निर्णय नं. ३८६९ - अंश

निर्णय नं. ३८६९ ने.का.प. २०४६ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
संवत् २०४४ सालको दे.पु.नं. ६०७
फैसला भएको मिति : २०४६।५।२८।४ मा
पुनरावेदक/प्रतिवादी : जि. नवलपरासी, पर्सौना गा.पं. वा.नं. ४ बस्ने शेरबहादुर चौधरी
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ. बस्ने शेषनारायण चौधरी
मुद्दा : अंश
§ कुनै अंशियार बीच बण्डा गर्नु पर्ने कुनै सम्पत्ति नभए त्यस्ता अंशियार छुट्टी भिन्न हुँदा कानुनी व्यवस्था बमोजिम बण्डापत्र खडा गर्नु पर्ने कुनै अवस्था रहने देखिन नआएकोले यस्तो अवस्थामा अंशियार बीच बण्डापत्र नभएको कारणबाट छुट्टी भिन्न भइसकेको छैन भन्न सकिने अवस्था नदेखिने ।
(प्रकरण नं. १०)
§ उखडा जग्गा सगोलमा कमाई आएको भए वादीका बाबुले आफ्नो नाउँमा दर्ता गराई लिन सक्नु पर्ने ।
(प्रकरण नं. १०)
वादी तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्वरप्रसाद सिलवाल
प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल
फैसला
न्या. हिरण्येश्वरमान प्रधान : प.क्षे.अ.को मिति २०४४।१।२१।२ को फैसला उपर पुनरावेदन गर्ने अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. मुल पुरुष गंगारामका २ छोरा, जेठा चन्द्रमन र कान्छा टिमल हुन । निजहरु परलोक भइसकेका र निजहरु मध्ये चन्द्रमनको एकमात्र म फिरादी शेषनारायण र टिमलका विपक्षी शेरबहादुर र बाबुराम गरी २ छोराहरु हुन् । बाबुराम विदेश गएकाले सगोल सराकतमा हामी २ अंशियार बाहेक अरु कोही छैन । सगोल सराकतमा बसी आएकोमा हाल जहान परिवार बढ्न गई सगोलमा बस्न नसक्ने भई मेरो अंश भाग आधि छुट्याई दिनु होस भनी भन्दा मंजुर नगरी आलटाल गरेकोले विपक्षीहरुबाट चल अचल सम्पत्तिको तायदाती लिई २ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेतको फिराद दावी ।
३. बाजे गंगारामको पालामा जग्गा जमिन नभएको, चन्द्रमन र टिमल हरुवाही गरी बसेको, २००१ सालमा बाबु छुट्टी भिन्न भइसकेको र अलग भइसकेपछि बाबु टिमलले काजी इन्द्रजंग रायमाझीको जग्गा उखडामा कमाई २०२१ सालमा उखडा उन्मुलन लागू भएपछि मेरा बाबु टिमलका नाउँमा दर्ता भई २०२५ सालको नापीमा दर्ता भई ज.ध.द.प्र.पुर्जा समेत पाइसकेको उक्त जग्गा बाबु टिमलको २०३४ सालमा मृत्यु भए पछि मेरा नाउँमा नामसारी भई भोग चलन गरिआएको मेरो निजी आर्जनको जग्गामा विपक्षीको हक नभएकोले विपक्षीलाई अंश दिनु पर्ने होइन, झुट्टा वादी दावीबाट अलग फुर्सद गरी पाउँ भन्ने समेतको प्रतिउत्तर जिकिर ।
४. उखडा जग्गा प्रतिवादीका बाबु मरी प्र.ले दर्ता गराएकोमा वादीको हक भएको भए मौकैमा उजूर गर्नु पर्ने सो समेत नगरेबाट वादीले प्रतिवादी उपर झुट्टा उजूर गरेको ठहर्छ । प्रतिवादीबाट अंश पाउँ भन्ने दावी पुग्न सक्दैन भन्ने शुरु नवलपरासी जि. अ.को २०४१।७।२७ को फैसला ।
५. उक्त फैसला उपर वादी शेषनारायण चौधरी तर्फबाट प.क्षे.अ. मा परेको पुनरावेदनपत्र ।
६. वादी प्रतिवादी अंशियार देखिएको २००१ सालमा छुट्टी भिन्न भएको भनेकोमा बण्डापत्र वा व्यवहार प्रमाणबाट बण्डा भैसकेको भन्ने पनि प्रमाणित नभएको र प्रतिवादीका बाबुले उखडाबाट प्राप्त गरी जग्गा नापी दर्ता भई भोग गरिआएको देखिँदा प्र. को निजी आर्जनको नदेखिई वादीले प्रतिवादीबाट २ भागको १ भाग अंश पाउने ठहर्छ भन्ने समेत प.क्षे.अ. को मिति २०४४।१।२१ को फैसला ।
७. सो फैसला उपर चित्त बुझेन, पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी शेरबहादुरको यस अदालतमा पर्न आएको निवेदन ।
८. यस्मा २००१ सालमा बाबु छुट्टिएको, छुट्टि भिन्न हुँदाका बखतमा कुनै सम्पत्ति नै नभएको र सोही कारणबाट छुट्टिएको स्रेस्ता प्रमाण हुन नसक्ने कुरामा विवाद देखिँदैन र वादी प्रतिवादीहरुका बीच पैतृक बण्डा गर्नु पर्ने यो यो अचल घर जग्गा थियो र छ भन्ने कुरा पनि दुवै पक्षबाट देखाउन सकेको समेतका कुनै प्रमाण पेश भएको पाइदैन । २०२१ सालमा प्रतिवादीले भरेको फाराममा पनि केवल प्रतिवादीका स्वास्नी र छोरालाई मात्र सगोल परिवार देखाई भरेको पाइन्छ । यस्तो स्थितिमा प्रतिवादीबाट वादीले अंश पाउने गरी गरेको प.क्षे.अ.को फैसलामा अंशबण्डाको ३० नं. को व्याख्याको त्रुटि समेत देखिँदा न्या. प्र.सु. (चौथो संशोधन) ऐन, २०३१ को दफा १३(५)(ख)(ग) तथा उपदफा (७) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत संयुक्त इजलासको २०४४।५।७।१ को आदेश ।
९. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा वादी तर्फका विद्वान अधिवक्ता श्री पिताम्वरप्रसाद सिलवालको तथा प्रतिवादी तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालको बहस जिकिर सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी वादी दावी बमोजिम प्रतिवादीबाट वादीले अंश पाउने ठहर्याएको प.क्षे.अ.को फैसला मिले नमिलेको के रहेछ सो को निर्णय दिनु पर्ने हुन आयो ।
१०. यस्मा वादी र प्रतिवादी बीच अंशबण्डा भएको कुनै कागज प्रमाण नभएको र वादीका नाउँमा कुनै जग्गा दर्ता भएको समेत नदेखिएकोबाट अंशबण्डाको १८ नं. बमोजिम व्यवहार मिलाई बण्डा भइसकेको भन्न पनि नमिल्ने भन्ने विपक्षी तर्फको मुख्य जिकिरको हकमा अंशबण्डाको ३० नं. मा भएको व्यवस्थाले अंशियारका बीच अंशबण्डा गर्दा बण्डा छुट्याई सोही नंवर बमोजिमको बण्डापत्रको कागज खडा गरी रजिष्ट्रेशनको १ नं. बमोजिम पास समेत गराउनु पर्ने अनिवार्य व्यवस्था गरेको छ । यदि कुनै अंशियार बीच बण्डा गर्नु पर्ने कुनै सम्पत्ति नभए त्यस्ता अंशियार छुट्टी भिन्न हुँदा कानुनी व्यवस्था बमोजिम बण्डापत्र खडा गर्नु पर्ने कुनै अवस्था रहने देखिन नआएकोले यस्तो अवस्थामा अंशियार बीच बण्डापत्र नभएको कारणबाट छुट्टी भिन्न भइसकेको छैन भन्न सकिने अवस्था देखिन आउँदैन । कानुनमा भएको यस व्यवस्थालाई ध्यानमा राखी प्रस्तुत मुद्दामा के कस्तो हो भन्ने तर्फ विचार गरेमा वादीले प्रतिवादी उपर अंश दिलाई पाउँ भनी दावी गरेकोमा प्रतिवादीले हाम्रो बण्डा गर्नु पर्ने पुख्र्यौली सम्पत्ति केही नभएको र बाबुकै पालामा २००१ सालमा छुट्टी भिन्न भएको भन्ने जिकिर लिई प्रतिउत्तर फिराएको यस अदालतको आदेश बमोजिम वादी प्रतिवादीको कागज गराउँदा समेत वादीले आफ्नो नाउँमा केही जग्गा नभएको जो भएको अचल सम्पत्ति प्रतिवादीका बाबु टिमलका नाउँमा थियो र निज मरी प्रतिवादी शेरबहादुरका नाउँमा नामसारी भएको छ भनी र प्रतिवादीले पुख्र्यौली सम्पत्ति बण्डा गर्नु पर्ने केही नभएको, २००१ सालमा भिन्न भएपछि ईन्द्रजंगको उखडा जग्गा बाबुले कमाई आएको हुँदा २०२३ सालमा बाबुका नाउँमा उखडाबाट दर्ता भई २०२५ सालको नापीमा बाबुका नाउँमा दर्ता भएको र पिता पछि मेरा नाउँमा नामसारी भई आएको भनी कागज गरेकोबाट उखडा जग्गा कमाएको नाताबाट प्रतिवादीका बाबुका नाउँमा, २०२३ सालमा दर्ता हुन आएको जग्गा बाहेक अरु बण्डा गर्नु पर्ने पुख्र्यौली सम्पत्ति नभएको पनि स्पष्ट हुन आएको छ । अब उखडाबाट पाएको जग्गा वादी विपक्षी तर्फको जिरह बमोजिम सगोलको भई बण्डा हुनुपर्ने हो की भन्नलाई प्रतिवादीले सो जग्गा बाबु छुट्टि भिन्न भएपछि आफ्नो बाबुले कमाई आएको भनी जिरह लिएको र निजले जोताहाको १ नं. फाराम भर्दा पनि आफ्नो सगोलको परिवारमा वादीलाई नदेखाई आफ्ना छोरा स्वास्नीलाई मात्र देखाएको छ भने वादी तर्फबाट सो उखडा जग्गा आफू वा आफ्नो बाबु सगोलमा छँदै यो यस अवस्था कमाउन लिई यो यस व्यहोराबाट सगोलमा कमाई आएको भन्ने वादी जिकिर पनि लिन नसकेको, बुझिएका वादीका साक्षीहरुको बकपत्रहरु हेरिएमा निजहरुको बकाई आपसमा नमिली एकजनाले फिराद दिंदासम्म सगोलमा रहेको भनी देखाएका छन् भने अर्को २ जनाले वादी प्रतिवादीहरु अघि पनि अलग नै थिए । वादी पनि १०।१५ वर्ष देखि अलग रहेको भनी देखाई उखडाको जग्गा प्रतिवादीका बाबुका नाउँमा दर्ता भइसकेपछि मात्र वादीका बाबु चन्द्रमन मरेको भनी देखाएकोबाट यदि उखडा जग्गा सगोलमा कमाई आएको भए वादीका बाबुले आफ्नो नाउँमा दर्ता गराई लिनसक्नु पर्ने सो गरेको समेत नदेखिएको हुँदा बण्डापत्रको कागज प्रमाण नभएको र वादीका नाउँमा कुनै जग्गा नभएको कारणबाट अंशबण्डाको १८ नं. ले पनि वादी प्रतिवादीहरु भिन्न भइसकेको भन्न नमिल्ने भन्ने विपक्षी तर्फको जिरह मनासिब नदेखिई यस्तो अवस्थामा सोही आधारमा अंश पाउने ठहर्याई तायदाती लिई बण्डा गरिदिन जिल्ला अदालतमा पठाउने गरेको प.क्षे.अ. को इन्साफ बदर भई शुरु जि. अ.को फैसलाका बुंदा प्रमाणबाट समेत अंश नपाउने ठहर्याएको शुरु जि. अ. को इन्साफ मनासिब ठहर्छ । अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादीले प्रतिवादीबाट अंश नपाउने ठहरेकाले प.क्षे.अ. को मिति २०४४।१।३१ को फैसलाले तायदाती फाँटवारी लिई बण्डा छुट्याई दिनु भनी नवलपरासी जिल्ला अदालतमा पठाउने गरेको लगत कायम नरहने हुँदा सो कट्टा गरी दिनु भनी शुरु जि. अ. मा लेखी पठाउन का.जि. अ.त मा लगत दिनु ..........१
पुनरावेदक प्रतिवादी शेरबहादुर चौधरीके माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादीले अंश नपाउने ठहरेकाले निजले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. २५।– वादीबाट भराई पाउने हुँदा ऐनका म्यादभित्र प्रतिवादीको रीतपूर्वकको दरखास्त पर्न आए केहि दस्तुर नलिई वादी शेषनारयण चौधरीबाट प्रतिवादी शेरबहादुर चौधरीलाई भराई दिनु भनी शुरु जि. अ. मा लेखी पठाउन का.जि. अ.त.मा लगत दिनु ........२
इन्साफ उल्टीमा मा.न्या. श्री केदारनाथ उपाध्याय र मा.न्या. श्री हरिप्रसाद शर्माको उल्टीमा रेकर्ड राख्नु ...३,
नियम बमोजिम गरी मिसिल बुझाई दिनु .....४
उक्त रायमा म सहमत छु ।
न्या. बब्बरप्रसाद सिंह
इति सम्वत् २०४६ साल भाद्र २८ गते रोज ४ शुभम् ।