निर्णय नं. ३८४८ - कर्तव्य ज्यान

निर्णय नं. ३८४८ ने.का.प. २०४६ अङ्क ६
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४४ सालको फौ.पु.नं. ४२१
फैसला भएको मिति : २०४६।२।२६।५ मा
पुनरावेदक/वादी : सुन लामा समेतको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : जि. बारा निजगढ गा.पं. वडा नं. ६ बस्ने कुलध्वज लामा
मुद्दा : कर्तव्य ज्यान
§ अभियुक्तले जानीबुझी आफूले गरेको कामको परिणाम थाहा पाउन सक्ने अवस्थामा कर्तव्य गरी मारेको भन्न सकिने अवस्था प्रमाणहरुबाट पुष्टि हुन नसकेकोले जानीबुझी आफ्नी श्रीमतीलाई कुटपीट गरी मारेको भन्न सकिने अवस्था नरहने ।
(प्रकरण नं. १९)
§ मगज असन्तुलन भएको अवस्था ज्यान मारेको देखिँदा दण्ड सजायँको १ नं. अनुसार पागल देखिएकोले सजायँ केही गर्नु नपर्ने ।
(प्रकरण नं. १९)
पुनरावेदक तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत
फैसला
प्र.न्या. धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भनी वादी श्री ५ को सरकारको तर्फबाट न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) (ग) अनुसार पुनरावेदन परी पेश हुन आएको मुद्दाको तथ्य यस प्रकार छ :–
२. ०४०।६।१९ गते १२.३० बजे कुलध्वज लामा आफ्नी श्रीमती टुकुनी मायालाई कुटपीट गरी मारेकोले आवश्यक कारवाही हुन अनुरोध गरिएको छ भन्ने समेत व्यहोराको प्र.ना.नि.डम्बरबहादुर भण्डारीको जाहेरी ।
३. पछाडि ढाडको बीचको भागमा ६” गोलाईको निलो डाम देखिएको, दाहिने स्तन मुनी ३।। सिरिक्क लामो कोरिएको जस्तो घाउ देखिएको, दाहिने हातको कुहिनाको भागमा २।। लम्बाई ।। चौडाई १,१ गहिराई जतिको चोट देखिन गई भित्री हड्डी समेत देखिएको भन्ने समेत व्यहोराको लास प्रकृति मुचुल्का ।
४. मेरो छोरा कुलध्वज आज करिब ६ दिन भयो दिमाग बिग्रेकोले कहिले रुने कराउने घर छाडी भाग्ने गर्दथे । २०४०।६।१९ गते १२ बजे छोराले बुहारी टुकुनीमायालाई कोदालोले दायाँ पाखुरामा २ चोट हत्केलामा १ चोट प्रहार गर्दा बुहारी मार्यो मार्यो भनी कराएकोले घर पुग्दा मौकैमा परलोक भई छोरालाई पक्री प्रहरी कार्यालयमा दाखिल गरेको हुँदा जाहेर गर्न आएको छु । कानुनी कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको सुनलामा तामाङको जाहेरी दरखास्त ।
५. कुलध्वजको दिमाग मानसिक सन्तुलन के कस्तो छ । सो को औषधि उपचार गर्नुका साथै प्रतिवेदन पठाई दिन अनुरोध छ भन्ने समेत व्यहोराको कलैया अस्पताललाई जिल्ला प्रहरी कार्यालय बाराले लेखेको पत्र ।
६. कुलध्वज लामालाई सरसर्ति जाँच्दा निजको मानसिक अवस्था सन्तोषजनक भए तापनि गहिरिएर सोच्ने शक्तिमा ह्रास तथा साधारण मानसिक असन्तुलन चाहीं पाइएको छ भन्ने समेत व्यहोराको कलैया अस्पतालको पत्र ।
७. २०४० साल श्रावण महीना देखि नै मेरो मानसिक असन्तुलन भएको अवस्थामा मैले मेरी कान्छी श्रीमती टुकुनी मायालाई मारेको भन्ने कुरा थुनामा रही उपचार भई होसमा आएपछि मात्र थाहा पाएको हो । मैले मारौं भन्ने नियतबाट कुटपीट गरी मारेको होइन भन्ने समेत व्यहोराको कुलध्वज लामाले प्रहरीमा गरेको कागज ।
८. कुलध्वज लामाले मेरै घर छेउमा घुम्ती राखी किराना दोकान गरी आएकोमा घटना हुनुभन्दा ४ दिन अघिदेखि बन्द गरी जे पायो त्यही बोली व्यापार गर्दा पनि कसैलाई सामान बढी दिने र बेला कुबेला दोकान बन्द गरी हिड्ने गरी आएका थिए । यसरी पागल भएको अवस्था २०४०।६।१९ गते निजले आफ्नी श्रीमतीलाई कोदालोले हानी मारेको भन्ने सुनी हेर्न जाँदा मरी राखेको रहेछ निजले आफ्नी श्रीमतीलाई मार्न पर्ने कुनै रिसइवी थिएन । निज पागल भई सो पागल भएको कारणबाट होस नभई कुटपीट गर्दा टुकुनीमायाको मृत्यु हुन गएको हो भन्ने समेत व्यहोराको सन्तबहादुर लामा ब्लोन समेतले गरिदिएको २०४१।९।२६ को सरजमीन मुचुल्का ।
९. अभियुक्तले बयान गर्दा बौलाई होस नभएको अवस्थामा कुटपीट गर्दा मरेको भनी लेखिदिएको सरजमीनले सोही कारणबाट टुकुनी मायाको ज्यान मरेको भनी लेखाई दिएका समेतबाट निज पागल भएको अवस्थामा होस नभई ज्यान मर्छ भन्ने कुरा नजानी कुटपीट गर्दा टुकुनीमायाको ज्यान भवितव्यमा परी मर्न गएको देखिन आएकोले निज उपर ज्यानसम्बन्धीको ६(२) बमोजिम सजायँ हुन अनुरोध छ भन्ने समेत व्यहोराको प्रहरी अधिकृतको प्रहरी प्रतिवेदन माग दावी ।
१०. भवितव्यमा दावी लिएकोमा मेरो सहमत भएन । अभियुक्तले अपराध गर्दा पागल थियो भन्ने कुरा प्रमाणित नभएकोले अभियुक्तले अपराध गरिसकेपछि मात्र पागल भएको देखिँदा निजलाई ज्यानसम्बन्धी १३(३) बमोजिम सजाय हुनुपर्ने देखिएको राय व्यक्त गर्दछु भन्ने समेत व्यहोराको स.स.अ. तथा स.स.अ. को छुट्टै राय भएको ।
११. होस ठेगानामा भए वा नभएको सम्बन्धमा प्रमाणबाट यकिन हुने विषय भएको हुनाले र होस ठेगाना नभएको अवस्थालाई ज्यानसम्बन्धीको ५ र ६ नं. को प्रयोजन भित्र लिन मिल्ने स्थिति नहुँदा प्रहरी अधिकृतको माग दावी कानुन अनुरुप देखिएन । स.स.अ. तथा स.स.अ. को राय बमोजिम गर्ने भन्ने समेत व्यहोराको बारा जिल्ला अदालतबाट २०४१।१०।३ मा भएको आदेश ।
१२. मेरो मानसिक तथा शारीरिक स्थिति सो समयमा सन्तुलन नभई म बेहोस अवस्थामा नै रहे भएको हुँदा मैले आफ्नी कान्छी श्रीमतीलाई कुटपीट गरी कोदालोले हानी कर्तव्य गरी ज्यान मारे नमारेको समेत मलाई केही थाहा छैन भन्ने समेत व्यहोराको प्र. कुलध्वज लामाले अदालतमा गरेको बयान ।
१३. कुलध्वज लामाको मगज जाँच हुँदा निजलाई सो रोप्रेमा (SUHO PHREMA) को मानसिक बिरामीले मानसिक असन्तुलन भएको भन्ने मानसिक अस्पतालको प्रतिवेदन, निज पागल भएको अवस्था, कुटपीट गर्दा टुकुनीमाया मरेको भन्ने सरजमीन, निजको बयान, जाहेरवालाको बकपत्र, निजको साक्षीहरुको बकपत्र समेतबाट कुलध्वज लामाले टुकुनी मायालाई ज्यान मारेको ठहर्छ । तर उपरोक्त प्रमाणहरुबाट मारौं भन्ने नियतले जानाजान ज्यान मारेको नभई पागल भएको अवस्था कामको परिणामको जानकारी नभई मारेको देखिँदा कुलध्वजलाई दण्ड सजायँको १ नं. अनुसार सजायँ केही गर्नु नपर्ने ठहर्छ भन्ने समेत व्यहोराको बारा जिल्ला अदालतबाट २०४१।२।१३ मा भएको फैसला ।
१५. वारदातका अवस्था प्र.कुलध्वजको मानसिक स्थिति ठीक भएको भन्न सकिने अवस्था देखिन आएन । प्रस्तुत मुद्दामा साधकको तर्फबाट समेत यस अदालतबाट २०४३।६।१६।४ मा फैसला भइसकेको देखिँदा वारदात समयमा प्र.कुलध्वज लामाको मानसिक असन्तुलनको अवस्था रहँदा निजले टुकुनीमायालाई हानी मारेको देखिन आएकोले बारा जिल्ला अदालतले दण्ड सजायँको १ नं. बमोजिम निजलाई केही नगर्ने गरी गरेको फैसला मनासिब ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।१।२० को फैसला ।
१६. अपराध गर्दाका अवस्था प्रतिवादीको मानसिक स्थिति ठिक छ भनी मान्नु पर्ने हुँदा प्रतिवादीलाई सजायँ नगर्ने गरेको फैसला बदरभागी छ । माग दावी बमोजिम गरिपाउँ भन्ने वादी श्री ५ को सरकार तर्फको पुनरावेदन ।
१७. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट बहस गर्न उपस्थित हुनुभएका सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेतले वारदात गर्दाका अवस्था अभियुक्तको मानसिक स्थिति असन्तुलन थियो भन्ने कतैबाट प्रमाणित छैन । सो अवस्था निजको मानसिक सन्तुलन थियो भन्नु पर्ने हुँदा निजलाई सजायँ नगर्ने गरेको म.क्षे.अ.को फैसला नमिलेको हुँदा बदरभागी छ । प्रतिवादीलाई दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत बहस गर्नुभयो ।
१८. प्रस्तुत मुद्दामा म.क्षे.अ.को इन्साफ मिलेको छ छैन ? सो कुराको निर्णय दिनु पर्ने हुन आयो ।
१९. यस्मा निर्णयतर्फ हेर्दा अभियुक्त कुलध्वज लामाको मानसिक असन्तुलन भएको देखिन आएकोले पागल भएको अवस्था ज्यान मर्छ भन्ने कुरा नजानी कुटपीट गर्दा टुकुनीमायाको ज्यान भवितव्य परी मर्न गएको देखिन आएकोले अभियुक्त कुलध्वज लामा उपर ज्यानसम्बन्धीको ६ नं. को देहाय २ अनुसार सजायँ गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन र अभियुक्त अपराध गर्दा पागल थिए भन्ने प्रमाणित भएको छैन । कोदालोले हिर्काई मारेको भन्ने छ । यस्तोमा भवितव्य भनी दावी लिएकोमा मेरो सहमत भएन अभियुक्तलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गरिपाउँ भन्ने समेत स.स.अ. तथा स.स.अ. को राय देखिन्छ । प्रतिवादी कुलध्वज लामाले २०४० साल श्रावण देखि दिमाग बिग्री विरक्त लाग्ने बेला बेलामा छोप्ने भइरहेको, २०४० साल आश्विन महीनादेखि कुनै कुरा मलाई थाहा भएन । दिमाग ठीक भई होस आउँदा आफू थुनामा रहेको थाहा पाई बुझ्दा दिदी मैयाले तिमी पागल भएको अवस्था तिम्री कान्छी श्रीमती टुकुनीमायालाई कुटपीट गरी मारेको भनेकोले थाहा पाएको हुँ । जानाजान हत्या गरेको होइन भनी प्रहरीमा बयान कागज गरेको पाइन्छ । अदालतमा बयान गर्दा मानसिक तथा शारीरिक स्थिति सो समयमा सन्तुलन नभई म बेहोस अवस्थामा रहे भएको हुँदा मैले आफ्नो कान्छी श्रीमती टुकुनी माया तामाङनीलाई कुटपीट गरी कोदालोले हानी कर्तव्य गरी ज्यान मारे नमारेको मलाई थाहा छैन भनेको देखिन्छ । अभियुक्त कुलध्वज लामालाई मानसिक अस्पताल ललितपुरबाट जाँच गराएकोमा यी बिरामीलाई जाँच्दा निजलाई मानसिक बिरामीले मानसिक असन्तुलन भएको बुझिन्छ भन्ने मिति २०४०।६।२० को पत्र फा.नं. १० मा चढेकोबाट देखिन्छ । जाहेरवालाको जाहेरीमा कुलध्वज लामाको दिमाग बिग्री दिमाग बिग्रेको अवस्था बुहारीलाई मारेको भन्ने लेखिएको पाइन्छ । निजै जाहेरवाला तथा सरजमीनका व्यक्तिहरु मधुकर सापकोटा, विष्णुप्रसाद अधिकारी र कृष्णप्रसाद पण्डितले अदालतमा बकपत्र गर्दा अभियुक्त कुलध्वज लामा पागल थियो भनी बकेको पाइन्छ । यसबाट वारदात गर्दाका अवस्था अभियुक्त कुलध्वज लामा पागल रहेछ भन्ने देखिन्छ । प्रतिवादीका साक्षी माया लामा र लालबहादुर लामाले बौलाएर पागल भएको हो भनी अदालतमा किटानी साथ बकपत्र गरी दिएको पाइन्छ । यसबाट पनि निज अभियुक्त कुलध्वज लामा पागल भएको पुष्टि भएको देखिन्छ । अभियुक्त कुलध्वज लामाले जानीबुझी आफूले गरेको कामको परिणाम थाहा पाउन सक्ने अवस्थामा आफ्नो श्रीमतीलाई कर्तव्य गरी मारेको भन्न सकिने अवस्था उपर्युक्त प्रमाणहरुबाट पुष्टि हुनसकेको छैन । तसर्थ जानीबुझी आफ्नो श्रीमतीलाई कुटपीट गरी मारेको भन्न सकिने अवस्था रहेन । यस्तोमा अभियुक्त कुलध्वज लामालाई प्रहरी प्रतिवेदन माग दावी अनुसार सजायँ गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । मगज असन्तुलन भएको अवस्था आफ्नो कान्छी श्रीमती टुकुनी मायाको ज्यान मारेको देखिँदा दण्ड सजायँको १ नं. अनुसार प्र. कुलध्वज लामा पागल देखिएकोले सजायँ केही गर्नु नपर्ने ठहर्छ भनी बारा जिल्ला अदालतबाट गरेको इन्साफ सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतले साधक जाँची गरेको मिति २०४३।६।१६ गतेको र पुनरावेदन सुनी गरेको मिति २०४४।१।२० को फैसला मनासिब ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन हुँदा केही गर्न परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. प्रचण्डराज अनिल
इति सम्वत् २०४६ साल जेष्ठ २६ गते रोज ५ शुभम् ।