवाद देखाएको पाइन्छ । कि.न. ३४० र ३४१ का घरको भौतिक अवस्था हेर्दा दुवै  घर पूर्व र पश्चिम भई बीचमा बाटो देखिन्छ । भई आएको नक्साबाट कि.नं. ३४० को घरको माथिल्लो तल्लामा जानको लागि वैकल्पिक बाटो देखिदैन । उल्लिखित मुचुल्कालाई प्रतिवादीहरूले अन्यथा हुने गरी वदर गराउन सकेको समेत देखिदैन । कि.नं. ३४० र ३४१ का सँधियार वुद्धिनारायणले कि.नं. ३४३ को जग्गामा घर वनाउनको लागि भक्तपुर नगरपालिकामा नक्सा पासको निवेदन दिंदा प्रतिवादी चन्द्रमानसमेतले रोक्काको जिकीर लिएको र सो सम्बन्धमा भक्तपुर नगरपालिकाले स्थलगत सर्जमीन गरी दिएको प्रतिवेदनमा समेत न.न. १३ को विवादित भर्‍याङ्ग कि.नं ३४० र ३४१ को घर जग्गाले साझा रूपमा प्रयोग गर्दै आएको भनी उल्लेख गरेको देखिन्छ । उक्त नक्सा मुचुल्का एवं स्थलगत सर्जमीन प्रतिवेदनका आधारमा न.नं. १३ को विवादीत भर्‍याङ्ग दुवै पक्षले प्रयोग गर्ने गरेको तथ्य पुष्टि भएको देखिन्छ । जग्गाको प्रकृति वा क्षेत्रफलबाट पुनरावेदकको लिखतभित्रको देखिन आएतापनि सो घर जग्गामा रहेको बाटोघाटो भर्‍याङ्ग निकास वादीसमेतले प्रयोग गरी आएको स्थितिमा त्यस्तो निकास बाटोलाई प्रतिवादीको मात्रै कायम गरेमा वादीको सम्पत्ति उपभोगयोग्य नहुने हुन्छ । दुवै पक्षले साझा बाटोको रूपमा प्रयोग गरी आएको भर्‍याङ्गलाई पुनरावेदकले मात्रै प्रयोग गर्न पाउने भनी भन्नलाई समन्यायको दृष्टिबाट समेत मिल्दैन 

            ३. विधिशास्त्रीय मान्यतामा स्वामित्वको अभाव भए पनि निकासको सुविधाको दृष्टिले निरन्तररूपमा  भोग चलन गरी रहेको बाटो, र्‍याङ्ग आदिलाई विशेषाधिकार (Servitude) को रूपमा लिइन्छ । यस्तो विशेषाधिकार (Servitude) भनेकै कुनै वस्तु एकाको स्वामित्वमा भएपनि निकास आदिमा सो वस्तु उपर अरुको कायम रहेको भोगाधिकारको हकलाई सुनिश्चित् गर्ने भन्ने हो । २०३७ सालमा प्रतिवादी तर्फबाट खरीद गरेको भनेपनि विवादको भर्‍याङ्गको विषयमा प्रतिवादीको निरपेक्ष हक रहने गरी कुनै कुरा वोलेको  देखिँदैन । वादीको घरसम्म जानको लागि न.नं. १३ को विवादित भर्‍याङ्ग वाहेक अर्को भर्‍याङ्गको अस्तित्व नक्साबाट देखिदैन । न.नं.१०, ११ र १२ मा घरमुनिको बाटो देखिएको भए पनि वादीको घरको माथिल्लो तल्लामा जानलाई त्यत्ति बाटो मात्रैले सम्भव नहुने भई विवादित भर्‍याङ्गको आवश्यकता पर्ने देखिन्छ 

४. यसर्थ, वादीको कि.नं ३४० को घरको माथिल्लो तल्लामा जाने विवादित न.नं. १३ को भर्‍याङ्ग वाहेक अर्को वैकल्पिक भर्‍याङ्ग वा बाटो रहे भएको तथ्य प्रमाणित नभएकोले वादी दावीबमोजिम विवादित न.नं. १३ को भर्‍याङ्ग कि.नं. ३४० र ३४१ को घर जग्गाको लागि साझा कायम गरेको पुनरावेदन अदालत पाटनको मिति २०६३।९।१७।२ को इन्साफ मिलेकै देखिदा सदर हुने ठहर्छ । यस अदालतको संयुक्त इजलासबाट प्रत्यर्थीलाई झिकाउने भनी लिइएको रायमा सहमत हुन सकिएन । पुनरावदेक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार वुझाई दिनु 

 

उक्त रायमा सहमत छु  ।

 

न्या.भरतराज उप्रेती

इति संवत् २०६९ साल असार १९ गते रोज ३ शुभम्

इजलास अधिकृत : बाबुराम सुवेदी

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु