शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३८७१-१ - लेनदेन

भाग: ३१ साल: २०४६ महिना: कार्तिक अंक:

निर्णय नं. ३८७१-१   ने.का.प. २०४६             अङ्क ७

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४४ सालको दे.पु.ई.नं. ७२

फैसला भएको मिति :२०४६।६।१९।५ मा

पुनरावेदक/प्रतिवादी : महेन्द्रनगर न.पं. वा.नं. १० बस्ने धनी बोहोरा

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ. बस्ने कृष्णलाल सोती

मुद्दा : लेनदेन

§  थैली बुझाएको भनी जिकिर लिने प्रतिवादीले सो कुराको प्रमाण पुर्‍याउनु पर्ने ।

(प्रकरण नं. २५)

§  कपाली तमसुक बमोजिम तिरे बुझाएको तथ्ययुक्त लिखत प्रमाण पेश गर्न सकेको नदेखिँदा रुपैयाँ बुझी वादीले फट्टा दिएको भन्न नमिल्ने ।

(प्रकरण नं. २५)

पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने

विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी

फैसला

      प्र.न्या. धनेन्द्रबहादुर सिंह : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर अनुमतिद्वारा पुनरावेदन परी सर्वोच्च अदालत संयुक्त इजलास समक्ष पेश भएको हुँदा माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :

      २.    मिति ०३५।१२।६ गते विपक्षी धनी बोहराले लेखत साक्षीको रोहवरमा रु. २४,०००।लिनु दिनु गरी सयकडा रु. १० प्रतिशतका दरले व्याज दिने गरी ०३६ साल फाल्गुणमा बुझाउने गरी कपाली तमसुक गरी दिएकोले भाखामा साँवा माग्दा नदिएकोले ०३५।१२।६ देखि ०३९।७।१६ सम्म ३ वर्ष ७ महीना १२ दिनको व्याज रु. ८,६८०।र फैसलाले भरी भराउने दिनसम्मको व्याज कोर्टफी समेत विपक्षीबाट भराई पाउँ भन्ने फिरादपत्र ।

      ३.    मिति ०३५।१२।६ का दिन फिरादीले मेरा नाउँमा दर्ता भोगको १ बिगहा जग्गा रु. २४०००।को खूद बापत भोग गर्ने जग्गा अन्यत्र बन्दोबस्त गरे वा थैली बुझाए जग्गा छोडी दिने गरी कपाली तमसुक लेनदेन गरेकोमा ०३९ सालको वर्षे मकैबाली भित्राई सकेपछि म यहाँ बस्दिन पाहाड घर जान्छु रुपैयाँ दिई जग्गा फिर्ता लेउ भन्दा ०३९ साल भाद्रको आखिरी तिर रु. १२,०००।र ०३९।६।१७ का दिन फिरादी पनि आई ले. चन्द्रदेव जोशीले रु. १२,०००।बुझाई सकेपछि फिरादीले तमसुक झिकी दायाँको सहिछाप शिर पुछार तिर च्याती मलाई दिएका र फिरादीले सो जग्गामा आफू बस्न बनाएको कच्ची घर छोडी देऊ भन्दा रु. ५००।दिए छोडी दिन्छु नदिए रु. २४,०००।को सक्कल तमसुक म संग छ पुनः लिन सक्छु भनेकाले लिई सकेको रुपैयाँमा दोहरो लिने कुनियतबाट झुठ्ठा फिराद गरेकाले फिरादीलाई ठगीको ४ नं. सजायँ गरिपाउँ भन्ने प्रतिउत्तरपत्र ।

      ४.    ०३५।१२।६ गतेका दिन वादी कृष्णलाल सोती र प्रतिवादी धनी बोहराको बीच रु. २४,०००।लेनदेन मेरो सामुन्नेमा भएको हो । सो रुपैयाँ बुझाए नबुझाएको मलाई थाहा छैन । सक्कली तमसुक फट्टा गरी दियो भन्ने कुरा मलाई थाहा छैन भन्ने समेत वादीको साक्षी प्यारीलाल विष्ट समेत जना ४ को एकै मिलानको बकपत्र ।

      ५.    ०३५ सालमा कृष्णलाल सोतीबाट धनी बोहराले रु. २४,०००।कर्जा लिई सुद तिर्न नसकेको हुनाले सुद बापत १ बिगहा जग्गा कमाउन दिएको हो ०३९ साल भाद्रमा रु. १२,०००।दिइसकेपछि आश्विन १७ गते बेलुकी ७ ७१२ बजेको टायममा धनी बोहराकै तिलकानी सडक निरको दोकानमा रु. १२,०००।बुझाई धनी कृष्णलाल सोतीले तमसुक झिकी च्यातेपछि ऋणीलाई दिएको हो । झगडा पर्नु भन्दा अगाडि वादी प्रतिवादीको राम्रो सम्बन्ध थियो भन्ने प्रतिवादीका साक्षी गणेशदत्त जोशी समेत जना ६ को बकपत्र ।

      ६.    वादी कृष्णराज सोतीबाट पेश भएको कागज मैले लेखेको हुँ प्रतिवादीबाट पेश भएको तमसुक लेखेको होइन कस्ले लेखे थाहा छैन भन्ने समेत वर्कबहादुर सिंहको बयान ।

      ७.    प्रतिवादीले पेश गरेको मिति ०३५।१२।६ को तमसुक देखे, सो सद्दे हो, मैले वादीलाई पटक पटक गरी बुझाएको रु. २४,०००।को समयमा च्यातेको तमसुक जालसाजीको रहेछ गोविन्दनारायण खत्री समेतले जालसाजी गरेका हुन हात गोडाको शंखचक्र जाँची जालसाजी गरेकोमा ऐ. को १० र १४ नं. बमोजिम सजायँ गरिपाउँ भन्ने वा.भवानसिंह बोगटीको बयान ।

      ८.    मैले पेश गरेको मिति ०३५।१२।६ को तमसुक सद्दे हो प्र. ले पेश गरेको कागज मैले जालसाजीबाट गराएको होइन कस्ले गरे गराए मलाई थाहा छैन भन्ने समेत कृष्णराज सोतीले गरेका बयान ।

      ९.    धनी बोहराले पेश गरेको तमसुकको ल्याप्चे र लेखात्मक सहिछाप कस्का हुन मलाई थाहा छैन । अभिकर्ता गोविन्दनारायणको घरमा बसी म समेत भई जालसाज गरेको होइन भन्ने मुलराज मिश्रको बयान ।

      १०.   धनी बोहाराले पेश गरेको कागज म समेत मिली जालसाजी गरेको होइन वा.भवानसिंह बोगटीको बयान झुठ्ठा हो भन्ने कृष्णलाल सोतीले गरेको बयान ।

      ११.   धनी बोहराले पेश गरेको तमसुक मैले जालसाजीबाट खडा गरेको होइन, तमसुक खडा गर्ने प्रयोजन पनि छैन भन्ने प्यारेलाल विष्टको बयान ।

      १२.   प्र.ले पेश गरेको तमसुक जालसाजीबाट खडा भएको थाहा छैन । मैले जालसाजबाट खडा गरेको होइन प्र. को भनाई झूठ्ठा हो भन्ने धनकृष्ण मिश्रको बयान ।

      १३.   प्र. ले पेश गरेको कागज गोविन्दनारायण खत्रीसंग मिलोमतो गरी खडा गरी जालसाजी गरेको होइन । प्र. को बयान झुठ्ठा हो भन्ने हेमराज सोतीको बयान ।

      १४.   धनी बोहराले पेश गरेको सिर फट्टा तमसुक जालसाजबाट खडा गर्नु पर्ने कुनै प्रयोजन छैन, मैले लेखेको सक्कली तमसुकसंग भिडाए थाहा हुने नै छ भन्ने वर्कबहादुर सिंहको बयान ।

      १५.   प्र.ले पेश गरेको सिर फट्टा तमसुकको सही छाप मेरो होइन । कुन कुन मानिसले मिली जालसाज गरे सो मलाई थाहा छैन भन्ने मोतीलाल जोशीको बयान ।

      १६.   वादीको तमसुक बमोजिम मुद्दा लेखी दिएको छु । वादीको थैली भुस गरी आफू बच्ने उद्देश्यले आफैं कोकससंग मिली सिर फट्टा तमसुक खडा गरेको हो भन्ने गोविन्दनारायण खत्रीको बयान ।

      १७.   सुद बापत वादीले प्र. को जग्गा कमाई खाएको समेत नदेखिनाले वादी कृष्णलाल सोतीले प्र.धनी बोहराबाट वादी दावी बमोजिम साँवा रु. २४,०००।फेराद दर्ता गर्दा सम्मको व्याज रु. ८,६६६।६० र आज सम्मको व्याज ५,०३३।६० र भरी भराऊ हुने दिनसम्मको व्याज समेत भरी पाउने ठहर्छ । वादी धनी बोहोराले दावी लिए अनुसार जालसाजी गरेको ठहर्दैन वादी दावी झुठ्ठा ठहर्छ भन्ने कंचनपुर जिल्ला अदालतको ०४१ मार्ग २१ गतेको फैसला ।

      १८.   शुरु कंचनपुर जिल्ला अदालतको फैसलामा चित्त बुझेन भनी पुनरावेदक धनी बोहराको कं.जि. अ. मार्फत सु.प.क्षे. अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

      १९.   वादीबाट लिएको २४,०००।रुपैयाँ दुई कित्ता गरी बुझाएको भन्ने प्रतिवादी जिकिर भए पनि पहिलो किस्ता बुझाएको भए लेनदेन व्यवहारको ५(१) बमोजिम दरपीठ वा भर्पाई समेत प्रतिवादीले पेश गर्न नसकेको, फट्टा तमसुकमा साक्षी राखिएको भनिएको प्यारेलाल विष्ट समेतले आफूले सहिछाप गरेको होइन भनी बयान गरेबाट वादीलाई गरी दिएको लिखत वादीले लेखेर जालसाज गरेको नदेखिंदा वादी दावी बमोजिम साँवा व्याज भराई दिने गरेको शुरु कन्चनपुर जि. अ. को इन्साफ मनासिब ठहर्छ भन्ने समेत सु.प.क्षे.अ. को फैसला ।

      २०.   सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा लेनदेन व्यवहारको ५ नं. , अ.बं. १८४(क), १८५ र प्रमाण ऐनको दफा ३, ३७, ५४ समेतको त्रुटि हुँदा चित्त बुझेन शुरुको सदर गरेको सु.प.क्षे.अ. को फैसला उल्टाई झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत धनी बोहराको निवेदन ।

      २१.   यस्मा वादी प्रतिवादीबाट पेश भएको सक्कल कागज भनेको लिखत पक्ष विपक्षलाई सुनाउँदा वादी र लिखत साक्षीहरुले प्रतिवादीबाट पेश भएको लिखतमा लागेको सहिछापलाई इन्कार गरेको लिखत भिड्छ भिड्दैन जँचाई निर्णय गर्नु पर्नेमा सो नजँचाइकन दावी बमोजिम साँवा व्याज भराउने गरेको सु.प.क्षे.अ. को निर्णयमा अ.बं. १८४(क) १८५ समेतको त्रुटि भएको देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति ०४३।४।२९।४ को आदेश ।

      २२.   निर्णयार्थ सर्वोच्च अदालत संयुक्त इजलास समक्ष पेश हुँदा यस्मा मिति ०३५।१२।६ मा प्रतिवादी धनी बोहराले वादीबाट रु. २४,०००।रुपैयाँ लिई कपाली तमसुक गरी दिएको भन्ने कुरामा वादी प्रतिवादी दुवैथरको मुख मिलेकै छ । अब जहाँसम्म सो रुपैयाँ वादीलाई २ किस्ता गरी रु. १२,०००।पहिला र रु. १२,०००।दोस्रो चोटी तिरी वादीले तमसुक फट्टा गरी मलाई दिएको थियो तर सक्कल नभई नक्कली फट्टा गरी मलाई दिएको र सक्कल आफैंले राखेको हुँदा वादीले कीर्ते जालसाज गरेको भन्ने प्रतिवादीको जिकिर छ त्यसतर्फ विचार गर्दा लेनदेन व्यवहारको ५ नं. मा साँवा व्याज मध्ये केही मात्र वा व्याज बुझाउँदा तमसुक लिखतको पिठमा सहिछाप गर्नु गराउनु पर्छ वा छुट्टै भर्पाई गराउनु पर्छ । त्यस्मा नअटे अर्को कागज टाँसी लेखी बन्दमा समेत सो बमोजिम सहिछाप गर्नु गराउनु पर्दछ । यसरी रीत नपुर्‍याई लिनु दिनु गरेको सदर हुँदैन भन्ने बाध्यात्मक कानुनी व्यवस्था भएको देखिन्छ । तमसुक बमोजिमको रुपैयाँ एउटै मितिमा एकमुष्ट नबुझाई किस्ता किस्ता गरी अगाडि, १२,०००।र पछाडी १२,०००।बुझाएको भनी प्रतिवादीले जिकिर लिएको देखिन्छ । यसरी किस्ताबन्दी बुझाउँदा पहिलोपल्ट बुझाएको भनिएकोमा पनि लिखत कै पिठमा गरिएको दरपीठ वा छुट्टै भर्पाई समेत प्रतिवादी तर्फबाट पेश दाखिला हुनसकेको छैन । प्रतिवादी तर्फबाट पेश गरिएको सिरफट्टा तमसुक सक्कल लिखत होइन भनी वादी प्रतिवादी दुवै पक्षले स्वीकार गरेको र सो लिखत वादीले रुपैयाँ बुझी फट्टा तमसुक प्रतिवादीलाई दिएको हो भन्ने कुराको पुष्टि हुनसकेको छैन । अर्कोतर्फ वादी तर्फबाट पेश गरिएको लिखत सद्दे साँचो हो भनी लिखतमा लेखिएका लेखक साक्षी तथा अन्य साक्षीहरुले बयान गरेको तथा स्वयं प्रतिवादीले नै पनि सो लिखत सद्दे हो भनी स्वीकार गरेको देखिंदा सो लिखत अन्यथा हो भन्न सकिने अवस्था छैन । प्रतिवादी जिकिर बमोजिम रुपैयाँ बुझाई तमसुक सिर फट्टा गरी वादीले नै दिएको हो भन्ने तथ्य प्रमाण प्रतिवादीले पुर्‍याउन नसकेको हुँदा वादीले रुपैयाँ बुझी लिई जालसाजी पूर्ण तवरले तयारी नक्कली तमसुक सिर फट्टा गरी प्रतिवादीलाई दिएको नदेखिँदा प्रतिवादीले वादीलाई गरिदिएको सद्दे साँचो लिखत बमोजिमको वादीले दावी लिएको साँवा व्याज समेत प्रतिवादीबाट भराई दिने ठहर्‍याएको शुरुको सदर गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय ।

      २३.   यस्मा प्रतिवादीबाट रु. २४,०००।लिई मिति ०३५।१२।६ मा तमसुक समेत गरी दिएको कुरामा दुवै पक्षको मुख मिलेकै देखियो । तर सो रुपैयाँ मध्ये १२,०००।०३९ साल भाद्रको आखिरी तिर पहिलो किस्ता र ०३९।६।१७ मा रु. १२,०००।अर्को किस्ता बुझाई वादीले सोही दिन तमसुक झिकी फट्टा गरी मलाई दिएका थिए तर नक्कली तमसुक बनाई फट्टा गरी दिएका र सक्कली तमसुक आफैसंग राखी सोही आधारमा दावी लिई आएका हुँदा वादी समेतले कीर्ते जालसाज गरेको भन्ने प्रतिवादी जिकिर भएको देखिन्छ । यसरी प्रतिवादीले पेश गरेको लिखत कीर्ते हो भन्ने कुरामा दुवै पक्षको मुख मिलेको छ । अतः यहाँ मुख्यतः प्रतिवादीले रुपैयाँ तिरे बुझाएको हो होइन र प्रतिवादी तर्फबाट पेश गरेको फट्टा तमसुक वादीले नै प्रतिवादीलाई दिएको हो होइन विचार गर्नु पर्ने हुन आएको छ । चन्द्रदेव जोशी समेतका ५।६ जना साक्षीहरुले ०३५ सालमा वादीबाट प्रतिवादीले रु. २४,०००।कर्जा लिई व्याज तिर्न नसकेको हुँदा व्याज बापत १ विगहा जग्गा कमाउन दिएको थियो । ०३९ साल भाद्र महीनामा रु. १२,०००। तिरी सकेको भनी वादी प्रतिवादीहरुले भन्दा सुनेको हो आश्विन १७ गतेको बेलुकी धनी बोहराको तिलकानी सडक निरको दोकानमा हामीहरु समेतको रोहवरमा प्रतिवादीले वादीलाई रु. १२,०००।तिरे बुझाएको र वादीले गोजीबाट तमसुक झिकी फट्टा गरी प्रतिवादीलाई दिएको हो भनी किटानी बकपत्र गरिदिएका छन । अर्को तर्फ प्रतिवादीले पेश गरेको सिरफट्टा तमसुक र वादीले पेश गरेको सक्कल तमसुकको व्यहोरा अक्षरसम्म हुबहु मिलेको देखिन्छ । साथै लिखतमा परेको सहिछाप र लिखतमा टिकट टाँसी सकेसम्म उस्तै देखाउन प्रयत्न गरेको देखिन्छ । कपाली तमसुक लिखत भनेको ऋणी धनीले एक अर्कामा सहिछाप गरी लिनु दिनु गरी दुवै पक्षसंग रहने नभई ऋणी धनीलाई गरी दिएको एकोहोरो लिखत हो । यो लिखतको रजिष्ट्रेशन गरिने नभई घरसारमा मात्र रहने हुँदा अड्डाबाट सारी लिने संभावना पनि छैन । त्यसैले यो लिखतको प्रकृतिबाट जस्को संग साथमा रहन्छ उसैले मात्र अक्षरसम्म हुबहु नक्कल निकाल्न सक्दछ सक्कल लिखत वादीसंग रहने भएकोले सो लिखतको व्यहोरा हुबहु मिल्ने गरी प्रतिवादीले नक्कली तमसुक खडा गरेको भन्न मिल्ने देखिन आएन त्यस्मा पनि ०३९।६।१७ को बेलुका पैसा बुझी तमसुक फट्टा गरी वादीले प्रतिवादीलाई दिएको देखेको हो भनी केशरदत्त समेतका व्यक्तिहरुले बकपत्र गरी दिएबाट प्रतिवादीले पेश गरेको तमसुक वादीले नै जालसाजी तमसुक खडा गरी रुपैयाँ बुझी नक्कली तमसुक प्रतिवादीलाई दिएको देखियो । अतः वादीले एकलौटी तमसुक बमोजिमको रुपैयाँ बुझी जालसाजीपूर्ण तवरले नक्कली तमसुक बनाई फट्टा गरी दिएको र आफूसंग रहेको सक्कली तमसुकलाई आधार बनाई पुनः दावी लिएको देखिँदा वादीलाई कीर्ते कागजको १० नं. बमोजिम बिगोको २५ प्रतिशतले जरीवाना समेत हुने ठहर्छ । वादीले जालसाजी गरेको नठहर्‍याई वादी दावी बमोजिमको साँवा व्याज समेत भराइदिने ठहर्‍याएको शुरुको सदर गरेको सु.प.क्षे.अ. को इन्साफ उल्टी हुन्छ सहयोगी माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको रायसंग सहमत हुन नसकेको हुँदा सर्वोच्च अदालत नियमावलीको नियम ३३(क) अनुसार फूल बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारीको राय भएको २०४४।३।४ को सर्वोच्च अदालत संयुक्त इजलासको फैसला ।

      २४.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपानेले फट्टा गरिदिएको तमसुक र सक्कल तमसुकको व्यहोरा अक्षरसम्म मिल्छ । कपाली तमसुक एकतर्फी लिखत भएको यस्मा लिखत रजिष्ट्रेशन पारीत नहुने हुनाले लिखतको प्रकृतिबाटै ऋणीसंग नभई धनीसंग रहने हुँदा हुवहु मिल्ने गरी वादीले नै नक्कली तमसुक खडा गरी फट्टा समेत गरिदिएको प्रष्ट छ । केशवदत्त समेतको साक्षीहरुले प्रतिवादीले वादीलाई तिर्नु बुझाउनु पर्ने रकम तिरी बुझाई वादीले तमसुक फट्टा गरिदिएको भनी किटानी साथ बकपत्र गरिदिएका छन् । अतः वादीले जालसाजी गरेको ठहर्‍याई वादी दावी नपुग्ने ठहर्‍याएको मा.न्या. श्री हरिहरलाल राजभण्डारीको राय सदर हुनुपर्ने भन्ने र विपक्षी वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले प्रतिवादीले वादीबाट रु. २४,०००।ऋण लिई तमसुक गरिदिएको कुरालाई स्वीकार गरेका छन् । वादीले पेश गरेको लिखत सद्दे र प्रतिवादीले पेश गरेको लिखत कीर्ते जालसाजी हो भन्ने कुरामा पनि मुख मिलेकै छ । तमसुकमा उल्लेखित सबै रुपैयाँ एकैचोटी नबुझाई १२,०००।पहिले नै तिरी बुझाई सकेको भनेकोमा सो बमोजिमको भर्पाई वा तमसुकको पिठमा व्यहोरा जनाइएको समेत पाइन्न । यस्तो अवस्थामा पटक पटक गरी रुपैयाँ बुझाएको भन्ने प्रतिवादीको कथन मिल्ने नदेखिँदा वादी दावी बमोजिमको रुपैयाँ प्रतिवादीबाट भरी पाउने ठहर्‍याएको मा.न्या. श्री गजेन्द्रकेशरी बास्तोलाको राय सदर हुनुपर्ने भनी बहस गर्नु भयो ।

      २५.   आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा विपक्षीले सयकडा १० दरले व्याज दिने गरी २०३६ साल फाल्गुणमा बुझाउने गरी रु. २४,०००। लिई कपाली तमसुक गरी दिएको साँवा व्याज नदिएकोले भराई पाउँ भन्ने वादीले दावी लिएको देखिन्छ । १ बिगाहा जग्गा सुद बापत फेरादीले भोग गर्ने गरी कपाली तमसुक लेनदेन गरेको २०३९ साल भाद्रको आखिरी तिर रु. १२,०००।र २०३९।६।१७ का दिन चन्द्रदेव जोशीले रु. १२,०००।बुझाइसकेपछि फिरादीले तमसुक सिर पुछार तिर च्याती मलाई दिएको छ । दोहोरो लिने कुनियतले झुठ्ठा उजूर गरेको भन्ने समेत प्रतिवादीले जिकिर लिएको पाइन्छ । यसबाट पुनरावेदक प्रतिवादीले वादी कृष्णलाल सोतीसंग रु. २४,०००।कर्जा लिई नगद साँवा व्याज बुझाउने गरी कपाली तमसुक गरी लिएको कुरामा विवाद रहेको देखिँदैन । दुवै पक्षको मुख मिलेको देखिन्छ । पुनरावेदक प्रतिवादीले रु. १२,०००।अघि नै बुझाएको र पछि रु. १२,०००।बुझाई वादीले तमसुक फट्टा गरी मलाई दिएको हो । तर सक्कल फट्टा तमसुक नदिई नक्कली तमसुक फट्टा गरी वादीले मलाई दिएछ । कीर्ते जालसाज गरे भनी जिकिर लिई बयान गरेको पाइन्छ । वादी दावीको रु. २४,०००।एकैपटक बुझाएको भनी प्रतिवादीले भन्नसकेको छैन । दुई पटक गरी बुझाएको भन्ने छ । अघि रु. १२,०००।बुझाएको भनेको तर्फ हेर्दा अघि रु. १२,०००।बुझाएको कुराले लेनदेन व्यवहारको ५ नं. बमोजिम तमसुकमा दरपीठ भएको देखिँदैन । सो रुपैयाँ वादीले बुझेको कुराको रीतपूर्वकको भर्पाई लिखत प्रमाण प्रतिवादीले पेश गर्न सकेको पनि छैन । सो रु. १२,०००।बुझाएको भन्ने कुरा प्रतिवादीको जिकिर बाहेक अरु तथ्ययुक्त सबूद प्रमाणबाट समर्थित भएको पाइंदैन । साँवा व्याज समेत बुझाउने गरी रु. २४,०००।को कपाली तमसुक भएको देखिन्छ । तर साँवा मात्र रु. २४,०००।बुझाएर वादीले प्रतिवादीलाई तमसुक फट्टा गरी दियो होला भन्ने स्थिति पनि देखिँदैन । पुनरावेदक प्रतिवादीले सम्पूर्ण थैली दुईपटक गरी बुझाएको भनी जिकिर लिएको छ । त्यसरी रुपैयाँ बुझाएको भनी जिकिर लिने प्रतिवादीले सो कुराको प्रमाण पुर्‍याउनु पर्ने हुन्छ । तर पुनरावेदक प्रतिवादीले सो कपाली तमसुक बमोजिमको रु. २४,०००।वादीलाई तिरे बुझाएको तथ्ययुक्त लिखत प्रमाण पेश गर्न सकेको देखिँदैन । यसबाट रुपैयाँ बुझी वादीले फट्टा दिएको भन्न मिलेन । यस स्थितिमा वादी दावी बमोजिमको कपाली तमसुकको रुपैयाँ पुनरावेदक प्रतिवादीले वादीलाई बुझाएको भन्न सकिने अवस्था रहेन । तसर्थ वादीले दावी लिएको साँवा व्याज समेत प्रतिवादीबाट भराई दिने ठहराएको शुरुको सदर गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफलाई सदर गरेको सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय मनासिब ठहर्छ । लिखत बमोजिमको साँवा रु. २४,०००।र त्यसको सयकडा १० ले हुने लेनदेन व्यवहारको ७ नं. अनुसार साँवा बराबरको व्याज लिखत भएको मिति २०३५।१२।६ देखि २०४५।१२।५ गतेसम्ममा १० वर्ष पूरा भएकोले साँवा रु. २४,०००।को व्याज सयकडा १० ले हुने व्याज रु. २४,०००।समेत जम्मा साँवा व्याज रु. ४८,०००।वादीले प्रतिवादीबाट भरी पाउने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

 

तपसील

वादी कृष्णलाल सोती के माथि इन्साफ खण्डमा लेखिए अनुसार साँवा व्याज भरी पाउनेमा लिखत भएको मिति २०३५।१२।६ गतेबाट २०४५।१२।५ गतेसम्म १० वर्ष पूरा भई साँवा रु. २४,०००।र त्यसको सयकडा १० ले लेनदेन व्यवहारको ७ नं. ले साँवा बराबरको व्याज रु. २४,०००।समेत जम्मा रु. ४८,०००।भरी पाउनेमा, शुरु कंचनपुर जि. अ. का ०४१।८।२१ का फैसलाले साँवा व्याज जम्मा रु. ३७,६९९।९० भराउने गरी लगत कसेको हुँदा सो लगत कसेकोबाट नपुग हुने रु. १०,३००।१० समेत पुनरावेदक प्रतिवादीबाट भराई पाउँ भनी वादीको ऐनका म्यादभित्र प्रतिवादीको जायजात देखाई दर्खास्त परेमा कानुन बमोजिम लाग्ने दस्तूर लिई वादीलाई भराई दिनु भनी काठमाडौं जि. अ. मा लगत दिनु .......१,

पुनरावेदक प्रतिवादी धनी बोहरा के निजबाट वादीले भरी पाउने ठहरेको बिगो रु. ४८,०००।मध्ये बिगो रु. ३८,९०६।५० को कोर्टफी शुरु र क्षेत्रीय अदालतको फैसलाले असूल गर्ने गरेकै र बाँकी बिगो रु. ९,०९३।५० को सयकडा ३ ले हुने कोर्टफी रु. २७२।८० वादीलाई लाग्नेमा वादी जितेकोले सो लाग्ने कोर्टफी बिगो भरी भराउ हुँदा प्रतिवादीबाट असूल गर्नु र प्रतिवादीबाट असूल हुन नसके वादीबाट ऐन बमोजिम असूल गर्नु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु ...............२,

पुनरावेदक प्रतिवादी धनी बोहोराके शुरु इन्साफ मनासिब ठहरेकोले शुरु जरीवाना रु. ३,०५०।को अ.बं. २०३ नं. ले त्यसको सयकडा ५ ले हुने रु. १५२।५० जरीवाना हुन्छ वारीस भई वेरुजु हुँदा ऐन बमोजिम असूल गर्नु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु ........३

मिसिल नियम बमोजिम गरी बुझाई दिनु ............४

 

उक्त रायमा हामीहरु सहमत छौं ।

 

न्या. त्रिलोकप्रताप राणा,

न्या. प्रचण्डराज अनिल

 

इति सम्वत् २०४६ साल आश्विन १९ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु