शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३८६० - हक कायम दर्ता नामसारी बदर चलन समेत

भाग: ३१ साल: २०४६ महिना: असोज अंक:

निर्णय नं. ३८६०     ने.का.प. २०४६            अङ्क ६

संयुक्त इजलास

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४४ सालको दे.पु.नं. ८२४

फैसला भएको मिति : २०४६।४।३०।२ मा

पुनरावेदक/प्रतिवादी : जि. रौतहट गा.पं. मर्यादपुर वा.नं. ५ बस्ने रामअयोध्या राय यादव

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ. बस्ने पलिया यादवनीसमेत

मुद्दा : हक कायम दर्ता नामसारी बदर चलन समेत

§  जसले जुन कुराको जिकिर लिन्छ सो जिकिर प्रमाणित गर्ने भार उसैको हुने ।

(प्रकरण नं. १६)

§  अन्य प्रमाणको अभावमा नौ वर्ष पछि लिएको मृत्यु दर्ता प्रमाणको आधारमा मरेको भनी निष्कर्षमा पुग्न नमिल्ने ।

(प्रकरण नं. १७)

§  जुन ऐन अन्तर्गत वादीको दावी नै छैन सो ऐनको हदम्याद तर्फ हेर्नु पर्ने अवस्था नरहने ।

(प्रकरण नं. १९)

पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश

विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री उमेश खकुरेल

फैसला

            न्या. त्रिलोकप्रताप राणा : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।७।१५ को फैसलामा चित्त बुझेन उक्त फैसला बदर गरी पुनरावेदन गर्न अनुमति पाउँ भनी पर्न आएको निवेदनमा यस अदालत संयुक्त इजलासबाट मिति २०४४।१०।१७ मा पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।

            २.    मूल पुरुष मनरथ रायको ४ छोरा जेठा छटुराय, माहिला माझी राय, साहिंला काजी राय, कान्छा कालुचन भएकोमा मनरथ राय र निजकी श्रीमती तथा निजको छोराहरु ४ जना समेतको स्वर्गवास भइसकेको छ । स्व.छटुरायको छोरा नभएको एकजना छोरी प्र.रामअयोध्याको आमा रहेकोमा निजको पनि स्वर्गवास भइसकेकोमा परिवारमा स्वर्गीय माझी रायको श्रीमती म वादी पलिया यादवनी निज स्व.माझीको छोरा म प्रल्हाद राय, स्व.काजी रायको छोरा म पोषन राय तथा स्वर्गीय कालुचन रायको छोरा हरलाल राय र विश्वम्भर राय समेतका व्यक्तिहरु कायम हाम्रो परिवारमा हाम्रो लोग्ने बाबुहरुकै पालामा अंशबण्डा भइसकेको सबै जना भिन्न भइसकेका छौं । २०२८ साल मार्ग महीनामा निज छटुरायको स्वर्गबास भएपछि निजको नाम दर्ताको मर्यादपुर गा.पं. वा.नं. ४ कि.नं. ४११ को ०१७ वा.नं. ५ कि.नं. १०१ को ०१६५ कि.नं. १४२ को ०, कि.नं. १८७ को ०११, कि.नं. २०७ को ०१५ समेत जग्गाको मोल रु. २२,५५०।जाने ११६७ जग्गामा स्व.छटुरायको परिवारको तीन पुस्ताभित्रको नजिकको हामी वादीहरुकै हक पुगी हाम्रै हकभोगमा रहेको सो जग्गामा विपक्षीले २०४०।५ देखि विवाद खडा गरी झुठ्ठा व्यहोराको मुचुल्का सिफारिशको आधारमा २०४०।६।६ गते सो जग्गाहरुलाई आफ्नो नाममा नामसारी दर्ता गराई हामीहरुको हकभोग टुटाई जबरजस्ती दखल कब्जा समेत गरी लिनु भएकोले प्रस्तुत नालिश गर्न आएको छु । विपक्षीले हक बेहकको गैरकानुनी झोज खडा गरी गैरकानुनी दर्ता नामसारी गराई लिनु भएको बदर गरी हाम्रा हक कायम रहने किसिमसंग सो जग्गाहरुको दर्ता हुने गरी त्यसको चलन समेत दिलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

            ३.    छटुराय यादवको छोरा नभई एक मात्र छोरी मथवा यादवनी भएकोमा निज मथवा यादवनीको एक मात्र छोरा म प्रतिवादी भएकोमा छटुरायको सेवा सुसार स्याहार संभार समेत मैले नै गरी अपुताली परेको जग्गा मैले भोग गरी आएको आधारमा कानुनको रीत पुर्‍याई आफ्ना नाउँमा नामसारी गराएको हुँ । वादी दावी झुठ्ठा हो यदि वादीलाई अपुताली हक भएको भए मु.ऐन, अपुतालीको २० नं. बमोजिमको म्यादभित्र नालिस गर्न आउँथे सो नभई हदम्याद नाघी दर्ता भएकोले वादी दावी खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

            ४.    अपुतालीको २ नं. अनुसार अपुताली पर्दा मर्नेको लोग्ने स्वास्नी छोरा वा छोराका छोरा भएसम्म छोरीले अपुताली पाउँदैन । त्यस्तो कोही नभए संग बसेका हकवाला भए त्यस्ता हकवालाले र नभए अरु हकवालाले अपुताली पाउछ भन्ने कानुनी व्यवस्था हुँदा मर्ने छटुरायको अंश भागको जग्गामा नजिकको हकवाला भतिजा प्रल्हाद रायले पाउनु पर्नेमा नपाएको देखिन आएकोले मर्ने छटुरायको छोरीको छोराले पनि अपुताली पाउँछ की भन्नलाई अपुतालीको ८ नं. मा हकवाला र छोरा छैनन् भने मर्नेको अपुताली छोरीको छोराले पाउँछ भन्ने कानुनी व्यवस्था भएकोमा हकवाला वादीहरु रहे भएको देखिएकोले मर्नेको छोरीको छोराले गराएको नामसारी बदर भई सोमा हकवाला वादीको हक कायम दर्ता समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४१।३।२५ को रौतहट जि. अ. को फैसला ।

            ५.    रौतहट जिल्ला अदालतले गरेको इन्साफमा चित्त नबुझी प्रतिवादी रामअयोध्या राय यादवको नारायणी अञ्चल अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

            ६.    यस्मा न्या. प्र.सु.ऐन, २०३१ को दफा १३ (१) अनुसार यस मुद्दामा यस अदालतको क्षेत्राधिकार नभई श्री म.क्षे.अ. को क्षेत्राधिकारको हुँदा पक्ष विपक्षलाई श्री मध्यमाञ्चल क्षेत्रीय अदालतको तारेख तोकी पठाउने भन्ने मिति २०४२।४।२४ को नारायणी अञ्चल अदालतको आदेश।

            ७.    विवादको जग्गा विगाहा ११६७ को जग्गामा ३ भागको २ भाग हक खान पाउने नजिकको हकदार यी वादीहरु छँदाछँदै अपुताली पर्नेहरुको श्रीमती मरी सकेको, छोरा नहुँदा पालन पोषण गरी राखेको छोरीको छोरा प्र.रामअयोध्या राय अपुताली हक खाने व्यक्ति कायम गरी विवादको उक्त जग्गा प्र.रामअयोध्या रायको नाउँमा मिति २०४०।६।६ मा नामसारी दाखिल खारिज गर्ने गरेको मालपोत कार्यालय रौतहटको निर्णय अपुताली महलको नं. २।८ को व्यवस्था विपरीत देखिँदा विवादको उक्त जग्गा हक खाने नजिकको हकदारमा स्वर्गीय मनरथका कान्छो छोरा पट्टीका सन्तानहरुको उजूरी नहुँदा उक्त जग्गामा तीन खण्डको २ खण्ड सम्म मालपोत कार्यालय रौतहटबाट भएको नामसारी बदर भई सो बदर भएको हदसम्म यी वादीहरुको हक कायम भई दर्ता हुनेमा उक्त सम्पूर्ण जग्गा नामसारी बदर हुने भई वादीको हक कायम हुने ठहराएको रौ.जि. अ. को फैसला केही उल्टी हुन्छ भन्ने समेत व्यहोराको म.क्षे.अ. बाट मिति ०४४।७।१५ मा भएको फैसला ।

            ८.    मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त नबुझी पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादी रामअयोध्या राय यादवको यस अदालतमा पर्न आएको निवेदन ।

            ९.    यस्मा छटुराय २०२८ सालमा परलोक भई निजको हक निजैको श्रीमती जगियामा सरेकोमा निज जगियाको मृत्यु २०३४।४।२४ मा भएको देखिन आउँछ । जगियाको अंश हक निजको मृत्युपछि संगै बसी सेवा शुश्रूषा गर्ने निजको छोरी निवेदक प्रतिवादीको आमामा अपुतालीको २ नं. ले सरेको मान्नु पर्दछ । निवेदककी आमाको मृत्युपछि उक्त सम्पत्तिमा निवेदकको हक लाग्ने प्रष्ट देखिँदा देखिंदै निजको नाममा नामसारी भएको ३ खण्डको २ खण्ड सम्म बदर हुने गरी वादीको नाममा हक कायम दर्ता हुने ठहर्‍याई म.क्षे.अ.बाट भएको फैसलामा अपुतालीको २ नं. को व्याख्यात्मक त्रुटि विद्यमान भएको देखिँदा न्या. प्र.सु.ऐन, २०३१ को १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासबाट मिति २०४४।१०।१७ मा भएको आदेश ।

            १०.    नियम बमोजिम निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कमलनारायण दाशले जग्गा पजनीको १७ नं. जग्गा मिच्नेको १८नं. अन्तर्गतको मुख्य दावी भएको आधारमा अपुताली हक खान पाउने गरी फैसला भएको छ । अपुताली अन्तर्गत दावी नै नभएको र अपुताली महलको २० नं. को म्याद भित्र वादीहरुले हक कायम गर्नसकेका छैनन् । हदम्याद नाघी परेको नालिसमा इन्साफ गरी वादी दावी कायम गरेको शुरु र म.क्षे.अ. को फैसला उल्टी हुनुपर्छ । अपुताली पर्दा छटु भाइहरु सित भिन्न भई बसेको र निजको श्रीमती जुगिया जीवितै भई छटुको हक खाने जुगीया भई निजको मृत्यु २०३४ सालमा भएकोमा निजको हक खाने छोरा कोही नभएको र प्रतिवादीको आमा एकमात्र जुगीयाको छोरी मअवादेवी भएको हुँदा जुगीयाको हक खाने मअवादेवीमा हक सर्न गएको हो । प्रतिवादीलाई छटुले मावलीमा पालन पोषण गरी राखेको थियो । प्रतिवादीले नै बाजेको सेवा शुश्रषा गर्ने र छटु परलोक भई काजक्रिया समेत गरी संपत्ति भोगी आएको अवस्थामा छटु मरी जुगीयाको हकमा आएको र जुगीया मरेपछि जुगीयाबाट मअवाको हकमा आएको र मअवा २०३४ चैत्रमा परलोक भएकोले निज पछि प्रतिवादी रामअयोध्या राय यादवमा उक्त हक जग्गा आएको हो । अतः गाउँ पञ्चायतबाट हकदारको मुचुल्कामा भएको सिफारिश अनुसार मालपोत कार्यालय रौतहटबाट मिति २०४०।६।६ मा निर्णय भई नामसारी दाखिल खारेज भएको कायम हुनुपर्छ र म.क्षे.अ. को फैसला बदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो । विपक्षी वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री उमेश खकुरेलले छोरा भएसम्म छोरीले अपुताली पाउँदैन भन्ने अपुतालीको २ नं. ले भन्छ, तर यो छोरी, आमा जुगीया मरेपछि मरेको नभई छटु मर्नु भन्दा पनि अघि मरेको हो । यस कुरालाई प्रतिवादीले ना.अं.अ. मा पुनरावेदन गर्दा सम्म खण्डन गर्नसकेको छैन । त्यस कारण बाबु भन्दा पहिले मरी सकेकी छोरी मअवामा बाबुको हक सर्ने होइन । मअवामा हकै नसरेको अवस्थामा छोरा रामअयोध्यामा हक सर्ने कुरा नै आउँदैन । उक्त कुरा रामअयोध्याले नामसारी गरिपाउँ भनी २०४०।६।६ मा दिएको निवेदनमा पनि छटु मरी निजको हकदार म भनी आएको र छटुबाट हक जुगियामा आएको, जुगिया मरी हक मअवामा आई मअवा मरेपछि हक म मा सरी आएको भन्नसकेको छैन । पञ्चायतको सिफारिशमा पनि हजूरबाबाट मैले पाउनु पर्ने भन्ने उल्लेख भएको पाइन्छ । मेरो पक्षले उक्त जग्गाको सालसालै तिरो तिरी आएको हुँदा उक्त जग्गा मेरो पक्षको भोगमा छ भन्ने प्रष्ट देखिन्छ । जवकी प्रतिवादीले २०४० साल सम्मको तिरो एकैपटक तिरी नामसारी गरेको छ । म अपुतालीको नजिकको हकदार हुँदा जग्गा पजनीको २ नं. बमोजिम पनि दा. खा. गरे हुने हुँदा मलाई अपुतालीको २० नं. आकर्षित हुँदैन, अतः मेरो भोगको जग्गा प्रतिवादीले दर्ता गरी खिचोला गरेको दावी ठीक हुँदा म.क्षे.अ.को इन्साफ सदर हुनुपर्छ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।

            ११.    यस्मा म.क्षे.अ. बाट भएको फैसला मिले नमिलेको के रहेछ हेरी निर्णय दिनुपर्ने हुन आयो ।

            १२.   यस्मा छटुराय २०२८ सालमा र छटुको श्रीमती जुगीया २०३४ सालमा मरेकोमा विवाद देखिन्न ।

            १३.   जुगीयाको छोरी मअवा प्र. रामअयोध्या ४।५ वर्ष उमेर हुँदैमा अं.४० वर्ष अघि मरेको भन्ने वादीले आफ्नो फेरादमा लेखेकोमा सो कुरा होइन जुगीयाकी छोरी मआव आमा जुगीया मरेपछि मरेकी हो भनी प्रतिवादीले प्रतिवाद गर्नसकेको पाइन्न ।

            १४.   मअवा २०३४।१२।१४ मा मरेको भनी २०४३।१२।११ मा प्रतिवादीले मृत्यु दर्ता प्रमाणपत्र लिएको देखिन्छ । उक्त मृत्यु दर्ता प्रमाणपत्र मौकामा लिएको पाइन्न ।

            १५.   प्रतिवादी रामअयोध्या रायले नामसारी तर्फ माल कार्यालय रौतहटमा दिएको दरखास्त तर्फ दृष्टिपात गर्दा निजले छटु मरेपछि छटुरायको हक जुगीयामा र जुगीया मरेपछि सो हक आफ्नो आमा मअवामा सरी मअवाको हक मैले पाएको भन्न नसकी छटुबाट सो हक म मा आउने भन्ने लेखेको देखिँदा जुगीया पछि मअवा मरेको भन्ने स्वयं प्रतिवादीले नामसारी गर्दा माल कार्यालय रौतहटमा भन्न सकेको पाइन्न ।

            १६.    जसले जुन कुराको जिकिर लिन्छ सो जिकिर प्रमाणित गर्ने भार उसैको हुन्छ । २०३४।१२।१४ मा मअवा मरेको हो भनी जिकिर लिने वादीले आफ्नो उक्त जिकिरलाई निजले नै प्रमाणित गर्नुपर्छ, तर मअवा २०३४।१२।१४ मा मरेकी भन्ने प्रमाण नौ वर्षपछि लिएको २०४३।१२।११ को मृत्यु दर्ता प्रमाणपत्र बाहेक अरु कुनै प्रमाण देखिन्न ।

            १७.   अन्य प्रमाणको अभावमा नौ वर्ष पछि लिएको मृत्यु दर्ता प्रमाणको आधारमा मअवा २०३४।१२।१४ मा मरेकी भनी निष्कर्षमा पुग्न मिलेन ।

            १८.   अपुतालीको २ नं. बमोजिम जुगीयाबाट छोरी मअवामा आएको हक मैले पाउनु पर्छ भन्ने प्रतिवादी पक्षको मुख्य जिकिर भएकोमा जुगीया मरेपछि छोरी मअवा मरेको भन्ने नदेखिई जुगीया मर्नुभन्दा अगावै छोरी मअवा मरेकी देखिँदा जुगीया पछि जुगीयाको हक मरेको छोरी मअवामा आउने स्थिति रहेन ।

            १९.    अपुतालीको २० नं. को हदम्याद नाघी वादीको फेराद परेकोले वादी दावी खारेज हुनुपर्छ भन्ने प्रतिवादी पुनरावेदक तर्फका विद्वान अधिवक्ताको बहस भएकोमा वादीको दावी अपुताली पाउँ भन्ने नभई वादीहरुले फेराद गर्दा जुगीया मर्दा निजको छोरी मअवा जीवित नरहेको कुरा दर्शाउँदै त्यस्तो हक हामीले भोगी चर्ची आएकोमा प्र.रामअयोध्या रायले छटु रायको जग्गा आफ्नो नाउँमा नामसारी दर्ता गराए भन्दै नामसारी दर्ता बदर गराउन जग्गा मिच्नेको १८ नं. र जग्गा पजनीको १७ नं. अन्तर्गत आएको देखिन्छ । जुन ऐन अन्तर्गत वादीको दावी नै छैन सो ऐनको हदम्यादतर्फ हेर्नुपर्ने अवस्था रहँदैन । वादीको दावी जग्गा पजनीको १७ र जग्गा मिच्नेको १८ नं. को हुँदा सो हदम्याद लाग्ने हो वा होइन सो हेर्नुपर्ने हो, सो हदम्याद नाघेको छ भन्ने प्रतिवादी पक्षको भनाई छैन । जुगीया मरेपछि निजको छोरी मअवा जीवित रहेको नदेखिँदा जुगीया पछि वादीहरु नै नजिकको हकदार देखिएको र अपुतालीको ८ नं. ले हकवाला नभए मात्र छोरीको छोराले हक खान पाउने देखिँदा अपुतालीको २ नं. र ८ नं. लाई औल्याउँदै प्रतिवादीले दाखिल खारेज गरेको जग्गा ३ खण्डको २ खण्ड बदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिँदा परिवर्तन गरिरहनु परेन । इन्साफ म.क्षे.अ. को मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. प्रचण्डराज अनिल

 

इति सम्वत् २०४६ साल श्रावण ३० गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु