शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४२२ - कूलो पानी

भाग: २२ साल: २०३७ महिना: फागुन अंक: ११

निर्णय नं. १४२२   ने.का.प. २०३७

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३६ सालको देवानी पुनरावेदन नम्बर    २३६, २३७

फैसला भएको मिति : २०३७।१०।९।४ मा

पुनरावेदक : जि. गोरखा तिनपाने भञ्ज्याङ बस्ने शेरजंग पुडासैनीसमेत

विरूद्ध

विपक्षी : जि. गोरखा मनकामना ढाङवारीको हाल धेरु अधेर बस्ने हस्तकुमारी मगर्नी

मुद्दा : कूलो पानी

(१) नयाँ कूलो बदर गरी पानी मेरै सदर गरिपाउँ भनी फिराद लेख दावीबाट प्रस्तुत मुद्दामा सामूहिक कूलो पानीको दावी नभएकोले प.क्षे.अ.ले शुरू उपरको पुनरावेदन सोझै हेरी छिनेको न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा (१) को खण्ड (ख) को विरूद्ध देखिँदा उक्त कानुनमा व्यवस्थित अधिकारक्षेत्रात्मक त्रुटि भएको देखिने ।

(प्रकरण नं. ८)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

फैसला

          न्या. बासुदेव शर्मा :    पश्चिमाञ्चल क्षेत्रीय अदालतका फैसला उपर प्रतिवादीका निवेदनबाट पुनरावेदनको अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ :

          २.  ९५ सालमा मोठमा जि.भूमिनन्द जिम्बाबहादुर कवर जोगीका नाउँमा दर्ता भएको खोला देखि उत्तर पश्चिम जंगल चामुको खेत देखि पूर्व दक्षिण समेत ४ किल्लाभित्रको खेत ।७ को तिरो रु.३।८५ लागेको सोतिखेत कित्ता १ खोलादेखि पूर्व दक्षिण समेत ४ किल्लाभित्रको खेत १५१ को सोतिखेत कित्ता १ भ्याकुरे खोला देखि पश्चिम उत्तर समेत ४ किल्लाभित्रको ७।१० वार मुरै खेत १ समेतलाई अँधेरी खोलाको र ढापै खेतको निकासको मुनीको मूलपानी समेतबाट खेत रोपी भोगी आएकोमा विपक्षीहरूले उक्त खेत भन्दा माथिबाट नयाँ, बिरायको खेतमा कूलो काटी डाँडा कटाई पानी लगेमा मैले प्र.जि.अ.मा उजूर गर्दा कूलो दिने छैन भनी श्रावण २५ गते मिलापत्र गरी ऐ. २६ गते कूलो बनाई खेत रोप्न लाग्दा २७ गते फेरि विपक्षीहरूले कूलो भत्काई दिएकोले मेरो कूलो खनी नयाँ कूलोबाट डाँडा कटाई नयाँ अवादीमा पानी लगेमा निजहरूले लगेको नयाँ कूलो बदर गरी उक्त पानी मेरै हक सदर गरिपाउँ भन्ने समेत मिति २०३४।५।२६ को हस्तकुमारीको वादी ।

          ३.  म शेरबहादुरको हक भोगको बारमुरै खेतमुरी ।१।१० लाई र म डिल्लुनाथको हक भोग चलनको चनौटे खेत मुरी ।२।१० लाई समेत(लाई) भक्तबहादुरको खेत मुनीको मूलपानी र अँधेरी खोलाको पानी समेत बाँध कूलो बनाई साविक देखि सो हाम्रो खेत रोप्ने गरी आएको र म डिल्लुनाथको भोग चलनको नागडाँडा खेत मुरी ।१ लाई नागडाँडा खोल्सीको पानीले रोप्ने पटाउने गरी आएको म शेरबहादुरको उक्त वारमुरै खेत र म डिल्लुनाथको उक्त चनौट खेतमा उक्त मूलको र अँधेरी खोलाको पानी लाउने गरी आएको पुरानो बाँध कूलो बिग्री पानी छिरी खेतमा पानी कम पुग्ने भएकोले उक्त मूल पानीको बाँध कूलो र अँधेरी खोलाको पुरानो कूलो देखि अं.२ गज माथि ०३३ सालमा अर्का बाँध कूलो बनाई सो मूलको र अँधेरी खोलाको पानी जगाउने गरेका हुन् । हाम्रो बाँध कुलो देखि भनी वादीको खेतमा पनि पानी लगाउने गरेको अँधेरी खोलाको बाँध मूल देखि माथि डिल्लुनाथको अर्को चनौटे खेत र म शेरबहादुरको सोतीखेतमा पानी लाने गरेको बाँध कूलो छैन वादीको खेतलाई प्रशस्त पानी पुग्छ वादीले झुठ्ठा उल्लेख गरेको छ । माथि उल्लेख गरे अनुसार भक्तबहादुरको खेत मुनीको मूलको पानी र अँधेरी खोलाको पानी म शेरबहादुरको बारमुरै खेत र म डिल्लुनाथको चनौटे खेतमा पानी लाउने गरेको बाँध कूलो कायम गरी हक इन्साफ गरिपाउँ भन्ने समेत शेरबहादुर शेरजंग पुडासैनी र डिल्लुनाथ योगीको संयुक्त प्रतिउत्तरपत्र रहेछ ।

          ४.  वादीका एकाघरका लोग्नेले ०३४।४।१२ मा प्र.जि.अ.कार्यालय गोरखामा यिनै मुद्दाका प्र.शेरजंग समेतका नाउँमा दिएको निवेदनमा उक्त वादीको खेतहरू आफ्नै पुरानो ढापेखेत निकास पानी र भ्यागुरे खोलाको पानीलाई खेत रोप्ने गरेको भन्ने उल्लेख गरेको र वादीमा अँधेरी खोला र मूल पानीको पानी समेत दावी गरेको देखियो । पहिले वादीको लोग्नेले प्र.जि.अ.मा दिएको निवेदन र पछि यस अदालतमा दिएको उजूरमा सिंचाईको मुहानमा फरक परेको देखियो र वादी प्रतिवादीका साक्षीहरूको बकपत्र समेत वादीलाई समर्थन हुन तथ्य प्रस्तुत हुन नआएको समेत हुँदा वादी दावा पुग्न सक्दैन भन्ने समेत शुरू गोरखा जिल्ला अदालतको मिति ०३५।६।१३ को फैसला ।

          ५.  उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन परेकोमा मिसिल सामेल रहेका नक्सा हेर्दा नं. ७ को कूलो बाहेक वादी पुनरावेदकको जग्गामा अरू कूलो गएको देखिन नआएको र यसै कूलो सम्बन्धमा पुरानो ढाप खेतको निकास पानी जान र पानी लाने कूलो भत्काएको छैनौ भनी प्र.शेरजंग पुडासैनी समेतले ०३४।४।२५ मा जिल्ला कार्यालय गोरखामा मिलापत्र गरेको देखिन आएबाट वादी दावी बमोजिम न.नं. ७ को कूलोमा वादी हस्तकुमारी मगर्नीको हक देखिन आएबाट वादी दावी बमोजिम प्रत्यथीहरूले खिचोला गरेको ठहर्छ । गोरखा जिल्ला अदालतले वादी दावी नपुग्ने ठहराई गरेको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३६।७।१५।५ को फैसला रहेछ ।

          ६.  दावी सामूहिक कूलो पानी सम्बन्धी हुन नआई एकलौटी व्यक्तिगत कूलोको दावी हुदाँ शुरू अदालतको पुनरावेदन सुन्ने अधिकार गण्डकी अञ्चल अदालतको हुँदाहुँदै पनि आफ्नो अधिकारक्षेत्रको भनी क्षे.अ.ले पुनरावेदन लिई फैसला गरेबाट न्या. प्र.सु.ऐन, ०३१ को दफा १३(१) को खण्ड (क) र (ख) को सार्वजनिक महत्त्वको विषयमा प्रत्यक्ष गम्भीर कानुन त्रुटि भएको छ । पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी शेरबहादुर पुडासैनीको सम्वत् ०३६ सालको नि.नं. १००७ को निवेदनपत्रमा र ०३६ सालको नि.नं. १०३४ को प्र.शेरजंग, शेरबहादुर र डिल्लीजंगको संयुक्त निवेदनपत्र समेत पेश हुँदा सामूहिक कूलो पानीको मुद्दा मात्र क्षेत्रीय अदालतले हेर्न पाउने प्रस्तुत मुद्दा सामूहिक कूलोको दावी नभएकोले सो बाहेकको कूलो पानी मुद्दा अञ्चल अदालतको क्षेत्राधिकारभित्रको भएकोमा प्रस्तुत कूलो पानी मुद्दा पश्चिमाञ्चल क्षेत्रीय अदालतले हेरी छिनेको न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (१) को खण्ड (ख) मा व्यवस्थित अधिकारक्षेत्रात्मक त्रुटि गरेको देखिएको र त्यस्तो त्रुटि सार्वजनिक महत्त्वको हुँदा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ । नियमानुसार गर्नु भन्ने डिभिजन बेञ्चको मिति ०३६।१२।१९।३ को आदेश रहेछ ।

          ७.  उक्त आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दामा तारेखमा रहेका पुनरावेदक प्रतिवादी वारेस समेतको शेरबहादुर पुडासैनी र विपक्षी वादी हस्तकुमारी मगर्नीको वा.कुलबहादुर थापा मगरलाई रोहवरमा राखी पुनरावेदक प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलको बहस सुनी बुझ्दा क्षे.अ.को इन्साफ कानुनसंगत छ छैन सर्वप्रथम त्यसकुराको निर्णय दिनुपरेको छ ।

          ८.  यसमा विपक्षी वादी हस्तकुमारीको फिराद दावीमा नयाँ कूलो बदर गरी उक्त पानी मेरै सदर गरिपाउँ भन्ने समेत उल्लेख भएको देखिन्छ । सो फिराद लेख दावीबाट प्रस्तुत मुद्दामा सामूहिक कूलो पानीको दावी नभएकोले पश्चिमाञ्चल क्षेत्रीय अदालतले शुरू उपरको पुनरावेदन सोझै हेरी छिनेको न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (१) को खण्ड (ख) को विरूद्ध देखिँदा उक्त कानुनमा व्यवस्थित अधिकारक्षेत्रात्मक त्रुटि भएको देखिन्छ ।

          ९.  तसर्थ प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट मिति ०३६।७।१५।५ मा भएको फैसला बदर गरी दिएको छ । शुरू जिल्ला अदालत उपर परेको पुनरावेदन हेरी कानुन बमोजिम गरी निर्णय गर्नु भनी तारेखमा रहेका पक्षलाई गण्डकी अञ्चल अदालतमा हाजिर हुन जानु भन्ने तारेख तोकी तपसील बमोजिम गरी मिसिल बुझाई दिनु ।

 

तपसील

वादी हस्तकुमारी मगर्नीलाई पश्चिमाञ्चल क्षेत्रीय अदालतका मिति ०३६।७।१५ का फैसलाले निजले फिराद गर्दा राखेको कोर्टफी रु.१०। र पुनरावेदन गर्दा प.क्षे.अ.मा राखेको कोर्टफी रु.१।५० समेत जम्मा रु.११।५० प्रतिवादीहरूबाट भराउने गरेको सो अनुसार गरी भरी भराउ गर्न पर्दैन व्यहोरा जनाई सो प.क्षे.अ.को फैसला बमोजिमको लगत कट्टा गर्नु भनी गोरखा जिल्ला अदालतलाई पत्र लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु......................... १

देहायका प्रतिवादीहरू के निजहरूले यस अदालतमा पुनरावेदन गर्दा देहायका मितिमा देहाय बमोजिम राखेको धरौटी रकम फिर्ता पाउँ भनी ऐनकोम्यादभित्र देहायका प्र.हरूको दरखास्त परे दस्तूर केही नलिई फिर्ता खर्च लेखी दिनु भनी का.जि.अ.त.मा ऐ. ऐ....२

प्रतिवादी शेरजंग पुडासैनी के मिति २०३६।१२।२६ मा राखेको धरौटी रु.तीन रुपैयाँ त्रियासी पैसा ३।८३, प्रतिवादी डिल्लुनाथ जैशी के ऐ. ऐ ऐ. ३।८३, प्रतिवादी शेरबहादुर पुडासैनी के ऐ. ऐ ऐ. ३।८३ ११।४९

शुरू मिसिल गण्डकी अं.अदालत र पश्चिमाञ्चल क्षेत्रीय अदालतको रिकर्ड मिसिल पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पठाइदिनु ....३

 

उक्त रायमा म सहमत छु ।

 

न्या. बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०३७ साल माघ ९ गते रोज ४ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु