निर्णय नं. ३८७६ - ७ नं. फाँटवारी छानवीन

निर्णय नं. ३८७६ ने.का.प. २०४६ अङ्क ७
पूर्ण इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४४ सालको दे.पु.नं. ६५
फैसला भएको मिति : २०४६।५।२७।३ मा
निवेदक/वादी : जिल्ला कार्यालय भूमिसुधार शाखा वर्दिया
विरुद्ध
विपक्षी/प्रतिवादी : जि. बर्दीया महमदपुर गा.पं. वा.नं. ७ बस्ने मन्जूर हसनशेखसमेत
मुद्दा : ७ नं. फाँटवारी छानवीन
§ विदेशीले कसैको अंशियार वा अन्य कुनै हैशियतको आधारमा नेपाल सरहद भित्र रहेको सम्पत्तिमा दावी गर्दछ भने त्यस्तो दावी प्रमाणित पनि उसैले गर्नु पर्ने ।
(प्रकरण नं. १५)
§ अंश जस्तो कुरामा विवाद उठी सकेपछि ठोस सबूद प्रमाणको अभावमा अंशियार कायम गर्न नमिल्ने ।
(प्रकरण नं. १५)
निवेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी
विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल
फैसला
न्या. बब्बरप्रसाद सिंह : सर्वोच्च अदालत संयुक्त इजलासमा मतैक्य हुन नसकी निर्णयार्थ पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।
२. बर्दिया तप्पे रजहट मौजे सत्यनगर बस्ने मुन्सी फैजु हसनको छोरा एकराय शेषले भू.सं. ऐन, २०२१ बमोजिम पेश गरेको ज.वि. २१५–२–६ को फाँटवारी छानविन गर्दा विपक्षी एकराम शेषको छोरा अंजु मियाँ शेषले बाबु स्वर्गे भएको भनी मुद्दामा सकार गरी मेरो परिवारमा भू.सं. ऐन लागू हुँदा जम्मा ज.वि. २१५–२–६ थियो । त्यसपछि नापीमा घटी भई जम्मा ज.वि. १८७–१–५ कायम भएको छ । मेरो छ परिवार छौं । लेखिएका परिवार भारतीय नागरिक हुन भन्ने अंजु मियाँ शेषले २०३४।१।२७ मा भू.सु.का. बर्दियामा गरेको बयान ।
३. बाबु एकराम शेषले पेश गरेको ७ नं. फांटवारीमा महजहर मियाँ, बदर मियाँ, मन्जूर हसन शेष समेत ५ जना परिवार देखाई फाँटवारी पेश गरेकोमा २०३५।१।२७ मा मैले गरेको बयानमा छोरा सहाबुद्धिन समेत छ परिवार छौ भन्ने अंजु मियाँ शेषले दिएको स्पष्टीकरण ।
४. हामी सबै अंशियार हौं, एकरामको मृत्यु २०२३ सालमा भएको हो, अंशबण्डा भएको छैन । हामीहरु भारत वहराइचमा बस्छौं । नेपालको नागरिकता छैन । नेपालको नियम कानुन बमोजिम आफूले पाउने संपत्ति बेची लैजाने व्यवस्था गरी पाउँ भन्ने मन्जूर हसन, बदर मियाँ, सहाबुद्धिन, बन्ने मियाँ भन्ने नरुल हसन, महजर हसन, अंजु मियाँ शेषले गरेको बयान ।
५. अंशियार नाता प्रमाणित नेपाल कानुन बमोजिम गर्न नसकेको र स्पष्टीकरण माग गर्दा सन्तोषजनक जवाफ नदिएको माग गर्दा सन्तोषजनक जवाफ नदिएकोले हदबन्दी भन्दा बढी जग्गा बचाउन भारतीय अनागरिक नाता गोताको व्यक्ति परिवारभित्र पारी झुठ्ठा फाँटवारी पेश गरेकोले भू.सं. ऐनको दफा १८(१) बमोजिम अंशियारा नभएका ४ जनाको नाममा राखेको ज.वि. ११२ जफत हुने, अंजु मियाँ र निजको छोरा सहाबुद्धिनले राख्न पाउने ५६ बिगहा कटाई बाँकी १९–१–५ प्राप्त गर्ने भन्ने भू.सु. शाखा बर्दियाको ०३८।९।२१ को फैसला ।
६. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेतको मन्जूर हसन शेष समेतले भे.अं.अ.मा पुनरावेदन गरेको ।
७. शुरुले गलत मूल्यांकन गरेको फैसला न्यायसंगत भएन भन्ने समेतको अंजु मियाँ शेषको भेरी अञ्चल अदालतमा पुनरावेदन परेको ।
८. ७ नं. फाँटवारी दिंदा सहाबुद्धिनको नाम उल्लेख भएको र निजले ०३६।१०।२७ मा बयान गर्दा २२ वर्ष उमेर लेखिएकोले भू.सु. ऐन लागू हुँदा नावालक भएबाट निजले २८ बिगहा राख्न पाउने गरेको शुरु निर्णय त्यति हदसम्म मिलेन । सो २८ बिगहा समेत जफत हुने ठहर्छ भन्ने समेतको भेरी अञ्चल अदालतको फैसला ।
९. उक्त फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीहरुको संयुक्त निवेदन परेकोमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने आदेश भई म.प.क्षे.अ. मा पुनरावेदनमा दर्ता भएको ।
१०. अंजु मियाँ शेष र सहाबुद्दिनलाई २८ बिगहाका दरले जग्गा दिलाउने गरेकोसम्म भूमि सुधारको फैसला मनासिब छ । बन्ने मियाँ बाहेकका तीन जवान मन्जूर हसन शेष १, मजहर मियाँ शेष १, बदर मियाँ १ ले २५ बिगहाका दरले जग्गा पाउने हुँदा अदलको ३ नं. बमोजिम नेपाली नागरिकलाई हक छाडी लिनु दिनु गर्न पाउने नै देखिँदा भेरी अञ्चल अदालत र भू.सु.का. को फैसला केही गल्ती ठहर्छ भन्ने म.प.क्षे.अ. को फैसला ।
११. उक्त फैसला उपर इन्साफ जाँच गरी दिनु भनी हु.प्र. बक्स पाउँ भन्ने भू.सु.का. वर्दियाको बिन्तीपत्रमा यस्मा मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट किनारा भएको ७ नं. फाँटवारी छानवीन भन्ने मुद्दाको मिसिल झिकाई इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु प्रमाङ्गीको जानकारी भूमिसुधार कार्यालय बर्दियालाई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारको बिशेष जाहेरी विभागबाट लेखी आई विविधको लगतमा दर्ता भै सर्वोच्च अदालत संयुक्त इजलास समक्ष पेश भएकोमा ।
१२. एकरामले ७ नं. फाँटवारी भर्दा मन्जूर हसन, बन्ने मियाँ र बदर मियाँ र मजहर शेष भतिजा भनी लेखाएको पाइन्छ । सो बमोजिम नभई भारतीय नातागोताका मान्छे हुन् भन्ने वादीको कथन भएकोमा त्यसको पुष्ट्याई हुने गरी प्रमाणित गर्न सकेको छैन । एकरामले भरेको फाँटवारीलाई नै पुष्ट्याई गरी वादीहरुले बयान समेत गरेको देखिन्छ । प्रतिवादीहरु विदेशी नागरिक भए पनि अदलको ३ नं. ले नेपाल सरहद भित्रको अचल सम्पत्ति बिक्री गरी वा अरु कुनै व्यहोराले हक छाडी दिन पाउने नै देखिन्छ । अतः अन्जु मिया र सहाबुदिनले २८ बिगहाका दरले पाउने भनी निर्णय गरे उपर पुनरावेदन परेको नहुँदा निजहरुले २८ विगाकै दरले र प्र. बदर मियाँ, मन्जूर हसन, मजहर मियाँ समेतका अंशियार होइनन् भन्ने वादीले प्रमाण केही पेश गर्न सकेको नदेखिँदा निजहरु प्रत्येकले २५।२५ विगहाको दरले जग्गा पाउने ठहर्याएको म.प.क्षे.अ. को इन्साफ मनासिब नै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय ।
१३. अंश जस्तो कुरामा बिना यकीन प्रमाण अंशियार मान्न मिल्दैन । अर्को कुरा एकराम शेषको मृत्यु पश्चात पनि छुट्टी भिन्न भई बसेको भन्ने दावी दिने विपक्षीहरुले नेपालको दर्ता श्रेस्तामा देखिने गरी कुनै प्रमाण पेश गर्न सकेको छैन । सम्पत्तिमा दावी गर्नेले नै सो मा हक पुगेको प्रमाण पुर्याउनु पर्दछ । भाइ भतिजाहरु सबै अंशीयार भित्र पर्न सक्ने पनि हुँदैनन् । नातामा विवाद उठेपछि नेपाल अदालतबाट आफूलाई एकरामको अंशियार प्रतिवादीहरुले कायम गर्न सकेको पाइदैन । तसर्थ मंजूर हसन, मजहर मियाँ र बदर मियाँले २५।२५ बिगहा जग्गा पाउने ठहर्याएको म.प.क्षे.अ. को निर्णय त्यति हदसम्म मिलेको नदेखिँदा सो हदसम्म उल्टी हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय रहेछ ।
१४. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा वादी तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटीले मन्जूर हसन, मजहर मियाँ, बदर मियाँ भाइ भतिजा हुन् भनी एकरामशेषले ७ नं. फाँटवारी भरेको देखिन्छ । निजहरु अंशियार होइनन् भारतीय नातागोताका मान्छे हुन् भनी खड्गबहादुर थापा समेतको उजूर परी विवाद उठेपछि अंशियार कायमतर्फ नालेश उजूर गरी अंशियार कायम गराई ल्याउनु पर्ने सो बमोजिम प्रतिवादीहरुले एकरामको अंशियार कायम गराई ल्याउन सकेको पाइन्न । भाइ भतिजा स्वतः अंशियार भित्र पर्छन् भन्न मिल्दैन अतः मा.न्या. श्री रुद्रबहादुर सिंहज्यूको राय सदर हुनुपर्ने भन्ने र विपक्षी प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दहालले एकरामले ७ नं. फाँटवारी भर्दा भाइ भतिजा भनी व्यहोरा खुलाएको र निज प्रतिवादीहरुले सोही व्यहोरालाई समर्थन गरी बयान गरेका छन् । यस्तो अवस्थामा नातामा विवाद परेको भन्न मिल्दैन । बरु अंशियार नाताका होइनन् भन्ने वादीले नै सो कुराको प्रमाण पुर्याउनु पर्ने हुन्छ । प्रतिवादी मध्येका मन्जूर हसन, मजहर मियाँ, बदर मियाँ, भारतीय नागरिक हुँदा नेपाल कानुन अनुसारको प्रमाण दिन सक्ने अवस्था रहेन । उनीहरुले भारतीय कानुन बमोजिमका प्रमाणहरु पेश दाखिल गरेकै छन् । अदलको महलको ३ नं. अनुसार नेपाल सरहदभित्रको आफ्नो हकको अचल सम्पत्ति बिक्री व्यवहार वा अन्य किसिमले हक छोडी दिन सक्ने नै हुँदा निजहरु समेतले २५।२५ बिगहाका दरले जग्गा राख्न पाउने ठहर्याएको मा. न्या. श्री पृथ्वीबहादुर सिंहज्यूको राय सदर हुनुपर्ने भनी बहस गर्नु भयो ।
१५. आज निर्णय सुनाउन तारिख तोकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा यस्मा आफू र अन्जु मियाँ शेषको नाममा रहेको जग्गाको ७ नं. फाँटवारी भर्दा एकराम शेषले प्रतिवादीहरु मध्येका मन्जूर हसन शेषलाई भाइ र मजहर मियाँ र बदर मियाँलाई भतिजा देखाई फाँटवारी दिएको देखिन्छ । सो सम्बन्धमा बेअंशियार भारतीय नाता गोताका मान्छेको नाममा लेखाई सबै जग्गा आफ्नो कब्जामा राख्न खोजेका छन् भनी खड्गबहादुर थापा समेतको उजूर परी प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । एकराम शेषको २०२३ सालमा मृत्यु भएको भनी अन्जु मियाँले २०३५ सालमा मुद्दा सकार गरी भूमिसुधार कार्यालय बर्दियामा २०३५ सालमा बयान गर्दा मन्जूर हसन शेष, मजहर मियाँ, बदर मियाँ भारतीय नागरिक मेरा काका तथा दाजु भाइ नाताका व्यक्ति हुन् भनी व्यहोरा लेखाएको र सोही बमोजिम निज प्रतिवादीहरुले पनि एकराम शेषका भाइभतिजा नाताका भारतीय नागरिक हुँ भनी बयान गरेको देखिन्छ । भूमिसुधार कार्यालय बर्दियाले अञ्जु मियाँ र सहाबुद्दिनलाई भूमिसम्बन्धी ऐन बमोजिम पाउने सम्मको प्रत्येकलाई २८ बिगहा दरले दिने भनी ठहर गरे उपर वादीको पुनरावेदन नपरेकोले त्यसलाई अन्यथा भन्न मिल्ने अवस्था नहुँदा अञ्जु मियाँ र सहाबुद्दिनले जनही २८ बिगहाका दरले पाउने ठहर्याएको हदसम्म मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखियो । अब मन्जूर हसन, मजहर मियाँ र बदर मियाँको हकमा विचार गर्दा निजहरुले हामी एकराम शेषको अंशियारा भाइ भतिजा हौ भनी बयान गरेको देखिन्छ । यी प्रतिवादीहरुले भूमिसुधार कार्यालय बर्दियामा २०३६ सालमा बयान गर्दा भारतीय नागरिक हुँ । नेपालको नियम कानुन अनुसार आफ्नो पाउनु पर्ने सम्पत्ति बेची लैजान पाउँ भनी व्यहोरा लेखाएको देखिन्छ । यसरी यी प्रतिवादीहरु भारतीय नागरिक भएकोमा विवाद देखिन्न । कुनै विदेशीले कसैको अंशियार वा अन्य कुनै हैसियतको आधारमा नेपाल सरहदभित्र रहेको सम्पत्तिमा दावी गर्दछ भने त्यस्तो दावी प्रमाणित पनि उसैले गर्नु पर्दछ । निज प्रतिवादीहरु समेतलाई अंशियार नाता देखाई विवरण दाखिल भएको र सोही बमोजिम आफू एकराम शेषको भाइ भतिजा नाताको व्यक्ति हुँ भनी प्रतिवादीहरुले बयान गरी दावी लिएको र यी प्रतिवादीहरु अंशियार नाताका होइन भन्ने उजूर परे नातामा विवाद उठेको अवस्थामा आफू एकराम शेषको अंशियार भाइ भतिजा नाताको व्यक्ति भन्ने कुराको सम्बन्धमा नेपाल कानुन अनुसारको पक्का प्रमाण प्रतिवादीहरुले पेश दाखिल गर्न सकेको पाइन्न । अंश जस्तो कुरामा विवाद उठी सकेपछि ठोस सबूद प्रमाणको अभावमा अंशियार कायम गर्न मिल्दैन । तसर्थ मन्जूर हसन, मजहर मियाँ र बदर मियाँ अंशियार नै हुन् भन्ने भरपर्दो प्रमाण दाखिल हुन नसकोले निजहरु समेतलाई अंशियार देखाई झुठ्ठा विवरण दाखिल गरेको ठहर्याई ती जग्गाहरु भूमिसुधार कार्यालय बर्दियाको फैसला बमोजिम जफत गर्नुपर्नेमा सो बमोजिम नगरी जनही २५ बिगहाका दरले जग्गा पाउने ठहर्याएको हदसम्म मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुन्छ भन्ने माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय मनासिब ठहर्छ । अब अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकोले प्रतिवादीहरु मन्जूर हसन शेष, बदर मियाँ शेष, मजहर मियाँ शेषलाई जनही २५ बिगहाको दरले जग्गा पाउने र अदलको ३ नं. अनुसार निजहरुले हक छाडी जान पाउने हुँदा कानुन बमोजिम गर्नु भनी भूमिसुधार कार्यालय वर्दियालाई लेखी पठाउने भनी मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले लगत कायम गरेकोमा सो बमोजिम गर्नु नपर्ने हुँदा व्यहोरा जनाई लगत कट्टा गरी दिनु ...१,
जानकारीको लागि फैसलाको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियम बमोजिम गरी बुझाई दिनु...२
उक्त रायमा हामी सहमत छौं ।
न्या. त्रिलोकप्रताप राणा
न्या. हिरण्येश्वरमा प्रधान
इति सम्वत् २०४६ साल भाद्र २७ गते रोज ३ शुभम् ।