शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३८७८ - ज्यान

भाग: ३१ साल: २०४६ महिना: कार्तिक अंक:

निर्णय नं. ३८७८     ने.का.प. २०४६                         अङ्क ७

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०४६ सालको फौ.सा.नं. १११

फैसला भएको मिति : २०४६।३।१८।१ मा

वादी : जयलाल देवकोटाको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादी : अछाम छविसदरा ठूला गा.पं. वा.नं. ६ भूजाकारीया गाउँ बस्ने धनराज देवकोटा

मुद्दा : ज्यान

§  आरोपित कसूर नगरेको भए अदालतबाट जारी भएको म्यादी पुर्जीमा सफाईको सबूद प्रमाण पेश गरी प्रतिवाद गर्न सक्नु पर्ने ।

(प्रकरण नं. २३)

फैसला

            प्र.न्या. धनेन्द्रबहादुर सिंह : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १४ अनुसार साधक जाहेर गरेको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :

            २.    मिति २०३७।८।४ गतेको बिहान मेरी श्रीमती नन्दा सापकोटालाई मेरो सहोदर भाइ धनराज देवकोटाले कर्तव्य गरी मारेको रहेछ । मेरो बुबा प्रसादे देवकोटाले मृतक नन्दाको लाश घरमा लिई सबै गाउँका मानिसहरुलाई भिडबाट लोटी मरेकी हो भन्ने वहाना गरी लाश मसानघाटमा लिई दाहसंस्कार गरेछन् । कर्तव्य गरी मारेको हो नभन्नु भनी आदेश दिने बाबु प्रसादे देवकोटा १ उपप्रधान पञ्च दघिराम देवकोटा १ गा.पं.स. खन्दु देवकोटा समेतले धनराजलाई बचाउने नियतले लाश दवाई क्रिया गर्न लागे पछि ठुला गाउँ गा.पं. का प्रधानपञ्च भद्रबहादुर शाहले मेरा बुबा प्रसादे देवकोटालाई पक्राउ गरी धनराजले काटी मारेको लाशलाई धनराज भगाउने काम किन गरेउ भन्नु हुँदा प्रधानपञ्च समेतलाई जो मिलाउनु पर्ने मिलाई दवाएको कुरा मैले भारतमा थाहा पाई माघ ११ गतेको बेलुका घरमा आई सबै कुरा बुझी कर्तव्य गरी मार्ने धनराजलाई र दवाउने समेतलाई आवश्यक कार्यवाही गरी पाउँ भन्ने समेत व्यहोराको मिति २०३७।१०।२९ गतेको जयलाल देवकोटाको जाहेरी दर्खास्त ।

            ३.    रगत सुकेको थोपा बाटाको ढुंगाको किनारामा रहेको ढुंगा सो पश्चिम, नन्दराम देवकोटाको पाखो जग्गा पश्चिम ढुंगा, पूर्व खोलसा नामउलो, दक्षिण ध्वजे देवकोटाको पाखो जग्गा उत्तर यति ४ किल्ला भित्रको भेटिएको घटनास्थल खोल्सा नाउला ।

            ४.    उक्त ढुंगादेखि १५ हात दुरीमा अर्को रगतको थोपा परी सुकेको र नं. २ देखि १८ हात दुरी बाटो मुनी ढुंगाको पत्थरमा भित्र नन्दाको रातो रंगको पहेंलो बुट्टा भएको गुनियो दोहरा ठाउँमा विभिन्न ठाउँमा काटिएको पाइएको र बाटोदेखि तलतिर ४९ हात फरकमा ढुंगामा ७ अंगुल रगतको दाग देखि १२ हात फरकमा ४ अंगुलको रगतको कालो दाग सो दाग देखि २३ हात दुरीमा ढुंगामा रगत लागी सुकेर विस्याउ झार छोपी राखेको रगत लागेको ढुंगा देखिने लछार पछार गर्दै लगेको जस्तो देखिने र ११ हात दुरीको ढुंगामा ८ अंगुल रगत दाग र खोल्साको बिचो बीच पानी बगेको रगत लागेको ढुंगाले छोपी अं.१२ तोला भर सुनको बाली थान १ र अं. १ तोला भरको लुडकी (मुन्द्रा) सुनका गहना थान १ सोही ढुंगाको कोपचा भित्र दबाएको हरियो रंगको घाँटीमा लगाउने मध्येम साइजको ७ दाना र सोही ढुंगाको कोपचामा रगत समेत लागेको रौंको गुटुल्लो (पोका) र रौं पाएको ५ हात दुरीमा सोही ढुंगाको कोपचामा अं. १२ आधा तोला भरको सुनको बाली थान १ र उक्त रौं पाएको ठाउँबाट ९१२ हात दुरीमा ढुंगाको कोपचा भित्र बाहिरबाट सुकेको स्याउलाले छोपी स्याउला पन्छाई हेर्दा १ तोला भरको सुनको लुडकी थान १ र सुनको नाकमा लगाउने १२ आधा तोला भरको मुन्द्री थान १ केही छरिएको केही उनिएको घाँटीमा लगाउने काँचका माला दाना ७५ र नं. ८ देखि लास रहेको भनिएको विभिन्न ठाउँमा रगतको दागी स्पष्ट देखिने र लछार पछार गर्दै लगेको जस्तो रगतको दागी देखिने शुरु घटना भनिएको ठाउँ रगतको थोपाबाट लाश रहेको भनिएको ठाउँसम्म सिधा दुरी नाप्दा १५७ हात भएको र पल्लो घरको धुरी ४६८ हात भएकोले कराउँदा चिच्याउँदा कतै नसुनिने खोल्सो परेको लाश रहेको भनिएको ठाउँ पूर्व उत्तर तर्फ बगेको खोल्सा सो दक्षिण पूर्व रुख विरुवा तोला गडा वन पश्चिम भन्ने समेत व्यहोराको रविलाल देवकोटा समेतले २०३७।११।६ गते गरी दिएको घटनास्थलको विवरण ।

            ५.    मिति २०३७।११।४ गतेको बिहान आमा नन्दा भैसी दुई पल्लो घरमा गएको घरमा नआई म र मेरो बाजे प्रसादे समेतका मानिसहरु खोजतलाश गर्दा आमा नन्दालाई नाउली भन्ने खोल्सामा अनेत्र खोजी जाँदा बाटोको ढुंगामा रगतको थोपा देखी बाटो मनि हेर्न जाँदा लछार पछार गरेको हेर्न जाँदा बाटादेखि केही तल आमा नन्दाको लाश फेला पारेकोले बाजे प्रसादे समेतका मानिसहरु भई सो लाश घरमा लिई दाहसंस्कार गर्न मसानघाटमा लिएको आमा कान मुख हात घाँटी अगाडि काटिएको थियो बाटो देखि लाश रहेको ठाउँसम्म परी लाशलाई लछारपछार गरी लगेको जस्तो थियो भन्ने समेत व्यहोराको जारेहवालाकी नावालख छोरी पारवती जैशीले प्रहरीमा गरेको कागज ।

      ६.    मिति २०३७।११।४ गतेको दिन जयलालकी श्रीमती नन्दालाई कर्तव्य गरी मारेको काटेको घाउ समेत देखेका हौं र थाहा पाएका हौं मलाम पनि हामी गएका हौं प्रसादे देवकोटा, खण्टे भन्ने खण्टु देवकोटा उपप्रधान पञ्च दधिराम देवकोटा प्रधानपञ्च भद्रबहादुर शाह समेतले कर्तव्य गरी मारेको नन्दाको लाश दवाउनेमा पूरा सहमत भएको र हामीलाई लोटी मरेको हो भन्नु भनी बचन समेत दिएका र जो जाहेर गर्ला उहीं जिम्मेवारी हुने भनी डर त्रास दिएका र मृतक नन्दा देवकोटालाई कर्तव्य गरी मार्नेमा अरु कसैको सहमत छैन धर्मराज देवकोटाको कर्तव्यबाट मृत्यु भएको हो त्यस अघि पनि नन्दाको धनराजको आपसमा बराबर झगडा भइरहन्थ्यो अरु कसै प्रति शंका छैन देखाएका सुनका गहना र गुनियो पोते रौं समेत मृतक नन्दाको हो अरु कसैको होइन लाश लगी मलाम गएको हो भन्ने समेत व्यहोराको विष्णुप्रसाद समेत मलामीको र धनराज देवकोटा अरु नन्दालाई कर्तव्य गरी मार्नेमा शंका छैन धनराजको कर्तव्यबाट नन्दाको मृत्यु भएको हो देखिएका गरगहना र रौं गुनियो पोते मृतक नन्दाको हो अरु कसैको होइन धनराज देवकोटा दधिराम देवकोटा खण्टु देवकोटा प्रसाद देवकोटा हाल कहाँ छन् थाहा छैन भन्ने समेत व्यहोराको गोकुलप्रसाद खनाल समेतले गरेको मिति २०३७।११।७ गतेको सरजमीन मुचुल्का।

      ७.    मिति २०३७।११।४ गतेका दिन जेठानी नन्दाको मृत्यु मेरो लोग्ने धनराजले कर्तव्य गरी मारेको हो हाल कहाँ गए मलाई थाहा छैन लोग्ने धनराजको र जेठानी नन्दाको ८ वर्ष पहिलेदेखि बोलचाल थिएन बराबर झगडा भइरहन्थ्यो मकैको झोता विषयमा आश्विन महीनामा नन्दाको र धनराजको झगडा भएको थियो । नमारी छाडदिन भनी काट्छु भन्ने बचन गर्दा सदासिव देवकोटाले समेत छूट्याएको हो त्यसै रिसइवीबाट नन्दालाई कर्तव्य गरी मार्नेमा अरु कसै प्रति शंका छैन दसी स्वरुप दाखिल भएको आम्दानी मेरो लोग्नेको हो कर्तव्य गरी नन्दालाई मारी सकेपछि प्रसादे देवकोटा देवकोटा १ दधिराम देवकोटा, खण्टु देवकोटा, प्रधानपञ्च भद्रबहादुर शाहले कर्तव्य लुकाउन घरमा नबस भाग्नु पर्छ भनी भनेकोले पौष ३ गते श्रीबण्डाली गा.पं. अं. माइतिघर तेसै गई गाउं चन्दे भण्डारीको घरमा गई बसेकी छु रु. ७००।ढुंग्री, चाप्की, लुडकी ५ तोला सुन प्रसादेले मबाट लगी उपप्रधानपञ्च दधिराम हस्ते लोग्ने धनराजले मारेको अपराध छिपाउन प्रधानपञ्च भद्रबहादुर शाहलाई दिएको थियो भन्ने समेत व्यहोराको मिति २०३७।११।११ गतेको धनराजकी श्रीमती मनसाराले प्रहरीमा गरेको कागज ।

      ८.    प्रतिवादी धनराज देवकोटालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ नं. को देहाय दफा (१) र अरु प्रतिवादीहरुलाई ज्यानसम्बन्धी महलको २५ नं. बमोजिम सजायँ हुन माग गरिएको २०३८।१।१४ गतेको प्रहरी प्रतिवेदन ।

      ९.    प्रतिवादी धनराज देवकोटाका नाममा वारेण्ट तथा म्याद पुर्जी जारी गर्दा पनि हाजिर हुन नआई हाल सम्म फरार रहेका । प्रतिवादी शिव देवकोटा, नरी साउद, नन्दराम देवकोटा, दिवाकर देवकोटा, टिकाराम देवकोटा ध्वोजे देवकोटा हृदयराज उपाध्याय, मोतिराम देवकोटा, चेतराज देवकोटा, उदेराम देवकोटा समेत जना १० लाई बुझ्दा पनि अदालतमा हाजिर हुन नआई चित्त बुझाई बसेका ।

      १०.   प्रतिवादी धनराज देवकोटाको अंश रोक्का गरेको मिति २०३८।८।१३ गतेको अंश रोक्का मुचुल्का ।

      ११.   नन्दा पानी नाउलो भन्ने खोलाको भिडबाट लोटी मरेकी हो भनेकाले मलाममा गएका हौं भन्ने समेत व्यहोराको प्रतिवादी तर्कराज देवकोटा, दानसिं साउद, कुस्माखर देवकोटा, भवानीप्रसाद देवकोटा, बद्रीप्रसाद देवकोटा, रविलाल देवकोटा, जयरुद्र देवकोटा, रामप्रसाद देवकोटा, धनपति देवकोटा, सदासिव देवकोटा, विष्णुप्रसाद देवकोटा, बद्रीनाथ देवकोटा, दुर्गाप्रसाद देवकोटा समेत जना १३ ले अदालतमा गरेको बयान कागज ।

      १२.   मिति २०३७।८।४ गते म अछामको जिल्ला सभा मंगलसेनमा भएकोले नन्दाको लाश दबाउनेमा मैले कुनै कसूर गरेको छैन भन्ने समेत व्यहोराको मिति २०३८।६।९ गते प्र.भद्रबहादुर शाहले अदालतमा गरेको इन्कारी बयान कागज ।

      १३.   नन्दा मेडीखोर नाउलाको खोलाबाट लडी मरी लाश मसानघाटमा लगेका छन् भन्ने सुन्दा मलामतर्फ गएँ म मसानघाटमा पुग्दा लाशलाई चितामा चढाइसकेको थियो काठले छोपी आगो लगाउन लागेका थिए । नन्दाको लाशलाई दवाई कर्तव्यवालालाई भगाएको छैन भन्ने समेत व्यहोराको २०३८।७।४ गते प्र.दधिराम देवकोटाले अदालतमा गरेको इन्कारी बयान कागज ।

      १४.   जयलालको स्वास्नी मरी काठ हाल्न जानु पर्‍यो भनी डाँको हालेकोले म पनि मलाममा जान भनी लाग्दा नन्दाको लाश बाँधी मसानघाट तिर लिन लागेको देखेँ मलाममा जाँदा दाजु प्रसादे जैशीलाई मैले बुहारी के भई मरी भनी सोद्धा नाउलाको खोलाको भिडबाट लडी मरी भन्ने कुरा प्रसादेको मुखबाट सुनेको हुँ नन्दालाई धनराजले कर्तव्य गरी मारेको भन्ने थाहा पाई पाइकन लाश दबाउने नियतले मेरो कुनै सहमत छैन भन्ने समेत व्यहोराको मिति २०३८।७।४ गते प्र.खन्टे देवकोटाले अदालतमा गरेको इन्कारी बयान कागज ।

      १५.   अभियुक्त धनराज देवकोटा फरार रहेकोले मुलतवी राख्ने ज्यानसम्बन्धीको २५ नं. को दावी भएका प्र. हरु मध्ये प्र.भद्रबहादुर शाहले सफाई पाउने ठहर्छ । प्र.दधिराम देवकोटा र खन्टे देवकोटालाई ज्यानसम्बन्धीको २५ नं. बमोजिम अपराध गरेको हुँदा डेढ वर्षको कैद हुने ठहर्छ अरु प्र.शिव देवकोटा समेतका २३ जनालाई जनही रु. २०।का दरले जरिवाना हुने ठहर्छ भन्ने समेत अछाम जिल्ला अदालतको मिति २०३९।५।१९ गतेको फैसला ।

      १६.   भद्रबहादुरलाई सफाई दिएकोमा चित्त बुझेन भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन परेकोमा अछाम जिल्ला अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४०।९।९ गतेको फैसला ।

      १७.   ज्यान सम्बन्धीको २५ नं. बमोजिम डेढ वर्षका दरले कैदको सजायँ गरेको इन्साफमा चित्त बुझेन भन्ने समेत प्र.दधिराम देवकोटा र खन्टे देवकोटाको पुनरावेदन परेकोमा पुनरावेदकहरु तामेली भएको म्यादमा हाजिर हुन नआई गुजारेकोले पुनरावेदन डिसमिस हुन्छ भन्ने सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४०।९।१३ गतेको फैसला ।

      १८.   मुद्दा मुलतवीबाट जगाई कारवाही गर्ने भन्ने समेत अछाम जिल्ला अदालतको मिति २०३९।१२।२९ गतेको आदेशपत्र (अडरसिट) ।

      १९.   प्र.धनराज देवकोटाले मृतक नन्दालाई नाउला खोला पारी हँसियाले काटी कर्तव्य गरी मारेको प्रमाणित हुन आएकोले प्र.धनराज देवकोटालाई ज्यानसम्बन्धीको १३ नं. को देहाय (१) बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ । साधक जाहेर गर्ने भन्ने समेत अछाम जिल्ला अदालतको २०४५।३।२८ गतेको फैसला ।

      २०.   प्र.धनराज देवकोटालाई कसूरदार ठहराएको इन्साफ मनासिब ठहर्छ । साधक सदर निमित्त पठाउने भन्ने समेत सेती अञ्चल अदालतको मिति २०४५।८।५ गतेको फैसला ।

      २१.   परिस्थितिजन्य प्रमाणबाट नन्दा देवकोटालाई कर्तव्य गरी ज्यान मारेमा प्र.धनराज देवकोटालाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम कसूरदार ठहराई सर्वश्वसहित जन्मकैदको सजायँ गरेको अछाम जिल्ला अदालतको इन्साफ सदर गरेको सेती अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ । साधक जाहेर गर्ने भन्ने समेत सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।१२।२०।४ को फैसला ।

      २२.   प्रस्तुत मुद्दामा सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ, छैन ? साधक जाँची निर्णय दिनु पर्ने हुन आएको छ ।

      २३.   यस्मा निर्णयतर्फ हेर्दा प्र.धनराज देवकोटालाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम र अरु प्रतिवादी दधिराम देवकोटा र खन्टे देवकोटा समेत २६ जना उपर ज्यानसम्बन्धीको २५ नं. बमोजिम सजायँ गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन दावी परेकोमा प्र.धनराज देवकोटाको हकमा फरार रहेकोले मुलतवी राख्ने । प्रतिवादी भद्रबहादुर शाहलाई सफाई दिने । प्र.दधिराम देवकोटा र खन्टे देवकोटालाई ज्यानसम्बन्धीको २५ नं. बमोजिम डेढ बर्षको दरले कैद गर्ने । अरु शिव देवकोटा समेतका २३ जनालाई ज्यानसम्बन्धीको २५ नं. ले रु. २०।का दरले जरिवाना गरी अछाम जिल्ला अदालतबाट मिति २०३९।५।९ मा फैसला गरे उपर श्री ५ को सरकारको र प्रतिवादी दधिराम देवकोटा, खन्टे देवकोटाको पुनरावेदन परेकोमा श्री ५ को सरकारको पुनरावेदनमा भद्रबहादुरलाई सफाई दिएको सदर भई मिति २०४०।९।९ मा अरुको पुनरावेदन २०४०।९।१३ मा डिसमिस भई सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भइसकेको हुँदा त्यसतर्फ विचार गर्न परेन । फरारी धनराज देवकोटाको हकमा मुलतवी जगाई निजलाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गरेतर्फ हेर्दा लास दाहसंस्कार गरी सकेको भन्ने देखिन्छ । घटनास्थलको विवरण सरजमीनका पारवती जैशी, विष्णुप्रसाद देवकोटा समेतले सरजमीनमा लेखाई दिएको व्यहोरा समेतबाट मृतक नन्दा देवकोटाको मृत्यु कर्तव्यबाट मरेको भन्ने देखिन्छ । अभियुक्त धनराज देवकोटा अदालतबाट जारी भएको म्यादी पुर्जीमा हाजिर नभई म्याद गुजारी बसेको छ । प्रहरीद्वारा पक्राउ हुनसकेको पनि छैन । मुद्दा मुलतवीबाट जागी कारवाही हुँदासम्म पनि अभियुक्त फरार रहेको देखिन्छ । निज प्रतिवादी धनराज देवकोटाले आरोपित कसूर नगरेको भए अदालतबाट जारी भएको म्यादी पुर्जीमा सफाईको सबूद प्रमाण पेश गरी प्रतिवाद गर्न सक्नु पर्नेमा सो सकेको छैन । ज्यानसम्बन्धीका २५ नं. बमोजिम अभियोग गरेको ठहरी अदालतबाट फैसला भई सजायँ पाएको प्रतिवादीहरुले अदालतमा बयान गर्दा नन्दा देवकोटालाई प्र. धनराज देवकोटाले कर्तव्य गरी मारेमा शंका गरेको पाइन्छ । रगत लागेको फलामको आँसी निजै प्र.धनराजको घरबाट बरामद भएको देखिन्छ । यिनै अभियुक्त धनराजको श्रीमती मनसरा देवकोटाले नन्दा र मेरो लोग्ने धनराज देवकोटाको आपसमा झगडा भैरहन्थ्यो । लोग्नेले मृतकलाई नमारी छाडदिन भन्थे, त्यसै रिसइबीबाट नन्दाको मृत्यु धनराजले कर्तव्य गरी मारेका हुन् भनी अधिकार प्राप्त अधिकारी समक्ष बयान कागज गरेको पाइन्छ । मृतककी छोरी पारवती जैशीले मृतक आमा नन्दाको लाश देख्दा दुबै हातका पाखुरामा काटिएका घाउ थियो भन्ने समेत सरजमीन हुँदा लेखाई दिएको पाइन्छ । साथै अदालतमा समेत बकपत्र गरेको छ । सरजमीनका अम्बर सिंह साउद अविसाउद, धनराम देवकोटा, धर्मदेव देवकोटा, खगेन्द्र देवकोटा र जाहेरवाला जयलाल देवकोटा समेतले मर्ने नन्दा देवकोटालाई प्र.धनराज देवकोटाले कर्तव्य गरी मारेमा शंका व्यक्त गरी अदालतमा समेत बकपत्र गरी गरी दिएको देखिन्छ । उपर्युक्त प्रमाणहरुबाट समेत अभियुक्त प्रतिवादी धनराज देवकोटा निर्दोष रहेछ भन्न सकिने अवस्था रहेन । तसर्थ निज अभियुक्त धनराज देवकोटालाई कसूरदार ठहराई निजलाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने ठहराएको अछाम जिल्ला अदालतको इन्साफ सदर गरी सेती अञ्चल अदालतले गरेको इन्साफलाई सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट मनासिब ठहराई साधक जाहेर गरेको इन्साफ मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०४६ साल आषाढ १८ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु