निर्णय नं. ३८७९ - परमादेश

निर्णय नं. ३८७९ ने.का.प. २०४६ अङ्क ७
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४५ सालको रिट नं. ११३२
आदेश भएको मिति : २०४६।५।११।१ मा
निवेदक : का.जि. गोंगबु गा.पं. वा.नं. ६ बस्ने इन्दिराप्रसाद उपाध्याय
विरुद्ध
विपक्षी : विशेष प्रहरी विभाग सिंहदरवार काठमाडौंसमेत
विषय : परमादेश
§ विशेष अदालतबाट फुकुवा गर्ने आदेश प्राप्त भएपछि सोही विषयमा विशेष प्रहरी विभागको फुकुवा पत्रको आवश्यकता नपर्ने ।
(प्रकरण नं. ८)
विपक्षीहरु तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.
आदेश
प्र.न्या. धनेन्द्रबहादुर सिंह: नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :–
२. का.जि. गोंगबु गा.पं. वडा नं. ७ बस्ने अभिमन्यु अधिकारीलाई २०४०।१।२८ मा वि.प्र.वि. द्वारा पक्राउ गरी २०४०।९।८ मा आफूलाई फाइदा र संस्थालाई गैरकानुनी हानी पुर्याएको भनी निज माथि बयानब्बे हजार आठ सय बत्तिस रुपैयाँ र पैसा अन्ठानब्बे धरौटी माग गरिएकोमा म निवेदक इन्दिराप्रसाद समेतले कानुन बमोजिम निज अभिमन्यु अधिकारीलाई जेथाजमानी दिन मन्जूर भई वि.प्र.वि. ले कानुन बमोजिम हाम्रो जेथाजमानीमा लिई अभियुक्तलाई तारेखमा छोडेको थियो । बागमती विशेष अदालतको २०४३।३।२८ को आदेशानुसार निज अभियुक्त अभिमन्यु अधिकारीले जेथा परिवर्तन गरिपाउँ भनी दिएको निवेदनका आधारमा निजको एकलौटी हक भोग दर्तामा रहेको का.जि. गोंगबु गा.पं. वडा नं. ७ कि. नं. ३८६ को ०–५–२ र ऐ.ऐ. वडा नं. ८ कि.नं. ३३८ को ०–९–० जग्गा मूल्याङ्कन भई जेथाजमानत परिवर्तन भइसकेको थियो । यसरी अघि रहेको जेथा परिवर्तन गराई आफ्नो जेथा कानुन बमोजिम धरौटी दिइसकेपछि बागमती विशेष अदालतबाट मेरो रोक्का रहेको जग्गा फुकुवा गरिदिनु भनी २०४३।४।३ मा लेखी पठाएकोमा अझै पनि मेरो उक्त जेथा फुकुवा गरिदिएको छैन । रोक्का गर्ने अदालतबाटै फुकुवाको लागि पत्राचार भइसकेपछि रोक्का राख्ने कारवाही भइरहेबाट नेपालको संविधानको धारा १०, ११ र १५ द्वारा प्रत्याभूत हक अधिकारमा आघात पुगेकोले उक्त मेरा नाउँमा रहेको जेथा फुकुवा गरिदिनु भनी विपक्षीका नाउँमा परमादेशको आदेश जारी गरिपाउँ भन्ने समेतको रिटनिवेदन ।
३. यस्मा के कसो भएको हो विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेतको यस सर्वोच्च अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश ।
४. बागमती विशेष अदालतको मिति २०४३।११।२१।५ को पत्रबाट अभिमन्यु अधिकारीको का.जि. गोंगबु गा.पं. वडा नं. ७ कि.नं. ३८६ को ०–५–२ र ऐ. वडा नं. ८ कि.नं. ३३८ को ०–९–० जग्गा रोक्का रहेको भए यस अदालतको मिति २०४३।४।३।६ को पत्रबाट रोक्का रहेको जग्गा फुकुवा गरिदिनु भन्ने प्राप्त पत्र अनुसार जुन बागमती विशेष अदालतको २०४३।४।३।६ को पत्रबाट रोक्का राखिदिनु लेखी आएको जग्गा इन्दिराप्रसाद उपाध्याय नाउँको का.न.पं. वडा नं. १ कि.नं. १७१९ को ०–४–० समेतको जग्गा विशेष प्रहरी विभागको मिति २०४०।९।१७ को पत्रबाट रोक्का रहेको रेकर्डबाट देखी दोहोरो रोक्का गर्न नमिल्ने व्यहोरा जानकारी गराइएको थियो । बागमती विशेष अदालतको २०४३।४।१७।६ को बोधार्थ पत्र अनुसार उल्लेखित जग्गा वि.प्र.वि. बाट फुकुवा भई आएमा यस अदालतबाट रोक्का राखिदिनु भन्ने लेखिए अनुसार उपरोक्त कार्य बाँकी नै रहेको र जुन रोक्का गर्ने निकाय वि.प्र.वि. बाट फुकुवा नै नभई बागमती विशेष अदालतबाट रोक्का भन्न नमिल्ने । तसर्थ बागमती विशेष अदालतबाट फुकुवा प्राप्त भएको र रोक्का गर्ने निकाय वि.प्र.वि. बाट फुकुवा हुन बाँकी देखी उक्त जग्गा फुकुवा गर्न बाँकी देखिएकोले रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेतको मालपोत कार्यालय काठमाडौंको लिखितजवाफ ।
५. का.जि. गोंगबु गा.पं. वडा नं. ७ घर भई आदर्श ज्वालामुखी साझा संस्था लि. खानी खोला धादिङ्गका का.स. अभिमन्यु अधिकारीले आफ्नो जिम्माको मलखाद हिनामिना गरी आफूलाई गैरकानुनी फाइदा र संस्थालाई गैरकानुनी हानी नोक्सानी पुर्याई भ्र.नि. ऐन, २०१७ को परिच्छेद २ अन्तर्गतको कसूरको अनुसन्धानको सिलसिलामा निजबाट हिनामिना भएको देखिन आएको र बिगो बमोजिमको जरीवानाको रकम समेत गरी जम्मा रु. १,८५,६६५।९६ नगदै वा सो रकमले थाम्ने जेथाजमानी मागिएकोमा अभिमन्यु अधिकारीले इन्दिराप्रसाद उपाध्याय समेतका जेथाजमानी लिई पाउँ भनी निवेदन दिएको र यस विभागबाट मिति २०४०।९।१३ मा जेथा जमानत लिई उक्त जग्गा रोक्का राखी मिति २०४३।३।८ मा प्रतिवादी अभिमन्यु अधिकारी उपर बागमती विशेष अदालतमा आरोपपत्र (मुद्दा) दायर गरिएकोमा उक्त अदालतले २०४६।३।२८।४ मा निजलाई भ्र.नि. ऐन, २०१७ को दफा १३ बमोजिमको कसूर गरेको ठहर्याई बिगो र बिगो बमोजिमको जरीवाना समेत भरी पाउने ठहर्याई फैसला भएको छ । यस विभागबाट विपक्षी इन्दिराप्रसाद उपाध्यायको हक अधिकारमा आघात पार्ने काम भए गरेको नहुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेतको विशेष प्रहरी विभाग सिंहदरवारको लिखितजवाफ ।
६. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा विपक्षीहरुको तर्फबाट बहस गर्न खटिई आउनु भएका विद्वान सहन्यायाधिवक्ता श्री वलराम के.सी. ले विशेष प्रहरी विभागबाट रोक्का भएको जग्गा बागमती विशेष अदालतबाट पनि रोक्का राख्न पठाएकोमा दोहोरो रोक्का गर्न मिल्दैन भनी मालपोत कार्यालय काठमाडौंले बागमती विशेष अदालतमा जानकारी गराई सकेको थियो । विशेष प्रहरी विभागबाट रोक्का भएकोमा विशेष प्रहरी विभागबाट फुकुवा हुनुपर्छ । तसर्थ रिटनिवेदन खारेज होस् भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो।
७. प्रस्तुत रिटनिवेदनमा निवेदकका माग बमोजिमको आदेश जारी हुने हो होइन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
८. यस्मा निर्णयतर्फ हेर्दा वादी श्री ५ को सरकार (वि.प्र. विभाग) र प्रतिवादी अभिमन्यु अधिकारी भएको मलखाद हिनामिना गरी भ्रष्टाचार गर्यो भन्ने मुद्दामा प्रतिवादी अभिमन्यु अधिकारीको तर्फबाट निवेदक इन्दिराप्रसाद उपाध्याय समेतको जग्गा जेथाजमानी दिएकोमा बागमती विशेष अदालतबाट निवेदक इन्दिराप्रसाद उपाध्यायको जेथाजमानी बापत रोक्का रहेको जग्गा फुकुवा गरिपाउँ भनी अभिमन्यु अधिकारीले दिएको निवेदनमा बागमती विशेष अदालतबाट फुकुवा गर्ने आदेश भएको तर मालपोत कार्यालय काठमाडौंले फुकुवा नगरी दिएको भन्ने निवेदन जिकिर रहेको पाइन्छ । मालपोत कार्यालय काठमाडौंको लिखितजवाफबाट इन्दिराप्रसाद उपाध्यायको का.जि. का.न.पं. वडा नं. १ कि.नं. १७१९ को जग्गा ०–४–० रोक्का रहेको भन्ने देखिन्छ तथा सोही लिखितजवाफबाट इन्दिराप्रसाद उपाध्यायको रोक्का रहेको जग्गा फुकुवा गरिदिनु भन्ने बागमती विशेष अदालतको पत्र प्राप्त भएको भन्ने देखिन्छ । बागमती विशेष अदालतबाट फुकुवा गर्ने आदेश प्राप्त भएपछि सोही विषयमा विशेष प्रहरी विभागको फुकुवा पत्रको आवश्यकता पर्ने हुँदैन । तसर्थ बागमती विशेष अदालतले इन्दिराप्रसाद उपाध्यायका नाउँको रोक्का रहेको जग्गा फुकुवा गरिदिनु भनी आदेश गरेको भए र सो आदेश हालसम्म कायम रहेको भए उक्त अदालतको आदेश बमोजिम गर्नु भनी मालपोत कार्यालय काठमाडौं तथा विशेष प्रहरी विभाग सिंहदरवारका नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ । प्रत्यर्थी कार्यालयहरुको जानकारीको लागि आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई फाइल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. प्रचण्डराज अनिल
इति सम्वत् २०४६ साल भाद्र ११ गते रोज १ शुभम् ।