निर्णय नं. ६८५२ - लागू औषध

निर्णय नं. ६८५२ ने.का.प. २०५७ अङ्क २
पूर्ण इजलास
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
माननीय न्यायाधीश श्री अरबिन्दनाथ आचार्य
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
सम्वत २०५५ सालको फौ.पु.इ.नं. २४, २५, २६
फैसला मितिः २०५६।१०।६।५
मुद्दाः लागू औषध ।
पुनरावेदक/ प्रतिवादीः झापा जिल्ला, धुलाबारी गा.वि.स. वडा नं.९ घर भई हाल केन्द्रीय कारागार त्रिपुरेश्वर थुनामा रहेको मेघनाथ रावत
विरुद्ध
विपक्षी/वादीः प्रहरी प्रतिवेदनले श्री ५ को सरकार
पुनरावेदक/प्रतिवादीः अर्घाखाँची जिल्ला, दाङ खिदिम गा.वि.स. वडा नं.३ घर भई हाल केन्द्रीय कारागारमा थुनामा रहेको खिमबहादुर थापा
विरुद्ध
विपक्षी/वादीः प्रहरी प्रतिवेदनले श्री ५ को सरकार
पुनरावेदक/प्रतिवादीः जिल्ला ओखलढुंगा, श्यामल्टार गा.वि.स. घर भई हाल का.जि.सदरखोर शाखा डिल्लीबजारमा थुनामा रहेका रतन प्रधान
विरुद्ध
विपक्षी/वादीः प्रहरी प्रतिवेदनले श्री ५ को सरकार
§ लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ ले कुनै व्यक्तिका साथमा कुनै लागू औषध भएको फेला परेको त्यस्तो पदार्थ निजले कानून बमोजिम प्राप्त गरेको वा राखेको हो, भन्ने कुराको प्रमाण निजले नै पेश गर्नुपर्ने, अन्यथा अपराध गरेको मानिने छ भनी उल्लेख भएको सन्दर्भमा बरामदी मुचुल्का, सो मुचुल्काका व्यक्तिहरुले अदालत समक्ष गरेको बकपत्र र प्रतिवादी रतन प्रधान स्वयंले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानका आधारमा निज प्रतिवादीबाट लागू औषध सेतो हेरोइन ६३५ ग्राम बरामद भएको भन्ने कुरा पुष्टि भएको हुँदा निज रतन प्रधानका हकमा लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(छ)(३) अनुसार १५ वर्ष कैद र ५ लाख रुपैँया जरिवाना गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसलालाई नै सदर गरेको संयुक्त इजलासको इन्साफ मिलेकै देखिँदा सो हदसम्म सदर हुने ।
(प्र.नं.२६)
§ लागू औषध (नियन्त्रण) ऐनको दफा १७ मा लागू औषध (नियन्त्रण) ऐन अन्तर्गत सजाय हुने अपराध गर्ने षडयन्त्र वा उद्योग गर्ने, त्यस्तो अपराध गर्न अरुलाई दुरुत्साहन गरे वापत हुने सजायको आधी सजाय हुनेछ भनी व्यवस्था भै रहेको र निज मेघराज राउत प्रस्तुत मुद्दामा मतियारका रुपमा रहेको सन्दर्भमा निज मेघराज राउतका हकमा उक्त दफा १७ नं. आकर्षित हुने र आधी सजाय मात्र हुनेमा ऐ.दफा १४(१)(छ)(३) अनुसार सजाय गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै नदेखिने ।
(प्र.नं.२७)
§ अधिकार प्राप्त अधिकारी समक्षको बयान र सह-अभियुक्तहरुको पोलका अतिरिक्त निज खिम बहादुर थापाको संलग्नताको पुष्टि कहि कतैबाट भएको पाइदैँन । खिम बहादुर थापाको सँगसाथ वा निजको कोठाबाट लागू औषध बरामद भएको पनि देखिँदैन र त्यस्तो दावी अभियोजन पक्षले लिएको पनि छैन । यस स्थितिमा लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ को प्रमाणको भार सम्बन्धी व्यवस्था पनि निजको हकमा आकर्षित हुन सक्दैन । लागू औषधको बिक्री वितरण, खरिद, संचय र ओसार पसार जस्ता कार्यमा खिम बहादुर थापाको संलग्नता रहेको भन्ने कुरा स्थापित हुन नसकेको स्थितिमा अधिकार प्राप्त अधिकारी समक्ष कसूरमा सावित रहेको र सह-अभियुक्तहरुले प्रहरी समक्ष पोल गरेकै आधारमा मात्रै निजलाई लागू औषध (नियन्त्रण) ऐनको दफा ४ को (घ) र (च) को कसूर गरेको ठहर्याउनु न्यायोचित नदेखिँने ।
(प्र.नं. २८)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ताद्बय श्री आशिक रामकार्की र श्री हर्क भट्टराई विद्बान अधिवक्ता श्री हरिप्रसाद गेलाल, विद्बान अधिवक्ता श्री युवराज कोइराला
वादी श्री ५ को सरकार तर्फबाटः विद्बान सह-न्यायाधिवक्ता श्री नरेन्द्रकुमार पाठक
अवलम्बित नजिरः २०५६ सालको फौ.पु.इ.नं. २९ पुनरावेदक प्रतिवादी भरत घिमिरे विरुद्ध श्री ५ को सरकार भएको लागू औषध मुद्दा ।
फैसला
न्या.लक्ष्मणप्रसाद अर्यालः पुनरावेदन अदालत पाटनबाट मिति २०५४।१।१७।३ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत यस अदालतमा पुनरावेदन पर्न आई यस अदालत संयुक्त इजलासमा माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) अनुसार यस इजलास समक्ष पेश हुन आएको प्रस्त मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छः
2. प्रतिवादी रतन प्रधानको शरीर तथा झोला तलासी गर्दा ६३५ ग्राम लागू औषध बरामद भै मेघराज राउत समेत सोही अवस्थामा पक्राउ भएको ठीक साँचो हो भन्ने समेत व्यहोराको बरामदी मुचुल्का ।
3. रतन प्रधानको शरीर तथा निजले बोकेको झोला तलासी गर्दा ६ प्याकेट लागू औषध (सेतो हेरोइन) फेला परी तौल गर्दा ६३५ ग्राम भएको र निजको साथमा मेघराज समेत फेला परेकोले आवश्यक कारबाहीको लागि दाखिला गरेको भन्ने समेत व्यहोराको प्र.स.नि.प्रकाश सिलवाल समेतको तर्फबाट प्रस्तुत प्रतिवेदन ।
4. लागू औषध ६३५ ग्राम मध्ये प्रत्येक प्याकेटबाट ३, ३ ग्राम निकाली सिलबन्दी गरेको ठीक हो भन्ने मिति २०५१।४।४ को कागज ।
5. लागू औषध खरिद बिक्री गर्न हुदैन भन्ने थाहा थियो । प्रकाशले २०, २५ हजार र रतन प्रधानले पनि कमिशन दिने हुँदा दोहोरो कमिशनको लोभले रतन प्रधानको साथ लागि हिडेको हुँ भन्ने समेत व्यहोराको मेघराज राउतले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।
6. लागू औषध खरिद बिक्री गर्न हुदैन भन्ने थाहा थियो । म आफू बेरोजगारी भएको, लागू औषध सेतो हेरोइन बिक्री भएपछि कमिशन पाउने र प्रकाशले पनि २०, २५ हजार दिने कुरा गरेको र खिमबहादुर थापाबाट पनि कमिशन पाउने भएको हुँदा फाइदाको लोभले कार्य गरेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी रतन प्रधानले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।
7. रतन प्रधान, मेघराज राउत, खिम बहादुर थापा समेतले लागू औषध सेतो हेरोइन खरिद बिक्री समेतको कारोबार गर्ने हुन भन्ने सुनेको हुँ भन्ने समेत व्यहोराको सर्जमिन मुचुल्का ।
8. मिति २०५१।४।४ गतेका दिन मेघराज राउत, रतन प्रधान समेतलाई लागू औषध सेतो हेरोइन ६३५ ग्राम सहित पक्राउ गरेको भन्ने बरामदी मुचुल्का समेत देखिँदा सो लागू औषध रोनाष्टबाट जाँच गराउदा हेरोइन हो भनी जाँच प्रतिवेदन प्राप्त भएको आधार प्रमाणबाट अभियुक्त रतन प्रधान, मेघराज राउत तथा खिमबहादुर थापा समेतले अवैध लागू औषध६३५ ग्राम खरिद बिक्री गरी लागू औषध नियन्त्रण ऐन, २०३३ (संशोधन सहित) को दफा ४ को खण्ड (घ)(च) अनुसार कसूर गरेको देखिएकोले निजहरु तीन जनालाई ऐ.ऐनको दफा १४(१) को खण्ड ६ को देहाय ३ नं. अनुसार सजाय हुन माग दावी लिइएको अभियोग पत्र ।
9. मिति २०५१।३।२६ गते बेलुकी ७ बजेतिर एउटा मारुती भ्यानमा मानिसहरु आई मलाई भ्यान भित्र राखी तपाईसँग केही कुरा सोधपुछ गर्नुछ भनी राखी प्लाष्टिकको पोका भएको सामान दिए र हनुमानढोका लगि २ दिनपछि प्रहरीले बयान गर भन्दा मैले के मा बयान गर्ने भनी भन्दा सामान तैले ल्याएको हो होइन भनी मलाई देखाएकोले यो मेरो होइन यो त मलाई तपाईहरुले नै राख्न दिएको हो भनेपछि मलाई कुटपिट गरी बयानमा सहि गराएको हो भन्ने समेत व्यहोराको प्रतिवादी रतन प्रधानले अदालतमा गरेको बयान ।
10. म २०५१।३।२३ मा पाटन क्याम्पसबाट वि.ए.को परीक्षा सकी आएको र बेलुकी अली अली मादक पदार्थ सेवन गरेको थिए । बेलुकी ८ बजेतिर प्रहरीको भ्यान आई डिल्लीबजारबाट पक्राउ गरी मादक पदार्थ सेवन गरेकोमा हनुमानढोका लगी थुनी राखे, लागू औषध सम्बन्धमा मलाई केही थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी मेघराज राउतले अदालतमा गरेको बयान ।
11. प्रतिवादीहरुका साक्षीहरु र बरामदी मुचुल्काका मानिसहरुले गरेको बकपत्र मिसिल सामेल रहेको ।
12. प्रतिवादीहरुले अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा आफूहरुले लागू औषधको कारोबार गरेको कुरा स्वीकारे भनी अदालत समक्ष उक्त बयानलाई इन्कारीबयान गरेको । बरामद भएको उक्त लागू औषध राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट समेत प्रमाणित भई बरामदी मुचुल्काका व्यक्तिहरुको बकपत्र समेतबाट प्रतिवादी रतन प्रधानबाट लागू औषध सेतो हेरोइन ६३५ ग्राम बरामद भएको कुरा पुष्टि हुन आएको हुँदा निज रतन प्रधानलाई ऐ.ऐनको दफा १४(१)(छ)(३) ले १५ वर्ष कैद र रु.५,००,०००।– जरिवाना हुने ठहर्छ । साथै प्रतिवादी मेघराज राउतले ऐ.ऐनको दफा १७ को कसूर गरेको देखिँदा निजालाई ऐ.ऐनको दफा १७ ले ७ वर्ष ६ महिना कैद र २,५०,०००।– जरिवाना हुने ठहर्छ । प्रतिवादी मध्येका खिमबहादुर थापाले ऐ.ऐनको दफा १७ को कसूर गरेको हुँदा ऐ.ऐनको दफा १७ ले ७ वर्ष ६ महिना कैद र २,५०,०००।– रुपैया जरिवाना हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतबाट मिति २०५२।१०।४ मा भएको फैसला ।
13. काठमाडौं जिल्ला अदाललते गरेको फैसलामा चित्त बुझेन । उक्त त्रुटिपूर्ण फैसला वदर गरी सफाई पाउँभन्ने समेत व्यहोराको प्रतिवादी मेघराज राउत, प्रतिवादी रतन प्रधान र प्रतिवादी खिम बहादुर थापाले पुनरावेदन अदालत पाटन ललितपुरमा गरेको छुट्टाछुट्टै पुनरावेदन ।
14. प्रतिवादी खिम बहादुर थापा र मेघराज राउतलाई मतियारको संज्ञा दिई आंशिक सजाय गर्ने गरेको फैसला त्रुटिपूर्ण छ । शुरु अभियोग दावी बमोजिम हदै सम्मको सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट पुनरावेदन अदालत पाटन ललितपुरमा परेको पुनरावेदन ।
15. प्रतिवादी खिम बहादुर थापाबाट लागू औषध रतन प्रधानले लिएको परिप्रेक्ष्यमा खिम बहादुर थापालाई मतियार कायम गरेको शुरु जिल्ला अदालतको फैसला विचारणीय हुँदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनबाट मिति २०५३।५।४ मा भएको आदेश ।
16. लगाउको फौ.पु.नं. १२२२, १२६८ र १२७० को मुद्दाहरुमा विपक्षी श्री ५ को सरकारलाई झिकाउने मिति २०५३।५।४ मा आदेश भएपछि प्रतिवादीहरु मध्ये प्रतिवादी मेघराज राउत र प्रतिवादी खिमबहादुर थापालाई अ.वं.२०२ नं. बमोजिम झिकाउन कारागार शाखामा नै सूचना दिने भन्ने पुनरावेदन अदालत पाटन ललितपुरको मिति २०५३।१२।१९ को आदेश ।
17. प्र. रतन प्रधानको हकमा विचार गर्दा निजको प्रहरी समक्षको साविती बयानलाई अन्य स्वतन्त्र प्रमाण समेतले पुष्ट्याई गरेको र विशेषज्ञको राय समेतले वादी दावी समर्थन भईरहेको अवस्थामा दावी प्रमाणित भएको भन्न मिल्ने भएन, निजलाई अभियोग दावी बमोजिम १५ वर्ष कैद र ५ लाख रुपैया जरिवाना समेत गर्ने गरेको शुरु काठमाडौं जिल्ला अदालतको इन्साफ मिलेकै देखिँदा निजको हकमा सो इन्साफ सदर हुने ठहर्छ । अब प्रतिवादी खिम बहादुर थापा तथा मेघराज राउतका सम्बन्धमा विचार गर्दा निजहरु उपर एकै किसिमको सजाय माग दावी लिई अभियोग दायर भएको र मुद्दामा निजहरुको कार्य हेर्दा मुद्दाको शुरुवात वा कार्यारम्भ हुने मुख्य कारणी नै यी दुईजना देखिन्छन् । निजहरुको मौकाको साविती बयानलाई खण्डित हुने किसिमको निजहरुको साक्षीहरुको भनाई समेत रहेभएको पाइदैन । यी दुवै प्रतिवादीहरुलाई मतियार मात्र हुन भनी आधा मात्र सजाय गर्न मिल्ने भएन । अतः दुई प्रतिवादीहरुलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १७ अनुसार सजाय गर्ने गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसला मिलेको नदेखिँदा केही उल्टी भई दुवै प्रतिवादीलाई लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(छ)(३) नं. बमोजिम सहअभियुक्त प्र.रतन प्रधान सरह जनही तजविजी कैद वर्ष १५ र रु.५ लाखका दरले जरिवाना समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०५४।१।१७।३ मा पुनरावेदन अदालत पाटन ललितपुरबाट भएको फैसला ।
18. सर्वोच्च अदालतबाट प्रतिपादित कानूनी सिद्धान्त र मिसिल संलग्न रहेका तथ्यलाईएकातिर पन्छाई हचुवा निर्णयाधार उल्लेख गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला फौजदारीकानूनको सर्वमान्य सिद्धान्तको साथै प्रमाण ऐनको दफा ५४ को प्रतिकूल भएकोले सो फैसला वदर गरी सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी मेघराज रावतले यस अदालतमा गरेको पुनरावेदन ।
19. म पुनरावेदकको घरकोठाबाट लागू औषध बरामद भएको छैन न त मेरो शरीरबाट बरामद भएको नै देखिन्छ । मैले उक्त कारोबारको रकम लिए खाएको देखिएको पनि छैन । मेरो पहिलेको आचरणबाट त्यस प्रकारको काम कारबाही कही कतै नदेखिरहेको अवस्थामा मिसिल संलग्न तथ्य प्रमाणलाई अध्ययन नै नगरी हचुवाको भरमामनोगत रुपमा गरिएको पुनरावेदन अदालत पाटनको फैसलमा अ.वं. १८४, १८५ तथा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को व्यवस्था र न्यायिक सिद्धान्त समेतको पालना नगरिएकोले सो फैसला वदर गरी सफाई दिलाई पाउँ भन्ने समेत व्यहोराको खिमबहादुर थापाले यस अदालतमा गरेको पुनरावेदन ।
20. मेरो अदालतको बयान, साक्षीको बकपत्र, श्री ५ को सरकारका साक्षीहरुको विवादास्पद बकपत्र, कथित बरामदी मुचुल्काको वैधानिकता लगायतका कुराहरुको मूल्यांकन नै नगरी मेरो इच्छा विपरीत भएको अधिकार प्राप्त अधिकारीको बयान र गैरकानूनी तवरबाट भएको बरामदी मुचुल्का बमोजिमको कारणबाट मात्र लागू औषध जस्तो गम्भीर मुद्दामा १५ वर्ष कैद र ५ लाख रुपैया जरिवाना ठहराउनु कानूनी न्याय र न्यायका मान्य सिद्धान्तहरु विपरीत हुँदा शुरु का.जि.अ. को फैसला त्रुटिपूर्ण भै वदरभागी हुँदा वदर गरी न्याय पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी रतन प्रधानले यस अदालतमा गरेको पुनरावेदन ।
21. यसमा मिति २०५१।४।४ मा पक्राउ पर्नेहरु मध्ये रतन प्रधानबाट सम्म लागू औषध बरामद भएको मेघराजबाट बरामद नभएको भनी मुचुल्कामा उल्लेख भईरहेको देखिने । विराटनगर घर भएका गौतम भन्ने व्यक्तिको प्रहरीबाट वतन खुलाई दावी लिन वा हाल निजलाई उपस्थित गराई वादी दावी समर्थन गराउन सकेको नदेखिएको तथा प्रकाश नाम भएका व्यक्तिको हकमा प्रहरीबाट कुनै कुरा खुलाउन सकेको नदेखिने र अदालतबाट बुझ्ने सम्मको प्रकृया अपनाएको समेत नदेखिने र लागू औषध राख्ने भनिएका प्र.खिमबहादुर थापाबाट प्रहरीले बरामद गरेको दावी लिन सकेको समेत नदेखिने अवस्थामा शुरु का.जि.अ. बाट प्र.मध्येका खिमबहादुर र मेघराजलाई मतियार कायम भएको फैसला उल्टाई प्रत्यर्थी तिनै जवानलाई लागू औषध नियन्त्रण ऐन, २०३३ (संशोधन सहित) को दफा १४(१)(छ)(३) बमोजिम सजायगरेको पुनरावेदन अदालत पाटनको फैसला फरक पर्ने देखिँदा अ.वं. २०२ नं. बमोजिम छलफलको निमित्त उपस्थित हुन महान्यायाधिवक्ताको कार्यालयलाई जानकारी दिई नियमानुसार गरी पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०५५।४।११।२ मा यस अदालत संयुक्त इजलासबाट भएको आदेश ।
22. सर्वप्रथम रतन प्रधानको हकमा विचार गर्दा निज उपर लागू औषध(नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय (घ) र (च) को कसुर आरोपित गरिएको उक्त दफा ४ को (घ) मा लागू औषधको बिक्री वितरण गर्न र ऐ.४(च) मा लागू औषध खरिद गर्ने, संचय गर्ने राख्ने वा ओसार पसार गर्नेभन्ने उल्लेख भएको पाइएकोले पुनरावेदन अदालत पाटनले निजलाई लागू औषधको बिक्री वितरण गरेको भन्ने समेत ठहर गरेको हदसम्मको उक्त फैसला मनासिव मान्न मिलेन । जहाँसम्म निजलाई पुनरावेदन अदालत पाटनले दफा ४(च) अनुसारको कसूर समेत कायम गरी सजाय गरेको छ सो सम्बन्धमा भने निज रतन प्रधान सँगबाट ६३५ ग्राम लागू औषध बरामद भएको कुरा मिसिल संलग्न कागजातहरुबाट पुष्टि समर्थन भै रहेकै हुँदा निजलाई लागू औषध(नियन्त्रण) ऐन, २०३३ को दफा ४(च) अनुसार खरिद गर्ने, संचय गर्ने, राख्ने, ओसार पसार गर्ने समेत कार्यका लागि आरोपित सजाय हुनु पर्ने नै देखिन्छ । सो कसूरको सम्बन्धमा सजायको व्यवस्था हेरिदा ऐ.ऐनको दफा १४(१) को देहाय (छ)(३) मा १०० ग्राम देखि माथि जतिसुकै कारोबार गर्नेलाई १५ वर्ष देखि २० वर्ष कैद एवं ५ लाख देखि २५ लाख सम्म जरिवाना हुने भएकाले निजको साथबाट ६३५ ग्राम बरामद भएकाले निजलाई पुनरावेदन अदालत पाटनबाट १५ वर्ष कैद तथा ५ लाख जरिवाना गर्ने गरी भएको फैसलामा कुनै परिवर्तन गरिरहनु नपर्ने भै सोही हदसम्म पुनरावेदन अदालत पाटनले गरेको फैसला मनासिव ठहर्छ । अब प्रतिवादी मेघराज राउतको सम्बन्धमा विचार गर्दा अपराधको मात्रा हेर्दा प्र.मेघराज राउतले लागू औषध बिक्री वितरण पनि नगरेको, लागू औषधको खरिद गर्ने, संचय गर्ने, राख्ने वा ओसार पसार गर्ने कार्य गरे भएको भन्ने कुरा स्पष्ट नदेखिएको एवं निजले सो कसूर गर्नका लागि षड्यन्त्र वा उद्योग दुरुत्साहन गर्ने वा मतियार हुने कार्य समेत गरे भएको नदेखिएको स्थितिमा निजले अधिकार प्राप्त अधिकारी समक्ष प्र.रतन प्रधानले बरामद लागू औषध बिक्री गराएको खण्डमा कमिशन दिन्छु भनी र खरिद गर्ने भनिएका प्रकाश भन्ने व्यक्तिले पनि खरिद गरे वापत छुट्टै २०।२५ हजार कमिशन दिन्छु भनेपछि निज प्रकाश भन्ने व्यक्तिलाई रतन प्रधानसँग ल्याई चिनाई कुराकानी भै रहेको अवस्थामा रतन प्रधानसँगबाट लागू औषध बरामद भएकोभन्ने कुरा देखिएकोले निज मेघराज राउतलाई लागू औषध(नियन्त्रण) ऐन, २०३३ को दफा १४ को उपदफा (१) को (झ) अनुसार कैद वर्ष ५ तथा रु.१,००,०००।– जरिवाना हुने ठहर्छ । त्यस्तै प्रतिवादी खिमबहादुरको हकमा हेर्दा निजले प्रहरीमा बयान गर्दा छोराको उपचारार्थ पैसा पाउने उद्देश्यले गौतम भन्नेको घरमा गै गौतम भन्ने व्यक्तिले बरामद भएको लागू औषध ल्याई दिएको भन्ने र प्रतिवादी रतन प्रधान तथा मेघराज रावतले प्रहरी समक्ष बयान गर्दा निजलाई पोल गरी दिएको कारणबाट मात्र पुनरावेदनअदालत पाटनबाट निजलाई आरोपित कसूर गरेको ठहर गरी सजाय गरेको पाइन्छ । लागू औषध बराद भएको देखिदैन । लागू औषध बरामदको अवस्थामा सो स्थानमा निज रहेको पनि देखिदैन । अदालत समक्ष बयान गर्दा इन्कार रहेको पाइन्छ । प्र. रतन प्रधान र मेघराज रावतले अदालत समक्ष बयान गर्दा यी प्र.खिमबहादुर थापालाई चिन्दिन भनी बयानगरेको पाइन्छ । यस्तो स्थितिमा निज खिमबहादुर थापालाई पुनरावेदन अदालत पाटनबाट लागू औषध(नियन्त्रण) ऐन, २०३३ को दफा ४(घ) र (च) को कसूरमा ऐ.को दफा १४(१) को (छ)(३) अनुसार सजाय ठहर गरेको मिलेको नदेखिदा निजले सफाईपाउने ठहर्छ । सहयोगी माननीय न्यायाधीश श्री इन्द्राराज पाण्डेज्यूले पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गर्ने गरी भएको रायसँग सहमत हुन नसकेकाले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमापेशगर्नु भन्ने समेत व्यहोराको माननीइ न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय ।
23. अदालत बयान गर्दा आफूलाई प्रहरीले कुटपीट गरी बयानमा सही गराएका हुन भनी भनेतापनि सोही अवस्थामा शरीरको कुन कुनठाउँमा कुटपिट गरिएको हो घाउ देखाउन तथा घा जाँचको माग गर्न सकेको नदेखिएको निज रतन प्रधानबाट बरामद भएको लागू औषध, लागू औषध(नियन्त्रण) ऐन, २०३३ को दफा १२ बमोजिम लागू औषध नियन्त्रण ऐन एवं सो अन्तर्गत बनेको नियम वा जारी भएको आदेश बमोजिम प्राप्त गरेको वा राखेको हो भन्ने कुराको प्रमाण पशे गरी प्रमाणित गर्न नसकेको बरामदी मुचुल्कामा रोहवरमा रहेका लागू औषध अधिकारी प्र.ना.नि.अर्जुनबहादुर खड्का तथा बरामदी मुचुल्काको काम तामेल गर्ने मध्येका प्र.ज.ईश्वरमान देउलाले बरामद भएको लागू औषध प्र.रतन प्रधानकै साथबाटै बरामद भएको हो भनी अदालत समक्ष गरी दिएको किटानी बकपत्रको आधारबाट निज प्रतिवादी रतन प्रधानलाई आरोपित कसूरमा लागू औषध(नियन्त्रण) ऐन, २०३३ को दफा ४(घ) र (च) को कसूरमा ऐ.को १४(१)(छ)(३) अनुसार सजाय ठहर गर्ने गरी र प्रतिवादी मेघराज राउतको हकमा हेर्दा बरामद लागू औषध सेतो हेरोइन ६३५ ग्राम प्र. रतन प्रधानबाट बरामद हुँदाको अवस्था निज एकै ठाउँमा सँग साथ रही बरामदी मुचुल्कामा सहिछाप समेत गरेको देखिएको, अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा बरामद लागू औषध सेतो हेरोइन ६३५ ग्राम म समेतले बिक्रीको लागि लिई हिडेको रतन प्रधानको साथबाट बरामद भएको भनी बयान गरेको, सह-अभियुक्तहरुको अधिकार प्राप्त अधिकारी समक्षको बयानमा निजलाई पोल गरिएको, अदालत समक्ष निज मेघराज राउतले बयान गर्दा अधिकार प्राप्त अधिकारीले इच्छा विरुद्ध बयान गराएको भन्ने उल्लेख गरी बयान गरेको भएतापनि सोको तथ्ययुक्त आधार देखाई प्रमाणित गर्न नसकेको स्थितिमा शिर्फ निज मेघराज राउत अदालत समक्ष बयान गर्दा इन्कार रही सो बयान समर्थन गर्ने गरी आफ्नो पक्षको साक्षीको बकपत्र गराएको भएतापनि मिसिल संलग्न अन्य प्रमाणबाट समर्थित भैरहेको स्थितिमा पुनरावेदन जिकिर बमोजिम सफाई वा कम सजाय हुने अवस्था देखिन आउदैन । अभियोग माग दावी बमोजिम कसूर सजाय ठहर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेकै देखिन आउँछ । त्यस्तै प्रतिवादी खिमबहादुर थापाका हकमा हेर्दा, निज प्र.खिमबहादुर थापाले अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा बरामद लागू औषध आफूले गौतम भन्ने व्यक्तिबाट बिक्रीको लागि ल्याएकोमा बिक्री गर्नका लागि रतन प्रधानलाई दिएको हुँ भनी बयान गरेको पाइन्छ । निज प्र.खिमबहादुर अदालत समक्ष बयान गर्दा अधिकार प्राप्त अधिकारी समक्ष आफुले बयान गर्नु पूर्व प्रहरीले कुटपिट गरेको हेर्नका लागि पावरवाल चश्मा चाहिनेमा सो समेत लगाउन नदिई जवरजस्ती सही गराएको भनी बयान गरेको भएतापनि सोको तथ्ययुक्त आधार देखाई प्रमाणित गर्न नसकेको आफ्नो सफाईका लागि कुनै आफ्नो तर्फबाट साक्षी प्रमाण प्रस्तुत गर्न सम्म पनि नसकेको स्थितिमा अदालत समक्ष ठोस आधार प्रमाण वेगर केवल इन्कारी बयानको आधारमा मात्र सफाई र कम सजाय गर्न समेत मिल्ने देखिन आउदैन । तसर्थ निजलाई समेत आरोपित कसूर सजाय हुने ठहर गरी पुनरावेदन अदालत पाटनबाट भएको इन्साफ मिलेकै देखिँदा मनासिव ठहर्छ । सहयोगी माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्यायज्यूले रतन प्रधानले कारोबार गर्ने ठहर नगर्ने गरी प्र.मेघराज राउतको हकमा कम सजाय गर्ने तथा खिमबहादुर थापाको हकमा सफाई पाउने गरी व्यक्त गर्नुभएको रायसँग म सहमत हुन नसकेकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम निर्णयार्थ पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डेको राय सहितको यस अदालत संयुक्त इजलासबाट मिति २०५५।९।९।५ मा भएको फैसला ।
24. नियम बमोजिम पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको सम्पूर्ण मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादी मेघराज राउतका तर्फबाट उपस्थित विद्बान अधिवक्ताद्बय श्री आशिकराम कार्की र श्री हर्क भट्टराईले प्रहरी समक्षको सावित्री बयानलाई अन्य प्रमाणहरुले पुष्टि नरेसम्म प्रमाणमा लिन मिल्दैन, बरामदी मुचुल्काका मानिस लक्ष्मी सुन्दरको बकपत्रबाट पनि मेघराज राउतलाई रतन प्रधानसँगै पक्राउ गरिएको भन्ने कुरा खण्डित भएको छ मेघराजको साथबाट लागू औषध बरामद भएको पनि छैन । अधिकार प्राप्त अधिकारी समक्षको बयान र सहअभियुक्तको पोलका आधारमा मात्रै अभियोग प्रमाणित हुन नसक्ने र शंकाको सुविधा अभियुक्तले पाउँछ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त समेतको आधारमा मेघराज राउतले सफाई पाउनु पर्छ भनी र अर्का पुनरावेदक प्रतिवादी खिमबहादुर थापाका तर्फबाट रहनु भएका विद्बान अधिवक्ता श्री हरिप्रसाद गेलालले लागू औषधको कारोबारमा खिमबहादुर थापाको संलग्नता कही कतैबाट पुष्टि भएको छैन न त निजको घर डेराबाट नै लागू औषध बरामद भएको अवस्था छ रतन प्रधान स्वयंले नै खिमबहादुरलाई चिनेको छैन भनी बयान गरेको अवस्थामा अपराधको श्रृंखलामा खिमबहादुर कही कतैबाट जोडिएको देखिदैँन । केवल प्रहरी समक्षको बयामा सावित भएकै आधारमा कसूरदार ठहर गर्न मिल्ने होइन । शंकारहित तवरले अभियोग प्रमाणित गर्ने भार वादीको हो जसको अभावमा अभियुक्तले सफाई पाउछ तसर्थ निज खिमबहादुर थापाले सफाई पाउनु पर्छ भनी गर्नुभएको बहस जिकिर समेत सुनियो । साथै अर्का पुनरावेदक प्रतिवादी रतन प्रधानका तर्फबाट रहनु भएका विद्बान अधिवक्ता श्री युवराज कोइरालाले मुद्दाको उठान गर्ने बरामदी मुचुल्का नै रीतपूर्वकको छैन त्यस्तो वेरीतको मुचुल्काका आधारमा रतन प्रधानलाई कसूरदार ठहर्याउन मिल्दैन। बरामदी मुचुल्काका व्यक्तिहरुले अदालत समक्ष गरेको बयानबाट पनि बरामदी मुचुल्काको विश्वसनीयता खण्डित भएको छ । मुद्दाको उठान नै कानून विपरीतको हुँदा त्यसबाट अभियोग प्रमाणित हुन सक्दैन प्र.रतन प्रधानले सफाई पाउनु पर्छ भनी र वादी श्री ५ को सरकारका तर्फबाट उपस्थित विद्बान सह-न्यायाधिवक्ता श्री नरेन्द्र कुमार पाठकले रतन प्रधानबाट ६३५ ग्राम लागू औषध सेतो हेरोइन बरामद भएको कुरामा कही कतै विवाद छैन र मौकाको बरामदीमुचुल्काले समेत त्यसलाई संपुष्टि गरेको छ । मेघराज राउतलाई समेत रतन प्रधानसँग पक्राउ गरिएको कुरालाई स्वयं मेघराजले अधिकार प्राप्त अधिकारी समक्ष स्वीकार गरेका छन् । खिमबहादुर थापाबाट लागू औषध लिनेरतन प्रधानका हकमा कसूर प्रमाणित भै सकेपछि खिमबहादुरले अभियोग दावीबाट उन्मुक्त पाउन सक्ने अवस्था नै हुदैन । लागू औषध जस्तो वस्तु बरामद हुँदा सबै अपराधीहरु एकै साथ पक्राउ नपर्न पनि सक्दछन् । अपराधीहरु मध्ये कसैले लागू औषध संचय गर्ने, कसैले वितरण गर्ने, कसैले ओसार पसार गर्ने, कसैले बिक्री जस्ता कार्यहरुहुन्छन र ती सबैको कार्य कानून अनुसार दण्डनीय नै हुन्छ । सामान बरामद हुँदा सबै एकैसाथ थिएनन भन्ने मात्र आधारमा कसैलाई उन्मुक्ति प्रदान गर्न मिल्दैन । अपराधको श्रृंखलामा जोडिएका सबै अभियुक्तहरुले सजाय पाउनु पर्छ । अधिकार प्राप्त अधिकारी समक्षको साविती बयानलाई अन्य प्रमाणहरुले समेत संपुष्टि गरेको स्थितिमा त्यस्तो बयानलाई प्रमाण ग्राह्य होइन भन्न मिल्दैन । तसर्थ अभियोग दावी अनुसारको पुनरावेदन अदालत पाटनको फैसला सदर गरिनु पर्दछ भनी गर्नु भएको बहस जिकिर समेत सुनियो ।
25. उपर्युक्त बहस जिकिर समेत सुनी निर्णय तर्फ विचार गर्दा रतन प्रधानको शरीर तथा झोला तलासी गर्दा ६३५ ग्राम लागू औषध (सेतो हेरोइन) बरामद भएको र निजका साथमा मेघराज राउत समेत पक्राउ परेको भन्ने प्रहरी प्रतिवेदनबाट प्रस्तुत मुद्दाको उठान भएको पाइन्छ । रतन प्रधान, मेघराज राउत तथा खिम बहादुर थापा समेतले अवैध लागू औषध खरिद बिक्री गरी लागू औषध(नियन्त्रण) ऐन, २०३३ को दफा ४ को खण्ड (घ) र (च) अनुसार कसूर गरेको देखिएको भन्ने आधारमा निजहरुलाई ऐ.ऐनको दफा १४(१) को खण्ड (घ) को देहाय (३) अनुसारको सजायको माग दावी लिई अभियोग पत्र दायर भएकोमा शुरु जिल्ला अदालतबाट प्रतिवादी रतन प्रधानका हकमा अभियोग दावी अनुसार नै १५ वर्ष कैद रु.५,००,०००।- जरिवाना हुने ठहर गरी प्रतिवादीहरु मेघराज राउत र खिमबहादुर थापाको हकमा लागू औषध(नियन्त्रण) ऐन, २०३३ को दफा १७ अनुसार जनही ७ वर्ष ६ महिना कैद र २,५०,०००।– रुपैया जरिवाना हुने ठहर्याएको सो उपर वादी श्री ५ को सरकार र प्रतिवादीहरु समेतको दोहोरो पुनरावेदन परेकोमा पुनरावेदन अदालतबाट सबै प्रतिवादीहरुका हकमा अभियोग दावी अनुसार नै जनही १५ वर्ष कैद र रु.५,००,०००।- रुपैया जरिवाना हुने ठहर्याई फैसला भएको देखिन्छ । सो उपर प्रतिवादीहरुको यस अदालतमा पुनरावेदन परेकोमा यस अदालत संयुक्तइजलासमा पुनरावेदन अदालत पाटनबाट भएको फैसलालाई नै सदर गर्ने वा सोलाई केही उल्टी गर्ने भन्ने विषयमा माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी प्रस्तुत मुद्दा यस इजलास समक्ष पेश हुन आएको अवस्था छ ।
26. प्रतिवादी मध्येका रतन प्रधानका हकमा अभियोग माग दावी अनुसार नै लागू औषध (नियन्त्रण) ऐनको दफा १४(१)(छ)(३) बमोजिम १५ वर्ष कैद र ५ लाख जरिवाना गर्ने ठहर्याएको हदसम्म पुनरावेदन अदालत पाटनबाट भएको फैसलाका सम्बन्धमा संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच समेत मतैक्य रहेको देखिन्छ । निज प्रतिवादी रतन प्रधानका साथबाट लागू औषध सेतो हेरोइन ६३५ ग्राम बरामद भएको भन्ने कुरा बरामदी मुचुल्काबाट देखिएको छ । उक्त बरामदी मुचुल्कामा प्रतिवादी रतन प्रधान स्वयं समेत रोहवरमा बसेको र त्यसको समर्थनमा अधिकारप्राप्त अधिकारी समक्ष बयान गरेको पाइन्छ । बरामदी मुचुल्काका मानिस प्र.ज.ईश्वरमान देउला र प्र.स.नि.अर्जुन खडकाको अदालतमा भएको बकपत्र समेतबाट प्र.रतन प्रधानबाट ६३५ ग्राम सेतो हेरोइन बरामद भएको भन्ने कुरा पुष्टि भएको छ । निज प्रतिवादी कसूर गरेको कुरामा अदालत समक्ष इन्कारी रहेतापनि निजले आफ्नो निर्दोषिता प्रमाणित गर्न सकेको देखिदैँन । लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ ले कुनै व्यक्तिका साथमा कुनै लागू औषध भएको फैसला फेला परेको त्यस्तो पदार्थ निजले कानून बमोजिम प्राप्त गरेको वा राखेको हो, भन्ने कुराको प्रमाण निजले नै पेश गर्नुपर्ने, अन्यथा अपराध गरेको मानिने छ भनी उल्लेख भएको सन्दर्भमा बरामदी मुचुल्का, सो मुचुल्काका व्यक्तिहरुले अदालत समक्ष गरेको बकपत्र र प्रतिवादी रतन प्रधान स्वयंले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानका आधारमा निज प्रतिवादीबाट लागू औषध सेतो हेरोइन ६३५ ग्राम बरामद भएको भन्ने कुरा पुष्टि भएको हुँदा निज रतन प्रधानका हकमा लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(छ)(३) अनुसार १५ वर्ष कैद र ५ लाख रुपैँया जरिवाना गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसलालाई नै सदर गरेको संयुक्त इजलासको इन्साफ मिलेकै देखिँदा सो हदसम्म सदर हुने ठहर्छ।
27. अर्का प्रतिवादी मेघराज राउतको हकमा विचार गर्दा निज मेघराज रतन प्रधानसँगै पक्राउ परेको भन्ने कुरा बरामदी मुचुल्काका साथैनिज मेघराजले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानलाई समर्थित भएको । सह अभियुक्त रतन प्रधानले प्रहरी समक्ष बयान गर्दा समेत मेघराज आफूसँगै पक्राउ परेको व्यहोरा उल्लेख गरेका छन् । तर मेघराज राउतको संलग्नता भनेको रतन प्रधानसँग रहेको लागू औषध खरिद गर्ने व्यक्ति खोजी दिने सम्म मात्र सिमित रहेको भन्ने कुरा निज स्वयंका साथै रतन प्रधान समेतको अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानबाट देखिएको छ । यसरी प्रतिवादी मेघराज राउत लागू औषधको खरिद बिक्री, संचय, ओसार पसार तथा सेवन जस्ता कुरामा सोझै संलग्न भएको नभै लागू औषधको ग्राहक खोजी गरी त्यस्तो अपराधीक कार्यमा सहयोग पुर्याउने मतियारको रुपमा रहेको देखिन्छ । प्रस्तुत मुद्दामा कमिशनको लोभमा रतन प्रधानसँग रहेको लागू औषध सेतो हेरोइन खरिद गर्नका लागि प्रकाश भन्ने मानिसको खोजी गरी दुवै पक्ष बीच चिनाजानी गराई दिएको र खरिद बिक्रीको कुराकानी हुदै गरेको समयमा प्रहरीद्बारा पक्राउ परेको भन्ने कुरा मिसिलबाट देखिएको र लागू औषध खरिद कर्ताका रुपमा रहेका प्रकाश भन्ने व्यक्ति स्वयं पनि प्रहरी नै भएको भन्ने तथ्यबाट पनि मेघराज राउतको संलग्नता मतियारको रुपमा रहेको देखिन्छ । लागू औषध (नियन्त्रण) ऐनको दफा १७ मा लागू औषध (नियन्त्रण) ऐन अन्तर्गत सजाय हुने अपराध गर्ने, षडयन्त्र वा उद्योग गर्ने, त्यस्तो अपराध गर्न अरुलाई दुरुत्साहन गरे वापत हुने सजायको आधी सजाय हुनेछ भनी व्यवस्था भै रहेको र निज मेघराज राउत प्रस्तुत मुद्दामा मतियारका रुपमा रहेको सन्दर्भमा निज मेघराज राउतका हकमा उक्त दफा १७ नं. आकर्षित हुने र आधी सजाय मात्र हुनेमा ऐ.दफा १४(१)(छ)(३) अनुसार सजाय गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिएन । अतः निज मेघराज राउतलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १७ अनुसार ७ वर्ष ६ महिना कैद र रु.२,५०,०००।– जरिवाना हुने ठहराएको शुरु काठमाडौं जिल्ला अदालतको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ ।
28. अब अर्का प्रतिवादी खिमबहादुर थापाको हकमा विचार गर्दा निज खिमबहादुर थापा लागू औषध बरामद हुँदाका बखत प्रतिवादी रतन प्रधान र मेघराज राउतसँगै पक्राउ भएका देखिदैन र निजको नाम प्र.स.नि. प्रकाश सिलवालको मिति ०५१।४।१४ को प्रतिवेदनमा समेत उल्लेख छैन । पक्राउ परेका प्रतिवादीहरुले अधिकारप्राप्त अधिकारी समक्ष गरेको बयानका क्रममा खिमबहादुर थापा समेत लागू औषधको बिक्री वितरणमा संलग्न रहेको भनी पोलेको आधारमा निजलाई पक्राउ गरिएको देखिन्छ । अधिकार प्राप्त अधिकारी समक्षको बयानमा खिमबहादुर थापा समेत कसूर गरेको कुरामा सावित रहेको देखिन्छ । निजले अदालत समक्ष बयान गर्दा आफूले रतन प्रधान र मेघराज राउतलाई नचिनेको र आफू लागू औषधको कारोबारमा संलग्न नरहेको भनी प्रहरी समक्षको बयानलाई खण्डन गरेको र प्र.रतन प्रधान र मेघराज राउतले अदालत समक्ष उपस्थित भै गरेको बयानमा पनि खिमबहादुर थापालाई आफूहरुले नचिनेको भन्ने कुरा उल्लेख गरेको पाइन्छ । अधिकार प्राप्त अधिकारी समक्षको बयान र सह-अभियुक्तहरुको पोलका अतिरिक्त निज खिम बहादुर थापाको संलग्नताको पुष्टि कहि कतैबाट भएको पाइदैँन । खिम बहादुर थापाको सँगसाथ वा निजको कोठाबाट लागू औषध बरामद भएको पनि देखिँदैन र त्यस्तो दावी अभियोजन पक्षले लिएको पनि छैन । यस स्थितिमा लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ को प्रमाणको भार सम्बन्धी व्यवस्था पनि निजको हकमा आकर्षित हुन सक्दैन । लागू औषधको बिक्री वितरण, खरिद, संचय र ओसार पसार जस्ता कार्यमा खिम बहादुर थापाको संलग्नता रहेको भन्ने कुरा स्थापित हुन नसकेको स्थितिमा अधिकार प्राप्त अधिकारी समक्ष कसूरमा सावित रहेको र सह-अभियुक्तहरुले प्रहरी समक्ष पोल गरेकै आधारमा मात्रै निजलाई लागू औषध (नियन्त्रण) ऐनको दफा ४ को (घ) र (च) को कसूर गरेको ठहर्याउनु न्यायोचित देखिदैन । बरामद भएको लागू औषध निज खिमबहादुर थापाको घरबाटै ल्याएको हो भन्ने तथ्यको पुष्टि कुनै वस्तुगत ठोस प्रमाणबाट हुन नसकेको स्थितिमा २०५६ सालको फौ.पू.ई.नं. २९ पुनरावेदक प्रतिवादी भरत घिमिरे विरुद्ध श्री ५ को सरकार भएको लागू औषध मुद्दामा यस अदालत पूर्ण इजलासबाट मिति २०५६।६।६ मा भएको फैसलाबाट प्रतिपादित सिद्धान्त समेतका आधारमा निज खिमबहादुर थापालाई कसूरदार कायम गर्न नमिल्ने हुँदा निजलाई ऐ.ऐनको दफा १७ अनुसार आधा सजाय गर्ने ठहर्याएको काठमाडौं जिल्ला अदालतको फैसला र अभियोग दावी अनुसार ऐ.दफा १४(१)(छ)(३) अनुसार पन्ध्रवर्ष कैद र ५ लाख रुपैया जरिवाना हुने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको नदेखिँदा सो हदसम्म उल्टी भै निज खिमबहादुर थापाले अभियोग दावीबाट सफाई पाउने ठहर्याएको माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय सो हदसम्म मनासिव ठहर्छ । अरुमा तपसील बमोजिम गर्नु ।
तपसिल
पुनरावेदक प्रतिवादी मेघराज राउतके, माथि इन्साफ खण्डमा लेखिए बमोजिम लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १७ अनुसार ७ वर्ष ६ महिना कैद र २,५०,०००।- रुपैया जरिवाना गर्ने गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसला सदर हुने ठहरेकाले निज प्रतिवादी मेघराज राउतका हकमा पुनरावेदन अदालत पाटनको फैसला बमोजिम राखिएको लगत कायम नरहने हुँदा उक्त लगत कट्टा गरी शुरु काठमाडौं जिल्ला अदालतको फैसला बमोजिमको लगत राख्नु भनी शुरुमा लेखी पठाई दिनु................१
पुनरावेदन प्रतिवादी खिमबहादुर थापाके, माथि इन्साफ खण्डमा लेखिए बमोजिम निजले आरोपित कसूरबाट सफाई पाउने ठहरेकाले निज खिमबहादुर थापाको हकमा पुनरावेदन अदालत पाटनको फैसला बमोजिम राखिएको लगत कायम नरहेने हुँदा उक्त लगत कट्टा गर्नु भनी शुरुमा लेखी पठाई दिनु ..................२
दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाईदिनु...........३
उपयुक्त रायमा सहमत छौ ।
न्या.अरबिन्दनाथ आचार्य
न्या.उदयराज उपाध्याय
इति सम्वत २०५६ साल माघ ६ गते रोज ५ शुभम्...........