निर्णय नं. ३८६४ - लेनदेन

निर्णय नं. ३८६४ ने.का.प. २०४६ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४५ सालको दे.पु.नं. ७०७
फैसला भएको मिति : २०४६।३।८।५ मा
पुनरावेदक/प्रतिवादी : जि. सुनसरी, इटहरी गा.पं. वा.नं १ बस्ने प्रविण आचार्य
विरुद्ध
विपक्षी/वादी : नेपाल बैंक लिमिटेड सिटी अफिस विराटनगर तर्फबाट ऐ. का. शाखा प्रबन्धक जगन्नाथ उप्रेती
मुद्दा : लेनदेन
§ प्रतिवादीले आफ्नो हिस्सेदार अन्य व्यक्तिलाई गराउँदैमा वादीले आफ्नो जमानी बापतको रकमलाई पनि हिस्सा लगाई अन्य हिस्सेदारबाट असूल गर्न जानु पर्दछ भन्ने कुरा मिल्ने देखिन नआउने ।
(प्रकरण नं. १४)
§ भरिभराउ हुने मितिसम्मको ब्याजको दावी गरेको वादीको अधिकार भित्रको होइन भन्न नमिल्ने ।
(प्रकरण नं. १४)
पुनरावेदक, प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री वेदप्रसाद सिवाकोटी
फैसला
न्या. गजेन्द्रकेशरी बास्तोला : श्री पूर्वाञ्चल क्षेत्रीय अदालत धनकुटाको फैसला उपर प्रतिवादी पक्षको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ।
२. लक्ष्मी ढुङ्गा उद्योग प्रा.लि.को तर्फबाट विपक्षी प्रविण आचार्यले उद्योगको तर्फबाट भविष्यमा बैंक ग्यारेण्टी बनाउने विषयमा सहीछाप आदि र भैपरी आउने कार्य गर्नलाई इनरुवा गा.पं. १ बस्ने निलम निर्माण सेवाका प्रोप्राइटर श्री डम्बरलाल साहलाई ०३८।८।११ मा अधिकार पत्र दिएको थियो । तत्काल कुनै कामको लागि बैंक ग्यारेण्टी जारी गर्न माग गर्नु भएन । ०३८।१२।१५ गते लक्ष्मी ढुङ्गा उद्योग प्रा.लि. को हकमा प्रविण आचार्यले श्री ५ को सरकार सुनसरी मोरंग सिंचाई योजना विराटनगरको ठेक्का नं. ५६ मा टेण्डर हाल्न विड बण्ड वापत रु. १५०००।– जमानी पत्र निष्काशन गरी दिनको लागि यस बैंकमा निवेदन गर्दा रु. १५०००।– मात्रको प्रतिज्ञापन (प्रोमिसरी नोट) क्षति पूरक कबुल पत्रमा मन्जूरी साथ सहीछाप गरी दिए पछि यस बैंकले श्री लक्ष्मी ढुङ्गा उद्योग प्रा.लि. को तर्फबाट श्री ५ को सरकार सुनसरी मोरंग सिंचाई योजना विराटनगरको नाममा जमानी पत्र ०४४।१८२ टेण्डर दिन अर्नेष्ट बापत भनी रु. १५०००।– को जमानी यस बैंकले जारी गरेका थिए । जसमा बोलपत्र रीतपूर्वक स्वीकृति भएमा बोलपत्रदाताले काबु बाहिरको परिस्थितिको कारण बाहेक बोलपत्र बमोजिम करार गर्न मञ्जूर नगरेमा प्रमाणित गरी म्यादभित्र प्राप्त हुने गरी बैंक उपर लिखित रुपमा दावी गर्नु भएमा सो जमानी पत्रको रकम नबढने गरी बोलपत्रदाताले खास व्यहोर्नु पर्ने रकम बैंकले बुझाउने छ भन्ने शर्त यस बैंकले स्वीकार गरी ६ महीनाको लागि उक्त जमानीपत्र जारी गरेको थियो । ६ महीना भित्र उक्त योजनाको लिखत दावी यस बैंकमा पर्न आई शर्त अनुसार यस बैंकले उक्त योजनालाई रु. १५०००।– मिति ०३९।११।६ मा उक्त योजनाको खाता नं. ख. ३–०५० मा चेकद्वारा भुक्तानी दिएको सो भुक्तानी दिनु भन्दा पहिला उक्त रकम यस बैंकमा बुझाउन ल्याउनु होला भनी विपक्षीलाई ०३९।१०।१२ मा पत्र लेखी पठाउँदा बुझाउन नसकेको र बाध्य भई यस बैंकले जमानीपत्र शर्त अनुसार बुझाउन परेको, विपक्षीलाई पटक पटक पत्र लेख्दा ०४०।२।६ मा रु. ५०००।– यस बैंकमा जम्मा गरी बुझाएको र बाँकी रु.१०,०००।– नबुझाएकोले साँवा रु. १०,०००।– र १२ प्रतिशतका दरले हुने ब्याज समेत रु. १७,७८७।३६ समेत र अन्य खर्च समेत विपक्षीबाट यस बैंकलाई दिलाई भराई पाउँ भन्ने समेतको फिरादपत्र ।
३. ०३८ सालमा निलम निर्माण सेवा इनरुवाका नाममा शिवप्रसाद र रामप्रसादको संयुक्त नाममा रहेको घर जग्गा ने.बैं.लि.सिटी अफिस विराटनगरलाई ठेक्का पट्टा गर्न विडबण्ड तथा परफरमेन्स बण्ड जारी गर्ने बैंक ग्यारेण्टीको लागि दृष्टिबन्धक पास गराई दिएको र तत्कालिन जि. पं.सभापतिले निलम निर्माण सेवा र लक्ष्मी ढुङ्गा उद्योगमा पार्टनर भई काम गर्ने भनी निलम निर्माण सेवाका प्रो. डम्बरलाल साहु तेलीसंग छलफल गरी म प्रविण आचार्य समेत ३ जनाले बराबर नाफ घाटा खाने व्यहोर्ने भनी मञ्जूर भई हामीले आपसी लेखापढी गरेको र हाम्रो ढुङ्गा उद्योग प्रा.लि. इटहरीमा समेत हामी तिनैजना बसी काम गर्ने गराउने भई दुवै कम्पनी सिजर कन्सर्न भई निलम सेवा निर्माणको नाउँबाट काम शुरु गरेको र सुनसरी मोरंग सिंचाई योजनाका विभिन्न ठाउँमा टेण्डर हाल्दा चतरा स्थित भवन निर्माणलाई लगभग २०।२५ लाखको काम पर्न गएको हुँदा सोही काम गर्ने गराउँदै गरी सो काम गर्दा निलम निर्माण सेवाको सम्पूर्ण टेक्निकल रेखदेख आदि अधिकार म प्रविणलाई दिएको र लक्ष्मी ढुङ्गा उद्योग प्रा.लि.को लेखापढी गर्न, सहीछाप गर्न, चेक अपरेट गर्न समेत अधिकार डम्वरलाल साहुलाई दिएको हुँदा ०३८ साल देखि दुबै कम्पनी लगायत श्री विसारद निर्माण सेवालाई समेत गरी ३ कम्पनीका नाउँमा बराबर बैंक ग्यारेण्टी ने.बैं.लि. सिटीअफिस विराटनगरले जारी गरी आएको थियो । जस्को रेकर्ड बैंकमा छँदैछ र काम गर्दै जाँदा दृष्टिबन्धक पास भएको निलम निमार्ण सेवाका नाममा मात्र थियो र अरु कम्पनीलाई कसरी बैंक ग्यारेण्टी जारी गर्ने भनी बैंकसंग सल्लाह गर्दा उक्त बैंकका तत्कालिन अधिकारप्राप्त अधिकारीले प्रोप्राइटर र कम्पनी व्यक्ति सरह नै हुने हुँदा ५ वर्षको लागि शिवप्रसाद, रामप्रसाद साहले निलम निर्माण सेवालाई सबै अधिकार सहित आफ्नो सम्पत्ति बिजिनेस खेलो गर्न दिएकोले निलम निर्माण सेवाको प्रो.डम्बरलाल साहु तेलीले अधिकार पत्र वा मञ्जूरीनामा दिए पुग्छ भनी भने अनुसार नै डम्बरलाल साहू तेलीले उक्त धितो मध्येबाट श्री लक्ष्मी ढुङ्गा उद्योग प्रा.लि. बाट समेत बैंक ग्यारेण्टी जारी गर्ने व्यवस्था मिलाई पाउँ भनी दिएको निवेदनको आधारमा नै ०३८ साल देखि नै बैंक ग्यारेण्टी हुँदै आएको थियो । सरसल्लाह अनुसार लक्ष्मी ढुङ्गा उद्योगको नाउँबाट सुनकोशी मोरंग सिंचाई योजनाको लोहन्द्रा खोलो नदी नियन्त्रण काममा टेण्डर हालेको उक्त कामको बैंक ग्योरण्टी ४४।१८२ को रु. १५०००।– को बैंक ग्यारेण्टी विड बण्ड बेगर भर्जिनको बैंकले जारी गरेको थियो । उक्त योजनाले टेण्डर स्वीकृत गर्नमा धेरै समय लगाएको यसैबीच हामीसंग डम्बरलाल साहु तेलीले आपसी सम्बन्ध बिगारेको र निजले बैंकलाई निवेदन दिई उक्त दृष्टिबन्धक पासको धितोबाट अब उप्रान्त कसैलाई पनि बैंक ग्यारेण्टी जारी नगर्ने भनी रोक्का गराए उप्रान्त सो योजनाले टेण्डर स्वीकृत भयो भनी पत्र पठाएको थियो । काम गर्न आपसी खिचातानीले गर्दा कुनै पनि काम गर्न सकिएन । यसैबीच लक्ष्मी ढुङ्गा उद्योगलाई बोलाई सो रु. १५०००।– रकम तिनैजना मिलेर बुझाउनु पर्ने हुन्छ । तपाईको आफ्नो रिपुटेशन र कम्पनीको हितको लागि तपाई रु. ५०००।– जसरी भए पनि बुझाउनु होस रु. १०,०००।– हामी जे जसो गरेर भए पनि रामप्रसाद साह र डम्बरलालबाट असूल गर्ने छौं भनी भने अनुसार यस कम्पनीले उक्त रकम रु. ५०००।– ०४० साल जेष्ठ महीनामा बुझाएको हो र कम्पनी तपाईको पर्न गएको हुँदा तपाईलाई लेख्नु पर्ने पत्र लेखेको हो । निजहरुले नतिरेमा म तिर्नेछु भनेर तपाई एउटा निवेदन दिनुहोस लामो समय दिएर त्यसै भित्र हामी उनीहरुबाट असूल गर्ने छौ भनी निज बैंक अधिकारीसंग कुरा भएको आधारमा बैंकले मलाई झुक्याई निवेदन लिएको हो । त्यो निवेदन मैले आफ्नो खुसीबाट दिएको नहुँदा वादीलाई नै सजाय गरी पाउँ सो रकम मैले बुझाउनु पर्ने होइन भन्ने समेत लक्ष्मी ढुङ्गा उद्योग प्रा.लि. का सञ्चालक प्रविण आचार्यको प्रतिउत्तरपत्र ।
४. हामी रामप्रसाद, शिवप्रसादले लक्ष्मी ढुङ्गा उद्योग प्रा.लि लाई कुनै सुरक्षण दिएको थिएन । हामीले निलम सेवाको कारोवारको लागि मात्र हाम्रो नाउँमा रहेको जग्गा बैंकको नाउँमा दृष्टिबन्धक पास गरी सुरक्षण लेखी दिएका थियौं । निलम निर्माण सेवाले बैंकलाई नतिरी बाँकी राखेको रकम ने.बै.लि. सिटी अफिस विराटनगरमा बुझाई हामीले बैंकलाई दिएको दृष्टिबन्धक फुकुवा लिई मालपोतबाट पनि लगत कट्टा गराइसकेको, लक्ष्मी ढुङ्गा उद्योग प्रा.लि. संग हाम्रो कुनै सम्बन्ध छैन । हाम्रो सम्पत्ति निलम निर्माण सेवाका प्रो. डम्बरलालले जमानत दिन पाउने हैन भन्ने समेत अ.बं. १३९ नं. बमोजिम बुझिएका रामप्रसाद र शिवप्रसाद शाहको बयान ।
५. लक्ष्मी ढुङ्गा उद्योगसंग मेरो सम्बन्ध थिएन । मेरो निलम निर्माण सेवाको बैंक ग्यारेण्टी रामप्रसाद, शिवप्रसादले आफ्नो नाउँको घर जग्गा पारित गरी दिएको थियो । तपाईलाई हामीले लेखी दिएको बैंक ग्यारेण्टी तपाईसंग छँदैछ । सो ग्यारेण्टी लक्ष्मी ढुङ्गा उद्योग प्रा.लि. लाई सोही पारित देखाई ग्यारेण्टी दिनुहोस भनी रामप्रसाद, शिवप्रसादले भनेकोले मैले लक्ष्मी ढुङ्गा उद्योगको जमानी बसेको हुँ, निर्माण सेवाको काम छोडी सकेकोले पछि के भो थाहा छैन भन्ने समेत अ.बं. १३९ नं. बमोजिम बुझिएका डम्बरलालको बयान ।
६. सबूद प्रमाणबाट फिराद दावी बमोजिमको रु. १७,७८७।३६ बिगो प्र. प्रविण आचार्यबाट वादीले भरी पाउने फिराद दायर भएको मितिदेखि यताको ब्याजको हकमा वाणिज्य बैंक ऐन, ०३१ मा भराउने व्यवस्था उल्लेख नभएको हुँदा त्यसतर्फ दावी नपुग्ने ठहर्छ भन्ने समेत ०४४।७।२९।१ को कोशी अञ्चल अदालतको फैसला ।
७. खारेज हुने फिराद दावीबाट मैले बिगो तिर्नु पर्ने ठहर गरी गरेको कोशी अञ्चल अदालतको इन्साफमा चित्त बुझेन । वादी दावी खारेज गरी झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिवादी प्रविण आचार्यको पुनरावेदनपत्र ।
८. मुद्दा दायर भएको मितिदेखि भरी भराउ मिति तकको ब्याज भरी पाउनु पर्नेमा कानुन विपरीत फेराद दर्ता मिति पछिको ब्याज भरी पाउन नसक्ने गरी फैसला गरेको कोशी अञ्चल अदालतको इन्साफमा चित्त बुझेन । कानुन बमोजिम फिराद दायर मिति देखि भरी भराउ मिति तकको ब्याज समेत भरी पाउने इन्साफ पाउँ भन्ने समेत वादीको पुनरावेदनपत्र ।
९. यस्मा वादी नेपाल बैंक लिमिटेडसंग प्रतिवादी लक्ष्मी ढुङ्गा उद्योगले उक्त उद्योगको लागि बैंक ग्यारेन्टी माग गरेको र बैंकले उक्त ग्यारेन्टी प्रदान गरेकोमा विवाद छैन । वादी प्रतिवादी बीच भएको जमानी कार्यमा साझेदारीको कुनै उल्लेख छैन । प्रतिवादीले कुनै काम गर्दा अन्य व्यक्तिलाई पनि हिस्सेदार बनाउने गरी सम्झौता गर्दछ भन्दैमा सरोकार नै नभएको व्यक्तिलाई समात्न वादी जानु पर्ने कुनै प्रयोजन छैन । तसर्थ वादी दावी बमोजिम प्रतिवादीबाट वादीले साँवा भराई पाउने कोशी अञ्चल अदालतको इन्साफ मनासिब छ । ब्याजको हकमा नालेश परेको मितिसम्मको मात्र ब्याज भराई दिने भन्ने कोशी अञ्चल अदालतको फैसला बैंक पनि कानुनी व्यक्ति भएको र उसले प्रचलित कानुन बमोजिम व्यक्ति सरह उजूर गरी साँवा ब्याज भरी पाउने अधिकार राख्दैन भन्न नमिल्ने हुँदा उल्टी हुने ठहर्दछ । वादीले भरिभराउ हुने मितिसम्मको ब्याज भरिलिन पाउँदछ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०४५।३।१।४ को फैसला ।
१०. निलम सेवालाई रामप्रसाद साहले गरी दिएको कोल्याट्ललाई लक्ष्मी ढुङ्गा उद्योग समेतलाई उक्त कोल्याट्ल बाटै बैंकबाट विड बण्ड इत्यादि जरुरत परे दिलाउने भनी ०३८।१२।१४ को रामप्रसाद साह समेतले गरेको सर्तनामा बमोजिम बैंकले पुनरावेदक उद्योगको नाउँमा बैंक ग्यारेन्टी जारी गरेको हो । बैंकसंगको व्यवस्थामा सिधै अदालतमा नालेस लाग्ने व्यवस्था छैन । बैंकसंग धितो राखी लिएको कर्जा नतिरे राखिएको सुरक्षण लिलाम गरी असूल उपर गर्ने व्यवस्था वाणिज्य बैंक ऐन, २०३१ को दफा ४७(क) मा गरेकोमा धितो छाडी दायित्व नै व्यहोर्नु नपर्ने लक्ष्मी ढुङ्गा माथि सिधै बैंकले नालेस गरेकोमा दावी बमोजिम हुने ठहर्याई गरेको फैसलामा उक्त दफा ४७(क) प्रत्यक्षतः त्रुटि भएको छ र हदम्याद भित्र नपरेको फिराद खारेज नगरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला त्रुटिपूर्ण भएकोले उक्त त्रुटिपूर्ण निर्णय बदर गराई पाउँ भन्ने समेत प्रतिवादी पक्षको पर्न आएको पुनरावेदनपत्र ।
११. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री वेदप्रसाद सिवाकोटीले वादी पक्षले आफू ग्यारेन्टी बस्दा राखेको धितोलाई लिलाम गरी ग्यारेन्टी रकम असूल गर्नुपर्नेमा सो नगरी धितोलाई फुकुवा गरेर यो प्रतिवादीलाई ग्यारेन्टी बापत पक्रन आउन मिल्ने होइन तसर्थ क्षेत्रीय अदालतको फैसला त्रुटिपूर्ण छ भनी गर्नुभएको बहस समेत सुनियो ।
१२. प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला मिले नमिलेको के रहेछ भन्ने नै निर्णय दिनु पर्ने हुन आयो ।
१३. यस्मा प्रतिवादीका तर्फबाट बैंकले दिएको जमानी बापतको रकम मध्ये रु. १०,०००।– प्रतिवादीले बुझाउन नल्याएकोले सो रकम र सोको भरिभराउ हुने दिन सम्मको २२ प्रतिशतले हुने ब्याज र अन्य खर्च समेत भराई पाउँ भन्ने समेत वादी दावी एवं मैले बुझाउनु पर्ने रकम बुझाइसकेको छु र वादी दावीको रकम मैले बुझाउनु पर्ने होइन । वादी दावीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिउत्तर जिकिर रहेकोमा क्षेत्रीय अदालतबाट वादी दावी बमोजिम नै रकम एवं ब्याज समेत वादीले भरिभराउ गरिलिन पाउने ठहर्याई फैसला भएको देखिन्छ ।
१४. प्रतिवादीले वादी संग जमानी मागेपछि प्रतिवादीका तर्फबाट वादीले जमानी दिएको र सो रकम वादी बैंकको तर्फबाट भुक्तानी भएकोमा विवाद देखिएन । प्रतिवादीले आफ्नो हिस्सेदार अन्य व्यक्तिलाई गराउदैमा वादीले आफ्नो जमानी बापतको रकमलाई पनि हिस्सा लगाई अन्य हिस्सादारबाट असूल गर्न जानु पर्दछ भन्ने कुरा मिल्ने देखिन आएन । वादीले भरिभराउ हुने मितिसम्मको ब्याजको दावी गरेको पनि वादीको अधिकार भित्रको होइन भन्न नमिल्ने हुँदा वादी दावी बमोजिम वादीले प्रतिवादीबाट जमानी बापत भुक्तानी दिएको रकम मध्ये रु. १०,०००।– एवं सो रकमको भरिभराउ हुँदा सम्मको ब्याज समेत भराई लिन पाउने ठहर्याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०४५।३।१।४ को इन्साफ मनासिब ठहर्दछ । कोटर्फि राखी प्रस्तुत पुनरावेदन दायर भएको देखिँदा पुनरावदेकलाई केही सजाय गर्न परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. प्रचण्डराज अनिल
इति सम्बत् २०४६ साल आषाढ ८ गते रोज ५ शुभम् ।