निर्णय नं. ३८६७ - अंश माना चामल

निर्णय नं. ३८६७ ने.का.प. २०४६ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४५ सालको दे.पु.नं. ७३९
फैसला भएको मिति : २०४६।४।३०।२ मा
पुनरावेदक/प्रतिवादी : जि. ललितपुर, सुनाकोठी वा.नं. १ बस्ने कृष्णबहादुर खड्का क्षेत्री
विरुद्ध
विपक्षी/वादी : जि. ललितपुर ठेचो बस्ने मोहनकुमारी पाण्डे क्षेत्री
मुद्दा : अंश माना चामल
§ आफूले पाएको बकसपत्रको नाताबाट मुद्दा सकार गर्ने यिनी विपक्षीको हकमा त्यति कुराको मात्र दैयादार भई दिन दिलाउन पर्ने मानिन्छ जति निजले बकसपत्रबाट पाएको हुन्छ ।
(प्रकरण नं. १६)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री बाबुराम गिरी
विपक्षी, वादी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती
फैसला
न्या. हिरण्येश्वरमान प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छ ।
२. मेरो कृष्णबहादुरसंग रीतपूर्वक विवाह भएको, पतिले पछि सौता ल्याएको पति र सौताले मलाई दुःख दिएको कारण लोग्ने र जेठाजु बीच ललितपुर जिल्ला अदालतमा अंश मुद्दा परेको बुझिएकोले, ल्याइते तर्फका २ छोरा, सौता समेतको ३ भाग र मेरो अंश समेत ठाडै कारवाई गरी जेठाजु र पतिबाट तायदाती लिई जो जुनबाट पाउनु पर्ने हो अंश र अंश नपाउन्जेल सम्मका लागि खान लाउन पाउने व्यवस्था मिलाई पाउँ भन्ने समेत व्यहोराको जीतकुमारीको सर्वोच्च अदालतमा परेको निवेदन ।
३. यस विषयमा अघि कुनै आदेश भए नभएको हेरी व्यहोरा साँचो भए ठाउँ बुझी ऐन बमोजिम गर्नु भन्ने समेत व्यहोराको सर्वोच्च अदालतबाट ललितपुर जिल्ला अदालतका नाउँमा मिति २०१५।८।२२ मा भएको आदेश ।
४. सौताको कुराबाट २०११।७।२८ का दिन देखि खान लाउन नदिई घरबाट निकाला गरी दिएकाले जीविकाको लागि रामजी खत्रीबाट रु. १००।– कर्जा लिएको छु । अंश माना चामलमा नालेश गर्न अजाना स्वास्नी मानिस भएकाले निवेदन गरेको छु । ०११।७।२८ देखि आजसम्मको खान खर्च र लुगा समेत ११४४।९९ अंशको साथमा दिलाई पाउँ भनी कृष्णबहादुरका ल्याइते स्वास्नी १, निज पट्टीका विवाहित छोरा १, विवाह हुन बाँकी एक, विवाहिता स्वास्नी म समेत ५ जवान अंशियार छौं, सौताको एक छोरी, विवाह हुन बाँकी छ । विवाह खर्च पर सारी मेरो भाग अंश दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको जीतकुमारीले मिति २०१५।११।८ मा अदालतमा गरेको बयान ।
५. जीतकुमारी सहोदर भाइ बुहारी हुन् निज मेरो अंशियार नभएकोले मैले अंश दिन पर्ने होइन । निजका पतिको अंश भागबाट मात्र अंश पाउने हुँदा म उपरको दावी झुट्टा हो भन्ने समेत व्यहोराको इन्द्रबहादुरको बयान ।
६. निवेदिका मेरी श्रीमती हुन् । निजलाई मैले खान लगाउन नदिई निकाला गरेको होइन छैन । मेरो अंश भागको सम्पत्ति खाई बसेकी छन् । मेरो भाग अंश समेत जेठा दाजुसंग रहेको निज निवेदिका कुनै संग बसेकी हुँदा मैले माना चामल दिन पर्ने होइन । मेरो अंश समेत भागमा हाल केही नरहेकोले अंश दिन कर नलागेको भन्ने समेत व्यहोराको कृष्णबहादुरको बयान।
७. निवेदिका आफ्नै पुरानो घरमा ज्याला बनी गरी बसी आएकी छन् भन्ने समेत व्यहोराको वा.स. कृष्णबहादुरको बयान ।
८. आमा जितकुमारीले दायर गरेको अंश मुद्दालाई सकार गर्दै वादी मोहनकुमारी आएको देखिँदा ५ भागको १ भाग बिगो रु. १,६३,२६७।– बराबरको अंश वादीले पाउने ठहर्छ भन्ने समेत व्यहोराको ललितपुर जिल्ला अदालतको फैसला ।
९. जालसाजी मुद्दामा बागमती अञ्चल अदालतबाट भएको फैसला र स्त्री अंश धनको १ नं. लाई हेरी शुरु इन्साफ केही उल्टी गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको कृष्णबहादुरको पुनरावेदन ।
१०. वादी प्रतिवादीहरु एकासगोलका अंशियार भए रहेकोमा विवाद देखिन नआएको, निवेदिकाले पति कृष्णबहादुरसंग अंश लिइसकेको भन्ने जिकिर नरहेको, कृष्णबहादुर र इन्द्रबहादुर बीच चलेको अंश मुद्दामा आधा अंश लिने दिने ठहरी मिलापत्र भइसकेको, मोहनकुमारीले आमा जितकुमारीको मुद्दा सकार गरेको देखिएको, यस विषयमा तत्काल कुनै उजूर बाजुर नभएको हुँदा तायदातीमा उल्लेख भए बमोजिम ५ भागको एक (१) भाग वादीले अंश पाउने ठहराएको फैसला मनासिब हुँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
११. निवेदिकाको दावी बमोजिम ५ भागको एक भाग अंश पाउने ठहराएको शुरु अदालतको फैसलालाई सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सबूद प्रमाणको मूल्यांकन नगरी भएको हुँदा पुनरावेदनको लागि अनुमति पाउँ भन्ने समेत व्यहोराको कृष्णबहादुर खड्काको निवेदन ।
१२. मोहनकुमारीले पाएको बकसपत्र जालसाजीबाट खडा भएको भनी पुनरावेदकले दिएको जालसाजी मुद्दामा २०३२।११।२४ मा फैसला भई अन्तिम भइरहेको सो फैसलाको विपरीत हुने गरी वादीलाई अंश दिलाउने गरी म.क्षे.अ.बाट भएको फैसलामा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ग) को अवस्था विद्यमान देखिँदा पुनरावेदनको अनुमति दिइएको भन्ने समेत व्यहोराको यस अदालतको आदेश ।
१३. नियम बमोजिम पेश हुन आएकोमा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बावुराम गिरीले र वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले गर्नुभएको बहस जिकिर समेत सुनियो ।
१४. वादी जितकुमारीले आफ्नो लोग्ने कृष्णबहादुर खड्का क्षेत्रीय र जेठाजु इन्द्रबहादुरसंग अंश माना चामल दिलाई पाउँ भनी यस अदालतमा दिएको निवेदनको आधारबाट प्रस्तुत मुद्दाको उठान भएकोमा तायदातीमा उल्लेख भएको सम्पत्तिको ५ भागको १ भाग अंश वादीले पाउने ठहर गरेको शुरु ललितपुर जिल्ला अदालतको फैसलालाई क्षेत्रीय अदालत समेतबाट सदर गरेको देखिन्छ ।
१५. प्रस्तुत मुद्दामा क्षेत्रीय अदालतको फैसला मनासिब बेमनासिब के छ सो विषयमा निर्णय दिन पर्ने देखियो ।
१६. निर्णयतर्फ विचार गर्दा यस्मा विपक्षी तर्फबाट प्रस्तुत गरेको पूर्ण इजलासको नजीरको रुपमा देखाइएको मुद्दाको तथ्यबाट सो मुद्दामा बकस पाउने छोरीले आफ्नो आमाको अंशबाट पाउने अष्ट लोहथ गैरह भनी दिएकोमा कानुन बमोजिम बदर नगराई परेको अंश मुद्दामा लिएको जिरहको आधारमा विचार गर्न नमिल्ने भनी ठहर गरेको देखिएको तर प्रस्तुत मुद्दामा सो बमोजिम नभई जुन बकसपत्रको आधारमा दावी लिएको छ सो बकसपत्रमा नै लोग्नेबाट पाउने अंश भाग मध्ये मेरो हक पुग्ने जति अष्ट लोहथं गैरह भनी बकसपत्र गरी दिएको र सो बकसपत्र उपर जालसाजी मुद्दा परी ठहर हुँदा पनि स्त्री अंश धनको २ नं. ले दिन पाउने भन्दा बढी नदिएकोबाट वादीको हक हनन् नभएको भनी ठहर भइरहेको देखिएकोले प्रस्तुत मुद्दा उक्त नजीरसित मिलेको भन्न मिलेन । आफूले पाएको बकसपत्रको नाताबाट मुद्दा सकार गर्ने यिनी विपक्षी मोहनकुमारीको हकमा त्यति कुराको मात्र दैयादार भई दिन दिलाउन पर्ने मानिन्छ जति निजले बकसपत्रबाट पाएको हुन्छ । विपक्षीलाई जितकुमारीले २०२५।५।२५ मा बकसपत्र पास गरी दिएको हुँदा सो अवस्था वहाल रहेको स्त्री अंश धनको महलको २ नं ले सधवा स्वास्नी मानिसको हकमा लोग्नेको मन्जूरी नलिएकोमा चलमा सबै र अचलमा आधीसम्म मात्र दिन पाउने कानुनी व्यवस्था भएकोले सो बकस पाउनेले जीतकुमारीको अंश मध्ये अचलमा आधी मात्र पाउने भएकाले जितकुमारीको लोग्नेको अंश भागको आधी अंशबाट ५ भागको एकभाग अंश छुटाई सो बकसपत्र बमोजिम अचलमा आधी मात्र पाउने ठहर गर्नु पर्नेमा सम्पूर्णमा ५ खण्डको १ खण्ड अंश वादीलाई दिलाउने ठहर गरेको हदसम्म मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ गल्ति हुँदा उल्टी हुने ठहर्छ । अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
इन्साफ खण्डमा लेखिए बमोजिम बकस पाउनेले जीतकुमारीको अंश मध्ये अचलमा आधी मात्र पाउने भएकाले जितकुमारीको लोग्नेको अंश भागको आधी अंशबाट (५) भागको १ भाग अंश छुटाई सो बकसपत्र बमोजिम अचलमा आधी मात्र पाउने ठहरेकाले ५ भागको १ भाग जितकुमारीले पाउने रु. १,६३,२६७।– को अंश भध्ये आधा रु. ८१,६३३।५ अंश वादीले पाउने हुँदा सो बमोजिम गर्नु गराउनु भनी का.जि. अ. मार्फत लगत दिनु ....१
इन्साफ खण्डमा लेखिए बमोजिम वादीले ५ भागको १ भाग अंश पाउने ठहराएको ललितपुर जिल्ला अदालतको फैसलालाई सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट कायम राखेको लगत कट्टा गरी दिन का.जि. अ. मा लगत दिनु ...२
पुनरावेदक प्रतिवादी कृष्णबहादुर खड्का क्षेत्रीले इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकाले निजले यस अदालत मार्फत राखेको कोर्टफी रु. ६८०।३० र रु. २९४६।९४ को आधीले ३४०।१५ र १४७३।४९ वादी जीतकुमारीको मु.स. गर्ने मोहनकुमारीबाट कानुन बमोजिम प्रतिवादीलाई भराई दिनु भनी का.जि. अ.मा लगत दिनु र यस विषयमा राखेको लगतहरु कट्टा गरी दिनु .......३
मिसिल नियमानुसार गरी बुझाई दिनु .........४
उक्त रायमा म सहमत छु ।
न्या. सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०४६ साल साउन ३० गते रोज २ शुभम् ।