निर्णय नं. ४६९८ - लागू औषध

निर्णय नं. ४६९८ ने.का.प. २०५० (क) अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
सम्वत् २०४७ सालको फौ.पु. नम्वर २७९, ३७०
फैसला मिति : २०४९।१२।२७।६
पुनरावेदक/वादी : प्रहरी प्रतिवेदनले श्री ५ को सरकार ।
विरुद्ध
पुनरावेदक/प्रतिवादी : का.जि.का.न.पा. वडा नं. ३ महाराजगंज बस्ने भरत राई ।
मुद्दा : लागू औषध ।
(१) लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ८ को (२) मा “कुनै घर जग्गा सवारी वा अन्य कुनै ठाउंमा प्रवेश गर्दा वा खानतलासी गर्दा समयले भ्याएसम्म सम्बन्धित नगर पञ्चालत वा गाउं पञ्चायत वा वडा समितिका एक जान सदस्य वा त्यस ठाउंको एकजना भलादमी वा कुनै अर्को सरकारी कार्यालयका एकजना कर्मचारीलाई साक्षी राखी गर्नु पर्ने छ भन्ने विशेष व्यवस्था गरेको पाइन्छ । तर समयले नभ्याएको स्थितिमा उपरोक्त व्यक्तिहरू साक्षी नराखीदैमा सो बरामदी मुचुल्का नै अमान्य हुने देखिंदैन । समयले भ्याएसम्म मात्र उक्त व्यक्तिहरू साक्षी राखिन सकिने व्यवस्था हो ।
(प्र.नं. १६)
(२) प्रतिवादी काठमाडौं स्थित बिशालनगरमा दिउंसो ४ बजे फेला परेका प्रतिवादी र निजले हाकेको कारबाट बरामद भएको लागु औषध भएको स्थितिमा बाटोमा बरामदी मुचुल्का खडा गर्दा समयले नभ्याउने स्थिति देखिन्छ । अ.वं. १७२ नं. बमोजिमको बरामदी मुचुल्का नभएको भन्ने कानूनी व्यवसायीहरूको तर्कसंग सहमत हुन नसकिने ।
(प्र.नं. १६)
पनुरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री देवशरण प्रसाद ।
प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त ।
: विद्वान अधिवक्ता श्री बद्री बहादुर कार्की ।
: विद्वान अधिवक्ता श्री सुभाष नेम्वाङ ।
: विद्वान अधिवक्ता श्री अग्नी खरेल ।
फैसला
न्या. लक्ष्मण प्रसाद अर्याल
१. प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :
२. भरत राईले हाँकी ल्याएको डब्लु बि. वाई. १३३६ नं. को कारको तलासी लिंदा सो कारको अगाडि कार चालक बस्ने सिट अगाडि रहेको डेसबोर्ड घर्रामा काजगमा पोको पारी राखेको अं १०० ग्राम अवैध लागू औषध ब्राउन सुगर र तराजु थान एक समेत बरामद भएको भन्ने समेत मिति २०४४।१२।१२ गतेको बरामदी मुचुल्का ।
३. मेरो गाडीबाट ब्राउन सुगर १०० ग्राम र तौल गर्ने तराजु बरामद भएको हो सो ब्राउन सुगर नाम थाहा नभएको मानिसबाट केही वर्ष अगाडि झिकाई राखेको थिएँ र सो कुनै खरिद गर्न चिनजान भएका मानिसले भनेमा बिक्री गर्ने विचारले सो लागू औषध र तराजु समेत मोटरमा नै राखी ल्याएका वखत प्रहरीले सुराक पाई दाखिल गर्न ल्याएको हो भन्ने समेत जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा प्रतिवादी भरत राइले गरेको बयान कागज ।
४. संकलित सबूद प्रमाणबाट प्रतिवादी भरत राईले लागू ओषध नियान्त्रण ऐन, २०३३ को दफा ४ (घ) र (ङ) को कसूर अपराध गरेको प्रष्ट देखिन आएकोले निज उपर ऐजन ऐनको दफा १४ (ख) अनुसार कारवाही सजाय भई डब्ल वि. वाई १३३६ नं. को कार समेत ऐजन ऐनको दफा १५ बमोजिम जफत हुन अनुरोध गरिन्छ भन्ने समेत जिल्ला प्रहरी कार्यालय, काठमाडौंको प्रहरी प्रतिवेदन पत्र ।
५. प्रहरीको बयान मेरो राजीखुसीबाट भएको होइन । प्रहरीले जवरजस्ती कुटपीट गरी सहीछाप गराएको हो म बाट दाबी अनुसार कुनै कसुर भएको छैन । बरामद भएको मोटर गजानन्द बैद्य र किरण बैद्यले बिक्री गरी देउ भनी छोडी गएको मोटर हो भन्ने समेत व्यहोराको भरत राइले मिति २०४२।१२।२८ गतेमा श्री काठमाडौं जिल्ला अदालतमा गरेको बयान ।
६. श्री काठमाडौं जिल्ला अदालतबाट मिति २०४३।१।२६ गतेको राजपत्र बमोजिम प्रस्तुत मुद्दा बागमती विशेष अदालतमा दायर भएको रहेछ ।
७. बरामदी मुचुल्का का.प्र.ह. जय बहादुर खड्का प्रतिवादी भरत राईको साक्षी दामोदर अर्याल, भरत बहादुर थापा समेतको बकपत्र भई मिसिल सामेल रहेछ ।
८. अपराधको प्रकृति परिमाण एवं उद्देश्य समेतका कसूरको मात्रा अनुसार लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १४ (ख) बमोजिम प्रतिवादी भरत राईलाई १४ चौध वार्ष कैद र रु. एकलाख जरिवाना हुने ठहर्छ । साथै उक्त डब्लु वि. वाई १३३६ नं. को कार र दशीको लागू औषध १०० ग्राम र तौलने तराजु एक समेत लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १८ ले जफत हुने ठहर्छ भन्ने समेत बागमती विशेष अदालतको मिति २०४४।९।२२ गतेको फैसला ।
९. मेरो प्रस्तुत पुनरावेदन जिकिर अनुसार बागमती विशेष अदालतले प्रमाण तथ्य एवं कानूनी व्यवस्थालाई पूर्णतः उपेक्षा गरेर गरेको फैसला बदर गरी आरोपित कसूरबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी भरत राईले मध्यमाञ्चल क्षेत्रीय अदालतमा गरेको पुनरावेदन पत्र ।
१०. लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १४ (ख) मा सोही ऐनको दफा ४ को (ग) (घ) र (ङ) अन्तरगतको अपराधमा अपराधको मात्रा अनुसार ३ वर्ष देखि १४ वर्षसम्म कैद र एकलाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था देखिन्छ । प्रस्तुत मुद्दामा उक्त दफा १४ (ख) को माथिल्लो हदको सजाय गरेसम्म बागमती विशेष अदालतको फैसला मिलेको नभई फरक पर्ने देखिंदा अ.वं. २०२ नं. तथा क्षेत्रीय अदालत नियमावली, २०३६ बमोजिम छलफलको लागि सरकारी वकिल उपस्थित गराउन लेखी पठाई नियमानुसार गर्नु भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।६।१७ गतेको आदेश ।
११. प्रतिवादीले कसूर गरेको ठहर्याएको हदसम्म वागमती विशेष अदालतको इन्साफ मिलेको देखिएको तर मुद्दाको प्रकृति प्रतिवादीको उमेर तथा वारमद भएको ब्राउन सुगरको मात्रा र लागू पदार्थ बिक्री गरी सकेको समेत नदेखिंदा निजलाई कैद वर्ष ६ र एकलाख रुपैयाँ जरिवाना गर्नु पर्नेमा बढी कैद गरेको नमिलेको देखिंदा सो हदसम्मको बागमती अञ्चल अदालतको फैसला केही उल्टो हुने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।१०।४ गतेको फैसला ।
१२. उक्त मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।१०।४ को कैदको हकमा केही उल्टि गरिको फैसला त्रुटीपूर्ण हुँदा बदर गरी बागमती विशेष अदालतको फैसला बहाल भई प्रतिवादीलाई सजाय गरी पाउन अनुरोध गरिन्छ भन्ने वादी श्री ५ को सरकार तर्फबाट यस सर्वोच्च अदालतमा परेको पुनरावेदनपत्र ।
१३. उक्त म.क्षे.अ.को मिति २०४६।१०।४ गतेको फैसला तथ्य एवं कानून बिपरित भएकोले मैले कसूर गरेको ठहर गरेको फैसला बदर गरी प्रहरीको आरोपपत्रबाट सफाई पाउँ भन्ने समेत प्रतिवादी भरत राईको यस सर्बोच्च अदालतमा परेको पुनरावेदन पत्र ।
१४. नियम बमोजिम दैनिक कजलिष्टमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत पुनरावेदक वादीतर्फ बाट विद्वान अधिवक्ता श्री देवशरण प्रसादले शुरु वा.वि.अ.ले १४ वर्ष कैद र रु. १०००००।– एकलाख जरिवाना समेत गर्ने गरेको इन्साफ केही उल्टी गरी म क्षे.अ.बाट प्रतिवादीलाई ६ वर्ष कैद र एकलाख जरिवाना गर्ने गरेको फैसला त्रुटीपूर्ण हुँदा शुरु बागमती बिशेष अदालतको इन्साफ सदर हुनु पर्दछ भन्ने समेत र पुनरावेदक प्रतिवादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले विद्वान अधिवक्ता श्री बद्री बहादुर कार्कीले, विद्वान अधिवक्ता श्री सुभाष नेवाङ्कले र विद्वान अधिवक्ता श्री अग्नी खरेलले लागू औषधी नियन्त्रण ऐन, २०३३ को दफा ८ बमोजिम लागू औषधी ऐन सम्बन्धमा लागू औषध नियन्त्रण अधिकारी आफैले अनुसन्धान गर्नु पर्दछ सो भएको छैन अ.वं. १७२ नं. बमोजिम मुचुल्का छैन । बनावटी मुचुल्कालाई प्रमाणमा ग्रहण गरी लागू औषध बिक्री गरेको भनी सजाय गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला त्रुटीपूर्ण हुँदा उक्त फैसला बदर गरी आरोपित कसूरबाट सफाई पाउनु पर्दछ भन्ने समेतको बहस गर्नु भयो ।
१५. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट प्रतिवादी भरत राईलाई लागू औषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत बिक्री वितरण गरेको अपराधमा ६ वर्षसम्म कैद र एकलाख रुपैयाँ जरिवाना हुने ठहराएको इन्साफ मिले नमिलेको तर्फ निर्णय दिनु पर्ने हुन आयो ।
१६. यसमा निर्णयतर्फ हेर्दा प्रतिवादी भरत राईले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ (घ) (ङ) को कसूर अपराध गरेको प्रष्ट देखिन आएकोले निज उपर ऐजन ऐनको दफा (ख) अनुसार कारवाही सजय भई डब्लु वि. वाई १३३६ नं. को कार समेत ऐजन ऐनको दफा १५ बमोजिम जफत हुन अनुरोध गरिन्छ भन्ने समेत जिल्ला प्रहरी कार्यालय, काठमाडौंको प्रहरी प्रतिवेदन पत्र पाइन्छ । उक्त प्रतिवेदन पत्र अनुसार प्रतिवादी भरत राईले हाँकेको गाडीबाट बरामद भएको भनिएको हेरोइन तराजु समेत भन्ने बरामदी मुचुल्का नै प्रहरीले बनावटी खडा गरेको हो जुन अ.वं. १७२ नं. अनुसारको कनुनी प्रकृया पुरा गरी भएको छैन भन्ने पुनरावेदक प्रतिवादी तर्फका कानून व्यवसायीहरूले इजलास समक्ष उठाउनु भएको प्रश्नतर्फ हेर्दा लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ८ को (२) मा “कुनै घर जग्गा सवारी वा अन्य कुनै ठाँउमा प्रवेश गर्दा वा खान तलासी गर्दा समयले भ्याएसम्म सम्बन्धित नगर पञ्चायत वा गाउँ पञ्चायत वा वडा समितिका एकजना सदस्य वा त्यस ठाउँको एकजना भलाद्मी वा कुनै अर्को सरकारी कार्यालयका एक जना कर्मचारीलाई साक्षी राखी गर्नु पर्ने छ भन्ने बिशेष व्यवस्था गरेको पाइन्छ । तर समयले नभ्याएको स्थितिमा उपरोक्त व्यक्तिहरू साक्षी नराखीदैमा सो बरामदी मुचुल्का नै अमान्य हुने देखिदैंन । समयले भ्यायेसम्म मात्र उक्त व्यक्तिहरू साक्षी राखिन सकिने व्यवस्था हो । प्रस्तुत मुद्दामा प्रतिवादी काठमाडौं स्थित विशाल नगरमा दिउँसो ४ बजे फेला परेका प्रतिवादी र निजले हाँकेको कारबाट बरामद भएको लागू औषध भएको स्थिततिमा बाटोमा बरामदी मुचुल्का खडा गर्दा समयले नभ्याउने स्थिति देखिन्छ । अ.बं. १७२ नं.को बमोजिम बरामदी मुचुल्का नभएको भन्ने कानून व्यवसायीहरूको तर्कसंग यो इजलास सहमत हुन सकेन । प्रतिवादीले हाँकेको कार खानतलासी लिंदा उक्त कारबाट लागू औषध ब्राउन सुुगर अं १०० ग्राम जोख्ने तराजु थान १ समेत बरामद भएको देखिएको र प्रतिवादी भरत राईले प्रहरी समक्ष बयान गर्दा मेरो गाडीबाट ब्राउन सुगर १०० ग्राम र सो तौल गर्ने तराजु बरमाद भएको हो सो ब्राउन सुगर नाम थाहा नभएका मानिसबाट केही वर्ष अगाडि झिकाई राखेको थिए र सो कुनै खरिद गर्ने चिन जान भएका मानिसले भनेमा बिक्री गर्ने विचारले सो लागू औषध र तराजू समेत मोटरमा नै राखी ल्याएका बखत प्रहरीेले सुराकी पाई दाखिल गर्न ल्यएको हो भन्ने समेत साबिती बयान गरेको पाइन्छ । निज प्रतिवादीको अदालत समक्ष भएको इन्कारी बयान विश्वसनीय देखिएन प्रतिवादीको शुरु प्रहरी समक्ष भएको बयानलाई जय बहादुर खड्काको वकपत्र समेत बाट पनि पुष्टि हुन्छ । तसर्थ प्रतिवादी भरत राइले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ बमोजिम लागू औषध बिक्री बितरण, लागू औषध निकासी पैठारी गरेको अपराधमा निजले कसूर गरेको ठहराई तर मुद्दाको प्रकृति प्रतिवादीको उमेर तथा बरामद भएको ब्राउन सुगरको मात्रा र लागू पदार्थ बिक्री गरी सकेको समेत नदेखिंदा निजलाई कैद वर्ष ६ र एक लाख रुपैयाँ जरिवाना गर्नु पर्नेमा बढी कैद गरेको नमिलेको देखिंदा सो हदसम्मको बागमती विशेष अदालतको फैसला केही उल्टी हुने ठहर्छ, भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला सदर हुने ठहर्छ । मोटरकारको हकमा मध्यमाञ्चल क्षेत्रीय आदलतको शुरु इन्साफमा अन्यथा नदेखाएको हुँदा सदर गरेको भन्नु पर्ने देखिएकोले सो तर्फ इन्साफ नभएको भनी अन्यथा गर्न भन्न मिलेन । सो समेत सदर हुने ठहर्छ । पुनरावेदक वादी श्री ५ को सरकार तथा पुनरावेदक प्रतिवादी भरत राईको पुनरावेदन जिकिर पुग्न सक्दैन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. गजेन्द्र केशरी वास्तोला ।
ईति सम्वत् २०४९ साल चैत्र २७ गते रोज ६ शुभम् ।