शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९१५९ - मोही नामसारी

भाग: ५६ साल: २०७१ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह

माननीय न्यायाधीश प्रा.डा. श्री भरतबहादुर कार्की

फैसला मिति : २०७०।९।२६।६

०६८–CI–०५७८

 

मुद्दा :  मोही नामसारी ।

 

पुनरावेदक/प्रतिवादी : जिल्ला बारा, साबिक नगवा गा.पं. वडा नं. ६ हाल जिल्ला पर्सा, वीरगन्ज उपमहानगरपालिका वडा नं. १९ बस्ने महारानी देवी बरैनीसमेत

विरूद्ध

प्रत्यर्थी/वादी : जिल्ला बारा, साबिक नगवा गा.पं. वडा नं. ६ हाल जिल्ला पर्सा वीरगन्ज उपमहानगरपालिका वडा नं. १९ बस्ने तारादेवी बरैनीको मु.स. गर्ने ऐे.ऐ. बस्ने अमरदेव राउत बरै

 

§  भूमिसम्बन्धी नियमहरू, २०२१ बमोजिम मोहियानी हकको प्रमाणपत्र वितरण गर्न टोली खटाउन सकिने व्यवस्था रहेको र त्यसरी टोली खटाई वितरण गरेको प्रमाणपत्रको एक प्रति अभिलेख सम्बन्धित गाँउ पञ्चायतमा रहने र एक प्रति भूमिसुधार कार्यालयमा पठाउनुपर्ने व्यवस्थासमेत उक्त नियमावलीमा रहेको देखिँदा गाँउ पञ्चायतबाट मोहीको प्रमाणपत्र उपलब्ध हुन नसक्ने वा त्यस्तो प्रमाणपत्रको कानूनी अस्तित्व नै नहुने भन्न नमिल्ने।

(प्रकरण नं. ३)

§  पुनरावेदक प्रतिवादीले धेरैअगाडि नै यी वादीका पति पितालाई मोहीमा स्वीकार गरी सकेको र निज मोहीको मृत्युपश्चात् निजको श्रीमती र छोराहरूबाट साल सालको कुतबाली बुझी भरपाई गरी दिएको, सो बाली बुझेको भरपाईलाई कीर्ते जालसाज भनेकोमा विशेषज्ञको परीक्षण प्रतिवेदनसमेतका आधारमा कीर्ते प्रमाणित नभई सद्दे ठहरी अन्तिम भईरहेको अवस्थामा वादीहरू दावीको जग्गाको मोहियानी हकका सम्बन्धमा अन्यथा विचार गरी रहनु नपर्ने ।

(प्रकरण नं. ६)

§  वादीका पितालाई र निजको मृत्युपछि निजको पत्नी र छोराहरूलाई मोहीको रूपमा आफ्नो आचरण र काम व्यवहारबाट स्वीकार गरी बालीसमेत बुझी आएको देखिएकोमा हाल यी वादीहरू र निजका पति पिता विधिवत्‌ मोही होइनन् भनी यी प्रतिवादीहरूले भन्न नमिल्ने ।

(प्रकरण नं. ७)

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री भुवन भण्डारी

प्रत्यर्थी/वादीका तर्फबाट :

अवलम्बित नजीर :

सम्बद्ध कानून :

§  भूमिसम्बन्धी नियमहरू, २०२१

§  भूमिसम्बन्धी ऐन, २०२१

 

सुरू तहमा फैसला गर्नेः

भूमिसुधार अधिकारी श्री वीरेन्द्र नारायण मल्लिक

पुनरावेदन तहमा फैसला गर्नेः 

मा.न्या. श्री मोहनरमण भट्टराई

मा.न्या. श्री सुष्मालता माथेमा

 

फैसला

न्या. रामकुमारप्रसाद शाह : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)बमोजिम यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्‌क्षिप्त तथ्य र ठहर यसप्रकार छ :

विपक्षीको पति पिता रामध्यान राउत बरै आफ्नो कालगतिबाट २०४१ सालमा परलोक भई सक्नुभएको छ । निज स्व. रामध्यान राउत बरै र विपक्षी महारानी देवी बरैनीको दाम्पत्य जीवनबाट ३ छोराहरूको जायजन्म भएकोमा जेठो रामजीप्रसाद चौरसिया, माहिला श्यामप्रसाद चौरसिया र कान्छा बलिरामप्रसाद चौरसिया हुन् । निज विपक्षीहरूको पति पिता स्व. रामध्यान राउत बरैका नाउँमा दर्ता रहेको जिल्ला पर्सा, नगवा (बी) वडा नं. ७ कि.नं. ४१ को ज.वि. ०, ऐ.ऐ. कि.नं. ४५ को ज.वि. ०१५, ऐ.ऐ. कि.नं. ५१ को ज.वि. ०१५१५ र ऐ.ऐ. कि.नं. ५२ को ज.वि. ०१०० जग्गाहरूको विधिवत्‌ मोही मेरो पति धुपनारायण राउत बरै भई जोतकोड गरी आउनु भएकोमा पतिको २०२७ सालमा परलोक भयो । त्यसपछि मैले जग्गा आवाद गरी सालसालैको बाली बुझाई भरपाईसमेत प्राप्त गरेकी छु । स्वः पति धुपनारायण राउत बरै र म तारादेवीको दाम्पत्य जीवनबाट ३ छोराहरूको जायजन्म भएकोमा जेठो अमरदेव राउत बरै, माहिला विरबहादुर राउत बरै र कान्छा जगबहादुरप्रसाद चौरसिया हुन् । निज छोराहरूसमेतले मलाई मञ्जुरी दिएकोले उक्त जग्गाहरूको मोहियानी हक मेरो नाउँमा नामसारी गरी मोहियानी हकको प्रमाणपत्रसमेत पाउँ भन्नेसमेत व्यहोराको वादी तारादेवी बरैनीको मिति २०५४।१२।१० को निवेदन मागदावी ।

विपक्षीले दावी लिनुभएको जग्गामा विपक्षीको पति मोही होइनन् । मोहीको हैसियतबाट सो जग्गा कहिले पनि आवाद गर्नुभएको छैन । वादी दावीको जग्गामा विपक्षीको स्व. पति धुपनारायण राउत बरै तीनपुस्तेभित्रको व्यक्ति भएकोले सो जग्गामा सर्भे हुँदा निजको नाम मोही महलमा उल्लेख हुन गएको हो । विपक्षीको स्व. पति धुपनारायण राउत बरै मोही नभएको कारणबाट मोहीको १, २ र ३ नं. लगत भरी पेश गर्नुभएको छैन । निज धुपनारायणको नाम निस्क्रिय अवस्थामा रहन गएको छ । धुपनारायण राउत बरैको मृत्युपछि विपक्षीले सो जग्गा आवाद गरेको भनी सालसालैको भरपाई पेश गर्नुभएको छैन । २०५४ सालको भरपाई पेश गर्नुभएको छ । सो भरपाई मुलुकी ऐन, अ.बं. ७८ नं. बमोजिम विपक्षीबाट दाखेल गराई सुनाएका बखत सद्दे कीर्तेतर्फ बयान गर्नेछु । वादी दावीको जग्गा निज वादीको नाममा मोही नामसारी हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादीहरू महारानी देवी बरैनी, रामजीप्रसाद बरै, प्रशुरामप्रसाद बरै र श्याम बाबुप्रसाद बरैको मिति २०५५।२।१५ को संयुक्त लिखित जवाफ ।

आमा तारादेवीको मिति २०५६।१२।८ मा आफ्नो कालगतिबाट मृत्यु भएको हुँदा मुलुकी ऐन, अ.बं. ६२ को देहाय ३बमोजिम मुद्दा सकार गराई पाउँ भन्ने अमरदेव राउत बरैको मिति २०५७।१।२ को निवेदन र सकार गराई दिनु भन्ने भूमिसुधार कार्यालय, पर्साबाट सोही मितिमा भएको आदेश ।

भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को विपरीत आएको उजुरीबाट मुलुकी ऐन, अ.बं. ६२(३) को परिभाषाभित्र नै नपरेको नामसारी मुद्दालाई हकवालाको प्रमाण नै नलिई मिति २०५७।१।२ मा सकार गराएको काम कारवाही त्रुटिपूर्ण हुँदा सो मुद्दा सकार बदर गरी पाउँ भनी प्रतिवादीहरू श्यामबाबुप्रसाद बरैसमेतले मिति २०५७।२।१६ मा पुनरावेदन अदालत, हेटौंडामा दिएको निवेदन ।

मुद्दा सकार गर्ने प्रक्रियाले इन्साफमा तात्त्विक असर नपर्ने भई मुद्दा किनारा हुँदा ठहरेबमोजिम हुने नै हुँदा मुद्दा सकारसम्म गराएको कार्यलाई अन्यथा भन्न नमिल्ने हुँदा कानूनबमोजिम गर्नु भनी पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०५७।७।२५ मा भएको आदेश ।

यसै निवेदन दावीको जग्गामा मोही लगत कट्टा गरी पाउँ भनी मुद्दा चली रहेको र सो मुद्दामा प्रतिवादीले पेश गरेको कागजातहरूमा सद्दे कीर्तेमा अदालतमा जानु भनी सुनाई मुलतबी रहेको हुँदा यो मुद्दा पनि लगाउको भएकोले मोही लगत कट्टा मुद्दामा ठहरेबमोजिम पछि जगाई कारवाही गर्ने गरी हाल प्रस्तुत मोही नामसारी मुद्दा मुलतबीमा राखिदिनु भनी भूमिसुधार कार्यालय, पर्साबाट मिति २०५८।४।२२ मा भएको आदेश ।

प्रस्तुत मुद्दा मिति २०५८।४।२२ मा भूमिसुधार कार्यालय, पर्साले मुलतबीमा राख्ने गरी गरेको आदेशउपर पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदनमा पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०५८।११।२९ मा दावी नपुग्ने ठहरी फैसला भएको र कीर्ते जालसाजतर्फ दावीसमेत नलिएको हुँदा मुलतबीबाट जगाई कारवाही गरी पाउँ भनी वादीको मु.स. गर्ने अमरदेव राउत बरैको निवेदन परेको हुँदा प्रस्तुत मुद्दा मुलतबीबाट जगाई दिएको छ भनी सुरू भूमिसुधार कार्यालय, पर्साबाट मिति २०५९।५।१० मा भएको आदेश ।

मोहीको १ नं. लगत, २ नं. अनुसूची र ३ नं. प्रमाणपत्रसमेत कार्यालयको रेकर्डमा नरहेको हुँदा सोको अभावको कारण भूमिसम्बन्धी ऐन, २०२१ को कानूनी व्यवस्थासमेत पूरा नगरेको आधार प्रमाणबाट वादी दावी पुग्न नसक्ने ठहर्छ भनी सुरू भूमिसुधार कार्यालय, पर्साबाट मिति २०६६।११।१० मा भएको फैसला ।

विपक्षीहरूको स्व. पति पिता रामध्यान राउत बरैको नाउँमा दर्ता रहेको जिल्ला पर्सा नगवा (बी) वडा नं. ७ कि.नं. ४१ को ज.वि. ०, ऐ.ऐ. कि.नं. ४५ को ज.वि. ०१५, ऐ.ऐ. कि.नं. ५१ को ज.वि. ०१५१५, ऐ.ऐ.कि.नं. ५२ को ज.वि. ०१००समेत जग्गाको दर्तावाला जोताहा मोही मेरो पिता धुपनारायण राउत बरै भई मोहीको हैसियतले सो जग्गा जोतकोड आवाद गरी जग्गाधनीलाई सालसालैको कुतबाली बुझाउँदै आउनुभएको थियो । सो जग्गाको सर्भे फिल्डबुकमा धुपनारायण राउत बरै मोही जनिएको छ । मोहियानी हकको प्रमाणपत्रसमेत प्राप्त भईसकेको र मोहियानी हकको प्रमाणपत्रमा तत्कालिन गा.पं. नगवाको प्रधानपञ्च विश्वनाथप्रसादले हस्ताक्षर सही गरी प्रमाणित गरी दिनुभएको छ । मोहीयानी हकको सक्कल प्रमाणपत्र र सक्कल भरपाईहरूका सम्बन्धमा विपक्षीहरूले मसमेतउपर पर्सा जिल्ला अदालतमा दायर गरेको २०५९।६।१४ को फौ.नं. ५१५ को कीर्ते जालसाजी मुद्दा पेश भई सो कीर्ते जालसाजी मुद्दामा मिति २०६१।१।१७ मा वादी दावी पुग्न नसक्ने ठहरी विपक्षीहरूलाई जरीवानासमेत हुने गरी फैसला भएको छ । सो फैसलाउपर विपक्षीहरूको दु.फौ.पु.नं. २०८ मा पुनरावेदन अदालत, हेटौंडामा पुनरावेदन परेकोमा सुरूको फैसला सदर हुने गरी मिति २०६५।३।१६ मा फैसला भएको छ । सो कीर्ते जालसाजी मुद्दामा पेश भएको प्रमाण कागजसमेतबाट मेरो स्व. पिता धुपनारायण बरै सो जग्गाहरूको विधिवत्‌ मोही भई सो जग्गाहरू मोहीमा जोती कमाई आएको कुरा प्रष्टरूपमा प्रमाणित भएको र पिता धुपनारायण बरैको मृत्युपश्चात् सो जग्गाहरू हकदार छोरा मैले मोहीमा जोती कमाई कुतबाली भूमिसुधार कार्यालय, पर्सामा धरौट राखेको रसिद तथा भरपाईसमेतका प्रमाण कागजबाट प्रमाणित भईरहेको अवस्थामा सो प्रमाण कागजहरूको कुनै मूल्याङ्कन नै नगरी न्यायिक मनको अभावमा भएको सुरूको फैसला गैरकानूनी तथा अन्यायपूर्ण हुँदा सो फैसला बदर गरी सुरू निवेदन दावीबमोजिम दावीका जग्गाहरूको मोहियानी हक मेरो नाउँमा नामसारी हुने गरी मोहियानी हकको प्रमाणपत्रसमेत पाउँ भन्नेसमेत व्यहोराको वादी अमरदेव राउत बरैले पुनरावेदन अदालत, हेटौंडामा पेश गरेको पुनरावेदनपत्र ।

यसै लगाउको दे.पु.नं. १६१८ को बेलगती मोही लगत कट्टा मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दासमेत सोही मुद्दासँग अन्तरप्रभावी हुँदा प्रस्तुत मुद्दामा पनि छलफल निमित्त मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भनी पुनरावेदन अदालत, हेटौंडाबाट २०६७।३।९ मा भएको आदेश ।

प्रतिवादीले पेश गरेको ३ नं. मोही प्रमाणपत्र कार्यालयको रेकर्डमा नै नहुँदा प्रमाण ऐन, २०३१ ले प्रमाणको रूपमा लिन सक्ने अवस्था छैन । मोही हुनलाई १ नं. लगत, २ नं. अनुसूची हुनुपर्ने भनी सम्मानित सर्वोच्च अदालतबाट नेकाप २०४७, अङ्क २, पृष्ठ ११६, ऐ. अङ्क ६, पृष्ठ ४७८, ऐ. अङ्क ९, पृष्ठ ६२४ मा नजीर प्रतिपादन भएकोसमेतबाट मोही बेलगती पुष्टि हुन आएको देखिएको तथा ३ नं. मोहीको प्रमाणपत्रसमेत कार्यालयको रेकर्डबाट नदेखिएको र विपक्षीले सो प्रमाण पुर्‍याउन नसकेको हुँदा वादी दावी पुग्न नसक्ने ठहर्‍याई भएको भूमिसुधार कार्यालय, पर्साको फैसला कानूनसम्मत हुँदा सुरूको फैसला सदर गरी पाउँ भन्नेसमेत व्यहोराको प्रत्यर्थी प्रतिवादीहरूले पुनरावेदन अदालत, हेटौंडामा पेश गरेको संयुक्त लिखित प्रतिवाद ।

वादी महारानी देवीसमेत प्रतिवादी अमरदेव राउत बरैसमेत भएको २०५९।६।१४ को फौ.नं. ५१५ कीर्ते जालसाजी मुद्दा र २०४१।५।२२ को दे.नं. १४९९, २०४३ सालको दे.नं. १९३३ को कुतमोही र मोही निष्कासन मुद्दाको सुरू मिसिल पर्सा जिल्ला अदालतबाट झिकाई आएपछि लगाउको मुद्दा साथै राखी पेश गर्नु भन्ने पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०६७।१२।२७ मा भएको आदेश ।

यसमा अधिकारप्राप्त निकायबाट जारी भएको मोहियानी प्रमाणपत्र फिल्डबुक, जग्गा धनी स्रेस्ताले समेत समर्थन गरी कहिँ कतैबाट अन्यथा प्रमाणित नभई सकेको, जग्गाधनीले नै मोही मानी दिएको मोही निष्कासन मुद्दामा मोही निष्कासन नहुने गरी अदालतबाट अन्तिम फैसला भईरहेको तथा जग्गाधनीले कुत बुझी गरी दिएको भरपाई विशेषज्ञको परीक्षण प्रतिवेदनसमेतका आधारबाट कीर्ते प्रमाणित नभई सद्दे ठहरी अन्तिम फैसला भईरहेको अवस्थामा साबिक मोही धुपनारायण राउत बरैका नामबाट पुनरावेदक वादीका नाममा मोही नामसारी हुने नै देखियो । मोही नामसारी गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको सुरू भूमिसुधार कार्यालय, पर्साको मिति २०६६।११।१०।२ को फैसला मिलेको नदेखिँदा उल्टी भई विवादित कि.नं. ४१, ४५, ५१ र ५२ को मोहियानी हक धुपनारायण राउत बरैका नामबाट पुनरावेदक वादीका नाममा नामसारी हुने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६८।१।२८ को फैसला ।

यसमा विवादित जग्गाहरूमा विपक्षीका पिताले खनजोत गरेको र कानूनबमोजिमको प्रक्रिया पूरा गरी विधिवत्‌ मोही कायम भएको अवस्था छैन । विवादित जग्गाहरूमा वादीका पिताले १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित भई सोहीबमोजिम मोही प्रमाणपत्र प्राप्त गरेका छैनन् । सो सम्बन्धमा भूमिसुधार कार्यालयमा कुनै अभिलेख नभएको कुरा भूमिसुधार कार्यालयको निर्णयमा उल्लेख भएको छ । मोहीले आफूले कमाएको जग्गा र जग्गाधनीको नामसमेत खुल्ने गरी १ नं. लगत र २ नं. अनुसूची प्रकाशित भएको हुनुपर्ने भनी नेकाप २०४७, अङ्क २, नि.नं. ४०६४, पृष्ठ ११६ मा नजीर सिद्धान्त कायम भएको छ । भूमिसम्बन्धी ऐन, २०२१ लागू भईसकेपछि तोकिएको समयमा १ नं. लगत भरेको, २ नं. अनुसूची प्रकाशित भएको तथा विपक्षीहरूसँग मोही कबुलियत भएको अवस्थासमेत छैन । हामी वादी प्रतिवादी दाजु र भाइका सन्तान हौँ । एकै बाजेका सन्तान एक परिवारको एउटा व्यक्ति जग्गा धनी र अर्को व्यक्ति मोही हुन सक्तैन भनी नेकाप २०४४, नि.नं. ३१३७, पृष्ठ २०७ मा सर्वोच्च अदालतबाट कायम भएको सिद्धान्तप्रतिकूल पुनरावेदन अदालतले फैसला गरेको छ । भूलबश नापीको समयमा एकाघरका व्यक्तिको नाम मोही महलमा लेखिन गएको सच्चाई पाउन हामीले विपक्षीहरूका उपर २०४१ सालमा दिएको मुद्दालाई आधार बनाई मोही स्वीकारी सकेको भनी विवन्धनको सिद्धान्तसमेतका आधारमा भूमिसुधार कार्यालय, पर्साको निर्णय उल्टी गरी मोही नामसारी हुने गरी ऐन, कानून र सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०६८।१।२८ मा भएको त्रुटिपूर्ण फैसला बदर गरी पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरूको यस अदालतमा परेको पुनरावेदनपत्र ।

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसीसूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूको तर्फबाट विद्वान् अधिवक्ता श्री भुवन भण्डारीले वादीहरू दावीका जग्गाको विधिवत्‌ मोही होइनन् । उक्त जग्गाको अनुसूची १ नं.बमोजिमको लगत भरी २ नं. अनुसूची प्रकाशित नभएको तथ्य भूमिसुधार कार्यालयमा सोसम्बन्धी अभिलेख नभेटिएबाट पुष्टि भएको छ । २०४१ सालमा दिएको मुद्दालाई मेरो पक्षको विरूद्धमा प्रमाणमा लगाउन मिल्दैन । कानूनी प्रश्नमा विवन्धनको सिद्धान्त लागू नहुने हुँदा सोतर्फ विचार नगरी भएको पुनरावेदन अदालत, हेटौंडाको फैसला त्रुटिपूर्ण हुँदा हाललाई अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाउने आदेश हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

वादीले प्रतिवादीहरूको नाम दर्ता रहेको जिल्ला पर्सा, नगवा (बी) वडा नं. ७ कि.नं. ४१ को ज.वि. ०, कि.नं. ४५ को ज.वि. ०१५, कि.नं. ५१ को ज.वि. ०१५१५, र कि.नं. ५२ को ज.वि. ०१०० जग्गाको मोही हाम्रा पति पिता धुपनारायण राउत बरै भएको र मोहीको हैसियतले जोतभोग गरी साल सालको कुत बालीसमेत बुझाउँदै आउनुभएकोले मोही नामसारी गरी पाउँ भन्ने दावी गरेकोमा वादी दावीबमोजिम मोही नामसारी हुनुपर्ने होइन । विपक्षीका पति पिताले मोहीको १ नं. लगत र २ नं. अनुसूची प्रकाशित गरी मोही प्रमाणपत्र लिएको अवस्था छैन । बेलगती मोही हुँदा खारेज हुनुपर्दछ भन्ने प्रतिउत्तर जिकिर भएकोमा मोहीको १ नं. लगत र २ नं. अनुसूची र ३ नं. मोहीको प्रमाणपत्रको अभिलेख भूमिसुधार कार्यालयमा नरहेको हुँदा सोसमेतका आधार प्रमाणबाट वादी दावी पुग्न नसक्ने ठहरी भूमिसुधार कार्यालय, पर्साबाट भएको फैसलाउपर वादीको पुनरावेदन परेकोमा मोही नामसारी गरी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको भूमिसुधार कार्यालय, पर्साको मिति २०६६।११।१० को निर्णय उल्टी भई दावीका जग्गा वादीका नाममा मोही नामसारी हुने ठहरी भएको फैसलाउपर प्रतिवादीहरूको यस अदालतमा पुनरावेदन पर्न आएको छ ।

प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, हेटौंडाको फैसला मिले नमिलेको के रहेछ र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने नसक्ने के रहेछ  सोही विषयमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, दावीका जग्गाहरूको जग्गाधनी प्रतिवादीहरूका पति पिता स्व. रामध्यान राउत बरै भएको र आफ्ना पिता धुपनारायण राउत ती जग्गाहरूको मोही रहेको निज स्व. रामध्यान राउत बरैको नाम दर्ताको दावीका जग्गाहरूको मोही हाम्रा पति पिता धुपनारायण राउत बरै उक्त जग्गा कमाई साल सालको कुत बाली बुझाउँदै आएकोमा हाम्रा पति पिता स्व. धुप नारायण बरै २०२७ सालमा परलोक भई उक्त जग्गाको जोतकोड हामी वादीहरूले गरी साल सालको बाली जग्गाधनीलाई बुझाई आएकोले उक्त जग्गाहरूको मोहीयानी प्रमाणपत्र दिई मोही नामसारी गरी पाउँ भन्ने मुख्य वादी दावी रहेको देखिन्छ । प्रतिवादीहरूले स्व. धुपनारायण बरै दावी जग्गाको विधिवत्‌ मोही नभएको भन्ने दावीलाई खण्डन गरी जिकिर लिएको पाइन्छ ।

 

३. पुनरावेदक प्रतिवादीहरूले धुपनारायण राउत बरैले पेश गरेको मोहियानी हकको प्रमाणपत्र निजले विधिवत्‌रुपमा प्राप्त नगरेको, मोही प्रमाणपत्र प्राप्त गर्न भर्नुपर्ने मोहीको १ नं. लगत नभरेको र २ नं. अनुसूची प्रकाशित नभएको र उक्त प्रमाण कागजको अभिलेख भूमिसुधार कार्यालय, पर्सामा नभेटिएको भन्नेसमेतका कारणहरू उल्लेख गरी मोही प्रमाणपत्रको अस्तित्वमाथि नै प्रश्न उठाएको देखिन्छ । तर वादीले साबिक मोही धुपनारायण राउत बरैको नामको मोही प्रमाणपत्रको प्रतिलिपि निजले पेश गरी मिसिल सामेल रहेको छ । वादीले पेश गरेको उक्त मोहियानी हकको प्रमाणपत्रमा जिल्ला बारा, नगवाको गाउँ पञ्चायतको तर्फबाट भन्ने उल्लेख भएको देखिन्छ । भूमिसम्बन्धी नियमहरू, २०२१ को नियम ३ को उप नियम (२) बमोजिम खटिएको भूमिसुधार टोलीले प्रत्येक वडामा अनुसूची १ बमोजिमको ढाँचा तयार गरी नियम ४, , ६ र ७ समेतको प्रक्रिया पूरा गरी १ नं. लगत र २ नं. अनुसूचीका आधारमा भूमिसम्बन्धी नियमहरू, २०२१ को नियम ९(१) बमोजिम वितरण गरेको मोहियानी हकको प्रमाणपत्र प्राप्त गरेको हो भनी वादीले दावी लिएको देखिन्छ । वादीको उक्त दावीका सम्बन्धमा प्रतिवादीले अन्यथा भन्न सकेको देखिँदैन । भूमिसम्बन्धी नियमहरू, २०२१ बमोजिम टोली खटाउन सकिने व्यवस्था रहेको र त्यसरी टोली खटाई वितरण गरेको प्रमाणपत्रको एक प्रति अभिलेख सम्बन्धित गाँउ पञ्चायतमा रहने र एक प्रति भूमिसुधार कार्यालयमा पठाउनुपर्ने व्यवस्थासमेत उक्त नियमावलीमा रहेको देखिँदा गाँउ पञ्चायतबाट मोहीको प्रमाणपत्र उपलब्ध हुन नसक्ने वा त्यस्तो प्रमाणपत्रको कानूनी अस्तित्व नै नहुने भन्न मिल्दैन ।

४. वादीका पति पिता धुपनारायण राउत बरैले मोहियानी प्रमाणपत्र प्राप्त गरी यी जग्गाधनी प्रतिवादीहरूले निज धुपनारायण राउत बरैको मृत्युपश्चात् निजका श्रीमती र छोराहरूबाट साल सालको कुतबाली बुझी भरपाई गरी दिइ मोहीको रूपमा स्वीकार गरी सकेको पनि देखिन्छ । तर यी वादीले मोही नामसारीको लागि २०५४।१२।१० मा मुद्दा दर्ता गरेपछि मात्र प्रत्यर्थी प्रतिवादीले मुद्दाको कारवाहीको क्रममा वादीले पेश गरेको कुत बाली बुझाएको भरपाई र मोही प्रमाणपत्रलाई कीर्ते भएको भनी अ.बं. ७८ नं. बमोजिम बयान गरेको देखिन्छ । कुतबाली बुझाएको भरपाई सद्दे कीर्तेमा छुट्टाई आएका वखत कारवाही हुने गरी प्रस्तुत मोही नामसारी मुद्दा भूमिसुधार कार्यालय, पर्सामा मिति २०५८।४।२२ मा मुद्दा मुलतबीमा रहेकोमा कुतबाली बुझाएका भरपाईका सम्बन्धमा प्रतिवादीहरूबाट पर्सा जिल्ला अदालतमा परेको कीर्ते जालसाजी मुद्दा मिति २०६१।१।१७ मा वादीको दावी नपुग्ने ठहरी फैसला भई पुनरावेदन अदालत, हेटौंडाबाट समेत मिति २०६५।३।१६ मा सुरू फैसला सदर भई अन्तिम बसेको देखिन्छ ।

५. कुत बुझाएका भरपाईहरू जालसाजी भनी दावी लिएको जालसाज मुद्दामा भएको फैसलापश्चात् भूमिसुधार कार्यालय, पर्सामा मुलतबीमा रहेको प्रस्तुत मुद्दा मिति २०५९।५।१० मा मुलतबीबाट जागी कारवाही अगाडि बढेपछि पुनरावेदक प्रतिवादीले मिति २०५९।६।१४ मा सरकारी छापकीर्ते मुद्दाको जाहेरी हुलाकबाट दिइ सो कारवाहीको क्रममा रहेको भनी जिकिर लिएको पाइन्छ । तर भूमिसुधार कार्यालय, पर्साबाट मिति २०५९।५।१० मा प्रस्तुत मुद्दा मुलतबीबाट जाग्ने क्रममा यी पुनरावेदक प्रतिवादीले सरकारी छाप कीर्ते मुद्दाका सम्बन्धमा कुनै जिकिर लिएको देखिदैन । प्रतिवादीहरूले सरकारी छाप कीर्ते सम्बन्धमा २०५९।६।१४ मा हुलाकमार्फत् जाहेरी दिएको भने पनि लामो समयसम्म सोतर्फ सोधी खोजी केही नगरी बसेको देखिन्छ । सो सम्बन्धमा पुनरावेदन अदालतबाट २०६६।१।२३ मा परमादेश आदेश जारी भएपछि पनि सो सम्बन्धमा हालसम्म के कस्तो कारवाही भएको छ सो प्रतिवादीले भन्न सकेको देखिँदैन ।

६. यी पुनरावेदक प्रतिवादीले धेरैअगाडि नै यी वादीका पति पितालाई मोहीमा स्वीकार गरी सकेको र निज मोहीको मृत्युपश्चात् निजको श्रीमती र छोराहरूबाट साल सालको कुतबाली बुझी भरपाई गरी दिएको, सो बाली बुझेको भरपाईलाई कीर्ते जालसाज भनेकोमा विशेषज्ञको परीक्षण प्रतिवेदनसमेतका आधारमा कीर्ते प्रमाणित नभई सद्दे ठहरी अन्तिम भईरहेको अवस्थामा यी वादीहरू दावीको जग्गाको मोहियानी हकका सम्बन्धमा अन्यथा विचार गरी रहनुपर्ने देखिँदैन ।

७. सोको अलावा जग्गाधनी यी प्रतिवादीहरूले धुपनारायण राउत बरैको छोरा अमरदेवप्रसाद बरैलाई प्रतिवादी बनाई दावीका जग्गाहरूको मोही धुपनारायण राउत बरै भएको र निजको मृत्युपश्चात् आफ्ना पिताले निज मोही धुपनारायण राउत बरैका श्रीमती छोराहरूलाई मोहीमा पत्याई निजहरूले कमाई आएको तथ्यलाई स्वीकार गर्दै दावीको जग्गामा निजहरूले ठाउँ ठाउँमा खाल्डो खनी जग्गाको स्वरूप प्रकृति आदि बिगारी दिएकोले मोही निष्कासन गरीपाउँ भनी २०४१ सालमा मोही निष्कासन मुद्दा दायर गरेको  देखिन्छ । उक्त मुद्दामा २०४२ मा भएको सर्जमिन मुचुल्कासमेतबाट दावीको जग्गाहरूमा खाल्डो खनी जग्गा बिगारी दिएको नदेखिएको भन्ने आधारमा वादी दावी नपुग्ने गरी फैसला भएको देखिन्छ । यसरी यी वादीका पिता धुपनारायणलाई र निजको मृत्युपछि निजको पत्नी र छोराहरूलाई मोहीको रूपमा आफ्नो आचरण र काम व्यवहारबाट स्वीकार गरी बालीसमेत बुझी आएको देखिएकोमा हाल यी वादीहरू र निजका पति पिता विधिवत्‌ मोही होइनन् भनी यी प्रतिवादीहरूले भन्न मिल्ने हुँदैन । यिनै वादीहरूका विरूद्धमा दावीको जग्गा सम्बन्धमा मोही निष्कासन मुद्दा दिई उक्त मुद्दाको फिरादपत्रमा स्पष्ट उल्लेख गरी यी वादीहरू र निजका पति पिता मोही भएको तथ्य स्वीकारेको देखिँदा वादीहरू दावीको जग्गाको विधिवत्‌ मोही भएको तथ्य प्रष्ट हुन  आउँदछ ।

८. साथै यी प्रतिवादीहरूले यिनै वादी स्व. धुपनारायण राउत बरैको श्रीमती तारादेवी बरैनी, निजका एकासगोलका छोरा अमरेदव राउत बरैसमेतका ४ जनालाई विपक्षी बनाई मिति २०४३।१।८ मा दावीका यिनै जग्गाहरूको २०४२ सालको हुने कुतबाली दिलाई भराई पाउँ भनी मुद्दा दायर गरेकोसमेत देखिन्छ । उक्त मुद्दाको फिरादपत्रमा दावी जग्गाहरूको मोही विपक्षीहरूको पति पिता धुपनारायण राउत बरै भएको र विपक्षीहरूका पति पिता आज भन्दा १२/१३ वर्षपूर्व नै परलोक भएपछि यी विपक्षीहरू दावीका जग्गामा मोही भई जग्गा कमाई आएका थिएभनी व्यहोरा उल्लेख गरेको पाइन्छ । यी प्रतिवादीहरूले मिति २०४४।४।३१ गतेदेखि तारेख गुजारी बसेकोले उक्त मुद्दामा मिति २०४४।८।२ मा पर्सा जिल्ला अदालतबाट डिसमिस फैसला भई अन्तिम भई बसेको मिसिल साथ पेश भएको संवत् २०४३ सालको दे.नं. १९३३ को कुत मोही मुद्दाबाट देखिन्छ ।

९. अत एव माथि विवेचित आधार प्रमाणसमेतबाट वादीका पति पिताले मोहियानी प्रमाणपत्र प्राप्त गरेको देखिएको र निजलाई साबिकदेखि मोहीमा दावीका जग्गा जोतकोड गर्न दिई निजको मृत्युपश्चात् निज मोहीका श्रीमती र छोराहरू यी वादीहरूलाई मोहीमा पत्याई साल सालको कुतबालीसमेत बुझी आएको र मोही र जग्गाधनीहरूबीच विभिन्न मुद्दा दायर भई फैसलासमेत भइरहेको देखिन आएको अवस्थामा साबिक मोही धुपनारायण राउत बरैका नामबाट प्रत्यर्थी वादीहरूका नाममा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम मोही नामसारी हुने ठहर गर्नुपर्नेमा मोही नामसारीको दावी नपुग्ने ठहराएको भूमिसुधार कार्यालय, पर्साको मिति २०६६।११।१० को निर्णय उल्टी गरी दावीका कि.नं. ४१, ४५, ५१ र ५२ को जग्गामा मोहियानी धुपनारायण राउत बरैका नामबाट पुनरावेदक वादीका नाममा मोही नामसारी हुने ठहर्‍याएको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६८।१।२८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाईदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. भरतबहादुर कार्की

 

इति सम्वत् २०७० साल पौष २६ गते रोज ६ शुभम्

 

इजलास अधिकृत : भद्रकाली पोखरेल

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु