निर्णय नं. ३८५७ - जालसाज

निर्णय नं. ३८५७ ने.का.प. २०४६ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४४ सालको फौ.पु.नं. ५६०
फैसला भएको मिति : २०४६।४।३०।२ मा
पुनरावेदक/प्रतिवादी : जि. रौतहट भयादपुर गा.पं. वा.नं. ५ बस्ने रामअयोध्या राय यादव
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ. बस्ने पलिया यादवनीसमेत
मुद्दा : जालसाज
§ जालसाजी क्रिया एकजनाबाट मात्र हुने नभई कसैको मिलोमतोबाट हुने हुँदा कुनै पनि जालसाजी क्रिया हुनलाई दुइथरी हुन अनिवार्य देखिने ।
(प्रकरण नं. १२)
§ मिलोमतोको अभावमा एकजनाले जालसाली गरेको ठहराएको इन्साफ नमिल्ने ।
(प्रकरण नं. १२)
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश
विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री उमेश खकुरेल
अवलम्बित नजीर : वादी संगीता योगी विरुद्ध शिवलाल काफ्ले समेत भएको जालसाज मुद्दामा ने.का.प. ०४२ नि.नं. २२५२ मा प्रतिपादित सिद्धान्त ।
फैसला
न्या. त्रिलोकप्रताप राणा : मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन उक्त फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी पर्न आएको निवेदनमा यस अदालत संयुक्त इजलासबाट मिति २०४४।१०।१७ मा पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. हामी फिरादीहरुको परिवारको म वादी फालिया यादवनीको जेठाजु, म वादी पोसन राय यादवको जेठा बाबु छठुरायको परलोक २०२८ साल मार्ग महीनामा भए पछि निजको नाम दर्ताको मायापुर गा.पं. वा.नं. ४ कि.नं. ४११ को ०–२–१७ वा.नं. ५ कि.नं. १०१ को ०–१६–५ कि.नं. १४२ को ०–३–५, कि.नं. १८७ को ०–११–५, कि.नं. २०७ को ०–२–१५ समेत १–१६–७ जग्गामा निज स्व.छुटु रायको ३ पुस्ता भित्रको अंशियार हामी वादीहरु भएकोमा अनुकूल मिलेका बखत दाखिल खारिज नामसारी गराई लिने गरी सो जग्गाहरु हामीले आपसमा बाँडफाँड गरी भोग्दै गरी आएकोमा यही २०४० साल भाद्र महिनादेखि विपक्षी रामअयोध्या राय यादवले विवाद खडा गरी हामीहरुको हकमा नोक्सान पुर्याउने योजना बनाई २०४०।१।७ मा प्रतिवादीहरुले स्व.छटु रायको सम्पत्तिमा प्र.राम अयोध्याको लागि सिफारिशपत्र समेत लेखाई ०४०।६।६ गतेका दिन मालपोत कार्यालय रौतहट गौरबाट प्र.मध्येको रामअयोध्या राय यादवले नामसारी दर्ता गराई सोही मितिमा १–१६–७ जग्गा मध्येको कि.नं. १०१ को ०–१६–५ मध्ये उत्तर तर्फबाट ०–१३–० कि.नं. १४२ को ०–३–५ तथा कि.नं. १८७ को ०–११–५ मध्ये उत्तर तर्फबाट जग्गा ०–३–१० समेत १–०–५ जग्गाको फार्छा लिखत २०४०।६।१।७ का दिन झुठ्ठा मुचुल्का गर्ने १७ जवानहरु मध्ये १ जना प्र.रामविलास रायको नाममा रजिष्ट्रेशन पास गरी दिएको साथै सो जग्गाहरुमा जबरजस्ती कब्जा समेत गरी लिनु भएकोमा उपरोक्त लेखिए बमोजिमको जग्गा १–१६–७ मा प्र.मध्येको राम अयोध्याको हक लाग्छ भन्ने झुठ्ठा व्यहोराको मुचुल्का सिफारिश गरे गराएको कीर्ते कागजको ३ नं. बमोजिम प्र.हरुलाई कानुन अनुसारको सजायँ समेत गरी सो जालसाजीको मुचुल्का सिफारिशबाट हामीहरुलाई कुनै नोक्सान नपुग्ने समेतको न्याय इन्साफ पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. प्र.रामअयोध्या राय आफ्नो आमा समेतको साथमा हजूरबा छटुरायको संग साथमा बसी खेती पाती तथा औषधि सेवा शुश्रूषा गरी आएकोमा स्वर्गारोहण पछि पनि क्रिया श्राद्ध समेत प्र.रामअयोध्याले नै गरेको र जग्गा पनि भोग चलन गरी आएको हुँदा सोही वास्तविकता एवं सोचाईको आधारमा स्व.छटुरायको नामको अपुताली परेको जग्गा रामअयोध्याको नाउँमा नामसारी गरी दिनलाई म प्रधानपञ्च र गाउँ समाजका हामी प्रतिवादीहरुले सिफारिश र सरजमिन मुचुल्का गरिदिएको हो । सोही सिफारिसको आधारमा जग्गा नामसारी दर्तासमेत भएकोले जालसाज गरे गराएको होइन वादी दावा झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादी १९ को संयुक्त प्रतिउत्तरपत्र।
४. वादी दावीको जग्गाहरुमा प्रतिवादीको हक नलाग्नेमा अर्काको हक मेट्ने किसिमबाट कागज लेखी सहीछाप गरी लिने दिने समेत गरेको कुरा वादीको साक्षीहरुबाट पनि समर्थित हुन आएकोले सो समेत कारण अवस्थाबाट वादी दावी बमोजिम प्र.रामअयोध्या राय यादवले जालसाज गरेको ठहर्छ । अरु प्रतिवादीहरुले गरेको ठहर्दैन भन्ने समेत व्यहोराको रौ.जि. अ. को मिति २०४१।३।२५ को फैसला ।
५. रौ.जि. अ.बाट भएको फैसलामा चित्त नबुझी प्रतिवादी रामअयोध्या रायको ना.अं.अ. मा परेको पुनरावेदनपत्र ।
६. जालसाजी गरे भन्ने विषयमा शुरुले जालसाजी ठहराई प्रतिवादीलाई जम्मा रु. ५६३७।५० जरीवाना समेत गरेको हुँदा जरीवानाको हदबाट यस अदालतको क्षेत्राधिकार नभई म.क्षे.अ.को क्षेत्राधिकारको हुँदा पक्ष विपक्षलाई म.क्षे.अ.को तारेख तोकी पठाउनु भन्ने समेत व्यहोराको ना.अं.अ. को २०४२।४।१४ को आदेश ।
७. शुरु जिल्ला अदालतबाट भएको आधार बुँदा समेतबाट विवादको हक खाने भनी भएको मुचुल्का सिफारिश दावी बमोजिम जालसाजी कायम गरेको शुरु रौतहट जि. अ. को इन्साफ मनासिबै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति ०४४।७।१५ मा भएको फैसला ।
८. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसलामा चित्त नबुझी प्रतिवादी रामअयोध्या राय यादवको पुनरावेदनको अनुमति पाउँ भनी यस अदालतमा पर्न आएको निवेदनपत्र ।
९. यस्मा यसै लगाउको नि.नं. ९२८ मा आजै यसै इजलासबाट पुनरावेदनको अनुमति प्रदान भएकोले प्रस्तुत निवेदनमा पनि पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासबाट मिति ०४४।१०।१७ मा भएको आदेश ।
१०. नियम बमोजिम निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कमलनारायण दासले जालसाज एकजनाबाट मात्र हुने नभई कसैको मिलोमतोबाट हुने कुरा हो । यस्तो अवस्थामा मेरो पक्ष एकजनालाई मात्र जालसाजमा जरिवाना गरिएको मिलेको नहुँदा सफाई पाउनुपर्छ भन्ने समेत र विपक्षी वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री उमेश खकुरेलले सिफारिश नै जालसाजीबाट भएको हुँदा जालसाज गरेको कुरा प्रमाणित भई प्रतिवादीलाई सजायँ गर्ने गरेको इन्साफ मिलेकै छ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
११. प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ मिले नमिलेको के रहेछ हेरी निर्णय दिनु पर्ने हुन आयो ।
१२. यस्मा यिनै वादी प्रतिवादी भएको हक कायम दर्ता नामसारी बदर चलन समेत मुद्दामा प्र.रामअयोध्या राय यादवले गरेको दर्ता नामसारी चलन समेत बदर हुने ठहराएको म.क्षे.अ. को इन्साफ मनासिब ठहरी आजै यसै इजलासबाट फैसला भएको र यो मुद्दाले त्यस मुद्दालाई असर समेत पार्ने नदेखिई निर्णयतर्फ विचार गर्दा, प्रतिवादी रामअयोध्या रायले मर्ने छटुराय यादवको हक खान पाउने भनी गाउँ पञ्चायतबाट मुचुल्का भएको र सोही आधारमा नामसारी समेत गरिएकोले सो मुचुल्का जालसाजीबाट भएको भन्ने मुख्य वादी दावी भएको देखिन्छ । जालसाजीको मुख्य आधार नै पञ्चायतले गरिदिएको मुचल्कालाई मानिएको पाइन्छ । अरु प्रतिवादीहरुलाई सफाई दिएकोमा प्रतिवादी मध्ये एकजना रामअयोध्या राय यादवलाई मात्र सजाय गरेको देखियो । प्रस्तुत मुद्दामा कीर्ते ठहराएको कानुनसंगत भए नभए तर्फ दृष्टिगत गर्दा तत्काल कीर्ते कागजको ३ नं. मा “लेखिए बाहेक अर्काको हक मेट्ने हदम्याद जाने वा कुनै तरहसंग नोक्सान पार्ने इत्यादी जुनसुकै मतलवले होस नगरे नभएको झुठ्ठा कुरा गरे भएको हो भनी वा मिति अंक व्यहोरा फरक पारी सहिछाप गरी दिने लिने दुवै थर मिली कागज लेखी सहिछाप गरी दिने लिने जालसाजी गर्ने ठहर्छ”, भनी लेखिएको पाइन्छ । अतः जालसाजी क्रिया एकजनाबाट मात्र हुने नभई कसैको मिलोमतोबाट हुने हुँदा कुनै पनि जालसाजी क्रिया हुनलाई दुईथरी हुन अनिवार्य देखिन्छ । नि.नं. २२५२ ने.का.प. २०४२ वादी संगीता योगी विपक्षी शिवलाल काफ्ले समेत भएको जालसाज मुद्दामा जालसाजी कृया हुन दुवैथरी हुनु अनिवार्य हुन्छ भनी यस अदालतबाट सिद्धान्त समेत प्रतिपादित भएको देखिन्छ । अतः यस्तो मिलोमतोको अभावमा एकजना रामअयोध्या राय यादवले मात्र जालसाजी गरेको ठहराएको शुरु इन्साफ सदर गर्ने गरेको म.क्षे.अ. को फैसला मिलेको नहुँदा उल्टी हुन्छ । प्रतिवादी रामअयोध्या राय यादवले सफाई पाउने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्रतिवादी रामअयोध्या राय यादवके माथि इन्साफ खण्डमा लेखिए बमोजिम सफाई पाउने ठहरेकाले शुरु रौतहट जिल्ला अदालतबाट गर्ने गरेको जरिवाना रु. ५,६३७।५० तथा म.क्षे.अ.बाट पुनरावेदन गरे बापत भएको जरिवाना रु. ५६३।७५ समेत जम्मा जरिवाना रु. ६२०१।२५ बापत निज रामअयोध्या राय यादवको नाउँको जग्गा रौतहट जि. अ. का मिति ०४१।४।३० र २०४४।९।१६ का आदेशले रोक्का रहेको देखिँदा उक्त जग्गा फुकुवा गरिदिनु भनी सम्बन्धित माल कार्यालयमा लेखी पठाउनु भनी शुरुमा लगत दिन, लेखी पठाउन का.जि. अ. तहसीलमा लगत दिनु ..... १ माथि इन्साफ खण्डमा लेखिए बमोजिम रामअयोध्या राय यादवके जालसाजी गरेको नठहरी सफाई पाउने ठहरेकाले निजलाई शुरु जि. अ. ले गर्ने गरेको रु. ५,६३७।५० र म.क्षे.अ. मा पुनरावेदन गरे बापत थप जरिवाना रु. ५६३।७५ समेत जम्मा जरिवाना रु. ६,२०१।२५ नलाग्ने हुँदा लगत कट्टा गरी दिनु भनी शुरु जि. अ.मा लेखी पठाउन का.जि. अ. लगत शाखामा लगत दिनु ....२ मिसिल नियम बमोजिम गरी बुझाई दिनु .............३
उक्त रायमा म सहमत छु ।
न्या. प्रचण्डराज अनिल
इति सम्वत् २०४६ साल श्रावण ३० गते रोज २ शुभम् ।