शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३८५६ - कीर्ते

भाग: ३१ साल: २०४६ महिना: असोज अंक:

निर्णय नं. ३८५६    ने.का.प. २०४६            अङ्क ६

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

सम्वत २०४४ सालको फौ.पु.नं. ५१६

फैसला भएको मिति :      २०४६।५।१३।३ मा

पुनरावेदक/प्रतिवादी : जि. सिराहा, गा.पं.सिराहा वार्ड नं. ४ बस्ने जगदीश राय कुर्मी

विरुद्ध

विपक्षी/वादी : मालपोत कार्यालय सिराहाको जाहेरीले श्री ५ को सरकार

मुद्दा : कीर्ते

§  विवादग्रस्त सही प्रतिवादीको नमुना हस्ताक्षरसँग भिड्छ भन्ने विशेषज्ञको रायकै आधारमा दस्तखत कीर्ते गरेमा पूर्ण इन्कार रहेका यी प्रतिवादीलाई बुझिएका साक्षी सरजमीनले शंकासम्म व्यक्त नगरेको तथा अन्य तथ्ययुक्त ठोस सबूद प्रमाणबाट निजले नै कीर्ते गरेको भनी किटानी गर्न नसकिने यस अवस्थामा केवल शंकाकै भरमा दस्तखत यिनी प्रतिवादीले नै कीर्ते गरेको भनी यकिन मान्न मिल्ने अवस्था विद्यमान नहुने ।

 (प्रकरण नं. १७)

पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुंजविहारीप्रसाद सिंह

विपक्षी/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.

फैसला

            न्या. बब्बरप्रसाद सिंह : पू.क्षे.अ. को मिति २०४४।२।२६ को फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत प्रतिवादीतर्फको निवेदनमा पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

            २.    यस कार्यालयमा २०३७।५।३० गतेका दिन महिसोथा बस्ने हरिप्रसाद यादवले लेखेको अवधि महतो, रासो कोइरिन समेत ५ जना ऋणी भई थैली रु. १०००।राखी धनी रामपुकार यादव र थैली रु. १०००।नै राखी धनी रामनाथ ठाकूर बडहीलाई तथा सीतापुर बस्ने सम्पतलाल चौधरीले लेखेको ऋणी भोला साहु तेलीले थैली रु.१४,०००।राखी धनी रामप्रसाद यादवलाई गरी दिएको राजीनामा लिखत पारित गराउन खोजेको, शंका लागी सम्बन्धित फाँटवालालाई बोलाई सोध्दा दस्तखत मेरो नभई मेरो नामको दस्तखत अरुले कीर्ते गरेको भनी दिएको प्रतिवेदनको आधारमा धनी र लेखकहरु मध्येका धनी रामप्रसाद यादवसँग बयान गराउँदा जगदिश कुर्मीलाई दिई निजले रोक्का भिडाउन गएका थिए । के के गरे मलाई थाहा भएन भनेका र कीर्ते गरेको कुरा थाहा हुने बित्तिकै जगदिश कुर्मी र लेखक हरिप्रसाद यादवलाई खोजतलास गर्दा फेला नपरेकोले निजहरु माथि कीर्ते गरेको शंका लाग्छ भन्ने समेत मालपोत कार्यालय सिराहाको २०३७।६।३ को पत्र ।

            ३.    हरिप्रसाद यादव र जगदिश कुर्मीलाई पक्राउ गर्न प्रहरी खटाउँदा हरिप्रसाद फेला परेका र जगदिश कुर्मी फेला नपरेका भन्ने प्र.ह.बद्रिप्रसादको प्रतिवेदन ।

            ४.    २०३७।५।२९ गतेको रामनाथ ठाकुर र रामपुकार यादव नाउँको रजिष्ट्रेशन कागज मैले लेखेको हुँ । कागज लेखी सकेपछि बाजे स्वर्गीय हुनुभएको खबर आएकोले सो काम गर्न जगदिश कुर्मीलाई दिई घर तर्फ गएको थिएँ । मैले र्कीते गरेको होइन भन्ने समेत हरिप्रसाद यादवले प्रहरीमा गरेको ठाडो कागज ।

            ५.    हरिप्रसाद यादवका बाजे स्वर्गीय भएको खबर पाउनासाथ लेखेको राजीनामा कागज धनीलाई दिई हरिप्रसाद यादव घरतर्फ गएको र निजको चालचलन समेत राम्रो छ जगदिश कुर्मीले कीर्ते गरे गरेनन् थाहा छैन भन्ने समेतको सरजमीन मुचल्का ।

            ६.    कार्यालयको सम्पूर्ण काम गर्न भनी जगदिश कुर्मीले मसंग राजीनामा कागज लिई रोक्का भिडाउन गएको थियो, निजले कहाँ कहाँ लगी के के गरे मलाई थाहा छैन भन्ने समेत रामप्रसाद यादवले प्रहरीमा गरेको ठाडो कागज ।

            ७.    संकलित सबूत प्रमाणबाट सम्पूर्ण कागजात लिई जगदिश कुर्मी रोक्का भिडाउन गएको देखिएको र निजलाई खोजतलास गर्दा फेला नपरी लुकी छिपी भागी रहेको देखिँदा पक्राउ परेका हरिप्रसादलाई हाजिर जमानीमा छाडी निज जगदिश कुर्मीले कीर्ते गरेको हुँदा निज उपर कारवाही भई कीर्ते कागजको ११।१२ नं. बमोजिम सजाय हुन अनुरोध छ भन्ने समेत प्रहरी प्रतिवेदन ।

            ८.    धनी रामपुकार यादव ऋणी अवधि महतो, धनी रामनाथ ऋणी अवधि ठाकूर भएको २०३७।५।२९।१ को राजीनामा धनी ऋणी दुवै मैले चिनेकाले ऐ. ३० गते रजिष्ट्रेशन हुँदा सनाखत साक्षी बसिदिएको हुँ धनीराम रामप्रसाद ऋणी भोला साहु भएको लिखतमा सनाखत साक्षी बसी देउ भनी रामप्रसादले भन्दा म नबसेको इबीले धनी रामप्रसाद र लेख्ने हरिप्रसादले झुठ्ठा पोलेका हुन् मैले कीर्ते गरेको होइन भन्ने समेत प्र.जगदिश कुर्मीले अदालतमा गरेको बयान ।

            ९.    विवादित लिखतमा मैले रोक्का फाँटबाट आफ्नो स्वहस्तलिपिबाट दस्तखत गरेको होइन । मेरो नाउँबाट कसले कीर्ते सहिछाप गरे थाहा छैन भन्ने समेत ख.सुकदेव गौतमले अदालतमा गरेको बयान ।

            १०.    विवादित लिखतहरु मध्ये रु. १४,०००।को २०३७।५।३०।२ को लिखत मैले लेखेको होइन को कस्ले लेखेको हो भन्न सक्दिन । रामनाथ ठाकुर, रामपुकार यादव नाउँको २०३७।५।२९ को दुवै लिखत मैले लेखेको हुँ । बाजे स्वर्गीय भएको खबर आएकोले दुवै लिखत जगदिश कुर्मीलाई जिम्मा दिई म घर गएँ । कसले कीर्ते गरे भन्न सक्दिन । मैले कीर्ते गरेको होइन भन्ने समेत हरिप्रसाद यादवले अदालतमा गरेको बयान ।

            १०.    विवादग्रस्त लिखतका शुकशब्दहरु जगदिश राय कुर्मीको हस्ताक्षरसँग भिड्छ भन्ने विशेषज्ञको राय समेतका सबूत प्रमाणबाट प्र.जगदिशले वादी दावी बमोजिम सरकारी कर्मचारीको दस्तखत कीर्ते गरेको ठहर्छ भन्ने समेत सिराहा जिल्ला अदालतको २०४१।९।१८।३ को फैसला ।

            ११.    शुरु जिल्ला अदालतको फैसला उपर चित्त नबुझी प्र.जगदिश राय कुर्मीले पू.क्षे.अ. मा दिएको पुनरावेदनमा विवादग्रस्त शुक भन्ने सही प्रतिवादी जगदिश राय कुर्मीको नमूना हस्ताक्षरसँग भिड्छ भन्ने विशेषज्ञको राय समेत प्राप्त भइरहेकोले प्र.जगदिश राय कुर्मीले विवादग्रस्त सरकारी कर्मचारीको दस्तखत कीर्ते गरेको ठहराएको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत पू.क्षे.अ. को २०४४।२।२६।३ को फैसला ।

            १२.   पू.क्षे.अ. को उक्त फैसला गम्भीर कानुनी त्रुटिपूर्ण भएकोले सो पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेत जगदिश राय कुर्मीको यस अदालतमा पर्न आएको निवेदन ।

            १३.   यस्मा विवादित लिखतमा निवेदकको कुनै सरोकार नाम नामेसी देखिंदैन । धनी ऋणीहरु र लेखक समेतबाट निवेदकले रोक्का हेरी सहीछाप गर्ने ख. शुकदेव गौतमको सहीमा रोक्का छैन भनी गरेको सहिसँग निवेदकको सही भिड्छ भनी राय दिने विशेषज्ञ पदम्राज काफ्लेलाई प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम बयान गराएको पनि पाइदैन । सरजमीनका व्यक्तिले पनि निवेदकलाई दोषी देखाएको पाइँदैन । किटानी निवेदक उपर जाहेरी परेको पनि देखिंदैन । यस्तो स्थितिमा निवेदकलाई कीर्ते कागजको ७ नं. लगाई सजाय गर्ने ठहराई पू.क्षे.अ.ले गरेको फैसलामा प्रमाण ऐन, २०३१ को दफा २३(७) तथा कीर्ते कागजको ७ नं. समेतको व्याख्यात्मक त्रुटि देखिँदा न्या. प्र.सु. ऐन, २०३१ को संशोधित दफा १३(५)(ख) (ग) तथा उपदफा (७) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको २०४४।८।१६।४ को आदेश ।

            १४.   रेखा तथा लेखा विशेषज्ञ पद्मराज काफ्लेलाई बकपत्रका लागि सूचना दिई आएपछि पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको २०४५।१२।१४।२ को आदेश बमोजिम निज यस अदालतमा उपस्थित भई मिति २०४६।६।२१।४ मा बकपत्र गरेको ।

            १५.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुंजविहारीप्रसाद सिंहको तथा विपक्षी वादी श्री ५ को सरकार तर्फका विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. को बहस जिकिर समेत सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी प्र.जगदिश राय कुर्मीलाई कीर्ते कागजको ७ नं. बमोजिम सजाय गर्ने गरेको शुरु जि. अ. को सदर गरेको पू.क्षे.अ. को फैसला मिले नमिलेको के रहेछ सो हेर्नु पर्ने हुन आयो ।

            १६.    यस्मा मिति २०३७।५।३० का दिन अवधि महतो, रासो कोइरीन समेत ५ जना ऋणी भई रामनाथ ठाकूर बडही र रामपुकार यादवलाई गरेको २ लिखत र ऋणी भोला साहु धनी रामप्रसाद यादव समेतको राजीनामा लिखतमा रोक्का फाँटका ख.शुकदेव गौतमको दस्तखत कीर्ते गरी पारित गराउन खोजेकोमा जगदिश राय कुर्मी समेत उपर शंका लाग्छ भन्ने समेत मालपोत कार्यालय सिराहाको प्रतिवेदन अनुसार कार्वाही भई प्र.जगदिश राय कुर्मीले विवादग्रस्त दस्तखत कीर्ते गरेको ठहराएको शुरु जि. अ.को इन्साफ मनासिब ठहराई पू.क्षे.अ.बाट फैसला भएको देखिन्छ ।

            १७.   विवादित रामनाथ ठाकुर, रामपुकार यादव नाउँका २ थान लिखतका लेखक साक्षी हरिप्रसाद यादवले अदालतमा आई बयान गर्दा बाजे स्वर्गीय भएको खबर आएकोले दुबै लिखत जगदिश कुर्मीलाई बाँकी कार्य गर्न जिम्मा दिई घर गएँ, कस्ले कीर्ते गरे भन्न सक्दिन भनी भनेका छन् भने प्रतिवादी उक्त लिखतहरु आफूले लिएकोमा इन्कार देखिन्छन् । अर्को लेखक साक्षी सम्पतलाल लेखी थारुले प्रहरी समक्ष बयान गर्दा रामप्रसाद यादवका नाउँको राजीनामा कागज मैले लेखी निज रामप्रसाद यादवका हातमा दिएको थिएँ । कस्ले कीर्ते गरे भन्न सक्दिन भन्ने समेत भनेकोमा निजलाई अदालतबाट बुझेको देखिंदैन । सरजमीनका सम्पूर्ण मानिसहरुले प्र.जगदिशले कीर्ते गरेको हो भनी भन्न सकेको देखिएन । हरिप्रसाद यादव र रामप्रसादले उक्त लिखतहरुमा सनाखत साक्षी बसी दिनु भनेकोमा मैले नचिनेकोले म सनाखत साक्षी बसी दिन्न भनेको रिसले मलाई कागज जिम्मा लगाई गएको भनी निजहरुले झुठ्ठा कागज गरेको हो भन्ने समेत व्यहोराको अदालतमा बयान गरी विवादास्पद कागजहरु कीर्ते गरेमा प्र.जगदिश पूर्णतया इन्कार देखिएको समेत यस्तो स्थितिमा निज माथि कीर्ते गरेको शंका लागेको भन्ने सम्मको मालपोत कार्यालय सिराहाको प्रतिवेदन तथा विवादग्रस्त शुकभन्ने सही प्रतिवादी जगदिश राय कुर्मीको नमूना हस्ताक्षरहरुसँग भिड्छ भन्ने विशेषज्ञको रायकै आधारमा ख.शुकदेव गौतमको दस्तखत कीर्ते गरेमा पूर्ण इन्कार रहेका यी प्रतिवादीलाई बुझिएका साक्षी सरजमीनले नगरेको तथा अन्य तर्कयुक्त शंकासम्म व्यक्त नगरेको तथा अन्य तथ्ययुक्त ठोस सबूद प्रमाणबाट निजले नै कीर्ते गरेको भनी किटानी गर्न नसकिने यस अवस्थामा केवल शंकाकै भरमा ख.शुकदेव गौतमको दस्तखत यिनी प्रतिवादीले नै कीर्ते गरेको भनी यकीन मान्न मिल्ने अवस्था विद्यमान नहुँदा प्रतिवादी जगदिश कुर्मीले कीर्ते गरेको ठहराएको शुरु सिराहा जि. अ.को फैसला सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला गल्ती देखिँदा उल्टी हुन्छ । प्रतिवादी जगदिश राय कुर्मीले सफाई पाउने ठहर्छ अरुमा तपसील बमोजिम गर्नु ।

           

तपसील

पुनरावेदक प्रतिवादी जगदिश राय कुर्मीके माथि इन्साफ खण्डमा लेखिए बमोजिम निजले सफाई पाउने ठहरेकाले शुरु सिराहा जिल्ला अदालतको मिति २०४१।९।१८।३ को फैसलाले जरिवाना रु. १६,०००।र कैद वर्ष १ (एक) गर्ने गरेको लगत र पू.क्षे.अ. को मिति २०४४।२।२६।३ को फैसलाले थप जरिवाना रु. १,६००।र कैद महीना ।१।६ (एक महीना ६ दिन) गर्ने गरेको लगत राख्नु परेन । व्यहोरा जनाई लगत कट्टा गरिदिनु भनी शुरु जि. अ.मा लेखी पठाउन का.जि. अ.त.मा लगत दिनु ..१ माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादीले सफाई पाउने ठहरेकोले निजले पू.क्षे.अ. मा पुनरावेदन गर्दा जेथाजमानी राखेको तथा यस अदालतमा पुनरावेदन गर्न समेत कायम गराएको कौशल मण्डलका नाउँमा दर्ता तिरो भएको जि. सिराहा देवीपुर गा.पं. वार्ड नं. ३ को कि.नं. १७१ को ज.वि. ०१२४ जग्गा मिति २०४२।३।११ देखि रोक्का रहेको देखिँदा सो फुकुवा गरी दिनको लागि मा.पो.का. सिराहालाई जानकारी दिनु भनी शुरु जि. अ. मा लेखी पठाउन का.जि. अ.त. मा लगत दिनु ...२ इन्साफ उल्टीमा मा.न्या. श्री अरविन्दनाथ आचार्य तथा मा.न्या. श्री राजेन्द्रराज नाख्वाको रेकर्ड राख्नु .............३ नियम बमोजिम गरी मिसिल बुझाई दिनु

 

उक्त रायमा म सहमत छु ।

 

न्या. पृथ्वीबहादुर सिंह

 

 

इति सम्वत् २०४६ साल भाद्र १३ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु