निर्णय नं. ३८७४ - जबरजस्ती करणी

निर्णय नं. ३८७४ ने.का.प. २०४६ अङ्क ७
पूर्ण इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४५ सालको फौ.पु.ई.नं. २६, २७
फैसला भएको मिति : २०४६।६।१९।५ मा
पुनरावेदक/प्रतिवादी : जि. दाङ, तुल्सीपुर गा.पं. वा.नं. ५ बस्ने चित्रराज सिं राठोर
विरुद्ध
विपक्षी/वादी : सेतीकुमारीको जाहेरीले श्री ५ को सरकार
मुद्दा : जबरजस्ती करणी
§ घटनामा पीडित व्यक्ति जाहेरवालीले प्रतिवादीहरुले जबरजस्ती करणी गरेको हो भनी घटनाक्रम समेत उल्लेख गरी किटानी साथ अदालतमा समेत उपस्थित भई बकपत्र गरी दिएको सो वारदात देख्ने र जाहेरवाली समेतको बकाईबाट प्रतिवादीहरु वारदात स्थलमा रहे भएको भन्ने देखिने ।
(प्रकरण नं. १७)
§ अस्पताल जाँच, सरजमीनमा देख्ने व्यक्ति तथा जाहेरवालीको किटानी बकपत्र समेतबाट प्रतिवादीहरुले जाहेरवालीलाई जबरजस्ती करणी गरेको भन्ने अभियोगको पुष्टि भएको देखिने स्थितिमा प्रतिवादीहरु निर्दोष रहेछ भन्न नसकिने ।
(प्रकरण नं. १७)
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल र विद्वान अधिवक्ता श्री बाबुराम गिरी
विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ
फैसला
प्र.न्या. धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत संयुक्त इजालसमा मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।
२. मिति २०४०।८।१६ गते राती अं. ८.३० बजेको समयमा म र मिना श्रेष्ठ तुल्सीपुरमा लागिरहेको मेला हेरी घरतर्फ फर्कन लाग्दा गेटदेखि बाहिर निस्किनासाथ अन्यायवाला राजुसिं ठकुरीले मलाई पाखुरामा समाई हामीसंग हिंड भनी वलुवा गाउँको कुलातर्फ लैजान लाग्दा प्र. मध्येको विजय गुप्ताले मेरो साथमा रहेकी मिना श्रेष्ठलाई पिटी भगाई दिएपछि मलाई पहिले राजुसिं र पछि विजयले पालो पालो गरी जबरजस्ती करणी गरेकाले कानुन बमोजिम सजायँ गरी पाउँ भन्ने समेत सेतीकुमारी मगरनीको मिति २०४०।८।१८ को जाहेरी दर्खास्त ।
३. म र सेतीकुमारी मिति २०४०।८।१६ गते रमाइलो मेलाबाट रातको ८.३० बजे फर्किन लाग्दा प्रतिवादीहरु राजुसिंह र वियज गुप्ताले मलाई पिटी धपाई सेतीकुमारीलाई बरुवा गाउँको कुलोको ढीकमा लगेका हुन भन्ने समेत व्यहोराको मिना श्रेष्ठले प्रहरीमा गरेको कागज ।
४. जाहेरवाली सेतीकुमारी मगरनी र मिना श्रेष्ठ दाङ तुलसीपुरमा लागेको रमाइलो मेला हेरी घर तर्फ फर्किन लाग्दा सेतीकुमारीलाई बरुवा गाउँको कुलोको ढीकमा लगी निजको इच्छा विपरीत प्र.राजुसिंह ठकुरी र विजयकुमार गुप्ताले समेत जबरजस्ती करणी गरेको सिद्ध हुन आएकोले प्र.हरुलाई जबरजस्ती करणी महलको ३ नं. अनुसार कारवाही र सोही ऐेनको १० नं. अनुसार प्रतिवादी दुबै जनाबाट जाहेरवालीलाई आधा अंश दिलाई पाउन र पक्राउ फेला नपरेका प्रतिवादीहरुका नाउँमा यसै अदालतबाट अ.बं. ९४ नं. बमोजिम समाव्हान जारी गरी कारवाही गरी पाउँ भन्ने समेत मिति २०४०।९।१९ गतेको प्रहरी प्रतिवेदन ।
५. समाव्हान म्यादमा उपस्थित भई प्र.मध्येका विजयकुमार गुप्ताले २०४० सालको भाइटिका पछि भारतको लखनौमा नोकरी गर्न भनी गई ऐ. माघ महीनामा मात्र घर फर्की आएको हुँ । मिति २०४०।८।१६ गते जाहेरवालीलाई जबरजस्ती करणी गरेको होइन । जाहेरवालीको बाबुसंग डेढ वर्ष पहिले निजले लगेको सापटी पैसा नदिएकाले झै झगडा भएको थियो । सोही ईवीले झुठ्ठा जाहेरी दिएकी हुन भन्ने समेत प्र.विजयकुमार गुप्ताले अदालतमा गरेको बयान ।
६. मिति २०४०।८।९ गते खिल्लतपुरको घरबाट ट्रान्सक्रिप्ट लिन भारत वनारस तर्फ गएको थिएँ । उतैतिरबाट कपिलवस्तु जिल्लामा पर्ने रुद्रपुर गाउँका दिदी भिनाजुको घरमा गई केही दिन उहीं बसें । त्यहीँ विरामी परी विष्णुपुर हेल्थपोष्टमा ७ दिनसम्म उपचार गराएँ । त्यसपछि २०४०।१०।१८ गते घर तर्फ आएको हुँ । जाहेरवालीलाई जबरजस्ती करणी गरेको होइन भन्ने समेत प्र.चित्रराज सिंह राठोरको अदालतमा बयान ।
७. मिति २०४०।८।१६ गते रातको अं. ८.३० बजेको समयमा दाङ तुल्सीपुर वलुवा गाउँको कुलोको ढीक माथि विजय गुप्ता र चित्रराज सिंहले जाहेरवाली सेतीकुमारीलाई जबरजस्ती करणी गर्न लागेका थिए । मैले करणी गर्न लागेको देखेको हुँ । करणी गर्न लागेको अवस्थामा सेती कुमारीले बचाओ–बचाओ भनी कराई रहेको थिइन भन्ने समेत व्यहोराको श्रवणकुमार थापाले २०४१।२।११ गते अदालतमा गरेको बयान ।
८. मिति २०४०।८।१६ गते राती अं. ८.३० बजेको समयमा म र मिना श्रेष्ठ तुल्सीपुरमा लागेको मेला हेरी फर्कदा मिनालाई विजयले पिटी धपाई मलाई जबरजस्ती तानेर बरुवा गाउँको कुलातिर लगी प्र.वियजकुमार गुप्ता र प्र.चित्रराजले पालो पालो गरी जबरजस्ती करणी गरेकै हुन् भन्ने समेत जाहेरवाली सेतीकुमारीले अदालतमा गरेको बकपत्र ।
९. घटनाबाट पीडित सेतीकुमारी देख्ने श्रवण थापा र मिनाकुमारी समेतको कथनहरुबाट चित्रराज सिंह राठौर र विजय गुप्ताले २०४०।८।१६ गतेको राती जाहेरवालीलाई निजको इच्छा विरुद्ध बल प्रयोग गरी जबरजस्ती करणी गरेको ठहर्छ भन्ने समेत दाङ देउखुरी जिल्ला अदालतको मिति २०४१।१०।४ गतेको फैसला ।
१०. दाङ देउखुरी जिल्ला अदालतको फैसलामा चित्त बुझेन, सो फैसला बदर गरी इन्साफ पाउँ भन्ने समेत प्र.विजयकुमार गुप्ता र प्र.राजुसिंह भन्ने चित्र राजसिंह राठौरको पुनरावेदन ।
११. प्रतिवादीहरुले २०४०।८।१६ गतेको राती जाहेरवालीलाई जबरजस्ती करणी गरेको ठहर्याएको शुरु दाङ देउखुरी जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।५।२७ को फैसला ।
१२. सेतीकुमारीको बकपत्रले जाहेरी नै झुठ्ठा भएको र डाक्टरले नै करणी भएको छुट्टाउन सकिने अवस्था यकीन गर्न नसक्ने भनी भनेबाट र अन्य शारीरिक चोट पटक केहि कतै नदेखिएको अवस्थामा जबरजस्ती करणी गरेको ठहर्याएको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा प्रमाण ऐन, २०३१ को दफा ५४ को कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा पर्न आएको छुट्टा छुट्टै निवेदनपत्र ।
१३. ने.का.प. २०३९ नि.नं. ६७३ पृष्ठ ८६ मा प्रतिपादित सिद्धान्त विपरीत उक्त मुद्दा निर्णय भएको देखिनाले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(४)(ग) को त्रुटी देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।
१४. यस्मा घटनाग्रस्त व्यक्ति सेतीकुमारीले शुरु जाहेरी दिएकी र सो जाहेरीलाई समर्थन गरी अदालतमा बकपत्र गरेको देखिन्छ । मौकामा देख्ने भनिएका श्रवणकुमार थापाले अदालतमा समेत बकपत्र गरी जाहेरी व्यहोरालाई पुष्टि गरेको पाइन्छ । घटनाबाट पीडित सेतीकुमारीको डाक्टरी जाँचबाट निजको गुप्ताङ्गको पर्दा च्यातिएको भन्ने पुष्ट्याई भएको छ । २०४०।८।१६ मा तुल्सीपुरको मेला लागेको अवस्थामा वारदात घटित भएको भन्ने देखिँदा वारदात विवरण स्वभाविक रुपमा पुष्ट्याई भएको देखिन्छ । तसर्थ मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले पुनरावेदक प्रतिवादीहरु विजयकुमार गुप्ता र राजुसिंह भन्ने चित्रराज सिंह राठौरलाई अपराधी ठहर गरी सजायँ गरेको इन्साफ मनासिब छ । पुनरावेदकहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री प्रचण्डराज अनिलको राय ।
१५. प्रतिवादीहरु अदालतमा आई बयान गर्दा वारदातको समय वारदात स्थलमा नभई प्रतिवादी चित्रराज कपिलवस्तुमा भई २०४०।८।१३ देखि विरामी परी हेल्थपोष्टमा उपचार गराई २०४०।८।१८ मा मात्र घर दाङमा आएको भनी र विजयकुमार लखनौमा भई वारदात पछि मात्र दाङ आएको भनी देखाई इन्कारीमा रहेको चित्रराजका साक्षीहरुले सो कुराको पुष्टि गरी बकपत्र गर्नुको साथै हेल्थपोष्टको रजिष्टरबाट निज २०४०।८।१३ देखि उपचारमा रहेको देखिन आएको र त्यस्तै विजयकुमारका साक्षीहरुले पनि निजको बयान समर्थन गरी बकपत्र गरेको छ भने अर्कोतर्फ जाहेरवालीले आफ्नो जाहेरी दर्खास्तमा र मौकामा देख्ने भनेका शरणकुमारको सरजमीन व्यहोरा सित निजहरुको अदालतको बकपत्र एक मिलान नभई घटनाको देखाइएको वस्तुस्थिति नै फरक परेको देखिन आएको र निजहरुको बकपत्र कागज बमोजिम जाहेरवालीलाई वारदात कै रात हेल्थपोष्ट लगेको नदेखिई २०४०।८।१८ मा मात्र लगेको भन्ने हेल्थपोष्टको जवाफबाट देखिन आएको जाहेरवालीको अस्पताल जाँच हुँदा पनि अरु योनी समेतमा कुनै घा चोट नदेखिई Hymen खुलेको भन्ने सम्म देखाएको र यस कारणबाट करणीबाटै सो अवस्था परेको भन्न नसकिने भन्ने लेखिएको देखिएकोबाट वारदात कुनै कतैबाट समर्थन भएको नदेखिएकोले अभियुक्तहरुले दावी बमोजिम अपराध गरेको भन्न नमिलेकोले सफाई पाउने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय ।
१६. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी चित्रराज सिंह राठोरको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले प्रतिवादी चित्रराज २०४०।८।१३ मा कपिलवस्तु जिल्ला अन्तर्गत विष्णुपुर हेल्थपोष्टमा उपचार गराई २०४०।१०।१८ मा घर आएको भनी प्रतिवादीले अदालतमा आई इन्कारी बयान गरेको छ । निजको इन्कारी बयान निजका साक्षीहरु र हेल्थपोष्टको रजिष्ट्रिकपीमा भएको रेकर्ड समेतबाट पुष्टि भइरहेको छ । सेतीकुमारीको योनी जाँच गर्दा योनी समेतमा कुनै घाउ चोट भएको तथा करणी भएको यकीनसाथ भन्न नसकिने भनी हेल्थपोष्टबाट लेखी आएको छ । यस स्थितिमा मेरो पक्ष निर्दोष छ भन्ने र अर्का प्रतिवादी विजयकुमारको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बाबुराम गिरीले वारदातको समय मेरो पक्ष वारदात स्थलमा नभई अन्यत्रै रहेको भनी अदालतमा बयान गरेको र सो बयानलाई निजका साक्षीहरुको बकपत्र समेतबाट पुष्ट्याई भएकोले मेरो पक्ष निर्दोष छ । आरोपित कसूरबाट सफाई दिने ठहर्याएको मा.न्या. श्री हिरण्येश्वरमान प्रधानको राय सदर हुनुपर्ने भन्ने र विपक्षी वादी तर्फबाट उपस्थित विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले पीडित व्यक्ति सेतीकुमारीले किटानी जाहेरी दिनुको साथै सोही बमोजिम अदालतमा आई बकपत्र समेत गरी दिएकी छन् । मौकामा करणी गरेको देख्ने श्रवणकुमारले अदालतमा आई बकपत्र गरी दिएका छन् । पीडित सेतीकुमारीको योनी जाँच गर्दा Hymen च्यातिएको देखिन्छ । प्रतिवादीहरु मध्ये चित्रराजले विष्णुपुर हेल्थपोष्टको रेकर्डबाट २०४०।८।१३ मा स्वास्थ्य परीक्षण गराएको देखिएबाट वारदातको दिन २०४०।८।१६ मा वारदात स्थलमा रहन नसक्ने भन्न मिलेन । अतः निज प्रतिवादीहरुलाई कसूरदार ठहर्याई सजायँ गरेको मा.न्या. श्री प्रचण्डराज अनिलको राय सदर हुनुपर्ने भनी बहस गर्नु भयो ।
१७. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा राजुसिंह ठकुरी र विजय गुप्ताले मलाई जबरजस्ती करणी गरे भन्ने सेतीकुमारी मगर्नीको जाहेरी दर्खास्त परी प्रस्तुत मुद्दा कारवाही भएको देखिन्छ । विजय गुप्ता र राजुसिंह ठकुरी समेत २ जनालाई जबरजस्ती करणीको ३ नं. अनुसार सजायँ हुन र ऐ. १० नं. अनुसार दुवैजनाबाट जाहेरवालीलाई आधा अंश पाउने समेतको कारवाहीको लागि अनुरोध गरिएको छ भन्ने समेत दावी लिई प्रहरी प्रतिवेदन परेको पाइन्छ । पुनरावेदक प्रतिवादी राजुसिंह ठकुरी भन्ने चित्रराज सिंह राठोरले अदालतमा बयान गर्दा ०४०।८।९ का दिन एस.एल.सी. को ट्रान्सक्रिप्ट लिन भारत उत्तर प्रदेश गई ०४०।८।११ गते दिदी भिनाजु भेट गर्न कपिलवस्तु जौभरी गा.पं. वार्ड नं. १ रुद्रपुर पुगेको ०४०।८।१३ गतेदेखि विरामी भई विष्णुपुर हेल्थपोष्टमा चेक गराई ७ दिनसम्म उपचार गराएँ । २०४०।१०।१८ गते घर आई पुगेको हुँदा जाहेरवालीलाई मैले जबरजस्ती करणी गरेको छैन भन्ने समेत र अर्को पुनरावेदक प्रतिवादी विजयकुमार गुप्ताले ०४० साल भाइटिका बाद भारत लखनौमा नोकरी गर्न गई ०४० साल माघमा घर आएको हुँदा जाहेरवालीलाई जबरजस्ती करणी गरेको होइन भन्ने समेत बयान गरेको देखिन्छ । आरोपित कसूर गरेमा प्रतिवादीहरु इन्कार रहेको पाइन्छ । विष्णुपुर हेल्थपोष्टबाट झिकाइएको रेकर्डमा प्र.राजुसिंह भन्ने चित्रराज सिंहले २०४०।८।१३ का दिन मात्र स्वास्थ्य परीक्षणसम्म गराएको भन्ने देखिन्छ । तर सोही हेल्थपोष्टमा भर्ना भएको भन्ने देखिँदैन । प्र.विजयप्रसादको सम्बन्धमा पनि भारत लखनौमा नोकरी गर्न गएको भनेको छ । तर कहाँ के कस्तो नोकरी गर्न गएको हो सो कुराको प्रमाण कुनै देखिँदैन । निज प्रतिवादीहरुका साक्षीहरुले वारदातका अवस्था प्रतिवादीहरु आफ्नो घरमा छैन भनी बकेको पाइन्छ । तर वारदात देख्ने प्रत्यक्षदर्शी सरजमीनका व्यक्ति शरणकुमार थापाले जाहेरवालीलाई राजुसिंह ठकुरी र विजय गुप्ताले जबरजस्ती करणी गरेको मैले आँखाले नै देखेको हुँ भनी सरजमीनमा लेखाई दिएको र अदालतमा बकपत्र गर्दा पनि सोही कुरा बकी लेखाई दिएको पाइन्छ । घटनामा पीडित व्यक्ति जाहेरवाली सेतीकुमारी मगर्नीले प्रतिवादीहरुले मलाई जबरजस्ती करणी गरेको हो भनी घटनाक्रम समेत उल्लेख गरी किटानीसाथ अदालतमा समेत उपस्थित भई बकपत्र गरी दिएको देखिन्छ । सो वारदात देख्ने शरणकुमार थापा र जाहेरवाली समेतको बकाईबाट प्रतिवादीहरु वारदात स्थलमा रहे भएको भन्ने देखिन्छ । यसबाट वारदातका अवस्था अन्यत्र रहेको भन्ने प्रतिवादीहरुको जिकिर तथा निजहरुको साक्षीको बकाई सत्य रहेछ भन्न मिलेन । प्रतिवादीहरु घटनास्थलमा रही आरोपित कसूर गरेको भन्ने देखिन्छ । प्रतिवादीहरुले जाहेरवालीलाई जबरजस्ती करणी नगरेको भए त्यसरी प्रतिवादीहरु उपर पोल गर्नु पर्ने अवस्था पनि थिएन । जाहेरवालीको अस्पताल जाँच हुँदा गुप्ताङ्गको पर्दा खुलेको छ भनी महेन्द्र अस्पताल दाङबाट मिति २०४०।८।१९ मा लेखी आएको मिसिल सामेल रहेको पत्रमा उल्लेख भएको पाइन्छ । उक्त अस्पताल जाँच, सरजमीनमा देख्ने व्यक्ति तथा जाहेरवालीको किटानी बकपत्र समेतबाट प्रतिवादीहरुले जाहेरवाली सेतीकुमारी मगर्नीलाई जबरजस्ती करणी गरेको भन्ने अभियोगको पुष्टि भएको देखिन्छ । यस स्थितिमा प्रतिवादीहरु निर्दोष रहेछ भन्न सकिने अवस्था रहेन । तसर्थ अभियोगबाट सफाई पाउँ भन्ने प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादीहरु राजुसिंह ठकुरी भन्ने चित्रराज सिंह राठौर र विजयकुमार गुप्ताले जाहेरवाली सेतीकुमारी मगर्नीलाई जबरजस्ती करणी गरेको ठहराएको दाङ देउखुरी जिल्ला अदालतको इन्साफ सदर गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफलाई मनासिब ठहराएको सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री प्रचण्डराज अनिलको राय मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक देहायका मानिस के माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरुको सदर गरेको म.प.क्षे.अ. को इन्साफ मनासिब ठहरेकोले पुनरावेदन गरे बापत शुरु दाङ देउखरी जिल्ला अदालतको फैसलाले लाग्ने ठहर्याएको जनही कैद वर्ष ६ को अ.वं २०३ नं. बमोजिम त्यसको सयकडा ५ ले जनही थप कैद ३ महीना १८ दिनको दरले थप कैद हुन्छ । बेरुजु हुँदा लगत कसी असूल गर्नु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु ..१
राजु भन्ने चित्रराज सिंह राठौर...१
विजयकुमार गुप्ता के...१
मिसिल नियम बमोजिम गरी बुझाई दिनु...२
उक्त रायमा हामी सहमत छौं ।
न्या. पृथ्वीबहादुर सिंह,
न्या. गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४६ साल आश्विन १९ गते रोज ५ शुभम् ।