शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३८५३ - अंश

भाग: ३१ साल: २०४६ महिना: असोज अंक:

निर्णय नं. ३८५३    ने.का.प. २०४६            अङ्क ६

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

सम्वत् २०४६ सालको दे.पु.नं. ८२६

फैसला भएको मिति :      २०४६।५।२३।६ मा

पुनरावेदक/वादी : का.न.पं. वडा नं. १५ बस्ने कान्छा महर्जन

विरुद्ध

विपक्षी/प्रतेवादी : ऐ.ऐ. बस्ने मोहनमाया महर्जननी

मुद्दा : अंश

§  अंश मुद्दामा पुनरावेदन तहको तारेख गुजारेमा समेत डिसमिस नगरी ठहरे बमोजिम फैसला गर्नु पर्ने कानुनी व्यवस्था भएको नदेखिने ।

 (प्रकरण नं. १३)

§  पुनरावेदन परिसकेको स्थितिमा पुनरावेदन नपरेको सरह मानी इन्साफ दिन मिल्न आउने नदेखिने ।

(प्रकरण नं. १३)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ध्रुवलाल श्रेष्ठ

फैसला

            न्या. बब्बरप्रसाद सिंह : म.क्षे.अ. को मिति २०४५।८।१४ को फैसला उपर पुनरावेदनको अनुमतिको लागि वादीको पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।

            २.    हाम्रा बाबु विपक्षी आमाका लोग्ने ज्ञानमान हुनु भई निज बाबा आमाबाट हामी फिरादीहरु समेतका जम्मा ४ छोरा र ८ बहिनी छोरीहरुको जायजन्म भएकोमा जेठा छोरा र माईलो छोराहरुले हाम्रो जो भएको श्रीसम्पत्ति लिई अघि नै भिन्न भएकोले हामी फिरादीहरु २ जना र बाबु तथा विपक्षी आमा समेत सगोलमा बसी आउँदा निज बाबु ०३०।१२।१२ गते परलोक हुनु भएबाट घरको मुख्य मालिक निज आमा हुनु भई जो भएको श्रीसम्पत्ति निज आमा मोहनमायाले घर व्यवहार गरी आउनु भएको भई जग्गा नामसारी जग्गा दर्ता आदि निज आमाका नाममा भई वहाँले जो भएको श्रीसम्पत्ति भोग चलन गरी आउनु भएकोमा हाम्रो अंश भाग मराउने नियत लिई कि.नं. ७३ को खेत समेत राजीनामा पारीत गरेतर्फ छुट्टै मुद्दा दर्ता दायर गरिसकेतर्फ उसै मिसिलबाट नै हक इन्साफ पाउने नै छु । त्यस्तो मुद्दाहरु चलिरहेको हुँदा अब हामीले अंश पाउने अंश भाग छुटाई दिनुहोस् भनी अंश माग्दा नदिएकोले जो भएको श्रीसम्पत्तिको तायदाती फाँटवारी लिई जम्मा श्रीसम्पत्ति मध्ये ३ खण्डको १ खण्ड निज विपक्षीको अंश भाग कटाई हामी २ भाइले पाउनु पर्ने २ खण्ड अंश छुटाई दिलाई पाउँ भन्ने समेत व्यहोराको मचाभाइ महर्जन तथा कान्छा महर्जनको फिरादपत्र ।

            ३.    फिराद दावी बिल्कुलै झुट्टा हो यसरी अंशबण्डा लगाउँदा स्वयम्भू डल्लु पञ्चायत वडा नं. ६(ख) कि.नं. ४९ को रो. २० मा बनेको २ नाले ३ कवले ४ तले घर १ हामी लोग्ने स्वास्नीको भागमा परी लोग्नेको शेषपछि मेरो हक भोगमा छ । उपरोक्त कि.नं. ४९ मा नै बनेको अर्को २ नाले ३ कवले ४ तले पक्की घर वादी मचाभाइ र कान्छाको भागमा परी निजहरुले नै भोग चलन गरी आएका छन् । यसरी अंश छुट्याई आफ्नो भाग अंश बुझी लिई भोगी आएपछि निज मचाभाईले आफ्नो अंशको केही जग्गा ०३०।९।१७ मा हालदेखिको बकसपत्र गरी दिएको समेतको प्रमाणहरु छन् । हामी सबै अंशियारमा ५ बण्डा गरी ०३०।१०।२७ मा बण्डा खडा भएको बण्डापत्र विपक्षी वादीले हात पारी दवाएको विषयमा २०३९।४।२४ मा प्रहरी थानामा हुलिया दिएको छु र यसरी अंशबण्डा गरी छुट्टी भिन्न भई सबै अंशियारले आफ्ना भाग बण्डा भोग चलन गरी आएको हुँदा वादी दावी बमोजिम अंश दिनु पर्ने होइन भन्ने समेत व्यहोराको मोहनमाया महर्जनको प्रतिउत्तरपत्र ।

            ४.    यी वादीहरु र प्रतिवादीको बीच २०३० सालमा घरसारमा बण्डापत्र भएको समर्थन हुन आउने भएबाट समेत अंश पाउँ भन्ने वादी दावा पुग्न सक्तैन भन्ने समेतको काठमाडौं जिल्ला अदालतको मिति ०४०।९।१८ को फैसला ।

            ५.    हामीलाई जिताउनु पर्ने बलिया प्रमाण छाडी अन्यायमा पारी हराई काठमाडौं जिल्ला अदालतबाट भएको उक्त फैसलामा चित्त बुझेन सो गल्ती इन्साफ उल्टाई पाउँ भन्ने समेत व्यहोराको मचाभाइ महर्जन १ कान्छा महर्जन समेतको म.क्षे.अ. मा परेको पुनरावेदन ।

            ६.    वादीले बिक्री गरेको कि.नं. २६५।६२ वादी आफैंले खरीद बिक्री गरेबाट अंश मध्येको भन्न नमिल्ने समेतबाट वादीहरुले अंश पाइसकेको ठोस प्रमाणको अभावमा बण्डापत्र भइसकेको कायम गरेको का.जि. अ. को इन्साफ फरक पर्ने भएबाट अ.बं. २०२ नं. र क्षे.अ.नि. बमोजिम विपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने समेत म.क्षे.अ. को ०४१।४।२३ को आदेश ।

            ७.    प्रतिवादी कान्छा महर्जनले मिति ०४४।८।२३ को तारेख गुजारी बसेको र सो थाम्ने थमाउने तर्फ कारवाही गरेको समेत देखिन नआएबाट कानुनले थमाउने म्याद बाँकी नहुँदा अंशबण्डाको ३२ नं. ले निजका हकमा इन्साफ गर्नु पर्ने समेत तर्फ हेरिएमा निज कान्छा महर्जनले आफ्नो पुनरावेदन जिकिर समर्थन गराउन र तथा तायदाती दिने कर्तव्य तर्फ विचार नगरी मुद्दा पैरवी छाडी तारेख गुजारी बसेको देखिँदा निजको पुनरावेदन जिकिर पुग्न सक्तैन । मचा महर्जनको हकमा प्र.मोहनमायासँग अंश लिई पहिले नै छुट्टी भिन्न भइसकेको भन्ने प्रमाणिक सबूदको अभावमा अंशबण्डाको ३० नं. बमोजिम छुट्टी भिन्न भइसकेको शुरु इन्साफ मिलेको देखिएन । प्रस्तुत मुद्दामा तायदाती आउन नसकेबाट विपक्षी प्रतिवादीबाट फाँटवारी माग्न पनि निज प्र.परलोक भइसकेको र कसैले मुद्दा सर्कान आएको समेत नहुँदा वादीसंग तायदाती लिई अंशबण्डाको २१, २२ को कारवाही अपनाउन सक्ने पनि भएन र प्र.मोहनमायाको शेषपछि वादी मचा महर्जनमा हक सर्ने स्वतः देखिँदा अंशबण्डाको १ नं. ले सँगै बसेको अंशियारहरुको जियेजियैको अंश गर्नु पर्ने कानुनी व्यवस्थाबाट प्र.मोहनमाया परलोक भइसकेको अवस्थामा निज मचाभाइ महर्जनको दावी बमोजिम अंशबण्डा गरी रहन नपर्ने समेत ठहर्छ भन्ने समेत म.क्षे.अ.को ०४६।८।१४।३ को फैसला ।

            ८.    मुलुकी ऐन अंशबण्डाको ३२ नं. मा अंश मुद्दामा वादीले तारेख गुजारे पनि मुद्दा डिसमिस नगरी ठहरे बमोजिम फैसला गर्नु पर्ने कानुनी व्यवस्था भएकोमा तारेख गुजारेको कारणबाट समान हकदार भएका मचाभाइ महर्जनलाई अंश दिलाउने मलाई नदिलाउने गरी गरेको म.क्षे.अ.को इन्साफमा चित्त बुझेन । पुनरावेदन गर्ने अनुमति पाउँ भनी निज कान्छा महर्जनको यस अदालतमा पर्न आएको निवेदनमा मु.ऐ. अंशबण्डाको ३२ नं. को कानुनको व्याख्या सम्बन्धी त्रुटि देखिएको आधारमा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४५।११।१३ को आदेश रहेछ ।

            ९.    नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश भई आएको प्रस्तुत मुद्दामा तारेखमा रहेका वा.लाई समेत रोहवरमा राखी पुनरावेदकतर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री ध्रुवलाल श्रेष्ठले गर्नुभएको बहस जिकिर समेत सुनियो ।

            १०.    प्रस्तुत मुद्दामा म.क्षे.अ. ले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

            ११.    मुख्यतः प्रस्तुत मुद्दामा पुनरावेदक वादी कान्छा महर्जनले म.क्षे.अ.मा तोकिएको ०४४।८।२३ को तारेख गुजारी बसेबाट निजको पुनरावेदन जिकिर पुग्न नसक्ने भनी ठहर गर्न नमिल्ने र डिसमिस सरह इन्साफ गरेको म.क्षे.अ.को इन्साफ मिलेन भन्ने वादी कान्छा महर्जनको तर्फबाट उपस्थित विद्वान अधिवक्ताले जिकिर लिनु भएबाट र यस अदालतबाट समेत अनुमति प्रदान हुँदा अ.बं.को ३२ नं. बमोजिम अंश मुद्दामा तारेख गुजारे पनि मुद्दा डिसमिस नगरी इन्साफ गर्नु पर्ने भन्ने आधार लिई अनुमति प्रदान हुन आएबाट प्रस्तुत विषयमा कानुनमा के कस्तो व्यवस्था रहेछ सो नै हेर्नु पर्ने हुन आयो ।

            १२.   मु.ऐ.अदालती बन्दोवस्तको नं. १८५ (क)(२) मा श्री ५ को सरकार वादी हुने मुद्दा बाहेक अरु मुद्दामा प्रतिवादी हाजिर भएको तर वादी हाजिर नभएकोमा प्रतिउत्तरपत्र र मिसिल सामेल रहेका अरु प्रमाणबाट प्रतिवादीले वादीको दावी पूरै वा आंशिक तवरले स्वीकार गरेको देखिन आएमा वा ठहरेमा सो हदसम्म इन्साफ गर्ने गरी र स्वीकार नगरेको वा नठहरेको हदसम्म डिसमिस गरी मुद्दा फैसला गर्नुपर्छ भन्ने व्यवस्था भएको पाइन्छ ।

            १३.   तर मुलुकी ऐन अंशबण्डाको ३२ नं. मा सातौं संशोधनले ल्याएको व्यवस्था हेर्दा अंश मुद्दामा वादीले तारेख गुजारे पनि मुद्दा डिसमिस नगरी ठहरे बमोजिम फैसला गर्नुपर्छभन्ने व्यस्था भएको देखिन्छ । पुनरावेदक वादी कान्छा महर्जनले वादी प्रतिवादी परे पछिको तारेख गुजारेको नभई शुरु जि. अ.ले फैसला गरी सकेपछि पुनरावेदन तहको तारेख गुजारी बसेको देखिन्छ । अंश मुद्दामा पुनरावेदन तहको तारेख गुजारेमा समेत डिसमिस नगरी ठहरे बमोजिम फैसला गर्नुपर्ने कानुनी व्यवस्था भएको देखिन आउँदैन । वादी पक्षका विद्वान अधिवक्ताले मु.ऐ. अ.बं.२०५ बमोजिम पुनरावेदन उजूर नदिनेकाको हकमा समेत पुनरावेदन दिने सरह छिनी दिनु पर्ने कानुनी व्यवस्था भएकोले पुनरावेदक कान्छा महर्जनको पुनरावेदन नै नपरेको स्थितिमा समेत निजको हकमा पनि इन्साफ हुनुपर्ने भन्ने जिकिर लिनु भएको हकमा समेत निज वादी कान्छा महर्जनको पुनरावेदन परी सकेको स्थितिमा पुनरावेदन नपरेको सरह मानी इन्साफ दिन मिल्न आउने देखिन आउँदैन ।

            १४.   तसर्थ वादी कान्छा महर्जनले पुनरावेदन तारेख गुजारी बसेको स्थितिमा डिसमिस सरह इन्साफ गरेको म.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । वादी कान्छा महर्जनको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी रही पुनरावेदन दायर भएको देखिँदा केही गरिरहनु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. पृथ्वीबहादुर सिंह

 

 

इति सम्वत् २०४६ साल भाद्र २३ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु