निर्णय नं. ३८७३ - अंश

निर्णय नं. ३८७३ ने.का.प. २०४६ अङ्क ७
पूर्ण इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४४ सालको दे.पु.ई.नं. ७१
फैसला भएको मिति : २०४६।७।२९।३ मा
निवेदक/प्रतिवादी : भरतपुर न.पं. वा.नं. २ बस्ने चिजकुमार श्रेष्ठसमेत
विरुद्ध
विपक्षी/वादी : चितवन नारायणगढ गा.पं. वा.नं. ३ बस्ने रामकुमार श्रेष्ठ
डि.बे. को मिति २०४२।१।१०।२ को फैसला ने.का.प. भाग २७ (२०४२), अंक १, नि.नं. २२४२ पृष्ठ ७२ मा प्रकाशित ।
मुद्दा : अंश
§ पैतृक सम्पत्ति आ–आफ्नो नाममा दाखिल खारेज गरेको प्रमाण प्रतिवादीले देखाउन सकेको छैन, वादीले जग्गाहरु बिक्री गरेको भनेको लिखत हेर्दा मेरो अंश भागमा परेको भन्ने उल्लेख भएको देखिँदैन, यसबाट व्यवहार प्रमाणबाट अंश भएको भन्ने नदेखिने ।
(प्रकरण नं. १४)
§ पेश भएको लिखत नक्कल हेर्दा दाइजोको रुपैयाँबाट जग्गा खरीद गरेको भन्ने प्रष्ट हुँदैन, अप्रसङ्ग ठाउँमा दाइजोको अक्षर रहेको देखिन्छ, यसबाट सो लिखत नक्कललाई दाइजोको लिखत भन्न नमिल्ने ।
(प्रकरण नं. १४)
§ दाइजोको लिखत प्रमाण कुनै पेश गर्न नसकेको स्थितिमा सो सम्पत्ति अंशबण्डा नलाग्ने सम्पत्ति भन्न मिलेन, सो सम्पत्ति सगोलमा आर्जन गरेको सम्पत्ति भन्नु पर्ने ।
(प्रकरण नं. १५)
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री अनुपराज शर्मा विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की
विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पंत
फैसला
प्र.न्या. धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका जुनाफमा सर्वोच्च अदालत डिभिजनबेन्चबाट हराई फैसला गरेकोले मुद्दा दोहोराई पाउँ भनी प्रतिवादीहरुले चढाएको बिन्तिपत्रमा पूर्ण इजलासबाट दोहोराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४३।१०।२८ मा तोक लागी आएकोमा सम्माननीय प्रधान न्यायाधीशज्यूबाट मिति २०४३।१२।२५ मा भएका आदेशानुसार पूर्ण इजलासको लगतमा दर्ता भई पेश हुन आएकोमा मुद्दाको तथ्य यस प्रकार छ :–
२. श्री पिताजी चामुनारायणका जम्मा २ जना छोरा भएकोमा १ जना म र प्रतिवादी चिजकुमार समेत जना २ मात्र जम्मा अंशियार भएको । बाबु बाजेका पालाको र बढे बढाएको सगोलमा आर्जेको र सगोलकै सम्पत्तिबाट विपक्षी भाउजू चिजकुमारकी श्रीमती विष्णुकुमारी र भतिजा बिनोदकुमार श्रेष्ठ समेतका नाममा जमीन राखी खरीद गरेको र सगोलकै सम्पत्तिबाट घर, गोठ बनाई सगोलमै भोग चलन भई आएकोमा दाजुले मेरो मन्जूरी बेगर नारायणगढ गा.पं. वडा नं. २ को घर जग्गा विष्णुलाल प्रधानलाई राजीनामा गरी दिएको कुरा नक्कल लिंदा यकीन भएको र मेरो अंश भाग माग्दा नदिनु भएकोले बण्डा गर्नु पर्ने जम्मा सम्पत्ति के कति छ सो मलाई सबै जानकारी नभएकोले यो फिरादपत्र परेका अघिल्ला दिन तकको चल अचल गैह्र श्रीसम्पत्तिको विपक्षीहरुबाट तायदाती लिई त्यसबाट २ भागको १ भाग अंश छुट्याई पाउँ भन्ने समेत व्यहोराको रामकुमार जीवन मिश्र श्रेष्ठको फिरादपत्र ।
३. वादीलाई अंश दिन बाँकी छैन । २०१३ साल चैत्र महीनामा मानु छुट्टी घरसारमै पैत्रिक सम्पत्ति चल अचल जग्गा जमीन अंश भाग लगाई सकेको छौं । हामी प्रतिवादी मध्येको विष्णुकुमारी र बिनोदकुमारको नाममा रहेको सम्पत्ति स्वआर्जनको हो भन्ने समेत व्यहोराको प्रतिवादी चिजकुमारको प्रतिउत्तरपत्र ।
४. मेरा पति चिजकुमार र देवर रामकुमारको बीचमा २०१३ सालमा मानु छुट्टिइएको हो । सो पश्चात विपक्षीले आफ्नी श्रीमती शुस्मादेवीका नाममा का.न.पं. वडा नं. ३२ को जग्गा बिक्री गरी काठमाडौं भूमि प्रशासन कार्यालयबाट पारित गराउनु भएको छ । हाम्रो स्वआर्जित सम्पत्ति माथिको वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको विष्णुकुमारीको प्रतिउत्तरपत्र ।
५. विपक्षी वादी काका रामकुमार र म, नत अंशियार हो, न सगोलमै रहेको छु । मेरो स्वआर्जित सम्पत्तिको आशाले म उपर यो झुठ्ठा फिराद दिएको हो भन्ने समेत व्यहोराको बिनोदकुमार श्रेष्ठको प्रतिउत्तरपत्र ।
६. यस्मा विष्णुकुमारीको नामको जग्गा घर बाहेक अरु पेश भएको तायदातीहरु र २०३६।११।२४ मा खुलाएको कागजमा सम्पूर्ण सम्पत्तिको २ भागको १ भाग वादीले अंश छुट्याई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको चितवन जिल्ला अदालतको मिति २०३८।३।१५ गतेको फैसला ।
७. सो फैसलामा चित्त बुझेन भन्ने वादी प्रतिवादी दुबै थरीले म.क्षे.अ.मा दिएको पुनरावेदनपत्र ।
८. यसमा शुरुको इन्साफ मनासिब ठहर्छ । पुनरावेदक दुवै थरको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०३९।९।२१।४ को फैसला ।
९. सो फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी रामकुमारले दिएको निवेदनमा यस्मा विष्णुकुमारीको नाममा २०१४ सालमा खरीद भएको जग्गाको २०१४ सालको लिखत र रजिष्ट्रेशन पास भएको भनी दर्खास्तमा उल्लेख गर्न नसकेको र सो लिखत अहिले पेश गर्न पनि नसकेकोमा विष्णुकुमारीका नाममा रहेको घर जग्गाहरुमा वादीले बण्डा नपाउने गरी गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा अंशबण्डाको १८ नं. को त्रुटि भएको देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको डिभिजनबेञ्चको मिति २०४०।२।४ गतेको आदेश ।
१०. उपरोक्त उल्लेखित मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी चिजकुमार र बिनोदकुमारले दिएको निवेदनपत्रमा यस्मा राप्तीदुन विकास समितिबाट प्रतिवादी चिजकुमार र बिनोदकुमारले किस्ताबन्दीमा खरीद गरी पाएको जग्गा समेतलाई बण्डा गर्ने गरेको शुरु जिल्ला अदालतको इन्साफलाई सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा अंशबण्डाको १८ नं. समेतको त्रुटि देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको डिभिजनबेञ्चको मिति २०४०।२।४ गतेको आदेश ।
११. विवादित अंशीयार सगोलकै ठहर्याई सकेपछि बिना सबूद प्रमाण बेगर सगोलकै अंशियार विष्णुकुमारीका नाममा रहेको घर जग्गा बाहेक गर्ने गरी शुरुले गरेको इन्साफ सदर गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । त्यसकारण सगोलको विष्णुकुमारीका नाममा रहेको घर जग्गामा वादीले २ भागको १ भाग अंश पाउने ठहर्छ । अरु शुरु र मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४२।१।१० गतेको फैसला ।
१२. श्री ५ महाराजाधिराज सरकारका हजूरमा उक्त मुद्दा दोहराई पाउँ भनी चढाएको बिन्तिपत्र पूर्ण इजलासबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४३।१०।२८ गतेमा तोक लागी आएको रहेछ ।
१३. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादी चिजकुमार तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले वादी र प्रतिवादीहरु २०१३ सालमा छुट्टी अंश भइसकेको छ । वादीले पैत्रिक जग्गा विष्णुलाल प्रधानलाई मिति २०१८।३।५ मा, कन्हैयालाललाई २०१८।३।२ मा बिक्री गरेको, मिति २०१८।१२।२ मा गोपाल श्रेष्ठसंग, मिति २०२३।४।१२ मा हर्कबहादुरसंग सट्टापट्टा गरेको ५० रोपनी जग्गा बन्दीपुर क्याम्पसलाई दिएको समेतबाट व्यवहार प्रमाणबाट छुट्टी अंश भइसकेको पुष्टि भएको छ । विष्णुकुमारीका नाममा बन्दीपुरमा रहेको सम्पत्ति मिति २०१४।१।१० मा दाइजो पेवाबाट लिएको हो सो लिखत उपर गौरीप्रसाद जोशीसंग जालसाजी मुद्दा परी जालसाज नठहरी मिति २०३१।३।३१ गतेमा फैसला भएको छ । सो दाइजोबाट बढे बढाएको सम्पत्तिबाट विष्णुकुमारीका नाममा नारायणघाटमा खरीद गरेको सम्पत्ति हो । सो अंश लाग्ने होइन । त्यस्तै राप्तीदून बिक्री वितरणमा प्राप्त गरेको जग्गा अंश लाग्दैन प्रादेशिक विकास योजना राप्तीदून जग्गा जमीन बिक्री वितरण नियम, २०१३ को नियम ९ ले पनि अंशबण्डा लाग्ने होइन ७ नं. फाँटवारीमा विष्णुकुमारीको जग्गा भनी देखाएको छ । प्रतिवादीहरुका नाममा रहेको दाइजो अंश लाग्ने हो भने, वादीका श्रीमती छोराहरुका नाममा रहेको सम्पत्ति पनि अंश हुनुपर्दछ । तसर्थ वादीहरुबाट अंश दिलाउने गरेको सर्वोच्च अदालतको इन्साफ मिलेको छैन भन्ने र विद्वान अधिवक्ता श्री अनुपराज शर्माले प्रस्तुत फिराद संशोधित अंशवण्डाको १८ नं. अन्तर्गत दावी लिई फिराद परेको छ । निजी आर्जन सम्पत्ति अंश गर्न मिल्दैन । अंशबण्डाको संशोधित १८ नं. को व्याख्या हुनुपर्दछ भन्ने समेत र निवेदक प्रतिवादी बिनोदकुमार श्रेष्ठतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्कीले वादीलाई बिनोदकुमार र विष्णुकुमारी उपर अंशमा दावी गर्ने अधिकार छैन निजहरुबाट वादीले अंश पाउने पनि छैन । तसर्थ फिराद खारेज हुनुपर्दछ । वादीले दावी गर्दा बिनोदकुमार समेतका नाममा रहेको सम्पत्ति पैत्रिक सम्पत्तिबाट बढे बढाएको भनेको छ । तर पैत्रिक सम्पत्तिबाट खरीद गरेको भन्ने लिखत प्रमाण देखाउन सकेको छैन । बिनोदकुमारका नामको जग्गा ऐलानी जग्गा प्राप्त गरेको हो । पैत्रिक सम्पत्तिबाट आर्जेको होइन । आफ्नो निजी आर्जन हो । सो जग्गा अंश लाग्ने होइन । वादी दावी भन्दा बाहिर गई अंश दिलाउने गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ मिलेको छैन भन्ने समेत बहस गर्नु भयो । विपक्षी वादी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पंतले प्रतिवादी तर्फबाट बिक्री व्यवहार गरेको भनेको लिखत कुनैमा मेरो अंशबाट पाएको भन्ने उल्लेख भएको छैन । अंशबाट आएको भनी दा.खा. भएको पनि छैन । दुई दाजु भाइ मध्ये एकले पहाडमा अर्कोले मधेशमा बसी घर व्यवहार चलाउँदै आएका हुन् भन्ने कन्हैयालाललाई पास गरी दिएको लिखतबाट स्पष्ट हुन्छ । मिति २०१८।१२।२२ मा सानुलालले चिजकुमारसंग खरीद गरेको लिखतमा मेरा एका घरका भाइ रामकुमार भन्ने उल्लेख छ त्यस्तै २०२६ सालमा जग्गा बिक्री गर्दा ऋणीको एका घरका भाइ रामकुमार भनी साक्षीमा उल्लेख छ । २०२२ साल चैत्रमा ७ नं. फाँटवारी भर्दा रामकुमार अंशियार उल्लेख भएको समेतबाट २०१३ सालमा छुट्टिइएको भन्ने प्रतिवादीको भनाई सत्य देखिन्न । प्रादेशिक विकास योजना (राप्तीदूनको जमीन वितरण) नियम, २०१३ लाई रा.दु.वि. क्षेत्रको ज.वि.वि. नियम, २०२४ ले खारेज भएको छ । वादी प्रतिवादीहरुको अंश भएको छैन । तसर्थ अंश दिलाउने गरेको सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो ।
१४. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा म र प्रतिवादी चिजकुमार २ जना अंशियार सगोलमा रही आएको अंश माग्दा नदिएकोले तायदाती लिई २ भागको १ भाग अंश छुट्याई पाउँ भन्ने समेत वादीले दावी लिएको देखिन्छ । वादीलाई अंश दिन बाँकी छैन । २०१३ साल चैत्रमा मानु छुट्टी घरसारमा अंश लगाइसकेका छौं । बिनोदकुमार र विष्णुकुमारीका नाममा रहेको सम्पत्ति स्वआर्जनको हो भन्ने समेत प्रतिवादीले जिकिर लिएको पाइन्छ । वादी प्रतिवादीहरु २०१३ सालमा मानु छुट्टिइएको भन्ने कुराको लिखत प्रमाण कुनै देखिँदैन । पैत्रिक सम्पत्ति आ–आफ्नो नाममा दाखिल खारेज गरेको प्रमाण पनि प्रतिवादीले देखाउन सकेको छैन । वादी रामकुमारले जग्गाहरु बिक्री गरेको भनेको लिखत हेर्दा मेरो अंश भागमा परेको भन्ने उल्लेख भएको देखिँदैन । यसबाट व्यवहार प्रमाणबाट अंश भएको भन्ने पनि देखिन आएन । प्रतिवादी चिजकुमारले २०२६ साल चैत्र ११ गते रजिष्ट्रेशन पास गरी नारायणघाट गा.पं. लाई जग्गा बिक्री गरेको लिखतमा ऋणीका एकाघरका भाइ रामकुमार साक्षी रहेको पेश भएको लिखत नक्कलबाट देखिन्छ । त्यस्तै प्रतिवादी चिजकुमारले ७ नं. फाँटवारीको सम्बन्धमा भूमिसुधार अधिकृत भरतपुरमा २०२२।१२।१५ मा कागज गर्दा भाइ रामकुमार श्रेष्ठलाई एकाघरका अंशियार भनी देखाएको पाइन्छ । यसबाट समेत प्रतिवादी जिकिर अनुसार वादी रामकुमार श्रेष्ठ २०१३ सालमा छुट्टिएको भन्ने पुष्टि हुनसकेको छैन । तसर्थ वादी प्रतिवादीहरु २०१३ सालमा छुट्टिएको भन्न मिलेन । एकासगोलमा रहेको भन्ने देखिन आयो । प्रतिवादी विष्णुकुमारीका नामको बन्दीपुरको जग्गा २०१४ सालमा दाइजोबाट खरीद गरेको त्यसैको आयस्ताबाट चितवनमा जग्गा खरिद गरेको अंश नलाग्ने भन्ने सम्बन्धमा २०१४ सालमा दाइजोबाट खरीद गरेको भनेको लिखत घरसारको भन्ने देखिन्छ । सो सक्कल लिखत प्रतिवादीले दाखिल गर्न सकेको छैन । लिखत हरायो भनेको छ । पेश भएको लिखत नक्कल हेर्दा दाइजोको रुपैयाँबाट जग्गा खरीद गरेको भन्ने प्रष्ट खुल्दैन । अप्रसङ्ग ठाउँमा दाइजोको अक्षर रहेको देखिन्छ । यसबाट सो लिखत नक्कललाई दाइजोको लिखत भन्न मिलेन । यस स्थितिमा विष्णुकुमारीका नामको जग्गा दाइजोबाट खरीद गरेको भनी मान्न मिलेन । तसर्थ फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी दाखिल भएको तायदाती र विष्णुकुमारीका नाममा रहेको घर जग्गा समेतबाट २ भागको १ भाग अंश प्रतिवादीबाट वादीले पाउने ठहराएको सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४२।२।१० गतेको इन्साफ मनासिब ठहर्छ ।
१५. अब वादी रामकुमारका श्रीमती सुषमा श्रेष्ठका नामको घर जग्गा बण्डा हुने नहुने निर्णय बोलिएन त्यस तर्फ पनि निर्णय हुनुपर्छ भन्ने सम्बन्धमा हेर्दा वादी रामकुमारको वारिस शिवलाल सापकोटाले मिति २०३६।६।१० गतेमा दाखिल गरेको तायदातीमा मेरो श्रीमतीले बकस पाएको का.जि. महाराजगंज बाँसवारीको जग्गा र सो जग्गामा बनेको घर समेत श्रीमतीको निजी हकको दाइजो रुपैयाँले बनाएको अंशबण्डा नलाग्ने भनी उल्लेख भएको र मिति २०३७।४।१६ गतेको कागजमा काठमाडौं नगरपञ्चायत वडा नं. २२ (ख) बाँसवारीको कि.नं. २८७ को ०–१५–३ पन्ध्र आना तीन पैसा जग्गामा मुद्दा पर्नु अगावै बनेको भान्सा समेत ५ कोठा भएको मोहडा २० फुट, पछाडि ३० फुट लम्बा चौडाको मुन्डा छाना भएको एकतले पक्किघर भन्ने लेखिएको छ । निज वादीको श्रीमती सुष्मा श्रेष्ठले मिति २०३८।२।३२ गतेमा बयान गर्दा मैले विष्णुप्रसाद श्रेष्ठबाट बकसपत्र पाएको जग्गा भित्र भएको घर दाइजोबाट बनाएको भनेको देखिन्छ । तर सो जग्गा दाइजो पाएको भन्ने लिखत प्रमाण केही देखिँदैन । घर पनि दाइजोको रुपैयाँले बनाएको भन्ने लिखत प्रमाण कुनै पेश गर्नसकेको छैन । यस स्थितिमा सो सम्पत्ति अंशबण्डा नलाग्ने सम्पत्ति भन्न मिलेन । सो सम्पत्ति सगोलमा आर्जन गरेको सम्पत्ति भन्नु पर्ने हुन आयो । तसर्थ सो घर जग्गा समेत वादी र प्रतिवादी दुबै जनाले आधा आधा अंशबण्डा पाउने ठहर्छ । सो घर जग्गा अंशबण्डा नगरेको हदसम्म सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
कोर्टफी लागेको मुद्दा हुँदा कसैलाई केहि गर्नु परेन .......१
माथि इन्साफ खण्डमा लेखिएअनुसार वादीको वारिश शिवलाल सापकोटाले मिति २०३६।६।१० मा दाखिल गरेको तायदाती र मिति २०३७।४।१६ गतेमा गरेको कागजमा उल्लेख भएको अनुसार वादीका श्रीमती शुष्मा श्रेष्ठका नाममा दर्ता रहेको का.न.पं. वडा न. २२(ख) वाँसवारीको कि.नं. २८७ को ०–१५–३ पन्ध्र आना तीन पैसा जग्गा र सो जग्गामा बनेको भान्सा समेत ५ कोठा भएको मोहडा २० फुट पछाडि ३० फुट लम्बा चौडाको मुण्डा छाना भएको एकतले पक्कि घर वादी र प्रतिवादीले आधा अंश पाउने ठहरेको हुँदा सो घर जग्गा अंशबण्डा गरी छुट्याई पाउँ भनी वादी र प्रतिदावी चिजकुमार श्रेष्ठको ऐनको म्यादभित्र दर्खास्त परेकोमा कानुन बमोजिम लाग्ने दस्तूर लिई बण्डा छुट्याई दिनु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु ........२
मिसिल नियम बमोजिम गरी बुझाई दिनु ..........३
उक्त रायमा हामीहरु सहमत छौं ।
न्या. बब्बरप्रसाद सिंह,
न्या. प्रचण्डराज अनिल
इति सम्वत् २०४६ साल कार्तिक २९ गते रोज ३ शुभम् ।