निर्णय नं. ३८६१ - लकडीको परिमाण ढाँटी निकासी गर्न लाग्यो

निर्णय नं. ३८६१ ने.का.प. २०४६ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४५ सालको फौ.पु.नं. ४३०
फैसला भएको मिति : २०४६।२।२४।३ मा
पुनरावेदक/प्रतिवादी : वि.न.पं.वा.नं. १९ बस्ने सीताराम अग्रवाल
विरुद्ध
विपक्षी/वादी : श्री ५ को सरकार, भन्सार कार्यालय विराटनगर
मुद्दा : लकडीको परिमाण ढाँटी निकासी गर्न लाग्यो
§ प्रज्ञापनपत्र भरेर भन्सार निर्धारणको लागि पेश भएको देखिँदा भन्सार नतिर्ने मनसायले हटाएको भनी मान्न नमिल्ने ।
(प्रकरण नं. १६)
पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया
विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.
फैसला
न्या. पृथ्वीबहादुर सिंह: पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।
२. प्र.द.न. ३२४५ मा मिति २०४२।३।२१ मा घोषणा गरेभन्दा ३०८–३–९ क्यू.फि. बढी परिमाण निस्केको भन्ने २०४२।३।२१ को मुचुल्का साथै तीन ट्रकमा रहेको लकडी मध्येको घोषित ११० नं. ट्रकमा लोड रहेको चिरान लकडीको घोषित परिमाणलाई परीक्षण गर्दा ठीक दुरुस्त देखिएकोले सो को छुट्टै प्रज्ञापनपत्र भराई लाग्ने महसूल लिई जाँचपास गर्ने प्रज्ञापनको अ.ख. २१२ र १०९ को ट्रकहरुको हकमा उक्त मौका मुचुल्कालाई प्रतिवेदन सरह मानी लकडीको साइज र परिमाण ढाँटी चोरी निकासी गर्न लागेकोमा मुद्दा दायर गर्ने भन्ने समेतको २०४२।३।३० को आदेश ।
३. यस्मा कार्यालयबाट नाप जाँच हुँदा लकडी बढी निस्केको मिलमा काम गर्ने मुख्य कर्मचारी बाहिर गई काममा अनुभव नभएको कर्मचारीबाट लोड गराउँदा नाप जाँचमा गल्ती भई फरक हुन गएको हो भन्ने समेत सीताराम अग्रवालको बयान रहेछ ।
४. लोड गर्दा २५० थान लिंदा नापमा घटी बढी के छ मलाई थाहा छैन भन्ने को.अ.ख. २०९ को ट्रक चालक रामबहादुर श्रेष्ठको बयान ।
५. को.अ.ख. ११२ को ट्रकमा २१४ थान लकडी लोड गरी थन्काई भरियामा ल्याई रोकी राखेको लकडी के कति छ थाहा छैन, लकडी सीताराम अग्रवालले लोड गर्न पठाएको हो भन्ने समेत चालक दिलिप श्रेष्ठको बयान ।
६. लकडी लोड भएको दिन काम गर्ने सब कर्मचारी विदा लिई घर गएकोले सो काममा कम अनुभव भएका मुन्सीद्वारा लोड भएको हुँदा फरक पर्न गएको हो । सीताराम मेरो तर्फबाट हुने निकासी पैठारीको कार्यमा काम गर्ने मेरो मुख्य कर्मचारी हुन् भन्ने समेत ट्रक धनी रामेश्वर दयाल गोयलको बयान ।
७. भन्सार छली महसूल नबुझाउने मनसायले कागज पत्रसाथ थान गन्ती मिलाई बढी क्यु. फिटको बेसाइज लकडी लोड गराई निकासी गर्न लागेको ठहर भएकोले बिगो बमोजिम रु. ३२,४६४।– बापत रु. ५४०। समेत धरौट राखेको हुँदा शुरु रकम सदर स्याहा गर्ने भन्ने समेत मिति २०४२।११।१।४ को भन्सार कार्यालय विराटनगरको फैसला ।
८. जम्मै लकडी जफत गर्दै सो सबैको मोल बिगो अनुसार जरिवाना गर्नुभएको फैसला कानुनी त्रुटिपूर्ण भएकोले इन्साफ उल्टाई पाउँ भन्ने समेतको पुनरावेदकको पुनरावेदनपत्र ।
९. छलफलका निमित्त अ.बं. २०२ नं. बमोजिम विपक्षीलाई झिकाई पेश गर्नु भन्ने आदेश ।
१०. भन्सार ऐन, ०१९ को दफा २ को (ठ) ले गरेको भन्सार चोरी निकासी परिभाषा भित्रै प्रस्तुत मुद्दामा प्रतिवादीले गरेको काम कारवाही पर्ने हुँदा सोही ऐनको दफा ३४(२) बमोजिम सजाँय गर्ने गरेको मनासिबै हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन । शुरु भन्सार कार्यालयको निर्णय मनासिब ठहर्छ भन्ने राजस्व न्यायाधीकरण धरानको ०४३।१२।१०।६ को फैसला ।
११. शुरु फैसलालाई मनासिब ठहराई राजस्व न्यायाधीकरण धरानबाट पनि मलाई हराई भएको फैसलामा चित्त नबुझी पुनरावेदन गर्न आएको हुँ । सो फैसलालाई बदर गरी पाउँ भन्ने सीताराम अग्रवालको २०४४।४।१२।३ को पुनरावेदन गर्न पाउँ भन्ने अनुमतिको निवेदन र कानुनको व्याख्या सम्बन्धी राजस्व न्यायाधीकरणको फैसलामा त्रुटि देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने ०४४।८।४ को आदेश ।
१२. राजस्व न्यायाधीकरण धरानको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेतको पू.क्षे.अ. को फैसला ।
१३. पू.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने प्र. सीताराम अग्रवालको यस अदालतमा निवेदन परी संयुक्त इजलास समक्ष पेश हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने आदेश भई पुनरावेदनको लगतमा दर्ता भएको रहेछ ।
१४. नियम बमोजिम दैनिक पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडियाले र विपक्षी तर्फबाट विद्वान सह–न्यायाधिवक्ता श्री वलराम के.सी.ले गर्नुभएको बहस समेत सुनियो ।
१५. अब प्रस्तुत मुद्दामा पू.क्षे.अ. को फैसला मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनु परेको छ ।
१६. निर्णयतर्फ विचार गर्दा यस्मा पुनरावेदक प्रतिवादीले प्र.द.नं. ३२४५ मिति ०४२।३।२१ मा घोषणा गरी चिरानी लकडी निकासी गर्न लागेकोमा विवाद देखिएन । त्यसरी प्रज्ञापनपत्र भरी घोषणा गरेको भन्दा बढी लकडी ट्रकमा छ भन्ने मौखिक प्रतिवेदन परी प्रतिवेदकहरु र प्र. सीताराम अग्रवाल समेतको रोहवरमा लकडीको नापजाँच भएको रहेछ । लकडी नापजाँच गर्दा घोषणा गरेको भन्दा ३०८–३–९ क्यु. फिट बढी परिमाण निस्केको भन्ने कुरा मिति २०४२।३।२१ को मुचुल्काबाट देखिएको छ । त्यति लकडी बढी निस्केकोमा प्र. सिताराम सावित रहेका छन । अनुभव नभएका कर्मचारीबाट नापी गराई ल्याएकोले फरक पर्न गएको भन्ने निजको बयान देखिन्छ । जो जसरी ल्याएको भए पनि लकडीको परिमाण बढी देखियो । प्रज्ञापनपत्रमा उल्लेख गरे भन्दा बढी लकडी देखिएको भए पनि सो लकडी भन्सार कार्यालयकै बाटो ल्याएको देखिन्छ । प्रज्ञापनपत्र भरेर भन्सार निर्धारणको लागि पेश भएको देखिँदा भन्सार नतिर्ने मनसायले हटाएको भनी मान्न मिल्ने स्थिति छैन । भन्सार ऐन, २०१९ को दफा ३४(२) मा मालवस्तु भन्सार अड्डामा आई पुगेपछि वा आई पुग्नुभन्दा अगावै माल वा बस्तु धनीले भन्सार महसूल नतिर्ने मनसायले सो मालवस्तु हटाएको वा हटाउन प्रयत्न गरेमा भन्सार अधिकृतले सो माल वा बस्तु जफत गरी सोही माल वा बस्तुको बिगो बमोजिम जरिवाना गर्न सक्ने छ भन्ने उल्लेख गरिएको छ । भन्सार अधिकृत, राजश्व न्यायाधीकरण धरान र पू.क्षे.अ. समेतले प्रतिवादीलाई उक्त दफा बमोजिमको कसूर कायम गरी सजाय गरेको देखिन्छ । प्रतिवादीले सो दफा ३४(३) बमोजिम भन्सार नतिर्ने मनसाय राखी लकडी हटाएको भन्न सकिने स्थिति छैन । लकडी ट्रकमा लोड गरी भन्सार कार्यालयमा दाखेल गरेको देखिएको हुँदा सो आकर्षित हुनसक्ने देखिएन ।
१७. भन्सार ऐन, २०१९ को दफा ३४(३) मा “प्रज्ञापनपत्र भर्दा माल वा बस्तु धनीले माल बस्तुको विवरण वा मोल फरक पारी लेखी दिएमा जे जति फरक पारी लेखी दिएको ठहर्छ त्यति माल बस्तुमा लाग्ने भन्सार महसूलको दोब्वर महसूल समेत लाग्ने छ र त्यस्तो व्यक्तिलाई ने.रु. ५००।– सम्म जरिवाना वा १ वर्षसम्म कैद वा दुवै भन्सार अधिकृतले गर्न सक्नेछ” भन्ने व्यवस्था भएको पाइन्छ । प्रतिवादीले आफ्नो लकडीको परिमाण ढाँटी प्रज्ञापनपत्र भरेको देखिँदा सोही दफा ३४(३) आकर्षित हुने देखियो । अतः पुनरावेदकलाई भन्सार ऐन, २०१९ को दफा ३४(३) बमोजिम सजाय हुने देखिएकोले फरक परेको लकडी ३०८–३–९ क्यु. फिटमा लाग्ने भन्सारको दोब्वर भन्सार लगाई रु.५००।– समेत जरिवाना हुने ठहर्छ । सो बमोजिम नगरी भन्सार ऐनको दफा ३४(२) बमोजिम सजाय गर्ने गरेको पू.क्षे.अ. को इन्साफ गल्ती हुँदा त्यति हदसम्म उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम फरक परे जतिको दोब्बर भन्सार र रु. ५००।– जरिवाना पुनरावेदक प्रतिवादीलाई हुने ठहरेकोले प्रतिवादीले विराटनगर भन्सार कार्यालय विराटनगरमा धरौटी राखेको रु.३३,००४।– राजश्व न्यायाधीकरण धरानको फैसला बमोजिम लागेको थप जरिवाना रु. ३,२४६।४८ पु.क्षे.अ. को फैसलाले गर्ने गरेको थप जरिवाना रु. १६२।३२ समेत जम्मा रु. ३६,४१२।८० समेत निजले बुझाइसकेको देखिँदा सो रकममा हाल लागेको जरिवाना रु. ५००।– कटाई दोब्बर भन्सार महसूल असूल गरी नपुग भए कानुन बमोजिम लिनु र बढी भए कानुनका म्याद भित्र फिर्ता पाउँ भनी दरखास्त दिएका बखत कानुन बमोजिम फिर्ता दिनु भनी बिराटनगर भन्सार कार्यालयमा लेखी पठाउन का.जि. अ.त लाई लेखी पठाई दिनु ...१ मिसिल नियम बमोजिम गरी बुझाई दिनु .२
उक्त रायमा म सहमत छु ।
न्या. हिरण्येश्वरमान प्रधान
इति सम्वत् २०४६ साल जेष्ठ २४ गते रोज ३ शुभम् ।