शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६८५८ - अंश

भाग: ४२ साल: २०५७ महिना: जेष्ठ अंक:

निर्णय नं. ६८५८            ने.का.. २०५७        अङ्क २

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

सम्वत २०५४ सालको दे.पु.नं. ४६३४, ४६३५

फैसला मितिः २०५६।५।२८।२

मुद्दाः अंश ।

पुनरावेदक/प्रतिवादीः ल.पु.जि..पु..पा. वडा नं. १५ बस्ने वर्ष ५५ को राजु तुलाधर समेत

विरुद्ध

प्रत्यर्थी/वादीः ऐ..वडा नं.१९ बस्ने वर्ष ८९ को सिद्धिरत्‍न तुलाधार समेत

 

पुनरावेदक/प्रतिवादीः ऐ.. बस्ने वर्ष ६० को खडगराज तुलाधर

विरुद्ध

प्रत्यर्थी/वादीः ऐ.. बस्ने वर्ष ८९ को सिद्धिराज तुलाधार समेत

 

§  वादी प्रतिवादीहरु अंशियार भएकोमा कुनै विवाद देखिंदैन । २०३८ सालमा नापी हुँदाका बखत समानुपातिकको रुपमा वाँडी आ-आफ्ना नाममा नापी दर्ता गराएको भन्‍ने दावी लिएपनि वादी प्रतिवादी बीच त्यस्तो वण्डा भएको भए रीतपूर्वक वण्डा पत्र रजिष्ट्रेशन पारित गर्नुपर्ने हुन्छ । सो भएको देखिन आउँदैन । विबन्धन कानूनी बुँदामा लागु नहुने हुँदा प्रस्तुत विवादमा निस्सा दिँदा आधार लिइएको नजिर समेत विवादसँग मिल्दोजुल्दो देखिंदैन । निजी आर्जनको निजी सम्पत्ति आफूखुस गर्न पाउनेमा पनि निजी आर्जनको जिकिर लिनेले त्यसको पुष्टी हुने यथोचित प्रमाण गुजार्न सक्नु पर्छ । त्यस्तो सुस्पष्ट प्रमाण दाखिल गर्न सकेको समेत देखिन आएन । तायदातीमा उल्लेखित साहुको ऋणको सम्बन्धमा ऋणको हकमा साहुको नालेश परेको बखत ठहरे बमोजिम हुने भनी शुरु फैसलामा उल्लेख भएको देखिँदा ऋणको हकमा फैसलाले बोल्दै नबोलेको भन्‍न नमिल्ने ।                                                    

(प्र.नं.१२)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्बान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्‍मी, विद्बान अधिवक्ता श्री शेरबहादुर के.सी. र विद्बान अधिवक्ता श्री शम्भु थापा

प्रत्यर्थी वादी तर्फबाटः विद्बान अधिवक्ता श्री श्यामप्रसाद खरेल

अवलिबित नजिरः

आदेश

न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत पाटनबाट २०५२।३।१२ मा भएको फैसला उपर प्रतिवादीहरुको तर्फबाट दोहोर्‍याई पाउँ भन्‍ने निवेदन परी यस अदालतमा दोहोर्‍याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः

2.           विपक्षी मध्येका खड्गराज तुलाधर म वादी सिद्धिरत्‍नको जेठो छोरा, राजु माहिलो छोरा, कान्छो मंगराजको मृत्यु भै सकेको र स्वास्नी पोइल गई सकेको र निजको हक खाने छोरा रोहित तुलाधर हुन् । जेठी छोरीको विवाह भईसकेको कान्छी छोरी फिरादी मध्येकी सरस्वती भई अब अंश गर्नुपर्ने ५ अंशियार बाँकी छौं । विपक्षीहरु टाठोबाठो  भएको हुँदा पैतृक सम्पत्तिबाट घर समेत बनाएका हुन् । राजुले सगोलको सम्पत्तिबाट स्वास्नीको नाममा घर बनाएका छन् । विपक्षीहरुसँग फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी वण्डा गर्नुपर्ने सम्पत्तिको तायदाती फाँटवारी लिई ५ भागको ३ भाग हामीहरुको अंश भाग छुट्‍याई चलन समेत चलाई पाउँ भन्‍ने व्यहोराको फिराद पत्र ।

3.            वादी मध्येका सिद्धिराज घरको मुख्य व्यक्ति हुँदा हुदैँ हामीले सगोलको सम्पत्ति लिने कुरा आउँदैन । म प्रतिवादी मध्येका राजुले सगोलको सम्पत्ति लिएको र घर बनाएको छैन । बाबुले छोरा बुहारी उपर अंशमा फिराद गर्न मिल्ने होइन । घरको मुख्य व्यक्ति वादी मध्येका सिद्धिराज हुँदा वण्डा गर्नुपर्ने सम्पत्ति हामीसँग केही छैन । वादी दावी अनुसार हामी प्रतिवादीले तायदाती दिनु पर्ने होइन वादी दावी खारेज गरी पाउँ भन्‍ने समेत व्यहोराको संयुक्त प्रतिउत्तर पत्र ।

4.          वादी प्रतिवादी एकासगोलका अंशियार देखिएको हुँदा पेश भएका तायादती फाँटवारीबाट वादी प्रतिवादी ५ अंशियार देखिएको हुँदा ५ भागको १, १ भागको दरले अंश वादी प्रतिवादीले छुट्‍याई लिन पाउँछ भन्‍ने समेत व्यहोराको शुरु ललितपुर जिल्ला अदालतको फैसला ।

5.           वादी दावी अनुसार हुने र हामीलाई हराई गरेको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी हाम्रो प्रतिउत्तर यो पुनरावेदन जिकिर अनुसार गरी पाउँ भन्‍ने समेत व्यहोराको प्रतिवादीहरूको पुनरावेदन अदालतमा परेको संयुक्त पुनरावेदन पत्र ।

6.            जिए जिएको अंश गर्नुपर्ने कानूनी व्यवस्था र अंश जस्तो जन्मसिद्ध हकको कुरामा सबै अंशियारका बीच वण्डा गर्नुपर्ने देखिँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी ५ भागको ३ भाग अंश वादीले पाउने ठहर्‍याएको शुरु जिल्ला अदालतको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्‍ने समेत व्यहोराको पुनरावेदन अदालतबाट मिति २०५२।३।१२ मा भएको फैसला ।

7.           पुनरावेदन अदालतबाट भएको उपरोक्त फैसलामा चित्त बुझेन विपक्षी र हामीहरुको बीचमा २०३८ सालमा नापीका बखत आ-आफ्नो भागमा परेको सम्पत्ति दर्ता गरी प्रमाणपूर्जा समेत लिई व्यक्तिगत रुपमा खतिउपति गरी आएका छौं । विपक्षी बाबुले अशवण्डा भएको कुरा स्वयं फिरादमा नै उल्लेख गर्नुभएको छ । २०३८ सालमा आफ्नो नाममा  अंशवण्डा भईसकेपछि आमा स्वर्गे हुँदा आमाको नामको जग्गा बाबुको नाममा नामसारी गर्न मन्जुरनामा समेत दिएको छौं । यसरी हामी एक आपसमा अलग बसेकै अवस्थामा विपक्षी बाबुले आफूखुसी जग्गा बहिनी सरस्वतीलाई लिखत वदर र जालसाजी मुद्दा गरेकोले उक्त मुद्दामा बदला लिन हामी उपर अंश मुद्दा दिनु भएको हो । विपक्षी बाबुले २०३८ सालमा अंश भएको कुरालाई फिरादमा स्वीकार गरिसकेपछि सोही विषय उपर अंश मुद्दा गर्नु प्रमाण ऐन, २०३१ को दफा ३४ को बिबन्धनको सिद्धान्त विपरीत छ । साथै २०३८ सालपछि आय आर्जन गरी कमाएको सम्पत्तिमा समेत अंशवण्डा हुने गरी भएको फैसला त्रुटिपूर्ण र वदर भागी भएकोले सो फैसला वदर गरी इन्साफ पाउँ भन्‍ने समेत एकै व्यहोराको प्रतिवादी राजु तुलाधर र सानुनानी तुलाधरको तर्फबाट तथा प्रतिवादी खडगराज तुलाधरको तर्फबाट गरी छुट्टाछुट्टै यस अदालतमा पर्न आएको निवेदन पत्र ।

8.           फिरादको प्रकरण नं. २ मा पुर्खौली घर जग्गा अलग अलग नापी नक्सा गराई वण्डा गरी दिनु पर्‍यो भनी नापीका अवस्थामा समानुपातिक रुपमा पुर्खौली घर जग्गा अलग अलग गर्न दर्ता गराई दिएको थिए भन्‍ने उल्लेख भएको र मिति २०४७।२।१८ मा सिद्धिराजले छोरी लक्ष्मी देवी तुलाधरलाई गरी दिएको पारित शेषपछिको बकसपत्रको पेटबोली व्यहोरामा छोरा खडगराज देवराज छुट्टी भिन्‍न भईसकेको भन्‍ने जनिएको पारीत लिखतको नक्‍कलबाट देखिएको तथा प्रतिवादी खड्गराज तुलाधरले २०४७।२।१० मा दिएको तायदाती फाँटवारीमा विभिन्‍न कलमको ऋणको फाँटवारी समेत देखाई पेश गरो अवस्थामा ऋण तर्फ फैसलामा नबोली सो पारीत शेषपछिको बकसपत्र र फिराद व्यहोराबाट वादी छुटी भिन्‍न भएको भन्‍ने स्वीकार गरेको अवस्थामा निज वादी उपर बिबन्धको सिद्धान्त लाग्ने नै हुँदा उक्त तर्क फैसलामा केही नबोलेको अवस्थामा पुनरावेदन अदालत पाटन समेतको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ४, अंशवण्डाको १८ नं. तथा १० समेतको व्याख्यात्मक त्रुटि देखिएको र सर्वोच्च अदालतबाट प्रतिपादित (ने.का..२०४५, पृष्ठ ७४३, नि.नं. ३५३६) नजिर समेतको विपरीतको फैसला देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२() को खण्ड () () को त्रुटि देखिँदा दोहोर्‍याउने निस्साप्रदान गरिएको छ भन्‍ने समेत एकै व्यहोराको दुवै निवेदनमा यस अदालतबाट भएको आदेश ।

9.           नियम बमोजिम पेशी सूचिमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पनुरावेदक प्रतिवादी राजु तुलाधर र सानुनानी तुलाधरका तर्फबाट उपस्थित विद्बान वरिष्ठ अधिवकता  श्री मुकुन्द रेग्मी  र विद्बान अधिवक्ता श्री शेरबहादुर के.सी. तथा अर्का पुनरावेदक प्रतिवादी श्री खडगराज तुलाधरका तर्फबाट विद्बान अधिवक्ता श्री शम्भु थापाले २०३८ सालमा नापी हुँदा देखि नै वादी प्रतिवादी बीचमा आ-आफ्नो भाग वण्डा गरी दर्ता गराइएकोमा सो भन्दा पछाडी आ-आफ्नो खति उपति गरी बसेकोमा स्वआर्जनबाट कमाई बनाएको घर जग्गा समेतको सम्पत्ति वण्डा र्ने गरेको पुनरावेदन अदालत समेतको फैसला मिलेको छैन । बाबुले छोरा बुहारी उपर अंश मुद्दा गर्न पाउने कानूनी व्यवस्था समेत छैन । विपक्षीको फिराद पत्र विपक्षी सिद्धीराजले विभिन्‍न मितिमा छोरीलाई गरी दिएका बकसपत्र  लिखतको पेटबोली तथा जालसाजी मुद्दाको प्रतिउत्तरमासमेत अंशवण्डा भईसकेको कुरालाई स्वीकार गरिसकेको तथा प्रतिवादी राजु तुलाधरले आफ्नो निजी आर्जनबाट जग्गा किनी घर बनाउने नक्सापास हुँदा समेत विपक्षीहरुले आपत्ति नगरेका र एकपटक अंशवण्डा भईसकेको कुरालाई लिखित रुपमा स्वीकार गर्ने र वण्डा भएको छैन भनी अंश मुद्दा दिने विपक्षी उपर बिबन्धनको सिद्धान्त समेत आकर्षित हुँदा एक पटक वण्डा भईसकेको सम्पत्तिमा समेत पुनः वण्डा लाग्ने भनी गरेको शुरुको इन्साफलाई सदर कायम गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएकोले सो फैसला वदर गरी प्रतिउत्तर जिकिर बमोजिम  हुनुपर्छ भनी बहस गर्नुभयो । प्रत्यर्थी वादीहरुका तर्फबाट उपस्थित विद्बान अधिवकता श्री श्यामप्रसाद खरेलले मिति २०४७।२।१८ को लिखत दावी गरिएको लिखत होइन । ऋणको सम्बन्धमा साहुको नालेश परेको बखत ठहरे बमोजिम हुने भन्‍ने उल्लेख भएकोले फैसलामा केही नबोलेको भन्‍न मिल्दैन । हा..को  लिखतमा सगोलको भन्‍ने उल्लेख भएकोले वादी प्रतिवादी बीच वण्डा भएको छैन भन्‍ने पुष्टि हुन्छ । आमा तुयुनानीको एकलौटी सम्पत्ति श्रीमानको नाममा नामसारी भई हा.. गरी दिएको सम्म वण्डा हुनुपर्ने होइन । तसर्थ वादी प्रतिवादी बीच अंशवण्डा नभएको ठहर गरी ५ अंशियार कायम गरी १, १ भाग पाउने गरी फैसला भएको न्यायोचित र कानूनसम्मत नै भएकोले पुनरावेदन अदालतको फैसला सदर हुनुपर्छ भनी गर्नुभएको बहस समेत सुनियो ।

10.        वादीको फिराद  दावी प्रतिवादीको प्रतिउत्तर जिकिर दुवै पक्षबाट रहनु भएका विद्बान अधिवक्ताहरुको बहस बूँदा पुनरावेदकहरुको पुनरावेदन जिकिर एवं यस अदालतबाट दोहोर्‍याउने निस्सा प्रदान गर्दा लिइएका आधार समेतलाई मध्येनगर राखी इजलासमा प्राप्त शुरु रेकर्ड र प्रमाण मिसिल समेत अध्ययन गरी हेर्दा यसमा पुनरावेदन अदालतबाट भएको फैसला मिले नमिलेको दुवै पुनरावेदकहरुको पुनरावेदन जिकिर एवं यस अदालतबाट दोहोर्‍याउने निस्सा प्रदान गर्दा लिइएकोआधार बमोजिम गर्नुपर्ने हो वा होइन त्यस सम्बन्धमा नै निर्णय गर्नुपर्ने हुन आयो ।

11.         यसमा हामी ५ अंशियार भएको र हालसम्म अंशवण्डासमेत नभएकोले फिराद परेको अघिल्लो मितिलाई मानो छुट्टिएको मिति कायम गरी वण्डा गर्नुपर्ने सम्पत्ति फाँटवारी लिई ५ भागको ३ भाग हामीहरुको अंश भाग छुटाई चलन समेत चलाई पाउँ भन्‍ने फिराद दावी र घरको मुख्य व्यक्ति वादी मध्येकै सिद्धिराज हुँदा हामीसँग वण्‍डा गर्नुपर्ने सम्पत्ति केही छैन दावी अनुसार तायदाती दिनु नपर्ने हुँदा वादी दावी खारेज गरी पाउँ भन्‍ने प्रतिउत्तर जिकिर भएकोमा वादी प्रतिवादीहरु एकासगोलका अंशियार देखिएको हुँदा पेश भएका तायदाती फाँटवारीबाट ५ भागको १,१ भागको दरले वादी प्रतिवादीले अंश पाउने ठहर्छ  भनी शुरु ललितपुर जिल्ला अदालतबाट फैसला भई सो फैसला उपर पुनरावेदन पर्दा पुनरावेदन अदालतबाट शुरुको फैसला सदर गरेको देखिन्छ । पुनरावेदन अदालतको फैसला दोहोर्‍याई हेरी पाउँ भनी प्रतिवादीहरुका निवेदन परी यस अदालतबाट २०३८ सालको नापीमा पूर्खौली घर जग्गा अलग अलग दर्ता गराएको भन्‍ने फिरादमा उल्लेख भएको, २०४७।२।१८ मा पारीत बकसपत्रको पेटवोलीमा छोरा छुट्टी भिन्‍न भईसकेको उल्लेख भएको तथा तायदातीमा ऋण उल्लेख भएकोमा ऋणतर्फ नबोलेको र एक पटक छुट्टी भिन्‍न भईसकेको भन्‍ने स्वीकार गरिसकेपछि बिबन्धनको सिद्धान्त समेतमा केही नबोली अंशवण्डाको १० तथा १८ नं. र बिबन्धनका सम्बन्धमा यस अदालतबाट प्रतिपादीत सिद्धान्त समेतको विपरीत फैसला भई त्रुटिपूर्ण भएको भन्‍ने आधारमा दोहोर्‍याई हेर्न निस्सा प्रदान भएको देखिन आउछ ।

12.        वादी प्रतिवादीहरु अंशियार भएकोमा कुनै विवाद देखिदैन । २०३८ सालमा नापी हुँदाका बखत समानुपातिकको रुपमा वाँडी आ-आफ्ना नाममा नापी दर्ता गराएको भन्‍ने दावी लिएपनि वादी प्रतिवादी बीच त्यस्तो वण्डा भएका भए रीतपूर्वक वण्डा पत्र रजिष्ट्रेशन पारित गर्नुपर्ने हुन्छ । सो भएको देखिन आउँदैन । विबन्धन कानूनी बुँदामा लागु नहुने हुँदा प्रस्तुत विवादमा निस्सा दिँदा आधार लिइएको नजिर समेत विवादसँग मिल्दोजुल्दो देखिँदैन । निजी आर्जनको निजी सम्पत्ति आफूखुस गर्न पाउनेमा पनि निजी आर्जनको जिकिर लिनेले त्यसको पुष्टी हुने यथोचित प्रमाण गुजार्न सक्नु पर्छ । त्यस्तो सुस्पष्ट प्रमाण दाखिल गर्न सकेको समेत देखिन आएन । तायदातीमा उल्लेखित साहुको ऋणको सम्बन्धमा ऋणको हकमा साहुको नालेश परेको बखत ठहरे बमोजिम हुने भनी शुरु फैसलामा उल्लेख भएको देखिँदा ऋणको हकमा फैसलाले बोल्दै नबोलेको भन्‍न मिलेन ।

13.         तसर्थ वण्डा गर्नुपर्ने अंशियारहरुका विषयमा कुनै विवाद नदेखिँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी पेश भएको तायदाती बमोजिम ५ भागको ३ भाग अंश वादीले पाउने ठहर गरेको शुरु ललितपुर जिल्ला अदालतको फैसलालाई कायमै राखेको पुनरावेदन अदालत पाटनको इन्साफमा कुनै परिवर्तन गर्नुपर्ने अवस्था विद्यमान नभई इन्साफ मिलेकै देखिँदा सदर हुने ठहर्छ । दुवै पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन ।  मिसिल नियमानुसार गरी बुझाई दिनु ।

उक्त रायमा म सहमत छु ।

 

न्या.केदारनाथ उपाध्याय

 

इति सम्वत २०५ ६ साल भाद्र  २८ गते रोज २  शुभम्...................

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु