निर्णय नं. ३८६८ - जग्गा हक कायम फैसला बदर

निर्णय नं. ३८६८ ने.का.प. २०४६ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्वरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
संवत् २०४४ सालको दे.पु.नं. ७७१,७८८
फैसला भएको मिति : २०४६।१।२८।४ मा
पुनरावेदक/वादी : पोखरा न.पं. वा.नं. १ बस्ने चन्द्रबहादुर गुरुङ
विरुद्ध
विपक्षी/प्रतिवादी : काश्की, घान्द्रुक गा.पं. वा.नं. ८ बस्ने धनबहादुर गुरुङसमेत
पुनरावेदक/प्रतिवादी : ऐ. घान्द्रुक गा.पं. वा.नं. ८ बस्ने डम्बरकुमारी गूरुङ्गस्यानी
विरुद्ध
विपक्षी/वादी : पो.न.पं. वा.नं. १ बस्ने चन्द्रबहादुर गुरुङ
मुद्दा : जग्गा हक कायम फैसला बदर
§ अंश मुद्दा डिसमिस गराएको आधारमा लुटपीट मुद्दाबाट लुटपीटको वारदात समेत कायम भइसकेका वादी प्रतिवादीहरु एकासगोलमा रहेको भनी प्रत्यक्ष सबूद प्रमाणको अभावमा मान्न नमिल्ने ।
(प्रकरण नं. १०)
§ अंश मुद्दामा २०३५।१।१३ लाई मानो छुट्टिएको मिति कायम गरेको बदर भई २०१०।१।१ लाई मानो छुट्टिएको मिति कायम गरिनु पर्ने देखिन आएकोले सो मितिसम्मको सो मुद्दको पक्ष विपक्षबाट तायदाती लिंदा वादीले आफ्नो निजी आर्जनको भनी दावी लिएका जग्गाहरु सो कायम भएको मानो छुट्टिएको मिति भन्दा अघि वा पछि आर्जन गरेको के हो सोही अवस्थामा ठहर हुने भएकोले हाल यस मुद्दाबाट यो यसो हो भनी ठहर गरी रहन नमिल्ने।
(प्रकरण नं. ११)
वादी तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा
प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री रेवन्त कूंवर
फैसला
न्या. हिरण्येश्वरमान प्रधान : प.क्षे.अ. को मिति २०४४।४।२६ को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई वादी प्रतिवादी दुबै तर्फबाट दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. धनबहादुरका दुई श्रीमतीमा जेठी हरि गुरुङस्यानी, कान्छी डम्बरकुमारी हुन् । जेठी पट्टीका छोरा म तथा दिदी चन्द्रा र भाइ खड्गबहादुर हौं, कान्छी पट्टी बहिनी गिता मात्र हुन् । गिताको विवाह भएकोले हामी ६ अंशीयार भएकोमा आमा सहितका हामी ४ जनालाई २००७ सालमा निकाली बाबुसंग अंश माग्दा नदिई आमाको लिखत गराई दुई कित्ता खेत जीवनवृत्ति दिनु भएको सो खेत र आमाको पेवा समेत लिई मानो छुट्टी बेगल बसी आएको, मेरो उमेर पुगेपछि ब्रिटिस पल्टनमा भर्ना भई कमाई ल्याएको खड्गबहादुर र चन्द्राले ६ अंशीयार देखाई २ अंश दिलाई पाउँ भनी फिराद पारी २०३७।३।१८ मा काश्की जि. अ.बाट २०३७।११।५ मा ग.अं.अ.बाट फैसला र २०४०।५।२३ मा प.क्षे.अ.बाट आदेश समेत भएको कुरा २०४०।६।११ मा नक्कल सारी थाहा पाएकोले घान्द्रुकको पैतृक जग्गा डम्बरकुमारीको बण्डा नलाग्ने दाइजो पेवा ठहर्याई र हाम्रो निजी आर्जनको पोखराको घर जग्गा बण्डा लाग्ने ठहर्याएको उक्त फैसला बदर गरी कि.नं १८२ को जग्गामा मेरो हक कायम गरिपाउँ भन्ने चन्द्रबहादुरको फिराद दावी ।
३. वादी दावी बमोजिम मैले जानी बुझी वादीलाई अंश ठग्ने नियतले मुद्दा हारजीत गरेको होइन, सर्भे नापी आएको बखत म घरमा नभएकोले संधियारले मेरो नाउँ लेखाई नाप जाँच गराएछन् । क्यूमी गैरा घरबारी जग्गा नाप नक्सा हुँदा डम्बरकुमारीले आफ्ना नाउँमा दर्ता गराएकी हुन् । सो जग्गा अबण्डा कायम गरिपाउँ भन्ने धनबहादुरको प्रतिउत्तर जिकिर ।
४. विपक्षीका एकासगोलका भाइ खड्गबहादुर र दिदी चन्द्राकुमारीले विपक्ष समेत ६ अंशियार कायम गरी म समेत उपर २०३५।१।१४ मा अंश मुद्दा दायर गरी बण्डा हुने ठहर भएको छ आफ्नो अंश भाग छुट्याउने तर्फ नलागी फैसला बदरको माग गरिएको फिराद खारेज गरी पाउँ, म डम्बरकुमारीले फुपू बिशोरी गुरुङस्यानीबाट पाएको बकसपत्रको जग्गा स्त्री अंश धनको ४, ५ नं. बमोजिम अरु अंशियारलाई बण्डा नलाग्ने मेरो निजी आर्जनको हुँदा फैसला सदर काय गरिपाउँ भन्ने डम्बरकुमारीको प्रतिउत्तर जिकिर ।
५. घान्द्रुकको क्यूमी भन्ने कि.नं. १८२ को घरबारी पैतृक सम्पत्ति हो, डम्बरकुमारीले विशोरीबाट ११ कित्ता जग्गा पाएकीमा धिरबहादुरको नालेश परी ११ कित्ता मध्ये पत्युं भन्ने पाखो कित्ता बाहेक अरु सबै धीरबहादुरको कायम म.स.अ. बाट २०२२।२।१५ मा फैसला भएको छ । बकसपत्रको जग्गा १ कित्ता मात्र ठहरेको र बकस पाएको ३ कित्ता जग्गा बिक्री गरेको हुँ भन्ने डम्बरकुमारीको प्रतिउत्तर हुँदा कि.नं. १८२ को क्यूमी भन्ने पैतृक घरवारीमा हाम्रा समेत हक र पोखराको घर जग्गा निजी आर्जनको हुँदा हाम्रो हक कायम गरिपाउँ भन्ने हरि गुरुङ, खड्गबहादुर, चन्द्रकुमारी समेतको संयुक्त प्रतिउत्तर जिकिर ।
६. २०१० सालको बाली लुटपीट ठहरेको हुँदा मानो छुट्टिएको मिति २०१० वैशाख १ गते कायम हुन्छ । ग.अं.अ.बाट २०३५।१।१३ मा मानो छुट्टिएको मिति कायम भएको सम्म फैसला बदर हुने र क्यूमी भन्ने जग्गा सर्वोच्च अदालतको फैसला अनुसार डम्बरकुमारीको बकसपत्रको जग्गा ठहरी २०३७।११।५ मा ग.अं.अ. बाट फैसला भएको देखिँदा सोतर्फ वादीले थप सबूद प्रमाण केही दिन नसकेको अवस्थामा अगाडि नै निर्णय भइसकेको हुँदा वादीको दावी पुग्दैन भन्ने कास्की जि. अ. को २०४२।३।११ को फैसला ।
७. उक्त फैसला उपर परेको पुनरावेदनमा कि.नं. १८२ को क्यूमी भन्ने जग्गातर्फ वादी दावी नपुग्ने समेत ठहर्याएको शुरु कास्की जि. अ. को इन्साफ मनासिब ठहर्छ । २०३५।१।१३ लाई मानो छुट्टिएको मिति कायम गर्ने गरेको ग.अं.अ. को फैसला सदर हुनुपर्ने भन्ने पु.प्रतिवादी डम्बरकुमारी र धनबहादुर समेतको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत प.क्षे.अ. को २०४४।४।२६ को फैसला ।
८. प.क्षे.अ. को फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदनमा बिसुरीले डम्बरकुमारीलाई मिति २००७।१०।३ मा पारित गरिदिएको बकसपत्रमा विवादको कि.नं. १८२ को क्यूमी भन्ने जग्गा परेको नभई पैयु भन्ने जग्गा परेको भन्ने कुरा वादी डम्वरकुमारी प्रतिवादी हरि गुरुङ समेत भएको जग्गा खिचोला मुद्दामा स.अ. बाट मिति २०२२।२।१५।६ मा भएको फैसलामा वादीले पैयुं जग्गा जिती पाएको भन्ने उल्लेख भएबाट समर्थित भएको देखिन्छ । यसरी उक्त बकसपत्रबाट विपक्षी प्रतिवादी डम्बरकुमारी गुरुङस्यानीले क्यूमी भन्ने जग्गा पाएको नभई पैयूं जग्गा पाएको देखिन आउँछ । यस्तो अवस्थामा वादीको दावी नपुग्ने ठहराएको प.क्षे.अ. को फैसलामा अ.बं. ८२ नं. को व्याख्यात्मक त्रुटि हुनुको साथै स.अ. बाट भएको उक्त फैसला समेतको विपरीत भई न्या. प्र.सु (सं.स.) ऐन, २०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान देखिँदा पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने यस अदालत संयुक्त इजलासको २०४४।९।१५ को आदेश ।
९. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा वादी चन्द्रबहादुर गुरुङ तर्फका विद्वान अधिवक्ता श्री गणेशराज शर्मा तथा प्रतिवादी डम्बरकुमारी गुरुङ तर्फका विद्वान अधिवक्ता श्री रेवन्त कुँवरले गर्नुभएको बहस जिकिर समेत सुनी पुनरावेदन सहितको मिसिल तथा प्रमाण मिसिलहरु अध्ययन गरी म.क्षे.अ. को फैसला मिले नमिले तर्फ विचार गर्दा वादीले आफ्नो फिरादबाट आमा र आफूहरु समेतलाई अंश नदिई जीवनबृत्तिको लागि जग्गा सम्म दिई २००७ सालमै छुट्याई दिएकोमा पनि सो जीवनवृत्तिको जग्गाको बाली लुटपीट गरी दिएकोले लुटपीट मुद्दा परी २०१२ सालमा लुटपीट गरेकै ठहरी वाग्लुङ्ग जिल्ला अदालतबाट फैसला भएको छँदै सो कुरा गुम गरी विपक्षीहरुले अंश मुद्दा दिनु दिलाउनु गरी अञ्चल अदालतबाट २०४०।६।११ मा आदेश समेत गराई घान्दु्रकको कि.नं. १८२ को जग्गा म समेतको पैतृक हक लाग्नेमा डम्बरकुमारीको दाइजो पेवाको अंश बण्डा नलाग्ने र हाम्रो निजी आर्जनको पोखराको घर जग्गा बण्डा लाग्ने ठहर्याएको फैसला बदर गरी जग्गामा हक कायम गरी पाउँ भन्ने मुख्य दावी लिएकोमा शुरु जिल्ला अदालतबाट सो अंश मुद्दामा २०१०।१।१ को मानो छुट्टिएको मिति कायम गर्नु पर्नेमा सो नगरी २०३५।१।१३ को मानो छुट्टिएको मिति कायम गरेको सम्म बदर हुने र अरु वादी दावीको कुरामा वादीले थप सबूत दिन नसकेकोबाट वादी दावी पुग्न नसक्ने भन्ने ठहर भएकोमा वादीको अञ्चल अदालतमा पुनरावेदन परेकोमा अञ्चल अदालतबाट अघि परेको अंश मुद्दामा २०३५।१।१३ मै मानो छुट्टिएको मिति कायम गरी अरु इन्साफ शुरुको मनासिब ठहर्याएको र वादीको प.क्षे.अ. मा पुनरावेदन परेकोबाट प.क्षे.अ. ले अघि परेको अंश मुद्दामा शुरुको ठहर बमोजिम २०१०।१।१ को मानो छुट्टिएको मिति नै कायम हुने भनी शुरुकै इन्साफ सदर गरेकोमा वादी दावी मध्ये कि.नं. १८२ को जग्गा पैतृक हुँदा आफ्नो समेत हक कायम हुनुपर्ने र पोखराको घर घडेरी जग्गा निजी आर्जनको हुँदा बण्डा नलाग्ने भन्ने तर्फ वादीको र अघिको अंश मुद्दामा मानो छुट्टिएको मिति २०१०।१।१ कायम गर्ने गरी अघिको फैसला बदर गर्ने गरेकोमा प्रतिवादीहरुको पुनरावेदन परेकोबाट अघिको अंश मुद्दामा ग.अं.अ.बाट मानो छुट्टिएको मिति २०३५।१।१३ कायम गरेको बदर भई शुरु र क्षेत्रीय अदालतको ठहर बमोजिम २०१०।१।१ कायम हुनुपर्ने हो होइन, कि.नं. १८२ को क्यूमी भन्ने जग्गा अघिको अंश मुद्दामा भएको ठहर बमोजिम डम्बरकुमारीले बकसपत्र पाएको जग्गा हो वा वादी दावी बमोजिम पैतृक जग्गा भई वादीको समेत अंश हक लाग्ने हो र वादीले आफ्नो निजी आर्जनको भनी देखाएको जग्गा अघिको अंश मुद्दाबाट बण्डा हुने ठहराएको मनासिब हो होइन भन्ने नै मुख्य प्रश्न यस अदालत समक्ष उपस्थित रहेको देखिन आयो ।
१०. सर्वप्रथम अघिको अंश मुद्दामा फिराद परेको अघिल्लो मिति २०३५।१।१३ मानो छुट्टिएको मिति कायम गरिएको मनासिब हो वा वादीको जिकिर बमोजिम अघि नै भिन्न भई बसेको हो भन्ने तर्फ विचार गरेमा वादीकी आमा हरि गुरुङस्यानीलाई २००७ सालमा जीवनवृत्ति सम्म दिई निजबाट जन्मेका छोराहरु समेतलाई अलग गरिदिनु भएकोमा सो जीवनबृत्तिबाट पाएको जग्गाको आयस्ताले खान नपुग्ने भएबाट २०१० सालमा अंश मुद्दा समेत दिई कारवाही चल्दै रहेको सोही रिसबाट जीवनबृत्तिमा पाएको खेतको २०१० सालको आयस्ता समेत लुटपीट गरेको हुनाले लुटपीटमा सजाय गरी रु. १८४।– बिगो भराई पाउँ भन्ने २०११।८।१३ मा फिराद दिएकोमा २०१२।१।१४ मा वाग्लुङ्ग जि. अ. बाट वादी दावी बमोजिमको जग्गाको बाली प्रतिवादीले लुटपीट गरेकै ठहर्छ भनी फैसला भइरहेको हुँदा खाली निज हरि गुरुङस्यानीले दिएको अंश मुद्दा डिसमिस गराएको आधारमा लुटपीट मुद्दाबाट लुटपीटको वारदात समेत कायम भइसकेका वादी प्रतिवादीहरु एकासगोलमा रहेको भनी मान्नु प्रत्यक्ष सबूत प्रमाणको अभावमा मान्न नमिल्ने हुँदा सोही अंश मुद्दा डिसमिस गराएको आधार देखाई अघि परेको अंश मुद्दामा फिराद परेको अघिल्लो दिन २०३५।१।१३ लाई मानो छुट्टिएको मिति कायम गरी भएको ग.अं.अ. को फैसला कानुनसंगत देखिन नआएकोले प्रस्तुत मुद्दामा कास्की जि. अ. ले २०१०।१।१ लाई मानो छुट्टिएको मिति कायम गरी वादी दावी बमोजिम अघि परेको अंश मुद्दामा भएको फैसलालाई बदर गर्ने ठहर्याएको सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब देखिन आयो।
११. अब वादी दावी मध्येको पोखराको घरवारी जग्गा आफ्नो निजी हकको हुँदा बण्डा नलाग्ने भन्ने दावी तर्फ विचार गरिएमा माथि लेखी देखाइएका कारणहरुबाट अघि परेको अंश मुद्दामा २०३५।१।१३ लाई मानो छुट्टिएको मिति कायम गरेको बदर भई २०१०।१।१ मानो छुट्टिएको मिति कायम गरिनु पर्ने देखिन आएकोले सो मितिसम्मको सो मुद्दाको पक्ष विपक्षबाट तायदाती लिंदा वादीले आफ्नो नीजि आर्जनको भनी दावी लिएका जग्गाहरु सो कायम भएको मानो छुट्टिएको मिति भन्दा अघि वा पछि आर्जन गरेको के हो सोही अवस्थामा ठहर हुने भएकोले हाल यस मुद्दाबाट यो यसो हो भनी ठहर गरी रहन मिल्ने देखिन आएन । अतः यसै मुद्दाबाट सो जग्गामा आफ्नो निजी हक कायम गरिपाउँ भन्ने वादीको दावी पुग्न नसक्ने ठहर्छ ।
१२. अब घान्दु्रकको कि.नं. १८२ को क्यूमी भन्ने जग्गा पैतृक सम्पत्ति हुँदा मेरो समेत अंश हक लाग्ने भन्ने दावी तर्फ विचार गरिएमा वादीले दावी लिएको उक्त जग्गा विपक्षी मध्येका डम्बरकुमारीले विसुरीबाट २००७।१।२६ मा घरसारको र २००७।१०।२।३ मा पास गरी पाएको बकसपत्रको पयुं (पत्युं) भनी यस अदालतबाट २०२२।२।१५ मा फैसला भएको जग्गा हो भन्ने जिकिर लिएको देखिन आयो । आजै पेश हुन आएको बकसपत्र बदर मुद्दामा यिनै वादी पुनरावेदकको पुनरावेदन परेको जि. अ. बाट भएको फैसलामा यी दुबै जग्गाहरु अलग अलग नक्सा भई एक जग्गा अर्को सित २।३ माईल फरकमा रहेको भनी नक्सा कैफियत समेतमा देखाएकोबाट अघि २०२२ सालमा यस अदालतबाट फैसला भएको मिसिलमा रहेको नक्सामा देखाइएको बकसपत्रको कायम गरेको पयुं (पत्युं) भन्ने जग्गासित हाल भएको नक्साको कुन जग्गा मिल्न भिड्न आउँछ भनी भिडाई हेरेमा सो अघि भएको नक्साको मूल नक्सा नं. १३ को नं. नं. ६ मा बकसपत्रको पत्युं भन्ने जग्गा जनिएको र चार किल्लामा पूर्व गंगाबहादुर गुरुङको साध न.नं. ३, पश्चिम जि. मु. चक्रबहादुरको साँध न.नं. १, उत्तर गमप्रसाद समेतको पाखो साँध न.नं. ४, दक्षिण भीरको डिल न.नं. २ भन्ने जनिएको हाल भई आएको नक्सामा पयुं (पत्युं) भनी देखाइएको न.नं. २६ मा भिडाई हेरिएमा पूर्व न.नं. १८ मा सर्वे कि.नं. १६३ को गंगाबहादुर गुरुङको छोरा दानबहादुर गुरुङको पाखो जग्गा, पश्चिम न.नं. २४ चक्रबहादुर गुरुङको छोरा मिनबहादुर गुरुङको पाखो, उत्तर न.नं. १७ सर्वे कि.नं. १६१ को नन्दप्रसाद गुरुङको छोरा कार गुरुङको पाखो, दक्षिण न.नं. २२ डिलभीर भन्ने जनिएकोबाट सर्वोच्च अदालतको फैसलाबाट बकसपत्रको कायम भएको पंयु (पत्युं) भन्ने जग्गा सो न.नं. २६ मा मिल्ने भिड्ने देखिन आएकोबाट सो न.नं. २६ कै जग्गा सर्वोच्च अदालतबाट बकसपत्रको कायम भएको पयुं (पत्युं) भन्ने जग्गा देखिन आएकोले पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट २०४४।२।२४ को नक्सामा क्यूमी भनी देखाएको न.नं. १२ को जग्गा सो बकसपत्रको जग्गा भन्न मिल्ने देखिन आएन । यस सम्बन्धमा विपक्षी गिता थापाले सो नक्साको आफ्नो जिरहमा समेत पयुं (पत्युं) भन्ने जग्गा र क्यूमी भन्ने जग्गा एकै हो भनी लिएको जिकिर समेतलाई नक्सा प्रकृतिबाट समेत समर्थन नभएकोले मान्यता दिन मिलेन, कि.नं. १८२ को वादी दावीको क्यूमी भन्ने जग्गालाई बकसपत्रको पयूं (पत्युं) भन्ने जग्गा कायम गरेको शुरु जि. अ. समेतको इन्साफ मिलेको देखिन नआई वादी दावी बमोजिम पैतृक सम्पत्ति कायम हुने ठहर्छ ।
१३. माथि लेखी देखाइए बमोजिम अघि परेको यिनी विपक्षीहरुको अंश मुद्दामा २०१०।१।१ लाई मानो छुट्टिएको मिति कायम गर्नु पर्नेमा २०३५।१।१३ लाई मानो छुट्टिएको मिति कायम गरी तायदाती लिई बण्डा गर्ने ठहर्याएको सम्पूर्ण फैसला मिलेको नदेखिएकोले बदर हुन्छ । सो मुद्दामा २०१०।१।१ लाई मानो छुट्टिएको मिति कायम गरी सो मुद्दाका पक्ष विपक्ष र सो मुद्दामा अंशियार देखिएका यिनी वादी समेतबाट सो मितिसम्मको तायदाती लिई वादी दावी मध्येको पोखराको घरवारी र कि.नं. १८२ को जग्गा समेत तायदाती भित्र पर्ने नपर्ने के हो विचार गरी वादी दावीको कुरामा समेत ठहर गरी कानुन बमोजिम निर्णय गर्नु भनी सम्बन्धित पक्ष विपक्ष तारेख तोकी मिसिल शुरु काश्की जिल्ला अदालतमा पठाई दिनु ।
उक्तरायमा म सहमत छु ।
न्या. बब्बरप्रसाद सिंह
इति सम्वत् २०४६ साल वैशाख २८ गते रोज ४ शुभम् ।