निर्णय नं. ४६९९ - लागू औषध

निर्णय नं. – ४६९९ ने.का.प. २०५० (क) अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला
माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
सम्वत् २०४७ सालको फौ पु.नं. ३०६, २७६
फैसला मिति : २०४९।१२।२७।६
पुनरावेदक/वादी : श्री ५ को सरकार ।
विरुद्ध
पुनरावेदक/प्रतिवादी : का.जि.का.न.पा. वडा नं. ३ महाराजगन्ज बस्ने कृष्ण राई ।
मुद्दा :– लागू औषध ।
(१) प्रतिवादी म घरमा नै बसी र मेरा बाबु काठमाडौंको ठाउंमा गई हेरोइन बिक्री गर्ने गरेको भनी प्रहरी समक्ष साविती देखिन्छन । तर बरामद भएको हेरोइनसंग बिक्री बितरण गर्ने ढक तराजु लगायतका अन्य सामानहरू समेत पनि बरामद भएको भन्ने देखिएन । बिक्री बितरण गर्न लाग्दा तत्काल प्रतिबादी पक्राउ परेको पनि पाइएन र यो यस व्यक्तिलाई यति मात्रामा बिक्री गरेको भनी आरोप पत्रमा व्यक्तिहरू पनि उल्लेख गर्न सकेको पनि देखिदैंन । तसर्थ बरामद भएको लागू औषध हेरोइनको मात्रा ५० ग्राम मात्र देखिएकोले प्रतिवादीले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १४ को खण्ड (घ) अन्तर्गतको अपराध संचयसम्म गरेको देखिने ।
(प्र.नं. १९)
(२) प्रतिबादीले घरमा ५० ग्राम लागू औषध राखी संचयसम्म गरेको तर बिक्री गर्ने ढक, तराजु अन्य सामान वा यो यस व्यक्तिबाट यति बिक्री गरेको भन्ने नदेखिएको स्थितिमा लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १५ बमोजिम घर समेत जफत गरी पाउं भन्ने आरोपपत्र बमोजिम दाबी पुग्न नसक्ने भनी क्षेत्रीय अदालतबाट घर जफत नहुने ठहराएको इन्साफ समेत सदर हुने ।
(प्र.नं. १९)
पुनरावेदक, वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री देवशरण प्रसाद
प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त
: विद्वान अधिवक्ता श्री बद्री बहादुर कार्की
: विद्वान अधिवक्ता सुभाष नेम्वाङ
: विद्वान अधिवक्ता श्री अग्नी खरेल
फैसला
न्या. लक्ष्मण प्रसाद अर्याल
१. प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :–
२. कृष्ण राईको घर तलासी लिंदा लागू औषध हेरोइन सेतो ५० ग्राम र सानो पुरीया बरामत भएको ठीक हो भन्ने समेत व्यहोराको बरामदी मुचुल्का ।
३. नाम थाहा नभएको इन्डियन नागरिकले २ किलो लागू औषध मेरो घरमा ल्याई दिएको र सोही मध्येबाट विक्री गरी बाँकी रहेको ५० ग्राम मेरो घर तलासी लिंदा बरामद भएको हो भन्ने समेत व्यहोराको प्रतिवादी कृष्ण राईले जि.प्र.का. मा गरेको बयान ।
४. कृष्ण राईले लागू औषध बिक्री वितरण गरेकोमा शंका लाग्छ भन्ने समेत व्यहोराको सर्जमिन मुचुल्का ।
५. २०४२।१२।१२ गते कृष्ण राईको घर तलासी लिंदा लागू औषध हेरोइन बरामद भएको र सर्जमिनका कतिपय मानिसहरूले कृष्ण राईले लागू औषध बिक्री बितरण गरी धन सम्पत्ति कमाई सकेको र बरामदको ५० ग्राम लागू औषध बिक्री कै लागि राखेको हुने भनी सर्जमिनमा लेखाई दिएको आधार प्रमाणबाट प्र. कृष्ण राईले निजका घरबाट बरामद भएको लागू औषध ५० ग्राम विक्री वितरण कै लागि घरसारमा राखेको प्रष्ट देखिन आयो । निज कृष्ण राईले लागु औषधको बिक्री वितरणको अभियोगमा पक्राउ परी का.जि. झोछेँ टोलको ठेगानाबाट २०३६।१।१ मा पहिलो पटक र का.जि.महाराजगन्जको ठेगानाबाट २०३९।६।१७ मा समेत दोश्रो पटक समेत सम्मानित अदालतमा मुद्दा दायर गरी सकेको यस कार्यालयको अभिलेखबाट देखिंदा प्रस्तुत मुद्दामा प्र. कृष्ण राईले तेश्रो पटक पारी लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ (घ) (ङ) र १६ को समेत कसूर गरेको प्रष्ट देखिन आएको तसर्थ निज उपर उक्त ऐन दफा १४ (ख) र १६ अनुसार हदैसम्म कारवाही सजाय भै लागू औषध राखी बिक्री गर्न निज कृष्ण राईको का.जि.का.न.पा. वडा नं. ३ को ५० ग्राम हिरोइन बरामत भएको घर समेत सोही ऐनको दफा १४ अनुसार जफत गरी पाउँ भन्ने समेत व्यहोराको आरोप पत्र ।
६. मैले कोही कसैबाट लागू औषध खरिद गरी बिक्री वितरण समेत गरेको छैन मेरो घरबाट बारमद भयो भनीएको लागू औषध मेरो घरबाट बरामत भएको छैन । प्रहरीले कहाँबाट ल्याएका हुन् मलाई थाहा छैन । मिति २०३६/१/१६ मा मलाई पक्राउ गरिएको छैन । म उपर कुनै मुद्दा चलाइएको पनि छैन । मिति २०३९।६।१७ गतेको हकमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भई यस जिल्ला अदालत तथा श्री मध्यमाञ्चल क्षेत्रीय अदालतबाट समेत सफाई पाएको छु भन्ने समेत व्यहोराको प्रतिवादी कृष्ण राईले काठमाडौं जिल्ला अदालतमा गरेको बयान ।
७. मिति २०४२।१२।७ गतेमा प्रहरीले कृष्ण राईको घर खानतलासी गर्दा केही सामान फेला नपरेको भन्ने समेत व्यहोराको प्रतिबादी कृष्ण राईको साक्षी दामोदर अर्यालले जिल्ला अदालतमा गरेको बकपत्र ।
८. कृष्ण राईको घरमा खान तलासी गर्दा केही सामान फेला परेको थिएन निज आफ्नो बाबु भरत राई लाई तालीम केन्द्रसम्म पुर्याएर आउँछु भनी गएका थिए भन्ने समेत व्यहोराको प्रतिवादी कृष्ण राईको साक्षी हरि बहादुर अर्यालले वा.वि.अ.मा गरेको बायान ।
९. कृष्ण राईले लागू औषध सम्बन्धी काम गरेको मलाई थाहा छैन । खान तलासी मुचुल्का मेरो उपस्थितिमा खडा भएको र लागु औषध भएको हेरोइन समेत व्यहोराको प्रतिवादी कृष्ण राईको साक्षी न.स.स. भैरव वहादुर थापाले बागमती विशेष अदालतमा गरेको वकपत्र ।
१०. कृष्ण राईको घरमा राखेको दराजबाट ५० ग्राम ब्राउन सुगर अर्को सेतो रँगको हिरोइन सानो पुरिया र निज कृष्ण राईलाई प्रतिवेदनसाथ डि.एस.पि. कार्यालयमा मैले नै बुझाएको हुँ भन्ने समेत व्यहोराको प्र.ना.नि. टिकाराम शाहीले वा.बि.अ.मा गरेको बकपत्र ।
११. प्रतिवादीले बाबुसँग मिली दुबै बाबु छोराले लागू औषध संकलन एवं संचय गरी विक्री वितरण कार्यमा संलग्न भएको प्रमाणित हुन आउँदा लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा (४) (घ) को कसुरमा तत्काल प्रचलित ऐन, दफा १४ (ख) बमोजिम प्रतिवादी कृष्ण राईलाई १४ वर्ष कैद र रु १,००,०००।– जरीवाना हुने ठहर्छ । उक्त लागू औषध घरमा राखी लागू औषध नियन्त्रण ऐन, २०३३ ले निषेधित कार्य गरेकोमा घर धनीले त्यस्तो कार्य गरेको ठहरे घर समेत जफत हुने कानूनी प्रावधान अनुसार बरामदी मुचुल्का बमोजिम लागू औषध बरामद भएको प्रतिवादीको घर समेत बादी दावी बमोजिम जफत हुने ठहर्छ । बारदात अपराध गरे बापत थप सजाय तर्फ मिति ०४६।१।१६ मा दाबी गरेको प्रहरी प्रतिवेदनको हकमा हाल वादी पक्षबाट सो सम्बन्धी प्रमाण पेश हुन नसकेकोले निज प्रतिवादी कृष्ण राई समेत प्रतिवादी भएको वा वि.अ. मा दायर रहेको मि.न. २५७।०४४ को लागू औषध मुद्दामा प्रमाण पेश भएमा उस अवस्थामा ठहरे बमोजिम हुने नै हुँदा सो सम्वन्धमा थाहा उल्लेख गरी रहनु परेन । मिति २०३९।६।१७ गतेमा दोस्रो पटक दायर भएको प्रतिवेदन दाबीको हकमा इजलास समक्ष प्रतिवादीका विद्वान कानून व्यवसायीले पेश गरेको का.जि.अ. र म.क्षे.अ. को क्रमशः मिति २०३९।११।९ गते र मिति २०४२।५।२५ गतेमा सफाई पाउने ठहरेको फैसलाबाट देखिनाले बारम्बार अपराध गरेकोमा ऐ. ऐनको दफा १६ बमोजिम थप सजाय गरी पाउँ भन्ने दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको बागमती विशेष अदालतको मिति २०४४।११।१४ गतेको फैसला ।
१२. उपरोक्त बागमती विशेष अदालतको फैसला चित्त बुझेन कानून प्रमाणको तथ्य विपरीत भएको गैर कानूनी फैसला उल्टाई मेरो पुनरावेदन बमोजिम इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्रतिबादी कृष्ण राईको माध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन पत्र ।
१३. प्रतिबादी कृष्ण राईले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ (च) को अपराध गरेकोसम्म देखिन आएकोले निजलाई सोही ऐनको दफा १४ को खण्ड (ग) बमोजिम निजको पारिवारिक सदस्य र निज उपर समेत पटक पटक कारवाही भएको अवस्था समेत लाई विचार गरी हदैसम्म एक वर्षसम्म कैद र १० हजार रुपियाँ समेत दुबै सजाय हुने ठहर्छ सो ऐनको दफा ४ (घ) बमोजिमको कसूर गरेको भनी ठहराई दफा १४ (ख) बमोजिम कैद र जरिवाना गरी दफा १५ बमोजिम घर समेत जफत गर्ने गरेको बागमती विशेष अदालतको फैसला नमिलेकोले सो हदसम्म उल्टी हुन्छ, भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१४. मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४७।४।१४ गतेको फैसला त्रुटीपूर्ण हुँदा बदर गरी शुरु बागमती विशेष अदालतबाट गरिएको इन्साफ सदर गरी पाउँ भन्ने समेत बादी श्री ५ को सरकारको यस सर्बेच्च अदालतमा परेको पुनरावेदन पत्र ।
१५. उक्त म.क्षे.अ.को मिति २०४७।४।१४ गतेको फैसलामा त्रुटीपूर्ण हुँदा बदर गरी आरोपित कसुर बाट सफाई पाउँ भन्ने समेत प्रतिवादी कृष्ण राईको यस सर्वोच्च अदालतमा परेको पुनरावेदन पत्र ।
१६. नियम बमोजिम दैनिक कजलिष्टमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट विद्वान सह–न्यायाधिवक्ता श्री देवशरण प्रसादले प्रतिवादीलाई शुरु बागमती विशेष अदालतले १४ वर्ष कैद र एक लाख रूपैया जरीवाना समेत गर्ने गरेको इन्साफ उल्टी गरी म.क्षे.अ. बाट कैद वर्ष एक र १० हजार जरिबाना गर्ने गरेको फैसला त्रुटीपूर्ण हुँदा शुरु इन्साफ सदर हुनु पर्दछ, भन्ने समेत पुनरावेदक प्रतिवादी तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले, विद्वान अधिवक्ता श्री बद्री बहादुर कार्कीले, विद्वान अधिवक्ता श्री सुवास नेम्वाङले र श्री अग्नी खरेलले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ८ बमोजिम लागू औषध ऐन सम्बन्धमा लागू औषध नियन्त्रण अधिकारी आफैले अनुसन्धान गर्नु पर्दछ, सो भएको छैन अ.बं. १७२ न. बमोजिमको मुचुल्का छैन । बनावटी मुचुल्कालाई प्रमाणमा ग्रहण गरी लागू औषध विक्री वितरण गरेको भनी सजाय गरेको म.क्षे.अ.को फैसला त्रुटीपूर्ण हुँदा उक्त फैसला बदर गरी आरोपित कसूरबाट सफाई पाउनु पर्दछ, भन्ने समेतको बहस गर्नु भयो ।
१७. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट प्रतिबादी कुष्ण राईलाई लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १४ को खण्ड (ग) बमोजिमको अपराध ठहर गरी एक वर्ष कैद र १० हजार जरीवाना गर्ने गरेको इन्साफ मिले नमिलेको तर्फ निर्णय दिन पर्ने हुन आयो ।
१८. यसमा निर्णय तर्फ हेदा मिति २०४२।१२।१२ गतेमा कृष्णराईको घर तलासी लिंदा ५० ग्राम लागू औषधि हेरोइन बरामद भएको र सर्जमिनका कतिपय मानिसहरूले कृष्ण राईले लागू औषध विक्री बितरण गर्ने गरेको छ र बरामद भएको ५० ग्राम लागू औषधी बिक्रीको लागि राखेको हुन् भनी लेखाई दिएका समेत आधारबाट कृष्ण राइलाई लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(ख) र १६ अनुसार कारवाही सजाय भई लागू औषधी राखी बिक्री गर्ने निजको का.न.प. महाराजगंज स्थित घर समेत जफत गरी पाउँ भन्ने समेत आरोप पत्र देखिन्छ । उक्त आरोप पत्र अनुसार प्रतिवादी कृष्ण राईको घरबाट बरामद भएको ५० ग्राम लागू औषध हेरोइन भन्ने बरामदी मुचुल्का नै बनावटी हो जुन अ.व. १७२ नं. अनुसारको कानूनी प्रक्रिया पुरा गरि भएको छैन भन्ने पुनरावेदन प्रतिवादी तर्फका कानून व्यवसायीहरूले इजलास समक्ष उठाउनु भएको प्रश्न तर्फ हेर्दा लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ८ को (२) मा कुनै घर जग्गा सवारी वा अन्य कुनै ठाउँमा प्रवेश गर्दा वा खान तलासी गर्दा समयले भ्याए सम्म सम्बन्धित नगर पञ्चायत वा गाँउ पञ्चायत वा वडा समितिका एक जना सदस्य वा त्यस ठाउँको एक जना भलाद्मी वा कुनै अर्को सरकारी कार्यालयको एक जना कर्मचारीलाई राखी गर्नु पर्ने छ भन्ने विशेष कार्यविधीको व्यवस्था गरेको पाइन्छ । तर समयले नभ्याएको स्थितिमा उपरोक्त व्यक्तिहरू साक्षी नराखीदैमा सो बरामदी मुचुल्का नै अमान्य हुने देखिदैंन । समयले भ्याएसम्म मात्र उक्त व्यक्तिहरू साक्षी राखिन सकीने व्यवस्था हो अतः पुनरावेदक प्रतिवादी तर्फका कानून व्यवसायीहरूको तर्कसंग यो इजलास सहमत हुन सकेन ।
१९. अब प्रतिवादी कृष्ण राईको घरबाट बरामद भएको ५० ग्राम लागू औषध हेरोइन बिक्री वितरणको लागि संचय गरिएको भन्ने तर्फ हेर्दा प्रतिवादीले कस्तो अपराध गरेको रहेछ भनी हेर्दा प्रतिवादी म घरमा नै बसी र मेरा बाबु काठमाडौंको ठाउँमा गई हेरोइन बिक्री गर्ने गरेको भनी प्रहरी समक्ष साविती देखिन्छ तर बरामद भएको हेरोइनसंग बिक्री वितरण गर्ने ढक तराजु लगतका अन्य सामानहरू समेत पनि बरामद भएको भन्ने देखिएन बिक्री वितरण गर्न लाग्दा तत्काल प्रतिवादी पक्राउ परेको पनि पाइएन र यो यस व्यक्तिलाई यति मात्रामा विक्री गरेको भनी आरोप पत्रमा व्यक्तिहरू पनि उल्लेख गर्न सकेको पनि देखिदैंन । तसर्थ बरामाद भएको लागू औषध हेरोइनको मात्रा ५० ग्राम मात्र देखिएकोले प्रतिवादी कृष्ण राईले लागू औषधी नियन्त्रण ऐन, २०३३ को दफा १४ को खण्ड (घ) अन्तरगतको अपराध संचयसम्म गरेको देखिन आउँछ तसर्थ उक्त लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १४ को खण्ड (घ) बमोजिम प्रतिवादी कृष्ण रार्इंलाई एक वर्ष कैद र १० हजार जरीवाना हुने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा केही उल्टी भई प्रतिवादीलाई कैद तर्फ एक महीना मात्र र जरीवाना १० हजार हुने ठहर्छ । प्रतिवादी कृष्ण राईले घरमा ५० ग्राम लागू औषध राखी संचयसम्म गरेको तर बिक्री गर्ने ढक, तराजु अन्य सामान वा यो यस व्यक्तिलाई यति बिक्री गरेको भन्ने नदेखिएको स्थितिमा लागू औषधी नियन्त्रण ऐन, २०३३ को दफा १५ बमोजिम घर समेत जफत गरी पाउँ भन्ने आरोप पत्र बमोजिम दावी पुग्न नसक्ने भनी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट घर जफत नहुने ठहराएको इन्साफ समेत सदर हुने ठहर्छ । पुनरावेदक वादी श्री ५ को सरकार र पुनरावेदक प्रतिवादी कृष्ण राई समेत दुवैको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. गजेन्द्रकेशरी बास्तोला
ईति सम्बत् २४९ साल चैत्र २७ गते रोज ६ शुभम्