निर्णय नं. ३८६३ - कर्तव्य ज्यान

निर्णय नं. ३८६३ ने.का.प. २०४६ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४३ सालको फौ.सा.नं. ९२
फैसला भएको मिति : २०४६।१।३०।६ मा
वादी : गणेशप्रसाद वर्तौला समेतको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादी : जीतबहादुर गोवा
मुद्दा : कर्तव्य ज्यान
§ अदालतमा आई आफूले प्रहरीमा गरेको बयानलाई इन्कार गरे पनि प्रहरीमा सो बयान दवाव, धम्की वा प्रलोभनमा परेर गरेको भन्न नसकेबाट सो बयानलाई अन्यथा मान्न नसकिने ।
(प्रकरण नं. २६)
फैसला
न्या. गजेन्द्रकेशरी बास्तोला : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट साधक सदरका लागि आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ :–
२. हाम्रो नामाटार गा.पं. वार्ड नं. ३ वासुकी तारुवासको कुलाको मुहान डेढ खोलामा जमेको बाँध पानी भित्र ठिङ्ग उभिएको कपाल र मुखको चिन्हद्वारा लोग्ने मानिसको अनुहार भएको बेवारिस जस्तो मानिस पानी भित्र देखिएकोले ऐन बमोजिम जाँचबुझ गर्न अनुरोध गर्दर्छौ भन्ने समेत व्यहोराको प्र.पं. गणेशप्रसाद वर्तौला समेतको जाहेरी ।
३. वारदात स्थलमा अं. ४” ठाउँको पानी देखि माथि रही डुबिरहेको, अर्धमुठी पारेको देखिएको मुख बन्द भई मुखबाट केही रगत निस्केको, पेट तनक्क भई पानी नरहेको लिङ्ग, गुद्वारबाट केहि चिन्ह नरहे, ननिस्केको निलडाम समेत नदेखिएको भन्ने समेत व्यहोराको ०३९।२।१६।१ को लाश प्रकृति विवरण मुचुल्का ।
४. मेरो भाइ नाताका टेकबहादुर गोले तामाङकी श्रीमती हराएकी र भाइ टेकबहादुर आफ्नो श्रीमती खोज्न गएकोमा खोलामा एकजना मानिस डुबी मरेको भन्ने थाहा पाई लाश हेर्न अनुरोध गर्दा सो टेकबहादुरको लाश भनी चिनेको र बुहारीले पसल गरी बसेका घरवाला जीतबहादुर गोङवा पनि हराएका र मर्ने भाइको श्रीमती निज जितबहादुरले लगेको हो वा कहाँ गए निज भाइ टेकबहादुर निजहरुकै कर्तव्यबाट मरे वा भवितव्य परी मरे अनुसन्धान गरिपाउँ भन्ने कुलबहादुर गोले तामाङको २०३९।२।१७ को दरखास्त ।
५. पहिले टेकबहादुरलाई कस्ले मार्यो थाहा थिएन, पछि बखु जितबहादुरले रक्सीमा विष हाली खान दिई निजलाई मारे भन्ने कुरा मानबहादुर स्याङ्ताङले भनेकोले थाहा पाएको हुँ भन्ने समेत व्यहोराको जितबहादुरको छोरा राजकुमार गोङवाको कागज ।
टेकबहादुरको श्रीमतीलाई जितबहादुरले लगेकोले टेकबहादुरलाई मार्ने सल्लाह गरी रक्सी खान लागेका बखत रक्सीमा विष हाली खान दिई मारी गणेश गोवा, गोरे तामाङ, माइला भमजन, च्याङमा भमजन समेतलाई लाश फाली आउ भनी जितबहादुरले अह्राएकोले निजहरुले उक्त लाश बोरामा हाली काठमा बाँधी चारैजनाले पालो पालो गरी बोकी लगी लाश खोलमा फाली आएको हो भन्ने समेत व्यहोराको मानबहादुर स्याङताङ तामाङको बयान कागज ।
६. म समेत भई टेक बहादुरलाई विष खुवाई मारी लाश लगी फालेको होइन भन्ने समेत व्यहोराको गणेशबहादुर गोङवाको बयान कागज ।
७. कुल्लीमा काम गर्न जाँदा मानबहादुरसंग भनाभन भै झगडा भइरहने हुँदा सोही रिसइविबाट म समेत भई टेकबहादुरको ज्यान मारेको भनी म समेतलाई दोष लगाएको हुनुपर्छ । जितबहादुरको मत सल्लाहमा पसी टेकबहादुरको ज्यान मारी म समेत भई बोकी लगी फालेको समेत होइन भन्ने समेत व्यहोराको माइला भम्जनको बयान कागज ।
८. वारदात भएको भन्ने ०३९।२।१४ का दिन म सडक विभागको चौकीदारी डिउटीमा छु भन्ने समेतले टेकबहादुरको ज्यान मारेको होइन भन्ने समेत व्यहोराको च्याङवा भन्ने लालबहादुर तामाङको बयान कागज ।
९. वारदातको रात म आफ्नो डिउटीमा छु मैले ज्यान मारेको र बोकी लगी फालेको समेत होइन भन्ने समेत व्यहोराको सेते मुक्तान तामाङको बयान कागज ।
१०. टेकबहादुरको श्रीमती धनमायाले मसंग स्वास्नी भई बस्न मञ्जूर गरेकीले ल्याई जारी खर्च बुझाउन जाँदा बाटोमा प्रहरीले पक्राउ गरी ल्याएको हो । टेकबहादुरलाई विष खान दिई मैले मारेको र लाश फाल्न लगाएको होइन भन्ने समेत व्यहोराको जितबहादुर गोवा तामाङको बयान ।
११. म लामीडाँडामा पसल गरी बसेकोमा मेरो लोग्नेले जितबहादुरसंग स्वास्नी बसेको आरोप लगाएकोले म पनि पोइल जाने मनसाय भई निजको स्वास्नी भई बसेकोमा जारी खर्च तिर्न आउँदा प्रहरीले पक्राउ गरेको हो म समेतले टेकबहादुरलाई विष खान दिई कर्तव्य गरी मारे मराएको होइन भन्ने समेत व्यहोराको धनमाया तामाङनीको बयान कागज ।
१२. मर्नेकी श्रीमती धनमाया जितबहादुरले स्वास्नी राखेको हुँदा जितबहादुरले षडयन्त्र गरी च्याङवा भन्ने लालबहादुर, गणेशबहादुर, गोरे तामाङ, माहिला तामाङ, मानबहादुर, जितबहादुर, धनमाया समेतको मिलेमतोबाट टेकबहादुरको ज्यान कर्तव्य गरी मारेको शंका लाग्छ भन्ने समेत व्यहोराको सर्जमिन मुचुल्का ।
१३. जीतबहादुर गोंवा तामाङ, धनमायाँ तामाङनी, मानबहादुर तामाङ, गणेशबहादुर गोङवा तामाङ, गोरे मुक्तान तामाङ, च्याङवा भन्ने लालबहादुर तामाङ, माहिला तामाङ समेत ७ जनाको मिलेमतोबाट टेकबहादुर गोले तामाङलाई विष गैर खुवाई ज्यान मारेको सिद्ध हुन आएको हुँदा सातैजना उपर ज्यानसम्बन्धीको १३ (२) बमोजिम सजाय होस भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
१४. २०३९।२।९ देखि ऐ. १८ गते तक म सडक विभागको क्याम्पमा छु, मर्ने टेकबहादुरलाई चिनेको छैन । मानबहादुर समेतले निजलाई बोरामा हाली फालेको होइन मलाई किन पोल गरे थाहा छैन भन्ने समेत व्यहोराको लालबहादुर तामाङको बयान ।
१५. ०३९।२।९ गते देखि ऐ. १८ गते तक म आफ्नै गाउँमा छु । जीतबहादुर र धनमायाको बीच प्रेम छ, छैन थाहा छैन, मानबहादुरले किन पोल गरे थाहा छैन भन्ने समेत व्यहोराको गणेशबहादुर तामाङको बयान ।
१६. सुवेदार भन्ने जितबहादुरले रक्सीमा विष हाली खान दिएको भन भनी मलाई कुमाहीहरुले भने र प्रहरीमा बुझाई दिएका हुन् । मर्ने टेकबहादुरको लाश बोरामा हाली मैले खोलामा फालेको होइन भन्नेसमेत व्यहोराको मानबहादुर तामाङको बयान ।
१७. २०३९।२।९ गते मर्नेकी श्रीमती धनमाया तामाङनीलाई स्वास्नी राख्न साथ लिई बहिनीको घर गएको छु, वारदात कुन दिन र कसरी भयो थाहा छैन, टेकबहादुरलाई रक्सीमा विष हाली खान दिएको होइन । गणेशबहादुर, लालबहादुर, माइला भोमजन, गोरे मुक्तान समेतलाई मृतकलाई बोरमा हाली फाल्न लगाएको होइन । निजहरुले फालेकोमा शंका समेत छैन भन्ने समेत व्यहोराको जितबहादुर तामाङको बयान ।
१८. मर्ने लोग्ने टेकबहादुरलाई विष हाली रक्सी खान दिएको खुवाएको छैन । मानबहादुरले विष हाली खान दिएको भनी किन भने थाहा छैन मेरो लोग्ने मर्ने टेकबहादुरलाई कसले मारे थाहा छैन भन्ने समेत व्यहोराको धनमाया तामाङनीको बयान ।
१९. २०३९।२।९ देखि ऐ. १८ गते तक म ड्युटीमा छु, टेकबहादुर मरेको कुरा जेठ १४ गतेमात्र थाहा पाएँ । रक्सीमा विष हाली खान दिई मर्ने टेकबहादुरलाई बोरामा हाली म र अरु प्रतिवादी समेत भई फालेको समेत होइन भन्ने समेत व्यहोराको गोरे तामाङको बयान ।
२०. मर्ने र जीतबहादुरको स्वास्नीको विषयमा पुर्वाग्रह रहेको, सर्जमिनका अधिकांश व्यक्तिले स्वास्नी लगेको कारणबाट मारेको भनी किटान गरी लेखिदिएको, आफू वारदातमा नभए विष खुवाई ज्यान मारेको नभए तथ्यसाथ प्रमाण पेश गर्नु पर्नेमा सो गर्न नसकेको हुँदा जीतबहादुरलाई ज्यानसम्बन्धीको १३ (२) बमोजिम जन्मकैदको सजाय हुने ठहर्छ । अन्य प्रतिवादीहरुका हकमा मानबहादुर प्रहरीमा सावित र अदालतमा इन्कारी र अन्य प्रतिवादीहरु प्रहरी तथा अदालतमा समेत इन्कारी भएबाट अपराधी होइनन् की भन्नलाई जितबहादुर एक्लैले टेकबहादुरलाई मार्ने सम्भव नभएको हुँदा निजहरुलाई ज्यानसम्बन्धीको १७(३) बमोजिम जनही ३ वर्षका दरले कैद हुने ठहर्छ भन्ने समेत व्यहोराको २०४०।१।२१।४ को शुरु मकवानपुर जिल्ला अदालतको फैसला ।
२१. जितबहादुर बाहेकका अरु प्रतिवादीहरुको हकमा पनि वादी दावी बमोजिम सजाय गरिपाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको पुनरावेदन ।
२२. शुरु जिल्ला अदालतको फैसला चित्त बुझेन सो फैसला उल्टाई सफाई पाउँ भन्ने समेत व्यहोराको जितबहादुर गोंवाको पर्न आएको पुनरावेदनपत्र ।
२३. यस्मा प्रतिवादी मानबहादुरले प्रहरीमा गरेको कागज स्वेच्छाले गरेको होइन भन्न सकिने स्थिति नरहेको र सो कागजमा निजले प्र. जितबहादुरले रक्सीमा विष हाली खुवाई मृतक मरे पछि म समेतलाई लाश फाल्न भनेको भन्ने बयान गरेको तथा मृतककै श्रीमतीलाई प्र. जितबहादुरले श्रीमती बनाएको हुँदा जितबहादुरलाई ज्यानसम्बन्धीको १३(२) अनुसार सजाय गरेको इन्साफ मनासिब हुँदा प्रतिवादी जितबहादुरको पुनरावेदन जिकिर पुग्न सक्दैन । अन्य प्रतिवादीका हकमा यिनीहरुले ज्यान मार्नु पर्ने कारण पनि नभएको एवं ज्यान मार्ने क्रियामा यिनीहरुको प्रत्यक्ष सहभागिता रहेको भन्ने पुष्टि नभएकोले ज्यानसम्बन्धीको १३(२) अन्तर्गत सजाय पाउनु पर्ने भन्ने वादी तर्फको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०४२।४।२० को फैसला ।
२४. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला अनुसार प्रतिवादी जितबहादुरका हकमा साधक जाहेर हुन आएको रहेछ ।
२५. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा प्र. जितबहादुर गोंवालाई जन्मकैद हुने ठहर्याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिले नमिले तर्फ निर्णय दिनु पर्ने हुन आयो ।
२६. यस्मा प्रतिवादी मध्येको मानबहादुरले प्रहरीमा गरेको बयानमा प्रतिवादी जगतबहादुरले मृतक टेकबहादुरलाई रक्सीमा विष मिसाई खान दिई मारेपछि सो लाश बोरामा राखी फाल्न आफू समेतलाई अह्राएको कुरा उल्लेख गरेको पाइन्छ । निजले अदालतमा आई आफूले प्रहरीमा गरेको बयानलाई इन्कार गरे पनि प्रहरीमा सो बयान दवाव, धम्की वा प्रलोभनमा पारेर गरेको भन्न नसकेबाट सो बयानलाई अन्यथा मान्न सकिएन । मृतककी स्वास्नीलाई यिनै प्रतिवादी जीतबहादुरले स्वास्नी बनाएको र सो स्वास्नीलाई आफ्नै बनाउन उन्को पहिलो लोग्नेलाई आफ्नो बाटोबाट हटाउन निजले रक्सीमा विष मिसाई मृतक टेकबहादुरलाई मारेको देखिँदा निज प्रतिवादी जीतबहादुरलाई ज्यानसम्बन्धीको १३(२) नं. बमोजिम जन्कैदको सजाय गर्ने ठहर गरेको साधक सदर हुने ठहर्दछ । यी प्रतिवादी जितबहादुरको आफ्ना कालगतीले मृत्यु भइसकेको भन्ने जिल्ला कार्यालय कारागार शाखा पर्साको मिति ०४५।५।१९ को पत्रबाट देखिएको र मुलुकी ऐन दण्ड सजायको महलको ३ नं. मा जरिवाना कैद वा विसौंद लागेको मानिस सो असूल नहुँदै मरे उ मरेपछि माफ हुने कानुनी व्यवस्था भएको हुँदा प्रतिवादीको हकमा जन्मकैदको सजायलाई निज मरेको व्यहोरा जनाई लगत कट्टा गर्नु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउन का.जि. अ.त.मा लगत दिई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हिरण्येश्वरमान प्रधान
इति सम्बत् २०४६ साल वैशाख ३० गते रोज ६ शुभम् ।