शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६८५४ - अंश चलन

भाग: ४२ साल: २०५७ महिना: जेष्ठ अंक:

निर्णय नं. ६८५४       ने.का.. २०५७         अङ्क २

पूर्ण इजलास

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

माननीय न्यायाधीश श्री हरिश्‍चन्द्र प्रसाद उपाध्याय

सम्वत २०५५ सालको  दे.पु..नं. ..... १३७

फैसला मितिः २०५६।९।१५।५

मुद्दाः   अंश चलन ।

पुनरावेदक/वादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३१ बस्ने भरतराज जोशी

विरुद्ध

प्रत्यर्थी/प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३३ बस्ने ज्ञानुबाबा जोशी समेत

 

§  प्रस्तुत अंश मुद्दाबाट वादी र प्रतिवादीहरु बीच ०४७।१।१९ मा मात्र मानु छुट्टिएको मिति कायम भएको देखिन आउँछ । मानो छुट्टिएको मितिको सम्बन्धमा पक्ष विपक्ष बीच विरोध नभएकोले सो अवधि सम्म निजहरु सगोलमै रहेभएको अवस्था देखिन आयो । संगोलमा रहँदाको अवस्थामा घर बनेकोले त्यस्तो घर सम्पत्तिमा निजी सम्पत्ति हो भन्‍न सकिने प्रमाणको अभावमा संगोलका अंशियारहरुको भाग लाग्ने नै देखियो । तसर्थ विवादको कि.नं.४७८ को जग्गामा बनेको घरमा ५ भागको १ भाग वादीले अंश पाउने ठहर्छ । विवादीत जग्गामा बनेको घर वण्डा लाग्ने ठहर्‍याएको पुनरावेदन अदालतको फैसला केही उल्टी गरेको यस अदालत संयुक्त इजलासको मिति ०५२।१०।२४ को फैसला नमिलेको हुँदा सो हदसम्म केही उल्टी भै अरु सदर हुने ।

(प्र.नं.१५)

 

पुनरावेदक वादी तर्फबाटः विद्बान वरिष्ठ अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल र विद्बान अधिवक्ताद्बय श्री प्रकाश वस्तीतथा श्रीबालकृष्ण न्यौपाने

प्रत्यर्थी प्रतिवादी ज्ञानुबाबा जोशी समेतको तर्फबाटः विद्बान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्बान अधिवक्ताद्बय श्री बसन्तराज भण्डारी तथा श्री यज्ञमूर्ति बन्जाडे

अवलम्बित नजिरः X

फैसला

न्या.कृष्णजंग रायमाझीः यस अदालत संयुक्त इजलासको मिति २०५२।१०।२४ को फैसला उपर परेको निवेदनमा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३()() बमोजिम सम्माननीय प्रधान न्यायाधीशको आदेशानुसार पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छः

2.          विपक्षी मध्येका वासुदेव राज जोशी मेरो पिता हुनुहुन्छ । निज पिताजीको दुई श्रीमतीमा जेठी मेरो आमा गणेश कुमारी र कान्छी विपक्षी ज्ञानुबाबा जोशी भएकोमा आमा गणेश कुमारीबाट म फिराद एक छोरा दुई छोरी मात्र जायजन्म भएपछि २००९ सालमा आमा परलोक हुनुभएपछि २०१३ सालमा विपक्षी सौतेनीआमालाई पिताजीले विवाह गर्नु भै निज सौतेनी आमा ज्ञानुबाबाबाट  विजय राज, विश्‍व राज जोशी दुई छोरा तीन छोरी मात्र जायजन्म भएको छ । हामीहरुको बीच अंशवण्डा भएको छैन जो भएको चल अचल श्रीसम्पत्ति पिताजी र सौतेनी आमाको जिम्मामा सगोल मै छ । वण्डा गर्नुपर्ने अंशियार ५ जना मात्रै भएको, बाबुले सौतेनीआमालाई विवाह गरी ल्याएदेखि नै  म र मेरो श्रीमतीलाई पिता र सौतेनी आमाले खान लाउनमा हेला गर्दै  आउनु भए पनि सहेरै बसेका थियौ । श्रीमती भुवन जोशीले म समेत उपर अंश मुद्दा दायर गरिछन् र सो मुद्दाको म्याद पाएपछि आमाको कुरा सुनी उल्टै मलाई मिति २०५६।७।११ गतेका दिन म बसेको कोठामा ताला लगाई दिई घरबाट निकाला गरिदिएबाट बागबजारमा डेरा गरी बसेको छु । मेरो भाग अंश दिनु हवस भनी बाबु र सौतेनी आमासँग गई बराबर भन्दा अंश दिन्‍न जहाँ जे गर्नुपर्छ गर भन्‍ने जवाफ पाएको थिए जे भनेपनि सहेर बसेकोमा मिति २०४६।१२।३० का दिन तलाई एक टुक्रा पनि अंश दिन्‍न भनी जवाफ दिएकोले बाध्य भै अदालतको शरणमा आएको छु । घर श्रीसम्पत्तिहरु र मेरो आमाको दाइजो पेवा समेत हिनामिना गर्न लागेको बुझिएकोले अंश वण्डाको २०,२१,२२,२३,२४ नं. बमोजिम विपक्षीहरुसँग चल अचल श्रीसम्पत्तिको तायदाती लिई ५ भागको १ भाग अंश छुट्‍याई दिलाई चलन समेत चलाई पाउँ भन्‍ने भरतराज जोशीको मिति २०४७।१।२० को फिराद पत्र ।

3.           सगोलको सम्पत्ति म ज्ञानुबाबाको जिम्मामा केही छैन र विश्‍वराज वर्षौ अघिदेखि अध्ययनको लागि सोभियत रुस गएकोले वादी दावी अन्यायपूर्ण छ । बासुदेवको भाई कृष्णराजले अंश नपाएको कुरा लुकाई म ज्ञानबाबाको निजी स्त्री धन अन्तर्गतको सम्पत्ति  समेतबाट अंश लिनपाउने उद्देश्‍यले गलत तथ्यमा आधारित दावीलिएको र बासुदेवले भाई कृष्णराजको भाग अंश छुट्‍याई मेरो भागमा पर्ने आधा पैतृक सम्पत्ति मध्येबाट ५ भागको १ भाग अंश दिन मन्जुर छ । वादीलाई मेरा नाममा भएको सम्पत्ति स्त्री अंशधन अन्तर्गतका सम्पत्तिबाट अंश पाउने कानूनी व्यवस्था छैन भन्‍ने समेत बासुदेवराज जोशी समेतको मिति २०४७।५।१४ को संयुक्त प्रतिउत्तर पत्र ।

4.         वादी दावी अनुसार पेश भए फाँटवारी अनुसारको सम्पत्तिबाट वादी दावी अनुसार ५ भागको १ भाग अंश पाउने ठहर्छ भनी मिति २०४९।९।१६ गते जिल्ला अदालत काठमाडौंले गरेको फैसला ।

5.          कि.नं. ४७८ को जग्गा र कि.नं. ८३ को जग्गा वण्डा नलाग्ने भनी काठमाडौं जिल्ला अदालतले गरेको फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म वदर गरी उक्त जग्गाहरु पनि वण्डा गरी पाउँ भन्‍ने समेत व्यहोराको वादी भरत राज जोशीको पुनरावेदन पत्र ।

6.           हाम्रो प्रतिउत्तर तथा तायदातीमा देखिए अनुसार विवाह नभएकाहरुको विवाह खर्च पर सार्नु पर्नेमा सो नगरी काठमाडौं जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी पाउँ भन्‍ने समेत व्यहोराको प्रतिवादी ज्ञानुबाबा जोशी समेतको संयुक्त पुनरावेदन पत्र ।

7.          कि.नं. ४७८ को जग्गा सगोलको नै देखिएको त्यस्तो सगोलको जग्गामा घर जोसुकैले सगोलको अंशियारले बनाए पनि निजी आर्जनबाट घर बनाएको प्रमाणको अभावमा घर पनि वण्डा लाग्ने हुँदा र प्रतिवादी पक्षबाट त्यस्तो निजी रकमको प्रयोगबाटघरबनेको स्पष्ट प्रमाण आउन नसकेको हुँदा सो कि.नं. ४७८ मा बनेकोघर पनि वण्डा लाग्ने नै देखिन आयो । बासुदेवको छोरा विश्‍वराज र छोरी रमा बाबा, उषा बाबाको विवाह खर्च पर सार्नु पर्नेमा सो तर्फ काठमाडौं जिल्ला अदालतबाट फैसला हुँदा केही नबोलेकोबाट सो त्रुटिपूर्ण हुन गएको छ । विश्‍वराज, रमाबाबा र उषा बाबाको विवाह खर्च पर सार्नुपर्ने नै देखिन आयो । अतः शुरु कठमाडौँ जिल्ला अदालतबाट कृष्णराजको हकमा निज आएको बखत कानून बमोजिम हुने नै हुँदा त्यसतर्फ हाललाई केही नबोली र कि.नं. ४७८ मा बनेको घर वण्डा लाग्ने गरी फैसला भएको हदसम्म मिलेकै हुँदा सो हदसम्म सदर हुने तर कि.नं. ४७८ को जग्गा र कि.नं. ८३ को जग्गा वण्डा नगरेको हदसम्म उक्त फैसला मिलेको देखिन नआई र विवाह गर्न बाँकी रहेकाहरुको विवाह खर्च पर नसारेको पनि नमिलेको सो विवाह खर्च परसारी उक्त कि.नं. ४७८ र कि.नं. ८३ को जग्गा समेतबाट वादीले प्रतिवादीहरुबाट ५ भागको १ भाग ‌अंश चलन समेत पाउने ठहरी शुरु जिल्ला अदालतको फैसला केही उल्टि हुने ठहर्छ भन्‍ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५१।३।१ को फैसला ।

8.         मैले ससुरा नरेन्द्रराजबाट दाइजो पेवाको रुपैयाबाट लिएको कि.नं. ४७८ को जग्गा र त्यसमा मेरो दाइजो पेवाबाट बनाएको घरमाअंशलाग्ने गरी भएको फैसला स्त्री अंशधनको ५ नं. विपरीत छ । अर्को तर्फ ज्ञानुबाबा जोशीले विष्णुप्रसादबाट बकसपत्रगरी निजी तवरले पाएको का..पा. वडा नं. () कि.नं. ८३ को जग्गाको हकमा अंशवण्डाको १८ नं. संशोधन पूर्व अर्थात २०३४।९।२७ पूर्व प्राप्त गरेको हुँदा वण्डा हुने भनिएको छ । स्वास्नीमानिसले कसैबाट निजी तवरले पाएको सम्पत्तिलाई दाइजो वा पेवा भनी सो वण्डा नहुने कुरा २०३४ सालको संशोधन पूर्वकै व्यवस्था हो । त्यसैले त्यस्तो सम्पत्ति समेत वण्डा गर्ने गरी गरेको फैसला स्त्री अंशधनको ४ नं. विपरीत हुँदा हदसम्म वदर गरी प्रतिउत्तर जिकिर बमोजिम गरी पाउँ भन्‍ने समेत व्यहोराको ज्ञानु जोशी समेतको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

9.          विपक्षीले विवाह नभएको भनी तायदातीमा उल्लेख गरेको मध्ये विश्‍वराज जोशीको २०४६ सालमानै सरिता जोशीसँग विवाह भै एक जना छोराको जायजन्म भएको छ भने रमाबाबा जोशीको पनि सोही सालमा किरण घिमिरेसँग विवाह भई एक छोराकोजायजन्म समेत भईसकेको छ । अब विवाह गर्न बाँकी उषाबाबा मात्र बाँकी छिन । तसर्थ विवाह खर्च पर नसार्नु पर्ने २ जनाको खर्च पर सारेको फैसला अंशवण्डाको १७नं. को विपरीत भई वदरभागी छ । विवाह नभएको उपबाबाको मात्र विवाह खर्च पर सारी न्याय पाउँ भन्‍ने समेत व्यहोराको भरतराज जोशीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

10.      कि.नं. ४७८ को जग्गा र सो मा ज्ञानुबाबाले नक्सा पास गरी बनाएको घरमा समेत वण्डा नलाग्ने हुँदा उक्त कि.नं. ४७८ को जग्गा र सो मा नक्सा पास गरी बनाएको घरसम्म वण्डा हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला उल्टी हुन्छ । साथै कृष्णराज आएपछि निजको हकमा कानून बमोजिम हुन सक्ने ठहर्‍याएको र पुनरावेदक प्रतिवादी ज्ञानुबाबाले विष्णु प्रसाद लामिछानेबाट मिति २०३३।११।१७ मा बकसपत्र पाएको भनेको कि.नं. ८३ को जग्गा मुलुकी ऐन सातौ संशोधन (२०३४।९।२७) भन्दा पूर्वको देखिएको र त्यस्तो सम्पत्ति जुनसुकै अंशियारको नाउँमा रहेको भएतापनि सबै अंशियारहरुको हक लाग्ने नै देखिँदा उक्त कि.नं.८३ बाट समेत वादीले अंश पाउने ठहर्‍याएको सम्म पुनरावेदन अदालतको फैसला मिलेकोदेखिँदा सो हदसम्म सदर हुने ठहर्छ भन्‍ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५२।१०।२४ को फैसला ।

11.       यस अदालतबाट मिति २०५२।१०।२४ मा भएको फैसलामा विभिन्‍न नजिरहरु सँग रुलिङ्ग बाझिएकोले पूर्ण इजलासबाट हेरी दिनु भन्‍ने आदेश पाउँ भन्‍ने समेत व्यहोराको वादीको मिति २०५४।१।१० मा पर्न आएको निवेदन पत्र ।

12.       प्रस्तुत मुद्दा नि.नं.३७०० पुनरावेदक वादी सुनामा देवी सुनारनी विरुद्ध रामेश्‍वरी देवी सुनारनी समेत भएको अंश मुद्दा र नि.नं. ५०२५ पुनरावेदक प्रतिवादी बेलकुमारी रोक्‍का विरुद्ध इन्द्रबहादुर रोक्‍का क्षेत्री भएको अंश मुद्दाको संयुक्त इजलासबाट प्रतिपादित नजिरसँग बाझिएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३()() बमोजिम पूर्ण इजलासको लगतमा पेश गर्नु भन्‍ने समेत व्यहोराको सम्माननीय प्रधान न्यायाधीशको मिति २०५४।१२।५ को आदेश ।

13.       नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा वादी भरतराज जोशीका तर्फबाट उपस्थित विद्बान वरिष्ठ अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल र विद्धान अधिवक्ताद्बय श्री बालकृष्ण न्यौपाने तथा श्री प्रकाश वस्तीले मुलुकी ऐन सातौ संशोधन अघि सगोलको परिवारमा रहेको व्यक्तिले जुनसुकै तरिकाबाट सम्पत्ति प्राप्त गरेको भएतापनि सो सम्पत्तिबाट सबै अंशियारले अंश पाउछन् । दाइजो पेवाबाट प्राप्त गरेको भन्‍ने आधारमा मात्र वण्डा नलाग्ने अवस्था हुदैन । दाइजो पेवा भनी लिखतमा लेखिने बित्तिकै वण्डा नलाग्ने भन्‍न मिल्दैन भन्‍ने सम्बन्धमा सर्वोच्च अदालतबाट सिद्धान्तहरु समेत प्रतिपादन भएका छन् । विवादित जग्गामा बनेको घर कुन श्रोतबाट बनाएको हो भनी विपक्षीले भन्‍न सकेकोछैन । ज्ञानुबाबाले २०२८ सालमा ससुराबाट पाएको लिखतमा वादीको पनि मन्जुरी हुनुपर्नेमा सो मन्जुरी रहेको देखिदैन । संयुक्त इजलासबाट भएको फैसला प्रतिपादन भईरहेको नजिरसँग रुलिङ्ग बाझिएको हुँदा वादीले विवादित सम्पत्तिबाट अंश पाउनु पर्छ भनी  बहस प्रस्तुत गर्नुभयो भने प्रतिवादी ज्ञानुबाबा जोशी समेतका तर्फबाट उपस्थित विद्बान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्बान अधिवक्ताद्बय श्री बसन्तराम भण्डारी तथा श्री यज्ञमूर्ति बन्जाडेले प्रस्तुत मुद्दामा पूर्ण इजलासबाट हेर्नेभनी प्रधान न्यायाधीशले आदेश गर्न मिल्ने होइन । विवादित जग्गा लिखत गरी दिएकोमा मुद्दा परी जालसाजी र लिखत वदर नहुने ठहरी फैसला अन्तिम भएर रहेपछि रुलिङ्ग बाझियो भन्‍न मिल्ने अवस्था रहदैन । मुद्दा चलिरहेको अवस्थामा मात्र प्रधान न्यायाधीशले पूर्ण इजलासमा पठाउने व्यवस्था ऐनले गरेको छ । अन्तिम भै सकेको फैसलामा प्रधान न्यायाधीशलाई प्रस्तुत मुद्दा पूर्ण इजलासमा पठाउने अधिकार छैन । मुलुकी ऐन अंशवण्डाको महलको १ नं. अनुसार नरेन्द्रराजकाअंशियार भरतराज नहुँदा लिखत गर्दाका अवस्थामानिजको मन्जुरी लिनु पर्ने अवस्था हुदैन । रुलिङ्ग बाझियो भनी उल्लेख भएको नजिरको तथ्य र विषयवस्तु प्रस्तुत मुद्दासँग नमिल्ने भएको हुँदा रुलिङ्ग बाझियो भनी भन्‍न मिल्दैन संयुक्त इजलासको फैसला अन्तिम हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।

14.      आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामाविद्बान कानून व्यवसायीहरुले गर्नुभएको बहस जिकिर समेतलाई ध्यानमा राखी मिसिल अध्ययन गरी निर्णय तर्फ विचार गर्दा विवादित कि.नं. ४७८ को जग्गा र सो मा बनेको घर सम्म वण्डा नलाग्ने ठहराएको यस अदालत संयुक्त इजलासको मिति २०५२।१०।२४ को फैसला उपर वादीको यस अदालतबाट प्रतिपादित भईरहेका नजिरहरु सँग बाझियो भनी परेको निवेदनमा प्रधान न्यायाधीशबाट मिति २०५४।१२।५ मा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३()() बमोजिम पूर्ण इजलासमा पेश गर्नु भनी आदेश भएबाट प्रस्तुत मुद्दा यस इजलास समक्ष पेश हुन आएको देखियो ।

15.      वादी भरतराज जोशीका बाजे नरेन्द्रराज जोशी र पिता वासुदेव राज जोशी भई प्रतिवादी ज्ञानुबाबा जोशी बासुदेवी कान्छीश्रीमती र नरेन्द्र राजकी बुहारी भएकोमाविवाद देखिदैन । विवादको कि.नं. ४७८ को जग्गा मिति २०२८।९।३ को घरायसी लिखतबाट नरेन्द्रराजले आफ्नो बुहारी ज्ञानुबाबा जोशीलाई छोरा बासुदेवलाई साक्षी राखी दाइजो पेवा मासे वापत हस्तान्तरण गरेको देखिन्छ । उक्त लिखत गरी दिँदाको अवस्थामा बाबु छोरा नरेन्द्रराज र बासुदेव दुई अंशियार भएका र दुवै अंशियारको मन्जुरीले उक्त लिखत भए गरेको देखिन आयो । नरेन्द्रराजले बुहारी ज्ञानुबाबालाई गरी दिएको लिखतलाई वादीका पिता वासुदेवले स्वीकार गरी साक्षी समेत बसेको र यी वादीले आफ्नो बाबुबाट अंश हकको दावी लिन पाउनेमा विवादित कि.नं. ४७८ को जग्गा हदमुनिको घरायसी लिखतबाट ज्ञानुबाबालाई हक छाडी दिँदा वादीकै बाबु साक्षीबसी सहमत भएपछि उक्त लिखत बमोजिमको कि.नं. ४७८ को जग्गामा वादीका बाबुले हक कायम रहेको तथा वादीको अंश हक हुने र वादीले वण्डा पाउने भन्‍न मिल्ने देखिएन । जहाँसम्म विवादित कि.नं. ४७८ को जग्गामा बनेको घर छ सो सम्बन्धमा प्रतिवादी ज्ञानुबाबाले दाइजो पेवाबाट २०४४ सालमा नक्सा पास गरी बनाएको भनी जिकिर रहेको देखिए पनि त्यसको सबूद प्रमाण प्रतिवादी पक्षबाट पुर्‍याउन सकेको देखिदैन । प्रस्तुत अंश मुद्दाबाट वादी र प्रतिवादीहरु बीच ०४७।१।१९ मा मात्र मानु छुट्टिएको मिति कायम भएको देखिन आउँछ । मानो छुट्टिएको मितिको सम्बन्धमा पक्ष विपक्ष बीच विरोध नभएकोले सो अवधिसम्म निजहरु सगोलमै रहेभएको अवस्था देखिन आयो । संगोलमा रहँदाको अवस्थामा घर बनेकोले त्यस्तो घर सम्पत्तिमा निजी सम्पत्ति हो भन्‍न सकिने प्रमाणको अभावमा संगोलका अंशियारहरुको भाग लाग्ने नै देखियो । तसर्थ विवादको कि.नं.४७८ को जग्गामा बनेको घरमा ५ भागको १ भाग वादीले अंश पाउने ठहर्छ । विवादीत जग्गामा बनेको घर वण्डा लाग्ने ठहर्‍याएको पुनरावेदन अदालतको फैसला केही उल्टी गरेको यस अदालत संयुक्त इजलासको मिति ०५२।१०।२४ को फैसला नमिलेको हुँदा सो हदसम्म केही उल्टी भै अरु सदर हुने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।

 

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम यस अदालत संयुक्त इजलासको फैसला केही उल्टी भै कि.नं. ४७८ को जग्गामा बनेको घरमा ५ भागको १ भाग वादीले अंश पाउने ठहरेकाले संयुक्त इजलासको मिति २०५२।१०।२४ को फैसलाले उक्त घरमा अंश नपाउने भनी राखेको लगत कट्टा गरी कि.नं. ४७८ को जग्गामा बनेको घरको ५ भागको १ भाग अंश छुट्‍याई चलन चलाई माग्न आए कानून बमोजिम चलन चलाई दिनु भनी शुरु काठमाडौं जिल्ला अदालतमा लगत राख्‍न लेखी पठाई दिनु...............

मिसिल नियमानुसार गरी बुझाई दिनु.............

 

उक्त रायमा हामी सहमत छौ ।

न्या.उदयराज उपाध्याय

न्या.हरिश्‍चन्द्र उपाध्याय

 

इति सम्वत  २०५६ साल पौष १५ गते रोज ५ शुभम्...........

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु